पोखरा : नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्ने भएको छ । यहीं असार १८ गते शनिबार दिउँसो ३ बजे पोखरा सभागृह हलमा मञ्चले आयोजना गर्ने छैटौं पोखरा स्पोटर्स अवार्ड २०७८ को अवसरमा भट्टराईलाई उक्त अवार्ड प्रदान गरिने भएको हो । भट्टराईलाई लाइफटाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा सिल्भर मेडलिस्ट हुन् । उनलाई पराजित गरेका पाकिस्तानी बक्सर पछिल्लो वर्ष एसियन गेम्सकै गोल्ड मेडलिस्ट हुन् । भट्टराई १९८९, १९९० र १९९१ मा लगातारा बक्सिङमा राष्ट्रिय च्याम्पियन भए । सन् १९८७ मा पहिलो पटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका भट्टराईले पहिलो सहभागितामै जुनियर च्याम्पियन बने । १९८८ मा पनि जुनियर राष्ट्रिय च्याम्पियनशीपमा गोल्ड मेडल जिते । सोहि वर्ष सिनियरतर्फ चौथो भए । त्यसको एक वर्षपछि राष्ट्रिय च्याम्पियन बने । १९९० मा बैंकक र १९९१ मा पाकिस्तानमा ६–६ महिना प्रशिक्षणका लागि भट्टराई पुगेका थिए । राष्ट्रिय अन्तराष्ट्रिय खेलहरुमा सहभागिता जनाउँदै गर्दा उनको दाहिने हात भाँच्चियो । त्यसपछि खेलाडीको रुपमा उनको करिअरले विश्राम लिएपनि व्यवस्थापकीय पक्ष सम्हाल्न थाले । १९९८ मा नेपालमै भएको सागमा २ स्वर्ण, ५ रजत र २ कास्य पदक देशले जित्दा उनी टीम मेनेजर थिए । फुटबल खेलसँग समेत संलग्न भट्टराई एन्फाको केन्द्रीय सदस्य हुँदै उपमहासचिव बने । भट्टराईले भूतपूर्व खेलाडी मञ्चका उपाध्यक्ष, नेपाल बक्सिङ संघका उपाध्यक्ष, जोय फाउन्डेशनका संस्थापक सदस्य, रेबान पोखराको अध्यक्ष, पोखरा उपमहानगरपालिकाको ८ महिनासम्म उपमेयरको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । यसअघि, मञ्चले यहाँका अग्रज खेलाडीहरु प्रा.डा. वीरेन्द्रसिंह गुरुङ, कृष्णबहादुर थापा, खड्गबहादुर रानाभाट, चित्र बहादुर गुरुङ र आनन्द रञ्जितलाई लाईफ टाईम अचिभमेन्ट अवार्डबाट सम्मान गरिसकेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले छैटौं पोखरा स्पोटर्स अवार्ड २०७८ को तयारी अन्तिम चरणमा पुगिसकेको जनाएका छन् । पोखरा स्पोर्टस् अर्वाड अन्र्तगत वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी प्रदान गरिनेछ । पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आव्या क्लब, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, चिल्लिबार एण्ड रेष्टुरेन्ट, साइमन पार्टी प्यालेस, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, मनकामना पेट्रोलपम्प, सिटीजन फर्निचर लगायतले सहयोग गरेका छन् । अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।
पोखरा : गण्डकी प्रदेशका भुमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले प्रदेश सरकार कृषिमार्फत जनतालाई सम्बृद्ध बनाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । कृषिको विविधिकरणमा गण्डकी प्रदेश एक नम्बर रहेको बताउँदै बुढाले मन्त्रालय कृषि उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउन लागि परेको बताउनुभो । पोखराको हेम्जा स्थित मानव सेवा आश्रममा आयोजित कृषि सामग्री वितरण कार्यक्रममा उहाले सो बताउनुभएको हो । सो अवसरमा उहाँले सरकार कृषिमा आत्मनिर्भर बनाउन लागि परेको भएता पनि जग्गा बाँझो राख्ने प्रबृत्ति बढेकोमा चिन्ता व्यक्त गर्नुभयो । मानिसहरु सुखको खोजीमा लाग्ने प्रबृत्तिमा लागेको भन्दै उहाँले जग्गा बाँझो राखेर विदेशबाट आयात गरेर सम्बृद्धि नआउने तर्क गर्नुभयो । भूमी व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेशको समन्वयमा कृषि ज्ञान केन्द्र, कास्कीबाट मानव सेवा आश्रमलाई कृषि सामग्री वितरण गरिएको हो । सो अवसरमा मन्त्री बुढाले ३ थान टनेल जाली, फलफूलका बिरूवा र तरकारीको बिउबिजन लगायतका सामाग्री आश्रमलाई हस्तान्तरण गर्नुभएको थियो ।
पोखरा : पोखरा महानगरपालिका ३ पालिखेचोक स्थित निर्माणाधिन फल्चाको सवाललाई मध्यनजर गर्दै नागरिक समाज कास्कीले पोखरा महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । जाति विशेष तथा धार्मिक सम्पदा निर्माण गर्दा उपयुक्त स्थान छनौट गरि मापडण्ड अनुसार सम्पदाहरु निर्माण गर्नुपर्ने भन्दै आइतबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलाई नागरिक समाज कास्कीका अध्यक्ष गोकुल बहादुुर कार्की नेतृत्वको टोलीले ध्यानाकर्षण पत्र बुझाएका हुन् । बढ्दो सवारी चापलाई मध्यनजर गर्दै सडकको स्तरोन्नती गरिएको पाखिलेचोकमा फल्चा निर्माण भइरहेकोले उचित स्थान छनौट गर्नुपर्नै ध्यानाकर्षण पत्रमा उल्लेख छ । ‘पालिखेचोकमा सडक चौडा गर्ने उद्देश्यले त्यहाँ रहेका केही पुराना घरहरुको मुआब्जा बुझाई हटाइएको स्थानमा यो वा त्यो बहानामा संरचना निर्माण गरिनु तत्कालिन समयमा त्यहाँ रहेका घरधनिहरुको अपमान हो भने नालामुख र ज्ञानमार्ग तर्फको बजार विस्तारमाथी अवरोध पुर्याउनुको साथै सडक चौडा गर्दाको भावना, मर्म र उद्देश्य विपरित कार्य हो भन्ने हाम्रो ठहर छ । पत्रमा लेखिएको छ, त्यस्ता सम्पदा निर्माण गर्दा उपयुक्त स्थान छनोट गर्दा राम्रो हुने कुराप्रति महानगरपालिकाको ध्यानाकर्षण गराउन चाहान्छौं ।’
कास्की : हेम्जा युनाइटेडको आयोजनामा समपन्न छैटौं नेपाल आइस अन्र्तराष्ट्रिय हेमजा गोल्डकपमा पाहुना टोली क्यामरुनको एभिनियर क्लब च्याम्पियन बनेको छ । पोखरा २५ स्थित गौरीशंकर खेलमैदानमा आइतबार भएको फाइनल खेलमा आयोजक हेम्जा युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै एभिनियर च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै उक्त क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ६ लाख रुपैयाँ प्राप्त गर्याे । एभिनियरको जीतमा आनिसेले खेलको छैटौं मिनेटमा साङले ९८ औं मिनेटमा र अतिरिक्त समयको १०६ औं मिनेटमा विल्लेले समान १/१ गोलको योगदान दिए । भने हेमजाको तर्फबाट ३५ औं मिनेटमा शुशिल राईले सान्त्वना गोल फर्काएका थिए । उपविजेता बनेको हेमजाले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ३ लाख रुपैयाँ प्राप्त ग¥यो । उक्त प्रतियोगिताबाट हेम्जा युनाइटेडका गोलरक्षक दिप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित हुदै नगद ५० हजार रुपैयाँको साथमा ट्रफिबाट पुरस्कृत भए । यसैगरि हेम्जा युनाइटेडकै आसिक गुरुङ उत्कृष्ट डिफेन्डर घोषित भए भने सुशिल राई उत्कृष्ट फरवार्डका रुपमा पुरस्कृत भए । एभिनियरका गोलरक्षक कोभास्सि उत्कृष्ट गोलरक्षक, सोही क्लबकै नेल्सन उत्कृष्ट मिडफिल्डर र आसिक थापा मगर उत्कृष्ट प्रशिक्षक घोषित हुदैं पुरस्कृत भए । भने प्रतियोगिताको उदीयमान खेलाडीका रुपमा हेम्जाका मनिश थापा घोषित भए । उनीहरु सबैले जनही २०/२० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गरे । प्रतियोगिताको अनुशासित टिम कालिका फुटबल क्लब घोषित हुँदै २५ हजार प्राप्त ग¥यो । घोषित हुँदा सर्वाधिक गोलकर्ता भने एभिनियरका विल्ले र हेम्जाका कमल थापा मगर रहे उनीहरुले समान ३÷३ गोल गरे । उनीहरुले २५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको पुरस्कार गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । गत असार ४ गतेदेखि संचालनमा रहेको प्रतियोगितामा विभागीय क्लब एपिएफ, चर्च व्याइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, वीरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड गरि कुल ८ टिमले प्रतिस्पर्धा गरेको थियो ।
पोखरा : कास्की जिल्ला व्याडमिन्टन संघले आयोजना गरेको प्रथम गण्डकी प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगितामा एकलतर्फ क्षितिज खनाल र दिलाशा राना च्याम्पियन बनेकी छिन् । पोखरा रंगशालामा भएको फाइनल खेलमा पुरुषतर्फको एकल विधामा विधान अधिकारीलाई हराउँदै खनाल च्याम्पियन बनेका हुन् । १–१ सेट जितेको अवस्थामा अन्तिम अर्थात तेस्रो सेट चलिरहँदा विधानले बिचमै खेल छाडेपछि खनाल च्याम्पियन बने । विधानले पहिलो सेट २१–१९ र खनालले दोस्रो सेट २१–१५ ले आफनो पक्षमा पारेका थिए । उनले २० हजार रुपैयाँ प्राप्त गरे भने विधानले १० हजार रुपैयाँ प्राप्त गरे । कास्कीका विशाल खड्का र लमजुङका सुजन थापाले तेस्रो हुँदै १०/१० हजार रुपैयाँ प्राप्त गरे । यसैगरि महिलातर्फ दिलाशाले कास्कीकै अनु रानालाई सोझो सेटमा पराजित गर्दै उपाधि जितिन् । उनले २१–१५,२१–११ को सेटमा रानालाई हराउँदै नगद १५ हजार रुपैयाँ प्राप्त गरिन् । अनुले १० हजार रुपैयाँ प्राप्त गरिन् । आकृति केसी र आयुस्मा नेपालले तेस्रो हुँदै १० हजार प्राप्त गरिन् । महिला डबल्सतर्फको प्रतिस्पर्धामा कास्कीका यामकुमारी गुरुङ र दिलाशा रानाको जोडीले कास्कीकी माया पुन र तनहुँकी रुबी श्रेष्ठको जोडीलाई निर्णायक सेटमा पराजित गर्दै उपाधि उचाले । उनीहरुले २१–१५, २४–२६ र २१–१५को सेटमा हराउँदै उपाधि जिते । मेनुका गुरुङ र आयुष्मा नेपाल तथा कास्कीकै आकृति केसी र अनु रानाको जोडी तेस्रो स्थानमा रहे । पुरुष तर्फको डबल्सको उपाधि कास्कीका विधान अधिकारी र पर्वतका विधान गुरुङको जोडीले उचाल्यो । उक्त जोडीले लमजुङका सुजन थापा र स्याङजाका दीपक रानाको जोडीलाई २१–१४, १८–२१ र २१–१८ को सेटमा हराए । कास्कीका विशाल बस्नेत र बिशाल गुरुङको जोडी तथा विशाल खड्का र कृष्ण बस्नेतको जोडी तेस्रो भए । पुरुष डबल्सतर्फको विजेता, उपविजेता र तेस्रो हुनेले क्रमश नगद ४०, २५ र २० हजार रुपैयाँ प्राप्त गरे । महिला डबल्स तर्फको विजेताले नगद ३० हजार,२० हजार र १० हजार रुपैयाँ प्राप्त गरेको प्रतियोगिताका संयोजक अमृत पोखरेलले जानकारी दिए । प्रतियोगितामा विजेताहरुलाई गण्डकी प्रदेश युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ, संघका अध्यक्ष शुशिलकुमार श्रेष्ठ लगायतले नगदसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
धनगढीः गाडीमा लिफ्ट मागेर चढेका तीन जनाकाे समुहले नै नगद र गाडी लुटेका छन् । कैलाली प्रहरीका अनुसार तीन जनाकाे समुहले कुटपिट गरि लोकेन्द्रसिंह भण्डारीको सवारी साधन र केही नगद लुटेका हुन् । डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरी नगरपालिका–४ गाइमारेमा हातखुट्टा बाँधिएको अवस्थामा फेला परेका थिए । सोमबार उनीमाथि केही व्यक्तिले आक्रमण गरी ज्यान मार्ने उद्देश्यले भिरबाट फालेर गएको बताइएको छ । भण्डारी स्वयंमले स्थानीयलाई बताए अनुसार तीन जनाकाे समुहले समूहले उनलाई आक्रमण गरेका थिए । उनी खुट्टामा बाँधेको डोरी खोलेर घिस्रिदै सडकसम्म पुगेपछि स्थानीयले थाहा पाएका थिए । अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ । तीन जना मान्छेले घुमाउन लगिदेऊ भनेर गोदावरीको उकालोतिर भण्डारीलाई लगि कुटपिट गरी बाँधेर फालेको र उनको गाडी र पैसा लुटेर भागेको कैलाली प्रहरीले जनाएको छ ।
कास्कीः कास्कीको पोखरा महानगरपालिका–१३ गौडामुखमा गएराती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्जुङ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१३ भद्रकाली बस्ने अन्दाजी ५३ बर्षीया जुना कुमारी गुरुङ रहेकी छिन् । पैदलयात्री गुरुङलाई गएराती पौने १० बजे ग११प ७३८५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी गुरुङको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा राती साढे १२ बजे मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखराः सोमबार बिहान देशभर बदली रही प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम बदली रही वर्षा हुने सम्भावना रहेकधो छ। प्रदेश १ र गण्डकी प्रदेशका एक(दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि देशका अधिकांश स्थान वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।
म्याग्दी : म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगाएको छ । शनिवार राती रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाका ड्याम साइटमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर स्काभेटर बगाएको हो । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युतको बाँध रघुगंगा ४ मा निर्माणधिन अवस्थामा छ । मुक्तिनाथ बगैचा निर्माण सेवाको ग १ क ५३३८ नम्बरको होन्डाई स्काभेटर नदीले बगाएर करिब २० मिटर तल पु¥याउँदा स्काभेटरको महत्वपूर्ण पाठपुर्जा र मेसिनमा ठूलो क्षति भएको कम्पनीका सञ्चालक श्यामनन्द शर्माले बताए । पार्किङको लागि बनाइएको ठाउँमा लगाइएको ग्याविन जाली बगाएर नदीको बाढीले डोजर बगाएको हो ।

