पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

  मुस्ताङ । गत महिनामात्रै गल्फको सफल परिक्षण भएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको लोवाथाङस्थित गल्फ कोर्षमा पहिलो संस्करणको ‘टप अफ द वर्ल्ड गल्फ च्यालेन्ज’ प्रतियोगिता हुने भएको छ ।   गल्फ कोर्षको निर्माणमा जुटेका गण्डकी प्रदेश सभा सदस्यसमेत रहेका गल्फर इन्द्रधारा विष्टले आगामी भदौं ११ गते गल्फ प्रतियोगिता आयोजना गर्ने जानकारी दिए । उनका अनुसार सो प्रतियोगितामा कुल २८ गल्फरको सहभागिता रहनेछ ।  उनले उक्त प्रतियोगिताका लागि  ४ जना महिला गल्फरले समेत प्रतिस्पर्धा गर्ने बताए । विष्टका अनुसार स्टेबल फर्म्याट ३/४ ह्याण्डीक्यापको आधारमा हुने प्रतियोगिताको विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, कोल्जेस्ट टु द पिन, लंगेस्ट ड्राइभ र मस्ट बर्डिजलाई पुरस्कृत गरिने छ ।   प्रतियोगिता हुन लागेको गल्फ कोर्ष ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको प्रदेश सांसद विष्टले जानकारी दिए । उनका अनुसार नेपालमा कुल ९ वटा गल्फ कोर्ष सञ्चालनमा रहेका छन् ।

पोखरा उद्योग वाणिज्य संघमा वरिष्ठ उपाध्यक्ष भइसकेका पवन प्रजापतिले अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।    उम्मेदवारी घोषणापछि १० वर्षसम्म अनवरत उद्योग वाणिज्य संघमा व्यवसायीको हकहितमा काम गरेको भन्दै प्रजापतिले यसपटकको महाधिवेशनबाट अध्यक्षमा उठ्ने बताएका छन् ।    ‘अहिले एकलरुपमा अध्यक्षमा उठेको छु’ उनले भने ‘केहिदिनमा पुरै प्यानलसहित सबै पदमा उम्मेदवारी दिने योजनामा छु ।’   प्रजापतिले सदस्य, कोषाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । संघको ३४ औं महाधिवेशन भदौं २४–२५ गते हुँदैछ ।      यसअघिनै संघको अध्यक्षमा अर्जुन पोखरेलले उम्मेदवारी घोषणा गरिसकेका छन् । पोखरेल हाल उपाध्यक्ष हुन् । 

पर्वत । पर्वत जलजला गाउँपालिका ७ धाइरिङ धारापानी गाउँमा हाइभोल्टेज लाइन प्रशारण  हुँदा एकजनाको मृत्यु भएको छ ।   प्रशारण लाइनमा विद्युत सर्ट भएर गाउँका सबै घरमा हाइभोल्टेज लाइन प्रशारण हुदाँ करेन्ट लागेर धारापानीकी ५० वर्षीया सीता क्षेत्रीको मृत्यु भएको हो ।    घरमा रहेको मिटरबक्स अफ गर्न जाँदा करेन्ट लागेर क्षेत्रीको मृत्यु भएको स्थानीय मिलनचोकी प्रहरी चौकीका इन्चार्ज मुक्ति खड्काले जानकारी दिए ।   खड्काका अनुसार थप १२ जना करेन्ट लागेर  घाइते भएका छन् ।   हाइभोल्टेज लाइनका कारण गाउँका करिब दुईसय घरधुरीका मिटरबक्स जलेका छन् । वितरण लाइन चुँडिएर स्थानीय प्रताप आचार्यको बाख्रा फार्ममा रहेका १६ वटा बाख्रा मरेका छन् ।   विद्युत कार्यालयको लापरवाहीका कारण दुःखद घटना घटेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए । घटनाको जिम्मेवारी विद्युत कार्यालयले लिनुपर्ने उनको भनाइ छ । घटनास्थलमा अहिले पालिका अध्यक्ष आचार्य, वडाका जनप्रतिनिधि र प्रहरी टोली पुगेको छ ।    टान्सफर्मरबाट वितरण लाइनमा हाइभोल्टेज विद्युत प्रसारण भएकाले घटना घटेको हुनसक्ने अनुमान गरिएको छ ।   उता, नेपाल विद्युत प्राधिकरण कुश्मा वितरण केन्द्रका प्रमुख शिवनारायण गोशेलीका अनुसार प्रारम्भिक रुपमा २२० भोल्टेज प्रसारण हुनुपर्ने विद्युतको तारमा त्योभन्दा धेरै भोल्टेज प्रसारण भएको बताए ।    आज बिहानै विद्युत समस्या समाधानका लागि केहि स्थानमा रुख हटाउने काम भएको उनले बताए ।    कार्यालय प्रमुख गोशेलीले कति भोल्टेज प्रवाह भयो यकिन नभएको बताए ।    गाउँपालिकाका अध्यक्ष आचार्यले भने ११ हजार भोल्टेज नै प्रवाह भएका कारण ठूलो क्षति पुगेको बताए।    

बागलुङ नगरपालिका-१ माझी बस्तीमा खानेपानीको अभाव भएको छ । माझी बस्तीका स्थानीयले अहिले कालीगण्डकी किनारबाट पानी बोकेर खाँदै आएका छन् ।   माझीबस्तीमा खानेपानीको चरम अभाव टार्नका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले तीन वर्षअघि सुरु गरेको माझी बस्ती लिफ्ट खानेपानी योजनाको पूर्वाधार निर्माण सम्पन्न भएको थियो । ती समुदाय अहिले पानी घरमा रित्तो धारो एक वर्षदेखि हेर्दै छन् । विसं २०४८ मा बागलुङ पोखरा सडकखण्ड विस्तारको क्रममा विस्थापित माझी समुदायलाई २० वर्ष बाङ्गेचौर खेल मैदानमा राखियो । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१ रामरेखा स्थित कालीगण्डकी किनारामा तीन वर्षअघि मात्रै जग्गा खरिद गरेर नयाँ घर व्यवस्थापन गरिएको थियो ।    माझी बस्तीमा १४ नमूना घर निर्माणसँगै उनीहरुले आफ्नै घर पाए पनि अन्य सेवा सुविधा पाउन सकेका छैनन् ।  नमूना बस्तीमा एक घर एक धारा वितरणका लागि तीन वर्षअघिदेखि सुरु भएको खानेपानी आयोजना एक वर्ष अघिनै सक्कियो, ट्याङ्की, धारो लगायतको पूर्वाधार निर्माण सम्पन्न भइसक्यो तर एक वर्षदेखि पानी भने खस्न सकेको छैन ।   उपभोक्ता समिति, वडा कार्यालय र खानेपानी तथा सरसफाइ कार्यालयको समन्वय अभावमा योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । ‘एक घर एक धारा’ पु¥याउने माझी बस्ती खानेपानी आयोजना निर्माण गर्दै झण्डै रु ३० लाख खर्च भइसकेको छ तर माझी बस्तीको घरमा पानी बिनाकै धारो बनेको एक वर्ष पुगिसकेको छ । माझी समुदायले दैलोमा खानेपानीको धारो बनेको एक वर्ष वित्दा समेत खानेपानी नआएको दुखेसो गरेका छन् ।    कालीगण्डकी किनाराको खानेपानीलाई लिफ्टमार्फत करिब ५०० मिटर माथी तानेपछि नमूनामा बस्तीमा खानेपानी वितरण गर्ने योजना अधुरै बनेको बागलुङ नगरपालिका–१ का वडाध्यक्ष जयबहादुर केसीले बताउनुभयो । उहाँले नयाँ जनप्रतिनिधि आएपछि तत्कालै आयोजनामा पनि सुचारु गर्नका लागि काम थालिरहेको बताउनुभयो ।     “खानेपानी समस्या समाधानका लागि अघिल्लो जनप्रतिनिधिले के गरे त्यो बुझ्नै पर्दछ, म निर्वाचित भएर आएपछि यसको  समस्याका विषयमा जानकारी पाए, अहिले खानेपानी तथा सरसफाइ कार्यालय र नगरपालिका सँग समन्वय भइरहेको छ”, वडाध्यक्ष केसीले भन्नुभयो, “विद्युत् जोडेर पम्प चलाए मात्रै पानी आउछ, त्यसमा समन्वयको मात्रै अभाव भएको देखियो ।”   कोरोना महामारीका कारण खानेपानी योजना समयमै नसकिएको र अहिले विद्युत् जडानको काम नहुँदा पानी आउन नसकेको माझी बस्ती खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कृष्ण माझीले बताउनुभयो । माझीले कोरोनामा आफैँ बिरामी भएर महिनौँ बस्दा आयोजनामा समय दिन नसकेको भन्दै खानेपानी कार्यालयसँग समन्वय गरेर विद्युत् जडान गरी पानी तान्नका लागि पहल गर्ने बताउनुभयो ।    उहाँले १४ घरमा धारा निर्माण, ट्याङ्की तथा वितरण पाइपलगायत भौतिक पूर्वाधारमा खानेपानी कार्यालयको रु ३० लाख खर्च भइसकेको बताउनुभयो । अध्यक्ष माझीले माझी बस्तीमा हिउँदमा खानेपानीको चरम अभाव भएको भन्दै हिउँदसम्म खानेपानी धारोमा ल्याउने गरी आफूले सरोकारवाला निकायलाई जवाफदेही बनाउने बताउनुभयो ।    खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी तथा इन्जिनियर ईश्वरीप्रसाद शर्माले हिउँदभित्रै माझी बस्तीमा खानेपानी ल्याउने गरी कार्यालयले काम गर्ने बताउनुभयो । “हामीले आयोजना सम्पन्न भयो भन्ने हिसाबले अघिल्लो दुई आर्थिक वर्षअघिको योजनालाई हेर्‍यौ , पानी खसाल्ने काम उपभोक्ता समितिको समन्वयममा हुन पर्दथ्यो, अब हामी स्थलगत अनगुमन पछि आवश्यक बजेट खर्चेर पानी तान्ने उपकरण जोड्नेछौं” शर्माले भन्नुभयो “हिउँदभित्रै माझी बस्तीमा लिफ्टमार्फत खानेपानी पुर्‍याउँछौँ ।”

  तनहुँ जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी दर्ता हुने गरेको छ । आर्थिक वर्ष ०७८/७८ मा अदालतमा सम्बन्धविच्छेदका नौ सय ३७ मुद्दा दर्ता भएको हो ।    उक्त आर्थिक वर्षमा कूल दर्ता भएकामध्ये ३७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदको मात्रै रहेको अदाललते जनाएको छ । अदालतले सो वर्ष छ सय ८६ सम्बन्धविच्छेदका मुद्दा फछ्र्योट गरेको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनुभयो । सम्बन्धविच्छेदका दुई सय ५१ मुद्दा फछ्र्योट हुन बाँकी भई चालु आर्थिक वर्ष ०७९/८० मा जिम्मेवारी सरिआएको छ ।    कम उमेरमा विवाह गर्ने र उमेर पुगेपछि श्रीमान् श्रीमतीको सम्बन्ध राम्रो नभएपछि  अदालतमा सम्बन्धविच्छदेका मुद्दा बढी आउने गरेको बताइएको छ । बालविवाह, विपन्नता, मोबाइलको दुरुपयोग, वैदेशिक रोजगारी, अशिक्षा ।जस्ता कारणले सम्बन्धविच्छेदको मुद्दा बढेको बताइएको छ ।    यसैगरी लेनदेनतर्फ एक सय १९ मुद्दा रहेकामा ७३ मुद्दा फछ्र्योट भएको छ । अंशतर्फ चार सय आठ मुद्दा रहेकामा एक सय ५९ थान मुद्दा फछ्र्योट भएको छ । लिखत बदरतर्फ एक सय २० मुद्दा रहेकामा ३५ मुद्दा फछ्र्योट भएको छ ।    जबर्जस्ती करणीतर्फ ८० मुद्दा रहेकामा २५ मुद्दा फछ्र्योट भएको छ । कर्तव्य ज्यानतर्फ २२ मुद्दा रहेकामा आठ, सवारी ज्यानतर्फ ८१ मुद्दा रहेकामा ५१, ज्यान मार्ने उद्योगतर्फ २१ मुद्दा रहेकामा १०, चोरीतर्फ ३३ मुद्दा रहेकामा १४ मुद्दा फछ्र्योट भएको छ ।    डाँकाचोरीतर्फ दुई मुद्दा रहेकामा दुई, लागुऔषधतर्फ ६८ मुद्दा रहेकामा ३३, आत्महत्या दुरुत्साहनतर्फ आठ मुद्दा रहेकामा दुई, मानव बेचबिखनतर्फ एक मुद्दा रहेकामा एक, कुटपिटतर्फ एक मुद्दा रहेकामा एक, जालसाजीतर्फ एक सय २८ मुद्दा रहेकामा ४८, बहुविवाहतर्फ १५ मुद्दा रहेकामा छ, बालविवाहतर्फ चार मुद्दा रहेकामा तीन, बालयौन दुरुपयोगतर्फ सात मुद्दा रहेकामा पाँच, चेक अनादरतर्फ एक सय मुद्दा रहेकामा २४ र अन्यतर्फ तीन सय ४० मुद्दा रहेकामा एक सय ७८ थान मुद्दा फछ्र्योट भएको छ ।   अदालतले चार सय ७६ मुद्दा मेलमिलापका लागि पठाएकामा ३६ मुद्दा मात्रै मेलमिलापबाट समाधान भएको छ । अदालतमा सूचीकृत मेलमिलापकर्ता १४ जना छन् । अदालतले सो अवधिमा ५४।५६ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । अदालतले उक्त अवधिमा लक्ष्यभन्दा कम मुद्दा फछ्र्योट गरेको हो । अघिल्लो वर्षको जिम्मेवारी सरिआएका नौ सय ५९ र नयाँ दर्ता एक हजार पाँच सय ४१ गरी कूल दुई हजार पाँच सय मुद्दामध्ये एक हजार तीन सय ६४ मुद्दा फछ्र्योट भएको अदालतका श्रेस्तेदार कुँवरले जानकारी दिनुभयो । त्यस अवधिमा न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले छ सय २४ थान र न्यायाधीश वासुदेव पौडेलले सात सय ४० थान मुद्दा फछ्र्योट गर्नुभएको छ ।    “गत वर्ष कोरोना कहरका कारण भएको निषेधाका कारण मुद्दा फछ्र्योटमा कमी देखिएको थियो, यस वर्ष पनि करिब डेढ महिनामा एक जना न्यायाधीश स्थानीय तह निर्वाचनमा खटिनुपर्दा मुद्दा फछ्र्यौटमा कमी आएको छ”, श्रेस्तेदार कुँवरले भन्नुभयो । अदालतले उक्त वर्षमा एक हजार दुई सय ३४ नयाँ मुद्दा दर्ता हुँदा वार्षिक लगत दुई हजार एक सय ९३ हुने र एक हजार पाँच सय ७६ मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखेको थियो  तर लक्ष्यभन्दा बढी मुद्दा दर्ता भएका कारण फछ्र्योट सङ्ख्या कम भएको श्रेस्तेदार कुँवरले बताउनुभयो । अदालतमा अब एक हजार एक सय ३६ मुद्दा फछ्र्योट हुन बाँकी छ । फछ्र्योट हुन बाँकी मुद्दा चालु आर्थिक वर्ष ०७९/८० मा जिम्मेवारी सरेर आउँछ ।  

  पोखरा :  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार-२०७९’ उदयबहादुर अमात्य (कास्की) र आश गुरुङ (लमजुङ) लाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार महासंघको आईतबारको बैठकले नाम अनुमोदन गरेको अध्यक्ष रुद्र श्रीस मगरले जानकारी दिए । पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र छ ।  अधिवक्ता सुरेन्द्र थापामगर संयोजक रहेको प्रतिभा छनोट समितिको सदस्यमा पत्रकार एमबी आस्था मगर, शान्ति गुरुङ तथा रुद्र श्रीस मगर र धनबहादुर गुरुङ थिए ।   पुरस्कृत हुने आमात्य गण्डकी प्रदेशको एकमात्र नेपाल भाषा मासिक पत्रिका पोखरायाः भिन्तुनाका प्रकाशक तथा प्रधानसम्पादक हुन् । गुरुङ कान्तिपुर दैनिकका लागि लमजुङबाट काम गर्छन् । उनीहरुलाई साउन २७ मा पोखरामा समारोह आयोजना गरी पुरस्कृत गरिनेछ ।    पोखराका प्रतिष्ठित व्यवसायी बिमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा सो पुरस्कार स्थापना गरेका हुन् । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष सो पुरस्कार प्रदान गरिँदै आएको छ ।   यसअघि बागलुङका राजेशचन्द्र राजभण्डारी र कास्कीका रुद्रबहादुर थापा, कास्कीका शान्ति गुरुङ र नवलपुरका केबी रानालाई सो पुरस्कार अर्पण गरिसकिएको छ ।   

  पोखरा:   एनआईसी एशिया बैंकको एटिएम मेसिन फोर्न खोजेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत घर भएका कृष्ण बहादुर बि.कलाई एनआईसी एशिया बैँकको एटिएम मेसिन फोरेर नगद चोरी गर्न लागेको सूचनाका आधारमा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।    पोखरा महानगरपालिका–१७ बिरौटा स्थित एनआईसी एशिया बैंकको एटिएम मेसिन फोरेर नगद चोरी गर्न खोजेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले बि.कलाई पक्राउ गरेको हो ।   बि.क उपर चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।   उनी यस अगाडी पनि माछापूछ्रे बैँकको एटिएम मेसिन फोर्दै गरेको अवस्थामा प्रकाउ परी चोरी उद्योग मुद्धामा जिल्ला अदालत कास्कीबाट माग भए बमोजिम १ लाख धरौटी जम्मा गर्न नसकी पुर्पक्षको लागि थुनामा गएको र अदालतबाट मुद्धा फैसला हुुदा तोकिएको कैद भुक्तानी गरी छुटेको अभिलेखबाट देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

  पोखरा । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले जिल्लामा भर्खर आएको नयाँ प्रहरी प्रमुख प्रहरी उपरिक्षक अजय केसीलाई स्वागत गरेको छ । समुदायमा भइरहेका अहिलेको अवस्थाको बारेमा जानकारी दिने उद्देश्यका साथ सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिले कास्की प्रहरी प्रमुखलाई स्वागत तथा जानकारी गराएको हो ।   कार्यक्रममा बोल्दै कास्की प्रमुख अजय केसीले मुख्य गरि ड्रग्स र साइबर ब्युरोलाई महत्व दिएर काम गर्ने बताए । ‘यस जिल्लामा भर्खरै आएकाले अध्ययन गर्दैछु । एक अर्कालाई हातेमालो गर्दै अगाडी बढियो भने समाजमा रहेका विकृति, विसंगतिहरुलाई हटाएर सभ्य र शान्त समाजको निर्माण गर्न सक्छौं । हामी तपाईहरुको सुरक्षाका लागि २४ सै घण्टा खटिन प्रतिवद्ध छौं ।’ –उनले भने ।   त्यस्तै सामुदायि प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका कार्यबाहक अध्यक्ष भिम पराजुलीले सेवा केन्द्रले लागुऔषध नियन्त्रणमा महत्वपूर्ण भुमिका खेलिरहेको बताए । सचेतनाका विभिन्न कार्यक्रम गरिरहेको र यसले समाजमा सकारात्मक असर परेको दावी समेत पराजुलीले गरे । उक्त स्वागत कार्यक्रममा वक्ताहरुले सामुदायिक प्रहरी सेवा केन्द्रमा थप १ जना प्रहरी आवश्यक रहेको बताएका थिए ।  

  पोखरा । पोखरा महानगरपालिका वडा नं.५ मा रहेको सुर्यचन्द्र विकास समाजले भदौ १२ देखि १४ गतेसम्म आठौं सस्करणको खुला तिजगीत तथा महिला खेलकुद प्रतियोगिता गर्ने भएको छ । कोभिडका कारण दुई वर्ष स्थगित रहेको प्रतियोगिता यस वर्ष सञ्चालन गरिने सुर्य चन्द्र विकास समाजले जनाएको छ । तिज गित प्रतियोगितासँगै महिलाहरुको छेलो प्रतियोगिता र दौड प्रतियोगितासमेत राखिने आयोजकले बताएको छ ।   तिज गित प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार र सान्त्वनाले ५ हजार प्राप्त गर्ने छन् ।   साथै उत्कृष्ट भेषभुषा, उत्कृष्ट नृत्य र दर्शक उत्कृष्ट नृत्यमा पनि पुरस्कार राखिएको आयोजकले जनाएको छ । प्रतियोगितामा ५ लाख ३८ हजार खर्च हुने बताइएको छ । प्रतियोगिता मालेपाटन खेल मैदानमा हुनेछ ।   प्रतियोगितालाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरिएको छ । जसमा आर्थिक व्यवस्थापनको संयोजकमा दिपकप्रसाद बराल, प्रचारप्रसारमा सावित्री कोइराला, प्राथमिक उपचारमा कमला गौतम, मञ्च साउण्ड सिस्टम खाजा तथा खेलकुद व्यवस्थापनमा विमल श्रेष्ठ, निर्णयक मण्डल व्यवस्थापन तथा चिठीपत्रमा हेमराज भण्डारी, श्रण्टा सम्मान व्यवस्थापनमा वसन्तराज भण्डारी, अतिथि सत्कारमा कमला सुनार, स्वयंसेवक परिचालनमा मुन्द्रमान श्रेष्ठ, तिजगित प्रतियोगि व्यवस्थापनमा महेश्वर बराल, महोत्सव अनुगमत तथा मुल्यांकनमा लक्ष्मण कोइराला र महोत्सव सल्लाहकार उपसमितिको संयोजकमा उज्वल खत्रीलाई चयन गरिएको छ । साथै खेलकुदका लागि अफिसियल रेफ्रि शुसिल केसीलाई चयन गरिएको आयोजकले जानकारी दिएको छ ।