स्याङ्जा : स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक वर्ष २०७८÷७९ मा दर्ता भएका ती मुद्दामध्ये तीन सय ७१ फछ्र्यौट भएका छन् । जिल्ला अदालतको स्रेष्तेदार विश्वप्रसाद रेग्मीका अनुसार ९० मुद्दा फछ्र्योट हुन बाँकी छन् । अदालतमा अन्य मुद्दाभन्दा तुलनात्मकरुपमा सम्बन्धविच्छेदका मुद्दा धेरै रहेका छन् । अघिल्लो आव २०७७/७८ मा तीन सय चार मुद्दा दर्ता भएकामा दुई सय ४० फछ्र्योट भएका थिए । सो आवका ६४ मुद्दा गत आव २०७८/७९ मा जिम्मेवारी सरेर आएको रेग्मीले जानकारी दिनुभयो । तुलनात्मकरुपमा पछिल्ला वर्षमा सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने क्रम बढ्दै गएको छ । “अन्यको तुलनामा जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढी दर्ता हुने गरेका छन्”, रेग्मीले भन्नुभयो, “यसको मुख्य कारण वैदेशिक रोजगारी र अन्य पारिवारिक समस्या हुन् ।” अदालतमा एकसय ३१ अंशबण्डाका मुद्दा दर्ता भएको कार्यालयका नायब सुब्बा एवं फिराद दर्ता शाखाका शोभाकान्त पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग, सञ्चारमाध्यम, आर्थिक अभाव, घरायसी समस्या, लागुऔषधले निम्त्याएको समस्या, घरेलु हिंसालगायतका कारणले सम्बन्धविच्छेदका घटना बढ्दै गएका छन् । “वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयोग तथा घरायसी समस्याका कारण सम्बन्धविच्छेदका घटना बढ्दै गएका छन्”, उहाँले भन्नुभयो, “सम्बन्धविच्छेदले पारिवारिक बेमेलसँगै बालबालिका अभिभावकविहीन बन्ने, संरक्षण नहँुदा बेसाहारा बन्ने समस्या देखिएका छन् ।” जिल्ला अदालतले आव २०७८/७९ मा ६३.११ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ ।
तनहुँ : तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन् । पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका डा. राजु रानाले जानकारी दिनुभयो । उहाँका अनुसार दमौली अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा पछिल्लो समय ज्वरो, टाईफाइड, निमोनिया लगायतका बिरामी अत्यधिक आउने गरेका छन् । बिहीबार इमर्जेन्सीमा चार र ओपिडीमा तीन जनामा डेङ्गुको लक्षण भेटिएको रानाले जानकारी दिनुभयो । एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, आँखाको गेडी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने र कमजोरी हुने डेङ्गुका मुख्य लक्षण हुन् । उहाँले भन्नुभयो, “बिरामीको अवस्था गम्भीर देखिएमात्रै अन्यत्र अस्पतालमा रिफर गरिनेछ ।” रिफर गर्नुअघि बिरामीको दैनिक कीट जाँचका लागि पोखरा वा काठमाडौँस्थित टेकु अस्पतालमा पठाउने गरिएको रानाले बताउनुभयो । लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा साँझमा बाहिर ननिस्कने, शरीर ढाक्ने गरी लुगा लगाउन तथा सुत्ने समयमा झुलको प्रयोग गर्न चिकित्सकको सुझाव छ । झोलिलो र तागतिला खानेकुरा खान पनि चिकित्सकले सुझाव दिएका छन् ।
वीरगन्ज ः पर्सा प्रहरीले जंगलमा एक युवतीको शव जलाएको अवस्थामा फेला पारेको छ। पर्साको जिराभवानी गाउँपालिका १, भवानीपुरका खेमराज दासकी छोरी २० वर्षीया सीमा कुमारीको शव गाउँ नजिकैको जंगलमा जलाएको अवस्थामा प्रहरीले फेला पारेको हो। प्रहरीले मृतककी आमालाई नियन्त्रणमा लिएको छ। उनका बुबा खेमराजसहित परिवारका अन्य सदस्य फरार भएका छन्। माँ जगदम्बा सामुदायिक वनमा परिवारका सदस्यले बुधबार राति युवतीलाई जलाएको सूचना बिहीबार बिहान प्रहरीलाई गाउँलेले दिएपछि प्रहरी घटनास्थलमा गएको प्रहरी नायव उपरीक्षक प्रहलाद कार्कीले बताए। त्यही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी टोली शव जलाएको स्थानमा पुगेको थियो। घटनास्थलबाट जलिसकेको शवका अवशेषहरू संकलन गरी पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए। मृतककी आमालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको र परिवारका अन्य सदस्यहरूको खोजी भइरहेको कार्कीले बताए। घटना के हो : मृतक युवतीका छिमेकीका अनुसार सीमा र गाउँकै यादव थरका एक युवकबीच केही समयदेखि प्रेम सम्बन्ध थियो। एक हप्ता पहिले दुवै बिहे गर्नका लागि घर छाडेर भागेका थिए। त्यसपछि युवतीका अभिभावकले सम्झाइबुझाइ गरी सीमालाई घर फर्काएका थिए। घरमा ल्याएदेखि नै उनीहरूले सीमालाई मानसिक र शारीरिक यातना दिँदै आएका थिए। बुधबार राति सीमालाई उनका अभिभावकले निर्घात कुटपिट पनि गरेको छिमेकीहरूले बताएका छन्। प्रहरीका अनुसार मृतककी आमाले छोरीले घरमै पासो लगाएर आत्महत्या गरेकाले प्रहरीको डरले आफूहरूले कसैलाई थाहा नदिई जंगलमा लगेर शव जलाएको बयान दिएकी छिन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
पोखरा : पोखरा महानगरपालिका-२६ मा यस वर्ष लगाइएको चैते धान दोब्बरभन्दा बढी फलेको छ । चैते धानतर्फ किसानलाई प्रोत्साहन गरी अनुदान सहयोगसमेत गरिएकोमा विगतमा प्रति रोपनी दुईदेखि तीन मुरी फल्ने चैते धान अहिले भने सात/आठ मुरीसम्म फलेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । यसवर्ष बाली विकास कार्यक्रम(धान उत्पादन प्रवद्र्धन कार्यक्रम) अन्तर्गत पोखरा-२६ मा ५० प्रतिशत अनुदानमा चैते धानको बीउ वितरण गरिएको थियो । त्यस अन्तर्गत दुई हजार ३० किलोग्राम बीउका लागि कृषि महाशाखाका तर्फबाट रु ८१ हजार दुई सय उपलब्ध गराइएको थियो भने किसानका तर्फबाट (५० प्रतिशत सहभागिता) गरी कूल रु एक लाख ६२ हजार चार सय लगानी गरिएको थियो । त्यस्तै महाशाखाले क्षेत्रफल विस्तारमा प्रोत्साहन सहयोगवापत प्रति रोपनी रु नौ सयका दरले छ सय १५ रोपनीको रु पाँच लाख ५३ हजार पाँच सय अनुदान सहयोग उपलब्ध गराएको कडरियाले जानकारी दिनुभयो । महाशाखाले त्रिपाल खरिदमा ५० प्रतिशत अनुदान सहयोगबापत ४२ वटा त्रिपाल खरिदका लागि रु ५३ हजार नौ सय ९४ अनुदान सहयोग र ५० प्रतिशत स्थानीय सहभागिता समेतमा सो खरिदका लागि रु एक लाख सात हजार नौ सय ८८ लगानी गरिएको थियो । त्यस्तै डिजिटल तराजु खरिदमा ५० प्रतिशत अनुदान प्रदान गरी तीनवटा तराजुका लागि रु १५ हजार महाशाखाबाट र ५० प्रतिशत स्थानीय सहभागिता गरी रु ३० हजार लगानी गरिएको थियो । लगानीअनुसार प्रतिफल राम्रो आएसँगै चैते धानतर्फ आगामी दिनमा किसानको आकर्षण बढ्ने विश्वास गरिएको छ । यस वर्ष किसानले चैते धान रु ६५ लाख बराबरको उत्पादन गरेको कडरियाले जानकारी दिनुभयो । महाशाखाले चैते धानमा सञ्चालित एकीकृत शत्रुजित व्यवस्थापन(आइपिएम) पाठशालाको अध्ययनबाट धानको जातीय परीक्षणमा चैते-५ को उत्पादन प्रति हेक्टर सात टन देखिएको छ । त्यस्तै चैते स्थानीय उत्पादनप्रति हेक्टर तीन टन, चैते सानो उत्पादनप्रति हेक्टर दुई दशमलव आठ टन, चैते ठूलो उत्पादनप्रति हेक्टर तीन टन उत्पादन भएको छ । अध्ययनबाट पराललगायत अन्य सबै कारणले किसानले चैते-५ मनपराएको उहाँले बताउनुभयो ।
पोखरा : नेपाली चलचित्र प्रकाश समाजको यथार्थप्रदक कथा भएका नायक प्रदीप खड्काले बताएका छन् । फिल्म प्रोमोशनका लागि पोखरा आएका खड्काले यस्तो बताएका हुन् । बिहिबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खड्काले प्रकाशले आफुलाई कलाकार बनाएको अभिव्यक्ति दिए । उनले चलचित्र प्रकाशमा आफु संलग्न हुन पाउँदा खुशी लागेको बताए । ‘चलचित्र प्रकाश समाजको यथार्थ प्रदक कथा हो । यो फिल्ममा मुख्य भूमिकामा आफुले अभिनय गर्न पाउँदा खुशी लागेको छ ।’ उनले चलचित्र जुम्लामा छायाँकन गरिएको भएता पनि नेपालका हरेक ठाउँको समस्यालाई कथामा दर्शाउन खोजिएको बताए । चलचित्रलाई सफल बनाउन पोखराले सहयोग गर्नेमा उनी आशावादी देखिन्छन् । चलचित्रमा जुम्लाको गरिब परिवारको एक सदस्यले आफ्नो सपना पुरा गर्न गर्नुपर्ने विविध संघर्षको कथालाई प्रस्तुत गर्न खोजिएको उनले बताए । चलचित्रका निर्देशक दिनेश राउतैले ‘प्रसाद’ पश्चात लामो समयको अन्तरालमा ‘प्रकाश’ निर्देशन गरेको जानकारी गराए । आफु राम्रो कथाको खोजीमा रहेको र चाहे जस्तो कथा पाएकाले पनि ‘प्रकाश’ निर्देशनका लागि तयार भएको उनले बताए । समाजको यथार्थप्रदक कथालाई समेत व्यवसायिकीकरण गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । नायिका दिया मास्केले कुनै पनि सक्सेस पुरुषको पछाडि महिलाको हात हुन्छ भन्ने सन्देश आफ्नो भूमिका मार्फत प्रस्तुत गर्न खोजिएको बताइन् । उनले पोखरा आफ्नो घर भएकाले पनि पोखराबाट माया मिल्नेमा आशावादी रहेको बताइन् । चलचित्र लेखक विकास सुवेदीले आफु पत्रकारिता क्षेत्र हुँदै चलचित्रमा प्रवेश गरेको बताए । उनले पत्रकारिता गर्दा समाजमा थुप्रै समस्या देखेको र सोहि समस्यालाई लिएर चलचित्रमा उतारिएको जानकारी गराए । उनले चलचित्र एक गरिब परिवारमा जन्मेको व्यक्तिले शिक्षक बन्न गर्नुपरेको संघर्षलाई चलचित्रम , प्रस्तुत गर्न खोजिएको बताए । उनले ‘प्रकाश’ सबैको कथा भएको उल्लेख गरे । जीवन संघर्षको पहाड भएको विषयलाई समेत चलचित्रले प्रष्ट पार्न खोजेको तर्क उनको छ । २ करोडमा चलचित्रको निर्माण भएको जानकारी उनले गराए । चलचित्रमा प्रकाश घिमिरे, राजन खतिवडा लगायतको कलाकारको अभिनय रहेको छ । भदौ १० बाट प्रदर्शनमा आउने चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् । चलचित्र बिनिस इन्टरटेन्मेन्ट ब्यानरमा निर्माण भएको हो ।
डोटी : दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन गरेको नगरबसमा यात्रा गर्ने पत्रकार, ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशतसम्म भाडा छुट दिने निर्णय गरेको छ । नगरबसमा यात्रा गर्ने ६८ वर्षमाथिका पालिकाले वितरण गरेको क, ख र ग वर्गमा परेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, पत्रकार र विद्यार्थीलाई तोकिएको भाडादरमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । नगरबसमा छुट सुविधा लिने व्यक्तिले यात्रा गर्दा आफ्नो परिचयपत्र अनिवार्य देखाउनुपर्ने नगरप्रमुख बाजीसिंह खड्काले जानकारी दिनुभयो । नगरपालिकाले नगरबसमा यात्रा गर्नेलाई ५० प्रतिशत छुट दिने निर्णय गरेपछि यहाँका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्थी निकै खुसी भएका छन् ।
पोखरा: पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको आवागमन तथा यातायातमा पहुँच वृद्धि गर्ने उद्देश्यले स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) लाई गाडी हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङ्ले एक कार्यक्रमका बिच केन्द्रका अध्यक्ष हेम गुरुङलाई सो गाडी हस्तान्तरण गर्नुभएको हो । सो क्रममा प्रमुख आचार्यले विभिन्न कारणले शारीरिक, मानसिक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको जिवन सरल बनाउने कार्यमा यसले सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्थानिय सरकार हरेक नागरिकहरुको साथमा रहेको उल्लेख गर्दै प्रमुख आचार्यले गाडिको सदुपयोगतामा जोड दिनुभयो । स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) का अध्यक्ष हेम गुरुङले अति र पुर्ण अपाङ्गता भएका व्यक्तिहरुका लागि सार्वजनिक यातायात पहुँचयुक्त नभएका बेला पोखरा महानगरपालिकाले उपलब्ध गराएको उक्त गाडिलाई पुर्ण सहदुपयोग गर्ने बताउनुभयो । उहाँका अनुसार गाडिको पछाडी पट्टी लिफ्ट समेत जडान गरि अति र पुर्ण अपाङ्गता भएका व्यक्तिको पहुँच विस्तार गरिने छ । महानगरपालिकाले १८ सिट क्षमताको एउटा विङ्गर गाडी हस्तान्तरण गरेको हो ।
पोखरा: पोल्याण्डका राजदुत आदम बुवास्कीले आज बिहिबार पोखरा अन्तरराष्ट्रिय संग्रहालयको अवलोकन गरेका छन् । पर्यटकीय नगरी पोखरा आएको सन्दर्भमा राजदुत बुवास्कीले पोखरा १७ घारिपाटनस्थित अन्तरराष्ट्रिय संग्रहालयको अवलोकन गरेका हुन् । उनलाई संग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले स्वागत गरिन् । बुवास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग बिहिबार बेलुकी औपचारिक भेटवार्ता गर्ने बताइएको छ ।
पोखरा: यातायात व्यवस्था कार्यालय सवारी, कास्कीले अघिल्लो आर्थिक वर्षको वक्यौता कर तथा जरिवाना अर्को सुचना प्रकाशन नभएसम्म नउठाउने स्पष्ट पारेको छ । कार्यालयले सुचना जारी गर्दै अर्को सुचना प्रकाशन नभएसम्म बक्यौता कर तथा जरिवाना संकलन नगर्ने बताएको हो । कार्यालय प्रमुख डिल्लीराम रिज्यालले प्रदेश सरकारले २ सय प्रतिशत उठाउँदैं आएको कर तथा जरिवानालाई घटाएको बताउदै सरकारको परिपत्र नआएसम्म सवारी कर तथा जरिवाना संकलन नगर्ने बताए । गत आर्थिक वर्ष २०७८÷०७९ मा सवारी साधन कर जरिवाना सम्बन्धमा नागरिकस्तरबाट गुनासो आएकाले गत आर्थिक वर्ष ०७८÷०८९ र सो अगाडिका आर्थिक वर्षहरुका तिर्नुपर्ने वक्यौता कर तथा जरिवाना अर्को सुचना प्रकाशन भएपछि मात्रै उठाउन सुुरु गरिने बताइएको छ । सवारी कर अब २० प्रतिशत मात्रै गण्डकी प्रदेश सरकारले सवारी साधनको कर २ सय प्रतिशतबाट घटाएर २० प्रतिशत मात्रै उठाउने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीको अध्यक्षतामा बुधबार बसेको आकस्मिक बैठकबाट उक्त निर्णय गरेको हो । यही साउनको १ गतेबाट यातायात व्यवस्था कार्यालय कास्कीले प्रदेश सरकारको परिपत्र अनुसार २ सय प्रतिशत सवारी करको जरिवाना असुल्दै आएको थियो । चौतर्फी विरोधभएपछि उक्त निर्णय फिर्ता लिएको हो । सो समयमा म्याद सकिएको अर्को दिनमै २ सय प्रतिशत शुल्क असुलेको थियो । अब पहिलेजस्तै सेवाग्राहीले ९० दिनको थप समय पाउँनेछन् । निर्णय भैसकेपनि कार्यान्वयन हुनका लागि संशोधन भएको निर्णय राजपत्रमा प्रकाशित हुनुपर्ने प्रावधान रहन्छ । यथाशिघ्र राजपत्रमा प्रकाशन गरिने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ ।

