पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

पोखरा:  नेकपा एमालेले केन्द्रीय सदस्य कृष्ण थापालाई कास्की इन्चार्जको जिम्मा सुम्पेको छ ।   काठमाण्डौंमा आज (बिहिबार) बसेको सचिवालय ११ औं बैठकले केन्द्रीय सदस्य कृष्ण थापालाई एमाले कास्की इन्चार्जको जिम्मेवारी दिएको हो ।   यसअघि कास्कीको इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य भीम कार्कीलाई इन्चार्जबाट हटाएर भूमि व्यवस्था विभागको उपप्रमुखको जिम्मेवारी थमाइएको बताइएको छ ।  

कास्की:  जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित म्याग्दी घर भई हाल पोखरा ३ नदीपुर बस्ने दिपक पुनलाई पक्राउ गरेको छ ।   बुधबार बेलुकी करिब ८ बजे पोखरा–२ बाग्लुङ बसपार्क नजिकै चिसाखोला जाने सडक खण्डबाट चेकजाँचको क्रममा २८ वर्षिय पुनलाई प्रक्राउ गरेको हो ।   कास्की प्रहरीका अनुसार संकास्पद अवस्थामा रहेका पुनलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध नुर्फिन–२५ एम्पुल, डाईजापाम–२५ एम्पुल र फेनरागन–२६ एम्पुल गरि कुल ७६ एम्पुल लागुऔषध तथा  सामसुङ मोबाइल १, आइफोन १, ओप्पो फोन १ र नगद रु. ८ हजार बरामद गरेको थियो ।   कास्की प्रहरीको नियन्त्रणमा रहेका पुनलाई लागुऔषध कसुरमा म्याद थप गरि आवश्यक अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

स्याङ्जा:  स्याङ्जाको वालिङ नगरपालिका–१३ गाहाखोलास्थित आँधीखोला जाने भित्री कच्ची सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।   प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक शारदा प्रसाद चौधरीका अनुसार आज (बिहिबार) विहान करिब ७ बजे ग १६ प ५४६१ नम्बरको स्कुटर दुर्घटना हुँदा वालिङ नगरपालिका–९ भुम्रेका ५५ वर्षिय बसन्त श्रेष्ठको मृत्यु भएको हो ।   प्रहरीलाई स्कुटर दुर्घटना भएको जानकारी भएपछि घटना स्थलमा पुग्दा स्कुटर बाटोको छेउमा रहेको थियो भने मृतक श्रेष्ठ कुनामा उछिट्टिएका थिए । मृतक श्रेष्ठ निवर्तमान वडाध्यक्ष रहेको समेत बताइएको छ ।   मृतक श्रेष्ठको दुवै हातको कुईनामा सामान्य चोट देखिएकाले घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।   

  कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ को नेकपा एमालेको वडा कमिटीलाई  प्रशिक्षण दिइएको छ ।   प्रदेश र प्रतिनिधी सभाको निर्वाचनको मिति घोषणाभएसँगै वडा कमिटीलाई एमाले नेता दामोदर बैरागी र नेकपा कास्कीका उपसचिवसमेत रहेका युवा नेता दर्शन लामाले (बुधबार) अगुवा कार्यकर्ता प्रशिक्षण दिएका हुन् ।    प्रशिक्षणको क्रममा युवा नेता लामाले बैशाखमा सम्पन्न स्थानीय निर्वाचनको सन्देश, समिक्षा र आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलक्षित रणनैतिक योजनाबारे प्रशिक्षण दिएको वडा ८ इकाईका अध्यक्ष कृष्ण दवाडीले जानकारी दिए । उनका अनुसार सो प्रशिक्षण कार्यक्रममा कमिटीका सबै पदाधिकारीहरुलाई नेतृत्व विकास र आगामी निर्वाचनमा कमिटीको भुमिका बारे प्रष्ट पारिएको थियो ।   माछापुच्छ्रे गाउँपालिका ८ को नेकपा एमालेको वडा कमिटीका अध्यक्ष कृष्ण दवाडीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका इन्चार्ज महेश्वर दवाडी लगायतले शुभकामता मन्तव्य व्यक्त गरेका थिए ।   आगामी दिनमासमेत एमाले कास्कीले कार्यकर्ता तथा विभिन्न तहका कमिटीहरुलाई प्रशिक्षण दिने कार्यक्रमलाई तिव्रता दिने जनाएको छ ।

काठमाडौं: राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका २०० कम्पनीहरूको सहभागितामा काठमाडौंमा ‘सीएनआई रोजगार तथा शीप मेला–२०२२’ आयोजना हुने भएको छ । बजारमा शीपको उपलब्धता, रोजगारदाता र शीपयुक्त बेरोजगारबीचको खाडल कम गराई कम्पनीसँग सीधा सम्पर्क गराउने उद्देश्यले उक्त मेला आयोजना गर्न लागिएको हो ।   नेपाल उद्योग परिसंघ (सीएनआई)ले आगामी कात्तिक १७ गतेदेखि २० गतेसम्म यो मेला आयोजना गर्ने भएको हो । रोजगारदाताले शीपयुक्त जनशक्ति पाउन नसकेको, तर शीप सिकेका युवा बेरोजगार हुनुपरेको अवस्था न्यूनीकरणमा मेलाले सघाउ पुग्ने बताइएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिसंघले यस्तो जानकारी दिएको हो ।   मुलुकमा हरेक वर्ष न्यूनतम ५ लाख व्यक्ति रोजगारीको खोजीमा हुन्छन् । चालकदेखि व्यवस्थापन तहसम्म कम्पनीहरूले कर्मचारी माग गरे पनि रोजगारदाता र काम खोज्नेबीच चुस्तरूपमा सम्पर्क स्थापित हुन सकेको छैन । यो अवस्था न्यूनीकरण गर्नु मेलाको उद्देश्य रहेको परिसंघले बताएको छ ।   कार्यक्रममा परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले रोजगारी खोजिरहेकाहरू र रोजगारदाताबीच समन्वय गरिने बताए । यसका लागि परिसंघले मेलामा सहभागी हुने कम्पनीसँग सीधा सम्पर्क स्थापित गरेर रोजगारी खोज्न सहज गराउने उद्देश्यले ‘एप’ पनि सार्वजनिक गर्ने जानकारी उनले दिए ।    ‘रोजगारी दिन मेला आयोजना गरिएको होइन,’ अधिकारीले भने, ‘रोजगार र शीपबीच रहेको अहिलेको खाडललाई न्यूनीकरण गर्न सेतु बन्ने मेलाको ध्येय हो ।’ परिसंघको यो पहिलो प्रयास रहेको भन्दै उनले रोजगारको आपूर्तिका लागि शिक्षाको रणनीतिमा पनि ध्यान दिनुपर्ने बेला आएको बताए ।    परिसंघकै उपाध्यक्ष राजेश अग्रवालले शिक्षा, रोजगार, शीपको विषयलाई राष्ट्रिय बहसको रूपमा विकास गर्न पनि मेला आवश्यक रहेको बताए । पहिलोपटक परिसंघले काठमाडौंमा यस्तो मेला आयोजना गरेको भए पनि आगामी दिनमा प्रदेशस्तरमा पनि गरिने उनले जानकारी दिए । मेलामा आएका कम्पनीहरूसँग सम्पर्कका लागि एप बनाउने र रोजगारको आवश्यकता पर्नेहरूले दर्ता गरेर सोही एपबाटै रोजगारीका लागि आवेदन दिन सक्ने उनले बताए ।   रोजगारदाताको आवश्यकता, शीपयुक्त कर्मचारीको मागको परिपूर्तिका विषयमा बृहत् छलफल समेत हुने जानकारी दिइएको छ । मेला संयोजक द्विराज शर्माले स्वदेशका साथै भारतको टाटादेखि अन्य देशका कम्पनीहरूलाई सहभागिताका लागि आह्वान गरिने बताए ।    खासगरी सूचनाप्रविधि, हस्पिटालिटी र कृषिक्षेत्रमा अध्ययन गरेर रोजगारको अवस्था र मागका विषयमा पनि परिसंघले मेलापूर्व नै अध्ययन गर्ने भएको छ । मेलाबाट नेपालमा विश्वस्तरीय जनशक्ति सृजना गर्न नीति र पाठ्यक्रमको आवश्यकताको पहिचान लगायत उपलब्धि हासिल हुने परिसंघको अपेक्षा छ । एजेन्सी

  गण्डकी । सुन्दा अचम्म लाग्न सक्छ, कुनै बेला स्याउ राम्रो फल्ने मुस्ताङको लेतेमा अहिले भने स्याउको उत्पादन छैन । लेते माथिको कोवाङमा पनि स्याउ खेती हुन छोडेको छ । आजभन्दा करिब डेढ दशक अघिसम्म समुद्री सतहबाट तीन हजार मिटर उचाइभन्दा माथि स्याउ नफल्ने गरेकामा अहिले भने झण्डै तीन हजार आठ सय मिटर उचाइको क्षेत्रसम्म स्याउ फल्न थालेपछि यहाँका स्थानीयवासी नै अचम्ममा परेका छन् ।     स्याउको उत्पादन र बेचबिखन नै मुख्य आयको स्रोत बनाउँदै आएका लेते र आसपासका स्थानीयका लागि भने आयआर्जनको नै विकल्प खोज्नुपर्ने अवस्था आएको छ । करिब दुई हजार पाँच सय मिटरको उचाइमा रहेको लेते र आसपासका क्षेत्रमा स्याउको विकल्पमा नासपाती, ओखर, खुर्पानी जस्ता फलफूल खेती विकल्पका रुपमा अघि बढाइएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो ।     पछिल्ला वर्षमा हिमाली क्षेत्रको माथिल्लो भागहरूमा स्याउ फल्न थालेको बताउँदै उहाँले करिब तीन हजार आठ सय मिटर उचाइको उपल्लो मुस्ताङको लोमन्थाङ र आसपासका क्षेत्रमा स्याउ खेती हुन थालेको बताउनुभयो ।   पछिल्ला वर्षमा टुकुचेभन्दा माथि मुक्तिनाथ, छुसाङ लगायतका स्थानमा स्याउ खेती फस्टाउँदै गएको स्थानीयवासी बताउँछन् । माथिल्ला भेगमा स्याउ खेती फस्टाउँदै गएपछि कृषकहरू पनि यसतर्फ आकर्षित बन्दै गएको मुक्तिनाथस्थित होटेल ग्रान्ड साम्बालाका सञ्चालक सुरज गुरुङले बताउनुभयो । “मुक्तिनाथभन्दा माथि उपल्लो मुस्ताङको लोमन्थाङसम्म स्याउ खेती बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “पहिला पहिला उपल्लो भेगमा सानो आकारमा फल्ने गरेका स्याउ अहिले ठूलाठूला फल्न थालेका छन् ।” पछिल्ला वर्षमा बर्सेनि बढिरहेको तापमान वृद्धिका कारण पनि स्याउ खेती माथिल्ला भेगतर्फ बढ्दै गएको हुन सक्ने उहाँको भनाइ छ ।   विगतमा पानी नपर्ने हिमाली बस्तीमा हिजोआज भने पानी पर्न थालेपछि वर्षौंदेखि बनेका माटाका संरचनाहरू जोखिममा पर्दै गएको उहाँले बताउनुभयो । बर्सेनि पानी नपर्ने ठाउँमा पानी पर्न थालेसँगै मुस्ताङको नीलगिरि हिमाल आसपासको बस्तीमा निर्मित माटाका संरचना जोखिममा पर्दै गएको स्थानीयवासी बताउँछन् । नीलगिरि हिमालका फेदीका बस्तीहरू लुप्रा, मार्फा, जोमसोम, छैरु, ठिनी, स्याङ लगायतका गाउँमा बर्सेनि प्रभाव पर्दै गएको छ । यी क्षेत्रमा प्राचीन कालदेखि नै परम्परागत माटोले छाइएका घरहरू छन् । पानीका कारण माटोका छत भएका घरमा माटो पग्लिन थालेको छ ।      अत्यधिक चिसो हुने ठाउँ भएका कारण तापक्रम सन्तुलनका लागि माटाले छाइएका घरमा यहाँका स्थानीयवासी कहिलेकाहीँ पर्ने हिउँ बेल्चा लगायतको प्रयोगबाट फाल्ने गर्दथे । पछिल्ला वर्षमा पानी नै पर्न थालेपछि माटो निर्मित संरचना पग्लन थालेको स्थानीयको दुःखेसो छ ।     प्रायः चिसो भइरहने भएका कारण माटोले बनाइएका यहाँका घर वातावरण अनुकूलका मानिन्छन् । माटो छाइएका घरमा बाहिर जस्तोसुकै हिउँ परे पनि घरभित्र न्यानो भइरहन्छ । माटोका घर हिमाली क्षेत्रका बस्तीको मौलिकता भए पनि वातावरणीय प्रभावका कारण यहाँका बस्ती उच्च जोखिममा रहेको स्थानीयवासी बताउँछन् ।   बढ्दो तापक्रमसँगै पानी पर्ने क्रम बढ्दा माटोको सहरको मौलिकता नै धरापमा परेको छ नै यसले हिमाली क्षेत्रमा बाढीपहिराको प्रकोप बढ्नाका साथै कृषि प्रणाली पनि प्रत्यक्ष प्रभावित बनेको छ । तापक्रम बढेसँगै चाँदीजस्तै टलक्क टल्कने हिमालहरू बर्सेनि कालापत्थरमा परिणत भएका छन् ।      हिमाली क्षेत्रमा पानी पर्ने क्रम बढ्नु, कृषि प्रणालीमा परिवर्तन आउनु लगायतका विषय जलवायु परिवर्तनको असरसँग जोडेर हेर्न सकिने विगत लामो समयदेखि हिमाली क्षेत्रका विभिन्न विषयमा अनुसन्धान गर्दै आउनुभएका पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापनरत रामचन्द्र बराल बताउनुहुन्छ । स्याउ खेती माथिल्ला भागतर्फ फैलँदै गएको विषयलाई आफूले नजिकबाट नियालिरहेको बताउँदै अनुसन्धाता बरालले आजभन्दा नौ वर्ष अघि २०७० सालमा मुस्ताङको अनुसन्धानात्मक भ्रमणको अनुभव सुनाउनुभयो ।      तत्कालीन समयमा ठाउँअनुसार प्रतिकिलो स्याउ मार्फामा रु ६०, झारकोटमा रु एक सय र झोङमा रुएक सय ५० रुपैया तिरेको अनुभव सुनाउँदै उहाँले उचाइअनुसार स्याउको स्वाद झन् झन् मीठो पाइएको बताउनुभयो । पछिल्ला वर्षमा मुस्ताङको यारा, घमी लगायतका उच्च हिमाली क्षेत्रमा स्याउको बगैँचा निर्माणमा आकर्षण बढिरहेको बरालले बताउनुभयो ।      बढ्दो तापक्रमकै कारण तराई र मधेसका फाँटमा मात्र पाइने लामखुट्टे पहाड हुँदै हिमाल चढिसकेको छ । विगतमा लामखुट्टेको नामसमेत नसुन्ने यस क्षेत्रमा अहिले भने झूल पुग्ने गरेको छ । उपल्लो मुस्ताङका लोमन्थाङ, छोनुप, छोसेर, सुर्खाङ, चराङ, घमी लगायतका स्थानमा अत्यन्त कम मात्रामा हिउँ पर्न थालेपछि ती स्थानमा खानेपानीको अभाव बढ्दै गएको छ । पानीको चरम अभावसँगै छोसेरको सामजुङ बस्तीलाई एक दशकअघि पानीकै खोजीमा नमासुङ गाउँमा सारिएको थियो ।    “पहिले पहिले मनसुनले हिमाल चढ्दैन भन्ने गरिन्थ्यो, अहिले भने मनसुनले हिमाल पार गरिसकेको छ”, अनुसन्धाता बरालले भन्नुभयो, “गत वर्ष हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा अप्रत्याशित आएको बाढी यसको ज्वलन्त उदाहरण हो ।” 

  पोखरा । मुल्यवृद्वि, भ्रष्टाचार र महगींविरुद्व आज (बुधबार)  एमाले कास्की सडकमा उत्रिएका छन् ।     एमालेका विभिन्न भातृ संगठनहरुले एक्यबद्ध रुपमा पोखराको सभागृहबाट विरोध र्याली निकालेका हुन् ।  सो र्याली हाल सहिदचोकमा कोणसभामा परिणत भई विरोध जनाइरहेको छ, सुनगाभा  संवाददाता बिबि रोकामगरले बताए ।    नेकपा एमालेले विगत देखिनै विभिन्न तवरबाट विरोध जनाउँदै आइरहेको छ । 

पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो ।   प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबार घरायसी झगडा हुँदा श्रीमतीले अचानोले आक्रमण गरेको पाइएको हो । उहाँका अनुसार घरायसी झगडा हुँदा ५४ वर्षीय विनमाया विकले श्रीमान् टीकारामलाई अचानोले आक्रमण गरेकी थिइन् । आक्रमणबाट टाउकामा चोट लागेका टीकारामको मङ्गलबार घरभित्र कोठामा शव भेटिएको हो ।   घटनामा संलग्न रहेको आशङ्कामा श्रीमती विनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टीकारामको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । 

काठमाडौंमा गएरातिको वर्षा र बाढीले खोला किनारका वासिन्दा प्रभावित भएका छन् । विष्ट गाउँका एक तल्लासम्मका घरहरू डुबानमा परेका छन् ।   काँडाघारी प्रहरी कार्यालय भवनको भुइँ तला पनि डुबेको छ । मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाउनुका साथै पार्किङमा राखिएका तीनवटा मोटरसाइकल पनि बगेका छन् । प्रहरी कार्यालयको सन्चार र इन्टरनेट पनि प्रभावित भएको छ । प्रहरीका अनुसार हरहर महादेव नजिकको गाईगोठमा अलपत्र परेका मानिसहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ । सो क्षेत्रबाट १५ जनाको उद्धार गरिएको र अन्यको उद्धार जारी रहेको प्रहरीले जनाएको छ ।   सुकुम्बासी टोलका २ वटा टहरा पनि बाढीले भत्काएर बगाएको छ । त्यहाँ मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ । गएराति काठमाडौंमा ठूलो पानी परेपछि जल तथा मौसम विज्ञान विभागले सतर्कताको सूचना जारी गरेको थियो । विभागको बाढी सूचना केन्द्रले भक्तपुरका नगरकोट, काठमाडौंको धाप, सुन्दरीजल लगायतको क्षेत्रमा भारी वर्षा भएकाले पुण्यमति, हनुमन्ते, मनोहरा र बाग्मतीको किनारका वासिन्दालाई सतर्कता अपनाउन भनेको थियो ।   यसैगरी ललितपुरको बाग्मती खोकना केन्द्रमा पनि जल सतह बढेपछि उच्च सतर्कताको सूचना जारी गरिएको थियो ।   मौसमविद हिरा भट्टराईका अनुसार आज बिहान ६ बजेसम्म त्रिभुवन विमानस्थलमा ७५।१ मिलिमिटर वर्षा मापन भएको छ ।