दाङ: बङ्गलाचुली गाउँपालिका–४ स्थित जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता समूहले टिमुरका बिरुवा बिक्री गरेर वार्षिक रु २ लाख बढी आम्दानी गरेको छ । टिमुरका बिरुवा उत्पादन गरेर जिल्लाका साथै प्यूठान, रोल्पा, सल्यान, रुकुमलगायत जिल्लामा बिक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष इन्द्रबहादुर बुढाले बताउनुभयो । परम्परागत रूपमा जङ्गलमा पाइने टिमुरलाई आम्दानी बनाउँदै किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पाँच वर्षअघिदेखि नर्सरीका रूपमा विकास गरिएको उहाँले बताउनुभयो । यसका लागि रु ७ लाख लगातमा जिआइजेडले ‘ग्रीन हाउस’ र लुम्बिनी प्रदेश वन डिभिजन कार्यालयसँगको साझेदारीमा वन समूहले तीनवटा टनेल निर्माण गरेको थियो । वन समूहले सुरुका वर्षहरूमा साविकको राप्तीसँगै बाँके, सुर्खेत, गुल्मीलगायत ठाउँमा बिरुवा बिक्री गरेर वार्षिक रु १० लाखसम्म आम्दानी गरेको भए पनि पछिल्लो समय अन्य जिल्लामा बिरुवा उत्पादन हुन थालेपछि आम्दानी घटेको वन समूहका अध्यक्ष बुढाले बताउनुभयो । वन समूहले बिरुवा उत्पादन गरेर बिक्रीसँगै टिमुरबाट आम्दानी लिन वन समूहको १९८ दशमलव ३६ हेक्टरमा एक हजार टिमुरका बिरुवा रोपिको अध्यक्ष बुढाले बताउनुभयो । रोपिएका बिरुवा हुर्किएमा वन समूहले बिरुवा बिक्रीसँगै फलबाट पनि आम्दानी लिन सकिने भन्दै अध्यक्ष बुढाले भन्नुभयो, “वन समूहको विभिन्न क्षेत्रमा एक हजार बढी बिरुवा रोपेका छौँ, ती बिरुवा हुर्किएपछि उत्पादनसँगै फलबाट समेत वन समूहले आम्दानी लिने छ ।” उत्पादन गरेको रकम वन समूहको खातामा राख्ने र बिरुवा उत्पादनलगायत विभिन्न कार्यमा परिचालन गर्ने गरिएको छ ।वन समूहले वार्षिक २५ हजार बिरुवा उत्पादन गरेर बिक्री गर्दै आएको अध्यक्ष बुढाले बताउनुभयो । वनलाई उत्पादनसँग जोड्ने र आम्दानीमा वृद्धि गर्ने उद्देश्यले प्रत्येक विरुवा उत्पादन गर्ने र बिक्री गर्दै आएका छौँ । उहाँका अनुसार लक्ष्यअनुसार बिरुवा उत्पादन गर्न नसक्दा गत वर्ष १० हजार बिरुवा मात्र बिक्री गरिएको बताउनुभयो । नर्सरीका रूपमा विकास भएपछि बङ्गलाचुलीसँगै जिल्लाका विभिन्न सामुदायिक वन समूहसँगै जिल्ला बाहिरका वन समूह तथा व्यक्तिलाई बिरुवा बिक्री गर्दै आम्दानी लिने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार वन समूहका सदस्यलाई बिरुवा उत्पादनका लागि तालिमसँगै व्यावसायिक रूपमा बिरुवा उत्पादनका लागि ग्रीन हाउस र टनेल निर्माण गरिएपछि वन समूहले व्यावसायिक रूपमा टिमुर उत्पादन थालेको हो ।
पोखरा महोत्सव र स्टारसिड टेक्नोलोजिस प्रालिबीच सहकार्य भएको छ । भारत र चिनबाट बिजुलीका समाग्री आयात गरी नेपालमै एसेम्बल गर्दै आइरहेको स्टारसिड प्रालि र पोखरा महोत्सव आयोजक युनाईटेड क्लब पोखराबीच महोत्सवलाई सहयोग गर्ने गरी सम्झौता भएको हो । सम्झौतापत्रमा स्टारसिड टेक्नोलोजिस प्रालिका प्रवन्धक निर्देशक चन्द्रबहादुर थापा र पोखरा महोत्सव आयोजक युनाइटेड क्लब पोखराका अध्यक्ष लोकबहादुर थापाले हस्ताक्षर गरे । सम्झौता पत्रमा हस्ताक्षर गर्दै स्टारसिड टेक्नोलोजिस प्रालिका प्रवन्ध निर्देशक चन्द्र बहादुर थापाले स्टारसिडस प्रालिले विगतका संस्करणहरुमासमेत सहकार्य गर्दै आइरहेको र यो पटक पनि सहकार्य गर्ने बताए । स्टारसिडले भारत र चिनबाट समाग्री आयात गरी नेपालमै एसेम्बल गरी उच्च गुणस्तरका बिजुली सम्बन्धी (यु एन आइ एक्सपर्टका) स्वीच, एलइडी बल्व, एलइडी प्यानल, एलइडी कन्सील, एलइडी सिओबी लाइट, ट्रयाक लाइट, पंखाहरु, इलेक्ट्रीक गिजर, हिटर, सेन्सर स्ट्रीट लाइट, फल्ड लाइट र हेलोजिन लाइटहरु उत्पादन तथा विक्री गर्दै आइरहेको छ । स्टारसिड टेक्नोलोजिस प्रालिमा चन्द्र बहादुर थापा, पियुष कोठारी र बिर बहादुर कंडेल सञ्चालकको रुपमा रहेका छन् । प्रालिले काठमाणडौंको रानीबारीमा रहेको आफ्नै कम्पनीबाट सामाग्रीहरु उत्पादन गरी सुनधारास्थित बिजुलीबजारमा रहेको जेटी इलेक्ट्रिकल्स प्रालि र पोखरा १० बुद्धचोक स्थित विवश इलेक्ट्रिकल्स प्रालिबाट सामाग्रीहरुको विक्री गर्दै आइरहेको सञ्चालक थापाले बताए । स्टारसिड टेक्नोलोजिस प्रालिले क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने नारासहित आफ्ना उत्पादनका सामाग्रीहरु विक्री गर्दै आइरहेको छ । यस्तै युनाईटेड क्लब पोखराका अध्यक्ष लोक बहादुर थापाले स्टारसिड टेक्नोलोजिस प्रालिले बिगतका महोत्सवहरुमासमेत सहकार्य गर्दै आइरहदा तेह्रौं संस्करणको पोखरा महोत्सवमा समेत सहकार्य गर्न पाउदा खुसी लागेको बताए । स्टारसिड जस्तै सहयोगी संघ संस्थाहरुको सहयोगले नै पोखरा महोत्सव १३ औं संस्करणसम्म आइपुगेको उनको भनाइ रहेको थियो । सो अवसरमा क्लवका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, पूर्व अध्यक्ष लालकाजी गुरुङ, क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापा, द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँ, क्लबका आजीवन सदस्य कृष्ण थापा मगर, आजीबन सदस्य मिलन बहादुर अधिकारी लगायतको उपस्थिती रहेको थियो । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा तेह्रौं संस्करणको पोखरा महोत्सव हुने र त्यसको तयारी तीब्र रुपमा अगाडी बढेको महोत्सका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
काठमाडौं: मुस्ताङमा स्याउ भण्डारणका लागि चिस्यान गृह प्रभावकारी बनेको छ । चिस्यान गृह निर्माण भएपछि याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हटेको छ । सुरक्षित भण्डारण गर्ने सुविधा भएपछि भनेको मूल्य र बजार दुवै पाएको घरपझोङ गाउँपालिका–२ मार्फाका कृषक वुद्धिमान लालचनले बताउनुभयो । “असोजमा टिपेर चिस्यानगृहमा राखेको स्याउ जेठसम्म केही भएन”, उहाँले भन्नुभयो, “याममा प्रतिकिलो रु एक सय ५० सम्म पर्ने स्याउ बेसिजनमा प्रतिकिलो रु दुई सय ५० सम्म बिक्री भयो”, लालचनले १० मेट्रिक टन क्षमताको चिस्यानगृहमा स्याउ भण्डारण गर्नुभएको छ । चिस्यानगृहमा असोजदेखि चैतसम्म स्याउ राख्दा पनि गुणस्तर, आकार र तौलमा कुनै फरक नआउने मार्फाका कृषक विश्व लालचनले बताउनुभयो । “चिस्यानगृह नहुँदा घरको कोठा, चिसो ठाउँमा स्याउ थुपारेर भण्डारण गर्नुपर्दथ्यो”, उहाँले भन्नुभयो, “त्यसरी राख्दा तापक्रम नमिलेर कुहिने गरेको थियो”, बिक्री नहुने स्याउ घोडा, खच्चर, गाईगोरुलाई खुवाउने गरेका थिए । मुस्ताङमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन र स्थानीय तहहरुले करिब तीन सय मेट्रिक टन क्षमताको दशवटा चिस्यानगृह निर्माण गरेका छन् । सबै चिस्यानगृहमा बेमौसममा बेच्नका लागि स्याउ राखिएको छ । वातावरण अनुकूल बनाउन उपकरण जडान भएको चिस्यानगृहमा भण्डारण गर्दा बजार नपाउने समस्या हट्नुका साथै बढी मूल्यमा बिक्री गर्न पाएका हुन् । मुस्ताङमा प्रभावकारी भएकाले कोल्ड स्टोरको माग बढी रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोनका प्रमुख भरतराज गौतमले बताउनुभयो । मुस्ताङको मार्फा, सौरु, चोखोपानी, चिमाङ, कोवाङ, टुक्चे, जोमसोम, कागबेनी, पाक्लिङ, लुप्रा, ताम्बे, छुक्साङ, चैले आदि गाउँमा स्याउको राम्रो खेती गरिन्छ । यहाँका घरपझोङ र वारागुङमुक्ति स्याउका पकेट क्षेत्र हुन् । रु ८२ करोड बराबरको स्याउ मुस्ताङबाट पोखरा, काठमाडौँलगायत बाहिरी जिल्लामा निकासी गरे भने बाँकी रु १० करोड मूल्य बराबरको स्याउ मुस्ताङ भ्रमणमा आएका पर्यटकले किनेर लगेका कृषि ज्ञान केन्द्रले जनाएको छ । वरिष्ठ कृषि प्रसार अधिकृत राजेश गुरुङले यस वर्ष छ सय हेक्टर उत्पादनशील क्षेत्रमा लगाइएका स्याउका बोटमा सात हजार तीन सय २९ मेट्रिक टन स्याउ उत्पादन भएको बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष ३५ प्रतिशत स्याउ उत्पादन वृद्धि भएको छ । उच्च घनत्वको स्याउको बारीमै प्रतिकेजी रु दुई सय र अन्य स्याउ बारीमा प्रतिकेजी रु एक सय ६० मा बिक्री भएको हो । छिटो पाक्ने उच्च घनत्वमा आधारित (हाइडेन्सिटी रहेको हाइब्रिड) जातको स्याउ खेती विस्तार भएको, रोगव्याधि व्यवस्थापन भएको र अनुकूल मौसमका कारण यस वर्ष स्याउ उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्रमुख गुरुङले बताउनुभयो ।
बागलुङ: बागलुङ नगरपालिका–७ कालिमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा ५ हजार कुखुरा पालेर यहाँका १ उद्यमीले मासिक रु १ लाख ५० हजार बचत गर्र्दै आउनुभएको छ । स्थानीय ओमराज शर्माले सञ्चालन गर्नुभएको कुखुरा फार्मबाट दैनिक पाँच हजार अण्डाको बजारीकरण भइरहेको छ । १२ बर्ष कतार बसेर फर्कनुभएका शर्माले कुखुरापालनमा आम्दानी र जोखिम बराबर रहेको बताउनुभयो । “३ हजार कुखुरा पाल्दै आएको थिएँ, हाल थप दुई हजारले अण्डा दिन सुरु गरेका छन्, दैनिक पाँच हजार अण्डा बजार बेच्ने गरेको छु”, उद्यमी शर्माले भन्नुभयो । १ करोड ५० लाख लागतमा फार्म स्थापना गरी सञ्चालनमा ल्याएको बताउँदै उहाँले अण्डाको बजारीकरणका लागि बागलुङ बजारमा डिपो, एउटा पिकअप जिप र चार जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छ । फार्मको कमाइबाट आफू सन्तुष्ट रहेको बताउँदै अहिले कर्मचारीलाई तलब खर्च कटाए मासिक रु १ लाख ५० हजार बचत हुने गरेको उद्यमी शर्माले बताउनुभयो । अण्डा बिक्रीका लागि बजार अभाव नभएको बताउँदै बाहिरबाट आउने अण्डाका कारण मूल्य भने अस्थिर हुने गरेको उहाँले बताउनुभयो । किसानलाई स्थानीय सरकारले प्राविधिक सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कुखुरापालनभन्दा गाईबाख्रा पाल्न सहज हुने उहाँको अनुभव छ । त्यसैले अब उहाँ व्यावसायिक रूपमा गाई र बाख्रापालनको योजना कार्यान्वयनमा हुनुहुन्छ ।
ढोरपाटन: परम्परागत रूपमा पशुपालन गरी दुग्ध उत्पादन गर्दै आएका बागलुङका किसान आधुनिक प्रविधिसँग जोडिन थालेका छन् । जिल्लाको काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका एक हजार छ सय जना किसान प्रविधिको प्रयोग गरी दुग्ध उत्पादनमा लागेका हुन् । धवलागिरि सामुदायिक स्रोत विकास केन्द्र बागलुङ र प्राटिकल एक्सन नेपालको सहकार्यमा किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक उपकरण उपलब्ध गराएपछि अहिले गुणस्तरीय दूध उत्पादन गर्न थालेका हुन् । दुई पालिकाका आठवटा दुग्ध उत्पादन सहकारीमा आबद्ध र ४२ वटा व्यक्तिगत फार्म सञ्चालन गर्दै आएका किसानलाई उपकरण उपलब्ध गराइएको थियो । किसानलाई मिल्क एनालाइजर, सोलार वाटर हिटर, चापकटरलगायत आधुनिक उपकरण उपलब्ध गराइएको धवलागिरि सामुदायिक स्रोत विकास केन्द्रका इन्जिनियर साजन आचार्यले जानकारी दिनुभयो । बागलुङ र काठेखोलाका दुग्ध उत्पादक सहकारी, सङ्घ र व्यक्तिगत फार्ममा आबद्ध किसानलाई गत असोजमा उक्त उपकरण उपलब्ध गराइएको उहाँको भनाइ छ । इन्जिनियर आचार्यका अनुसार दुई पालिकामा रू ५९ लाख ७५ हजार पाँच सय लगानी गरेको छ । काठेखोला गाउँपालिका–८ लेखानीस्थित गाजा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष गुणाखर कँडेलले आधुनिक उपकरण प्रयोग गर्न थालेपछि किसानल दूधको गुणस्तर बढाउन लागेको बताउनुभयो । दूधको गुणस्तर बढेपछि उचित मूल्य पाउन थालेको उहाँको भनाइ छ । पहिले गाउँका किसानले उत्पादन गरेको दूधको गुणस्तर मापन गर्न निकै झण्झटिलो रहेको अहिले सहज बनेको अध्यक्ष कँडेलले बताउनुभयो । काठेखोला गाउँपालिका–६ का दुग्ध उत्पादक किसान सुरेश कँडेलले आधुनिक उपकरणको प्रयोग गर्न थालेपछि पशुचौपाया निरोगी हुँदै गएपछि दूध उत्पादन पनि बढेको बताउनुभयो । आफूले सोलार वाटर हिटर प्राप्त गरेपछि भैँसीलाई समय–समयमा तातोपानीले नुहाइदिएपछि निरोगी भएको सुनाउँदै धुँवारहित गोठ बनेको उहाँको भनाइ छ । कँडेलले भन्नुभयो, “पहिले गोठमै कुँडो पकाउनुपथ्र्यो, धुँवाले गर्दा वस्तुभाउ बिरामी पर्थे, दाउराको खपत बढी हुन्थ्यो, तर अहिले सोलारबाट पानी तताउन थालेपछि समयको बचतसँगै घरगोठ धुँवारहित बनेको छ, यसले मान्छेको स्वास्थ्यमा समेत असर गरेको छैन भने दूध पनि पहिलेको तुलनामा केही बढी उत्पादन हुन थालेको छ ।” धवलागिरि सामुदायिक स्रोत विकास केन्द्र बागलुङकी अध्यक्ष सिर्जना थापाले किसानलाई प्रविधिसँग जोडेर जीविकोपार्जनमा टेवा पुर्याउने हिसाबले आधुनिक उपकरण अनुदानमा सहयोग गरेको बताउनुभयो । किसानले उपकरणको प्रयोग गर्न थालेपछि दूध उत्पादनमा थप मद्दत पुगेको उहाँको भनाइ छ । प्रविधिको प्रयोग गरेको छोटो समयमै उनीहरूको व्यवसाय राम्रो हुँदै गएको अध्यक्ष थापाले बताउनुभयो ।
म्याग्दी: म्याग्दीमा यस वर्ष धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा पाँच दशमलब शून्य दुई प्रतिशतले धानको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र, म्याग्दीले जनाएको छ । अनुकुल मौसम र रोग किराको समस्या नभएकाले धान उत्पादन बढेको केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले जानकारी दिनुभयो । “रोप्ने समयमा बर्षात भएको र भित्र्याउँदा पानी नपरेका कारण यसपाली धानका लागि मौसम अनुकूल रह्यो,” उहाँले भन्नुभयो “केही ठाउँमा भित्र्याउने समयमा परेको असिनाका कारण क्षति भएपनि समग्र जिल्लाको उत्पादन वृद्धि भएको हो ।” म्याग्दीमा गत वर्ष तीन हजार आठ सय छ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा १२ हजार नौ सय ७८ दशमलब पाँच मेट्रिक्टन उत्पादन भएको थियो । गत वर्ष प्रति हेक्टर तीन दशमलब ४१ मेट्रिक्टन उत्पादकत्व रहेकोमा यसवर्ष प्रति हेक्टर तीन दशमलब ५९ हेक्टर पुगेको छ । जिल्लाका विभिन्न ठाउँमा गरिएको धान बालीको क्रप कटिङ बिधिबाट उत्पादनको अवस्थाका विषयमा अध्ययन गरिएको कृषि प्रसार अधिकृत लामिछानेले बताउनुभयो । म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहँेले, मार्सि, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिचाई आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको प्रायजसो क्षेत्रमा धान खेती हुने गरेको छ । रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रमा धान खेती हुँदै आएको छ । यी क्षेत्रहरु धान उत्पादनको हिसाबले पकेट क्षेत्र मानिन्छन् । धवलागिरि गाउँपालिकाको गुर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धान उत्पादन हुँदैन । म्याग्दी जिल्लामा कुल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टरमा मात्रै खेती गरिएको छ । खेती गरिएको जमिनमध्ये छ हजार १३ हेक्टर अर्थात् ३० दशमलव आठ प्रतिशत मात्रै सिञ्चित जमिन रहेको छ । यसमध्ये एक हजार छ सय ८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने चार हजार तीन सय ३३ हेक्टरको जमिनमा मौसमी सिंचाइ हुने गरेको छ ।
डडेल्धुरा: जिल्लाको आलिताल गाउँपालिका–२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण थापा मगरले व्यावसायिक रूपमा किबी खेती गरी वार्षिक रु १० लाख भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । विसं २०७० देखि व्यावसायिक किबी खेती सुरु गर्नुभएका मगरको दैनिकी किबीको हेरचाह, गोडमेल, बजार व्यवस्थापनलगायतमा बित्दै आएको हो । उहाँको बगानमा लटरम्म पाक्न लागेका ६० क्विन्टल जति किबीे फलेको छ । शिक्षण पेसालाई छाडेर आधिकारिक रूपमा ‘ध्रुव कृषि फार्म’ दर्ता गरी व्यावसायिक किबी खेती थाल्नुभएका मगरले अहिले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा खेती गरिरहेको बताउनुभयो । किबी खेतीमा सम्भावना देखेर यो पेसा अपनाएको बताउँदै उहाँले सुरुमा दोलखाबाट एक सय १० बोट ल्याएर खेती गरेको जानकारी दिनुभयो । मगरले उत्पादित कैलाली, डडेल्धुरा, बैतडी, काठमाडौँलगायत सुदूरपश्चिमका सातवटै पहाडी जिल्लामा बिक्री हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष उत्पादन भएका किबी बगानबाट टिप्नु अगाडि ग्राहकको माग धान्न गाह्रो भएको छ ।” किबी खेतीसम्बन्धी विभिन्न ठाउँमा पुगेर विज्ञहरूबाट तालिमसमेत लिएको भन्दै मगरले बिबिसी नेपाली सेवामा प्रसारण हुने ‘साझा सवाल’ कार्यक्रममा किबी खेतीबारे छलफल सुनेपछि सुरु गरेको जानकारी दिनुभयो । विसं २०७३ मा पहिलो पटक तीन क्विन्टल उत्पादन बताउँदै उहाँले अहिले वार्षिक ७० देखि ७५ क्विन्टलसम्म उत्पादन हुने गरेको उल्लेख गर्नुभयो । सुरुका वर्ष प्रतिकिलो रु पाँच सयका दरले बिक्री गरेको जनाउँदै मगरले पछिल्लो समय बिक्री मूल्य घटे पनि उत्पादन बढी हुन थालेकाले आम्दानीमा वृद्धि भएको बताउनुभयो । “किबी खेतीलाई अन्यबाली जस्तो दैनिक हेरचाह गरिरहनुपर्दैन । बगानभित्र आलु, सागसब्जीलगायत नगदेबालीको खेती पनि गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “कम मेहनतमा बढी आम्दानी दिने हुँदा यसवर्ष थप विस्तार गर्ने तयारी गरिरहेको छु ।” पछिल्लो समय ७५ क्विन्टलसम्म उत्पादन भएको बताउँदै मगरले आगामी वर्षदेखि अनुमानित एक सय ५० क्विन्टलसम्म उत्पादन हुने गरी खेती विस्तार गर्न लागेको जानकारी दिनुभयो । हाल बिरुवा र फलबाट वार्षिक रु १० लाख भन्दा बढी आम्दानी गरिरहनु भएका किसान मगर आगामी वर्षदेखि आम्दानी वृद्धि हुनेमा ढुक्क हुनुहुन्छ । छ देखि आठ मिटरको दूरीमा रोपिने किबीलाई अन्य बालीलाई भन्दा कम मेहनत गर्दा पनि पर्याप्त उत्पादन लिन सकिने मगरले बताउनुभयो । लहरे फलका रूपमा रहेका किबीले लगाएको तीन वर्षदेखि फल्न सुरु भई ५० वर्षसम्म निरन्तर उत्पादन दिने गर्छ । किबी फललाई चाउरीपन, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका रोगीले सेवन गर्नु फाइदाजनक मानिने चिकित्सकहरू बताउँछन् ।
तनहुँ: तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । उक्त वडाको बाटक, लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराबाट मात्रै यस वर्ष रु ३ करोड बराबरको सुन्तला बिक्री हुने कृषकको अनुमान छ । स्थानीय कृषक भीमबहादुर रानाले यस वर्ष यो वडाबाट रु ३ करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान गरिएको बताउनुभयो । लुङ्ग्रिङमा एकै घरबाट रु २० लाखभन्दा बढीको सुन्तला बिक्री हुने उहाँले जनकारी दिनुभयो । विगतमा केही अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता भएका बाटकवासी केही वर्षयता भने सुन्तला बेचेरै लखपति बनेको स्थानीय कृषक प्रेम थापाले बताउनुभयो । यहाँका कृषकको मुख्य आम्दानी नै सुन्तला रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँका कृषकले सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । पछिल्लो समय सुन्तलामा विभिन्न किसिमका रोग देखिँदा कृषक भने चिन्तित छन् ।” सोही वडाका स्थानीय जितबहादुर थापाका अनुसार रोग नलागेको भए रु ३ करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान थियो । उहाँले भन्नुभयो, “रु ३ करोडको सुन्तला बिक्री हुने अनुमान छ, तर रोग नलागेको भए अझै धेरै बिक्री हुन्थ्यो होला ।” यहाँ करोडौँ मूल्य बराबरको सुन्तला उत्पादन भए पनि उक्त सुन्तलालाई बजारसम्म लैजान भने समस्या हुँदै आइरहेको छ । नदीपारि रहेको लुङग्रिङ, बाटक, छिपछिपे, छापस्वाँरा तथा दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान समस्या हुने कृषक बताउँछन् । लुङग्रिङ र छिपछिपेका कृषकले बुद्धसिंह मार्गको नाल्दीघाट तथा मुग्लिङ नारायणगढ सडकको गाईघाटसम्म जीपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउँछन् । छापस्वाँरा र दगराका कृषकले भने ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा झारेर त्यहाँबाट दमौली हुँदै काठमाडौँ लैजाने गरेका छन् ।नाल्दी र गाइघाटमा पुल नहुँदा ढुवानी खर्च महङ्गो हुने गरेको कृषक हरिकुमार श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँका स्थानीयले सुन्तला, अदुवा, केरा तथा अन्य फलफुल रोपवेबाट नै राजमार्गसम्म झार्ने गरेका छन् ।गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाट तीन तिरबाट नदीले घेरिएको र उक्त ठाउँमा पुल नहुँदा समस्या भइरहेको बताउनुभयो ।
बागलुङ: निसीखोला गाउँपालिकाले स्थानीय जातका आलु र भाङको प्रवर्द्धन र बजारीकरणमा जोड दिन थालेको छ । चालु आर्थिक वर्षदेखि आलु र भाङको प्रवर्द्धन गरेर किसानलाई तत्कालै आम्दानीसँग जोड्ने योजनासहित गाउँपालिकाले बजारीकरण गर्न थालेको हो । निसीखोला गाउँपालिकाका अधिकांश ठाउँमा आलु फल्छ । स्थानीय जातको आलु स्वादिलो हुने भएकाले काठमाडौँ, पोखरा, बुटवल र भैरहवामा यहाँको आलु पुग्ने गरेको स्थानीय बताउँछन् । परम्परागत रूपमा गाउँपालिकाको उपल्लो क्षेत्रमा बर्खे र तल्लो क्षेत्रमा हिउँदे आलुको खेती हुँदै आएको छ ।ताराखोला र ढोरपाटनमा फल्ने आलु चर्चामा बढी छ घने निसीको भाङ चर्चित रहेको निसीखोला गाउँपालिकाको कृषि शाखाले जनाएको छ । पूर्वमा ताराखोला र पश्चिमका सहरमा ढोरपाटनको आलुको बढी चर्चा हुने गरेको छ । निसीखोलाका किसानले पनि हरेक वर्ष सयौँ किलो आलु बजार पुग्नेगरी उत्पादन गरे पनि प्रचारप्रचार र प्रवर्द्धनको अभावले अन्य गाउँको जस्तो चर्चा नपाएकाले यहाँ उत्पादित आलु र भाङको बजारीकरणमा जोड दिइएको कृषि शाखाका प्रमुख भक्तिप्रसाद रेग्मीले बताउनुभयो । रासायनिक मलको प्रयोग नहुने र स्थानीय जातको बीउ लगाउने भएकाले निसीको आलुले बजार पाउनेमा गाउँपालिका विश्वस्त रहेको उहाँको भनाइ छ । चालु आवदेखि आलु र भाङको प्रवर्द्धन गर्दै किसानलाई प्रत्यक्ष रूपमा आम्दानीसँग जोड्ने पालिकाले योजना बनाएको शाखाका प्रमुख रेग्मीले बताउनुभयो । “यहाँ प्रशस्त भाङ उत्पादन हुन्छ, एक पटक स्वाद पाएकाले खोजेर लैजानुहुन्छ”, रेग्मीले भन्नुभयो, “यहाँको भाङ र आलु निसी बाहिरका मानिसलाई पनि चखाउने र बिक्री गर्ने योजना बनाएका छौँ ।” पालिकाले किसानलाई ज्ञान, सीप, प्रविधि र बजारीकरणमा सहयोग गर्दै कृषि उपजबाट आम्दानीसँग जोड्ने योजना अघि सारेको उहाँले जानकारी दिनुभयो । बागलुङमा बढी उत्पादन हुने भाङको केही हिस्सा निसीका किसानले ओगटेका छन् । आर्थिक आम्दानी पनि हुने र स्वाद पनि हुने भएकाले यहाँका किसानले पाखोबारी बाँझो नराख्न भाङ खेती गर्दै आएका रेग्मीले बताउनुभयो । बारीमा लगाएको आलुले जेठ, असारमा फसल लिइन्छ । आलु उकेरेपछि खाली बारीमा सिमी र भाङ लगाइने भन्दै पुनः अर्को पटक आलु लगाउने समयसम्म फसल लिन सकिने उहाँको भनाइ छ । जिल्लाको ताराखोला, निसीखोला, तमानखोला, बडिगाड र ढोरपाटन नगरपालिकाका अधिकांश बारीमा भाङ उत्पादन हुने गरेको छ । सरकारले प्रतिबन्ध लगाएको लागुऔषधजन्य उत्पादन हुने गाँजा प्रजातिको रूखमा भाङ फल्छ । बागलुङका उच्च पहाडी भू–भागमा भाङको उत्पादन बढी हुने भए पनि यसको व्यावसायिक बजार नहुँदा किसान मर्कामा पर्दै आएका छन् ।