पोखरा । पोखरा महानगरपालिका १३ का वडाध्यक्ष किरण बरालले डुबानमा परेको कमलपोखरीका बासिन्दालाई नआत्तिन आग्रह गरेका छन् । उनले बिस्तारै पानीको सतह कम भएको बताउदै स्थानीयलाई नआत्तिन आग्रह गरेका हुन् । करिब सय बढि घर डुबानमा परेपछि स्थानीयको दैनिकीमा प्रभाव परेको बताउँदै निकासको लागि पहल गरिरहेको उनले बताए । ‘हामीले निरन्तर जाली सफा गरिरहेका छौ, उनले सुनगाभा न्यूजसँग भने, ‘अहिले पानीको सतह केही कम भएको छ । आत्तिनु पर्ने कुनै अवस्था छैन ।’ सो क्षेत्र डुबानमा परेपछि संभावित जोखिम न्यूनिकरण गर्न बराल नेतृत्वको टोलीले स्थलगत अवलोकन गर्दै आएको छ । यद्यपी मानवीय क्षति भने भएको छैन । वडाध्यक्ष बरालका अनुसार सो क्षेत्र बर्षेनी डुबानमा पर्दै आएको छ । बर्षेनी डुबानमा परेपनि सो सिमसार क्षेत्रमा नयाँ घर भने धमाधम निर्माण हुदैं आएको छ । सरोकारवाला तथा सरकारी निकायले उक्त क्षेत्रलाई डुबानबाट जोगाउन आवश्यक संरचनाहरु निर्माण गर्नुपर्ने आवश्यक देखिन्छ ।
कास्की: जिल्ला प्रहरी कार्यालय कास्कीको जिम्मेवारी सम्हालेपछि प्रहरी उपरीक्षक अजय केसीले ३ प्रमुख मिसन अघि सारेका छन् । सोमबार पदवहाली गरेका केसीले सुनगाभा न्यूजसँग बोल्दै शान्तिसुरक्षा तथा लागुऔषध नियन्त्रण, निर्वाचन र प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापनमा कडाईका साथ लाग्ने बताए । ‘म मुलभुत ३ मिसनका साथ यहाँ आएको छु, उनले भने, ‘शान्ति, सुव्यवस्था र अमनचयन, नेपाल प्रहरीको पहिलो र महत्वपूर्ण जिम्मेवारी हो । शान्तिपूर्वक बाँच्न पाउँने संवैधानिक अधिकारको नेपाल प्रहरी रक्षा गर्छ । र म त्यसैको पक्षमा उभिएर अझ चुस्तदुरुस्त काम गर्ने संकल्प गरेको छु ।’ मिसनको पहिलो नम्बरमा शान्तिसुरक्षाको व्यवस्थापनलाई राखेका केसीले दोस्रो नम्बरमा लागुऔषधलाई राखेका छन् । ‘पहिलो नम्बरमा नेपाल प्रहरीको काम र कर्तव्यको रुपमा शान्तिसुरक्षा तथा अमनचयन पर्छ । त्यसपछि दोस्रो नम्बरमा अलि विकृतिको रुपमा देखिएको लागुऔषध (ड्रग्स)लाई निर्मुल नै पार्ने एउटा संकल्प लिएको छु भने नम्बर तीनमा चाँही अब निर्वाचन आउँदैछ । त्यसलाई मध्यनजर गरेर मजबुद सुरक्षा मिलाउने छु ।’ उनले भने । एसपी केसीले वर्षाको समयमा भैपरी आउने बाढी तथा पहिरोको वितण्डालाई मध्यनजर गरेर कार्ययोजना बनाएको सुनाए । ‘अहिले वर्षाको समय छ । हामी २४ सैं घण्टा अलर्ट छौं र स्थानीय सरकारका प्रमुख, वडाध्यक्षहरु तथा स्थानीयसँग समन्वय गरेर उहाँहरुलाई थप जिम्मेवारी बनाएका छौं, उनले भने, ‘हामीले क्विक रेस्पोन्स त गरेका छौं नै तरपनि भवितब्य परेको खण्डमा छिटै उद्धार गर्न सकिने गरि व्यवस्थापनमा लागेको छु ।’ सोमबार मात्रै कास्की प्रहरीको कमाण्ड सम्हालेका प्रहरी उपरीक्षक केसी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल काठमाडौंमा थिए । एसपी केसी भन्दापहिले कास्की प्रहरी प्रमुखका रुपमा प्रहरी उपरीक्षक रमेश थापाले कमाण्ड सम्हालेका थिए । एसपी थापा हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखा, महाराजगंज काठमाडौं सरुवा भएका छन् ।
काठमाडौं। आइतबार दिउँसो देखि निरन्तर परेको वर्षाले छ स्थान खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङकनुसार पोखरा, वर्दाघाट, दमक, लामपाटन, शक्तिखोर र सुनसरीको तरहरा क्षेत्रमा पानीको सतह बढेसँगे खतराको तह पार गरेको छ । यो समाचार तयार पार्ने समयसम्म पछिल्लो २४ घण्टामा कास्कीको लामपाटनमा सबैभन्दा धेरै ३३१ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ । २४ घण्टामा कास्कीमा २७२ मिलिमिटर र चितवनको शक्तिखोरमा १९५ मिलिमिटर पानी परेको छ । विभागले २४ घण्टामा १४० मिलिमिटर र १२ घण्टामा १२० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई खतरा मानिन्छ । विभागले सोमबार विहानै देखि देशैभर वर्षा हुने जनाएको छ । भारी वर्षा भएको र थप वर्षा हुने पूर्वानुमान रहेकाले उक्त क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बाढी हुन सक्छ, तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
पोखरा: पोखरामा पहिलोपटक पोखरा युनाइटेड एकेडेमीले नयाँ विषयकारुपमा ‘फेशन डिजाइनिङ्ग एवं सौन्दर्यशास्त्र’को कक्षा सञ्चालन गर्ने भएको छ । एकेडेमीका निर्देशक कृष्णप्रसाद सापकोटाले नेपाल सरकारको पाठ्यक्रम २०७६ ले व्यवसायिक विषयलाई प्राथमिकता दिए अनुसार एकेडेमीले ‘सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ्ग’लाई ऐच्छिक विषयमा समावेश गरेको जानकारी दिए । विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्टपछि एकेडेमीले पाठ्यक्रममा नयाँ विषय थपेको हो । निर्देशक सापकोटाका अनुसार यस विषय अध्ययन गर्न ४० देखि ५० हजार रुपैयाँ शूल्क लाग्नेछ । नयाँ विषयबारे जानकारी दिन आयोजित कार्यक्रममा सौन्दर्यविद् एव सौन्दर्यशास्त्र पाठ्यक्रमका लेखक कमला श्रेष्ठले व्यवसायिक शिक्षा अन्तर्गत रोजगारको प्रशस्त संभावना बोकेको सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ समयको माग भएको उल्लेख गरिन् । २०७१ साल देखि ऐच्छिक विषयको रुपमा समावेश गर्न पहल थालेको स्मरण गर्दै अहिले सफल भएको श्रेष्ठको धारणा छ । ३ दशक बढी सौन्दर्य क्षेत्रमै कार्यरत गण्डकी प्रदेशका प्रदेशसभा सदस्य मिना गुरुङले ढिलै भएपनि सौन्दर्यशास्त्र अध्ययन गर्न चाहानेहरुका लागि अवसरका ढोका खुलेको बताएकी छिन् । सौन्दर्यकलाको विषयलाई अध्ययनको विषय बनाउनु पर्छ भनेर निकै पहिले देखि आवाज उठाउँदै आएको जनाउँदै अहिले यो पाठ्यक्रममा समावेश भएर आउँदाको क्षण निकै आनन्द लागेको गुरुङले बताइन् । एकेडेमिका प्राचार्य बैनबहादुर गोदारले आधुनिक समयको माग र आवश्यकतालाई महसुस गरी विद्यार्थी स्वयं स्वरोजगार बन्न सक्ने विषयलाई प्राथमिकता दिँदै यस शैक्षिक सत्रबाट नयाँ सिपमुलक विषयलाई थप गरेको जानकारी दिए । शिक्षासँग सिप, आत्मनिर्भरताका यी विषयहरुको अध्ययन पश्चात् स्वदेशमै व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्न तथा विदेशमा पनि सजिलै रोजगार प्राप्त गर्न सकिने उनले जनाए । एकेडेमीका व्यवस्थापन संयोजक राजकुमार कार्कीले प्राज्ञिक र दक्ष जनशक्ति उत्पादन गरी वैधानिक प्रमाणपत्र प्रदान गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको बताएका छन् । एकेडेमीका अनुसार नेपाल सरकारको बोर्डबाट एसइइ उत्तीर्ण विद्यार्थिले उक्त कोर्ष अध्ययन गर्न सक्नेछन् ।
भारी वर्षाका कारण पोखरा महानगर-१३ कमलपोखरीमा १०० घर डुबानमा परेका छन् । आइतबार साँझदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण पोखरा महानगर वडानम्बर-१३, कमलपोखरी क्षेत्रमा १०० घरहरु डुबानमा परेको छ । वडा अध्यक्ष बरालले भने आइतबार साँझदेखि निरन्तर वर्षापछि डुबानमा परेको स्थानमा रातिबाटै आफू डोजर लिएर थुनिएका विभिन्न ठाउँ तर्काउँदै हिडिरहेको छु । ‘तल दुईकुलो मुहान पनि हिजै खोलियो । माथिबाट आउने नहरको मुहान पनि बन्द गर्न भनिसकेका छौं’ उनले भने, ‘मुख्य समस्या भनेको काहुँ खोलाबाट आएको पानीले डुबान पारेको हो ।’ पानी तर्काउने काम भइरहे पनि निन्तर भारी वर्षा भइरहेकाले समस्या भइरहेको छ । पोखरा-१३ कमलपोखरी क्षेत्र बर्सेनि डुबानमा पर्दै आइरहेको ठाउँ हो ।
पोखरा महानगरपालिका-६ डिहिकोपाटनमा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु भएको छ । गएराति करिब १ बजे पहिरोमा परेर लक्ष्मी खड्का क्षेत्रीको घरमा डेरा गरी बस्ने २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको हो, एक जना घाइते भएका छन । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं.१ भुर्जुङखोला तातोपानी घर भएका उनलाई १ बजेर ५५ मिनेटमा उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाइएको थियो । सन्तोषलाई डाक्टरहरुले उपचारको क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पहिरोमा परेर सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार घाइते भएको र उनकी १० वर्षीया छोरी सिम्रन सुनारको सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । । घाइते सुनारको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेको बाहिरी चोट नदेखिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पहिरोको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायव उपरीक्षक डिएसपी सुन्दर तिवारीको कमाण्डमा २५ प्रहरी र सशस्त्र प्रहरी बल कालिका गणका इन्सपेक्टर उमेश ढकालको कमाण्डमा १५ जनाको टोली उद्धारमा खटिएको थियो ।
पोखरा : नेपाल मगर पत्रकार संघ कास्कीको शाखाको अध्यक्षमा बिनु थापा मगर सर्वसम्मत चयन भएकी छिन् । नेपाल मगर पत्रकार संघ कास्की शाखाको दोस्रो जिल्ला अधिवेशनले बिनु थापा मगरको अध्यक्षतामा १३ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सुरज थापा मगर, सचिवमा प्रविण मगर, सहसचिवमा बल बहादुुर रोका मगर र कोषाध्यक्षमा आशा माया मगर सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलले जानकारी दिएको छ । यस्तै सदस्यहरुमा सुुजन थापा मगर, जुना थापा मगर र सिजन थापा मगर चयन भएका छन् भने बाकी पहिलो बैठकले मनोनित गर्ने निर्वाचन मण्डलले जनाएको छ । नेपाल मगर पत्रकार संघ कास्की शाखाको स्थापना २०७२ सालमा रुद्र हितान मगरको अध्यक्षतामा स्थापना भएको गरिएको थियो । मौलिक कौराहा पुरस्कार पत्रकार घर्तिलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०७९’ बाट पत्रकार तथा वरिष्ठ अधिवक्ता मनोज घर्ती मगरलाई प्रदान गरिएको छ । नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणको पक्षमा र पत्रकारितामार्फत उजागर गरेको भन्दै पत्रकार घर्तीमगरलाई पुरस्कार प्रदान गरिएको हो । राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार तथा नेपाल मगर पत्रकार संघ कास्कीको शाखाको दोस्रो अधिवेशनको अवसरमा पत्रकार घर्ती मगरलाई नगद रु १० हजार र ताम्रपत्रद्वारा पुरस्कृत गरिएको हो । पुरस्कृत घर्तीमगर अधिवक्ता समेत हुन् । यसैविच मगर पत्रकार कास्की शाखाले नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगर, ओम थापा मगर र एसटी क्रियसन नेपालले आयोजना गरेको पाँचौ संस्करणको मिस मगर नेपाल २०२२ को विजेता तथा रनरअफहरुलाई समेत सम्मान गरेको छ । यसअघि उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणमा कलम चलाउँदै आएका पत्रकारहरु कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहु) र मान बहादुर घर्ती (एमबी आस्था) मगर (कास्की) पुरस्कृत भईसकेका छन् ।
पोखरा । पोखरा सभागृहमा जारी दोहोरी प्रतियोगिताको फाइनल कार्यक्रममा स्टेजमुनिबाट एक्कासी आगलागी भएको छ । लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७६ औँ जन्मजयन्तीको अवसरमा कल्याण नेपाल स्मृति प्रतिष्ठान नेपालले प्रतियोगिता गरिरहँदा विद्युत सर्ट भई आगो लागेको हो । भित्रैबाट सल्किँदै लागेको आगो स्टेजमुनी आइपुगेपछि थाह भएको हो । आगो लागेको देख्ने बित्तिकै आयोजकले नियन्त्रणमा लिँदा ठूलो क्षति हुन पाएन । आगालगीपछि केह समयको भागदौडपश्चात् हाल कार्यक्रम जारी छ ।
नमूना पशु अस्पताल तीव्ररूपमा निर्माण भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा निर्माणाधिन सो अस्पताल सञ्चालनमा आएपछि चार जिल्लाका पशुपालन किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् । डेढ वर्षभित्र सम्पन्न गर्ने गरी सो अस्पताल इको बिल्र्डस प्रालि चितवनले निर्माणको जिम्मा पाएको छ । गण्डकी प्रदेश सरकारको रु चार करोड ९० लाख लागतमा भ्याटबाहेक उक्त निर्माण कम्पनीले ठेक्का लिएको हो । आगामी पुसभित्र सम्पन्न गर्ने गरी थालिएको उक्त भवनको करिब ४० प्रतिशत काम पूरा भएको सहरी विकास तथा भवन निर्माण सङ्घीय तथा कार्यन्वयन एकाइ कास्कीका साइड इञ्जीनियर शिव सुनारले जानकारी दिनुभयो । साढे दुई तलाको ढलान निर्माण गरिने उक्त भवनको हालसम्म दोस्रो तलाको ढलान सम्पन्न गरिएको छ । करिब छ सय पाँच स्क्वायर मिटर क्षेत्रफलमा दुई ब्लकमा विभाजन गरी भवन निर्माण भइरहेको छ । बीचमा केही समय सामान अभावका कारण निर्माण रोकिए पनि अहिले रफ्तारमा काम भइरहेको इञ्जीनियर सुनारले बताउनुभयो । हाल भवन निर्माणमा दैनिक १५ जना जनशक्ति परिचालन गरिएको छ । भवनको भुइँ तलामा पशुपक्षीका एक्सरे, भिडियो एक्सरे, ल्याब, शव परीक्षणलगायत सेवाकक्ष र प्रविधिक जनशक्ति रहनेछन् भने पहिलो र दोस्रो तलामा प्रशासनिक कार्यालय, प्रयोगशाला, बैठक हल, तालिम हल रहने छ । पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले नमूना पशु अस्पतालमा पशुपक्षीको रोग निदान, नियन्त्रण र उपचारका लागि सहज हुने बताउनुभयो । इक्युपमेन्ट, औजार अभावमा पशुपक्षीको हचुवाका भरमा उपचार गर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो । नमूना पशु अस्पताल तनहुँका लागि मात्रै नभई आसपासका गोरखा, लमजुङ र नवलपरासीका किसानका लागि प्रत्यक्ष फाइदा पुग्ने उहाँले जानकारी दिनुभयो । बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना विस्तार गर्दै लैजाने योजना रहेको छ । नेपालको ७७ जिल्लामध्ये पहिलो चरणमा कास्की र तनहुँमा पशु अस्पताल निर्माणका लागि प्राथामिकतामा परेका हुन् । पशुधनलाई क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रमलाई केन्द्रविन्दुमा राखिएको डा श्रेष्ठले बताउनुभयो । पशुमा लाग्ने महामारीजन्य रोग पहिचान तथा न्यूनीकरण गर्न सकिए कम्तीमा २० प्रतिशतले उत्पादन वृद्धि गर्न सकिनेछ । “नदेखिने जुका, माटेजस्ता रोगले दूध तथा मासु उत्पादन घटाइरहेका हुन्छन्, हामीलाई थाहा हुँदैन”, उहाँले भन्नुभयो, “रोग पहिचान गरी समयमा औषधोपचार गर्न सकिए किसानको आम्दानीमा वृद्धि गर्न सकिनेछ ।”

