गण्डकी: “कहीँ हिमाल मात्रै छन् कहीँ ता ताल मात्र छन् । कहीँ पहाड मात्रै छन् कहीँ मैदान मात्र छन् ।। कहीँ छन् छहरा मात्रै पहरा कहीँ केवल नदी मात्रै कहीँ बग्छन् कहीँ छन् खाली जंगल ।। सम्पूर्ण दिव्य शोभाले पूर्ण छैनन् कहीँ धरा तर सम्पूर्ण शोभाले परिपूर्णछ पोखरा ।।” कवि मुकुन्दशरण उपाध्यायको वर्णनात्मक काव्य प्राकृत पोखराको ‘पोखरा’ शीर्षकको कवितामा भनेजस्तै पोखरा आफैँमा सबै किसिमले पूर्ण सहर हो । गण्डकी प्रदेशको राजधानीसमेत रहेको प्राकृतिक सौन्दर्यताको खानी पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नका लागि गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाले सङ्घीय सरकारसँग माग गरिसकेका छन् । स्वदेशमा मात्र नभई विदेशमा पनि चासो र चर्चा कमाएको पोखराको प्रमुख आकर्षण भनेको पर्यटन नै हो । पर्यटन यहाँको प्रमुख व्यवसायका रुपमा स्थापित बनिसकेको छ । पर्यटनलाई लक्षित गरी पोखरामा ठूलो लगानी भइसकेको छ । कोरोना कहरका कारण शिथिल अवस्थामा पुगेको पर्यटनको विकल्प केवल पर्यटन नै हो भन्ने आत्मविश्वासका कारण ठूलै मारमा परेका यहाँका व्यवसायी आशा र विश्वासका साथ पर्यटनमा निरन्तर लागेका छन् । यसअघि सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्दा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ भौतिक पूर्वाधारमा लगानी गर्न गरेको आग्रहलाई दृष्टिगत गरेर तत्कालीन समयमा उत्साहित बनेका यहाँका पर्यटन व्यवसायीले कोरोना पूर्वको बीचको समयमा पनि ठूलै लगानी गरे । गण्डकी प्रदेश सरकारको गण्डकी प्रदेश भ्रमण वर्ष जस्ता कार्यक्रमले पनि लगानी बढ्दै गएका अवस्थामा दुई वर्षयता देखिएको कोरोना कहरले भने यहाँका पर्यटन व्यवसायी नराम्रोसँग मारमा परेका छन् । कोरोनाले कतिपयलाई व्यवसाय नै परिवर्तन गर्नेतर्फ पनि सोच्न बाध्य बनायो । अधिकांशले कोरोनाविरुद्धको खोप लगाइसकेका अवस्थाका साथै पछिल्लो समयमा देखिएको पर्यटकको आगमनले पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने अपेक्षा गरिएको होटल एसियाका सञ्चालक धर्मराज पन्थीले बताउनुभयो । “आगामी दिनमा पर्यटन व्यवसाय पुनःफस्टाउने कुरामा हामी आशावादी छौँ”, उहाँले भन्नुभयो, “यसबीचमा छिमेकी मुलुक भारत र देशकै विभिन्न स्थानबाट आएका पर्यटकका कारण यहाँको सम्भावना अझै छ भन्ने आत्मविश्वास जगाएको छ ।” पोखरा दृश्यावलोकनसँगै साहसिक पर्यटनको पनि गन्तव्य हो । यहाँ सञ्चालन हुने प्याराग्लाइडिङ, बञ्जीजम्प, जीपलाइन आदिले स्वदेशी एवं विदेशी पर्यटकलाई लोभ्याउने गरेको छ । पोखराको आकाशमा फेवातालमाथि हावामा कावा खाँदै भरपुर मनोरञ्जन लिइने प्याराग्लाइडिङ होस् या यहाँ वरपर सञ्चालन भएका बञ्जीजम्प, जीपलाइन, स्वीङ आदिले पर्यटकलाई निकै आकर्षित गरेको छ । पछिल्लो समयमा विदेशी पर्यटक मात्र नभई आन्तरिक पर्यटक पनि साहसिक पर्यटनका गतिविधिमा आकर्षित बन्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो । पछिल्लो समयमा वर्षात् सुरु हुनुअघि प्याराग्लाइडिङमा देखिएको आकर्षणले आफूहरू उत्साहित बनेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिका–१८ स्थित सराङकोटको डाँडाबाट उडान भरेर फेवाताल किनारमा अवतरण गरिने प्याराग्लाइडिङमा युवादेखि वयस्कसम्मको रुचि रहने गरेको छ । पछिल्ला वर्षमा प्याराग्लाइडिङ मनोरञ्जनको साधनसँगै खेलकूद विधाका रुपमा स्थापित भएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङलाई समावेश गर्ने गरिएको छ । पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा रहेका छन् भने ३५० हाराहारीमा नेपाली पाइलट छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनका लागि सराङकोटबाट गर्दै आइएको प्याराग्लाइडिङ सार्नुपर्ने कुराले भने आफूहरू चिन्तित बनेको उहाँले बताउनुभयो । पोखरामा साहसिक पर्यटनको आकर्षणका रुपमा रहेको प्याराग्लाइडिङबारे राम्रोसँग सोच्नु जरुरी रहेको उहाँको भनाइ छ । पोखरामा पर्यटक लक्षित होटल तथा पूर्वाधारसँगै सुविधा सम्पन्न सवारी साधन पनि रहेका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटकलाई आवतजावत गराउने सुविधा सम्पन्न सवारीसाधन थपिनेक्रम पनि त्यहीअनुरुप बढेको नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष बोबरजङ्ग गुरुङले बताउनुभयो । उहाँका अनुसार पोखराबाट हरियो नम्बर प्लेटमा चल्ने पर्यटक यातायातका सवारीसाधन रु ३५ लाखका कारदेखि सुविधा सम्पन्न रु डेढ दुई करोडसम्मका ल्यान्डक्रुजर, कोस्टर आदि छन् । स्वदेशी या विदेशी पर्यटक पोखरा र आसपासका पर्यटकीय गन्तव्य पुग्न सुविधासम्पन्न सवारीसाधन प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । नेपाल पर्यटन यातायात व्यवसायी सङ्घसँग हाल विभिन्न क्षमताका ४०० पर्यटक सवारीसाधन आबद्ध छन् । कोरोना कहरले लामो समयसम्म थन्कनु परेका पर्यटक यातायातका साधनले पछिल्ला समयमा भने काम पाउन थालेका छन् । गत चैतयता झण्डै साढे दुई महिनासम्म पोखरामा भारतीय पर्यटकको राम्रो आगमन भएको होटल एलेगेन्ट, गौरीघाट लेकसाइडका सञ्चालकसमेत रहेका गुरुङले बताउनुभयो । “भारतीय पर्यटकको आगमनले पोखराको पर्यटनमा सकारात्मक सङ्केत दिएको छ”, गुरुङले भन्नुभयो, “आगामी सेप्टेम्बरपछि पोखरामा विदेशी पर्यटकको राम्रो आगमन हुने आशा एवं विश्वास जगाएको छ ।” पोखरामा नेपाली नयाँ वर्षका अवसरमा पनि आन्तरिक पर्यटकको राम्रै चहलपहल देखिएको थियो । पोखरामा पर्यटकको आकर्षणलाई कायमै राख्ने गरी यहाँका पर्यटन सम्बद्ध संस्थाले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएका छन् । सबै मौसममा पोखरा भन्ने नारालाई चरितार्थ पार्न पोखरा पर्यटन परिषद्ले बर्सेनि असार १५ गते गर्दै आएको असारे रोपाइँ महोत्सव हालै सम्पन्न भएको छ । पोखराको हेम्जामा आयोजित महोत्सवमा स्वदेशी एवं विदेशी पर्यटकको उल्लेख्य उपस्थिति थियो । एक साता घिसम्म छिमेकी मुलुक भारतबाट राम्रै सङ्ख्यामा पर्यटक भित्रिएको पश्चिमाञ्चल होटेल सङ्घ (हान) पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । कोरोनाका कारण लामो समयसम्म सुनसान बनेका यहाँका होटलमा भारतीय पर्यटकको आगमनले क्षमताको झण्डै ५० प्रतिशत होटल भरिभराउ भएको उहाँले जानकारी दिनुभयो । सुवेदीका अनुसार पोखरामा होटलमा मात्रै करिब रु पौने चार खर्ब बराबरको लगानी भैसकेको छ । पोखरामा पर्यटकस्तरीय होटलको सङ्ख्या एक हजार २०० को सङ्ख्यामा रहेको बताउँदै सुवेदीले लेकसाइड र ड्यामसाइड क्षेत्रमा मात्रै ७०० को सङ्ख्यामा होटल रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पोखरामा पाँचतारे दुई वटा होटलसहित अन्य तारे होटलको सङ्ख्या १८ वटा रहेका छन् । पर्यटन व्यवसायीका अनुसार यसपटक नेपालको सीमा नजिकैको क्षेत्र उत्तर प्रदेश, विहारलगायतका क्षेत्रबाट ठूलै सङ्ख्यामा पर्यटक पोखरा आएका छन् । पोखरा आएका भारतीय पर्यटक यहाँको दृश्यावलोकनसँगै कतिपय मुक्तिनाथसम्म पुगेर फर्कने गरेको व्यवसायीले बताए । सन् १९६० देखि हिप्पी पर्यटकको आगमनबाट सुरु भएको पोखराको पर्यटनमा पछिल्ला वर्षमा पूर्वाधार थपिनेक्रम बढरहेको यहाँका व्यवसायी बताउँछन् । पूर्वाधार विकासकै क्रममा पछिल्ला समयमा पुम्दीकोटमा बनेको विशाल महादेव मूर्तिसहितका संरचना आदिले यहाँका गन्तव्यस्थलमा समेत वृद्धि भएको छ । पछिल्ला समयमा पोखराको सेदी–राङकोट केबुलकारसहित विभिन्न पूर्वाधारमा ठूलै लगानी भएको छ । हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोली आरोहणमा जाँदा र आउँदा त्यस टोलीका सदस्यको पोखरामा बास भएसँगै यो क्रमशः पर्यटकीय गन्तव्यका रूपमा स्थापित बनेको हो । इतिहासअनुसार सन् १९६६ मा विश्व पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरमा पदयात्रा गर्दा पनि उनीहरूले आउँदाजाँदा बस्ने ठाउँ पोखरा नै रोजेको र हिप्पी पर्यटकको आगमनपछि थालिएको पोखराको पर्यटकीय पूर्वाधार विकास सन् १९८० को दशकदेखि विस्तारै फस्टाउन थालेको हो । पोखराको पर्यटनमा यसअघि भूकम्प, नाकाबन्दी, हुदहुद (एक खालको हिमआँधी), अन्नपूर्ण क्षेत्रका हिमपहिरोजस्ता विभिन्न चुनौतीको सामना गर्नुपरेका अवस्थामा पछिल्लो समयमा कोरोना भाइरसले नराम्रोसँग प्रभाव पारेको नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बाबुराम पाण्डेले बताउनुभयो । कोरोनाले थलिएको पोखराको पर्यटन गत चुनावका आसपासको समय निकै राम्रो देखिएको बताउँदै होटल एडमायर पोखरा, गैरीखेतमार्गका सञ्चालकसमेत रहेका पाण्डेले आगामी सेप्टम्बरपछि पोखराको पर्यटन पूर्ववत् अवस्थामा फर्कने अपेक्षा गरिएको बताउनुभयो । पोखरा आउने पर्यटकले फेवातालमा डुबुल्की मारेजस्तै देखिने माछापुच्छ«े हिमालसहितको दृश्य अवलोकनसँगै आसपासका लेखनाथ क्षेत्रका बेगनास, रुपालगायतका तालतलैयाको अवलोकन गर्ने गरेका छन् । त्यस्तै सराङ्कोटबाट सूर्योदयको अवलोकनसँगै प्याराग्लाइडिङ, जिपलाइन आदि गर्ने गर्दछन् । पोखराका प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल विन्दुवासिनी, तालबाराही, भद्रकाली आदिको दर्शनसँगै हालै पुम्दीकोटमा बनेको विशाल महादेव मूर्ति, विश्व शान्ति स्तुपसँगै काहुँ धरहरा आदिको अवलोकन गर्दछन् । पोखराका पातले छाँगो, गुप्तेश्वर महादेव गुफा, महेन्द्र गुफा, चमेरे गुफा आदि यहाँका पर्यटकीय आकर्षण रहेका हुन् । माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमश्रृङ्खलाको दृश्यावलोकनसँगै साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकको रोजाइमा पोखरापर्ने गरेको छ । नयाँ वर्ष, चाडपर्व तथा लामो समयका बिदाका समयमा देशका विभिन्न भागबाट आन्तरिक पर्यटक दुई÷चार दिन पोखरा बिताउन आउनेक्रम पछिल्ला वर्षमा बढेको पाइन्छ । पोखरालाई मुख्य आधार बनाएर गरिने अन्नपूर्ण चक्रीय पदमार्ग, मर्दी हिमाल, पुनहिल आदि स्थानमा पदयात्रामा जाने पर्यटकले आउँदाजाँदा यहाँ केही दिन बिताउने भएका कारण पनि पोखरा पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
कास्की: बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । संघीय राजधानी काठमाडौँको मेलम्ची खानेपानी आयोजना पछिको सो आयोजनाका ठूलो मानिन्छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को रु पाँच अर्ब अनुदान सहयोगमा सो आयोजना विसं २०७६ देखि पोखरामा सुरु भएको थियो । पोखरेलीले सिधै धाराबाट थापेर पिउन मिल्ने गरी पानी सफा बनाउने लक्ष्य राखिएको आयोजनाको हाल ८५ प्रतिशत काम सकिएको छ । आयोजना सम्पन्न हुने चरणमा पुग्नै लाग्दा अप्रशोधित धमिलोपानी पिउनुपर्ने बाध्यतासमेत अन्त्य हुँदैछ । पोखरेलीको खानेपानीको प्रमुख स्रोत मर्दीखोलाबाट ल्याइएको पानी हाल प्रशोधन नगरिकन धारामा पठाउने गरिएकामा आयोजनाको लक्ष्य मुहानबाटै शुद्धीकरण गरेर सिधै धाराबाट पिउनेयोग्य बनाउने रहेको छ । गण्डकी प्रदेशको राजधानी सहर पोखराका आधाभन्दा बढी जनसङ्ख्या यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । आयोजनाको पाइप लाइन विस्तार र एउटा ‘रिजर्भवायर ट्याङ्की’ र मुहानमा केही काममात्र बाँकी रहेको बताइन्छ । जाइकाको अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा खानेपानी संस्थानले आयोजना कार्यान्वयन गरिरहेको आयोजना निर्माणको काम जापानको हाज्मा एण्ड कर्पोरेशनले गरिरहेको छ । प्राविधिक समस्या समाधान भएको अवस्थामा आगामी छ महिनाभित्रमा आयोजना सम्पन्न भइसक्ने पोखरा खानेपानी सुधार आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर सन्तोषकुमार दासले काम अन्तिम चरणमा पुगेको र बजारका केही स्थानमा पाइप लाइन विस्तारमा समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पाइप लाइन विस्तारका क्रममा केही ठाउँमा नयाँ पिच र अस्फाल्ट कालोपत्रे सडक खन्नुपर्ने हुन्छ, महानगर र सडक कार्यालयबाट सडक खन्ने अनुमति नपाउँदा ढिलाइ भएको छ । कोलपाटनमा एयरपोर्ट नजिकको रिजर्भवायर ट्याङ्कीको कामसमेत अहिले अघि बढ्न सकेको छैन ।” आयोजनाको हालसम्म मर्दी मुहानमा ‘ग्रिड च्याम्बर’, ‘सेडिमेन्टेशन ट्याङ्की’ र ‘स्लो स्याण्ड फिल्टर’को ९५ प्रतिशत काम सकिएको छ । पोखराभित्रका तीनवटा ठूला रिजर्भवायर ट्याङ्कीमध्ये फूलबारी र मालेपाटनको सकिएको छ । इन्जिनियर दासका अनुसार ‘रिजर्भवायर ट्याङ्की’को कोलपाटनको काम प्राविधिक समस्याका कारण रोकिएको हो । अन्तर्राष्ट्रिय विमानस्थलसँगैको सो ट्याङ्कीको उचाइका कारण एयरपोर्ट सञ्चालनमा प्राविधिक समस्या आउन सक्ने अनुमान कारण रोकिएको हो । यसलाई अन्यत्र स्थानान्तरण गर्ने भन्ने बारेमा जाइका र नेपाल सरकारले निर्णय गरिसकेका छैनन् । यसैगरी बजार क्षेत्रमा १०० किमी पाइप लाइन विस्तारको काममध्ये अब १५÷१६ किमी मात्र बाँकी छ । उहाँले भन्नुभयो, “केही प्राविधिक समस्याले रोकिएको बाहेक आयोजनाका अन्य काम अन्तिम चरणमा छन् । आयोजना सम्पन्न भएपछि वितरण प्रणालीमा सुधार हुनेछ र शुद्ध पानी उपभोक्ताकामा पुग्नेछ, प्राविधिक समस्या समाधानलगत्तै आयोजना सम्पन्न हुन पाँच÷छ महिना समय लाग्छ ।” आयोजना सम्पन्न भएपछि आयोजनाले समेटेको क्षेत्रमा राष्ट्रिय खानेपानी गुणस्तर अनुसारको प्रशोधित पानी उपलब्ध हुने खानेपानी संस्थानले जनाएको छ । पोखरा महानगरका चार लाख पाँच हजार ८८९ जनसङ्ख्या आयोजनाबाट लाभान्वित हुने अनुमान गरिएको छ । हाल साविक पोखरा उपमहानगरपालिकाका १७ वडा र मुख्य पोखराको क्षेत्रमा मर्दी खोलाबाट ल्याइएको पानी वितरण हुँदै आएको छ । मर्दी मुहानबाट २० र १६ इञ्चका पाइपमार्फत पोखरामा पानी वितरण हुन्छ । पोखराको ८० प्रतिशत उपभोक्ताकामा मर्दीको पानी वितरण हुन्छ । सन् २०१७ को फेब्रुअरी १५ तारिखमा सरकार र जाइकाबीच खानेपानी सुधार आयोजनासम्बन्धी सम्झौता भएको थियो । सम्झौतापछि विसं २०७६ जेठमा आयोजनाको शिलान्यास गरेर तीन वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित काम अघि बढेको थियो । यसरी सफा बनाइने छ पानी खानेपानी सुधार आयोजनाअन्तर्गत मर्दीखोलाको पानी यसको मुहान र पोखरा–१९ पुुरुनचौरको ट्रिटमेन्ट प्लान्टमा आवश्यक प्रक्रियामा अपनाएर प्रशोधन गरिनेछ । प्रशोधित पानी त्यहाँबाट पोखरा–२ मिरुवामा रहेको संस्थानको ट्याङ्कीमा जडान गरिनेछ । पानी सफा बनाउन मुहान नजिक ‘ग्रीट च्याम्बर’ र दैनिक चार करोड २० लाख लिटर प्रशोधन क्षमताको ‘सेडिमेन्टेशन ट्याङ्की’ (ढुङ्गा, बालुवा हटाउने पोखरी) निर्माणको काम सकिनै लागेको छ । मुहानको सेडिमेन्टेशन पोखरीबाट प्रशोधित पानी दुई किमी टाढाको पुरुनचौरमा निर्माणाधीन ‘स्लोस स्याण्ड फिल्टर’मा लगिनेछ । त्यहाँ पानी थप प्रशोधनका लागि चार वटा पानी थिग्ग्राउने ट्याङ्की तथा छवटा पानी छान्ने फिल्टर, दुई वटा सफा पानी सङ्कलन गर्ने ट्याङ्की (स्लोस स्याण्ड फिल्टर) र क्लोरिनेसन प्लान्ट निर्माण गरिएको छ । सफा पानी वितरणका लागि आयोजनाले फूलबारी, कोलपाटन र प्रस्याङमा २० लाख लिटर क्षमताका रिजर्भवायर ट्याङकी निर्माण गरेको हो । खानेपानी संस्थानका अनुसार पोखरामा संस्थानका ४७ हजार ग्राहक छन् । तीमध्ये मर्दीखोलाको पानी प्रयोग गर्ने ३५ हजार छन् । यसैगरी कालीखोला र भोटीखोलाका पाँच÷पाँच हजार ग्राहक छन् । दुई हजार घरमा बोरिङको पानी पु¥याइएको छ । मुहान संरक्षणमा अझै उदासीनता पोखरामा ल्याइने पानी शुद्धीकरण गर्ने योजना कार्यान्वयन भइरहँदा मुहानको संरक्षणमा भने अझै उदासीनता देखिन्छ । अहिले पनि मुहानभन्दा माथि खोलाबाटै सवारी साधनको वारपार, भैँसी आहाल बस्ने तथा फोहोरमैला विर्सजन हुँदै आएको छ । हिउँदमा नदीजन्य पदार्थको उत्खननका कारण मुहान प्रदूषित हुने गरेको छ । पोखरामा आपूर्ति भएको पानी सफा राखिराख्नका लागि अहिलेको स्थानबाट पाँच किमीमाथि मुहान सार्नुपर्ने आवाज उपभोक्ताको छ । हालको खानेपानीको मुहानलाई माथि स्थानान्तरण गर्दा पानी सफा बनाउन थप सहयोग पुग्ने बताइन्छ । विगतमा अहिलेको मुहानभन्दा माथि थोरै मात्र बस्ती थियो । पछिल्लो समय तीव्र सहरीकरणका कारण मानव बसोबास बढेसँगै मुहान दूषित हुने समस्या पनि बढ्दै छ । पोखरा उद्योग वाणिज्य सङ्घको अग्रसरतामा केही वर्ष अघि मुहान सफा राख्नका लागि विभिन्न छ स्थानमा शवदहनगृह निर्माण गरिए पनि ती स्थलको अहिले पनि सबै ठाउँमा प्रयोग गरिएको छ । शवदहनस्थल निर्माणमा नेतृत्व गर्नुभएका उद्योगी यदुनाथ अधिकारी खानेपानीको हालको मुहान त्यसभन्दा माथि नर्सादासम्म पोखराको पानी शुद्ध हुन नसक्ने बताउनुहुन्छ । हाल कम मात्र मानव बसोबास भएको स्थानबाट पानी ल्याउँदा मात्र सफा पानी उपभोक्ताले प्राप्त गर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हालको मुहान स्थानान्तरणका लागि हामीले पटक–पटक आवाज उठाएका छौँ तर सुनुवाइ भएको छैन । शुद्ध पानी पोखरामा आपूर्तिका लागि मुहाननै सार्नुको विकल्प छैन ।” खानेपानी संस्थानले भने प्राविधिक हिसाबले कठिनाइ नपर्ने भए पनि जलाधार क्षेत्र कम हुने भएकाले स्थानान्तरणको काम नभएको जनाएको छ । मुहानभन्दा केही माथिमात्र इदी खोला मर्दीमा मिसिन्छ । सोही कारण पानी आपूर्ति कम हुने भएकाले मुहान सार्न नसकिएको संस्थानले जनाएको छ । गाउँपालिकाले माग्यो वातावरणीय सेवाको भुक्तानी मर्दी खोला माछापुच्छे गाउँपालिकाका छ वडा हुँदै बग्छ । मर्दीखोलाको पानी दुईवटा पाइप मार्फत खानेपानी संस्थानले पोखरामा वितरण गर्ने गरेको छ । मर्दीको पानी पोखराको विन्ध्यवासिनी मन्दिर नजिकको रिजर्भ वायरमा जम्मा गरेर उपभोक्तामा पठाइन्छ । गाउँपालिकाले आफ्नो प्रमुख प्राकृतिक सम्पदा मर्दीको उपभोग गरेबापत खानेपानी संस्थानसँग वातावरणीय सेवाको भुक्तानी सिद्धान्त अवलम्वन गर्न माग गरेको छ । संस्थानले मर्दीको पानीबाट बर्सेनि अर्बौं राजस्व सङ्कलन गरे पनि मर्दी क्षेत्रको विकासमा ध्यान नदिएको भन्दै आगामी वर्षको नीति कार्यक्रममा सो सिद्धान्त लागू हुुनुपर्ने माग गरेको हो । पानी प्रयोगबापत निश्चित प्रतिशत राजस्व गाउँपालिकाले पाउनुपर्ने माग स्थानीय सरकारको रहेको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पालिकाको प्रमुख प्राकृतिक स्रोतको उपभोग गरेबापत खानेपानी संस्थानले प्रभावित क्षेत्रका लागि सहयोग गरोस् भन्ने हाम्रो माग हो । वातावरणीय सेवाको भुक्तानीको सिद्धान्त विश्वका धेरै देशमा प्रचलित छ । संस्थानले आम्दानीको निश्चित प्रतिशत पालिकालाई दिनुपर्दछ ।” यसअघि पनि यस विषयमा आवाज उठेपनि यसपटक गाउँपालिकाले आफ्नो नीति कार्यक्रममै यस विषयलाई समेटेको छ ।
पोखरा: मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको अध्यक्षमा बसन्त बास्तोला चयन भएका छन् । पोखरा–१६ स्थित पधेंरीपार्क भिलेज राहुलडाँडामा सम्पन्न तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनबाट बास्तोलाको नेतृत्वको नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षहरुमा स्याङ्जाका सुर्दशन रेग्मी र मुस्ताङका भिम रसाइली छानिए । भने महासचिवमा कास्कीका मनोहर दाहाल निर्वाचित भए । यसैगरि सचिवमा म्याग्दीका भिम शर्मा र कोषाध्यक्षमा गोर्खाकी कोपीला श्रेष्ठ चुनिइन् । भने सह–कोषाध्यक्षमा सुर्य पौडेल चयन भए । समितिको सदस्यहरुमा घनश्याम गौतम, पुनम गुरुङ, गोविन्द सिग्देल, नविन श्रेष्ठ, सन्दिप खत्री, माधव तिवारी र गिता खनाल निर्वाचित भइन् । यसअघि कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका मुद्रण उधोग महासंघ नेपालका केन्द्रिय अध्यक्ष खुमाकान्त रेग्मीले गरे । सो अवसरमा बोल्दै मुद्रण व्यवसायीमो हक र हितको पक्षमा सदैब काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यसैगरि केन्द्रका वरिष्ठ उपाध्यक्ष विष्णु तिवारीले रोजीरोटी प्रदान गर्ने आफ्नो पहिलो समय आफ्नै व्यवसायिक संस्थामा छुट्टयाउन आग्रह गर्दै सरकारले कागजमा लगाएको भन्सारमा गम्भिर ध्यानाकर्षण भएको धारणा राखे । केन्द्रिय उपाध्यक्ष पदमलाल श्रेष्ठले व्यवसायीबीचको आपसी एकताले नै सबैको हित हुने कुरा उल्लेख गर्दै आगामी दिनमा समेत आपसी सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा उपमहासचिव अर्जुन भुषाल, केन्द्रिय सचिव जिवन गोर्खाली, चिन्तामणी बास्तोला कास्की जिल्ला अध्यक्ष किरणलाल श्रेष्ठ लगायतले बोलेका थिए । महेन्द्र बजिमयको सभापतित्वमा सम्पन्न कार्यक्रममा उत्कृष्ट संयोजकको रुपमा कार्यसम्पादन गरेको भन्दै मनोहर दाहाललाई सम्मान समेत गरिएको थियो ।
पोखरा: लामो समयको रस्साकस्सीपछि गण्डकी प्रदेशको बजेटबारे सोमबार (भोली) दिउँसो १ बजेदेखि दफावार छलफल हुने भएको छ । आज (आइतबार) बसेको गण्डकी प्रदेशको कार्यव्यवस्था समितिको बैठकमा सहमति भएपछि सोमबार प्रदेश सभामा बजेटउपर छलफल हुने भएको हो । गत १ गते गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामजी बरालले आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट प्रस्तुत गरेका थिए । बजेट भाषणपश्चात २ गते बजेटउपर छलफल गर्ने भनिएपनि १८ दिन बितिसक्दा समेत मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थमन्त्री रामजी बराल र प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको तालमेल नमिल्दा बजेटउपर दफावार छलफल हुन सकेको थिएन । अब भने सोमबार छलफल हुनेगरि आज बसेको कार्यव्यवस्था समितिले सममति जुटाएको छ ।
मुस्ताङ: उपल्लो मुस्ताङको लोवाथाङमा गल्फको सफल परिक्षण भएको छ । गण्डकी प्रदेश सभा सदस्य तथा गल्फर इन्द्रधारा विष्टले पहिलो ड्राइभ प्रहार गरेपछि औपचारिक रुपमा सुरुवात भएको हो । कोर्समा गल्फर भुबहादुुर गुरुङ, बलराम थापा, भक्तराज गुरुङ र राजु थकालीले गल्फको परिक्षणसँगै शुरुवात गरेको सांसद विष्टले बताए । सफल परिक्षणसँगै लोमान्थाङ गाउँपालिकाको लोवाथाङमा अवस्थित गल्फकोर्स नेपालकै सबैभन्दा उच्च स्थानको कोर्स रहेको सुनाए ‘यो समुन्द्री सतहदेखि ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको छ । यो गल्फ कोर्स त नेपालकै बेष्ट कोर्स हो, उनले भने, ‘हामी औपचारिक गेम नै खेल्यौं । गल्फरहरुले यसको प्रचुर सम्भावना छ भन्नुभाछ । नेपालको भएको हाई अल्टिच्युडको कोर्स भनेकै यति एउटै हो । यसको सफल परिक्षण भएको छ । त्यसैले मेरो एउटा सपना पुरा हुदैँछ ।’ सांसद विष्टका अनुसार पोखरामा १ चितवनमा १ धरानमा १, काठमाडौंमा ३ र अहिले थपिएको उपल्लो मुस्ताङको गरि कुन नेपालमा ७ वटा गल्फ कोर्स रहेका छन् । गण्डकी प्रदेश सांसद तथा गल्फर इन्द्रधारा विष्टले वर्षौ देखि त्यहाँ गल्फ कोर्स बनाउने योजना बनाउदै आएका थिए । उक्त कोर्स बनाउनका लागि विष्टले ८ लाख बढि लगानी गरिसेकेका छन् । भने लोमान्थाङ गाउँपालिकाले प्रतियोगिता सञ्चालन गर्न १० लाख बजेट विनियोजन गरेको छ । सांसद विष्टले मौसमको अनुकुलता अनुसार प्रतियोगिताको तयारी गर्ने बताए । ‘अब सम्भव भएसम्म छिटै गल्फ प्रतियोगिता आयोजना गर्ने सोच बनाएको छु, उनले भने, ‘बाह्रखरीले आयोजना गर्दै आएको राष्ट्रिय गल्फ च्याम्पियनसिपलाई यही कोर्समा गर्ने गरि कसरत गरिरहेको छु । यो कोर्स नेपालकै बेस्ट कोर्स बनाउने गरि लाग्नेछु ।’
पोखरा : पोखरा सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका छन् । पोखरा सुनचाँदी व्यवसायी संघको २३ औं साधारण सभा तथा ११ औं अधिवेशनबाट अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा मंगलराज शाक्य, सचिवमा प्रविण बुद्वाचार्य, कोषाध्यक्षमा राकेशमान बुद्वाचार्य र सहसचिवमा रविन्द्र बज्रचार्य चयन भए । त्यसैगरी सदस्यहरुमा इश्वरमान बुद्वाचार्य, महेश रत्न शाक्य, दिनेशमान बुद्वाचार्य र निकिन बज्रचार्य चयन भए । अधिवेशन तथा साधारण सभाको उद्घाटन गर्दै संस्थाका पूर्व अध्यक्ष राजेशमान बुद्धाचार्यले सुनचाँदी व्यवसायीहरुले आफ्नो व्यवसायलाई मर्यादित बनाएर ग्राहकहरुलाई सन्तुष्टि बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा महेन्द्रमान गुभाजु, विनोदरत्न शाक्य, नितिन बज्रचार्य, उत्तममान बुद्वाचार्य लगायतले सुनचाँदी व्यवसायीको हकहितको बारेमा धारणाा राखेका थिए । दुर्गामान बुद्धाचार्यको संयोजकत्वमा गठित निर्वाचन मण्डलमा टेकनारायण शाक्य र शोभितमान बुद्धाचार्य सदस्यहरु रहेका थिए । पोखरा सुनचाँदी व्यवसायी संघमा ४४ जना सदस्यहरु रहेका छन् भने हाल डाक्टर संजीवमान बुद्धाचार्यले नयाँ सदस्यता लिएको संघले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिकाको फोहोर ल्याण्डफिल्ड साइड विवाद समाधान गर्न आइतबार महानगरका प्रमुखलाई वडा नम्वर ३३ का स्थानीयले ज्ञापनपत्र बुझाएका छन् । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेटमा ल्याण्डफिल्ड साइड निर्माण गर्न पोखरा ३३ को टिमुरपाटा स्थान तोकिएको बजेट समेत प्रस्ताव गरेपछि त्यस निर्णयको विरोध गर्दै स्थानीयले महानगरका प्रमुख धनराज आचार्यलाई ज्ञापनपत्र बुझाएका हुन् । पोखरा ३३ का स्थानीय किरण थापाले अहिले ल्याण्डफिल्ड साइड बनाउने भनेर जुन ठाउँ महानगरले तोकेको छ, त्यसलाई सच्चाएर पोखराको १ देखि ३३ नम्वर वडाका विभिन्न ठाउँमा ल्याण्डफिल्ड साइडको स्थान बनाउन अध्ययन गर्न महानगरलाई सुझाव दिएका बताए । पोखरा ३३ को टिमुरपाटा भन्ने स्थानमा ल्याण्डफिल्ड साइड बनाउन त्यहाँका स्थानियहरुसँग प्ररामर्श नगरी उक्त स्थानका स्थानियहरुसँग छलफल परामर्श नगरी हचुवा भरमा जवरजस्ती रुपमा उक्त स्थान महानगरले छनोट गरेको स्थानीयको आरोप छ । पोखरा ३३ को टिमुरपाटामा फोहोर व्यवस्थापनको ल्याण्डफिल्ड साइड निर्माण गर्ने महानगरको तयारीसँगै त्यहाँका स्थानीयले यसको विरोध गर्दै आएका छन् । थापाका अनुसार पोखरा ३३ आवादी भएको क्षेत्र भएकाले त्यसमा क्षेत्रमा ल्याण्डफिल्ड साइड निर्माण गर्दा विभिन्न क्षेत्रमा असर गर्ने भएकाले उचित क्षेत्रमा ल्याण्डफिल्ड साइडको अध्ययन गर्न उनको सुझाव छ । पोखराको टिमुरपाटामा महानगरको ल्याण्डफिल साइड निर्माण गर्ने प्रस्तावलाई सच्चाउन र पोखरा क्षेत्रमा उत्पादन हुने फोहोरको वर्गिकरण छुट्टाएर ल्याण्डफिल्ड साइडमा लैजानुपर्ने अर्का स्थानीय डिल्लीराम बरालको आग्रह छ । यस विषयमा महानगर प्रमुख धनराज आचार्यले अब अन्र्तराष्ट्रिय एयरपोर्ट सञ्चालन गर्ने तयारी गर्दा अहिले प्रयोग भैरहेको ल्याण्डफिल्ड साइडले त्यसमा असर गर्ने भएकाले पनि ल्याण्डफिल्ड साइड सार्न महानगर लागिपरेको बताएका छन् ।
पोखरा |: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ उत्कृष्ट वर्ष खेलाडी महिला तर्फ नेपाल महिला भलिबल टिमका क्याप्टेन अरुणा शाही र उत्कृष्ट वर्ष खेलाडी ( पुरुष ) अवार्ड टेनिस खेलाडी प्रदिप खड्काले प्राप्त गरेका छन् । शनिबार पोखरा सभागृहमा मञ्चले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ मा उत्कृष्ट वर्ष खेलाडी महिला तर्फ महिला भलिबलका टिम क्याप्टेन अरुणा शाही र पुरुष तर्फ टेनिसका खेलाडी प्रदिप खड्काले अवार्ड सँगैै ट्रफी र इलेक्ट्रिक स्कुटर प्राप्त गरे । यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकमा टेनिसका निरज थापा, उदियमान खेलाडीमा टेनिसका दर्शिल श्रेष्ठ र उत्कृष्ट खेल संघ (गण्डकी तेक्वान्दो संघ) ले अवार्ड सँगै नगद ३५ हजार र ट्रफी प्राप्त गरे । ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ अन्र्तगत लाईफटाईम अचिभमेन्ट अवार्ड गणेश बहादुुर भट्टराईलाई प्रदान गरिएको छ । यस्तै वर्ष उत्कृष्ट खेलकुद पत्रकार अवार्ड पत्रकार दिपक परियारले पाए । यस्तै उदियमान खेलाडी अवार्डको मनोनयनमा परेका श्रृष्टि जैसी ( क्रिकेट), शाहिल लिम्बु ( बक्सिङ), वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड मनोनयनमा परेका रेकमाया गुरुङ ( तेक्वान्दो ), रिजन प्रजु (क्रिकेट), उत्कृष्ट वर्ष खेलाडी ( पुरुष तर्फ) बुद्ध लामा ( कराते), विधान अधिकारी ( व्याडमिन्टन) र उत्कृष्ट वर्ष खेलाडी ( महिला तर्फ ) मनिषा उपाध्याय ( क्रिकेट ), सरगम कुमाल ( कराते ) का खेलाडीले ट्रफी प्राप्त गरे ।
पोखरा : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ अन्र्तगत उत्कृष्ट वर्ष खेलाडी ( महिला ) अवार्ड नेपाल महिला भलिबलका क्याप्टेन अरुणा शाहीले प्राप्त गरेका छन् । शनिबार पोखरा सभागृहमा मञ्चले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ मा उत्कृष्ट वर्ष खेलाडी ( महिला ) मनोनयनमा परेका दुई खेलाडीलाई पछि पार्दै नेपाल महिला भलिबलका क्या. अरुणा शाहीले अवार्ड प्राप्त गरिन् । उनले वर्ष खेलाडी महिलाको अवार्डसँगै इलेक्ट्रिक स्कुटर समेत प्राप्त गरिन् । उनीसँगै मनोनयनमा परेका क्रिकेटका मनिषा उपाध्याय र करातेका सरगम कुमालले ट्रफी प्राप्त गरे ।

