तनहुँमा चितुवा आतङ्कपछि फलामे खोर

तनहुँ | भदौ १०, २०७९

तनहुँमा चितुवा आतङ्कपछि फलामे खोर तस्बिर रासस

तनहुँको बन्दीपुर गाउँपालिका-१ बानियाँटारमा बुधबार साँझ चितुवाले आक्रमण गरी तीन वर्षीय बालक शुलभ परियारलाई सख्त घाइते बनाएपछि स्थानीयवासीमा त्रास पैदा भएको छ ।

 

चितुवाले उक्त क्षेत्रमा पटकपटक पशु र मानिसमा आक्रमण गरी घाइते बनाउन थालेपछि स्थानीयवासी त्रासित भएका हुन् । चितुवा गाउँका घरघरमा हिँड्न थालेपछि बन्दीपुरवासी डरले साँझ परेपछि घर बाहिर निस्कन सकिरहेका छैनन् । 

 

बन्दीपुर क्षेत्रमा चितुवाको आतङ्क बढेकाले सुरक्षित रुपमा बस्न आग्रह गरिएको वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । बालबालिकालाई घर बाहिर निस्कन नदिन र गाउँमा चितुवा देखिएमा तुरुन्त सम्पर्क गर्न जानकारी गराइएको उहाँले बताउनुभयो । 

 

स्थानीय गोजे सामुदायिक वनमा चितुवाका लागि पासो थाप्न यसअघि तीन वटा खोर राखिए पनि आज पुनःएक खोर थप गरिएको उहाँले जानकारी दिनुभयो । चारवटै खोर फलामको रहेकाले चितुवा पासोमा नपरेको भन्दै काठको खोर बनाएर राख्न गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापालाई ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो । 

 

प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी चितुवा प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी स्थानीयवासीलाई सुरक्षाको अनुभूति गराउने कार्य गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । 

 

खोरमा बाख्रा र कुकुरसहित राखेर कसरी चितुवालाई नियन्त्रणमा लिन सकिन्छ भन्ने सोचका साथ काम अघि बढाइएको उहाँले बताउनुभयो । त्रसित स्थानीयवासीमा सुरक्षाको अनुभूति गराउने उद्येश्यले जिल्ला प्रशासन कार्यालय तनहुँले उक्त क्षेत्रमा सुरक्षागस्ती खटाएको छ ।

 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्तरुपमा गस्ती परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । सुरक्षागस्तीसहित उक्त सामुदायिक वन क्षेत्रमा चितुवालाई पासो थाप्नका लागि खोर राखिएकोसमेत उहाँले बताउनुभयो । 

 

बुधबार साँझ करिब ५ बजेको समयमा सोही ठाउँ निवासी हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारमाथि चितुवाले आक्रमण गरेको स्थानीयवासीले बताएका छन् ।  

 

साँझ करिब ६ बजेको समयमा घरको पिँढीमा खेलिरहेको समयमा चितुवाले बालकलाई आक्रमण गरी लगेको स्थानीय वासु पन्थले जानकारी दिनुभयो । 

 

चितुवाले घरदेखि करिब ५० मिटर टाढा पुर्‍याएको  अवस्थामा आमा लक्ष्मीले चितुवाको मुखबाट छोरा खोसेर बचाउन सफल हुनुभएको छ । बालकको घाँटी तथा शरीरका अन्य भागमा गहिरो चोट लागेकाले स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । बालकको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको आमा लक्ष्मीले बताउनुभयो । 

 

केही महिनाअघि मात्रै बन्दीपुर-१ का ५ वर्षीय सुप्रिम बगालेको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो भने एक बालिकासहित दुई जना चितुवाको आक्रमणबाट घाइते भएका थिए । तनहुँमा हालसम्म एक दर्जन बढी बालबालिकाले चितुवाको आक्रमणमा परी ज्यान गुमाइसकेका छन् । चितुवाको आक्रमणमा परी घाइते भएका बालकको उपचारका लागि बन्दीपुर गाउँपालिका कार्यालयले रु तीस हजार सहयोग गरेको छ ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्