काठमाडौं: अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बितेका चारदिनदेखि पहेँलो धातुको मोल बढिरहेको छ ।  सोमबार प्रतितोला रु एक लाख ७७ हजार ९०० मा कारोबार ...

गलकोट:    सुन्तला गाउँको चिनिएको सिगानामा उत्पादित सुन्तला बागलुङ नगरपालिकाले बजारीकरणमा सघाउन थालेको छ ।  उचित मूल्य र पहिचानका लागि सुन्तला ‘ब्राण्डिङ’ गर्न थालिएको हो । यहाँको बागलुङ नगरपालिकाले सिगानाको सुन्तलालाई ब्राण्डिङ गरेर बजारीकरणका लागि सहकारीमार्फत प्याकेजिङको काम थालेको छ ।  बागलुङ नगरपालिकाले वडा नम्बर ८ सिगानाको गणेश कृषि सहकारीको नाममा ‘सिगानाको रसिलो सुन्तला’ लेखेको कार्टुन उत्पादन गरेर बजारीकरणमा सघाएको हो ।  नगरपालिकाले पहिलो चरणमा दुई हजार दुई सय कार्टुन निर्माण गर्न ५० प्रतिशत अनुदान सुन्तला किसानलाई दिएको छ । गणेश कृषि सहकारीका अध्यक्ष रामबहादुर खड्काका अनुसार सहकारीमार्फत सुन्तलाको ब्राण्ड बनाएर बजारीकरण गर्न थालिएको जानकारी दिनुभयो ।  उहाँले परीक्षणका लागि यस वर्ष दुई हजार दुई सय कार्टुन ‘सिगानाको रसिलो सुन्तला’ लेखेर बागलुङ नगरपालिकाको लोगो राखेर बजारमा सुन्तला पठाउन थालिएको बताउनुभयो ।  “परीक्षणका लागि ब्राण्डिङको काम थालेका छौँ सिगानाको सुन्तलाको माग धेरै भयो, चर्चा समेत छ तर ब्राण्ड नुहँदा बजारीकरणमा समस्या भयो”, खड्काले भन्नुभयो, “अहिले एउटा कार्टुनलाई किसानले रू ४० मा पाउँछन्, सुन्तला प्याकेजिङ गरेर पठाउँदा कार्टुनको मूल्य सुन्तलामै जोडिन्छ, पहिलो चरणमा नगरपालिका र सहकारी मिलेर रू एक लाखका कार्टुन उत्पादन गरेका हौँ, कोसेलीका रूपमा पठाउँदा, मायाको चिनो प्रदान गर्दा ब्राण्डिङ गरेको कार्टुनमा राखेर पठाउँछौँ ।”  सिगानाको सुन्तला भन्दै अन्यत्रको सुन्तला बजारमा खरिद बिक्री भइरहेकाले ब्राण्डको आवश्यकता परेको सिगानाका सुन्तला किसानको भनाइ छ । खड्काले कार्टुनको मागअनुसार सहकारीले उत्पादन गर्नसक्ने बताउँदै सिगानाको सुन्तला नगरपालिकाकैै पहिचानसँग जोडिएकाले आगामी दिनमा नगरपालिकाले कार्टुन, क्यारेटजस्ता बजारीकरणमा सघाउने खालको अनुदानमा थप कार्यक्रम ल्याउन आवश्यक भएको खड्काको भनाइ छ ।  आयातित वस्तुलाई मायाको चिनोका रूपमा दिनुभन्दा गाउँको उत्पादन दिँदा पहिचान हुने हुँदा यहाँ उत्पादन भएको सुन्तला मायाको चिनोको रूपमा समेत दिन थालिएको छ । यहाँका किसानले वार्षिक रू तीन करोडको सुन्तला बिक्री गर्दै आएका छन् । यहाँ उत्पादन भएको सुन्तला बुटवल, पोखरा र काठमाडौँ निर्यात हुँदै आएको छ ।   वर्षौंदेखि यहाँका किसानले सुन्तला बिक्रीबाटै आम्दानी गर्दै आएकाले यसको प्रचारप्रसारका लागि ब्राण्डिङ गर्न थालिएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।  “सिगानको सुन्तला हाम्रो  पहिचान हो, यहाँ उत्पादन भएको सुन्तला अन्य ठाउँको भन्दा निकै स्वादिष्ट हुन्छ, धेरै उत्पादन हुने हुँदा किसानले यसबाट आम्दानी गर्दै आएका छन्, अब हामीले सिगानालाई सुन्तलालाई अन्तर्राष्ट्रियरूपमा चिनाउन आवश्यक छ, पहिलो चरणमा कार्टुन बनाइएको छ जुन कार्टुन ५० प्रतिशत छुटमा नगरपालिकाले किसानलाई उपलब्ध गराउन सुरू गरेको छ”, खड्काले भन्नुभयो ।  सिगानालाई सुन्तला अध्ययन केन्द्रका रूपमा समेत विकास गर्ने नगरपालिकाको लक्ष्य रहेको खड्काले बताउनुभयो । यस वर्ष नगरपालिकाले रू पाँच लाख लागतमा सुन्तलाका बिरूवा ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । सिगानामा दुई सय किसानले वार्षिक रू एक लाखदेखि पाँच लाखसम्मको सुन्तला बजार पठाउँदै आएका छन् । 

काठमाडौं:     माघेसङ्क्रान्ति पर्व नजिकिँदै गर्दा ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारमा चाकु बनाउन भ्याइनभ्याइ भएको छ ।             माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलनअनुसार यतिबेला काठमाडौँको टोखाका व्यवसायी चाकु र तिलका लड्डु बनाउन भ्याइनभ्याइ भएको हो । विशेष गरी नेवार समुदायमा माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन छ । टोखा नेवार समुदायको मुख्य बस्ती रहेको बजार हो ।        टोखामा काठमाडौँका अन्यत्र स्थानको तुलनामा माघे सङ्क्रान्तिका लागि चाकु बढी उत्पादन हुने गर्दछ । माघे सङ्क्रान्ति पर्व आउन एक हप्तामात्र बाँकी रहँदा यहाँका उद्यमीलाई चाकु बनाउन भ्याइनभ्याइ देखिन्छ ।         टोखा नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने टोखा बजारभित्र चाकु उत्पादन गर्ने १४ उद्योग छन् । ती उद्योग वरिपरि यतिबेला मानिसहरूको चहलपहल पनि बढेको देखिएको छ ।  टोखावासी मात्रै नभई काठमाडौँका अधिकांश पसलेले पनि यहीँबाट चाकु लगि बिक्री गर्ने भएकाले उनीहरूको पनि बाक्लो उपस्थिति देखिन थालेको हो । अहिले नै चाकु किन्ने तथा खरिदका लागि ‘बुकिङ’ गर्न व्यवसायीहरू त्यहाँ पुग्ने गरेका छन् ।       यतिबेला टोखाको श्रीकृष्ण चाकु उद्योगमा ५० भन्दा बढी कामदारल चाकु उत्पादनको कार्यमा खटिएका छन् । उक्त चाकु उद्योगकी सञ्चालिका सन्तमाया श्रेष्ठ तिहारपछि आफू चाकु उत्पादनमा लागेको र अहिलेसम्म निरन्तर काम गरिरहेको बताउनुहुन्छ । आफूले चार पुस्तादेखि निरन्तर चाकु बनाउँदै आएको उहाँको भनाइ थियो ।         टोखाको चाकु काठमाडौँका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा बिक्री हुँदै आएको छ । यसैगरी, उक्त चाकु नेवार समुदाय भएको विदेशका विभिन्न मुलुकममा बिक्री वितरण हुन्छ ।        टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठ कात्तिकदेखि पुससम्म टोखाका चाकु उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ हुने गरेको बताउनुहुन्छ । “टोखाका चाकु उद्योगीले वार्षिक रू ३० लाखदेखि ४० लाख मूल्य बराबरको चाकु र उखुबाट बन्ने विभिन्न परिकार बिक्रीवितरण गर्दै आएका छन्”, अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ ।             नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखुखेती तथा चाकु उत्पादनका लागि प्रसिद्ध ठाउँ हो । अध्यक्ष श्रेष्ठ टोखामा परम्परादेखि नै उखुखेती हुने र उक्त उखुबाट चाकुलगायत विभिन्न परिकार बनाइने भएकाले पनि टोखाको चाकुको महत्त्व देश र विदेशमा रहेको बताउनुहुन्छ । नेवारी भाषामा ‘टु’ र ‘ख्यः’ भन्दाभन्दै उक्त शब्द अपभ्रंश हुँदै ‘टोखा’ हुन गएको मानिन्छ ।        टोखा नगरपालिकाको नामकरणसमेत टोखा बजारबाट भएको हो । टोखा नगरपालिकालेसमेत टोखाको चाकु संरक्षणमा काम गरिरहेको छ । टोखा नगरपालिकाले हाल टोखामा ‘चाकु स्तम्भ’ निर्माणका लागि बजेटसमेत विनियोजन गरिसकेको छ ।        नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर  विसी टोखाको चाकु संरक्षणका लागि टोखाका चाकु उद्योगीलाई चाकु उत्पादनसम्बन्धी तालिम तथा उखु क्षेत्रको भ्रमण गरिसकिएको बताउनुहुन्छ । टोखाको चाकु अन्तर्राष्ट्रियस्तरमा ‘ब्रान्डिङ’ गरिने उहाँको भनाइ थियो ।         अहिले टोखामा उखुखेती हराउँदै गएको छ । टोखामा उत्पादन हुने चाकुका लागि आवश्यक पर्ने सख्खर तराईका विभिन्न जिल्लाबाट आउने गरेको छ । पछिल्लो समय टोखाको परम्परालाई जोगाउनका लागि टोखा कृषि शाखाको सहयोगमा टोखाभित्र उखु रोप्न लागिएको छ ।  उक्त कार्यको लागि रू पाँच लाख विनियोजन भइसकेको टोखा नगरपालिकाले जनाएको छ । यस्तै, पुस्ता हस्तान्तरणका लागि विभिन्न प्रकारका तालिमसमेत प्रदान गरिने अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।        बर्सेनि ठूलो सङ्ख्यामा मानिसहरू टोखामा चाकु उत्पादनसम्बन्धी तालिमका लागि आउने गरेका छन् । टोखामा चाकु बनाउने तालिम लिएर देशका विभिन्न स्थानमा गएर उद्योग सञ्चालन गरी काम गर्ने गरेको टोखा परम्परागत चाकु संरक्षण समाजले जनाएको छ । हाल नेपालभर ५० भन्दा बढी चाकु उद्योग छन् । जसमध्ये १४ वटा टोखामा छन् ।        टोखामा इस्वी संवत् ५१९ देखि चाकु बनाउने प्रचलन चलेको किंवदन्ती पाइन्छ । लामो समयदेखि चाकु बनाउँदै आएको टोखाको परम्परागत चाकु उद्योगलाई बचाउनका लागि विस २०७३ कात्तिक २२ गते टोखा परम्परागत चाकु संरक्षण समाज स्थापना गरिएको थियो ।  टोखामा ५० वर्षदेखि  चाकु उत्पादन गर्दै आउनुभएका राजकाजी श्रेष्ठ टोखाको चाकु नेपाल मात्र नभई विश्वका विभिन्न मुलुकबाट माग भइरहेको बताउनुहुन्छ ।        चाकुको माग अत्यधिक भएपछि बजारसम्म पु¥याउन भ्याइनभ्याइ भएको उहाँको भनाइ छ । टोखाका उद्योगमा हाल सादा चाकु मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् ।        काठमाडौँ क्षेत्र नम्बर ५ का सांसद एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल टोखाको चाकुलाई गुणस्तरीय रूपमा उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारससम्म लैजानका लागि आफूले उद्योग मन्त्रालयलाई ध्यानाकर्षण गरिरहेको बताउनुहुन्छ ।  “टोखा चाकुका लागि प्रख्यात क्षेत्र हो, यहाँ राज्यबाटै चाकु उत्पादनको पहल गर्नसके हजारौँ व्यक्तिले रोजगारी पाउने छन्, त्यसका लागि मैले सम्बन्धित क्षेत्रमा पहल गरिरहेको छु”, मन्त्री पौडेल भन्नुहुन्छ । मन्त्री पौडेल टोखाको चाकुलाई नेपालको चक्लेट भनेर अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सकिने बताउनुहुन्छ ।        टोखामा उत्पादन भएको चाकु अहिले प्रतिकिलो एक सय ३५ देखि एक सय ४० सम्म बिक्री वितरण हुँदै आएको छ । नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ । चाकु चिसो लागेका बेला पनि 

सर्लाही:    माघेसङ्क्रान्ति नजिकिएसँगै सर्लाहीको बागमतीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ भएको छ ।  पुसको दोस्रो हप्ता लागिसक्दा सङ्क्रान्तिका लागि तरुल निकाल्ने चटारो बढेको बागमती नगरपालिका–५ टेकानीका तरुल किसान दलबहादुर लुङ्गेलीले बताउनुभयो । लुङ्गेलीले बागमती खोला बगरमा पाँच कट्ठा खेतमा तरुल लगाउनुभएको छ ।       चाडबाडको मुखमा मूल्यसमेत राम्रो पाउने भएकाले पुसको तेस्रो हप्तासम्म तरुले बेचिसक्ने योजना बनाएको उहाँले सुनाउनुभयो ।  “तरुलको मूल्य माघेसङ्क्रान्तिमा राम्रो पाइन्छ ।” उहाँले भन्नुभयो, “त्यसकारण पुस २५÷२६ सम्म बेचिसक्ने योजना छ ।” त्यसपछि तरुलले उति राम्रो मूल्य नपाउने उहाँको अनुभव छ । तरुल स्वास्थ्यका हिसाबले चिसो मौसममा उपयोगी रहेकाले यस बेला ब्यापार र मूल्य बढ्ने गरेको छ ।      बागमती नगरपालिका–५ स्थित बागमती नदी उकास जमिनमा किसानले ठूलो क्षेत्रफलमा तरुलखेती गर्ने गरेका छन् । बालुवा तथा खोलाको पाँगो माटो भएका जग्गामा तरुल उत्पादन राम्रो हुने गरेको स्थानीय किसान हिरालाल मण्डलको भनाइ छ । “बगरको खेती सुन जस्तै बनेको छ”, उहाँले भन्नुभयो, “तरुल उत्पादनबाट मनग्य आम्दानी हुन्छ ।”      तरुलखेती गर्नुभएका बागमती नगरपालिका–४, जिराएतका किसान विमल खड्काले तरुलको उत्पादन राम्रो हुँदा अन्यबालीभन्दा धेरै आम्दानी हुने गरेको बताउनुभयो । आफ्नो र ठेक्का गरेर खड्काले पनि एक बिघा बगर खेतमा तरुल लगाउनुभएको छ । केहीमा तरुल उत्पादन राम्रो भएको र केहीमा बिग्रिएको उहाँको भनाइ थियो ।       यहाँका किसानहरूले आकासे र पताले गरी दुई जातको तरुल उत्पादन गर्ने गरेका छन् । आकासे अर्थात् सेतो तरुल कम स्वादिलो हुने धेरै उत्पादन हुने तथा मूल्य केही कम हुने गरेको बागमती–४ जिरायतका तरुल व्यापारी राम दरेस महतोले बताउनुभयो । अर्को पताले अर्थात् रातो जातको तरुल भने उत्पादन केही कम हुने खान पनि स्वादिलो हुने भएकाले मूल्यसमेत राम्रो रहेको उहाँको भनाइ छ ।       यहाँका किसानले प्रतिबिघा ८० देखि एक सय २० क्विन्टलसम्म तरुल फलाउने गरेका छन् । यस वर्ष छठको समयमा तरुल प्रतिकिलो एक सय २० रुपैयाँसम्ममा बिक्री भएको थियो । अहिले बजार मूल्य प्रतिकिलो ५५ देखि ६० रुपैयाँ रहेको तरुल व्यापारी डम्बरबहादुर खड्काको भनाइ छ । यस वर्ष उहाँ २० बिघामा लगाएको तरुल बजार लैजाने योजनामा हुनुहुन्छ ।        उहाँले आफ्नो र भाडामा गरी २० बिघा बढी खेतमा तरुल लगाउनुभएको छ । जग्गा भाडामा लिदा वर्षको प्रतिबिगाहा ५० देखि ६० हजार रुपैयाँसम्म तिर्नुपर्ने उहाँको भनाइ छ । तरुल खेती गर्दा प्रतिकठ्ठा बीउ, मलखाद, कामदार गरी रु आठ हजारसम्म खर्च हुने गर्दछ । उहाँका अनुसार तरुल खेतीबाट किसानहरूले प्रतिकट्ठा रु ३० देखि ४० हजारसम्म आम्दानी गर्दछ ।       बागमती नगरपालिका कृषि शाखाका अनुसार यस क्षेत्रमा बर्सेनि लगभग तीन सय बिगाहा क्षेत्रफलमा तरुलखेती हुँदै आएको छ । सिँचाइ हुने खेतमा पानी जम्ने जोखिम रहेकाले तरुल उत्पादनका लागि बगर खेत उपयुक्त हुने कृषि प्राविधिकहरू बताउँछन् । बागमती नदी उकास जग्गा तरुल उत्पादनका लागि निकै उपयोगी बनेको छ ।       केही समयअघिसम्म यसैखेर गइरहेको बगरखेतीमा यतिबेला किसानले सुन फलाइरहेका बागमती नगरपालिका कृषि शाखा प्राविधिक हिमाल शाहीले बताउनुभयो । खोलाको बगर स्थानीय किसानले प्रतिपरिवार पाँच कट्ठाको दरले भाग लगाएर केही समय ता खेती गर्दै आएका छन् ।  बगरमा किसानले तरुलसहित मुम्फली, सखरखण्ड, तोरी, मकै, रहरी, परबर, बोडीलगायतको खेती गर्ने गरेका छन् । खेती राम्रो हुने गरेकाले स्थानीयको आयस्तरमा समेत परिवर्तन ल्याएको नगरपालिकाले जनाएको छ ।

काठमाडौं:    आज सुनको मूल्य घटेको छ । आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावका कारण सुनको मूल्य आज प्रतितोला रू एक हजार पाँच सय घटेको हो ।      शुक्रबार प्रतितोला रू एक लाख ५३ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ५२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।      शुक्रबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर देखिएको छ । आज चाँदी प्रतितोला रू एक हजार आठ सय १० मा कारोबार हुनेछ ।

चितवन:   दाउन्ने ‘एग्रो फार्म’ लिमिटेडले रु १० करोडको सर्वसाधारणका लागि ‘शेयर’ (आइपिओ) जारी गर्ने भएको छ । फार्म स्थापनापछिको सातौँ र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले रु १० करोडको आईपिओ जारी गर्ने निर्णय गरेको हो ।   नवलपरासी (सुस्ता–त्रिवेणी पूर्व) विनयीत्रिवेणी गाउँपालिका–३ को सर्दीमा करिब ११ बिघा जग्गामा फैलिएको ‘एग्रो फार्म’मा सो कम्पनीको अहिले चार लाख कुखुरा रहेका छन् । कम्पनीले निकट भविष्यमै छ लाख कुखुरा पुर्‍याउने लक्ष्य लिएको अध्यक्ष रघुनाथ भट्टले जानकारी दिनुभयो ।   कुखुरापालन क्षेत्रमा आइपिओ जारी गर्ने ‘एग्रो फार्म’ पहिलो भएको कम्पनीले दाबी गरेको छ । कम्पनीको साधारणसभाले रघुनाथ भट्टको अध्यक्षतामा सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।   समितिका सञ्चालक सदस्यहरुमा विनोद पोखरेल, विपिन पोखरेल, हेमराज बडाल र हिमालय पौडेल रहनु प्रबन्ध सञ्चालक विनोद पोखरेलले जानकारी दिनुभयो ।    विसं २०७४ मा स्थापना भएको यस कम्पनीमा सुरुआतमा एक लाख कुखुरापालन गरिएको थियो । कम्पनीका प्रबन्ध सञ्चालक पोखरेलका अनुसार फार्ममा हाल दैनिक तीन लाख ५० हजारभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ । उत्पादित अण्डामध्ये केहीलाई ‘दाउन्ने ह्याप्पी एग’को ब्रान्डमा ब्रान्डिङ गरी १५ वटा र ३० वटाका दरले क्रेट बनाएर बजारमा पठाउने गरिएको प्रबन्ध सञ्चालक पोखरेलले जानकारी दिनुभयो । यहाँ उत्पादित अण्डा देशका प्रमुख सहरहरुसँगै ग्रामीण क्षेत्रमा समेत पठाइने गरिएको छ ।   प्रबन्ध सञ्चालक पोखरेलका अनुसार दाउन्नेको फार्ममा जर्मन र मलेसियाबाट आयात गरिएका स्वचालित एवं अत्याधुनिक उपकरण जडान गरिएका छन् । उहाँले भन्नुभयो, “अत्याधुनिक तवरबाट कुखुरापालन गरिएकाले अण्डा तथा मासुको उत्पादन राम्रो छ, अहिलेलाई बजारको समस्या छैन, यसलाई अझ विस्तार गरी देशकै उत्कृष्ट एवं व्यावसायिक एग्रो फार्मका रुपमा स्थापित गर्ने लक्ष्य लिएका छौँ, सात वर्षको हाम्रो अनुभव र परिणामबाट सफल हुने विश्वास लिएका छौँ ।”   नेपालमा लामो समयसम्म कुखुरापालन क्षेत्रमा अनुभव सँगालेका कृषक तथा व्यवसायीहरुको लगानीमा यो कम्पनी स्थापना भएको अध्यक्ष भट्टले जानकारी दिनुभयो । यहाँका लगानीकर्ताहरुको पोल्ट्रीसँग सम्बन्धित विभिन्न उद्योगहरुमा समेत लगानी रहेको छ । जसका कारण लागत मूल्य घटाउन र गुणस्तरीय अण्डा उत्पादन गर्न सफल भएको अध्यक्ष भट्ट बताउनुहुन्छ ।   नेपालमा तुलनात्मक रुपमा ठूलो सङ्ख्यामा कुखुरापालन गर्ने ‘एग्रो फार्म’ पहिलो कम्पनी भएको र शेयर निष्कासनका लागि सिटिजन्स क्यापिटलसँग कम्पनीले सम्झौता गरिसकेको प्रबन्ध सञ्चालक पोखरेलले बताउनभयो ।  

काठमाडौँ:  नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।   अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन प्रतितोला रू दुई हजार बढेको हो ।   बिहीबार प्रतितोला रू एक लाख ५१ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख ५३ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।   यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू २० बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला रू एक हजार आठ सय १० मा कारोबार हुनेछ ।

इलाम:   इलामको रोङ गाउँपालिकाका किसान तितेकरेलाको खेतीतर्फ आकर्षित भएका छन् । किसानले उत्पादन गरेका तितेकरेलालाई गाउँपालिकाले ‘ब्रान्डिङ’ गरेर बिक्री गरिदिन थालेपछि यहाँका किसान यसतर्फ आकर्षित भएका हुन् ।       रोङ–४ का रघुनाथ अर्यालका अनुसार गत वर्षसम्म बजारको पहुँच नहुँदा घरमा उपभोग गर्नका लागि मात्र तितेकरेला लगाउने गरिएकामा पालिकाले बजारीकरण गर्न थालेपछि व्यावसायिक उत्पादन सुरु गरिएको हो ।  “अहिले पालिकाले सुकाएर करेलाको ब्रान्डिङ सुरु गरेको छ । बजारको चिन्ता केही नभएपछि व्यावसायिक उत्पादन सुरु गरेका छौँ”, उहाँले भन्नुभयो ।      अर्यालले यसवर्ष पाखाबारीमा करेलाको एक हजार बिरुवा रोपेको जानकारी दिनुभयो । “तरकारीका रूपमा बिक्री नभए पनि स्थानीय सरकारले किनिदिने भएपछि ढुक्कसँग खेती थालेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार गाउँपालिकाका सबै वडाका अधिकांश किसान यो खेतीतर्फ आकर्षित भएका छन् ।      गाउँपालिकाले करेलालाई सुकाएर सुकुटीका रूपमा प्रशोधन गरी बिक्री सुरु गरेको हो । “यस वर्ष बिक्रीका लागि दुई सय किलो सुख्खा तितेकरेला तयार छ”, गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले भन्नुभयो, “यहाँका अधिकांश किसानले व्यावसायिक खेती सुरु गर्नुभएकाले अर्को वर्ष धेरै उत्पादन हुनेछ । एक पटकमा ५० हजार किलो काँचो करेला प्रशोधन गर्न सक्ने उद्योग निर्माण भइरहेको छ ।”      गाउँपालिकाका अध्यक्ष स्याङ्बोले बेमौसममा पनि उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर तितेकरेलालाई सुकाएर प्याकेजिङ गरी बजारमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।  करेलाको अध्ययन, अनुसन्धान गर्दा सफल भएपछि पालिकाले बजारीकरण थालेको उहाँको भनाइ छ ।       तितेकरेलालाई गुन्द्रुकसँग मोलेर अचारका रूपमा पनि खान सकिन्छ । प्याकेजिङ भएको तितेकरेलालाई तातोपानीमा पाँच(१० मिनेट भिजाएर पुरानै स्वरूप तथा स्वादमा विभिन्न तरिकाले पकाएर खान सकिने किसान बताउँछन् ।       रोङ गाउँपालिकाका सबै स्थानमा उत्पादन गर्न सकिने करेला पालिकाले प्रशोधन गरेर बजारीकरणमा लागेपछि यसको खेतीमा किसानको उत्साह बढेको करेला खेती गर्दै आएका रोङ–३ प्यूरेका लल्मी लाप्चाले बताउनुभयो ।       गाउँपालिकाले यसअघि रोङमा गुन्द्रुक, सिस्नो, बेसार, मह, चिया, कुचोलगायत कृषिजन्य वस्तुको ब्रान्डिङ गरी बजारीकरण गरिरहेको गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया भुजेलले बताउनुभयो । रोङको गुन्द्रुक र महको माग बजारमा बढी भएकाले माग अनुसार आपूर्ति गर्न कठिन भइरहेको उहाँको भनाइ छ ।

बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जलाई करिब रु ११ करोड बढीको धान बिक्री गरेका छन् ।   गत कात्तिक २० गतेदेखि किसानको धान खरिद गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्ज कार्यालयले पुस १६ गतेसम्म यहाँका किसानलाई रु ११ करोड ८२ लाख भुक्तानी गरी ३१ हजार ६ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरिसकेको कार्यालय प्रमुख रामशरण लामिछानेले जानकारी दिए ।   “धान बिक्री गर्न ६ सय ७३ किसानले स्थानीय तहको सिफारिस दर्ता गरेकामा अहिलेसम्म पाँच सय ६७ किसानसँग धान खरिद गरिसकेका छौँ”, कार्यालय प्रमुख लामिछानेले भने, “स्थानीय तहको सिफारिसका आधारमा एक किसानसँग ८० क्विन्टलसम्म धान खरिद गर्ने गरेका छौँ ।”   धान खरिद गर्नुअघि किसानले स्थानीय तहको सिफारिस दर्ता गर्नुपर्ने र त्यसपछि कार्यालयबाट समय तोकिएको दिनमा किसान आएर धान बिक्री गर्ने गरेको कार्यालय प्रमुख लामिछाने बताए ।   “पहिला किसानहरु १५ दिनसम्म यहाँ आएर लाइन लागेर बस्नुपर्ने बाध्यता थियो, अहिले धान ल्याउनुपूर्व नै स्थानीय तहको सिफारिस ल्याएर दर्ता गर्ने र हामीले दिएको समयमा उहाँहरु आएर धान बिक्री गर्ने व्यवस्था मिलाएका छौँ”, उनले भने ।   मध्यम धान खरिदको कोटा पूरा गरिसकेको कार्यालयले मोटा धान भने लक्ष्यभन्दा निकै कम खरिद गरेको छ । धान बिक्री गर्ने धेरै किसानहरु आइसकेको हुँदा अब केही मात्रामा धान बिक्री गर्न किसान आउन सक्ने कार्यालयले जनाएको छ । गत वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगञ्ज कार्यालयले जम्मा आठ हजार क्विन्टल धान खरिद गरेको थियो ।   गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले यस वर्ष ३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जका प्रमुख लामिछानेले बताए ।   “गत वर्षभन्दा यस वर्ष सरकारले न्यूनतम समर्थन मूल्यमा पनि वृद्धि गरेको छ, गत वर्षभन्दा यस वर्ष धान खरिद पनि १५ दिनअघि सुरु गरेकाले लक्ष्यमा पुग्न सकिन्छ भन्ने अपेक्षा गरेका थियौँ”, लामिछानेले भने, “गत वर्ष मङ्सिर ६ गतेदेखि धान खरिद सुरु गरेका थियौँ, यस वर्ष भने १५ दिन अगावै कात्तिक २० गतेदेखि नै सुरु गरेका छौँ, यस वर्ष बजारको मूल्यभन्दा सरकारले खरिद मूल्य बढी दिएको हुँदा धेरै मात्रामा धान खरिद गर्न सकेका छौँ ।”   पुस १६ गतेसम्म मोटा धान सात हजार चार सय ४९ दशमलव ०४ क्विन्टल र मध्यम धान २४ हजार दुई सय ४१ दशमलव ९४ गरी ३१ हजार छ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले बताए ।   उनका अनुसार, यो वर्ष मोटा धानको तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जले किसानसँग धान खरिद गरिरहेको छ ।

स्याङ्जा:     यस वर्ष स्याङ्जाबाट रु एक अर्ब १२ करोडभन्दाको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा रु एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष २० हजार ८४ दशमलव दुई मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।  उत्पादिमध्ये ९० प्रतिशत बिक्री भएको उहाँले बताउनुभयो । उत्पादित सुन्लता थोक मूल्यमा प्रतिकेजी रु ५६ का दरले बिक्री भएको हो । चालु आर्थिक वर्षमा स्याङ्जामा सुन्तला बगैँचाको क्षेत्रफल दुई हजार दुई सय ८० हेक्टरमा विस्तार भएको छ   चालु आवमा प्रतिहेक्टरमा सुन्तलाको उत्पादकत्व १४.६६ टन भएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिनुभयो । गत आवमा दुई हजार एक सय हेक्टरमा सुन्तला बगैँचा कायम थियो ।  गत वर्ष एक हजार नौ सय ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको उहाँले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष ५० हेक्टर उत्पादनशील क्षेत्रफल वृद्धि भएको हो ।  स्याङ्जाका सुपरजोन घोषणा हुनुपूर्व आठ सय ८७ हेक्टरमा फैलिएको सुन्तला बगैँचा सुपरजोन भएसँगै हालसम्म दुई हजार दुई सय ८० हेक्टरमा सुन्तला बगैँचा विस्तार भएको उहाँले बताउनुभयो । विसं २०७३÷७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरिएको थियो । आव २०७५÷७६ को सुरुवातसँगै स्याङ्जालाई सुपरजोन घोषणा गरिएको थियो ।  सुन्तलाका क्षेत्रमा सुपरजोन घोषणा भई कार्यान्वयनमा आएसँगै जिल्लामा सुन्तला उत्पादनतर्फ किसान थप आकर्षित भएर लागेका सुन्तला सुपरजोन सञ्चालक समिति स्याङ्जाका अध्यक्ष बोधराज अर्यालले बताउनुभयो । स्याङ्जामा साउनदेखि फागुनसम्म विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएका छन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा रहेको त्रिपुत्र बागवानी कृषि फार्मले यस वर्षमात्र रु पाँच करोडका सुन्तलाको कारोबार गरेको छ । फार्मले भाटभटेनी सुपरमार्केटलगायत व्यावसायिक सङ्घसंस्थालाई भारी मात्रामा सुन्तला बिक्री गर्दै आएको छ ।  फार्मले यस वर्ष प्रतिकेजी न्यूनतम रु २५ देखि अधिकतम रु ८५ सम्मका दरले सुन्तला बिक्री गरिरहेको छ । फार्मका सञ्चालक फणिनारायण अर्यालका अनुसार सुन्तलाको न्यूनतम मूल्य प्रतिकेजी रु २५ देखि अधिकतम रु ८५ सम्म कायम भएको छ ।  तुलनात्मक रुपमा गत वर्षभन्दा यस वर्ष सुन्तलाको बिक्री मूल्य घटेको उहाँले बताउनुभयो । उहाँ जिल्लाकै अगुवा सुन्तला किसान हुनुहुन्छ । उहाँ एक्लैले सुन्तला बेचेर गरेर वार्षिक रु ६० देखि ७० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । स्याङ्जामा सुन्तला व्यवसायलाई मुख्य आम्दानीको सोतका रूपमा विकास गर्ने पद्धतिको विकास हुँदै गएको छ । जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तलाखेती विस्तार भएको छ ।  पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदिखोला, बिरुवा, हरिनास, अर्जुनचौपारी गाउँपालिका सुन्तलाका पकेट क्षेत्र हुन् ।