स्याङ्जा ः स्याङ्जाको फेदीखोला गाउँपालिका–४ आरुखर्कमा रहेको जैसीडाँडा किसान समूहले मनग्य आम्दानी गर्दै आएको छ । समूहले गत आर्थिक वर्ष २०७८्र÷७९ मा ‘मनकामना-३’ जातको १६ टन मकैको बीउ बिक्री गरेर १६ लाख ६४ हजार आम्दानी गरेको हो । महिलाले मात्र आवद्ध रहेको जैंसीडाँडा किसान समूहले विगत एघार वर्षअघिदेखि सो जातको मकैको बीउ उत्पादन गर्दै आएको समूहकी अध्यक्ष सङ्गीता हमालले बताउनुभयो । “विगत एघार वर्षदेखि ‘मनकामना–३’ जातको मकैको बीउ उत्पादन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “गत आर्थिक वर्षमा १६ हजार ६४१ केजी मकैको बीउ प्रतिकेजी रु एकसयका दरले बिक्री गरेका हौँ ।” २०७८÷७९ मा साढे १६ टन मकैको बीउ बिक्री गरेको समूहले २०७७७८ मा १० टन बीउ बिक्री गरी रु नौ लाख आम्दानी गरेको थियो । “स्याङ्जासहित देशका विभिन्न ठाउँबाट यहाँ उत्पादन गरिएको ‘मनकामना–३’ जातको मकैको बीउको माग अत्याधिक छ, मागअनुसार पु¥याउन सकेका छैनौँ”, उहाँले भन्नुभयो, “यसवर्ष करिब २० टन बीउ उत्पादन हुने अनुमान गरेका थियौँ तर खडेरीकाकारण अपेक्षाअनुसार बीउ उत्पादन हुन सकेन ।” यहाँ उत्पादन भएको बीउ स्याङ्जाका स्थानीय बजारसहित पोखरा, चितवन, गोरखा, लमजुङलगायत ठाउँमा जाने गरेको समूहकी कोषाध्यक्ष कल्पना पौडेलले बताउनुभयो । यहाँ उत्पादन भएको बीउ मकै स्याङ्जा जिल्लाभित्रका कृषिसँग सम्बन्धित कार्यालय, सङ्घसंस्था, कृषि एग्रोभेट र जिल्लाबाहिरबाट पनि माग हुने गरेकाले खपतको कुनै समस्या नभएको समूहकी कोषाध्यक्ष पौडेलले जानकारी दिनुभयो । उत्पादन भएको मकैको बीउको नमूना प्रयोगशालामा पठाएर उमारशक्ति, चिस्यान र शुद्धता परीक्षण गरिन्छ । परीक्षणमा योग्य भएपछि घरघरमा रहेको मकैलाई सङ्कलन केन्द्रमा ल्याएर समूहमार्फत एकमुष्ट बीउको प्रयोजनका लागि समूहमार्फत बिक्री गरिँदै आएको छ । यहाँ उत्पादन भएको बीउ मकै सुुरुआतको चरणदेखि हालसम्म गुणस्तरीयता परीक्षणका क्रममा र रोपेपछि उत्पादन लिने बेलासम्म कमजोरी नदेखिएको दाबी समूहको छ । मकैको बीउ उत्पादन गर्दै आएको उक्त ठाउँमा बाँदरको समस्या भएकाले आलोपालो गरेर बाँदर कुर्नेरधपाउने चारजनालाई समूहले पुरस्कृतसमेत गरेको छ । जैंसीडाँडा किसान समूहले गण्डकी प्रदेशकै सबैभन्दा धेरै उन्नत मकैको बीउ उत्पादन गर्दै आएको दाबी गाउँपालिकाका अध्यक्ष घनश्याम सुबेदीको छ । उन्नत जातको मकैको बीउ उत्पादन गर्दै आएको जैंसीडाँडा किसान समूहलाई विगत चार वर्षदेखि गाउँपालिकाले उत्पादनमा आधारित १५ प्रतिशत नगद अनुदान उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाले पटक–पटक गरी हालसम्म विभिन्न उपकरण खरिद, भण्डारका लागि आवश्यक सामग्री, तालीमका लागि पचास लाख बढी नगद अनुदान दिएको गाउँपालिकाका अध्यक्ष सुवेदीले बताउनुभयो । आरुखर्कमा उन्नत मकैको बीउ उत्पादन राम्रो भएकाले वडा नं ३ को भाटखोलास्थित लोलासरी किसान समूहलाई ‘मनकामना–५’ जातको उन्नत मकैको बीउ उत्पादनको पकेट क्षेत्रका रुपमा विस्तार गरिएको उहाँले जानकारी दिनुभयो । भर्खरै सुरुआत भएको उक्त पकेट क्षेत्रका लागि गाउँपालिकाले रु २५ लाख अनुदान उपलब्ध गराएको छ । “व्यावसायिक उत्पादनमा जोड दिँदै गाउँपालिकाले विगत चार वर्षदेखि उत्पादनमा आधारित कृषिजन्य उत्पादनमा १५ प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ”, अध्यक्ष सुबेदीले भन्नुभयो, “गाउँपालिकाले २५ वटा कृषिजन्य उत्पादनको सूची नै बनाएर १५ प्रतिशतका दरले अनुदान उपलब्ध गराईरहेको छ ।”
पोखरा : पोखरा महानगरपालिका १४ खाल्टेमसिना स्थित जागृति मार्गमा एक युवक मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीका अनुसार खाल्टेमसिनामा डेरामा बस्दै आएका स्याङ्जा विरुवाका १९ वर्षीय राम बहादुर गुरुङ आइतबार बिहान झुन्डिएको अवस्था मृत भेटिएका हुन् । पब्जी खेलेको भन्ने अनुुमानको विषय हो डिएसपी तिवारीले भने अहिले सम्म उजुरी आएको छैन, अहिले थप अनुसन्धान भइरहेको छ । अहिले मृत शरिरलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ ।
म्याग्दी : भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको मालिका गाउँपालिका-२ जेमका एक सय घरमा सोलार जडान गरिएको छ । गण्डकी प्रदेश सरकारको ‘उज्यालो प्रदेश कार्यक्रम’अन्तर्गत खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले ५० वाट क्षमताको सोलार जडान गरेको हो । कार्यालयका ईञ्जिनीयर अञ्जन खत्रीले कार्यविधिअनुसार कार्यालयको ७५ प्रतिशत र उपभोक्ताको २५ प्रतिशत लागत साझेदारीमा एक सय घरमा सौर्य उर्जा जडान गरिएको जानकारी दिनुभयो । सौर्य उर्जा खरिद र जडानका लागि एन्क्वा फ्रेस नेपाल एण्ड सोलार प्रालिसँग आर्थिक वर्ष २०७८/७९ मा रु ११ लाख १९ हजार ३५ मा सम्झौता भएको थियो । हालसम्म केन्द्रीय प्रशारण लाइन र लघुजलविद्युत् परियोजनाको सुविधा नपुगेका बस्तीमा उज्यालो बनाउने प्रदेश सरकारको नीतिअनुसार जेममा सौर्य उर्जामार्फत विद्युत् सुविधा उपलब्ध गराइएको कार्यालय प्रमुख सुरेन्द्र पौडेलले बताउनुभयो । सोलार जडान भएपछि रातको समयमा घरायसी काम गर्न, बालबालिकालाई पढ्न, मोबाइल चार्ज गर्न, रेडियो बजाउन सहज भएको स्थानीयवासीले बताएका छन् । यसअघि उज्यालोका लागि टुकीमा निर्भर हुनुपरेको थियो । लघुजलविद्युत् परियोजना नभएका र केन्द्रीय लाइन नपुग्ने धवलागिरी गाउँपालिकाका १२० घरधुरीलाई प्रदेश सरकारमार्फत ५० वाट क्षमताको सोलार सेट वितरण गरिएको थियो । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले गत वर्ष नै काठेपोल विस्थापित गर्न मालिका गाउँपालिकालाई १९३ र धवलागिरीलाई ९० थान उपलब्ध गराएको थियो ।
काठमाडौँ : फरक क्षमता भएका ऊर्जावान व्यक्तिलाई रोजगारको अवसर दिलाउने उद्देश्यले त्यस्ता अपाङ्गता भएका व्यक्ति र रोजगारदातालाई एकै थलोमा भेला गराउन यहाँ रोजगार सम्मेलन (इम्प्ल्यायरर्स मिट) २०२२ को आयोजना गरिएको छ । अपाङ्गता सुनिश्चित रोजगार अभियान अन्र्तगत ‘अपाङ्गता समावेशी रोजगारका लागि सँगसँगै’ भन्ने नाराका साथ सो सम्मेलन आयोजना गरिएको होे । द लेप्रोसी मिशन नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा राष्ट्रिय अपाङ्ग महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घसँगको सहकार्यमा सञ्चालित रोजगारबिहिन अपाङ्गता भएका व्यक्तिका लागि ऊर्जाशील अवसर (फाउण्ड) परियोजनाको आयोजनामा भएको सो सम्मेलनमा रोजगारदाता र रोजगारको खोजीमा रहेका फरक क्षमता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो । सम्मेलनको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले फरक क्षमता भएका व्यक्तिलाई समान रोजगारीको अवसर दिनु सबैको नैतिक जिम्मेवारी भएकाले सम्पूर्ण रोजगारदातालाई त्यस्ता व्यक्तिलाई रोजगारीको अवसरमा प्राथमिकता दिन आग्रह गर्नुभयो । उहाँले महासङ्घको आगामी चैतमा हुने साधारणसभा अगावै कम्तिमा सय जना फरक क्षमता भएका व्यक्तिलाई रोजगारी प्रदान गरिने बताउनुभयो । द लेप्रोसी मिशन नेपालका राष्ट्रिय निर्देशक शोभाखर कणेंलले १६६ वर्षअघि स्थापना भएको दि लेप्रोसी मिसन नेपालसहित विश्वका ३२ देशमा कुष्टरोगबाट अपाङ्गता भएका व्यक्तिको पुर्नस्थापना र जीवनस्तर सुधार ल्याउने काममा क्रियाशील रहेको जानकारी दिनुभयो । उहाँले फरक क्षमता भएका व्यक्तिहरुको रोजगार सुनिश्चित गर्न पहिलोपटक आयोजना गरिएको यस किसिमको सम्मेलन महत्वपूर्ण अवसर हुने बताउनुभयो । सम्मेलनमा सहभागी रोजगारदाता कम्पनीका प्रतिनिधिले निजी क्षेत्र उद्योग व्यवसायबाट नाफा आर्जन गर्दैनन्, सामाजिक उत्तरदायित्वबाट पनि उत्तिकै प्रेरित छन् भन्ने पुष्टि गर्न रोजगारी सिर्जना गर्दा फरक क्षमताका व्यक्तिलाई पनि अवसर दिने प्रतिवद्धता जनाएका थिए । अपाङ्गता भएका व्यक्तिहरुसँग असाधारण सीप र क्षमता रहने हुँदा कम्पनीलाई फाइदा हुने र व्यवसायलाई समावेशी बनाउन सकिने हुँदा आगामी दिनमा कामदारका रुपमा नियुक्त गर्दा उनीहरुलाई प्राथमिकता दिइने कम्पनीका प्रतिनिधिको सामूहिक भनाइ थियो । सम्मेलनमा कार्यस्थलमा अपाङ्गता समावेशी तथा यस क्षेत्रमा हासिल गरिएका सफलता, चुनौती र अनुकरणीय उपायका अनुभव आदानप्रदान गरिनाका साथै अपाङ्गता समावेशी कार्यस्थल हुने गरी कम्पनीहरुको मानव संशाधन विभागको भूमिका र फाउण्ड परियोजनाका बारेमा प्रस्तुतीकरण गरिएको थियो । फाउण्ड परियोजनाले मोरङ, काठमाडौँ, ललितपुर, रुपन्देही र कपिलवस्तुमा ११ परियोजनामार्फत रोजगारमूलक सीप र आत्मविश्वास जागृत गरी समावेशी रोजगारीको अभियानमा काम गर्दै आएको छ ।
बागलुुङ ः पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयका दुई शिक्षकले यस वर्ष एकैपटक काम छाड्नुभयो । पढाउन थालेको झण्डै १० वर्षमा विद्यालय छाड्नुभएका राजु पौडेल र सात वर्षमा विद्यालय छाड्नुभएका विकास पौडेल विद्यालयबाट मात्रै टाढा हुनुभएन, उहाँहरू जन्मेको थातथलो नै छाडेर हिँड्नुभयो । बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराको टारगाउँमा रहेको पल्लोपाखा माध्यमिक विद्यालयमा अध्यापन उहाँहरू घर टुनीबोट गाउँमा पर्छ । यो गाउँबाट यस वर्ष वर्षा सुरु नहुँदै १० घरले थातथलो छाडेका छन् । राजु र विकासजस्तै अर्का शिक्षक यदुनाथ शर्मा जागिरे जीवनबाट अवकाश पाउँदाको भोलिपल्टै घर छाड्ने अर्का पात्र हुनुहुन्छ । घरखर्च चलाउनमात्रै खेती किसानी गरेर गुजारा चलाउनेदेखि विभिन्न पेशा–व्यवसायमा रहेर काम गरिरहेका अधिकांशले गाउँ छाडेका छन् । विसं २०७७ भदौ २८ र २९ गते यो गाउँमा आएको पहिराले यहाँका नौ घर पुरेको थियो । पहिरामा परेर दुई जनाको मृत्यु भयो । परापूर्वकालदेखि पहिराको त्रास नरहेको गाउँमा एक्कासी गाउँमाथिबाट आएको पहिराले घरबारी र ज्यान नै लिएपछि पुरिएका घरका विस्थापित भए । आसपासका घरहरू जोखिमकै कारण विस्थापित भए । गाउँका आधा परिवार विस्थापित भएपछि समुदाय नै मासिएको भन्दै घर छाडेर हिँड्नेको सङ्ख्या बढिरहेको छ । “न त घर जोखिममा थियो न मलाई रोजगारीको समस्या तर के गर्नु समुदाय नै नभएपछि एक्लै गाउँको घर कुरेर बस्न सकिएन्”, यसै वर्ष शिक्षकको जागिरसँगै घर छाडेर हिँड्न्भएका राजुले भन्नुभयो, “पहिराले विस्थापितहरूको समयमा व्यवस्थापन र जोखिमको दिगो निकास हुन नसक्दा यो अवस्था आयो ।” बाउबाजेले आर्जेको सम्पत्ति, आफैँले बनाएको घर र खाइपाइ आएको जागिर छाडेर हिँड्दा नराम्रो लागेको उहाँले बताउनुभयो । कुनै समय निकै चहलपहल हुने टुनिबोट बस्ती अहिले सुनसान छ । त्यहाँका ४६ घरमध्ये ३१ घरमा ताला ठोकिएका छन् । घरका छेउकुना र आँगन घाँस र झाडीले भरिएका छन् । कुनै बेला घर–घरमै रोजगार भएको टुनिबोट बस्ती अहिले सुनसान र डरलाग्दो झाडीका रूपमा परिणत भएको छ । पछिल्लो समय टुनिबोटमा १५ घरपरिवारमात्रै बसोबास गर्दछन् । उनीहरुसमेत समुदायकै अभावमा गाउँ छाड्ने मानसिकतामा छन् । “गाउँमा बसेर के गर्नु एउटा घर ओल्लो डाँडा अर्को घर पल्लो डाँडा छ, बाँदरले समेत एक्लैलाई टेर्दैन”, उहाँले भन्नुभयो, “गाउँ सकिएर जङ्गल भरियो, अब जङ्गलकै त्रासले गाउँ छाड्नुपर्ने छ ।” रोजगारीमा रहेका केहीले छाड्न नमिलेको र केही स्थानीयवासीको अन्यत्र जाने उपाय नै नभएकामात्रै गाउँमा रहेको शिक्षक राजु बताउनुहुन्छ । सडक नालीको प्रभावकारी व्यवस्थापन नगर्दा गएको पहिराले बस्ती उठाउने अवस्था आएको गाउँलेको आरोप छ । टुनीबोट गाउँबाट विस्थापितहरू चितवन, पोखरा, काठमाडौँ र बागलुङ बजारमा बस्ने गरेका छन् । केहीले घर बनाए भने अर्थावस्था कमजोर भएकाहरू भाडामा बसेर ज्यालादारीमा काम गरी छाक टार्छन् । दुई वर्षअघि पुरिएका घरसमेत पुनःस्थापना हुन नसकेकाले विपत्का बेला सहयोग नपाइने भन्दै उनीहरू घर छाडेको बताउँछन् । विपतले निम्त्याउने समस्या र बसाइँसराइ पछिल्लो समयको जटिल विषय भएको जैमिनी नगरप्रमुख नरबहादुर पुनको भनाइ छ । बसाइँसराइ रोकथामका लागि छलफल भइरहेको उहाँले बताउनुभयो । सुविधाकै लागि गाउँ छाडेर हिँडेकाहरूलाई फर्काउन नगरले गाउँ–गाउँमा सुविधा पु¥याउने उहाँले बताउनुभयो । पहिरो प्राकृतिक विपद् भएकाले त्यसको न्यूनीकरणमात्रै गर्न सकिने उहाँको भनाइ छ । विस्थापित र बसाइँसराइसँगै स्थानीय सीप, पूँजी र श्रमशक्तिसमेत बाहिरिने हुँदा बसाइँसराइलाई रोक्नुपर्ने स्थानीयवासीको माग छ । बाढीपहिराजस्ता प्राकृतिक विपत्तिबाट जोगाउन राज्यले पहल गर्नुपर्ने, शिक्षा, स्वास्थ्यमा नागरिकको सहज पहुँच पु¥याउनुपर्ने, रोजगार तथा आम्दानीका स्रोत बढाउनतर्फ ध्यान दिन सके विस्थापित हुने कार्य र बसाइँसराइ गर्नेहरूको सङ्ख्यामा कमी आउने बुझाइ छ ।
पोखरा : पोखरा महानगरपालिकाका युवाहरूलाई लक्षित गरेर युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन गरिने भएको छ । सो कोषमार्फत पोखराका ७५० युवालाई स्वरोजगार बनाइने लक्ष्य राखिएको छ । महानगरपालिकाले चालु आर्थिक वर्षको बजेट कार्यक्रममार्फत सो कोषमा रु पाँच करोड विनियोजन गरेकामा युवा स्वरोजगार कोष र मुक्तिनाथ विकास बैंकको तर्फबाट समेत रु पाँच–पाँच करोडका दरले लगानी गरी रु १५ करोडको कोषमार्फत कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सो कोष सञ्चालन गर्न त्रिपक्षीय सम्झौताका लागि सैद्धान्तिक सहमति जुटेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो । युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल र महानगरका प्रमुख आचार्यबीच कोषमार्फत कार्यक्रम छिट्टै आगडि बढाउने सैद्धान्तिक सहमति भएको बताइन्छ । कोषमार्फत कृषि क्षेत्रमा लागेका युवा उद्यमीलाई प्राथमिकता दिइने र लगानी गरिने प्रमुख आचार्यले बताउनुभयो । कृषि उद्यमको माध्यमबाट रोजगारीसमेत अभिवृद्धि हुने विश्वास लिइएको छ । महानगर प्रमुख आचार्यले भन्नुभयो, “हालै युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसँग बसेर कृषि उद्यमलक्षित गर्दै स्वरोजगार कोषमार्फत युवाहरूलाई प्रोत्साहन गर्ने सम्बन्धमा हाम्रो सहमति भएको छ । यसमा हामी तीनवटै पक्षले बराबर रकम जग्मा गर्ने छौँ र बैंकमार्फत नै यसलाई अगाडि बढाउने योजनामा छौँ । खासगरी कृषि क्षेत्रमा केही गर्न चाहने युवालाई लक्षित गरेर महानगरमा रोजगार अभिवृद्धि गर्ने पनि हाम्रो चाहना हो ।” निर्देशक अधिकारीले अगामी चार वर्षसम्म यो कार्यक्रमलाई अगाडि बढाउने उद्देश्यका साथ आफूहरु अगाडि बढेको बताउनभुयो । उहाँले भन्नुभयो, “यो कार्यक्रममार्फत न्यून वर्ग र बेरोजगार युवालार्ई समेट्ने योजना छ । कोष अगाडि बढाउनका लागि अब औपचारिक सम्झौता गर्ने तयारीमा छौँ ।” उहाँका अनुसार यो कार्यक्रम सम्झौता भएर कार्यान्वयनमा जान कम्तीमा एक महिना लाग्ने छ ।
पोखरा: एसटी क्रियसन नेपालले आयोजना गरेको पाँचौ संस्करणको मिस मगर नेपाल २०२२ को ताज म्याग्दीकी मिलन थापामगरले जितेकी छिन् । अन्तिम चरणमा रहेका ११ प्रतिस्पर्धीलाई पछि पार्दै उनले सन् २०२२ को मिस मगर नेपालको ताज थापामगरले जितेकी हुन् । ताजसँगै उनले, नगद रु ७० हजार, हङ्कङ टुर तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् । त्यसैगरि उनले बेस्ट वाक र मोस्ट ट्यालेन्टटेड अवार्ड समेत हात पारिन् । यसैगरि फष्ट रनरअफका रुपमा पुर्व इलामकी भावना खपांगीमगरले ताज पहिरिदै नगद रु ३० हजार प्राप्त गरिन् । सेकेन्ड रनरअपका रुपमा पाल्पाकी टुगा रानामगर घोषित हुदैं ताजसहित २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् । यसैगरी थर्ड रनरअप बन्न सफल बनेकी मीना गर्बुजा मगरले तजा र अवार्डसहित १० हजार रुपैयाँ नगद पुरस्कार जितिन् । भने भ्यूवर च्वाइसको उपाधि रोश्ना बुढाथोकी मगरले जितिन् । कसलाई कुन अवार्ड? प्रतियोगितामा वेष्ट फिगर शोभा पुनमगर, मोस्ट कन्फिडेन्ट मीना गर्वुजामगर, मस्ट डिसप्लेन सलिना घर्तीमगर, मोस्ट पपुलर साराङ्ग सोरालीमगर, मस्ट फ्रेण्डसिप सृष्टी फगामीमगर, वेस्ट स्माइल अवार्ड सोनु सोमारे मगर, मस्ट सर्पोटिभ अवार्ड गोमा थापामगर, वेस्ट स्कीन रोश्ना बुढाथोकी मगर, वेस्ट फोटोजेनिक भावना खपांगीमगर, वेस्ट पर्सनालिटी सलिना घर्तीमगर, मोस्ट इन्टेलिजेन्ट टुगा रानामगर बन्न सफल भएका थिए । मुख्य निर्णायकमा चलचित्रकर्मी मेजन पुन मगर, पत्रकार तथा अधिवक्ता मनोज घर्तीमगर, संस्कृतिकर्मी रेशम थापा मगर ‘रचक’, मिस तनहुँ २०११ की रनरअप पवित्रा थापामगर र सस्कृतिकर्मी शिव थापामगर रहेका थिए । विजेताहरुलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ र मिस मगर नेपाल २०१९ को विजेताहरुले पुरस्कार प्रदान गरेका थिए । यसअघि सन् २०१९ मा सम्पन्न चौथो चरणको मिस मगर नेपालको ताज सनम गर्बुजाले जितेकी थिइन् ।
हेटौँडा : राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले राससकर्मीलाई जागिरे नभएर पत्रकार बन्न निर्देशन दिनुभएको छ । रासस वाग्मती प्रदेश कार्यालय हेटौँडाले रासस सेवासम्बन्धमा आज आयोजना गरेको अन्तरक्रियामा उहाँले अब पत्रकारहरू कर्मकाण्डी पत्रकारिताबाट बाहिर आउनुपर्ने बताउनुभयो । “जनताको करबाट सञ्चालित संस्थामा काम गर्ने सञ्चारकर्मीले जनताका लागि सूचना दिनुलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ”, अध्यक्ष झाले भन्नुभयो, “राससमा काम गर्नु जागिर गर्नु नभएर दायित्व निर्वाह गर्नु हो ।” सत्यका आधारमा तथ्यपरक खबर दिनु राससको दायित्व भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो काम तथ्यपरक सत्य समाचार सञ्चारमाध्यमलाई उपलब्ध गराएर जनता सुसूचित गर्नु हो ।” अब कारण र परिणामसहितको सूचना जनतालाई दिनु राससको लक्ष्य हुने अध्यक्ष झाको भनाइ थियो । रासस वाग्मती कार्यालय प्रमुख सुरेश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राससका सञ्चालन समिति सदस्य शङ्कर खरेल, प्रशासन प्रमुख शीतल महतो, कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत, अङ्ग्रेजी सेवाका वरिष्ठ सम्पादक नारायण घिमिरे लगायतले राससले उपलब्ध गराउने सेवा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
हेटौँडा : नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । यसै क्रममा तीन राससकर्मीसहित ३१ जना निर्विरोध निर्वाचित भएका हुन् । युनियनको नवौँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्विरोध हुनेहरुमा रासस दाङकी कार्यालय प्रमुख नरायणी रजौरे, केन्द्रीय कार्यालयका छविलाल कुमाल र पाल्पाकी सुशीला रेग्मी रहनुभएको छ । त्यसैगरी अन्य निर्विरोध हुनेहरुमा समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा, सचिवमा सहदेव चौधरी, केन्द्रीय सदस्यमा अशोक तिवारी र छायाचन्द्र भण्डारी हुनुहुन्छ । यसैगरी फुलमाया सुनार (फुलु), निमा वाङगेल लामा, अन्जना चौधरी, लक्ष्मीमान चौधरी, कमलाकुमारी चौधरी, जेविका कार्की, तेजना पण्डित, बालिका शिवाकोटी, रमा लुइँटेल, सुशिला सङ्ग्रौला, माया अधिकारी, सुवासकुमार सुनुवार, रीताकुमारी मगर, कौरव खत्री, अप्सरा पुडासैनी, निलीमा पौडेल, आत्मा गुरागाइँ, कृष्णकुमारी ढकाल, पूजा शर्मा, सृजनाकुमारी गौतम, जमुना न्यूरे, निर्मला भट्ट र नारद कोहार निर्विरोध चयन भइसक्नुभएको छ । प्रेस युनियनको केन्द्रमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय लेखा समितिसमेत गरी १२० जनाको प्रतिनिधित्व रहनेगरी विधानमा व्यवस्था गरिएकामा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष १२, महासचिव एक, उपमहासचिव छ, सचिव १७, कोषाध्यक्ष एक र केन्द्रीय सदस्य ७६ जनासमेत गरी कूल ११५ जना रहने व्यवस्था छ । त्यस्तै, केन्द्रीय लेखा समिति संयोजक एक र सदस्य चारजना समेत गरी पाँच सदस्य रहने व्यवस्था छ । कूल १२० पदमध्ये ११८ पदका लागि उम्मेदवारी परेको थियो । मनोनयन दर्ता नभएको अल्पसङ्ख्यक महिला कोटाको केन्द्रीय सदस्य र उपत्यका महिला कोटाको केन्द्रीय सदस्य पद छन् । अल्पसङ्ख्यक महिला केन्द्रीय सदस्यतर्फ एक जनाको कोटामा कुनै पनि मनोनयन दर्ता भएन । उपत्यका प्रदेशको महिला केन्द्रीय सदस्यमा दुई जनाको कोटामा एक जनाको मात्रै मनोनयन दर्ता भएको थियो । बाँकी ८७ पदका लागि भने मतदान प्रक्रिया अगाडि बढेको छ ।

