ताप्लेजुङ: कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च विन्दूमा पुगेको छ । बजार माग बढेसँगै अलैंचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको आज गुणस्तरका आधारमा प्रतिमन (४० किलोग्राम)को रु एक लाख सात हजारसम्ममा खरिद बिक्री भइरहेको छ । अलैँची व्यवसायी कमल बरालका अनुसार उच्च गुणस्तर र मध्यम गुणस्तर दुई प्रकारले खरिद बिक्री भइरहेको छ । ठूलो दाना भएको, पुच्छर काटेको, धुलो रहितको अलैँची प्रतिमन रु एक लाख सात हजार र मध्यम गुणस्तरको अलैंची अर्थात् सानो दाना, पुच्छर काटेको, धुलोरहित अलैँची प्रतिमन रु एक लाख चार हजारमा खरिद बिक्री भइरहेको छ । सामान्य गुणस्तर भएको अलैँची प्रतिमन रु एक लाख एक हजारमा कारोबार भइरहेको छ । ताप्लेजुङमा साउनदेखि अलैँची टिपाइ सुरु हुन्छ । लेकाली क्षेत्रहरुमा अहिले पनि टिपाइ भइरहेको छ । मङ्सिर अन्तिम साता सम्म टिपाइ हुने गर्दछ । साउनदेखि यस वर्ष अलैँची बजारमा आउन थालेको अलैँची व्यवासायीको भनाइ छ । सुरुवाती समयमै प्रतिमन रु ६० हजारभन्दा माथि मूल्य पाइयो । कृषि विज्ञहरूका अनुसार सामान्यतया बजारमा नयाँ उत्पादन आउन थालेपछि मूल्य घट्ने सम्भावना हुन्छ । यस वर्षको अवस्थामा भने उल्टो देखिएको छ । मूल्य निरन्तर वृद्धि हुँदै गएको छ । अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रविर रेग्मीले भदौको पहिलो साताबाट बजारमा निस्किएको अलैँचीको मूल्य लगातार बढिरहेको बताउनुभयो । ताप्लेजुङ नेपालकै सबैभन्दा धेरै अलैँची उत्पादन गर्ने जिल्लामा पर्दछ । यहाँको करिब ४५ हजार हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिँदै आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस क्षेत्रबाट करिब तीन हजार मेट्रिकटन अलैँची उत्पादन हुने गरेको छ । यस वर्षको उत्पादन राम्रो भएकाले किसानहरू पनि उच्च आम्दानीको अपेक्षामा छन् । विज्ञहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्नुले प्रत्यक्ष असर गरेको, भारत र चीनजस्ता प्रमुख आयातकर्ता देशमा महामारीपछि माग बढेको, नेपालको अलैँची उत्पादनमा प्रतिकूल मौसम र रोगका कारण केही कमी आउँदा आपूर्तिमा कमी भएकाले मूल्य बढाएको हो । अलैँचीको मूल्यमा निरन्तर वृद्धिले किसानहरूमा उत्साह थपेको छ । फक्ताङलुङ गाएँपालिका–५ का किसान पूर्ण लिम्बू भन्नुहुन्छ, “यो वर्षको मूल्यले विगतका घाटा पुरा गर्न सहयोग गर्नेछ, हामीलाई यस्तो मूल्यमा अलैँची बेच्न पाउनु ठूलो कुरा हो ।” यद्यपि मूल्य वृद्धिले उत्साह थपे पनि व्यवसायीहरू सावधानी अपनाउनुपर्ने बताउँछन् । मौसम, बजारको स्थिरता र गुणस्तरमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ । अलैँची उत्पादनलाई अझ वृद्धि गर्न किसान आधुनिक प्रविधि अपनाउन थालेका छन् । सुकाउने प्रक्रियामा सुधार, राम्रो बीउको छनोट र जैविक मलको प्रयोगले उत्पादन वृद्धि हुने आशा गरिएको छ । कृषि ज्ञान केन्द्रले किसानलाई प्रविधि र जानकारीमा सहयोग गरिरहेको जनाएको छ । व्यवसायीहरुका अनुसार अलैँचीको मूल्यमा अहिले देखिएको वृद्धि सधैं यस्तै रहने ग्यारेन्टी छैन । बजारमा माग र आपूर्तिको सन्तुलनले आगामी महिनामा मूल्यमा उतारचढाव ल्याउन सक्छ । हालको मूल्य वृद्धिले भने किसानलाई ठूलो राहत प्रदान गरेको र भविष्यमा पनि मूल्य स्थिर रहेमा अलैँची उत्पादनमा थप प्रोत्साहन पाइनेछ । अलैँचीले ताप्लेजुङका किसानलाई आय आर्जनको मुख्य स्रोतका रूपमा राहत दिएको छ । मूल्य वृद्धिले स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्याएको छ । अबका दिनमा पनि अलैँचीको मूल्य स्थिर रहने र अन्तर्राष्ट्रिय बजारमा नेपालको अलैँचीको माग बढ्ने अपेक्षा गरिएको छ । किसानहरूले गुणस्तर कायम राख्ने र उत्पादनमा ध्यान दिनुपर्ने चुनौती रहेको छ ।
खोटाङ: सहर छाडेर गाउँ फर्किनुभएका अर्थशास्त्री तथा राजनीतिक विश्लेषक हरि रोकाको खेतमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)खोटाङका नेता तथा कार्यकर्ताले श्रमदान गरेका छन् । काठमाडौँ छाडेर ४० वर्षपछि विसं २०७९ मा सपरिवार गाउँ फर्किनुभएका रोकाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित खेतमा पुगेर उनीहरुले श्रमदान गरेका हुन् । गाउँ छाडेर सहर जानेको सङ्ख्या वृद्धि भइरहेको बेला गाउँ फर्किएर खेती किसानी गरिरहनुभएका रोकाको सम्मानस्वरुप धान काट्न सहयोग गरिएको नेकपा (माओवादी केन्द्र)का प्रदेश समिति सचिवालय सदस्य होमकाजी आचार्यले बताउनुभयो । “पार्टीले आयोजना गरेको जनश्रमदान अभियान अन्तर्गत हरि रोकाको खेतमा पुगेर श्रमदान गरेका छौँ । पछिल्लो समय गाउँ छाडेर सहर जानेको ताँती लाग्न थालेको छ । यो अवस्थामा सहरबाट गाउँ फर्किनुभइ कृषि पेशामा लाग्नुभएका अर्थशास्त्री एवं् राजनीतिक विश्लेषक रोकाको सम्मानका लागि श्रमदान गरिएको हो”, उहाँले भन्नुभयो । संविधानसभा सदस्यसमेत रहनुभएका रोका गाउँ फर्किएर खेती किसानीमा लाग्नुले सकारात्मक प्रेरणा दिएको स्थानीयको भनाइ छ । धान काट्ने श्रमदानमा पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’, पार्टीका जिल्ला संयोजक दीपक पाण्डे, प्रदेश समिति सचिवालय सदस्य आचार्य, पालिका समिति अध्यक्ष राजेन्द्रकुमार राई, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव रविन खम्बूलगायत सहभागी थिए । सर्वसाधारणको खेतमा श्रमदान गर्ने योजना भए पनि सहरबाट फर्किएर गाउँमै सम्भावना देखाउन सङ्घर्ष गरिरहनुभएका रोकाको हौसलाका लागि श्रमदान गरिएको माओवादी केन्द्रले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा दश हजार १८ दशमलव ०९ हेक्टर क्षेत्रफल खेतमा धान खेती हुँदै आएको छ ।
तनहुँ: समुद्री सतहबाट २ हजार १ सय ३४ मिटर उचाइमा रहेको आँबुखैरेनी–५ छिम्केश्वरी लाब्दीमा २० रोपनी जमीनमा व्यावसायिक रायो सागखेती गरिएको छ । किसानले उत्पादन गरेका कृषि उपज बिक्री सहजका लागि गाउँपालिकाले हाटबजारको व्यवस्था मिलाएपछि यहाँका किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । स्थानीय सङ्गिता गुरुङ, टीकामाया गुरुङ, आइतमाया गुरुङ, लक्ष्मण गुरुङ लगायकाले प्रत्येकले दुई÷तीन रोपनीका दरले साग खेती गरेका हुन् । गाउँपालिकाले किसानलाई थप हौसला प्रदान गर्न उत्पादनको आधारमा प्रतिकिलो २५ रुपैयाँ अनुदानको व्यवस्था गरेको आँबुखैरेनी कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । उहाँका अनुसार छिम्केश्वरीका किसानले उत्पादन गरेका कृषि उपज हाटबजारसम्म ल्याउन ढुवानीको समेत व्यवस्था गरिदिएको छ । दिनमा २ सय ५० देखि ३ मुठासम्म साग बिक्रीका लागि ल्याउने गरिएको उहाँले बताउनुभयो । यहाँ उत्पादित सागप्रति मुठा रु १ सयमा बिक्री हुने गरेको छ । नाङ्गलो जस्ता सागको पात देख्दा उपभोक्ता किन्नका लागि भीड नै लाग्ने गर्दछन् । यहाँ उत्पादित साग रसिला र मीठो पनि उत्तिकै हुने भएकाले उपभोक्ताको रोजाइमा साग पर्ने गरेको छ । जलवायु परिवर्तनको असरका कारण कीराको प्रकोप हुँदा सागका पात खाने समस्या भएको छ,उहाँले भन्नुभयो “जलवायु मैत्री कृषि प्रविधितर्फ गाउँपालिकालाई उन्मुख गराउने योजना बनाइएको छ ।” जैविक विषादी निमजन्य विषादी कृषि शाखाले निःशुल्क रुपमा किसानलाई उपलव्ध गराउँदै आएको गाउँपालिकाले जनाएको छ । अघिल्लो वर्ष सागलगायतका तरकारी बिक्री गरेर १ किसानले ५०÷६० हजारसम्म आम्दानी गर्न सफल भए पनि यसवर्ष कीराको प्रकोपका कारण आम्दानी घट्ने देखिएको कृषि शाखा प्रमुख केसीले बताउनुभयो । गाउँपालिकाले रु ४० लाखको लागतमा वार्षिक २ लाख ५० हजार भाडा बुझाउने गरी जग्गा भाडामा लिएर दुई वर्षदेखि आँबुखैरेनी बजार क्षेत्रमा हाटबजार सञ्चालनमा ल्याएको हो । गाउँपालिकामा उत्पादित बाँसजन्य सामग्रीका साथै मह,घीउ, दही, पनिर, बेसार, अदुवा, अकबरे खुर्सानी, मकै, भटमास, स्कुस, बरेला, बोडी, च्याउ र बेमौसमी केराउ लगायतका कृषि उपज बिक्री वितरणमा सहज भएको छ । व्यावसायिक रुपमा यहाँका स्थानीयले तरकारी लगायतका कृषि उपज उत्पादन गर्न थालेपछि महिला आयआर्जनमासमेत सबल बन्दै गएको वडाध्यक्ष सन्तोष गुरुङले बताउनुभयो । यहाँ उत्पादित कृषि उपज तल बेसीमा रहेको हाटबजारसम्म लगेर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएपछि किसान उत्साहित भएर उत्पादनमा लागेका उहाँले जानकारी दिनुभयो ।
चितवन: गत वर्षको तुलनामा यो वर्ष चितवनमा धा उत्पादनमा ह्रास आएको छ । कृषि विकास कार्यालयका अनुसार यस वर्ष वर्षे धान १ लाख १२ हजार ९२ दशमलव ४८ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष वर्ष १ लाख १४ हजार २६९ दशमलव चार मेट्रिक टन धान उत्पादन भएको थियो ।यो वर्ष २७ हजार २७० हेक्टरमा धानखेती भएको थियो । उक्त कार्यालयले क्रप‘क्रपकटिङ्’माध्यमबाट लिएको तथ्याङ्कअनुसार यस वर्ष उत्पादकत्वमा पनि कमी आएको छ । प्रतिहेक्टर ४ दशमलव १२ मेट्रिक टन उत्पादन भएको छ । पूर्वी चितवनका केही स्थानमा सावा मन्सुली, सावित्री धानमा डट्टी पेनिकल, कालो पोके, राइस लिफ फोल्डर, गबारो र पतेरा प्यानीकल व्लाईट रोगका कारण उत्पादन घटेको उक्त कार्यालयले जनाएको छ । जिल्लामा चैते ५, सावित्री, वार, बहुगुणी २, हर्दिनाथ १, हर्दिनाथ ६, पिआरे, सावा मन्सुली, मोती, गोरखनाथ, जिरामसिनो, राम धानखेती हुने गरेको छ ।
कैलाली: कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो । धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेतीबाट प्रशस्त आम्दानी गर्दै आउनुभएको छ । उहाँले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आउनुभएको हो । ४ वर्षअघि ६० हजार लगानीमा एउटा टनेलबाट च्याउखेती थाल्नुभएका उहाँले हाल ५ वटा टनेलबाट च्याउ उत्पादन गर्दै आउनुभएको छ ।५ वटा टनेलबाट उत्पादन भएको च्याउ विक्रीबाट सबै खर्च कटाएर छ महिनामा छ लाख बचत हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,– “हिउँदका छ महिना मात्रै च्याउ उत्पादन गर्छु । ‘किङ्ग ओइस्टर’ च्याउ उत्पादन गर्दै आएको छु । यो च्याउ प्रतिकिलो २ सयदेखि २ सय ५० मा बिक्री हुने गरेको छ ।” “बजारको मागअनुसार आपूर्ति गर्न सकेको छैन”, उहाँले भन्नुभयो,– “प्रतिदिन ७० देखि ८० केजी च्याउ बिक्री गर्दै आएको छु ।” च्याउखेतीमा लगानी कम र आम्दानी बढी हुने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो,– “यसमा लगानी कम भए पनि मेहनत बढी चाहिन्छ । ४ जनाको परिवार छ,घर खर्च चलेको छ । पराल काट्ने मेसिन, मिनिटिर च्याउ बेचेर किनेको छु ।” च्याउखेती विस्तार गर्दै जाने आफ्नो योजना उहाँले सुनाउनुभयो । यसैगरी, गोदावरी नगरपालिका–८ फकलपुरकी राजकुमारी चौधरीले पनि सात व्यावसायिक रूपमा च्याउखेती गर्नुभएको छ । च्याउ बिक्रीबाट खर्च कटाएर वार्षिक २ लाख बचत हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “च्याउखेतीबाट छोटो समयमा प्रशस्त आम्दानी गर्न सकिन्छ ।” च्याउ बिक्रीमा कुनै समस्या नभएको बरु माग धान्न कठिन भएको उहाँको अनुभव छ । च्याउसँगै डेढ कठ्ठा जग्गामा सागसब्जी पनि लगाउनुभएकी उहाँले त्यसबाट वार्षिक रु १ लाख बचत गर्दै आएको बताउनुभयो । (((
अछाम: उच्च हिमाली भेगमा बसोबास गर्ने भेडापालक किसान चिसो बढ्न सुरु भएसँगै बेँसी झर्न थालेका छन् । हिउँदयामको सुरुआती चरणमै चिसो धेरै बढ्न थालेपछि बाजुराको उच्च हिमाली भेगमा बसोबास गर्ने भेडापालक किसान चिसो छल्न बेँसी झर्न थालेका हुन् । हिमाली भेगमा अत्यधिक चिसो बढेकाले बालबालिका तथा भेडासहित बेसी झर्नेक्रम सुरु भएको बाजुराको बूढीनन्दा नगरपालिका–७ पाण्डुसैनका सुरत थापाले बताउनुभयो । हरेक वर्ष चिसो मौसम सुरु भएसँगै हिमाली क्षेत्रका स्थानीय हिउँदेखेती लगाएर मङ्सिरको अन्तिमतिर बेँसी झर्ने गरिए पनि यसवर्ष चाँडै चिसो बढेकाले कात्तिक दोस्रो साताबाटै बेँसी झर्न सुरु भएको उहाँको भनाइ छ । “विगतका वर्षमा मङ्सिरको अन्तिमतिर बेँसी झर्थ्यौ तर यसपटक चाँडै चिसो बढ्यो । त्यसैले कात्तिक दोस्रो सातादेखि नै चिसो छल्न हिँड्यौ । मसहित ३ जना किसान ३ सय भेडा लिएर अछाम आइसकेका छौँ । अरु पनि आउने क्रम जारी नै छ”, थापाले भन्नुभयो । चिसो मौसममा अछामको साँफेबगर, मेल्लेख, दर्नालगायत विभिन्न ठाउँमा करिब ६ महिना बसोबास गरी वैशाखदेखि पुनःआफ्नै गाउँको लेकतिर बसाइँ सर्ने प्रचलन रहेको छ । बसाइँ सर्ने क्रममा उनीहरू गन्तव्य नपुगुञ्जेल नदी खोला किनार र भेडा च्याङ्ग्राको चरन भएको ठाउँमा बास बस्दै अगाडि बढ्ने गर्छन् ।
गुल्मी: जिल्लाको धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन् । स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाउनुभएको हो । एउटै व्यक्तिले यति धेरै धान फलाउने अर्याल जिल्लामै एक्लो व्यक्ति हुनुहुन्छ । हालसम्म उहाँले तीन सय मुरी धान खेतबाट उठाइसक्नुभएको छ भने अझै सय मुरी उठाउन बाँकी छ । “हालसम्म ७५ रोपनी क्षेत्रफलमा लगाएको तीन सय मुरी धान उठाएका छौँ, अब २५ रोपनीको करिब सय मुरी उठाउन बाँकी छ, धान काटेर सुकाउन राखेको छु । अब थ्रेसर लगाएर धान र पराल छुट्याउन मात्रै बाँकी छ”, अर्यालले भन्नुभयो । उहाँले सय रोपनीमध्ये ७२ रोपनी आफ्नो र २८ रोपनी भाडामा लिएर धानखेती गर्नुभएको हो । भाडामा लिएको जग्गाको वार्षिक प्रति रोपनी तीन हजारका दरले बुझाउँदै आएको अर्यालले बताउनुभयो । यसरी उत्पादन गरिएको धानबाट चामल बनाउने र प्याकेजिङ गरेर बेच्ने उहाँको योजना छ । “पहाडमा सधँै तराईबाट चामल आउने भएकाले त्यसलाई रोक्न पनि गाउँमै मिलको स्थापना गरी चामललाई बिक्री गर्ने योजना छ”, उहाँले भन्नुभयो, “मिलका लागि राज्यले सहयोग गरे त धेरै सहज हुने थियो ।” धान खेतीका साथै उहाँले व्यावसायिक भैँसीपालन पनि गर्नुभएको छ । उहाँसँग अहिले २१ वटा माउ भैँसी, एउटा ठूलो राँगो र १४ वटा पाडापाडी छन् । उत्पादन भएको धानबाट चामललाई ब्रान्डिङ गरी बिक्री गर्ने र भुस भैँसीको आहारका रूपमा प्रयोग गर्ने योजना बनाइरहेको अर्यालले बताउनुभयो । धान काटेलगत्तै उहाँले उक्त जग्गामा मकैखेती, घाँस वा अन्य तरकारी लगाउने उहाँले सुनाउनुभयो । धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले एउटै किसानले यति धेरै परिमाणमा धान उत्पादन गर्नुले गरे के हुँदैन भनेर अरुलाई पनि राम्रो सन्देश दिएको बताउनुभयो । यस्ता किसानलाई प्रोत्साहनका लागि पालिकाले आवश्यक सहयोग गर्ने उहाँको प्रतिबद्धता छ । “मेघनाथले मिल स्थापनाका लागि सहयोग पाए हुन्थ्यो भन्ने गरेको सुनेका छौँ । यसमा लागत साझेदारी गर्न पालिका तयार छ । धुर्कोटमै चामलको मिल स्थापना हुने विषय पालिकाको लागि गौरवको विषय हो नि”, अध्यक्ष पोखरेलले भन्नुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले गुल्मीमा उत्पादित चामललाई ‘ब्रान्डिङ’ गर्नुपर्ने बताउनुभयो । गुल्मी जिल्लाभर यसवर्ष सात हजार हेक्टरमा बर्खे धान लगाएकामा २१ हजार मेक्ट्रिक टन उत्पादन भएको उहाँले जानकारी दिनुभयो ।
बागलुङ: बागलुङको काठेखोला गाउँपालिकाका महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन हुने तरकारी तथा फलफूलबाट महिलालाई अचार बनाउने तालिम दिइएको हो । काठेखोला गाउँपालिका र नेपाल गाजा डेभलपमेण्ट फाउण्डेशनको सहकार्यमा ४ वटा वडाका करिब २ सय महिलालाई तालिम दिएपछि अहिले उहाँहरु व्यावसायिक रुपमा अचार बनाउन सुरु गरिसक्नुभएको छ । काठेखोला गाउँपालिका–३ धम्जा, वडा नम्बर ५ बिहुँ, वडा नम्बर ७ रेश र वडा नम्बर ८ लेखानीका महिलालाई तालिम दिइएको गाउँपालिका अध्यक्ष राजु थापाले बताउनुभयो । स्थानीयस्तरमा उत्पादन भएका अकबरे खुर्सानी, मुला, गाजर, लसुन, अदुवा, कागती, करेलालगायत तरकारी जन्यवस्तुबाट अचार बनाउन सिकाएको उहाँको भनाइ छ । अध्यक्ष थापाले भन्नुभयो, “धेरै नागरिक बसाइँसराइ गरी बजार झरेपछि अहिले गाउँमा सामान्य वर्गहरुको मात्रै बसाइँ छ, उनीहरुलाई आयआर्जनसँग जोड्नका लागि विभिन्न तालिम दिइ उद्यमी बनाउन थालेका छौँ, अचार बनाउने तालिम बढी प्रभावकारी देखिएपछि चारवटै वडाका महिलालाई दिएका छौँ, तालिमले महिलालाई उद्यमी बनाउने छ ।” काठेखोला गाउँपालिका–३ की रेजिना हमालले पहिले गाउँघरमा उत्पादन हुने तरकारी खेर जाने गरेको भए पनि अहिले गाउँपालिकाले तालिम दिएपछि अचार बनाएर बिक्री गर्न थालेको बताउनुभयो । पालिकाले दिएको अन्य तालिमभन्दा अचार बनाउने तालिम निकै प्रभावकारी बनेको उहाँको भनाइ छ । “हाम्रो बारीमा करेला लटरम्म फल्छ, फलेको सबै खान नसक्दा धेरै खेर जान्थ्यो, अहिले तालिम लिएपछि, खुसार्नी, मुला, स्कुस केही पनि खेर फाल्न हुँदो रैनछ भन्ने लागेको छ, तालिम पाएपछि अहिले बिहान बेलुका घरको काम गरेर फुर्सदको समय अचार बनाउने गरेका छौँ”, हमालले भन्नुभयो, “१०÷१२ दिनमै मीठो अचार बन्दो रैछ, अब बनाएर बजार पठाउने योजना बनाएका छौँ ।” काठेखोला–८ की जमुना श्रीसले अचारबाट राम्रो आम्दानी गर्न सकिने बताउनुभयो । आफूहरुले सीप नसिक्दा अहिलेसम्म धेरै तरकारी खेर गएको सुनाउँदै उहाँले तालिम लिएपछि व्यावसायिक रुपमा अचार उत्पादन गर्न थालेको बताउनुभयो । अचार बनाउनका लागि धेरै समय र खर्च नलाग्ने तर आम्दानी भने मनग्य गर्न सकिने उहाँ बताउनुहुन्छ ।
पाल्पा: रामपुरका खेतबारीमा लहलहाएका काउली, बन्दा, साग, मुलामा झुसिल्किराको प्रकोप बढेपछि व्यावसायिक रूपमा सागसब्जी उत्पादनका लागेका किसानहरू नराम्ररी पिरोलिएका छन् । रामपुर नगरपालिका–६ प्याक्लुककी अगुवा किसान राधिका बस्यालले काउलीमा झुसिल्किराकोे प्रकोपले सताएको दुखेसो गर्नुभयो । “काउलीका बोट फस्टाएका छन् तर कीराका प्रकोपले फूल लाग्न पाएका छैनन् । कीरा मार्ने प्रयास जारी रहे पनि त्यसमा सफल भएका छैनौँ ।” यसैगरी, रामपुर–५ स्थित राङभाङमा टिकीसरा गौतमको काउलीमा पनि झुसिल्किराले आक्रमण गरेको छ । व्यावसायिक उत्पादनमा लाग्नुभएकी उहाँ पनि कीराले पिरोलिनुभएको छ । उहाँ भन्नुहुन्छ, “बोट सप्रेका छन्, कीराको प्रकोपले उत्पादन नै नहुने हो कि भन्ने चिन्ता छ । झुसिल्किराकोे प्रकोप नियन्त्रण गर्न रामपुर नगरपालिका कृषि शाखाले स्थलगत निरीक्षण गरेको छ । पालिकाले किसानलाई निःशुल्क विषादी वितरण गरेको शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिनुभयो । बेमौसमी खेती भएकाले कीराको प्रकोप भएको उहाँले बताउनुभयो । ‘इनामेक्टिन इन्जाइम बेन्जोइड’ विषादी प्रयोग गर्न किसानलाई सुझाव दिइएको उहाँले बताउनुभयो ।