‘असार १५ दही(चिउरा खानू, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खीर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ । यसको साँस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि ठूलो छ । हुन त साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा रहेको छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषकहरुले धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद्हरु बताउछन् । साउन महिना वर्षात समय भयकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दुधबाट बनेको पोषिलो खीर खाने गरिन्छ । खीरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि यो खाने प्रचलन बसेको बुझ्न सकिन्छ । बर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ, संक्रमणबाट बच्न खीर खाने गरेको पाइन्छ । नेपालमा मात्रै होइन भारतमा पनि साउन महिनामा खीर खाएमा धेरै शुभ हुने मान्यता रहेको छ। साउन महिनाको सुरुवातमा मासुभन्दा पहिले दुधको परिकार खानुपर्छ भनेर नेपालीहरूले साउने संक्रान्तिमा खीर खाने गर्दछन् । हिन्दू धर्मावलम्वीहरुका लागि साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा-मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् । गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पोषिला परिकारहरू, खासगरी खीर खाने चलन छ । यससँगै मौसमी फलफूल र मसला पनि खाने गरिन्छ । सनातन वैदिक सभ्यताअनुसार पूजाआजा तथा शुभकार्यमा खीरलाई प्रसादका रुपमा लिइन्छ । पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खीरको पोषिलो परिकार बनाई खाने चलन रहेको छ । दूध, घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि समेत खीर खाने चलन रहेको जानकारहरु बताउँछन् । असार १५ भित्र खेतिपातिको काम सकेर फुर्सदिलो हुने भएकाले किसाहरुले खीर खाने गरेको भन्ने भनाइ पनि छ। तर पछिल्लो समय खीर सबैको रोजाइमा पर्ने गरेको छ। असारको झरीमा रुझेको शरीरलाई शक्ति दिन खीर खाने गरेको किसान बताउँछन्। आवश्यक सामग्री -चामल - दूध - काजु - किसमिस -बदाम - मरिचको दूलो - चिनी पकाउने विधि सबैभन्दा पहिले कतिजनालाई खीर पकाउने हो त्यहीअनुसार चामल पानीमा भिजाउने। चामललाई करिब २र३ घन्टा पानीमा भिजाउनुपर्छ। माथि तयार पारिएका मसलाहरूलाई घिउमा हल्का रातो हुनेगरी भुट्नुपर्छ। अब खीर पकाउने भाँडो चुलोमा बसाल्ने। त्यसमा आवश्यकताअनुसार घिउ राख्ने। घिउ तातिसकेपछि त्यसमा भिजाएको चामल हल्का रातो हुनेगरी भुट्ने। चामल भुटिइसकेपछि त्यसमा दूध राख्ने। आगो सानो बनाउने। पटक पटक चलाइरहने। चामल पाकिसकेपछि तयार पारेको मसला र स्वादअनुसार चिनी राख्ने। सबै मरमसला राखेर खीर राम्रोसँग चलाउने। यसरी तयार पारेको खीर तरकारी र अचारसँग खाँदाको मज्जा नै बेग्लै हुन्छ। अझ जाँगर छ भने खीरसँगै पुरी पनि बनाएर खान सकिन्छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले नागरिक विधेयकको विरोध गर्दैै पोखरामा सांकेतिक रुपमा चक्काजाम र विरोधसभा गरेको छ । राप्रपा कास्कीले सडकमा चक्काजाम गर्दैमा जनताले दुःख पाउने भएकाले नागरिकलाई कुनै दुःख दिन नचाहने भन्दै १५ मिनेटमात्र चक्काजाम गरेको जनाएको छ । पृथ्वीचोकमा आयोजित कोणसभामा बोल्दै राप्रपाका केन्द्रिय सदस्य जयबहादुर पुनले एमाले कांग्रेस माओवादीले देशको अर्थतन्त्र धरायसी बनाएको आरोप लगाए । उनले भने, ‘आजबाट राप्रपा सडक आन्दोलनमा छ नेपालमा संघीयता खारेज नभएसम्म निरन्तर आन्दोलनमा रहन्छौ ।’ केन्द्रिय सदस्य पुनले देश श्रीलंका जस्तै हुन लागेकाले अव देश विकासका लागि एमाले कांगे्रस माओवादी होइन, आम नेपाली भएर अगाडी बढे मात्र देश विकास सम्भव हुने धारणा राखे । राप्रपाले देशमा एमसीसी, एसपीपी पास भए देश युक्र्रेन बन्ने भएकाले सरकारले तत्काल खारेज गर्नुुपर्ने माग राखेको छ । हालै प्रतिनिधि सभाबाट पास भएको नागरिक विद्येयकले देशका लागि भन्दा पनि विदेशीको लागि फाइदा पु¥याएको राप्रपाको आरोप छ । देशमा जन्मसिद्ध नागरिकता पाउने अधिकार भएको र विदेशीलाई स्वदेशमा व्यापार व्यवसाय गर्न अगिकृत नागरिकता दिने व्यवस्था भएको तर देश सञ्चालन गर्ने अधिकार नभएको राप्रपाका केन्द्रिय सदस्य पुनको धारणा छ । राप्रपा कास्कीले हालै प्रतिनिधि सभाबाट पारित भएको नागरिक विधेयक खारेज हुनपर्ने, एमसीसी, एसपीपी, र संघियता खारेजी लगायतका २२ बुदे माग राख्दै सडक आन्दोलनमा उत्रिएको हो । सडक आन्दोलनमा ‘गणतन्त्र मुर्दावाद’, ‘नागरिक विधेयक खारेज गर’लगायतका नारा लगाउँदै पृथ्वीचोकमा १५ मिनेट चक्काजाम गरेका थिए ।
नार्पा भूमि गाउँपालिकामा बुद्धको त्रिमूर्ति निर्माण गरिने भएको छ । गाउँपालिकाले गुरुङ जातिको संस्कृति संरक्षण गर्ने उद्देश्यले बुद्धको त्रिमूर्ति निर्माण गर्न लागेको हो । नार्पा भूमिको मेता, च्याखु र नारगाउँमा बुद्धको त्रिमूर्ति निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष कोञ्जो तेञ्जिङ लामाले जानकारी दिनुभयो । उहाँका अनुसार तीन स्थानमा गुरु रिम्बोछे, छेरेसिक, तुम्बा बुद्ध गरी त्रिमूर्ति निर्माण गरिनेछ । मनाङमा विशेष गरी गुरुङ जाति तथा बौद्ध धर्मावलम्बीको बसोबास रहेकाले धर्म र संस्कृतिको संरक्षणमा गाउँपालिकाले योजनाअनुरुप त्रिमूर्ति निर्माण गर्न लागेकोे उहाँले बताउनुभयो । तीन स्थानमा त्रिमूर्ति निर्माणका लागि गाउँपालिकाले रु २० लाखका दरले बजेट विनियोजन गरेकोे उहाँको भनाइ थियो । बौद्ध धर्मावलम्बीको संस्कार र संस्कृति संरक्षणका लागि गुरुरिम्बोछे, छेरेसिक, तुम्बा बुद्धको मूर्ति निर्माणका लागि माग भएअनुरुप नै प्राथमिकतामा राखेर बजेटको व्यवस्थापन गरिएको बताइएको छ । उनीहरुको धार्मिक कार्यका लागि टाढाका बौद्ध गुम्बासम्म पुग्नुपर्ने भएकाले त्यसलाई सहज बनाइनाका साथै संरक्षण गर्न पनि प्रोत्साहन मिल्नेछ । उनीहरुले इच्छाएको स्थानमा गुरुरिम्बोछे, छेरेसिक, तुम्बा बुद्धको मूर्ति बन्ने भएपछि उक्त क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् । मूर्ति निर्माणले संस्कृति संरक्षणमा चासो दिएको भन्दै स्थानीयवासीले स्थानीय सरकार घरघरमा आइपुगेको महसुस भएको बताए ।
दक्षिण एशियाली मुलुकका पत्रकारको संस्था सार्क पत्रकार मञ्च (एसजेएफ) को ३५ सदस्यीय नेपाल शाखा विस्तार भएको छ । मञ्चको केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष राजु लामा र महासचिव मोहम्मद अब्दुर रहमानले आज विज्ञप्ति गरी समितिमा रहने सदस्यहरुको सूची सार्वजनिक गर्नुभएको हो । राष्ट्रिय समाचार समिति (रासस)का प्रकाश सिलवालको संयोजकत्वमा गठित समितिमा अनन्त सुवेदी, विजय दिमदोङ, चिरञ्जीवी अधिकारी, दिपक श्रेष्ठ, दीपेन्द्र प्रजापति, गोपाल सङ्ग्रौला, हेमराज ढकाल, इफ्रान बाबु, जीवन पराजुली, करण ताम्राकार, कौशल घिमिरे, कमल राना, कविता थापा, लक्की चौधरी, लव प्याकुरेल र माधवप्रसाद तिवारी रहनुभएको छ । यस्तै नृपेन्द्रलाल श्रेष्ठ, पुष्पा अधिकारी, प्रकाश पण्डित, रुद्रश्रीस मगर, रञ्जित तामाङ, रवीन्द्र काफ्ले, रत्नकाजी महर्जन, सुरेन्द्रभक्त श्रेष्ठ, सुनील महर्जन, सुनील आचार्य, सामना वियोगी, टेकेन्द्र बहादुर महत, उद्धवकुमार कार्की, उत्तम श्रेष्ठ र यमन दनुवार सदस्य रहनुभएको छ । समितिका सदस्यको पहिलो बैठकले आफ्नो कार्य योेजना र पदाधिकारी तय गर्नेछ । सार्क क्षेत्रमा व्यावसायिक पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको पेशागत हक, अधिकारका लागि सन् २०१९ मा भारतमा स्थापित सो मञ्चले अन्तर्राष्ट्रियस्तरमा पत्रकारिताको गुणस्तर र पहुँचलाई सुदृढ पार्नु पनि उद्देश्य रहेको छ । सङ्गठनको हालसम्म दक्षिण एशियाका मुलुकका शाखा विस्तार भइसकेको छ भने हाल यसको मुख्यालय नेपालमा रहेको छ । दक्षिण एशियामा व्यावसायिक पत्रकारिताको विकास र प्रववद्र्धन गर्न, पत्रकारको जीवनस्तर उठाउन, सार्क राष्ट्रहरुका पत्रकारबीच आपसी विश्वास, एकार्काको समस्यालाई बुझ्न र मूल्याङ्कन गर्न मञ्चले भूमिका निर्वाह गर्नेछ । मञ्चलाई दक्षिण एशियाली सदस्य राष्ट्रको पत्रकारले क्षेत्रीय पत्रकार निकायका रूपमा मान्यता दिइएको छ । यस क्षेत्रमा पत्रकारिताको प्रवद्र्धन, विकास, विस्तार, नीतिगत सुधार र सार्क राष्ट्रमा पत्रकारिता क्षेत्रका साझा उद्देश्य हासिल गर्न मञ्चले काम गर्नेछ ।
टीकापुर : अघिल्लो वर्ष बेमौसमी वर्षापछि आएको बाढीमा धान बाली गुमाएका कैलालीका किसानले यस वर्ष छिटुवा धान खेती गरेका छन् । बाढीले धान खेती भित्र्याउन नपाएका किसानले यस वर्ष लगानी खेर नफाल्ने भन्दै छिटुवा धान खेती गरेका हुन् । टीकापुर नगरपालिका-८ की भुन्टी साउदको १ बिघा जमीनमा छिटुवा धान खेती गरिएको छ । भुन्टीको परिवारले गत वर्ष बाढीले बगाएकाले आफ्नो खेतको धान देख्न पनि पाएनन् । पाकेको सबै धान सबै बाढीले बगाएपछि भुन्टीको परिवारले यस वर्ष खेत रोप्ने आँटै गरेन । उनीहरुले भए खाउला नभए खेती गर्ने रकमले अन्न किनौँला भनेर छिटुवा धान खेती गरे । “धान खेतीमा गरिएको लगानी पोहोर बाढीमा मिसियो, मेहनत, लगानी सबै पानीमा बगेपछि यस वर्ष खेती गर्ने मन लागेन”, भुन्टी भन्नुहुन्छ, “खेती गर्न धेरै खर्च लाग्छ, पूरा परिवार खेतमै जोतिनुपर्छ । त्यसैले बीउमात्र भए पुग्ने भएकाले धान छरेका हौँ ।” धान रोप्नुको सट्टा उनीहरुको उम्रिएको धान पानी नपाएर सुकेर बिग्रियो । लामो समयसम्म वर्षा नभएपछि उम्रेको धान सुक्यो । “असार महिनाभरि पानी परेन, धान सुकेपछि त्यसैमा मास खेती गरेकी छु”, भुन्टीले भन्नुभयो, “भए खाउला, नभए अब के गर्नु रु खेतीकै भरमा बाँचेका हामी अब यहाँबाट विस्थापित हुनुपर्ने अवस्था आउँदैछ ।” टीकापुर–८ कै मञ्जु साउँदको परिवारले पनि डेढ विघा जमीनमा धान छरेको छ । उनीहरुको समस्या पनि यस्तै हो । बाढीको त्रासले मञ्जुको परिवारले पनि खेती गर्ने हिम्मत गरेन । “डेढ बिघा खेतमा धान खेती गर्न लाखौँ खर्च हुन्छ, खर्च गरेर उत्पादन भित्र्याउने ग्यारेन्टी छैन”, मञ्जुले भन्नुभयो, “हामीमात्र होइन हाम्रा अन्य छिमेकीले पनि यस वर्ष खेती गरेनौँ ।” बीउ राख्ने, खेत जोत्ने काम गर्नुभन्दा धान छर्नु उत्तम रहेको भन्दै किसानले यस वर्ष छिटुवा धान लगाएका स्थानीय श्यामलाल चौधरीले बताउनुभयो । “गत वर्ष सयौँ किसानको पाकेको धान बाढीले बगायो, यस वर्ष धान खेती गर्न लगानी नगर्ने सोच बनायौँ”, उहाँले भन्नुभयो, “मैले साढे चार बिघामा धान छरेको छु, भए हुन्छ नभए पनि कम लगानी खेर जान्छ । यस्तो महँगो बीउ, मल, जोताइमा के खर्च गर्नु रु बाढीको भर छैन ।” चौधरीले जस्तै अन्य किसानले समेत यस वर्ष लगानी खेर जाने डरले धान रोपाइँ गरेका छैनन् । स्थानीय शेरबहादुर साउद ८ नं वडामा करिब डेढ सय बिघा जमिनमा छिटुवा धान खेती गरिएको बताउनुहुन्छ । “नदी नियन्त्रणको काम भएको छैन, बढी वर्षा भएमा नदी बस्तीमा पस्छ, खेतीमात्र होइन मानिसकै बिचल्ली हुन्छ”, साउदले भन्नुभयो, “त्यसैले यहाँका अधिकांशले खेती गरेनन् । खेत भएर पनि यहाँका नागरिकलाई भोकमरीको समस्या हुने अवस्था आएको छ ।” टीकापुर-८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला बाढी, कटान र डुवानको समस्या विसं २०३५ देखिकै समस्या रहेको बताउनुहुन्छ । “बाढी र नदी कटानकै कारण साविक धनसिंहपुर गाविसको ९ नं वडा छैन, १ नं वडामा नदी बगिरहेको छ । जुन अहिलेको ८ नं वडामा पर्छ”, उहाँले भन्नुभयो, “नदी कैलालीतर्फ धार परिवर्तन गरेर बगिरहेकाले हामीले रोक्न सक्ने अवस्था छैन । गत वर्ष कात्तिकमा आएको बाढीले ९५ प्रतिशत किसानको धान खेती बग्यो ।” उहाँले सङ्घर्ष समिति बनाएर नदी नियन्त्रणका लागि दबाब दिने काम गरिरहेको, स्थानीय सरकारले गर्न सक्ने अवस्था नभएको भए पनि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले नियन्त्रणको काम गरिरहेको बताउनुभयो । “खेती लगाउने, बगेर जाने समस्याले किसान पीडामा रहेका, खेतीप्रति आकर्षित नभएको अवस्था छ । अहिले एक सातादेखि वर्षा भइरहेकाले छिटेको धान पनि डुबेको अवस्था छ”, उहाँले भन्नुभयो, “हामीले आवश्यक बीउ, मलजस्ता कार्यमा सघाउँदै आएका छौँ । प्रविधिका लागि सिँचाइ आयोजनाले सघाइरहेको छ ।”
टारी खेतबाहेक तनहुँका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ । तनहुँमा यस वर्ष ८० प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको छ । असारमा राम्रै वर्षा भएकाले टारी खेतबाहेक अन्य क्षेत्रमा रोपाइँ भएको हो । जिल्लामा सिँचाइ सुविधा पुगेका अधिकांश स्थानमा रोपाइँ भए पनि लामो समय बर्सात नहुँदा टारी खेतमा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । यस वर्ष किसानले युरिया र डिएपी मलको प्रयोगबिना नै धान रोप्न बाध्य भएका छन् । अवैधरुपमा व्यापारीले ल्याएका मल सीमित किसानले चर्को मूल्य तिरेर भए पनि खेतमा प्रयोग गरेका थिए । जिल्लामा मलको आपूर्ति ठप्प भएपछि वैकल्पिक उपाय अवलम्बन गर्न सुझाव दिएको केन्द्रका प्रमुख तिवारीले बताउनुभयो । किसानले खेत रोप्ने समयमा मल नपाएपछि धान उत्पादनमा कमी आउन सक्ने देखिएको छ । अहिले अधिकांश किसानले उन्नत जातको बीउ प्रयोग गर्ने हुँदा रासायनिक मलको आवश्यकता पर्ने उहाँले बताउनुभयो । तनहुँमा गत फागुनदेखि नै युरिया मलको मौज्दात सकिएको कृषि सामग्री संस्थान दमौलीले जनाएको छ । तनहुँ र लमजुङका कृषकका लागि मल उपलब्ध गराउँदै आएको संस्थानमा डिएपी मलको मौज्दात नभएको संस्थानका प्रमुख दिनेश शर्माले जानकारी दिनुभयो । अहिले संस्थानसँग ४५ टन पोटासबाहेक अन्य मल छैन । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय बजारमा मल उत्पादनमा कमी आउनु र मूल्यमा अत्यधिक वृद्धि हुँदा किसान मारमा परेका छन् ।” जिल्लामा एक हजार टन युरिया र छ सय टन डिएपी मल यस मौसममा आवश्यक पर्ने सो संस्थानले जनाएको छ ।
बागलुङ कारागारमा नेपाल लाइब्रेरी फाउण्डेसन र अन्तर्राष्ट्रिय बागलुङ समाज मिलेर पुस्तकालय स्थापना गराएका छन् । गण्डकी प्रदेशका पर्यटन मन्त्री मणीभन्द्र शर्मा कंडेलले शुक्रबार एक कार्यक्रमका बीच पुस्तकालयको शुभारम्भ गरे । मन्त्री कंडेलले कारागारमा बस्ने कैदीबन्दीलाई सुधार्ने लक्ष्यले पुस्तकालय स्थापना भएको बताए । पुस्तक पढेर कैदीबन्दीले मानव जीवन सुधारको बाटो खोज्नुपर्नेमा उनेको जोड छ । कार्यक्रममा नेपाल लाइब्रेरी फाउण्डेसनका महासचिव धनकुमार श्रेष्ठले अब हरेक नागरिकले पढ्ने लेख्ने अधिकार पाउनुपर्ने भन्दै पुस्तकालयको प्रयोगले आफ्नो क्षमता बढाएर जेल पछिको जीवन सहज बनाउन आग्रह पनि गरे । उक्त कार्यक्रममा सहभागि भएका अन्तराष्ट्रिय बागलुङ समाजका अध्यक्ष रमेश भट्टले कारागारहरु अब सजाय गृह नभइ सुधार गृह बन्नुपर्ने बताए । उनले परिबन्धले परेकाहरुले पनि आफूलाई संहालेर अध्ययनशिल बनाउन आग्रह गरे । जेल जीवन बिताएर घर फर्केपछि आफ्नो क्षमता बढाएर कृषि कर्म गर्नेदेखि अन्य क्रियाकलाप गर्न सकुन भनेर सोही प्रकृतिका ७ सय पुस्तकसहितको पुस्तकालय बनाइएको उनले जानकारी दिए । बागलुङ कारागारमा ५० जनाको क्षमता भएको पुरुष खाना तर्फ १ सय ६२ जना र २० जनाको क्षमता भएको महिला खाना तर्फ ९ जना महिला र २ बालक गरी ११ जना रहेका छन् । फाउण्डेसनले भने पुस्तकालयको क्षमता बढाएर लैजाने लक्ष्य समेत बनाएको बताइएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मिति पक्कापक्की भएको बताएका छन्। शुक्रबार काठमाडौंको थापा गाँउमा आयोजित प्रेस युनियनका निर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रममा उनले मंसिर ४ का लागि औपचारिक रुपमा निर्वाचनको मिति घोषणा गर्ने तयारी रहेको बताएका हुन्। ‘मंसिर ४ मा त निर्वाचनको मिति पक्काकक्की छ। औपचारीक रुपमा घोषणा नै हुँदैछ,’ उनले भने। कार्यक्रममा बोल्दै उनले युनियनको अधिवेशन हुन्न कि भन्ने रहेपनि सफलतापूर्वक सम्पन्न भएको बताए । युनियनको निर्वाचित कार्यसमितिलाई पार्टीको विचारलाई जनतामाझ पु¥याउने जिम्मेवारी रहेको उनको भनाइ थियो । ‘निर्वाचनमा हारजित ठूलो कुरा होइन। निर्वाचनमा कांग्रेसको नीति र विचारलाई संप्रेषण गर्ने जिम्मा यो कार्यसमितिलाई छ’, उनले भने ।
पोखरा: महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई अमेरिकामा हवाई जहाज सहयोग गरिएको छ । मनोरञ्जनको लागि पर्यटकहरु उडाउन र पाइलट ट्रेनिङ्गमा प्रयोग गर्न सकिने साना प्रकारका जहाज दान गरिएको केन्द्रका अध्यक्ष पुनले आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरेका छन् । उनले १० वटा बक्सहरुमा सो जहाजको सामान अट्ने भन्दै नेपाल ल्याएर जोडेर उडाउन मिल्ने बताएका छन् । उनका अनुसार सानो जहाजमा २ जना र ठुलोमा ८ जनासम्म मान्छेहरु अटनेछन् । उक्त पार्ट्सहरु नेपाल पुगेपछि जोड्नलाई ईन्जिनियर र उडान सिकाउन पाइलटहरु अमेरिकाबाट निःशुल्क रुपमा सहयोग गर्न आउने समेत उनले बताए । अमेरिका रहेका उनी लस एन्जेलस नजिकैको एउटा नगरपालिकाको एअरपोर्टमा अध्ययन भ्रमण गरेको भिडियो फेसबुकमा सार्वजनिक समेत गरेका थिए । जुन एअरपोर्टमा नेपाली मुलका अनिश प्रधानको एयरक्राफ्ट वर्क कम्पनी सञ्चालनमा छ । नेपालको प्रयोगविहीन र थन्किएर रहेको कुनै एउटा एअरपोर्ट नेपाल सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएमा एयरक्राफ्ट ईन्जिनियरिङ र पाईलट ट्रेनिङ सम्बन्धी सेन्टर सञ्चालन गर्न सकिने ठूलो सम्भावना रहेको पुनले बताए । उनले सहयोग पाएका जहाज नेपाल भित्राउन र उडान अनुमतिमा सहजिकरण गर्न सरकारलाई आग्रह गरेका छन् ।

