स्याङ्जा । अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ । पहिरोले गोठ पुरिँदा दुई चौपायामा समेत क्षति पुगेको छ ।   जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार बिहान गल्या...

  पोखरा:  कान्तिपुर डेण्टल हस्पिटलले बोल बम तथा शिव महिमाको सन्दर्भमा साउन महिना भरका लागि छुट कार्यक्रम घोषणा गरेको छ ।   मुख तथा दन्त स्वास्थ्य उपचारका लागि ३ कान्तिपुर डेण्टल हस्पिटलमा आउने सम्पूर्ण महिलाहरुको लागि टिकद दर्ता, डाइग्नोसिस र विशेषज्ञ परामर्श सेवा निशुल्क गरिने घोषणा गरेको जनाएको छ । हस्पिटलका प्रमुख कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठले साउन महिना महिलाहरुले मान्ने विशेष पर्व महिना भएकाले महिलाहरुको लागि निशुल्क उपचार कार्यक्रम ल्याइएको बताए।   कान्तिपुर डेण्टल हस्पिटलले सामाजिक उत्तरदायित्व बहन गर्दै महिलाहरु मात्रको हितमा यो कार्यक्रम ल्याइएको दाबी गरेको छ । टिकट देखि परामर्श सेवा समेत निशुल्क लिएर मुख तथा दन्त स्वास्थ्य सम्बन्धी लाभ लिन हस्पिटलले आग्रह गरेको छ ।

  पोखरा:   पोखरा ३३ मा अनधिकृत रुपमा कब्जा गरि बनाइएका २६ छाप्रा हटाइयो, अन्यत्रपनि क्रमस हटाइने पोखरा पोखरा महानगरपालिकाले पोखरा ३३ मा अनधिकृत रुपमा निर्माण गरिएका छाप्रा भत्काएको छ । महानगरका कानुन महाशाखा प्रमुख नारायण प्रसाद शर्माले विभिन्न जिल्लाबाट आएका मानिसहरुले अबैध रुपमा निर्माण गरेर बसेका छाप्रा सोमबार हटाइएको जानकारी दिए ।    मेयर धनराज आचार्यको निर्देशन र वडाध्यक्ष रामचन्द्र अधिकारीको उपस्थितिमा ति छाप्रा भत्काइएको उनले बताए । उनका अनुसार वडा नम्बर ३३ को दुई पिप्लेमा निर्माण गरिएका २३ छाप्रा र वडा नम्बर ३३ कै पशुपति घाटमा निर्माण गरिएका ३ छाप्रा गरि २६ वटा छाप्रा भत्काइएको हो ।    पोखरा महानगरको सार्वजनिक जग्गा संरक्षण अभियानको सुरुवात स्वरुप ति छाप्रा भत्काइएको उनले बताएका छन् । अन्यत्र पनि यस्ता अनधिकृत रुपमा निर्माण गरिएका संरचना क्रमस भत्काउँदै लागिने उनले बताए । सर्वजनिक जमिन कब्जा गरि विभिन्न स्थानमा आफूखुसी संरचना निर्माण गरिएका कतै पाइए महानगरमा जानकारी गराउन समेत शर्माले महानगरवासीलाई आग्रह गरेका छन् ।    सर्वजनिक जमिनमा टहरा वा अन्य संरचना निर्माण गरेकाहरुले आँफै यस्ता संरचना हटाउन आग्रह गर्दै उनले नभए कानुन बमोजिम क्षेतिपूर्ति तिराएर महानगर आँफैले यस्ता संरचना हटाउने बताए ।    ‘अनधिकृत रुपमा जग्गा कब्जागरि निर्माण गरिएका २६ छाप्रा भत्काएका छौं । पोखरा महानगरको सार्वजनिक जग्गा संरक्षणको अभियान यहीँबाट सुरु भएको छ । महानगरका अन्यत्रपनि यसरी निर्माण गरिएका संरचना क्रमस हटाइने छ’ उनले भने, ‘यसमा मेयर सापको खास इनिसियसन छ । यो वा त्यो समूह, संस्था वा व्यक्तिका नाममा सर्वजनिक संरचना निर्माण गर्न महानगरले दिनेछैन । यसरी बनाइएका संरचना कानुन बमोजिम त्यसको क्षतिपूर्ति भराएर महानगर आफैले भत्काउने छ ।    नगर प्रहरी नायव निरीक्षक पुरुषोतम थापाका अनुसार जिल्ला प्रशासन कार्यालयको सहयोगमा नगर प्रहरी, जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय डाँडाको नाक र  सशस्त्र प्रहरीको सहकार्य महानगरले पोखरा ३३ मा सार्वजनिक जग्गा कब्जा गरि अबैध रुपमा निर्माण गरिएका संरचना हटाइएको हो ।   

पोखरा:  पोखरा विश्वविद्यालय क्रिकेट क्लबको अभिषेक यादवको अध्यक्षतमा चौथौ नयाँ कार्य समिति चयन गरेको छ।   पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा बसेको बैठकबाट अध्यक्षमा अभिषेक यादव, उपाध्यक्षमा विज्ञान कार्की , श्रद्धा बञ्जारा ,सचिवमा जगदिश भण्डारी,सह सचिवमा संदेश श्रेष्ठ,सदस्यहरुमा लोकेन्द्र चन्द ,दीपेन्द्र शर्मा (मेस्सी), सुबाश बास्तोला, तृष्णा देवकोटा,दिनेश चापागाईं  साथसाथै वोमन कोर्डिनेटरमा दीपा तिवारी , एड्भाइजरी कमिटीमा  प्रशान्त भुसाल ,विकल बराल ,भुपेन्द्र भट्ट ,संदेश रेग्मी चयन गरेको जानकारी पोखरा विश्वविद्यालय क्रिकेट क्लबका निवर्तमान अध्यक्ष भुपेन्द्र भट्टले जानकारी दिए।   " पोखरा विश्विद्यालयको क्रिकेट क्लव लाई आफ्नो कार्यकालमा थप उचाइ दिने र क्रिकेटलाई विश्वविद्यालयमा प्रोत्साहन गर्न थप लगनशीलता साथ लाग्ने प्रतिबद्धता  र आउने दिनमा नयाँ कार्यक्रम र वार्षिक क्यालेन्डर सहित पोखरा विश्वविद्यालयमा क्रिकेट लाई उजागर गर्ने जानकारी "पोखरा विश्वविद्यालय क्रिकेट क्लबका निर्वाचित अध्यक्ष  अभिषेक यादव ले भने।

    पोखरा:   गण्डकी प्रदेशले आगामी साउन ६ देखि ८ गतेसम्म आयोजना गर्ने ‘वृत्ति परामर्श तथा रोजगार मेला’को तयारी पुरा भएको छ ।    शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशले आयोजना गर्न लागेको रोजगार मेलाको सम्पूर्ण तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको हो ।    ‘समृद्ध गण्डकीको आधार उद्यमशीलता र रोजगार’ भन्ने मूल नाराका साथ प्रर्दशनी केन्द्र नयाँबजारमा ३ दिनसम्म सञ्चालन हुने मेलामा १० हजार बढीले अवलोकन गर्ने मन्त्रालयले जनाएको छ ।    पत्रकार सम्मेलनमा बोल्दै शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले मेलामा प्रदेशस्तरीय ठूला उद्योगी, व्यवसायी एवं रोजगारदाताहरु, घरेलु तथा साना उद्योगीहरु, पेशा एवम् व्यवसायसँग सम्बन्धित संस्थाका प्रमुख, प्रतिनिधिहरु बैङ्क तथा वित्तिय संस्थाहरुले रोजगारका अवसरका बारेमा जानकारी एवम् रोजगारीका लागि सहजीकरण गर्ने बताए ।    उनका अनुसार मेलामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रदायक शैक्षिक संस्थाहरु, प्राविधिक धार सञ्चालित विद्यालयहरु, ईन्स्योर परियोजनाको सहयोगी संस्था अन्तरङ्ग र अन्य संघ संस्थामा आवद्ध विज्ञहरुबाट वृृत्ति विकासका बारेमा अवलोकनकर्ताहरुलाई परामर्श सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।    जागिर खोज्ने र कर्मचारी रोज्ने एप सार्वजनिक   सामाजिक विकास मन्त्रालयले ‘तालिम तथा रोजगार व्यवस्थापन सुचना प्रणाली’ (टिइएमआइएस्) नामक एप्लिकेसन सार्वजनिक गरेको छ ।    उक्त एपमा ४ वटा विद्याका व्यक्तिहरुले आफ्नो बायोडाटा भर्नसक्ने मन्त्री श्रेष्ठले बताए । उनका अनुसार सो एपमा सीपमुलक तालिम लिन चाहने, रोजगारीको खोजीमा, रोजगारदाता र सीप परिक्षण गर्न चाहनेहरुको लागि छुट्टाछुट्टै अनलाइन फर्मको व्यवस्था गरिएको छ ।    उनले उक्त एफ जागिर खोज्ने र रोजगारदाताले दक्ष कर्मचारी रोज्ने दरिलो माध्यम हुने विश्वास व्यक्त गरे ।   विद्यार्थीहरु अन्यौलमा छन्: मन्त्री श्रेष्ठ   गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले अहिले विद्यार्थीहरु एसईई र कक्षा १२ पछि कुन विषय अध्ययन गर्ने भनेर अनविज्ञ भएको बताए ।    ‘विद्यार्थीहरु एसईई र कक्षाको परिक्षा पछि कुनकुन विषय अध्ययन पछि आफुले रोजेको विषयमा दक्ष हुन सकिन्छ भनेर निर्णय लिन नसकेको अवस्थालाई मध्यनजर गर्दै रोजगारको मेलाको आयोजना गरेको हो ।’ उनले भने ।    मन्त्री श्रेष्ठका अनुसार मेला अवधिभर सहभागीहरुले रोजगारीका सम्भावित क्षेत्रहरुका बारेमा जानकारी हासिल गर्नेछन् । ‘प्रविधिक शिक्षा र व्यवसायिक सीप हाँसिल गर्न चाहने विद्यार्थी र तिनका अभिभावकका लागि प्रदेशमा प्राविधिक शिक्षा अध्ययन गर्न सकिने र अध्ययनका लागि अवलम्बन गर्नुपर्ने प्रक्रियाका सम्वन्धमा जानकारी र स्थानीय जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी उपलब्ध गराउन सहजीकरण गर्नेछौं ।’ मन्त्री श्रेष्ठले भने ।   सो मेलालाई स्वीस सरकारको द्वीपक्षिय सहयोग, नेपाल व्यवसायिक योग्यता परियोजनाको प्राविधिक सहयोग, गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान (जिटिइभिटीए), प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेश, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेश, रोजगारदाताहरु र राइट फर चिल्ड्रेनको समन्वयमा कार्यक्रम आयोजना हुनेछ ।   

पोखरा:     राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०७९’ बाट पत्रकार मनोज घर्तीमगर पुरस्कृत हुने भएका छन् ।   नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणको पक्षमा र पत्रकारितामार्फत उजागर गरेको भन्दै पत्रकार घर्तीमगर पुरस्कृत हुने भएका हुन् ।   पत्रकार घर्तीमगरलाई पुरस्कार छनोट समितिका संयोजक नेपाल  मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष मान बहादुर घर्ती (एमबि आस्था) मगरको संयोजकत्वमा मंगलबार बसेको बैठकले पत्रकार मनोज घर्ती मगरलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको सचिव उमा आले मगरले जानकारी दिइन् ।   उनका अनुसार सो पुरस्कार अर्पण आगामी साउन १५ गते पोखराको होटल पौवामा आयोजना हुने कार्यक्रममा प्रदान गरिने छ । सो अवसरमा पत्रकार घर्ती मगरलाई नगद रु १० हजार र ताम्रपत्रद्वारा पुरस्कृत गरिने आलेमगरले जानकारी दिइन् । पुरस्कृत हुने घर्तीमगर अधिवक्ता समेत हुन् ।   यसअघि उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणमा कलम चलाउँदै आएका पत्रकारहरु कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की) , प्रताप राना मगर (तनहु) र मान बहादुर घर्ती (एमबी आस्था) मगर (कास्की) पुरस्कृत भईसकेका छन् ।    

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली सुनको बाला देखाएर ठगी गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ ।   पोखरा महानगरपालिका ८ न्यूरोडस्थित होटलमा नक्कली सुनको बाला देखाई ठगी गर्न खोज्ने चितवनको माडी नगरपालिका ८ घरभई हाल पोखरा ४ रामकृष्ण टोल बस्ने ३५ वर्षीय धर्मेन्द्र खाती र स्याङ्गजाको अर्जुन चौपारी   गाउँपालिका ४ रापाकोट घरभई हाल पोखरा १६ घार्मीखोला बस्ने ४० वर्षीय डिलबहादुर विकलाई कास्की प्रहरीको टोलीले पक्राउ गरेको हो ।   उनीहरुको साथबाट २ थान नक्कली सुनको बाला र २ थान मोबाइल सेट बरामत गरिएको बताइएको छ ।  पक्राउ परेका द्वयलाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थपगरि आवश्यक अनुसन्धान अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा:  आन्तरिक राजस्व विभागले १० करोड भन्दाबढि कारोबार गर्ने व्यवसायीहरुलाई (डिजिटल तथा अनलाईन बिलिङ) इ–बीजक जारी गर्न निर्देशन गरेको छ ।    मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १ (क) को उपदफा  (२) तथा आयकर ऐन, २०५८ को दफा ८१ को उपदफा (४) बमोजिम आर्थिक वर्षको साउन १ गतेदेखि लागु हुनेगरि १० करोड भन्दा बढि कारोबार गर्ने सबै व्यवसायीलाई इ–बीजक अनिवार्य जारी गर्न निर्देशन दिएको हो ।   आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत रमेश शर्माले सबै व्यवसायीहरुलाई इ–बीजकको लागि अनुमति लिनुपर्ने बताउदै डिजिटल बिलिङ जारी अनिवार्य रहेको बताए ।    उनका अनुसार जुनसुकै कम्पनीले १० करोड वा सो भन्दा बढिको खरिद वा विक्री गरेका व्यवसायी घरानाले इ–बीजक जारी गर्नुपर्नेछ । ‘होटल, रेष्टुरेण्ट, ईन्टरनेट सर्भिस प्रोभाइडरलाई ५ करोड र अरु १० करोड भन्दा बढि कारोबार हुने व्यवसायीलाई कम्प्युटर बिलिङ अनिवार्य गरेको हो, उनले भने, ‘गत वर्ष ३५ करोड थियो ।’   उनले कास्कीका सबै पेट्रोलपम्पहरुले कम्प्युटर बिलिङ थालिसकेको बताए । ‘कास्की जिल्लाका सबै पेट्रोल पम्पहरुमा कम्प्युटर बिलिङ भइसक्यो, उनले भने, ‘एउटा बाँकी थियो । त्यसले आज अनुमति लग्यो । १० करोड भन्दा बढि कारोबार गर्ने सबै परे त्यसमा यो उ भन्ने भएन ।’   शर्माले राजस्व चुहावट रोक्नका लागि सरकारले सबै व्यवसायीलाई कम्प्युटर बिलिङ अनिवार्य गर्न निर्देशन दिएको बताए । ‘पहिला ३५ करोड थियो । अहिले १० करोडमा आयो । अर्काे वर्ष १÷२ करोडमा आउँन सक्छ, उनले भने, ‘सरकारले सबै व्यवसायीलाई कम्प्युटर बिलिङमा अनिवार्य गर्न खोजेको हो । यसो गर्दा राजस्व चुहावट रोकिन सक्छ ।’   उनले सबै व्यवसायीहरुले निवट भविष्यमा अनिवार्य इ–बीजक जारी गर्नैपर्ने बताए । ‘जहाँ कम्प्युटर बिलिङ छ त्यहाँ राजस्व चुहावट कम हुन्छ । त्यसैले यो गर्नैपर्याे । १० करोड पुगेर पनि त्यो गरेन भने कारवाही स्वरुप ५ लाखसम्म जरिवाना हुन्छ ।’ प्रमुख कर अधिकृत शर्माले भने ।  संभावित जोखिम न्यूनिकरण गर्न सुनचाँदी व्यवसायीलाई नियमन गरिएको होः शर्मा   संभावित जोखम न्यूनिकरण गर्ने उद्देश्यसहित सम्पत्ति शुद्धिकरण निवारण ऐनले सुनचाँदी व्यवसायीलाई पनि नियमन गरेको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत रमेश शर्माले बताए । 'कुनै संकास्पद मान्छे आएर धेरै मात्रामा सुन किन्न खोज्यो भने पैसाको स्रोत के हो, र सो बारे रेकर्ड राखोस र राष्ट्रबैंकलाई जानकारी दियोस भनेर सम्पत्ति शुद्धिकरण निवारण ऐनमा समाहित गरेको हो ।’ शर्माले भने ।

  पोखरा:   आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला गंगा–ज्योति स्मृति पुरस्कारबाट सम्मानित भएका छन् । अद्वैत संस्थाका कुलपति प्रताप चक्रवर्तीले काठमाडौंमा आयोजित विशेष समारोह बीच बास्तोलाई उक्त पुरस्कार प्रदान गरेका थिए ।   गुरुआमा पूर्णलक्ष्मी चक्रवर्तीको ११६ औं जन्मजयन्ती तथा अद्वैत संस्थाद्वारा संचालित २०७८÷०७९ को दशमासीय राष्ट्रव्यापी महासत्संग समापनका अवसरमा आयोजित समारोहमा बास्तोलालाई पुरस्कृत गरिएको हो । अद्वैत संस्था नेपालका केन्द्रीय सभापति अनन्तलाल सरस्वतीबाट आफ्ना पिता ज्योतिलाल र आमा गंगादेवी चुकेको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।    सोही समारोहमा भरतचन्द्र चक्रवर्तीको पुण्य स्मृतिमा स्थापित पुरस्कारबाट लालबन्दी सर्लाहीका उपसन्न शिष्य राम भण्डारीलाई पनि पुरस्कृत गरिएको थियो । अद्वैत महाविद्यालयको २०७९ सालको वार्षिक परीक्षामा सर्वाधिक अंक प्राप्त गरेवापत उनलाई सो पुरस्कार प्रदान गरिएको हो ।    उक्त कार्यक्रममा प्रमुख आमन्त्रित कुलपति प्रताप चक्रवर्तीले नेपाली वेदको जनक विशेषांक, आनन्द तत्व मिमांस र भक्तिवृत्ति प्रवाह तथा व्रह्मज्ञानको विमोचन गरेका थिए । अद्व्रैत संस्था नेपालका केन्द्रिय सभापति वसन्तलाल महासरस्वतीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका केन्द्रिय सहसभापति विष्णुदास उपाध्याय ढकालले उपस्थिति सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा गुरुआमा अपर्णा चक्रवर्तीको पनि संवोधन रहेको थियो । कार्यक्रमको संचालन संस्थाका केन्द्रिय कार्यवहाक सचिव लक्ष्यजीवी घिमिरेले गरेका थिए ।

  पोखरा:    पोखरा – ८  रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरका सोमबारदेखि श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम शुरु भएको छ ।   कार्यक्रम भदौ ३ गतेसम्म चल्नेछ । भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव पनि गरिने छ । कार्यक्रममा गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले सङ्गीतमय कथा प्रवचन गर्नुहुने छ ।   कार्यक्रम हरेक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ । दैनिक करिब तीन सय सुन्दरसाथजी भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ ।   मन्दिर स्थापनाकाल २०४८ सालदेखि नै वर्षेनी कार्यक्रम गर्ने गरिएको छ । यसपटक समेत गरी ३१ औ पटक कार्यक्रम गरिएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि सात लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ ।    भक्तजनबाट प्राप्त दान, भेटीबाट कार्यक्रमको खर्च व्यवस्थापन गरिनेछ । बचत भएको रकम मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि खर्च गर्ने योजना रहेको मन्दिरका अध्यक्ष पुरुषोत्तम रेग्मीले जानकारी दिनुभयो । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापाले कार्यक्रम उद्घाटन गर्नुभयो ।   उहाँले धार्मिक गतिविधिले मानिसलाई नैतिकवान बनाउने र गलत काम गर्न बाट रोक्ने बताउनुभयो । धर्मले सहयोगी भावना तथा आपसी माया र सद्भाव बढाउने उहाँको भनाइ थियो । मन्त्री थापाले मन्दिरलाई धार्मिकस्थलका रुपमा विकास गर्न सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।   गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले परमात्माको पहिचान नभएसम्म आत्माको उद्वार हुन नसक्ने भन्दै हरेक मानिसले आत्मा र परमात्मा बुझ्न आवश्यक रहेको बताउनुभयो ।   पोखरा महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष राम मोहन आचार्यले विकासका लागि सबैको सहकार्य आवश्यक भएको बताउनुभयो । त्यस अवसरमा मन्दिरका संस्थापक शिव बहादुर कार्की, कार्यक्रम संयोजक सीता ओझालगायतले बोल्नुभएको थियो ।   मन्दिरका अध्यक्ष पुरुषोत्तम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मोहन प्रसाद ढकालले स्वागत र सचिव देवी प्रसाद खतिवडाले कार्यक्रम संचालन गर्नुभएको थियो ।