गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जि.सी श्रेष्ठले आर्थिक सशक्तीकरणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन् । शुक्रबार नवलपुरको कावासोती स्थित कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री श्रेष्ठले समाजमा सहकार्यको भावना जागृत गर्दै संगठित भएर पुँजीको सही परिचालन गर्दै आएका सहकारीले आर्थिक सशक्तीकरणमा महत्वपूर्ण टेवा पुर्याएको बताएकी हुन् । ‘उद्धेश्य अनुरुप सञ्चालन नहुँदा, पारदर्शिता नहुँदा, समाजप्रति र बचतकर्ताप्रति उत्तरदायी नहुँदा केही सहकारीहरुमा समस्या आएको छ । तर पारदर्शि ढङ्गबाट अघि बढीरहेका सहकारीहरुको कार्यप्रगति राम्रो छ । स्थापनाको उद्धेश्य अनुरुप, बचतकर्ताहरुको भावना अनुरुप सञ्चालन भइरहेका सहकारीहरुले आर्थिक सशक्तिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्’ उनले भनिन् । सहकारीलाई उद्यमसँग जोड्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड थियो । अन्नबालीका लागि नवलपुर उर्वर भूमी भएकाले सामूहिक खेती लगायतका कृषि उद्यमसँग जोडिन बचतकर्ताहरुलाई उनले आह्वान गरिन् । ‘सहकारीलाई उद्यमसँग जोडिरहँदा केही चुनौतीहरु देखा पर्न सक्छन् । हामीले चुनौतीलाई अवसरका रुपमा लिँदै अघि बढ्नु पर्दछ’, उनले भनिन्,‘आर्थिक उन्नयनका लागि उद्यमशिलताको विकल्प छैन । तसर्थ सबै बचतकर्ता, श्यर सदस्य लगायत सहकारीमा आवद्ध सम्पूर्णलाई उद्यममा अघि बढ्न आह्वान गर्दछु ।’
महोत्तरी: सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि उखुको मूल्य निर्धारण गरेको छ । सरकारले बिहीबार निर्णय गर्दै गत वर्षको उखुमा प्रतिक्विन्टल रु २० थपेर नयाँ मूल्य निर्धारण गरेको हो । यसअनुसार गत वर्ष कायम मूल्य रु पाँच सय ६५ रहेकामा नयाँ मूल्य प्रतिक्विन्टल रु पाँच सय ८५ पुगेको छ । यसैबीच, आम रूपमा वस्तुमा बढेको मूल्यवृद्धिको अनुपातसम्म नमिलाएर अहिले उखुको मूल्यमा गरिएको मूल्य वृद्धिले किसानमा निराशा बढाएको उखु उत्पादक किसान सङ्घ महोत्तरीले जनाएको छ । मूल्य निर्धारण गरिँदा सरकार, चिनी उत्पादक र उखु किसानका प्रतिनिधिबीच छलफल र सहमति गरिनुपर्नेमा प्रक्रिया नअपनाइएको सङ्घका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले बताउनुभयो । “पहिलेदेखि उखुको मूल्य निर्धारण गर्दा तीनैपक्ष ९सरकार, चिनी उत्पादक र किसानका प्रतिनिधि० हुनपर्ने सैद्धान्तिक सहमति भए पनि यस पटक उखु उत्पादक किसान महासङ्घ र उखु उत्पादक किसान सङ्घका प्रतिनिधिलाई सहभागी गराइएको छैन”, कुशवाहाले भन्नुभयो, “किसानसँग छलफल नगरी गरिएको मूल्य निर्धारण न्यायोचित हुन सकेन ।” आम वस्तुमा भएको मूल्यवृद्धि अनुसार उखु किसानले पनि पाउनुपर्नेमा उहाँले जोड दिनुभयो । “नेपाल राष्ट्र बैंकले आम रूपमा १५ प्रतिशत मूल्यवृद्धिको तथ्याङ्क देखाएको छ, उखुमा पनि सोहीअनुसार बढाउनु पर्छ”, कुशवाहाले भन्नुभयो । ४ दिन पहिले मात्र उखु उत्पादक किसानको छाता सङ्गठन उखु उत्पादक महासङ्घले आयोजना गरेको छलफलमा सरकारलाई यस वर्ष गतवर्षको तुलनामा १५ प्रतिशत मूल्य वृद्धि गरीदिन अनुरोध गरिएको भन्दै सुनुवाइ नभएको उहाँको भनाइ छ । यसअघि गत वर्ष सरकारले उखुमा रु ७० प्रतिक्विन्टल अनुदान दिएको थियो । यस वर्षको अनुदानबारे अझै निर्णय नभएको महासङ्घका अध्यक्ष कुशवाहाले बताउनुभयो । उहाँका अनुसार १५ प्रतिशत मूल्य वृद्धि भएमा उखुको मूल्य रु ६ सय ६९ प्रतिक्विन्टल पर्दछ । जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिजमा कहिले उखु क्रसिङ थालिने यकिन नहुँदा खुट्टीउखु (दोस्रो वर्षको उखुबाली)काटेर हिउँदेबाली लगाउन नपाइने चिन्तामा किसान छन् । “चिनी मिल कहिले सञ्चालन हुने थाहा छैन । खुट्टीउखु काटेर हिउँदे बाली लगाउन नपाउने चिन्ता लाग्न थालेको छ”, भङ्गाहा–४ का किसान अरुण गिरीले भन्नुभयो । क्रसिङ ढिलो हुँदा खुट्टीउखु काटेर अर्को बाली लगाउने समयसीमा नाघेँको उहाँको भनाइ छ । यस वर्ष जिल्लामा कूल नौ हजार बिघामा उखुखेती गरिएकोध्ये करिब चार हजार बिघामा खुट्टी रहेको सङघका अध्यक्ष कुशवाहाले बताउनुभयो । सरकारले मूल्यबारे पुनर्विचार गरी दिनुपर्ने र उद्योगले चाँडै क्रसिङ थाल्नुपर्ने किसान बताउँछन् । यसैबीच एभरेष्ट चिनी उद्योगले यस वर्षको उखुको क्रसिङ मङ्सिर अन्तिम सातादेखि सुरु गर्ने तयारी गरेको छ । उद्योगमा यही मङ्सिर २० गते डोङा पूजापछि उद्योग सञ्चालन गर्ने जनाउँदै पूजाको तयारी भइरहेको उद्योगका प्रशासकीय प्रबन्धक सुरेन्द्र शुक्लाले बताउनभयो । “डोङा पूजा क्रसिङ खोल्न प्रत्येक साल गरिने अनुष्ठान हो । यो पूजा सकेपछि क्रसिङ थालिने छ”, उहाँले भन्नुभयो ।
म्याग्दी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ की गौमाया पाईजाले २० वर्ष पहिलेसम्म १० रोपनी भन्दा बढी पाखोबारीमा मुला खेती गर्नुहुन्थ्यो । अहिले २ रोपनीमा लगाएको मुला पनि बिक्री नभएर उहाँ चिन्तित हुनुहुन्छ । “पहिले टोड्केको मुला किन्न बेनी, पुलाचौर, घतान, झिँ, पाखापानी, कुहुँ, बरंजादेखि मानिसहरु आउथे,” उहाँले भन्नुभयो “मुला बिक्री हुन छाडेपछि अहिले खेती पनि घटाउदै लगेको छु ।” रघुगङ्गा, मङ्गला र बेनी नगरपालिकाको सिमानामा पर्ने टोड्के मुला खेतीका लागि धौलागिरि क्षेत्रमै प्रसिद्ध थियो । कुनै समय प्रशस्न मुलाखेती हुने टोड्केको पाखोबारी पछिल्लो समय बाझिदै गएको छ । टोड्केबासीले धान, गहुँ, मकै, फापर, कोदोसँग मुला सटही गर्ने चलन थियो । बसाईसराई, जनशक्तिको कमी र बजारको समस्याका कारण किसानहरुले टोड्केमा मुला खेती घटेको स्थानीय तिजमाया पाइजाले बताउनुभयो । “घरमा उपभोग गर्ने, आफन्तलाई कोशेली पठाउने र टोड्के घुम्न आउने पर्यटकलाई बेच्नका लागि थोरै जमिनमा मात्र मुला खेती गरेका छौ,” उहाँले भन्नुभयो “चिसो हावापानीमा जैविक मलको प्रयोग हुने भएकाले यहाँको मुलाको छुट्टै महत्व छ ।” साउन महिनामा रोपीने मुला कात्तिक मङसिरमा उखेल्ने गरिन्छ । एउटै मुलाको तौल छ किलोग्राम भएको किसानहरुले बताउँछन् । स्थानीय रातो र सेतो जातको मुला खेती हुने गर्छ । ताजा मुलाको अचार, सिन्की (गुन्द्रुक)र धजरा बनाएर तरकारीका रुपमा प्रयोग गर्न सकिन्छ । पछिल्लो समय हिउँद याममा टोड्के घुम्न आउने आन्तरिक पर्यटकहरुले ताजा मुला र धरजा किनेर लैजाने गरेका छन् । आकार अनुसार प्रतिगोटा मुला रु। २५ देखि ५० का दरले बिक्री हुने गरेको किसानको भनाइ छ । टोड्केको भ्रमणमा पुग्नुभएकी पर्वतको जलजला गाउँपालिका –२ बगरफाँटकी देवी जिसीले यहाँको मुला खानका लागि स्वादिष्ट हुने भएकाले कोसेलीका रुपमा किनेर ल्याएको बताउनुभयो । हिमालको सम्मुख, चिसो हावापानी, स्थानीय उत्पादन र पर्यटकको रोजाइका कारण स्थानीय जातको मुला टोड्केको पहिचान हो । टोड्केमा हुदै आएको स्थानीय जातको मुलाको संरक्षण, बजारीकरणका साथै सिन्की र अचार बनाउने सिप विकासको तयारी गरेको रघुगङ्गा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले बताउनुभयो।
काठमाडौं: नेपाली बजारमा बिहीबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रू एक हजार छ सय र चाँदीको मूल्य प्रतितोला रू ४५ ले बढेको हो । हिजो सुन प्रतितोला रू एक लाख ४९ हजार तीन सयमा कारोबार भएको थियो । आज प्रतितोला रू एक हजार छ सयले बढेर रू एक लाख ५० हजार नौ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, हिजो चाँदी प्रतितोला रू एक हजार आठ सयमा कारोबार भएकोमा आज प्रतितोला रू ४५ ले बढेर रू एक हजार आठ सय ४५ कायम भएको छ ।
स्याङ्जा: यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गर्नुभएको छ । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल हुनुभएको हो । उहाँले अघिल्लो वर्षको कात्तिकदेखि यस वर्षको कात्तिकसम्ममा उत्पादन भएका सागसब्जी बिक्रीबाट रु २० लाख र बेर्ना बिक्रीबाट रु छ लाख आम्दानी भएको बताउनुभयो । उहाँले खेत तथा बारीमा काउली, बन्दा, गोलभेँडा, सिमी, बोडी, काक्रा, भण्टा, भिण्डी, मुला, खुर्सानी, प्याजलगायत सागसब्जी तथा बेर्ना बिक्री गर्दै आउनुभएको छ । विसं २०५२ बाट व्यवसाय थाल्नुभएका रेग्मीले २०७४ सालमा ‘समर्पण कृषि फार्म’ दर्ता गर्नुभएको हो । व्यावसायिक रूपमा तरकारी तथा नर्सरी व्यवसाय गर्नुभएको २० रोपनीमध्ये आधा आफ्नै र आधा भाडामा लिनुभएको छ । “बीस रोपनी जग्गामध्ये झण्डै दुई रोपनीमा चारवटा टनेलमा नर्सरी छ र त्यहाँ विभिन्न प्रजातिका बिरुवा उत्पादन हुँदै आएको छ, बाँकी जग्गामा मौसमअनुसारका तरकारी बाली लगाउँदै आएको छु”, उहाँले भन्नुभयो । यहाँ उत्पादित सागसब्जी तथा बेर्ना पोखरा, स्याङ्जा, वालिङ तथा बुटवलमा बिक्री हुने गरेको छ । बाल्यकालदेखि कृषि पेशाप्रति इच्छा भएकाले लागे तापनि केही वर्षपछि खेतीसम्बन्धी तालिमले झनै निखारता ल्याएको उहाँले बताउनुभयो । कहिलेकाहीँ भारत तथा तराईबाट आउने सागसब्जीसित बजार प्रतिस्पर्धा गर्नुपर्दा गाह्रो भए पनि समग्रमा आफू यो पेशाबाट सन्तुष्ट रहेको उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्रलगायत कृषि क्षेत्रमा सक्रिय सङ्घसंस्थाले समय समयमा प्राविधिक ज्ञान दिने गरेकाले व्यवसाय सञ्चालनमा सहज भएको उहाँ बताउनुहुन्छ । कृषिकर्ममा उदाहरणीय कार्य गरेकामा २०७६ सालमा उहाँ राष्ट्रपतिबाट पुरस्कृत पनि हुनुभएको थियो ।
पाल्पा: जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले धान उत्पादन बढेको हो ।जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष जिल्लामा ३६ हजार आठ सय मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष यहाँ ३४ हजार ७ सय ६२ मेट्रिक टन उत्पादन भएकामा यस वर्ष ३ दशमलव ६ प्रतिशतले उत्पादन वृद्धि भएको केन्द्रका प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो । गुणस्तरीय र उन्नत जातका बीउको प्रयोग, अनुकूल मौसम, मलको उपलब्धतालगायत कारण धान उत्पादन बढेको उहाँले बताउनुभयो । “केही स्थानामा धान पसाउने बेला रोग, कीराको समस्या देखिए पनि समग्र जिल्लाभर उत्पादन बढेको छ । किसानले उन्नत जातको बीउको प्रयोग गर्नु, यसवर्ष प्रयाप्त सिँचाइ, आधुनिक प्रविधिको प्रयोगलगायत कारणले उत्पादनमा वृद्धि आएको हो”, प्रमुख चौधरीले भन्नुभयो । उहाँका अनुसार यस वर्ष जिल्लामा ८ हजार ६ सय २० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । गतवर्ष ८ हजार २ सय हेक्टर क्षेत्रमा खेती गरिएको थियो । गाउँगाउँमा स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको सहयोगमा सिँचाइ आयोजना कार्यक्रम सञ्चालनमा आएपछि कुलो, नहर व्यवस्थित हुँदा धान लगाउने क्षेत्रफल बढ्न थालेको प्रमुख चौधरीले जानकारी दिनुभयो । सिँचाइको अभावले बाँझो रहेका जग्गामा पछिल्लो समय सिँचाइ सुविधा पुगेपछि बारी तथा बाँझिएका जमिनमा पनि किसानले धान लगाउने गरेका छन् । धानखेतीका लागि मौसम अनुकूल हुँदा उत्पादन वृद्धि भएको किसान सीता देवकोटाले बताउनुभयो । “रोपाइँ गरेदेखि वर्षा भइरहेकाले सिँचाइ गर्न सजिलो भयो, वर्षदिनभरि खाने अनाज राम्रो उत्पादन हुँदा खुसी लागेको छ । भकारीभरि धान भएपछि मन ढुक्क छ, कतै बीउको समस्याले पसाउने बेला रोगकीरा देखिए पनि अधिकांश किसानले यसवर्ष अघिल्ला वर्षमा भन्दा धेरै धान भित्र्याउनु भएको छ”, उहाँले भन्नुभयो । जिल्लामा साबित्री, साँवामन्सुली, रामधान, हाइब्रिड, उन्नतलगायत जातका धान चलनचल्तीमा छन् । स्थानीय सरकारले अनुदानमा उन्नत जातका गुणस्तरीय बीउ उपलब्ध गराउन थालेपछि विगतका वर्षमा भन्दा पछिल्ला वर्षमा उत्पादन क्रमिक रूपमा बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
महोत्तरी: मिथिला–१ ढल्केबरका ३० वर्षीय पञ्चलाल साहले उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी गर्दै आउनुभएको छ । महोत्तरीको बर्दिबासचोकमा बिहानैदेखि साँझसम्म उखु पेलेर रस बेच्ने काम गर्दै आउनुभएका उहाँले आम्दानी गर्न विदेश जानु नपर्ने धारणा राख्नुभयो । “हामीले कुरा नबुझी भौतारिन्छौँ, काम गर्न सके स्वदेशमा आन्दानीका प्रशस्त स्रोत छन्”, उखुको रस बेच्दै साहले भन्नुभयो, “आफ्नै ठाउँमा परिवारको साथमा काम गर्न र जीविकोपार्जन गर्न सकिन्छ । अवसर खोजी गरेर मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत जति पनि भेटिन्छन् ।” पछिल्ला ३ वर्षदेखि बर्दिबासलाई आफ्नो बजार बनाउनुभएका साहले उखुको रस बेचेको कमाइले परिवारको गुजारा चलाउनुका साथै यसअघि विदेश जाँदाको रु चार लाख ऋण पनि तिरिसकेको बताउनुभयो । “महिनामा रु ४० हजार कमाइ हुन्छ, किन जानु खाडी ”, उहाँले प्रश्न गर्नुभयो, “मैले अहिले विदेश जाने कुरा सोच्नै छाडैं ।”यसअघि गरिबीले थिचेर जीविकोपार्जनका लागि कतार र सउदीअरेबियामा ५ वर्ष बिताउँदा ऋणको भार लिएर फर्केको साहको अनुभव छ । “घरको दुःख टार्न भनेर ऋण गरेर गएँ, दलालको चक्कर रहेछ, भनेको काम नपाएर ऋण बोकेर रुँदै घर फर्केँ”, उहाँले भन्नुभयो, “स्वदेश फर्केर रु २ लाखमा उखु पेल्ने मोटर किनेर काम थालँै, अहिले परिवारको खर्च गर्न कुनै दुःख छैन ।” यहाँको कामले पुरानो ऋण तिरेर घरगुजारा चलाउँदै छरछिमेकमा पर्दा दुई÷चार सय सरसापट चलाउनसक्ने भएको साहले बताउनुभयो । “मेरो छ जनाको परिवारलाई दैनिकी चलाउन, छोराछोरी पढाउन अहिले कुनै समस्या छैन”, उहाँले भन्नुभयो । साहले २ छोराछोरीलाई बर्दिबासमा राखेर पढाइ रहनुभएको छ ।साहजस्तै ईश्वरपुर नगरपालिकाको श्रीनगरका २० वर्षीय विक्कीकुमार साहले पनि उखुको जुस बेच्ने काम गर्दै आउनुभएको छ । खोजखाज गरेर राहदानी बनाउनुभएका विक्कीले विदेश जाने ऋण नपाएपछि सानो पुँजीले २ वर्षअघि उखु पेलेर जुस बेच्न थालेको बताउनुभयो । अहिले यसबाट कमाइ हुन थालेपछि छुटेको पढाइलाई निरन्तरता दिनुका साथै घर खर्चमा सहयोग गर्न थालेको उहाँले बताउनुभयो । “दैनिक रु १ हजार भन्दा बढी आम्दानी हुन्छ, अहिले १२ कक्षाको पढाइलाई निरन्तरता दिन थालेको छु । अब ऋण काढेर विदेश जाने सोच छैन”, विक्कीले भन्नुभयो । बर्दिबासचोकमा मात्रै यही पेसा गरिरहेका ६÷७ जना भेटिन्छन् । सबैजसोले दैनिक काम गर्दा मनग्ये आम्दानी भइरहेको प्रतिक्रिया दिने गरेका छन् । महोत्तरी, सर्लाही र धनुषामा उखुखेती बढी हुने भएकाले यहाँ कच्चापदार्थ (उखु)खोज्न भौतारिनु नपर्ने र रस नगदमा जाने हुँदा उधारो करोबार नहुने विक्कीको भनाइ छ । मोटर गुडाउँदै उखु पेलेर रस बेच्ने काम गरिरहेकाहरूसँग किसान पनि खुसी छन् । यिनीहरूले चिनीमिलको भन्दा केही बढी मूल्यमा तत्कालै नगद दिएर उखु लाने हुँदा दैनिक गर्जो टार्न नगद आइरहेको बर्दिबास–२ का किसान क्षेत्रबहादुर भुजेलले बताउनुभयो । बजारचोकमा उखुको जुस खाने बाक्लै आगन्तुक हुन्छन् । आफ्नै आँखा अगाडि पेलेर ताजा जुस दिने भएकाले उपभोक्ताको रोजाइमा परेको हो । “पसलमा राखिएका विभिन्न थरिका जुसभन्दा यो स्वस्थ्यकर र तत्काल ऊर्जा दिने हुन्छ”, स्थानीय स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले भन्नुभयो । स्वदेशमा अवसर खोज्ने हो भने विदेश जानुपर्ने बाध्यता अन्त्य हुने झाको भनाइ छ । साना व्यावसायिलाई स्थानीय सरकारले जीविकोपार्जनमूलक सीप विकास, आर्थिक तथा प्राविधिक सहयोग गरी युवालाई विदेश जानबाट रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
गुल्मी: गाईपालक किसानलाई यहाँको सत्यवती गाउँपालिकाले अनुदान दिने भएको छ । पहिलो बेत ब्याउने गाई पाल्नेलाई प्रति गाई रु १० हजार अनुदान दिने निर्णय गरेको हो । गाईपालक किसानलाई पहिलो पटक प्रोत्साहनस्वरुप अनुदान वितरण गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।गाउँ कार्यपालिकाले उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले बताउनुभयो । सत्यवती गाउँपालिकाले चालु आर्थिक वर्षको पशुपक्षी विकासतर्फ स्वीकृत वार्षिक कार्यक्रम अनुसार सूचना सार्वजनिक गरी पालिकाभित्रका सबै वडाका किसानलाई अनुदानको बारेमा जानकारीसमेत गराएको छ । पालिकाले गत साउन १ गतेदेखि आगामी असार १५ गतेभित्र आफ्नो फार्म वा घरमा पालेको गाई पहिलो पटक ब्याएपछि उक्त रकम उपलब्ध गराउने जनाएको छ । त्यसका लागि किसानले गत असोज ५ गतेसम्म आफूले पालेको कोरेली गाई बाली भएको पालिकामा अनिवार्य रुपमा जानकारी गराउनुपर्ने उल्लेख छ । अनुदान प्राप्त गर्न पालिकामा निवेदनसहित नागरिकताको प्रतिलिपि, पहिलो पटक ब्याएको व्यहोरासहित तीन जना छिमेकीको हस्ताक्षरसहितको मुचुल्का, सम्बन्धित वडाको सिफारिस, माउ र बच्चा देखिने गरी खिचेको तस्बिर उपलब्ध गराउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिनुभयो । उहाँले निवेदकको बैंक खाता भएको चेकको प्रतिलिपि, पशु चिकित्सकको स्थलगत अनुगमनको रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने बताउनुभयो । किसानले अन्यत्रबाट किनेर ल्याएको गाईको हकमा भने उक्त नियम लागू नहुने भएकाले अनुदान प्राप्त गर्न किसानले अनिवार्य आफ्नै गोठमा हुर्काएको गाई हुनुपर्ने नियम बनाएको छ । पछिल्लो समयमा गाउँमा गाईपालन लोप हुन थालेसँगै सत्यवती गाउँपालिकाले गाईको संरक्षण गर्न उक्त अभियान सुरु गरेको हो ।
कैलाली: कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका हुन् । त्यसमध्ये १ हुनुहुन्छ कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका रामआश्रय राना । उहाँले तरकारी खेतीबाट वर्षमा रु ३ लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो । रानाले विगत २५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको बताउनुभयो । उहाँले ११ कठ्ठा जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ । “पाँच कठ्ठा जग्गामा आलु लगाउने गरेको छु । वर्षमा रु १ लाख ५० हजारको आलु मात्रै बिक्री गर्छु । गत वर्ष २५ क्विन्टल आलु बेचेको थिए । यसपटक पनि राम्रै उत्पादन हुने आशा छ”, रानाले भन्नुभयो,“छ जनाको परिवार छ । तरकारी खेतीबाट राम्रैसँग घर खर्च चल्छ । केही बचत पनि हुन्छ ।” उहाँले मौषमअनुसार तरकारी लगाउने गर्नुभएको छ । सोही ठाउँका रामदिन रानाले व्यावसायिक तरकारी खेतीबाट वार्षिक दुई लाखभन्दा बढी आम्दानी हुने गरेको बताउनुभयो । लामो समयदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएका रानाले हाल करिब छ कठ्ठा जग्गामा तरकारी खेती गर्नुभएको छ । “पाँच जनाको परिवार छ । तरकारी खेतीबाट घरखर्च राम्रैसँग चल्छ । मेहनत बढी भए पनि आम्दानी पनि राम्रै हुन्छ । पछिल्लो समय तरकारीको मूल्य राम्रै पाइरहेका छौँ”,उहाँको भनाइ छ । सोही ठाउँकी अनोखा रानाले पनि व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेको सुनाउनुभयो । उहाँले एउटा ‘सिजन’मा रु १ लाखभन्दा बढी आम्दानी हुने गरेको बताउनुभयो । “मैले ५ कठ्ठा जग्गामा तरकारी लगाएकी छु, आम्दानी राम्रै हुन्छ । आम्दानीको अरु स्रोत नभए पनि यसैबाट घरखर्च, छोराछोरीको पठनपाठन र आवश्यक परेका बेला गर्जो टार्न सकिएको छ”, उहाँले रासससँग भन्नुभयो । उत्पादन गर्न सके बजारको कुनै समस्या नरहेको किसानहरूको भनाइ छ । “आफूलाई पनि दैनिक उपभोग गर्न हुने, अरुलाई ताजा तरकारी दिएमा जस पनि मान्ने र त्यसैबाट आम्दानी पनि हुने । फेरि नजिकै बजार रहेकाले बेच्नलाई कुनै समस्या हुँदैन । बजार भाउ राम्रो भएका बेला त तरकारी बिक्रीबाट राम्रै आम्दानी हुन्छ । यसैमा खुसी छौँ”, यहाँका किसानले भन्ने गरेका छन् ।