कास्की: देशको दूरदराजमा रहेका विद्यालयमा पढाई सकिएर परीक्षा हुनलाग्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाएको समाचार बाराम्बार सुनिँदै आइएको छ । तर नेपालकै दोस्रो ठुलो आंगिक कलेजका रुपमा परिचित पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले पनि त्यस्तै समस्या भोगिरहेका छन् भन्ने सुन्दा अनौठो र अपत्यारिलो लाग्न सक्छ । तर वास्तविकता यही हो । २५० रोपनी क्षेत्रफलमा फैलिएको क्याम्पसमा १२ हजार बढी विद्यार्थी अध्ययनरत छन् । प्राध्यापक र शिक्षकहरुको संख्या ६ सय बढी छ । क्याम्पसको पुस्तकालय भवन देख्दा त्यहाँ कुन पुस्तक नपाइएला र ! भन्न सकिन्छ । तर ४ वर्षे स्नातकतहको पठनपाठन सुरु भएपछि अधिकांश विषयका पाठ्यपुस्तक हालसम्म पाइएको छैन । पाठ्पुस्तक नपाइँदा विद्यार्थीहरु अलपत्र छन् । केही विद्यार्थी भर्ना भएको महिना पनि बितेको छैन । नयाँ शैक्षिकसत्रबाट अध्यनरत विद्यार्थीहरु पनि समस्यामा छन् । धेरै विषयको कोर्स सकिएको छ, प्राध्यापकहरुले निरन्तररुपमा अध्यापन गराइरहेका छन्, तर पुस्ताकलयमा पाठ्यक्रमानुसारको किताब नपाइने र बजारमा नआउने समस्याले विद्यार्थीहरु आजित छन् । अब विद्यार्थीले के गर्ने होला त ? प्राध्यापकहरुलाई सोधे सजिलो जवाफ ‘प्रशासनमा जाउँ’, प्रशासन गयो ‘आउँदैछ, काम हुँदैछ, भइरहेको छ’ भन्ने जवाफ आउँछ । यस्तै समस्याहरुबाट आजित विद्यार्थीहरुको गुनासोलाई समेट्दै अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले क्याम्पस प्रशासन र विभागीय प्रमुखहरुसँग अन्तरक्रिया गरेको छ । मानविकी संकायका विद्यार्थीहरुसहित अनेरास्ववियु पृृथ्वीनारायण क्याम्पसका मानविकी संकायकै उपाध्यक्ष अमृत अधिकारीको नेतृत्वमा अन्तरक्रिया भएकोे हो । अन्तरक्रियामा अनेरास्ववियुका अध्यक्ष विष्णु पोखरेलले विद्यार्थीका समस्यालाई प्रस्ट्याए । पुस्तकालयमा समयसापेक्ष र परिवर्तित पाठ्यपुस्तक हुनुपर्नेमा पोखरलले जोड दिए । उनले भने, ‘अब हामी आधुनिकीकरणमा लागिसकेका छौँ, विद्यार्थीहरुले पाठ्यक्रमको निम्ति लाग्ने ‘फि’ बुझाईसकेका छन् सो बापत विद्यार्थीहरुको संख्याको आधारमा पुस्तकतालयमा पाठ्यपुस्तक ल्याइनुपर्छ ।’ क्याम्पसको पुस्तकालय सिंहदरबार भन्दा कम छैन । विशाल क्षेत्रमा फैलिएको भवनको दुबै तलामा पुस्तकले भरिभराउ छ । छानी–छानी पुस्तक पढ्न सकिन्छ । ईतिहासदेखि वर्तमानसम्म, राजनीतिदेखि संस्कार र संस्कृतिसम्म । तर पाठ्यक्रम अनुसारको समयसापेक्ष पुस्तक भने पाउन कठिन छ । केहि समय यता पुस्तकालयमा नयाँ पाठ्यक्रमको पुस्तक आउन सकेको छैन । यसैकारण पनि विद्यार्थीहरु पुरानै पुस्तक पढ्न बाध्य छन् । जसबाट उनीहरु परीक्षाको लागि चिन्तित छन् । ‘बजारमा गयो पुस्तक पाइँदैन, सरले भनेको भरमा र लेखाइदिएको भरमा मात्र विद्यार्थीले कसरी पढ्ने ?’ मानविकी संकायकी छात्रा समीक्षा पौडेलले दुखेसो पोखिन् । हो, हाल बजारमा पाठ्यपुस्तक पाउन कठिन भएको छ । ‘पाठ्यक्रमअनुसारको पुस्तक आएको छैन’ पुस्तक पसलेको जवाफ छ । यसैमा भुगोल, पत्रकारिता, इतिहास, राजनीतिशास्त्रको पुस्तक मगाउँदासमेत पाउन कठिन छ । बगर क्याम्पस गेट छेउ रहेको एडभान्स बुक एण्ड स्टेशनरीका सञ्चालक भन्छन् ‘पढ्ने विद्यार्थीहरु कम हुन्छन्, पुस्तक बिक्री हुँदैन, पुस्तक मात्र ल्याएर के गर्ने ?’ पुस्तक कम मात्रामा छापिएकाले पनि पाउन कठिन हुने उनी बताउँछन् । ‘विद्यार्थीहरु समुहमा आएर मगाए हामी मगाउन सक्छौं’ उनी भन्छन् । ‘६० सालमा जन्मेको मान्छेले ६८ सालको पाठ्यपुस्तक पढ्न परेको छ अलि गाह्रो पनि लाग्यो, ल अलि पछि नयाँ पाठ्यक्रमको पुस्तक आयो खुशी भइयो, परीक्षामा राम्रै नम्बर आउने भयो’ मानविकी संकायका अमन मगर भन्छन् ‘तर समस्या त निश्चित पाठ्यक्रमअनुसारको पुस्तक नै रहेनछ, अब के गर्ने होला ? ’ यसैबीच, क्याम्पसका सहप्रध्यापक यादवराज उपाध्यायले विद्यार्थीलाई सान्त्वना दिँदै पाठ्यक्रम अनुसारको पुस्तक ल्याउने बताए । ‘बुधबारसम्ममा पुस्तकको सम्पूर्ण विवरण तयार पारि तपाईहरुबाटै एक विद्यार्थी लिएर हामी काठमाडौँ जानेछौ ।’ उनले भने । पाठ्यपुस्तककैबारेमा पुस्तकालय प्रमुख किशोर सुवेदीले प्रशासनको आदेशविना आफुले केही गर्न नसक्ने बताए । ‘क्याम्पस प्रशासनको आदेशविना मैले केही गर्न सक्दिन, हाल क्याम्पस प्रशासनले पुस्तक ल्याएकोे छैन ।’ उनले भने । अन्तरक्रियामा पाठ्यक्रमअनुसारको पुस्तक ल्याउने विद्यार्थी र शिक्षकबीच सम्झौता भएको छ । तर निर्धारित समयमा क्याम्पस प्रशासनले विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउँला ? त्यो भने हेर्न बाँकी छ ।
पोखरा । पोखरा महानगरपालिका वडा नं –१५ ले वडास्तरीय बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरेको छ । शुक्रवार बिहान साढे सात बजेदेखि पोखरा –१५ स्थित फूलबारी होटेलको १ नम्बर र २ नम्बर गेटबाट संयुक्त रूपमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको हो । सरसफाइ कार्यक्रममा बोल्दै वडाध्यक्ष तोरण बहादुर बानियाँले ’हाम्रो वडा राम्रो वडा’ बनाउने अभियान अन्तर्गत हिजो घोषणापत्रमा प्रतिबद्धता गरिएअनुरूप वडामा सरसफाइ कार्यक्रमको सुरुवात गरिएको बताए। उनले यस अभियानलाई मासिक रूपमा निरन्तरता दिइने र चाडबाड लागेसँगै अब वडाको सरसफाइमा जुट्नु पर्छ भनेर आजदेखि पहिलो चरणको सरसफाइ कार्यक्रमको आयोजना गरिएको बताए। उनले पोखरा –१५ लाई स्वच्छ वडा बनाउन सरसफाइ कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिए । यस्तै, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर केसीले आजको सफाइ कार्यक्रममा नकुहिने र नष्ट नहुने प्लास्टिकजन्य फोहोर सङ्कलनमा जोड दिइएको बताए। उनले यस्ता प्रकृतिका फोहोरलाई जथाभाबी नफाली बोरामा जम्मा गरेर फोहोरको गाडीमा मात्र फाल्न नगरवासीमा आग्रह गरे। साथै, केसीले नदीपुर क्षेत्रबाट सेती नहरमा प्लास्टिक जन्य फोहोर बगाउने गरेका कारण पोखरा –१४ ,१५ का वडाहरूका अत्यन्तै दूषित हुँदै आएकाले यस्ता कार्य नगर्न सबैलाई आग्रह गरे । आजको सरसफाइ कार्यक्रममा वडाका जनप्रतिनिधि, पूर्व न्यायिक समिति सदस्य पार्वती थापा, टोल बासी आमा समूह, स्थानीय समाजसेवी, वृद्ध लगायत गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर केसीको कमान्डमा ३४९ जवानहरूको सहभागिता रहेको थियो। भने, सहभागीबाट ४ ट्रक फोहोर सङ्कलन भएको थियो ।
पोखरा । तमु(गुरुङ)कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिको पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पुनः सुरेन्द्र गुरुङको अध्यक्षतामा सर्वसम्मत २७ सदस्यीय कार्यसमिति गठन गरेको छ। पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा माया गुरुङ(तनहुँ), उपाध्यक्षमा बिक्रम गुरुङ(स्याङ्जा), महिला उपाध्यक्षमा इन्द्रा गुरुङ(पर्वत), महासचिवमा टसबहादुर गुरुङ(लमजुङ),नेत्र गुरुङ(स्याङ्जा), महिला सचिवमा ज्योति गुरुङ(बाग्लुङ), सहसचिवमा डबिन गुरुङ(पर्वत), कोषाध्यक्षमा सबिना गुरुङ(कास्की) र सहकोषाध्यक्षमा दिलु गुरुङ(स्याङजा) रहनुभएको छ। यसैगरी विदेश विभाग प्रमुखमा गौरी गुरुङ,साँस्कृतिक विभाग प्रमुखमा सबिन गुरुङ(लमजुङ), अतिरिक्त विभाग प्रमुखमा ओम गुरुङ(स्याङजा),महिला विभाग प्रमुखमा रबिना गुरुङ र सचिवालय सदस्यहरुमा पुजा गुरुङ(लमजुङ), रामप्रसाद गुरुङ(स्याङजा), मिना गुरुङ(गोर्खा) चयन हुनुभएको छ। यसरी नै सदस्यहरुमा रनु गुरुङ(गोर्खा), संगिता गुरुङ(लमजुङ), ममता गुरुङ(स्याङजा), सिता गुरुङ(तनहुँ), धनप्रसाद गुरुङ(तनहुँ), युमिन्द्र गुरुङ युबिन(स्याङजा), काजी गुरुङ(स्याङजा), सुनिमा गुरुङ(गोर्खा) र रोशन गुरुङ(स्याङजा) चयन हुनुभएको छ। नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो। निर्वाचित अध्यक्ष सुरेन्द्र गुरुङले प्रतिवद्धता व्यक्त गर्नुहुदै तिनवर्षे कार्यकाल नमुना बनाउने घोषणा गर्नुभयो। नवनिर्वाचित कार्यसमितिलाई फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। यस अघि पाँचौ साधारणसभा, तेश्रो अधिवेशन तथा स्रष्टा सम्मान कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सदस्य मिनप्रसाद गुरुङले शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले मौलिक कला, सँस्कृति विकासका लागि राज्यको तर्फबाट साथ हुनुपर्ने र आफ्नो तर्फबाट सक्दो पहल हुने बताउनुभयो। कठिन बेलामा पनि तमु कलाकार संघ गण्डकीले उदाहरणीय कार्य गरेको भन्दै प्रसंसा गर्नुभएको थियो। कार्यक्रममा तमु कलाकार संघका केन्द्रिय अध्यक्ष सर्मिला गुरुङ, संस्थापक अध्यक्ष राजु गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, सल्लाहकार यामबहादुर गुरुङ, जिफानका अध्यक्ष गुञ्जबहादुर गुरुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सचिव जिवन दाहाल, सम्मानित स्रष्टा शान्ति गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा स्व.मेनकाजी गुरुङ स्मृति पुरस्कारबाट अग्रज गायिका शान्ति गुरुङलाई नगदसहित सम्मान गरिएको थियो। यसै गरी अमेरिकाबाट आउनुभएकी गायिका ज्योति गुरुङलाई स्वागत, अन्नपुर्ण गाँउपालिका भलिबल संघको अध्यक्षमा चयन हुनुभएकोमा संघका आजीवन सदस्य एवम सहयोगी लामा अमृत गुरुङलाई बधाई ज्ञापन गरिएको थियो। यसरी नै कलाकार संघले वर्षको उत्कृष्ठ सदस्यहरुमा महिलातर्फ रबिना गुरुङ र पुरुषतर्फ दिलु गुरुङलाई सम्मान गरिएको थियो। यस्तै गरी संघको संरक्षकहरु संस्थापक अध्यक्ष दुर्गा गुरुङ र संरक्षक संस्थापक सदस्य शंकर बिरही गुरुङलाई बधाई ज्ञापन गरिएको थियो भने सहयोगीहरुलाई कदर पत्र प्रदान गरिएको थियो। कार्यक्रममा संघकी संस्थापक अध्यक्ष दुर्गा गुरुङले गीत प्रस्तुत र संघका कलाकारहरुले नृत्य प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए। तमु कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माया गुरुङले स्वागत र महासचव टसबहादुर गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।
पोखरा । पोखरामा १८३ औं विश्व फोटोग्राफी दिवस मनाइएको छ । फोेटोग्राफर संघ गण्डकी र पोखरा फोटोग्राफर संघको सँयुक्त आयोजनामा आज प्रभातफेरी सहित विश्व फोटोग्राफी दिवस मनाएको हो । सोही अवसरमा फोटोग्राफर संघ गण्डकीको सम्पर्क कार्यालयको उद्घाटन समेत गरिएको छ । १८३ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा फोटोग्राफर संघको कार्यालय पोखराका टुडाबाट शुरु भएको प्रभातफेरी र्याली मानवअधिकार चोक, चिप्लेढुङ्गा, महेन्द्रपुल हुदैँ दी गार्डेन रेष्टुरेन्टमा पुगेर कोणसभामा परिणत भएको थियो । फोटोग्राफर गण्डकीको कार्यालय पोखरा क्षेत्रका पुुराना फोटो तथा भिडियो संकलन सुनिल उलकले कार्यालयको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा पोखराका फोटोग्राफर तथा फोटो पत्रकार र फोटोमा अभिरुचीकर्ताहरुको सहभागिता रहेको थियो । दिवसको अवसरमा राष्ट्रिय मिराज विवाह फोटोग्राफी प्रतियोगिता तथा नेचर र लेण्डस्केप विधामा अनलाईन फोटो प्रतियोगिताको घोषणा समेत गरिएको छ ।
पोखरा । आधुनिकताका नाममा तीज गीतको मौलिकता हराउँदै गएका अवस्थामा गीतकार चन्द्रवती वाग्लेको ‘शून्य छ जन्मेको घर बरिलै’ शीर्षकको गीत बजारमा आएको छ । उहाँले गीतमा नेपाली मौलिकताको तीजको झल्को दिएको छ नै समाजको वास्तविकतालाई पनि चित्रण गर्न खोजिएको छ । कृषिप्रधान मुलुकमा बाँझिदै गएका घरबारी चुनौतीका रुपमा देखिएको उल्लेख गर्दै उहाँले तीनताका बाबुबाजेका पालाको घरपरिवार र समाज अहिले पाउन छोडिएको उल्लेख गर्नुभएको छ । दुःख गरेर जोगाएको सम्पत्तिको पछिल्लो पुस्ताले संरक्षण गर्न नखोजेको र सुख सुविधाका नाममा परिवार नै बोकेर सहर पस्ने गरेको प्रसङ्ग गीतमा उल्लेख गरिएको छ । पहिलोपटक २०७४ सालमा आइन छोरी भनेर गीत लिएर बजारमा आउनुभएकी गीतकार वाग्लेले त्यस बीचमा नरोए आमा, जागिरे नारीको पीडा भाग एक, गरिन गुनासो, जागीरे नारी भाग एक, सहरको सुविधा र म, दर्जा बेरोजगारको, आउ सङ्गी रमाइलो गरौँ बरिलै, रमाइलो माइतैमा, जँड्याहा पोइसहित शून्य छ जन्मेको घर बरिलै शीर्षकका गीत बजारमा आएका हुन् । वाग्लेको हरिश्चन्द्र शोक काव्य २०७५ मा प्रकाशित भएको थियो । सरकारी सेवामा पोखरा महानगरपालिकामा सातौँ तहको अधिकृतका रुपमा कार्यरत वाग्ले कस्केली अधिकृत समाजका सदस्यलगायत विभिन्न सामाजिक सङ्घ संस्थामा पनि आबद्ध हुनुहुन्छ । वाग्लेको यो गीतसहित ११ एकल र दुई वटा संयुक्त गरी १३ गीत रेकर्ड भई बजारमा आएका हुन् । उहाँले दर्जनौँ फुटकर गीत तथा कविता रचना गर्नुभएको छ । गीतका माध्यमबाट समाजका सत्यतथ्य बाहिर ल्याउँदै सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ बर्सेनि तीजका एल्बम बजारमा ल्याएकी वाग्लेको यस गीतको भिडियो निर्देशन, छायाङ्कन, सम्पादन शिवराज भुर्तेलले गर्नुभएको छ । भिडियोमा कलाकार तीर्थराज वाग्ले, विष्णुमाया भुर्तेल, सपना तिवारी र सुनिता नेपालीले अभिनय गर्नुभएको छ । गीतलाई नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो युट्युब च्यानलले बजारमा ल्याएको छ ।
श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति भण्डारीले एक विज्ञप्ति जारी गर्दै शुभकामना सन्देशमा कृष्ण जन्माष्टमी वा गोकुल अष्टमी नामले समेत परिचित यस पर्वका धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरू रहेको र धार्मिक दृष्टिमा भगवान् श्रीकृष्णलाई असल प्रवृत्तिका साधक र आसुरी प्रवृत्तिका विनाशक तथा भगवान् विष्णुका एक अवतार मानिने उल्लेख छ। ुसांस्कृतिक मान्यताअनुसार कृष्णलीलासँग सम्बन्धित विभिन्न भजन, कीर्तन, नाट्य प्रदर्शन एवं उपासनाका लागि आजको दिनले विशेष महत्व राख्दछु , राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, ुहिन्दूहरूको पवित्र ग्रन्थ गीतामा भगवान् श्रीकृष्णबाटै योग र दर्शनको विवेचना भई मानव जाति समक्ष उपलब्ध भएको पक्ष उत्तिकै महत्वपूर्ण छ, जसलाई आजकै दिन विशेषरूपले स्मरण गरिन्छ। त्यसैकारण विश्वभरिका हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन रही आएको राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरेका छन्। सम्पूर्ण विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, मोह त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गर्ने गीता ज्ञानले हामीलाई सुकर्मका लागि युगौँदेखि निरन्तर मार्गदर्शन गरिरहेको छ, सन्देशमा भनिएको छ। उनले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीहरूमा आपसी सद्भाव, करूणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्। यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ष्ण जन्माष्टमी पर्वका अवसरमा एक सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, भाइचारा र मैत्री भावना अभिवृद्धि गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्। गीतामा भगवान् श्रीकृष्णबाटै योग र दर्शनको विवेचना भइ मानव जाति समक्ष उपलब्ध भएको पक्ष महत्वपूर्ण छ र यसलाई आजको दिनमा विशेष रुपले स्मरण गरिन्छ, सन्देशमा भनिएको छ। समस्त हिन्दूधर्मावलम्वीका आराध्य देव भगवान् श्रीकृष्णको शिक्षा र सन्देश समस्त मानव समुदायका लागि अत्यन्त उपयोगी र सारगर्भित रहेको उनले उल्लेख गरेका छन्। यस्तै प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले पनि पर्वको अवसरमा शुभकामना सन्देश दिएका छन्। उनीहरूले छुट्टा छुट्टै सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, भाइचारा र मैत्री भावना अभिवृद्धि गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्।
तनहुँको शुक्लागण्डकी नगरपालिका-२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ । उक्त घटनामा आमा घाइते भएकी छिन् । विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका-५ घर भई शुक्लागण्डकी नगरपालिका-२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र नौ महिनाका आदि ब्याम्बो प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी छिन् । करेन्ट लागेर तीनै जना घाइते भएका थिए । चित्रबहादुर र आदिको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई निर्विरोध चयन भएका छन् । आज पोखरामा सम्पन्न भएको २८ औं वार्षिक साधारण सभा तथा १५ औ अधिवेशनले रेवानको नेतृत्वमा भट्टराईलाई सर्वसम्मत चयन गरेको हो । सो समितिको प्रथम उपाध्यक्षमा विश्वराज पौडेल, द्वितीय उपाध्यक्षमा बसन्त गौतम, महासचिवमा विकास भट्टराई, कोषाध्यक्षमा रोशन जंग कार्की, सचिवमा भीस्मराज पौडेल, सह-कोषाध्यक्षमा बैभव पौडेललाई चयन भएका छन् । यसैगरि समितिको सदस्यहरुमा योगेश भट्टराई, लोक बहादुर गुरुङ, बिष्णु बानियाँ, लोकप्रसाद ढकाल र विरेन्द्र शेरचन चयन भएको नवनिर्वाचित अध्यक्ष भट्टराईले जानकारी दिए ।
पोखरा: कास्कीको माछापुुच्छ्रे गाउँपालिका ६ धितालस्थित भूमेश्वर माध्यमिक विद्यालयको होस्टेलको यौन प्रकरणमा संलग्न किशोरलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । कास्की प्रहरीको एक अधिकृतका अनुसार नियन्त्रणमा रहेका किशोरलाई जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरिएको छ । किशोरीको अभिभावकको जाहेरीको आधारमा किशोरलाई नियन्त्रणमा लिइएको हो ? भन्ने प्रश्नमा ति प्रहरी अधिकृतले भने, ‘जजकमा मुद्धा दर्ता भाछ । अहिले म्याद थप भएको छ । सबै कुरा भन्न मिल्दैन ।’ गर्भवती बनेकी किशोरीलाई भने मनोपरामर्शका लागि शक्ति समुहमा राखिएको स्रोतले बताएको छ । सहमति विना खुल्यो ताला विद्यालयको होस्टेलमै विद्यार्थीबीच अनैतिक शारीरिक सम्बन्ध राखेको घटना बाहिर आएपछि अभिभावकले लगाएको ताला सहमति विना नै खोलिएको छ । अहिले विद्यालयमा परिक्षा सञ्चालन भइरहेको बताउदै ताला खोलिएको माछापुच्छ्रे गाउँपालिका ६ का वडाध्यक्ष टेकनाथ गौतमले बताए । ‘बिहिबारदेखि विद्यालयमा परीक्षा सञ्चालन भइरहेको छ, उनले भने ‘यो विषयलाई परीक्षा सम्पन्न भएपछि पुन: छलफल गर्ने भनेपछि अहिले विद्यालयमा लगाइएको ताला खोलिएको हो । तर त्यो घटनाबारे टुंगो भने लागेको छैन ।’ एसइई दिनको लागि होस्टेलमै रहेका किशोर र किशोरीबीच अनैतिक शारीरिक सम्बन्धबाट किशोरी गर्भवती भएको खुलेपछि अभिभावकले तालाबन्दी गरेका थिए । स्रोतका अनुसार विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासनको कमजोरीका कारण घटना भएको भन्दै अभिभावकहरुले व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर पौडेल र प्रध्यानाध्यापक बुद्धिबहादुर मिजारको राजिनामाको मागेका थिए । अहिले परिक्षाका कारण विद्यालय सञ्चालन भएपछि परीक्षा सकिएलगत्तै वार्ता बस्नेछ । घटना लुकाउन प्रयास किशोरी गर्भवती भएको घटना बाहिरिन नदिन विद्यालयका प्रधानााध्यापक, व्यवस्थापन समितिका अध्यक्ष र जनप्रतिनिधिहरुले गुपचुप गराउन लागेको स्रोतले बतायो । तर उक्त मिलेमतोमा आफ्नो सहभागिता नरहेको वडा ६ का वडाध्यक्ष टेकनाथ गौतमले बताए । ‘मैल घटना मिलाउन कुुनै पनि पक्षलाई दबाब दिएको छैन । यो विषयमा मेरो केही पनि कुराकानी भएको छैन, उनले सुनगाभा न्यूजसँग भने, ‘हाम्रो वडा सदस्यको भाईको छोरी भएकाले उहाँहरु पारिवारिक छलफलमा बस्नुभयो होला यसलाई कुनै वडाको समन्वयमा दबाब दिन बसेको भन्न मिल्दैन ।’ विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको कमजोरीका कारण होस्टेलमै विद्यार्थीबीच अनैतिक सम्बन्ध भएकोे भन्दै चौतर्फी आलोचना भइरहेको छ । अस्पताल पुगेपछि गर्भवती पुष्टि स्रोतका अनुसार घटनामा संलग्न किशोर दलित समुदायका हुन् भने किशोरी क्षेत्री समुदायकी हुन् । एसइई तयारीको लागि धिताल स्थित भूमेश्वर माविले सञ्चालन गरेको छात्राबासमा कुल १३ जना विद्यार्थी थिए । अहिले उनीहरु एसइई सकिएपछि ११ कक्षा भर्ना प्रक्रियामा थिए । घटना होस्टेलमै रहेको समयमा भए नभएको नखुलेपछि अभिभावकहरुले विद्यालय प्रशासनसँग वार्ताको माध्यमबाट क्रममा जवाफ खोजिरहेका छन् । एसइई सकिएपछि उक्त किशोरी समयसमयमा बिरामी भइरहिन् । पेट दुखेर अस्पताल लगिएको उनको चेकजाँज गर्ने क्रममा गर्भवती भएको खुलेको स्रोतले बतायो । ‘नानी पेट दुखेर बिरामी भएको भनेपछि अस्पताल लगेछन्, स्रोतले भन्यो, ‘त्यसपछि पेट पनि बाहिर निस्केकै कारण संका रहेछ । त्यसपछि यो घटना बाहिर आएको हो ।’

