पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका २६ स्थित अर्घौंचोकमा रहेको एनएमबी बैंकको एटिएम फोडेर पैसा चोर्ने व्यक्तिलाई पक्राउ गरेको छ । गण्डकी प्रदेश प्रहरी र कास्की प्रहरीको संयूक्त टोलीले नवलपुर देवचुली नगरपालिका ५ घर भइ हाल पोखरा महागनर ३० बस्ने २१ वर्षिय अनिश तामाङलाई लेखनाथबाट पक्राउ गरि आज सार्वजनिक गरेको हो । कास्की प्रहरीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अजय केसीका अनुसार पक्राउ परेका तामाङले गत साउन २ गते एटिमए फोडेर १४ लाख ७१ हजार ५ सय रुपैयाँ लुटेका थिए । उनले एनएमबी बैंको एटिएम फोडेर पैसा लुटेपछि तालचोकमा रहेको एनआइसी एशिया बैंकको एटिएममा समेत अटेम्प्ट गरेका थिए । उनले पक्राउ परेका तामाङलाई ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको बताए । एसपी केसीका अनुसार गत कात्तिकदेखि हालसम्म कास्कीमा ८ वटा एटिएम फोड्ने प्रयास भएको छ ।
कास्की । सञ्चारक्षेत्रमा महिलाको सहभागिता बढाउन महिलामैत्री सञ्चार नीतिको खाँचो रहेको यहाँका महिला पत्रकारले बताएका छन् । स्वतन्त्र पत्रकार सङ्घ कास्कीले आफ्नो १०औँ वार्षिक साधारणसभाको अवसरमा आयोजना गरेको सञ्चारमा महिला सहभागिता विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी महिला पत्रकारले नेपाली समाजमा अझै पनि पुरातन सोच हावी भएको र सञ्चारगृह पनि महिलामैत्री हुन नसक्दा काम गर्न असहज भएको बताएका हुन् । नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य सरिता तिमिल्सिनाले सामाजिक रुपान्तरणका लागि सञ्चार क्षेत्रमा महिलाको गुणात्मक र सङ्ख्यात्मक वृद्धिअपरिहार्य रहेको जनाउँदै सञ्चार गृह महिलामैत्री हुन नसक्दा व्यवसायिक रुपमा पत्रकार महिला पलायन हुनेस्थित आएको बताउनुभयो । उहाँले नीतिगत तहबाटै यस क्षेत्रमा महिला सहभागिता बढाउन र महिलाका मुद्दालाई मूल धारमा ल्याएर समस्या समाधानका लागि पहल गर्न पनि आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा स्वतन्त्र पत्रकार सङ्घका केन्द्रिय पार्षद एवं रेडियो नेपाल प्रादेशिक कार्यलयका कार्यक्रम अधिकृत शान्ति राणाले सञ्चारमा महिलाको अवस्था हिजो र आजका बारेमा चर्चा गर्दै यस क्षेत्रमा सक्रिय महिलाको योगदानलाई प्रेरित गर्दै नयाँलाई आकर्षण गर्न पारिश्रमिक, नियुक्तिपत्र र विभिन्न तालिम उपलब्ध गराउनुपर्ने साथै महिलामैत्री व्यवहारको खाँचो औल्याउनुभयो । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष जमुना वर्षा शर्माले नीति निर्माण तहमा महिला नेतृत्वको अभावले सञ्चारमा महिलाको उपस्थिति गुणात्मक एवं सङ्ख्यात्मक रुपमा सोचे जसरी बढ्न नसकेको बताउनुभयो । उहाँले विभिन्न तालिमबाट पत्रकार महिलाको क्षमता र दक्षता अभिवृद्धि तालिम हुनुपर्ने साथै उनीहरुको क्षमताको मूल्याङ्क नहुनुपर्ने जोड दिनुभयो । कार्यक्रममा वडा नं १७ का वडाअध्यक्ष राधिका शाहीले सञ्चार क्षेत्रबाट समाजले धेरै अपेक्षा गरेको जनाउँदै समतामूलक र न्यायिक समाजका लागि पत्रकारको भूमिका सशक्त हुनुपर्ने बताउनुभयो । उहाँले सञ्चारमा महिलाको उपस्थितिले लैङ्गिक समानता कायम गर्न मद्दत पुग्ने भन्दै महिलाका मुद्दामा सञ्चार क्षेत्र संवेदनशील हुनुपर्ने धारणा राख्नुभयो । नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवं अग्रज पत्रकार नारायण कार्कीले पछिल्लो समय महिला पत्रकार निकै सशक्त र गुणात्मक तरिकाले सञ्चार क्षेत्रमा आएको जनाउँदै उनीहरुलाई यस क्षेत्रमा टिकाउन महिलामैत्री सञ्चार नीति जरुरी रहेको बताउनुभयो । स्वतन्त्र पत्रकार सङ्घका केन्द्रिय अध्यक्ष कृष्ण बाँस्तोलाले महिलाको स्वतन्त्रतालाई अझै पनि समाजले सकारात्मक रुपमा लिन नसक्दा यस क्षेत्रमा पनि महिलाको उपस्थित बढ्न समस्या रहेको धारणा राख्नुभयो । कार्यक्रममा सञ्चारिका समूह नेपाल गण्डकी प्रदेश अध्यक्ष कविता श्रेष्ठ, प्रेस युनियन कास्कीका अध्यक्ष रविना आले, स्वतन्त्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष असफल गौतम, सचिव गङ्गासागर उपाध्याय, सदस्य राधा ढकाललगायतले सञ्चार क्षेत्रमा महिलाको सहभागिता अवसर र चुनौतीका विषयमा आफ्नो धारणा राखेका थिए । सो अवसरमा पत्रकार सरिता तिमिल्सिना र शान्ति राणा एवं वडा नं १७ का वडाध्यक्ष राधिका शाही योगीलाई सम्मानपत्र र दोसल्लाले सम्मानसमेत गरिएको थियो । सभाको १०औँ वार्षिकसभाको बन्द सत्रले कोषाध्यक्ष र सचिवको प्रतिवेदन पारित गरेको थियो ।
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका पाँचदेखि १२ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ । मन्त्रालयका अनुसार आजदेखि यही भदौ ११ गतेसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा बालबालिकालाई दिइनेछ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ दिइन थालिएको जानकारी दिनुभयो । बालबालिकालाई विद्यालयमा नै केन्द्र स्थापना गरी खोप दिइन थालिएको छ । विद्यालयका साथै बालमन्दिर र कारागारमा समेत खोप लगाइने छ । आजदेखि ११ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म दिइनेछ । यसअघि २७ जिल्लाका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको थियो । पाँच वर्षदेखि १२ वर्षमुनिका उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रका आधारमा खोप लगाइनेछ । यस्तै विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजका अभिभावकले स्व:घोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ । प्रदेश नं १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचधर, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर, मधेस प्रदेशका बारा, रौतहट र सर्लाही, बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाञ्चोकका बालबालिका रहेका छन् । यस्तै गण्डकी प्रदेशका बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँ, लुम्बिनी प्रदेशका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठान, रोल्पा, रुकुमपूर्व, कर्णाली प्रदेशका रुकुमपश्चिम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोट रहेका छन् । सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिका रहेका छन् ।
पोखरामा सम्पन्न भएको फुटसलको उपाधि एक्यान सेन्ट्रलले हात पारेको छ । फाइनल म्याचमा पिकेएफटिआरलाई पछि पार्दै एक्यान सेन्ट्रलले उपाधि हात पारेको हो । एक्यान सेन्ट्रलले पिकेएफटिआरलाई दुई गोल गर्दै जित हात पारेको हो । ९ टिम सहभागी खेलमा दुई समुहमा विभाजन गरी खेल खेलाइएको थियो । सहभागी टिममध्ये एक्यान कास्की, एक्यान चितवन, एक्यान सेन्ट्रल र पिकेएफटिआर सेमिफाइनलमा भिडेका थिए । एक्यान कास्की र चितवनलाई पछि पार्दै फाइनलमा पुगेको पिकेएफटिआर फाइनलमा भने एक्यान सेन्ट्रलसँग हार ब्यहोर्नु पर्यो । सेन्ट्रल र पिकेएफ दुवै काठमाडौंबाट आएको टिम हो । शुक्रबार गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले खेलको उद्घाटन गरेका थिए भने पुरस्कार वितरण तथा कार्यक्रमको समापन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्ने कार्यक्रम थियो । तर, कार्य व्यस्तताका कारण मेयर आचार्य उपस्थित हुन नसकेपछि एक्यान पदाधिकारीहरुले नै विजयी टिमलाई पुरस्कार वितरण गरेका थिए । खेलमा विजयी टिमलाई नगद १ लाख रुपैयाँ नगद मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो भने फस्र्ट रनर अपलाई ६० हजार रुपैयाँ नगद मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । खेलमा सबैभन्दा धेरै गोल एक्यान चितवनका सन्दीप कुमार फुँयाललाई हाइयेस्ट स्कोर उपाधि दिइएको थियो । फुँयालले ६ गोल गरेर खेलमा उत्कृष्ट प्रर्दशन गरेका थिए । यस्तै, बेस्ट गोलकिपर एक्यान सेन्ट्रलका शैलेस कट्टेलले हात पारेका छन् । पूरा खेलमा कट्टेलले १ गोल पनि गर्न दिएनन् । खेलको बेस्ट प्लेयर उपाधि एक्यान सेन्ट्रलका सुशान नगरकोटीले हात पारेका छन् । नगरकोटीले पूरा खेलमा ४ गोल गरेका थिए । खेल समुहका ९ मध्ये पिकेएफटिआरका म्यानेजर तिर्थराज अर्यालले बेस्ट म्यानेजरको उपाधि हात पारे । बेस्ट प्लेयर, बेस्ट स्कोरर, बेस्ट गोलकिपर, टप स्कोरर र बेस्ट म्यानेजर पाँचै जनालाई नगद ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । फुट्सल टुर्नामेन्टको आयोजना चार्टर्ड एकाउन्टेन्स संघ९एक्यान०कास्कीले गरेको थियो । यसअघि चितवनमा पनि फुट्सल टुर्नामेन्ट आयोजना गरिएको थियो । कार्यक्रममा एक्यान पदाधिकारीहरुले सातै प्रदेशमा फुट्सल टुर्नामेन्ट गर्दै जानुपर्ने बताएका थिए ।
नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०ः३० बजे बस्ने बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । समाजवादी चिन्तक गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९ः३० बजे निधन भएको हो । गिरीको पार्थिव शरीरलाई आज बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलिका लागि राखिने र बिहान ११।३० बजेदेखि दिउँसो २ः०० बजेसम्म कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यसपछि उहाँको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उहाँलाई गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक नेता गिरी विसं २०२१ पछि राजनीतिमा सक्रिय हुनुभएको हो । हाल प्रतिनिधिसभा सदस्य रहनुभएका उहाँ विसं २०२४ मा वनारसमा नेपाल छात्र सङ्घमा निर्वाचित हुनुभएको थियो । उहाँ विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भई संविधान निर्माणको जिम्मेवारीमा संलग्न हुनुभएको थियो । यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन हुनुभएको थियो । नेता गिरी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिरहा–१ बाट निर्वाचित हुनुभएको हो । विसं २००४ मा सिरहाको वस्तीपुरमा पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्रका रूपमा उहाँको जन्मभएको थियो ।
महिला तथा बालबालिका कार्यालय खोटाङको ताला छ वर्षपछि फोडिएको छ । गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि लगाइएको ताला लगाइएको थियो । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा बालकालिका विभागअन्तर्गतको कार्यालयमा रहेका भौतिक सामग्री तथा उपकरण काम नलाग्ने अवस्थामा भेटिएका छन् । कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, पावर व्याकप, टिभी र काठबाट बनेका टेबल, कुर्सी, दराज काम नलाग्ने भएका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरे, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साह, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र प्रहरीको रोहबरमा कार्यालयमा रहेका सामग्री थन्क्याइएको छ । आठकोठे कार्यालयमा दुई कोठामा सामग्री राखेर अन्य कोठालाई ‘आइसोलेशन वार्ड ’निर्माण गर्न लागिएको छ । पछिल्लो समय जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि नगरपालिकाले उक्त कार्यालयको भवनलाई आइसोलेशन बनाउने तयारी गरेको छ । गत साउन २५ गते प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँको संयोजकत्वमा बसेको जिल्ला कोभिड तथा सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को बैठकले सो कार्यालयको भवनलाई आइसोलेशन बनाउने निर्णय गरेको थियो । कोरोनाको सङ्क्रमण बढ्दोरूपमा रहेको र पूर्वतयारी अवस्थामा रहनका लागि आइसोलेशन बनाउन कार्यालयको ताला फोडिएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभयो । प्रयोगविहीन अवस्थामा रहेको कार्यालयलाई त्यत्तिकै छोड्नुभन्दा आइसोलेशन बनाएर प्रयोगमा ल्याउन ताला तोडिएको जनाइएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । गृहजिल्ला तनहुँको दमौलीमा रहनभुएका पौडेलले शनिबार राति शोक वक्तव्य जारी गर्दै गिरीको निधनले अत्यन्त मर्माहत भएको उल्लेख गर्नुभएको छ । समाजवादी चिन्तक गिरीको दर्शन, विचार सदैव अमर रहने जनाउँदै वरिष्ठ नेता पौडेलले गिरीको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । नेता गिरीको उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको हो । प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका उहाँ लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपश्चात नेपाल फर्किनुभएको थियो । घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका उहाँ गत ९ साउनमा मेडिसिटी अस्पताल भर्ना हुनुभएको थियो ।
नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । सांसद समेत रहेका नेता गिरीको शनिबार राति ९ः ३६ मा निधन भएको अस्पतालका एक अधिकारीले जानकारी दिएका छन् । काँग्रेसका नेता तथा समाजवादी चिन्तक समेत रहेका गिरी लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए। घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । डा.पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न रहेको थियो ।
यहाँका लायन्सकर्मी र ओशोभक्तले शनिबारको फुर्सदिलो दिन ध्यान साधनामा बिताएका छन् । दिनभर ध्यान, योगाभ्यास, उत्प्रेरणात्मक प्रवचन र नाचगानमा उनीहरु रमाएका हुन् । ‘लायन्स क्लब इन्टरनेश्नल डिष्ट्रिक ३२५ के बागलुङ एरिया’को आयोजना र ओशो अमृतम् ध्यान केन्द्रको संयोजनमा आयोजित कार्यक्रममा ओशो तपोवनका स्वामी आनन्द अर्हतले सहभागीलाई प्रवचन दिएका थिए । उनले ध्यान साधनाका अनेक विधिसँगै योग पनि सिकाएका थिए । कार्यक्रम संयोजक पार्वती अधिकारीले तनावमुक्त जीवनका लागि एकदिने ध्यान शिविर राखिएको बताए । “ध्यानका माध्यमबाट तनाव व्यवस्थापन कसरी गर्ने, सफल कसरी हुने र आनन्ददायी जीवनयापनका तरिकाबारे स्वामीजीले प्रवचन दिनुभयो”, संयोजक अधिकारीले भने । शिविरमा एक सयभन्दा बढीले सहभागिता जनाएका थिए । प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, ‘लायन्स क्बल इन्टरनेशनल डिष्ट्रिक ३२५ के’ का डिष्ट्रिक गभर्नर राजेन्द्रकुमार बाटाजुलगायतले रुचीपूर्वक कार्यक्रममा भाग लिएका थिए । शारीरिक, मानसिक स्वाथ्य र आत्मिक शान्तिका लागि ध्यान उत्तम मानिन्छ । मन, विचार र आत्मशुद्धिका लागि मानिस ध्यानतिर लालयित हुने गरेका छन् । RSS

