ताप्लेजुङ: फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सा र फलेटारका स्थानीय र केही संस्थाले परीक्षणका रूपमा स्याउखेती गर्न थालेका छन् । ग्याप्ला र फलेटार क्षेत्रमा विगतदेखि नै स्याउखेती हुँदै आएको भए पनि घुन्सामा परीक्षण गरिएको हो । इटालीबाट आयात गरिएका ‘फुजी’ र ‘गोल्डेन डेलिसियस’ प्रजातिका बिरुवाले पहिलोपटक फल दिएका छन् । बिरुवामा फल लागेपछि किसानहरू उत्साहित भएका छन् । मनाङ एग्रो फार्मको समन्वयमा बिरुवा ल्याएर परीक्षणका रूपमा रोपिएका र फल लागेकामा दङ्ग स्याउ किसान मिङ्मा शेर्पाले व्यावसायिक रूपमा स्याउखेत गर्न सकिने बताउनुभयो । फलेटार र घुन्सामा २ रोपनी जग्गामा नमूना स्याउ बगैँचा विस्तार गरिएको छ । स्वीटजरल्याण्डको टोली, स्थानीय समुदाय र पुतली सहयोग योजना नामक संस्थाको साझेदारीमा नमूना स्याउ बगैँचामा दिगो पर्यावरणीय कृषि प्रणाली कार्याक्रमअन्तर्गत नमूना स्याउ बगैँचा सुरु गरेको पुतली सहयोग योजना संस्थाका जिल्ला कार्यक्रम संयोजक दावाछिरिङ शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार परियोजनाले स्याउ उत्पादनमात्र नभएर अन्य कृषि उपजका माध्यमबाट किसानलाई आर्थिक रूपमा सशक्त बनाउन स्याउखेती गर्न थालिएको हो । घुन्सा स्याउ नमूना बगैँचामा ६० वटा जापनिज फुजी (पोथी), १० वटा गोल्डेन डेलिसियस ९भाले० र १० काला (भाले)प्रजातिका स्याउका बिरुवा फल्ने क्रममा रहेको संयोजक शेर्पाले बताउनुभयो । स्याउ बगैँचामा जैविक विविधता कायम गर्न ५ घार मौरी र कुखुरापालन गरेको संस्थाले जनाएको छ । फलेटार क्षेत्रमा रहेको नमूना स्याउ बगैँंचामा उस्तै प्रकार स्याउका बिरुवा लगाइएको छ । संस्थाले स्याउ बगैँचा हेरचारका लागि एक जना कृषि प्रविधिक राखेको छभने अन्य सहयोगीको समेत व्यवस्था गरेको छ । स्याउखेतीको सम्भाव्यता अध्ययन गर्न फलेटार र घुन्साको माटो तीन वर्षअघि स्वीट्जरल्याण्डमा परीक्षण भएको थियो । यस वर्ष परीक्षणका रूपमा ४०–४० बिरुवा रोपिएको छ । प्रारम्भिक नतिजाले स्याउखेती सफल हुने सङ्केत दिएको छ तर पूर्ण रूपमा खेती सफल हुन तीन वर्षसम्मको परीक्षणलाई पर्खनुपर्ने पुतली सहयोग योजनाले जनाएको छ । स्याउखेती गरिएका क्षेत्रमा कुखुरा र मौरीपालन गरिएको छ । कुखुराको मलले माटो उर्वर बनाउन सहयोग पुर्याएको छभने मौरीले स्याउका फूलको परागसेचनमा योगदान दिएको छ । तर हिउँदमा अत्यधिक चिसोका कारण मौरीपालनमा चुनौती छ ।
सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै सुरु गर्नुभएको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहनुभएको छ । सात वर्षसम्म वैदेशिक रोजगारीमा जीवन विताएर स्वदेश फर्किएपछि आफूहरुले व्यावसायिक च्याउखेती सुरु गरेको रोशन गुप्ताले बताउनुभयो । पहिलो वर्ष केही घाटा भए पनि त्यसपछि भने राम्रो आम्दानी भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार हाल सबै खर्च कटाएर वार्षिक रु १२ लाख सजिलै बचत हुने गरेको छ । हाल उहाँहरुले पाँच वटा टनेलमा च्याउ खेती गर्नुभएको छ । च्याउ बजारमा थोकमा प्रतिकेजी रु एक सय ७० र फर्ममै किन्न आउने व्यापारीलाई रु एक सय ५० मा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । रोशनले भन्नुभयो, “च्याउ बिक्रीका लागि बजारको समस्या छैन । उत्पादन भएको च्याउ धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुर र स्थानीय बजार चक्रघटी, कालाबजार बराहक्षेत्र चतरालगायतमा पुग्ने गरेको छ ।” तत्कालीन समयमा रु ५० हजार लगानीमा सुरु गरेको च्याउ खेतीमा अहिले लगानी लाखौँमा पुगेको छ भने यहीबाटै परिवारका छ सदस्यलाई रोजगार पनि मिलेको छ । त्यसबाहेक थप करिब १० जनालाई जागिर पनि प्राप्त भएको छ । मासिक तलबमा काम गर्नेले मासिक रु १५ हजार र दैनिक ज्यालादारीमा काम गर्नेले रु पाँच सय काम गरिरहेका छन् । “व्यापार भएकाले सधै एकनास हुँदैन, कम जग्गामा पनि च्याउखेती गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “च्याउखेतीका लागि विशेष खालको स्याहारको आवश्यकता भने पर्छ ।” च्याउखेतीका लागि पराल र चुन आवश्यक पर्छ । त्यसबाहेक बास र खरले छाएको टहरासँगै प्लास्टिक पनि चाहिन्छ । विषादीको प्रयोग नहुने भएकाले यो स्वास्थ्यका लागि पनि राम्रो मानिने भएको यसको माग पनि बढ्दो रहेको रोशनले बताउनुभयो । उहाँका अनुसार हाल दैनिक तीन सय ५० केजीसम्म च्याउ बिक्री भइरहेको छ । साउनदेखि असोजको समय धेरै बिक्री हुने समय भएको उहाँको अनुभव छ । वर्षमा नौ महिना च्याउको राम्रो उत्पादन हुने उहाँको भनाइ छ । “विदेशमा गएर धेरै दुःख गर्नुभन्दा स्वदेशमै थोरै मेहनत गर्दा पनि राम्रो कमाइ हुृने रहेछ । अहिले विदेश जाने कुरा सोच्न पनि सकिन्न”, रोशनले भन्नुभयो । उहाँले च्याउ खेतीका गत वर्ष सुनसरी कृषि ज्ञान केन्द्रबाट रु एक लाख अनुदान पाउनु भएको थियो भने यस वर्ष बराहक्षेत्र नगरपालिकाले रु ९० हजार अनुदान दिएको थियो ।
काठमाडौं: सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ । सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु स्वभाविक रहेको बताउनुहुन्छ । “बजार भाउ घटेपछि त्यसको प्रभाव स्वभाविक रुपमा मागमा देखिन्छ । सस्तो भएपछि मान्छेले किन्न खोज्छन्”, उहाँले भन्नुभयो । सोमबार बजारमा सुनचाँदीको राम्रो कारोबार भएको उहाँको भनाइ छ । पछिल्ला २ दिनमा मात्र सुनको मूल्य प्रतितोला १८ हजार ५ सयले घटेको छ । आइतबार प्रतितोला रू १ लाख ६७ हजार २ सयमा कारोबार भएकोमा सोमबार घटेर प्रतितोला रू १ लाख ५१ हजार ३ सय कायम भएको थियो । त्यस्तै, आज सुन प्रतितोला रू २ हजार ६ सयले घटेर १ लाख ४८ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सरकारले सुनमा २० प्रतिशत भन्सार लगाउँदै आएकामा १० प्रतिशत विन्दु अर्थात् आधार घटाएर १० प्रतिशत कायम गरेको छ । उच्च भन्सार दरका कारण नेपाली बजारमा सुनको मूल्य उच्च रहेको र छिमेकी भारतमा सस्तो सुन पाइने भएपछि त्यहाँबाट अवैध आयात बढेको आशङ्काकाबीच सरकारले भन्सार दर घटाएको हो । हिजो र आज २ दिन काठमाडौँको न्युरोड क्षेत्रका सुनचाँदी पसलहरुमा ग्राहकको भीड बढेसँगै कारोबार पनि बढेको व्यवसायीको भनाइ छ । सुनचाँदी व्यवसायी महासङ्घका निर्देशक राजेन्द्र तुलाधर सुनचाँदी पसलमा भीड देखिएको भए पनि कति कारोबार भयो भन्ने विवरण उपलब्ध नरहेको बताउनुहुन्छ । “हरेक पसलमा ग्राहकको भीड देखिए भन्ने जानकारी आएको छ । तर कारोबारको यकिन तथ्याङ्क उपलब्ध छैन । महासङ्घले कारोबारको तथ्याङ्कसमेत मागेको थियो । तर व्यापारीले दिँदैनन्”, उहाँले भन्नुभयो । सुन आयातको अधिकार वाणिज्य बैंकहरुले पाएका छन् । तर बजारमा माग नहुँदा यसअघि बैंकहरुले सुन आयात नगरेको महासङ्घका पूर्व अध्यक्ष शाक्य बताउनुहुन्छ । “बैंकहरुले आयात गरेका छ्र्रैनन् । भन्सार घटेपछिको दरमा आयात गरेर सुन बजारमा पुग्न एक हप्ता समय लाग्छ”, उहाँले भन्नुभयो । नेपालमा सुन आपूर्ति आयात तथा बिक्री वितरणसम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैंकले मिलाउँदै आएको छ । सुनको बजार मूल्य निर्धारण भने महासङ्घमा रहेको मूल्य निर्धारण समितिले गर्ने गरेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्रअनुसार सुन आयातसम्बन्धी हालको व्यवस्था हेर्दा निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई सुन उपलब्ध गराउन राष्ट्र बैंकले बैंकमा स्वर्णकोषको व्यवस्था गरेको छ । उक्त कोषमा रहेको सुनको मौज्दातबाट सम्बन्धित बैंकहरूले निर्यातकर्ता तथा विदेशी मुद्रा स्वीकार गर्ने इजाजत प्राप्त स्थानीय बिक्रेतालाई सुन बिक्री गर्ने गर्छन् । राष्ट्र बैंकले सुनको बिक्री मूल्य अमेरिकी डलरमा निर्धारण गर्ने गर्छ । जसकारण अमेरिकी डलरको मूल्य तलमाथि हुँदा त्यसको असर सुनको नेपाली मूल्यमा देखिने गरेको छ । राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा एक प्रतिशतभन्दा बढी घटबढ भएमा सोअनुसार समायोजन गरी कायम गरिएको सुनको संशोधित बिक्री मूल्यको जानकारी राष्ट्र बैंकले बैंकलाई गराउँदछ । बैंकहरूले राष्ट्र बैंकले निर्धारण गरेको मूल्यको आधारमा निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई सुन बिक्री गर्दछन् । बैंकहरूले यसरी स्वर्णकोषबाट बिक्री गरेको सुनको भुक्तानी अमेरिकी डलरमा राष्ट्र बैंकलाई गर्छन् । निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई स्वर्णकोषबाट सुन बिक्री गरेबापत सेवा शुल्कस्वरुप बिक्री गरेको सुनको मूल्यको शून्य दशमलव २५ प्रतिशत रकम नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंकलाई उपलब्ध गराउँछ । बैंकहरूले निर्यातकर्तालाई सुनका गर–गहना निर्यात गर्न प्राप्त अग्रिम भुक्तानी प्रमाणपत्रको आधारमा सुन उपलब्ध गराउँछन् । बैंकहरूले निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई न्यूनतम एक सय ग्राम र बढीमा १० ग्रामको गुणन खण्डले हुन आउने परिमाणमा सुन बिक्री गर्नुपर्ने व्यवस्था छ । वाणिज्य बैंकहरुले दैनिक २० किलोग्रामसम्म सुन आयात गर्न पाउने व्यवस्था छ ।भन्सार विभागका अनुसार पछिल्लो पाँच वर्षमा मात्र १६ हजार नौ सय ४७ किलोग्राम सुन आयात भएको छ । चालु आर्थिक वर्षको ४ महिनामा मात्र रू १ अर्ब ४२ करोड ७५ लाख २८ हजार बराबरको १ सय ३३ किलोग्राम सुन आयात भएको छ । जसबाट राज्यले रू २८ करोड ५५ लाख ७ हजार बराबर भन्सार राजस्व प्राप्त गरेको देखिन्छ । गत आर्थिक वर्ष २०८०/८१ मा रू २३ अर्ब ६५ करोड ३९ लाख १६ हजार बराबरका २ हजार ६ सय ५२ किलोग्राम सुन आयात भएको विभागको तथ्याङ्कमा देखिन्छ । जसबाट सरकारले रू ३ अर्ब ६४ करोड ८३ लाख बराबर भन्सार राजस्व प्राप्त गरेको थियो ।अघिल्लो आर्थिक वर्ष २०७९/८० मा रू २२ अर्ब ३५ करोड ४५ लाख ९१ हजार बराबरको दुई हजार नौ सय १७ किलोग्राम सुन आयात भएको देखिन्छ । जसबाट राज्यले रू दुई अर्ब ५३ करोड ८३ लाख ५८ हजार बराबर राजस्व प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७८/८९ मा रू ३५ अर्ब ६१ करोड ९६ लाख बराबरको ५ हजार ५३ किलोग्राम सुन आयात भएको थियो । सो वर्ष सुन आयातबाट सरकारले रू ४ अर्ब २९ करोड ५० लाख ५६ हजार राजस्व सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०७७/७८ मा तीन हजार नौ सय २५ किलोग्राम सुन आयात भएको थियो । सो आर्थिक वर्षमा रू २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार बराबरको सुन आयात हुँदा सरकारले रू ३ अर्ब ३३ करोड ५८ लाख राजस्व प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा रू १३ अर्ब ४६ करोड ५ लाख बराबरको २ हजार ४ सय किलोग्राम सुन आयात भएको थियो भने त्यसबाट रू १ अर्ब ५० करोड ७५ लाख बराबर राजस्व सङ्कलन भएको थियो ।
गण्डकी: कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकको माछापुच्छ्रे एकता दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडबाट दैनिक आठ सय लिटर दूध पोखरा आइपुग्छ । त्योमध्ये सात सय लिटर दूध जिल्ला सहकारी सङ्घ लि, कास्कीद्वारा सञ्चालित सहकारी डेरी उद्योगले खरिद गर्छ । उक्त सहकारीले बाँकी दूध निजी डेरी उद्योगलाई बिक्री गर्दै आएको छ । सहकारीका सचिव पदम नेपालीका अनुसार गाउँमा उत्पादित दूध घाचोकमा रहेका दुईवटा सङ्कलन केन्द्रमार्फत बजार पठाउने गरिएको छ । “सुरूमा ६० लिटरबाट सुरू गरिएकामा अहिले दैनिक आठ सय लिटर दूध बजार पुग्छ”, उहाँले भन्नुभयो, “व्यावसायिक गाईभैँसी पाल्ने किसान पनि थपिँदै जानुभएको छ, सरकारले तोकेको मूल्य नियमति रूपमा पाएपछि दूग्ध किसान सन्तुष्ट हुनुहुन्छ ।” दूधमा हुने ‘ल्याक्टो’ र ‘फ्याट’ जाँचको आधारमा प्रतिलिटर रू ६८ देखि रू ७३ सम्म किसानले पाउने गरेको सचिव नेपालीले बताउनुभयो । डेरी उद्योगले प्रतिलिटर रू ७४/७५ सम्ममा सहकारीबाट दूध खरिद गर्ने गरेको उहाँको भनाइ छ । पोखराको सहकारी डेरी उद्योगलाई मासिक सात सय लिटर दूध उपलब्ध गराउने सम्झौता अनुसार कारोबार भइरहेको सचिव नेपालीले बताउनुभयो । उक्त उद्योगमा आठ वटा दूध्य उत्पादक सहकारीले दैनिक रूपमा दूध उपलब्ध गराउँदै आएका छन् । उद्योगका सुपरभाइजर कृष्ण अधिकारीले ती सहकारी संस्थाबाट दिनमा ३५ सयदेखि चार हजार लिटरसम्म दूध आउने गरेको जानकारी दिनुभयो । “उद्योगले महिनामा झण्डै एक करोड रूपैयाँ बराबरको दूध किसानबाट खरिद गर्छ”, उहाँले भन्नुभयो, “बिक्री पनि सरकारले तोकेको उपभोक्ता मूल्य अनुसार भइरहेको छ ।” डेरी उद्योगले दिनमा झण्डै रू तीन लाख बराबरको दूध गाउँका किसानबाट ल्याउने गरेको छ । सरकारले तोकेको दरमा दूधको भुक्तानी हरेक १५÷१५ दिनमा किसानलाई उपलब्ध गराउने गरिएको उद्योगका सुपरभाइजर अधिकारीले बताउनुभयो । माछापुच्छ्रे गाउँपालिकासहित पोखरा महानगरपालिकाभित्र पर्ने हेम्जा, सुइखेत, पुम्दीभुम्दी र कास्कीकोटबाट दूध उद्योगमा भित्रने गरेको छ । सहकारीले किसानबाट सङ्कलन गरेर ल्याएको दूधलाई प्रशोधन र गुणस्तर सुनिश्चित गरेर मात्र बजारमा बिक्री गर्ने गरेको उद्योगका सुपरभाइजर अधिकारीले बताउनुभयो । खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयले तय गरेको मापदण्ड अनुसार नै उद्योगले विभिन्न दूग्धजन्य वस्तुको उत्पादन तथा बिक्रीवितरण गर्दै आएको उहाँको भनाइ छ । उद्योगले कच्चा दूधलाई प्रशोधन गरेर दैनिक दुई हजार लिटरसम्म बजारमा बिक्री गर्दै आएको छ । दूधबाहेक पनिर, दही, नौनीलगायत वस्तु डेरीले उत्पादन गर्दै आएको छ । रू दुई करोड बराबरको अत्याधुनिक उपकरणजडित उद्योगबाट छिट्टै खुवा र आइसक्रिम पनि उत्पादनको लक्ष्य लिइएको छ । विसं २०५७ मा स्थापित उक्त डेरी उद्योगले दूग्धजन्य वस्तु बेचेर मासिक आठ देखि दशलाखसम्म मुनाफा आर्जन गर्ने गरेको छ । उद्योगमा दस जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । डेरी उद्योगका लागि दुई वर्षअघि नेपाल सरकारले ‘नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना’मार्फत रू एक करोड अनुदान उपलब्ध गराएको सङ्घका अध्यक्ष सावित्रा कोइरालाले बताउनुभयो । पाँच वर्षअघि कास्कीस्थित सहकारी रजिष्ट्रार कार्यालयले पनि उपकरण खरिदका लागि रू १४ लाख सहयोग गरेको उहाँको भनाइ छ । पोखरा महानगरपालिका–७ स्थित सङ्घको आफ्नै कार्यालय भवन परिसरमा डेरी उद्योग सञ्चालित छ ।
वालिङ: यहाँका एक किसानले ‘ड्रागन फ्रुट’ बिक्रीबाट रु १८ लाख आम्दानी गर्न सफल हुनुभएको छ । स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिक रूपमा ड्रागनखेती गर्नुभएका कृष्णप्रसाद ढुङ्गानाले ड्रागन बेचेर रु १८ लाख आम्दानी गर्नुभएको हो । चार हजार पाँच सय केजी ड्रागन बिक्री गरेर उक्त आम्दानी लिन सफल भएको व्यवसायी ढुङ्गानाले बताउनुभयो । असी रोपनी जग्गा भाडामा लिएकोमध्ये ४० रोपनीमा तीन वर्षअघि व्यावसायिक ड्रागनखेती गर्नुभएका ढुङ्गानाले यस वर्ष एकै याममा मनग्य आम्दानी गर्न सफल हुनुभएको हो । “असी रोपनी जग्गा भाडामा लिएर व्यवसाय थालेको हुँ”, उहाँले भन्नुभयो, “सुरुमा मलाई केही पनि ज्ञान थिएन, युट्युव हेर्दै काम गर्न थालेँ, सिक्दै गएँ अहिले धेरै राम्रो भएको छ, कमाई पनि राम्रो भएको छ ।” ड्रागन थोकमा प्रतिकेजी रु चार सयका दरले र खुद्रामा प्रतिकेजी रु पाँच सयका दरले बिक्री भएको उहाँले बताउनुभयो । यहाँ उत्पादन भएको ड्रागन पोखरा, स्याङ्जा र वालिङमा खपत भएको हो । आफ्नो र बाँकी जग्गा दाजुभाइको भाडामा लिएर अहिले ४० रोपनीमा पाँच हजार ड्रागनले फल दिएको उहाँले बताउनुभयो । “नयाँ र नौलो व्यवसायको थालनी गर्दा हेर्न आउनेहरूले के नचाहिँदो काम गरेको होला भनेर होच्याउने गर्थे, पागल भएछ कि क्या हो समेत भन्थे”, उहाँले भन्नुभयो, “अहिले व्यवसाय राम्रो भएर आम्दानी लिन थालेपछि पहिला नराम्रो भन्नेहरू पनि हेर्न र बुझ्न बगैँचामा आउने गरेका छन् ।” उहाँले एउटा पिलरमा तीनवटाका दरले ड्रागनका बेर्ना लगाउनुभएको छ । ड्रागन बगैँचामा बिरुवाको बीच–बीच भागमा अदुवा, सखरखण्ड, पिँडालुलगायत मिश्रित बाली लगाउनुभएको छ । “नयाँ र नौलो फल भएकाले यहाँ आउनेलाई खान दिने, आफन्तलाई कोसेली पठाउनेसमेत गरियो”, उहाँले भन्नुभयो, “आम्दानी अझै धेरै हुन्थ्यो, वर्षामासमा परेको निरन्तरको झरीले झण्डै रु १० लाखको ड्रागनको फूल नै नष्ट गरिदियो ।” उहाँले ड्रागन फलसँगै बेर्ना पनि बिक्री गरी आम्दानी गर्दै आउनुभएको छ । उत्पादन गर्न सकेको खण्डमा बजारको कुनै समस्या नरहेको कृष्णका भाइ अमृत ढुङ्गानाले बताउनुभयो । अमृतले दाजुले उत्पादन गर्नुभएको ड्रागनको सम्पूर्ण बजारीकरणको जिम्मा लिनुभएको छ । “यहाँ उत्पादन भएको ड्रागन पोखरा, स्याङ्जा तथा स्थानीय वालिङ बजारमा र केही बगैँचाबाट नै बिक्री भयो”, उहाँले भन्नुभयो, “ड्रागनको बजार माग राम्रो भएकाले बिक्री नहुने समस्या भएन बरु मागअनुसार खपत गर्न सकेनौँ ।” बगैँचामा यसपटक ड्रागन फलेर सकियो तर अझै पनि विभिन्न ठाउँबाट माग आउने क्रम जारी भएको अमृतले बताउनुभयो । अहिले ४० रोपनीमा फैलिएको ड्रागन बगैँचालाई विस्तार गरी ८० रोपनी क्षेत्रफलमा पुर्याउने लक्ष्य रहेको अमृतले बताउनुभयो ।
दाङ: शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका किसान भावना पुरीले व्यावसायिक रुपमा तोरीखेती गर्दै आउनुभएको छ । उहाँले विगत लामो समयदेखि तोरीखेती गर्दै आउनुभएको हो । तेल किनेर खाँदा महँगो पर्ने हुँदा आफैँले उत्पादन गर्दै आएको उहाँ बताउनुहुन्छ । “बाहिर किनेको तेल स्वास्थ्यका लागि पनि त्यति राम्रो नहुने र तोरी नै उत्पादन गर्दा आफ्नो लागि र बिक्री गर्नसमेत मिल्ने भएकाले यसको खेती गर्दै आएको छु”, उहाँले भन्नुभयो, “घरमा आवश्यक परेको राख्ने र अरू सबै उचित मूल्य पाएको समयमा बेच्ने गर्ने गरेको उहाँ सुनाउनुहुन्छ ।” उहाँले १० कट्ठा जग्गामा लगाएको तोरीबाट तीन क्विन्टल बढी उत्पादन हुने गरेकोे बताउनुभयो । तोरी घरका लागि राखेर पनि अरू बेचेर आम्दानी गर्दै आएको उहाँले बताउनुभयो । घोराही उपमहानगरपालिका–१० का किसान रेशम डाँगी पनि आफूलाई खानका लागि तोरी आफँै उत्पादन गर्दै आएको बताउनुहुन्छ । राम्रो तोरीको तेल नै हुने भएको तोरीको खेती गर्दै आएको उहाँले बताउनुभयो । किनेर खानुभन्दा समयमा मेहनत गरियो भने वर्षभरि खान पुग्ने उहाँको अनुभव छ । जिल्लामा तोरीखेती गर्ने किसानको सङ्ख्या बढ्दै जाँदा उत्पादन पनि बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार गत वर्ष दाङमा १६ हजार चार सय १० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो । त्यसबाट १६ हजार ३ सय ४३ दशमलव ३ मेट्रिक टन तोरी उत्पादन भएको उहाँ बताउनुहुन्छ ।गत वर्षको तुलनामा यस वर्ष अझ उत्पादन बढ्ने अनुमान गरिएको उहाँको भनाइ छ । मौसम अनुकूल भएमा बढ्ने उहाँले बताउनुभयो । उहाँका अनुसार यस वर्ष तोरीखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएसँगै उत्पादनमा पनि वृद्धि हुने उहाँको भनाइ छ । यस वर्ष १६ हजार ४ सय ८७ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ भने त्यसबाट १७ हजार ८ सय ६ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको सूचना अधिकारी लामिछानेको भनाइ छ । यस वर्ष गत वर्षभन्दा ५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको छ । तोरीखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको छ । तोरीखेतीलाई जङ्गली जनावरले पनि असर नगर्ने र छिटो उत्पादन लिने बाली भएकाले गहुँ लगाउने किसान पनि तोरीखेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा सबैभन्दा बढी शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दङ्गीशरण गाउँपालिकामा तोरीको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या धेरै रहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । कृषि ज्ञान केन्द्र दाङमार्फत विशेष सघन बाली उत्पादनअन्तर्गत यस वर्ष ९० हेक्टर क्षेत्रफलका लागि नौ क्विन्टल उन्नत तोरीको बीउ किसानलाई वितरण गरिएको सूचना अधिकारी लामिछाने बताउनुहुन्छ । उक्त बीउ घोराही–७ घुस्रा र शान्तिनगर गाउँपालिका–१ र २ का किसानलाई वितरण गरिएको थियो ।
काठमाडौं: नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा उच्च गिरावट आएको छ। यस दिन सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १५ हजार नौ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १५ रूपैयाँ घटेको हो। सरकारले सुन तथा चाँदीमा लाग्ने कर घटाएपछि सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको हो। सुन आयातमा सरकारले २० प्रतिशत कर लिदै आएको थियो। मन्त्रिपरिषद्को बैठकले १० प्रतिशत विन्दुले भन्सार दर घटाएर १० प्रतिशत कायम गरेपछि सोमबार सुनको मूल्यमा उच्च गिरावट आएको हो। त्यसैगरी, सरकारले चाँदीको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
म्याग्दी: टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेको जनाइएको छ । बोटबाट २५ प्रतिशत सुन्तलाका दाना झरिसकेको बेनी नगरपालिका–४ बास्कुनाका किसान सन्दीप खत्रीले बताउनुभयो । कात्तिकको तेस्रो हप्तादेखि सुन्तला झर्ने समस्या देखिएको छ । “बजार पठाउने समयमा बोटबाट सुन्तला झर्न थालेपछि किसानहरु चिन्तित भएका छन्”, बेनी–४ वडासदस्य समेत रहेका खत्रीले भन्नुभयो, “बोटमा राम्रो फल लागे पनि झर्ने समस्याका कारण कृषकको आम्दानीमा असर पर्ने देखिएको छ ।” गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक वासुदेव रेग्मीको नेतृत्वमा केही दिनअघि बास्कुना पुगेको कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कृषि शाखाका प्राविधिकको टोलीले झरेका सुन्तलाको नमूना सङ्कलन गरेर परीक्षणका लागि लगेका छन् । प्रयोगशालाको प्रतिवेदन आएपछि के कारणले सुन्तला झरेको हो भन्ने पहिचान हुने केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताउनुभयो । “दानाभित्र औसा परेर सुन्तला झरेको छ”, उहाँले भन्नुभयो, “सुर्यपुतलीको शङ्का लागेर परीक्षण गर्न पठाएका हाँै । प्रयोगशालाको प्रतिवेदन आएपछि समस्या पहिचान हुन्छ ।” बास्कुनाको छिमेकी बेनी –३ मरेक र मङ्गला गाउँपालिकाको महेशमा पनि सुन्तला झर्ने समस्या देखिएको बताएका छन् । प्राविधिकले झरेका सुन्तलाका दानालाई प्लास्टिकको थैलोमा राखेर बन्द गर्न सुझाव दिएका छन् । सूर्यपुतली नियन्त्रण गर्न बगैचामा टाइट ट्याप ९पासो० थाप्न र धुवा बनाउन प्राविधिकले सुझाएका छन् । दुई सय बोटको बगैँचाबाट दैनिक एक डोको झरेका सुन्तला टिपेर फाल्ने गरेको बास्कुनाका अर्का कृषक दीर्घबहादुर खत्रीले बताउनुभयो । बास्कुना, सुर्केमेला र थामडाडाका ४५ घरधुरीले करिब १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । गत वर्ष सो ठाउँबाट रु ७५ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको थियो । धादिङबाट आएका ब्यापारीले नपिप्टै अग्रिम पैसा दिएर बगैँचा ठेक्कामा किनेका छन् । व्यापारी कान्छाराम तामाङले सुन्तलामा रङ र गुलियो पसेकाले टिपेर बजार पठाउन थालिएको बताउनुभयो । जिल्लाको सुन्तला पोखरा, काठमाडौं, चितवन, विराटनगर र बुटवलमा पठाउने गरिएको उहाँले बताउनुभयो । केन्द्रका अनुसार गत वर्ष म्याग्दीमा रु २१ करोड मूल्य बराबरको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्री भएको थियो । जिल्लामा आठ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती गरिएकोमा चार सय २० हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिन्छ । यस वर्ष क्रप कटिङ विधिबाट सुन्तलाको उत्पादनको अवस्था पहिचान गर्ने तयारी गरेको केन्द्रका बाली संरक्षण अधिकृत गङ्गा लामीछानेले बताउनुभयो ।
लमजुङ: सुन्दरबजार नगरपालिका–६ स्थित सयपत्री आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले व्यावसायिक रूपमा च्याउखेती सुरु गरेका छन् । पढ्दै, सीप सिक्दै र कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीले च्याउखेती सुरु गरेका छन् । गत वर्षदेखि च्याउखेतीको सुरुआत गरेका विद्यार्थीले यसवर्ष व्यावसायिक रूपमा ६ सय ५० पोका च्याउ नगरपालिकाबाट अनुदानमा पाएपछि उत्पादनमा ज्टेका हुन् ।विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र शर्माका अनुसार विद्यार्थीले उत्पादन गरेको च्याउ उनीहरुले बजारमा बेच्ने गरेका छन् । च्याउ बिक्रीबाट प्राप्त भएको आम्दानीबाट खेती गर्दाको खर्च कटाएर उनीहरुको शैक्षिक क्रियाकलाप, छात्रवृत्ति, राहत र अतिरिक्त क्रियाकलापमा खर्च गरिने उहाँले जानकारी दिनुभयो । गतवर्ष सानो सङ्ख्यामा परीक्षणको रूपमा च्याउखेती थालेका विद्यार्थी उत्पादन भएपछि यसतर्फ थप आकर्षित भएका छन् । “विद्यार्थीहरुले उत्पादन गरेको च्याउ भनेपछि बजारमा सबैले किनिदिनुहुन्छ । यसले उनीहरुलाई उत्साह पनि बढेको छभने विद्यार्थीले सीपसमेत सिकिरहेका छन्”, प्रधानाध्यापक शर्माले भन्नुभयो । विद्यालयले यो शैक्षिक सत्रदेखि साताको एक दिन किताबबिना विद्यालय बोलाउने गर्दछ । उक्त ‘बुक फ्रि डे’को दिन विद्यार्थीलाई विभिन्न परियोजनात्मक काममा लगाउने गरिएको प्रधानाध्यापक शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त दिन विद्यार्थीले विभिन्न व्यवहारिक सीप सिक्ने र सोही सीपलाई आफ्नो समाज र परिवारमा उपयोग गर्ने गरेका छन् ।” अतिरिक्त क्रियाकलाप, कृषि कार्यक्रम, विभिन्न स्थानको अवलोकन, बजार सरसफाइलगायत व्यवहारिक काममा विद्यार्थीलाई सक्रिय बनाउने गरिएको प्रअ शर्माले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरु किताबी अध्ययनबाट मात्र व्यवहारिक नबन्ने भन्दै एक दिन किताब बाहिरका विषयवस्तुका बारेमा जानकारी दिने, अवलोकन, अध्ययन र सीपमूलक काममा लगाउने गरिएको हो ।यही परियोजनाअन्तर्गत विद्यार्थीले बिहीबार र शुक्रबार च्याउखेती गर्न थालेका प्रअ शर्माले जानकारी दिनुभयो । “च्याउ उत्पादनका लागि पराल तथा पानी उमाल्न दाउरा विद्यालयले खरिद गरी उपलब्ध गरिदिएको छ । २ सय ५० पोका च्याउ अनुदानमा सुन्दरबजार नगरपालिकाको कृषि विकास शाखाले उपलब्ध गराइदिएको हो”, उहाँले भन्नुभयो । “च्याउका पोकालाई राख्नका लागि विद्यालयले कोठा उपलब्ध गराएको छ । च्याउ उत्पादन भएपछि विद्यार्थीले विभिन्न तौलका पोका बनाएर बजारमा बिक्री गर्दछन्”, प्रअ शर्माले भन्नुभयो, “विद्यार्थीलाई स्थानीय नागरिक तथा विद्यालयका शिक्षकहरुले सहयोग गरिरहेका छौँ ।” गतवर्ष परीक्षणको रूपमा ४० पोका च्याउखेती गरिएको भन्दै त्यसबाट रु ३८ हजार आम्दानी भएको उहाँले जानकारी दिनुभयो ।विद्यार्थीहरुकै रेखदेखमा उत्पादन हुने च्याउका लागि प्राविधिक सहयोगसमेत कृषि विकास शाखाले उपलब्ध गराएको छ । गत वर्ष उत्पादन भएको च्याउबाट विद्यार्थीले परिवारमासमेत आफ्नो मेहनतको स्वाद चखाउन पाएका थिए भने शैक्षिक क्रियाकलापका लागि केही रकम जम्मा पनि गरेका विद्यालय प्रशासनले जनाएको छ । विद्यार्थीद्वारा उत्पादित च्याउमा कुनै विषादी प्रयोग गरिँदैन । बजारमा बाहिरबाट आउने च्याउभन्दा स्वस्थकर हुने भएकाले उपभोक्ताले पनि रुचाएका विद्यार्थी र शिक्षकको अनुभव छ ।विशेषगरी विद्यार्थीलाई सैद्धान्तिक अध्ययनसँगै व्यवहारिक अभ्यास गराउने उद्देश्यसले यो कार्यको थालनी गरिएको विद्यालयले जनाएको छ । “किताब पढ्ने मात्रै होइन यसलाई व्यवहारमा उतार्न पनि च्याउखेती गरेका हौँ”, कक्षा ८ की छात्रा अनुशा अधिकारीले भन्नुभयो, “भविष्यमा कृषि गर्न चाहनेलाई यसले सीप र अनुभव दिन्छ भने अन्य व्यक्तिलाई सिकाउन पनि सकिन्छ ।” कक्षा ७ की संस्कृति श्रेष्ठले पढाइसँगै सीप र आम्दानीबाट शैक्षिक क्रियाकलापमा सहयोग पुगोस् भनेर च्याउखेती गर्दै आएका बताउनुभयो । “बुक फ्रि डेबाहेक अन्य दिनमा सैद्धान्तिक अध्ययनबाट बचेको समयमा च्याउखेतीको हेरचाह गर्ने पालो मिलाएका छौँ”, उहाँले भन्नुभयो ।