काभ्रेपलाञ्चोक: मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीको गायत्री सापकोटालाई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ । उहाँ जस्तै गाउँका अन्यलाई काउली काट्न त, कोही बजार लैजाने तयारीमा देखिन्छन् । सापकोटाले विगतमा जस्तै यसवर्ष पनि आफ्नो खेतमा राप्नुभएको थियो, तर काउलीको मूल्य घटीरहेकामा निकै चिन्तामा परेको बताउनुहुन्छ । “मैले बारीभरी काउली रोपेको थिएँ, अहिले मध्य सिजन भएकाले होला काउली रू १५ मा पनि बिकिरहेको छैन”, लगानीसमेत नउठ्ने भयो”, सापकोटाले दुःखेसो पोख्नुभयो । करिब महिनाअघिसम्म प्रतिकेजी रू एक सयसम्ममा बिक्री भएको काउली अहिले एकाएक सस्तिएपछि यहाँका किसान निकै चिन्तामा छन् । उक्त वडाका करिब एक सय ३० किसान परिवारले आफ्नो खेतबारीमा काउली रोपेका थिए । तर भाउ नपाउँदा उनीहरूको लगानी जोखिममा परेको बताइन्छ । बारीमै छोडौँ नहुने, टिपेर बजार पठाउँदा ज्याला पनि नउठ्ने भइसकेकामा स्थानीय अर्का किसान सङ्गीता सापकोटालाई पनि निकै चिन्ता पर्न थालेको छ । “यहाँ यो सिजनमा दैनिक एक हजार केजीसम्म काउली उत्पादन हुने गरेको छ, तर बजारमा राम्रो मूल्या नपाउँदा भने लगानी र ज्यालासम्म नउठ्ने भए पनि घाटा ब्याहोर्न बाध्य भइयो”, उहाँले भन्नुभयो । स्थानीय व्यापारीलाई तरकारी पठाउने गरेका यहाँका किसान आफूहरूलाई पायकपर्ने स्थानमा हाटबजार राखिदिन नगरपालिकासँग अनुरोध गरेको उहाँले बताउनुभयो । स्थानीय चिरञ्जीवी सापकोटा दम्पतीलाई पनि हालका दिनमा काउली काट्ने र बजार लैजान तयारी गरिदिन हतारोनै हुने गरेको छ । साँझ व्यापारी तरकारी लिन आउने भएकाले उहाँहरू समय मिलाएर काउली काट्न निस्कनुहुन्छ । व्यापारी तरकारी लिन बारीमै आउने र मोल नगरी लिएर जाने र बनेपा तथा काठमाडौँमा लगेर बिक्री गरेपछि आफूलाई नाफा राखेर पैसा दिने गरेको सापकोटाले बताउनुभयो । उहाँ पनि आफूले गरेको मेहनतअनुसारको आम्दानी नपाएकोमा निकै चिन्तामा परेको बताउनुहुन्छ । “व्यापारीलाई विश्वासकै भरमा तरकारी दिन्छौँ, समय नभएकाले हामी आफैँ बिक्री गर्न बजार जाँदैनौँ, त्यही भएर व्यापारीको भरपर्ने हो”, उहाँले भन्नुभयो । उहाँले हाल व्यापारीले प्रतिकिलो काउली रू १० का दरले पैसा दिएको बताउनुभयो । सापकोटाले पाँच रोपनीमा लगाएको काउलीबाट गत वर्ष रू एक लाख ५० हजारसम्म आम्दानी गर्नुभएको थियो । तर यस वर्ष मूल्य राम्रो नपाएकाले फाइदा निकाल्न सक्ने स्थितिमा नरहेको उहाँको भनाइ छ । यस वर्ष रू ८० हजार नकट्ने उहाँको अनुमान छ । हालसम्म स्थानीय किसानले काउलीको राम्रो मूल्य पाएको प्रतिकिलो रू १७ सम्म मात्रै हो । उपभोक्ताले बजारमा काउलीको मूल्य प्रतिकिलो रू ५० रूपैयाँसम्म तिर्दा पनि यहाँका किसानले भने रू १० देखि रू १५ मात्रै पाइरहेका छन् । गतवर्ष एउटै किसानले एक सिजनमा काउली, बन्दा र गोलभेडा बेचेर रू पाँच लाखभन्दा बढी आम्दानी गरेका थिए, तर यो वर्ष रू एक लाख उठाउन पनि कठिन देखिएको स्थानीयको भनाइ छ । सापकोटाको भनाइमा काउली फलाउन किसानले धेरै मेहनत गर्नुपर्छ, काउली रोप्न खेत वा बारी तयारी गर्ने, काउलीको बेर्ना तयारी गर्ने, रोप्ने, गोडमेल गर्ने, मलजल गर्ने, समय–समयमा कीटनाशक विषादी हाल्नेलगायत काम गर्नुपर्छ, यतिका काम गर्दा लागेको खर्च हालको बजार मूल्यले धान्न सक्दैन । “हाल किसानले प्रतिकिलो काउलीको मूल्य रू ३५ देखि ४० सम्म पाउनसके लगानी उठाउन सकिनेछ”, सापकोटाले भन्नुभयो । तरकारीबाट उचित मूल्य नपाएपछि यहाँका किसानमा निराशा छाउँदै गएको अर्का किसान कृष्णप्रसाद सापकोटा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भारतबाट तरकारी आयात हुँदा नेपालका किसानले तरकारीको उचित मूल्य पाउँदैनन्, मौसमी काउली अहिलेको समयमा बढी उत्पादन भएकाले पनि उचित मूल्य नपाएको हो ।” राम्चेबेँसीमा हरेक वर्ष तरकारीखेती हुन्छ । यहाँका सयौँ रोपनी जग्गामा किसानले मौसमी तथा बेमौसमी तरकारी रोप्दै आएका छन् । तर पछिल्ला केही वर्षयता भने मण्डनदेउपुरमा विविध कारण खेतीपातीमा लाग्ने किसान विस्तारै घट्न थालेको देखिएको छ । निकै दुःख गरेर उत्पादन गरे पनि बजारका राम्रो मूल्य नपाउँदा किसानले खेतीमा गरेको लाखौँ रूपैयाँ जोखिममा पर्ने गरेको घटना देखिएका छन् । मल, बीउ समयमा नपाउने र पाइए पनि महँङ्गो तिर्नुपर्ने कारण लाखौँ लगानी गर्नुपर्ने बाध्यता रहेको छ ।
काठमाडौं: बढ्दो बसाँइसराई र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रममा वृद्धि भएपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० को तुलनामा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव ५५ प्रतिशतले घटेको उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हिस्सा १५ दशमलव ८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क कार्यालयको अनुमान छ । गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा १५ दशमलव ८८ प्रतिशत थियो । सो प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३२ दशमलव ८० प्रतिशत, उद्योग क्षेत्रको १६ दशमलव ३२ प्रतिशत र सेवा क्षेत्रको ५० दशमलव ८८ प्रतिशत योगदान रहने अनुमान छ । कृषि भूमि घटन जाँदा धान, मकै, कोदो, आलु, भटमास, सुन्तला, बेसारलगायत बालीले ढाकेको क्षेत्रफल घटेकाले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल कम भएको हो । कोशी प्रदेशमा समग्र कृषि उपजले ढाकेको क्षेत्रफल मध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफल ८७ दशमलव ९२ प्रतिशत, तरकारी बालीको पाँच दशमलव ११ प्रतिशत र अन्य बालीले ढाकेको क्षेत्रफल छ दशमलव ९७ प्रतिशत छ । कृषि उपजले ढाकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ, र कोदो बालीले ढाकेको क्षेत्रफलको हिस्सा ७१ दशमलव ६४ प्रतिशत छ । आव २०८०र८१ मा यस प्रदेशमा समग्र कृषि बालीको उत्पादन एक दशमलव १३ प्रतिशतले वृद्धि भएको छ । विशेष गरी खाद्य बाली अन्तर्गत धान सात दशमलव ४५ प्रतिशत तथा कोदो शुन्य दशमलव ८६ प्रतिशतले वृद्धि भएकाले समग्र कृषि बालीको उत्पादन वृद्धि भएको देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा तरकारीको उत्पादन एक दशमलव ९८ प्रतिशत, चियाको उत्पादन शुन्य दशमलव शुन्य एक प्रतिशत, कफीको उत्पादन एक दशमलव २३ प्रतिशत तथा महको उत्पादन शुन्य दशमलव २८ प्रतिशतले बढेको छ भने फलफूलको उत्पादन शुन्य दशमलव ९४ प्रतिशत र मसलाको उत्पादन आठ दशमलव शुन्य तीन प्रतिशतले घटेको छ । आव २०८०/८१ मा यस प्रदेशको कुल खेतीयोग्य क्षेत्रफलको ३७ दशमलव तीन प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सुविधा पुगेको क्षेत्रफल ३६ दशमलव ७४ प्रतिशत रहेको थियो । कोशी प्रदेशमा कुल सिञ्चित क्षेत्रफल एक दशमलव ५२ प्रतिशतले विस्तार भएको छ । त्यसैगरी दुध उत्पादन १९ दशमलव ९३ प्रतिशत, मासु उत्पादन दुई दशमलव ३० प्रतिशत तथा माछा उत्पादन एक दशमलव २१ प्रतिशतले वृद्धि भएको छ । अण्डा उत्पादन एक दशमलव ७३ प्रतिशत तथा ऊनको उत्पादन छ दशमलव ४३ प्रतिशतले घटेको छ । यसैगरी, काठको उत्पादन १५ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ । २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा दुई दशमलव १० प्रतिशतले घटेर रु ५९ अर्ब ९० करोड ७४ लाख ४१ हजार पुगेको छ । गत असार मसान्तसम्म कुल प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश १० दशमलव १२ प्रतिशत रहेको छ । यस प्रदेशका नमुना छनोटमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ५२ दशमलव सात प्रतिशत रहेको छ । आव २०७९/८० मा उक्त उद्योगको औसत क्षमता उपयोग ५१ दशमलव एक प्रतिशत रहेको थियो । उत्पादित वस्तु अनुसार समीक्षा वर्षमा टायर तथा ट्यूव उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९१ दशमलव तीन प्रतिशत रहेको छ भने वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम चार दशमलव चार प्रतिशत रहेको छ । अध्ययनमा समेटिएका उद्योगको उत्पादनमध्ये गार्मेन्ट उत्पादन सबैभन्दा बढी छ भने घरेलु धातुका सामानको उत्पादन ४५ दशमलव सात प्रतिशतले घटेको छ । सो प्रदेशका ४३ वटा उद्योगमा आव २०७९/८० मा १८ हजार चार सय ६१ जना श्रमिक कार्यरत रहेकामा समीक्षा आर्थिक वर्षमा ती उद्योगमा जम्मा १६ हजार नौ सय ५८ जना श्रमिक कार्यरत छन् जुन गत वर्षको सोही अवधिको तुलनामा आठ दशमलव एक प्रतिशतले कम हो । सुनसरी, मोरङ, इलाम, झापा र उदयपुरमा रहेका उद्योगमा श्रमिकले रोजगारी गुमाएका छन । कुल औद्योगिक रोजगारीमध्ये ८३ दशमलव दुई प्रतिशत स्वदेशी र १६ दशमलव आठ प्रतिशत विदेशी कामदारहरूले रोजगारी प्राप्त गरेका थिए । समीक्षा वर्षमा कुल औद्योगिक रोजगारीमा स्वदेशी र विदेशी कामदारको सहभागिता क्रमशः ९१ प्रतिशत र नौ प्रतिशत छ । केन्द्रीय बैंकका अनुसार, २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा कुल औद्योगिक कर्जा आठ दशमलव ११ प्रतिशतले वृद्धि भइ रु एक खर्ब ३९ अर्ब कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा छ दशमलव ६४ प्रतिशतले वृद्धि भएको थियो । सो प्रदेशमा वाणिज्य बैंकका सात सय ५४, विकास बैंकका एक सय ९५, वित्त कम्पनीका ३६ तथा लघुवित्त वित्तीय संस्थाका आठ सय ५२ गरी जम्मा एक हजार आठ सय ३७ शाखा पुगेका छन् । त्यसैगरी २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा सो प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन १३ दशमलव ३८ प्रतिशतले वृद्धि भई रु चार खर्ब ७७ अर्ब र प्रवाह गरेको कर्जा तीन दशमलव ८१ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ७८ अर्ब पुगेको छ ।
सर्लाही: उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी पाउँदा सर्लाहीको बागमती नगरपालिका–१, मिलनचोक निवासी रामहरी पाण्डेलाई सुरुमा त पत्याउनै मुस्किल भयो । विगतमा वर्षौंसम्म चिनी उद्योगहरुले भुक्तानी नगर्दा हैरानी खेप्दै आएका उहाँजस्ता किसानहरुले यसपटक समयमै भुक्तानी पाएका छन् । विगतमा राज्यले समयमा उखुको समर्थन मूल्य नतोक्ने र उद्योगीले वर्षौंसम्म पनि भुक्तानी नदिने समस्याबाट किसानहरू हैरान हुनु परिरहेको थियो । तर, यस वर्ष उखु क्रसिङ पहिला नै समर्थन मूल्य तय भएको र उद्योगीले पनि उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी दिन थालेपछि किसानलाई उखुखेती फेरि नगदेबाली हो भन्ने लाग्न थालेको पाण्डेले बताउनुभयो । पाण्डेले यस वर्ष चार बिघामा उखु लगाउनु भएको छ । पहिलोपल्ट उहाँले गत मङ्सिर २७ गते उद्योगमा उखु बेच्नु भएको थियो । इन्दुशङ्कर चिनी उद्योगको मिलगेट क्षेत्रका उखु किसान पाण्डेले हप्ता दिनमै बैंकमा पैसा जम्मा भएको घण्टी बजेपछि खुसीले गद्गद् हुनुभयो । “अब बल्ल उखु नगदेबाली हो भन्ने लागेको छ”, उहाँले भन्नुभयो, “किनकी यो वर्ष उखुको पैसा हाताहाती जस्तै आइरहेको छ ।” सुरुमा उखुखेती गर्दा मूल्य र भुक्तानी के हुने हो भनेर चिन्ताले पाण्डेलाई नसताएको हैन । तर, यस वर्ष उखु बिक्री गरेर समयमै भुक्तानी पाएपछि ऊखुखेतीप्रति आकर्षण बढेको पाण्डेले सुनाउनुभयो । उखुको समर्थन मूल्यमा राज्यले किसानको लगानी र चिनीको मूल्यलाई आधार बनाएर तोक्ने र उद्योगले किसानको भुक्तानी व्यवस्थित गर्ने हो भने किसानहरू उत्साहित भएर उखुखेती गर्न तयार रहेको उहाँ बताउनुहुन्छ । हरिवन नगरपालिका–३, का गोपी तिमल्सिनाको पनि अनुभव उस्तै छ । विगतका वर्षमा झैँ अब किसानले गुलियो उखु लगाएर अमिलो अनुभव गर्न नपरोस् भन्ने उहाँ कामना गर्नुहुन्छ । हरिवनको इन्दुशङ्कर चिनी उद्योगमा उखु बेचेको पैसा हप्ता दिनमा आफ्नो खातामा आएको उहाँले बताउनुभयो । राज्यलेसमेत अनुदानवापतको रकम किसानको खातामा जम्मा गरिदिनुपर्ने उहाँको धारणा छ । विगतका वर्षमा जस्तो अनुदानको रकममा किसानलाई दुःख पाउनु हँुदैन”, उहाँले भन्नुभयो, “समयमै भुक्तानी सुरु गर्नुपर्छ, अनि मात्र फेरि उखु नगदेबाली बन्छ । किसान पनि खेती गर्न उत्साहित हुन्छन् ।” यस वर्षबाट हप्ता दिनमै किसानको खातामा पैसा जम्मा गर्न थालेपछि किसानहरू उत्साहित बनेका हुन् । यस उद्योगले यस वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको उद्योगका महाप्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । किसानहरूसँग एक महिनाभित्र भुक्तानीको सहमत भए पनि उद्योगले एक हप्ताभित्रै भुक्तानी गरिरहेको उहाँको भनाइ छ । महाप्रबन्धक रजकका अनुसार उद्योगले पुस २० गतेसम्म किसानबाट छ लाख १७ हजार दुई सय क्विन्टल उखु खरिद गरी क्रसिङ गरिएकामा यही पुस १७ गतेसम्मको उखुको रु २८ करोड भुक्तानी गरिसकेको छ । गत मङ्सिर २७ गतेदेखि सञ्चालनमा आएको उद्योगले यो तेस्रो पटक किसानको खातामा रकम जम्मा गरेको हो । यस उद्योगले उखु उत्पादन बढाउनका लागि उन्नत जातको बीउ, मल, विषादीको प्रयोगको साथै तालिम, गोष्ठी तथा किसानहरूलाई प्राविधिक सेवासमेत अभियानकै रुपमा प्रदान गरिरहेको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले बताउनुभयो । किसान खुसी पारेर उखु तान्न समेत उद्योगहरूले भुक्तानी छिटोछिटोे गरिरहेका नेपाल उखु उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीको भनाइ छ । जिल्लामा सञ्चालनमा रहेकामध्ये गोडैता नगरपालिकास्थित बगदहमा रहेको महालक्ष्मी चिनी उद्योगले र धन्कौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले भने विगतका वर्षमासमयमै भुक्तानी नगरेको किसानहरूको भनाइ छ । रामनगर गाउँपालिका–४ का नितिन रायले अन्नपूर्ण चिनी उद्योगका पुराना सञ्चालकसँग आफ्नो फसल बेचेको पैसा लिन निकै सङ्घर्ष गर्नुपरेको सुनाउनुभयो । यस उद्योगका नयाँ व्यवस्थापनले भने यस वर्षबाट उखुको भुक्तानी व्यवस्थित गरेको दाबी गरिरहेका छन् । गत मङ्सिर ६ गतेदेखि क्रसिङ शुरु गरेको यस उद्योगले पुसको पहिलो हप्तासम्मको भुक्तानी किसानको खातामा पठाइसकेको जनाएको छ । विगतको वर्षमा उखु दिएको वर्षौंसम्म पैसा नपाएका किसानले यसवर्ष भने उखु बेचेको १५÷१५ दिनमा पैसा खातामा जम्मा भएको भन्दै खुसी व्यक्त गरेका छन् । धन्कौल–५ निवासी वीरेन्द्र महतोले उखु बेचेको १४ दिनको दिन पैसा पाएको भन्दै यस वर्ष उखु नगदमै बेचेको प्रतिक्रिया दिनुभयो । “हामीले सधैँ उधारोमा उखु उद्योगलाई दिँदै आएका थियौँ”, उहाँले भन्नुभयो, “हामीसँग अरु विकल्प पनि थिएन । तर यस वर्ष पैसा पनि आइरहेको छ ।” अब पहिलेको जस्तो उखु बेचेको पैसा माग्न पुस÷माघको ठन्डीमा काठमाडौँ जान नपरोस् भन्ने उहाँको पनि कामना छ । पन्ध्र लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको यस उद्योगले पनि हालसम्म चार लाख ५० हजार क्विन्टल उखु क्रसिङ गरिसकेको जनाएको छ । राज्यले तय गरेको समर्थन मूल्य पाँच सय ८५ रुपैयाँ प्रतिक्विन्टलको दरले ११ करोड रकम भुक्तानी गरेको उद्योग सञ्चालक शैलेन्द्र गुप्ताले जानकारी दिनुभयो । जिल्लामा सबैभन्दा सुरुमा सञ्चालनमा आएको यस उद्योगलाई किसानहरूले विश्वास नगर्दा उखु नपाएर उद्योग पटकपटक बन्द हुँदै सञ्चालन हुँदै गरिरहेको छ । उद्योगको ढोकै नजिकबाट रौतहट र महोत्तरीका उद्योगले उखु लगेपछि अन्नपूर्णले स्थानीय जनप्रतिनिधि समेत गुहार्नुपरेको थियो । स्थानीय जनप्रतिनिधिले अन्य उद्योगको उखु सङ्कलन केन्द्र (काटा) राख्न नदिएपछि यस उद्योगले केही राहतको श्वास फेरेको छ । स्थानीय जनप्रतिनिधि र राजनैतिक दलका नेताहरूले उद्योगसँग मिलेर अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगमा उखु बेच्न किसानहरूलाई जबरजस्ती बाध्य पारेको किसानहरूको गुनासो छ । स्थानीयस्तरमा भएका उद्योगबाट किसानले लाभ लिन सक्ने र यस उद्योग जोगिए स्थानीय रोजगारीदेखि औद्योगिक विकासमा टेवा पुग्ने जनप्रतिनिधिहरूको भनाइ छ । उद्योगले किसानको भुक्तानीमा आनाकानी गरे आफूहरू किसानको पक्षमा रहेको बलरा नगरपालिकाका मेयर रामाशङ्करप्रसाद कुशवाहाले बताउनुभयो । गोडैतामा रहेको महालक्ष्मी चिनी उद्योग पनि किसानलाई नियमित भुक्तानी दिएर किसान फकाउन लागिपरेको छ । विगतमा किसानसँग बिग्रिएको सम्बन्ध समेत सुधार गर्ने योजनासहित यस वर्ष उखुको भुक्तानी प्रत्यक १५ दिनमा किसानहरूको खातामा पठाइरहेको उद्योगले जनाएको छ । यस उद्योगमा उखु बेचेका गोडैता नगरपालिका–५ का उखु किसान रामविनय महतोले उखुको भुक्तानी पाएको बताउनुभयो । हालसम्म दुई सय क्विन्टल उखु बेच्नु भएका उहाँको खातामा आजसम्म एक सय ५० क्विन्टल उखुको पैसा जम्मा भइसकेको छ भने बाँकी रकम पनि एक÷दुई दिनमा जम्मामा उहाँ ढुक्क हुनुहुन्छ । “यसपटक विगत वर्षहरुमा जस्तो उखुको भुक्तानी माग्न पटकपटक उद्योगी र कर्मचारी खोज्दै उद्योग धाउन परेन”, उहाँले भन्नुभयो । “पहिला उखु दियो पैसा माग्न धाउनुपथ्र्यो”, उहाँले भन्नुभयो, “यसपटक १५ दिन पहिला नै उखुको पैसा खातामा आइसकेको छ ।” विष्णु गाउँपालिका–७, का सिकिन्दर मण्डलले अघिल्लो वर्ष उखु उधारोमा मिललाई दिएर साहुसँग ऋण गरेर परिवारको पालनपोषण गरेको तीतो यथार्थ पोख्नुभयो । “उखु बेचेर पनि समयमै भुक्तानी नपाउँदा ऋणमा डुब्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “त्यसैकारण मैले धेरै उखु हटाएर अन्य बाली पनि लगाएँ । तर, खोला र जङ्गल नजिकका खेतमा जङ्गली जनावर र वर्षाको भलले अन्य बाली पनि राम्रो भएन । अब उखु नै लगाउने निधो गरेँ ।” मङ्सिर १२ गतेदेखि सञ्चालनमा आएको यस उद्योगले पनि यस वर्ष हालसम्म पाँच लाख दुई हजार क्विन्टल बढी उखु क्रसिङ गरेको उद्योगका प्रशासकीय अधिकृत शिवशङ्कर महतोले बताउनुभयो । उहाँका अनुसार यस उद्योगले यसवर्ष २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । उद्योगले क्रसिङ गरेकोमध्ये २५ दिनको उखुको भुक्तानी गरिसकेको र १५ दिनको बाँकी रहेको उद्योगका प्रशासकीय अधिकृत महतोको भनाइ छ । किसानले ल्याउने उखुमा चिनीको मात्र कम हुँदा उद्योग सङ्कटमा परेको उहाँको भनाइ छ ।
काठमाडौं: अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य २७०४ अमेरिकी डलर निर्धारण भएको छ । गत शुक्रबार सोही परिमाणको पहेँलो धातु २६८१ डलरमा कारोबार भएको थियो । गत शुक्रबारको तुलनामा आज प्रतितोला सुनमा रु एक हजार ६०० ले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु एक लाख ५५ हजार ७०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार आठ सय ६० कायम भएको छ ।
कैलाली: ‘अफ्रिकन स्वाइन फिभर’ का कारण कैलालीको घोडाघोडीमा ३८ बङ्गुर मरेका छन् । घोडाघोडी– ९ का कृषक प्रदेशु चौधरीले पालेका बङ्गुर मरेका हुन् । घोडाघोडी नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक मनोज आचार्यले बङ्गुर मर्न थालेपछि गरिएको परीक्षणमा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार यही पुस १८ गते पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा परीक्षण गर्दा रोग पुष्टि भएको थियो । “थप पुष्टि गर्न केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा समेत पठाएका थियौँ । त्यहाँ पिसिआरद्वारा परीक्षण गर्दा सोही रोग नै भएको पुष्टि भएको छ”, आचार्यले भन्नुभयो । यस रोगले हालसम्म चौधरीको फार्ममा ३२ पाठापाठी, पाँच माउ बङ्गुर र एक भाले बङ्गुर मरेका हुन् । सुदूरपश्चिमका कैलाली, कञ्चनपुरलगायत जिल्ला अफ्रिकन स्वाइन फिभरको उच्च जोखिममा छन् । विसं २०७९ कात्तिकमा सुदूरपश्चिममा पहिलोपटक कैलालीको भजनीका कृषक जय बुढाको बङ्गुर फार्ममा यो रोग देखापरेको थियो । त्यसबेला बुढाले पालेका चार सय ८२ बङ्गुर मरेका थिए । त्यसपछि कैलाली, कञ्चनपुरलगायत जिल्लामा यो रोग देखापरिरहेको छ । अफ्रिकन स्वाइन फिभर बङ्गुर÷सुँगुर र बँदेलहरूमा भाइरसबाट लाग्ने महामारी रोग भएको बताइएको छ । सङ्क्रमित हुने सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म ज्वरो आउने गरेको पशुचिकित्सकले बताएका छन् । त्यसबाहेक कान, पुच्छर र पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा नीलो धब्बा देखिने, खाना नखाने, छेर्ने, लड्खडाउने, तुहिने र ज्यानै जाने अवस्था आउने गरेको पशु स्वास्थ्य प्राविधिक आचार्यले बताउनुभयो । रोगी बुङ्गुरसँगको संसर्ग र तिनको ओसारपसारमा प्रयोग हुने वस्तुहरूमार्फत पनि यो रोग सर्ने गरेको जानकारी दिनुभयो ।
भोजपुर: खाद्य गोदामबाट सुपथ मूल्यमा चामल वितरण सुरु भएसँगै यहाँका नागरिकलाई सहज भएको छ । गोदामबाट बजार मूल्यभन्दा सस्तोमा चामल वितरण गरिएपछि आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकलाई राहत मिलेको हो । गत असोज ७ गतेदेखि आगामी माघ २ गतेसम्म स्थानीय नागरिकलाई प्रतिकिलो रु पाँच छुटमा चामल वितरण भइरहेको जिल्लास्थित व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख सन्तोषकुमार शाहले जानकारी दिनुभयो । गोदामबाट अहिले २५ किलो स्टिमजिरा मसिनो चामल रु दुई हजार एक सय २५ र अरुवा सोना मन्सुली चामल प्रतिबोरा रु एक हजार पाँच सयमा बिक्री भइरहेको छ । स्थानीयको मागलाई पूर्ति गर्न विगतका वर्षभन्दा यस वर्ष चामलको मात्रा बढाइएको प्रमुख शाहले बताउनुभयो । गत वर्षसम्म यहाँ वार्षिक रूपमा एक हजार क्विन्टल चामल आउने गरेकामा एक हजार पाँच सय क्विन्टल पु¥याइएको उहाँले जानकारी दिनुभयो । “स्थानीयको मागलाई ध्यानमा राखेर यहाँ आउने चामलको मात्रा बढाएका छौँ”, प्रमुख शाहले भन्नुभयो, “आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकतामा राखेर चामल बिक्री गरिरहेका छौँ । औसतमा मासिक रूपमा एक सय २५ क्विन्टलसम्म चामल वितरण भइरहेको छ ।” स्थानीयको मागअनुसार गोदामबाट चिनी पनि वितरण थालिएको प्रमुख शाहले बताउनुभयो । गोदाममा अहिले स्थानीयलाई वितरणका लागि १० क्विन्टल चिनी मौज्दात रहेको उहाँले उल्लेख गर्नुभयो । कार्यालयबाट खाद्यसामग्री वितरणले नागरिकलाई राहतसँगै बजार मूल्यलाई सन्तुलनमा राख्न भूमिका निर्वाह गर्ने विश्वास लिइएको उहाँले बताउनुभयो । कार्यालयबाट सार्वजनिक बिदाका दिनबाहेक अन्य समयमा नियमित रूपमा चामल वितरण भइरहेको प्रमुख शाहले जानकारी दिनुभयो । “विगतमा चाडबाडका समयकम बढीमात्रामा चामल वितरण हुन्थ्यो”, उहाँले भन्नुभयो, “स्थानीयको सहजताका लागि नियमित रूपमा वितरण गरिरहेका छौँ । यसले दुर्गम क्षेत्रबाट आएका नागरिक बढी लाभान्वित भएका छन् । सदरमुकाम बाहिरका स्थानीयका लागि हतुवागढी गाउँपालिकामा बन्द अवस्था रहेको खाद्य डिपोलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रमुख शाहले बताउनुभयो । सदरमुकाममा आउने चामलको मात्रालाई पाँच हजार क्विन्टल र घोडेटार डिपोमा तीन हजार क्विन्टल पु¥याउने लक्ष्य रहेको कार्यालयले जनाएको छ । घोडेटारस्थित खाद्य डिपो १० वर्षे सशस्त्र द्वन्द्वकालमा चामल लुटिएपछि बन्द भएको थियो । पछिल्लो छ महिनाको अवधिमा करिब एक हजार दुई सय क्विन्टल चामल स्थानीयले खपत गरेका कार्यालयले जनाएको छ ।
काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुनमा रु आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु एक लाख ५४ हजार १०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ८४५ कायम भएको छ ।
काठमाडौं: अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तरराष्ट्रिय बजारसमा आज एक औँस सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा रु आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु १० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्का अनुसार एक तोला सुन आज रु एक लाख ५३ हजार ३०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ४० कायम भएको छ ।
काठमाडौं: सिताके च्याउको मूल्य आधाभन्दा बढीले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार थोकमा प्रतिकेजी अधिकतम रु आठ सयमा बिक्री भएको सिताके च्याउको मूल्य आज आधाभन्दा बढीले घटेर प्रतिकेजी तीन सय ३० मा बिक्री भइरहेको छ । समितिका अनुसार बुधबार थोकमा डल्ले च्याउ प्रतिकेजी अधिकतम रु दुई सय ८० तोकिएकामा आजका लागि रु तीन सय ३० तोकिएको छ । साथै घिउ सिमीको मूल्य आज प्रतिकेजी रु २५ ले घटेर रु ५० कायम भएको छ । आज गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी रु ८०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु ३०, गोलभेडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेडा सानो (तराई) प्रतिकेजी रु ४०, आलु रातो प्रतिकेजी रु ४५, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु १००, गाजर (तराई) प्रतिकेजी रु ९०, बन्दा (लोकल) प्रतिकेजी रु २५, बन्दा (तराई) प्रतिकेजी रु २०, बन्दा (नरिवल) प्रतिकेजी रु २५, काउली स्थानीय प्रतिकेजी रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ३०, काउली तराई प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु २५, मूला सेतो ९लोकल० प्रतिकेजी रु २५, सेतो मूला ९हाइब्रिड० प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३५, भन्टा डल्लो प्रतिकेजी रु ४० कायम भएको छ । यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु ९०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ६०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ५०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ३५, रायो साग प्रतिकेजी रु २०, पालुङ्गो साग प्रतिकेजी ६०, चमसुरको साग रु ६०, तोरीको साग प्रतिकेजी रु ४०, मेथीको साग प्रतिकेजी रु ६०, प्याज हरियो प्रतिकेजी रु ६०, बकुला प्रतिकेजी रु ९०, तरुल प्रतिकेजी रु ८०, च्याउ ९कन्य० प्रतिकेजी रु ८०, च्याउ ९डल्ले० प्रतिकेजी रु ३३० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु ५०, चुकुन्दर प्रतिकेजी रु ९०, सजिवन प्रतिकेजी रु २५०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ९०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्दुक प्रतिकेजी रु ३०० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १४०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १२५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ९०,नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु ९०, अम्बा प्रतिकेजी रु ११०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ८० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी रु १३०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ८०, लसुन हरियो प्रतिकेजी रु १६०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी रु १६०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ३३० तोकेको छ ।