पोखरा: पोखरामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको ४ पार्टीले आह्वान गरेको नपाल बन्दको आंशिक प्रभाव परेको छ । बन्दका कारण सार्वजनिक सवारी साधन नचलेपछी नागरिकले सास्ती खेप्नु परेको हो । पोखराका निजी सवारीसाधन मात्रै छिट्फुट चलेका छन । भने अत्यावश्यक पर्ने एम्बुलेन्स, खानेपानी बोक्ने सवारी साधन तथा सुरक्षा निकायको सवारीसाधन मात्रै गुडिरहेका छन । यसैगरी अत्यावश्यक पर्ने पसलहरु बाहेक अन्य पसलहरु पनि बन्द देखिएका छन् । बन्दको प्रभाव परेपनी बन्दकर्ताहरु भने सडकमा देखिएका छैनन । संभावित घटना रोक्नको लागि मुख्य चोकहरुमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको टोली तैनाथ छन् । नेत्रविक्रम चन्द विप्लव लगायत नेताहरुलाई ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि खारेजीको माग गर्दै संयुक्त रुपमा ४ पार्टीले आज नेपाल बन्दको आह्वान गरेका थिए । हेरौँ केहि तस्बिरहरु :
गण्डकी प्रदेशका भुमी व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा ‘सागर’ले विद्यार्थीहरुले संघीयताबारे बुझ्न आवश्यक रहेको बताएका छन् । नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसको २२ औँ क्याम्पस अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री बुढाले संघीयताबारे बाहिर नराम्रो हल्ला फैलाइएको भन्दै विद्यार्थीहरुले संघीयताको बारेमा बुझ्न आवश्यक रहेको बताएका हुन् । ‘संघीयताबारे बजारमा जे हल्ला फैलाइएको छ त्यसमा कनै सत्यता छैन् संघीयता बुझ्न अध्ययन आवश्यक छ त्यसैले विद्यार्थीहरुले यसको बारेमा बुझ्न आवश्यक छ ।’ उनले भने । मन्त्री बुढाले संघीयता कार्यन्वयनसँगै आदिवासीहरुको हक अधिकार प्राप्त भएको अनुभुति भएको बताउदै विद्यार्थीहरुले संविधानमा उल्लेख भएका ऐनहरु अध्ययन गर्न आवश्यक रहेको बताए । ‘मुलुकले बहुभाषिक, बहुजातिय र बहुसांस्कृतिक स्वीकार गरेको छ, उनले भने, ‘तर यसको अहिले बाहिर विरोध हुँदा मगर लगायत आदिवासीको मुद्धाकोसमेत विरोध हुन थालेको आभाष भएको छ ।’ यसैगरि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीका अध्यक्ष रुद्र बहादुर श्रीस मगरले बहुभाषिक शैक्षिक प्रणाली लागु हुन नसक्नु दुखद भएको बताए । ‘नेपाल संघीय शिक्षा प्रणालीमा प्रवेश गरिसकेको मुलुकलाई बहुभाषिक, बहुजाति, बहुधार्मिक रुपमा घोषणा गरिएपनि यो अझै कार्यान्वयनमा आउन नसक्नु आदिवासीको मुद्धा कार्यान्वयन नहुनु हो ।’ उनले भने । नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समितिले अधिवेशनको अवसरमा क्याम्पसमा अध्ययनरत विभिन्न संकायका प्रथम वर्षका १३ जना विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत वितरण गरेको थियो । अधिवेशनले कृष्ण बुढा मगरको नेतृत्वमा १५ सदस्य कार्यसमिति समेत चयन गरेको थियो ।
कास्की तमु कलाकार संघ गण्डकीका नवनिर्वाचित समितिलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले सम्मान गरेको छ । तमु(गुरुङ)कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिको पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले सुरेन्द्र गुरुङको अध्यक्षतामा नवनिर्वाचित समितिलाई फाउण्डेशनले सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङले तमु कलाकार समुहले गुरुङ जातिको लोप उन्मुख संस्कृति जर्गेना गर्न ध्यान दिन आग्रह गरे । “समिति समितिमा सिमित भएर हुदैन् गुरुङ जातिको संस्कृति जर्गेनामा विशेष ध्यान दिनुपर्दछ । युवाले संस्कृति संरक्षणमा ध्यान दिन आवश्यक छ ।” उनले भने यसैगरि नवनिर्वाचित अध्यक्ष सुरेन्द्र गुरुङले सम्मान ग्रहण गर्दै पहिलो कार्यकालमा संस्थामा नकारात्मक टिप्पणी भए पनि अहिले यसमा गुरुङ जातिको संस्कृति संरक्षण संघले महत्वपुर्ण योगदान गरेको भन्दै नकारात्मक टिप्पणीलाई चिर्न सफल रहेको बताए । ‘जातिय कलाकार संघ गठन गरेर जातीय संगठन बनाएको भन्दै नकारात्मक टिप्पणी गरे, अध्यक्ष गुरुङले भने, ‘नितान्त सस्कृति संरक्षण र गुरुङ कलाकारहरुको कला प्रस्तुतीमा हामीले काम गरेकाले नकारात्मक टिप्पणी चिर्न सफल छौँ ।’ उनले युवा विदेशी पलायन हुुने अवस्थालाई कलाकारिताले यसलाई परिवर्तनको स्वरुप दिएको बताउदै त्लुुकेर रहेका प्रतिभालाई प्रस्फुुटन गर्न संघले महत्वपुुर्ण भुमिका निर्वाह गरेको उनले बताए । यसैगरि लामा अमृत फाउण्डेशनका अध्यक्ष अमृत गुरुङले कलाकारहरुले संस्कृति संरक्षणसँगै समाजसेवामा पनि कलाकारको महत्वपुर्ण भुमिका रहेको बताए । “संस्कृति संरक्षणमा कलाकारको भुमिका छ नै संस्कृति संरक्षणसँगै समाजसेवामा पनि कलाकारको भुमिकाको कदर कर्दै सम्मान कार्यक्रम गरेका हौँ ।” फाउण्डेशनका अध्यक्ष गुुरुङले भने, तमु(गुरुङ)कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिको पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पुनः सुरेन्द्र गुरुङको अध्यक्षतामा सर्वसम्मत २७ सदस्यीय कार्यसमिति चयन गरेको थियो । पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा माया गुरुङ(तनहुँ), उपाध्यक्षमा बिक्रम गुरुङ(स्याङ्जा), महिला उपाध्यक्षमा इन्द्रा गुरुङ(पर्वत), महासचिवमा टसबहादुर गुरुङ(लमजुङ),नेत्र गुरुङ(स्याङ्जा), महिला सचिवमा ज्योति गुरुङ(बाग्लुङ), सहसचिवमा डबिन गुरुङ(पर्वत), कोषाध्यक्षमा सबिना गुरुङ(कास्की) र सहकोषाध्यक्षमा दिलु गुरुङ(स्याङजा) चयन भएका थिए । यसैगरी विदेश विभाग प्रमुखमा गौरी गुरुङ,साँस्कृतिक विभाग प्रमुखमा सबिन गुरुङ(लमजुङ), अतिरिक्त विभाग प्रमुखमा ओम गुरुङ(स्याङजा),महिला विभाग प्रमुखमा रबिना गुरुङ र सचिवालय सदस्यहरुमा पुजा गुरुङ(लमजुङ), रामप्रसाद गुरुङ(स्याङजा), मिना गुरुङ(गोर्खा) चयन हुनुभएको छ । सदस्यहरुमा रनु गुरुङ(गोर्खा), संगिता गुरुङ(लमजुङ), ममता गुरुङ(स्याङजा), सिता गुरुङ(तनहुँ), धनप्रसाद गुरुङ(तनहुँ), युमिन्द्र गुरुङ युबिन(स्याङजा), काजी गुरुङ(स्याङजा), सुनिमा गुरुङ(गोर्खा) र रोशन गुरुङ(स्याङजा) चयन भएका थिए । सो कार्यसमिति लगायत पोखरा २० का वडा सदस्य उत्तम गुरुङ, तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, फोजिन गण्डकीको अध्यक्ष रुद्र श्रीसमगर, समाजसेवी बिनोद गुरुङ, नेपाली कांग्रेस अन्नपूर्ण ११ का सभापति विशाल गुरुङ, समाजसेवी तथा युवा व्यवसायी विष्णु गुरुङ लगायतलाई खादाद्वारा सम्मान गरिएको थियो ।
पोखरा । पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते महाधिवेशनको मिति घोषणा भएसँगै अध्यक्षका उम्मेदवार पवन कुमार प्रजापतिले १४ बुदे प्रतिवद्धतासँगै पदाधिकारी प्यानल घोषणा गरेका छन् । अध्यक्षका उम्मेद्वार प्रजापतिको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योग बरिष्ठ उपाध्यक्षमा हिरामणी पण्डित र वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्य रहेका छन् । यस्तै महासचिवमा बलराम आचार्य, उपमहासचिवमा सोभा गौतम र कोषाध्यक्षमा दिनेशचन्द्र बास्तोला रहेको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । अध्यक्षका उम्मेदवार प्रजापतिले व्यवसायीहरु माझ व्यावसायिक वातावरण निर्माण र उद्योगी व्यवसायीहरुको सम्मान अभिवृद्धि पहिलो प्राथमिकता रहेको बताए । उनले व्यावसायिक डाटा बैंक तथा प्रवर्धन केन्द्र स्थापना गर्ने, रुग्न उद्योग र नोक्सानमा चलेका व्यवसायको लागि बैंक तथा घरबेटीसंग छलफल गरेर सहजता प्रदान गर्ने, व्यवसायी बन्न चाहनेको लागि आवश्यक तथ्यांक उपलब्ध गराईने र नवप्रवर्तन तथा महिला उद्यमशिलता विकासलाई केन्द्रमा राखेर काम गर्ने, बजारीकरण र प्रवर्धनमा सघाउने प्रतिवद्धता पत्रका उल्लेख गरेका छन् । सचिवालयको पुनःनिर्माण, अत्याधुनिक बहुउदेश्यीय भवन निर्माणको लक्ष्य राख्दै राष्ट्रिय औद्योगिक व्यापार मेलालाई अब रमालाईको रुपमा भन्दा पृथक किसिमले गर्नका लागि आवश्यक छलफल र सुझावको आधारमा अघि बढ्ने बताए । संघलाई साना, मझौला र ठूला व्यवसायीसहित महिला उद्यमीको साझा संस्था बनाईने, उद्योगी व्यवसायीमाथि पर्ने समस्या निराकरणका लागि राज्यबाट पाउनुपर्ने सबै खालका सुविधा दिलाउने र व्यवसाय रक्षाका विशेष ध्यान दिईने पत्रकार सम्मेलनमा बताए । संघको सचिवालयलाई प्रविधिमैत्री बनाउँदै सदस्य महानुुभावलाई घरमै आवश्यक सूचना र सहयोग पुर्याउने र संघलाई साना, मझौला र ठुला व्यवसायी सहित महिला उद्यमीको साझा संस्था बनाउने प्रतिवद्धता सहित प्रजापतिले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । संघमा अध्यक्षको रुपमा सर्वसम्मत बनाउने बैठक भएपनि यो सम्भव नभएर उम्मेदवारी घोषणा भएको हो भन्ने पत्रकारको प्रश्नमा प्रजापतिले उम्मेदवारी घोषणामा कुनै अन्यथा मान्नुपर्ने केही नभएको बताए । उनले भने,‘ कार्यसमितिमा २ कार्यकाल, कोषाध्यक्ष, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको रुपमा एक एक कार्यकाल काम गरेर अनुभव लिएको छु । आफु संघमा अनुभवले बटुल्दै आएकाले कुनैपनि चुनौती सामना गर्न तयार हुनैपर्छ भन्ने पाठ सिकेको छु। यसमा अन्यथा मान्नुपर्ने केहि छैन । म र मेरो टिमको उम्मेदवारी न्यायोचित र स्वाभाविक हो । प्रजापतिले भने, मेरो समुहमा खारिएका अनुभवि साथीहरु हुनुहुन्छ । पोखराको विकासको साझेदार संस्था संघको भूमिका समयअनुसार बदलिएकोले उद्योगी, व्यवसायीको हत, हित रक्षाका लागि हामी प्रतिवद्ध छौं । यसअगाडी पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा अध्यक्ष पदमा अर्जुन पोखरेलले समेत उम्मेदवारी घोषणा गरेका छन् ।
पोखरा । सुुन्दर शहर पोखरामा सुुनौलो भविष्य खोज्दै ग्रामीण भेगका विद्यार्थीसँगै सर्वसाधारणको लर्को छ । कतिले आफ्नो सपना पुरा गरेका छन् भने कति जागिरको आशमा ठगिने क्रम बढ्दो छ । पोखरामा ठगी गर्नेहरुको गिरोह फरक फरक समयमा भेटिन्छन् । नक्कली डाक्टर भनेर ठगी गरेको विषय चलिरहँदा फेरि समाज सेवाको नाममा ठगी गरेर फरार भएको अर्को घटना बाहिर आएको छ । स्वयंसेवक समाज नेपाल संस्था दर्ता गरेर दुई व्यक्तिले पोखरामा लाखौ ठगी गरेर फरार भएका छन् । विशेषगरी जटिल रोग लागेर सहयोगको खाचो परेका व्यक्तिहरुलाई उनीहरुले ठगी गर्ने गरेको खुल्न आएको छ । र सुरु भयो ठगी धन्दा एक पीडितका अनुसार पोखरा नदिपुर बस्ने नाम परिवर्तन (राम बहादुर) लाई मृगौलाको उपचार गर्न आर्थिक अभाव भइरहेको थियो । पोखराको व्यस्त शहरमा एक्कासी उनको नजर स्वयमसेवक समाज नेपाल ब्यानर लेखिएको गाडीमा नजर पर्यो । फोन नम्बर टिपे र घरमा गएर फोन गरे । सहयोगको अभियान संचालन भयो रकम संकलन भयो तर आधा रकम लिएर उनीहरु फरार भए । स्वयम सेवक समाज नेपाल संस्थाले मृगौला पीडित र क्यान्सर रोग लागेको व्यक्तिहरुको नाममा रकम संकलन गरेर बिरामी र विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको पिडितहरुको गुनासो छ । संस्थाले अहिले कति रकम ठगी गरेको छ भनेर खुल्न आएको छैन् । ठगी गर्दै आएका उनीहरु प्रहरीको फरार सुचीमा रहेको स्रोतले बतायो । मृगौला पीडितका अनुसार आफ्नो नाममा संकलन भएको ६ लाख बढी रकम मध्ये ४ लाख मात्र पाएको र बाँकी रकम उपचार भएको १६ महिना बितिसक्दा समेत कहिले दिने भनेर आफुलाई पिडामा झन् पिडा थपेको पिडितले बताए । ‘उनीहरु ठगी धन्दामा फरार सुचीमा रहेको जानकारी पाएको छु त्यसैमा आफुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने तयारी गरेको छु ।’ पीडितले भने । अहिले उनले उपचार गरेको १६ महिना बितिसकेको छ तर उनले आफ्नो नाममा संकलन भएको पुरा रकम भने पाउन सकेका छैनन् । उपचार हुनुपूर्व उनलाई संस्थामा संचालक सुवास र सन्तोष बिक नाम गरेका व्यक्तिहरुले दिन दुखी र उपचारका क्रममा सहयोग गर्छौ भनेर बिरामीलाई पिडा दिएर लाखौँ ठगी गरेर फरार भएको पिडितको बिरामीले सुनगाभा न्यूजलाई जानकारी दिए । बागलुङ घर भएका लक्ष्मी थापा अहिले स्नातक पहिलो वर्षमा अध्ययनरत छिन् । उनले पोखरा जव सेन्टरले कर्मचारी आवश्यकता सम्वन्धी विज्ञापन गरिरहेको थाहा पाएपछि उनी स्वयमसेवक समाज नामक संस्थामा जोडिए । अध्ययनसँगै पोखरामा सुन्दर भविष्य खोजेका थापाले जागिरसँगै विरामीको सेवा गर्न पाउँदा भाग्यमानी नै ठानिन् । पोखरा जबसेन्टरमा १५ हजार तलब भनिए पनि संस्थामा जाँदा १८ हजार तलब दिने आश्वासन दिए । तर तलब आश्वासनमा सिमित भएको उनको आरोप छ । ‘हामी १८–२० जनाको संख्यामा त्यस संस्थामा गएका हौँ । सुरुमा ५ जनाको ग्रुप बनाएर विरामीको नाममा पैसा संकलन गर्न भनियो, उनले भनिन्, ‘पोखरामा हामीले एक ग्रुपले झण्डै ४ देखि ५ हजार संकलन भयो । तर यो पैसा लिएर उनीहरु महिना दिनमा फरार भए ।’ थापाका अनुसार बिरामीको नाममा उनीहरुले लाखौँ ठगी गरेका छन् । दिनमा एक ग्रुपले ४ हजार संकलन गर्दा ४ ग्रुपले पोखरामा अनुमान गर्दा ८० हजार रुपैयाँ संकलन हुन्छ यसरी हिसाब गर्दा महिना दिनमा लाखौँ संकलन भएको उनको अनुमान छ । पोखराको रवी होटलमा उनीहरुलाई संस्थाले गर्ने कार्यहरुको बारेमा विकहरुले गोष्ठी कार्यक्रम संचालन गरेका थिए । संस्थाका संचालनक भनिएका विकले कर्मचारी भनेर झापा देखि दुईजना व्यक्तिहरु लिए कार्यक्रममा खर्च भएको रकमसमेत कर्मचारीहरुको नाममा दर्ता गरेर कर्मचारीलाई नै ठगी गरेको बताइएको छ ।
पोखरा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव), प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषम लगायतका नेता कार्यकर्ताको नाममा पक्राउ पुर्जी जारी गरेको विरुद्धमा सँयुक्त रुपमा चार कम्युनिष्ट पार्टीले भोली (मंगलबार) नेपाल बन्दको आह्वान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी विप्लव, नेकपा माओवादी समाजवादी पार्टी नेपाल कम्युनिष्ट पार्टी, र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले पत्र जारी गर्दै संयुक्त रुपमा नेपाल बन्दको आह्वान गरेका हुन् । ‘२०७७ फागुन २१ गते नेपाल सरकार र कम्युनिष्ट पार्टीबीच ३ बुदेँ सहमति भएको थियो, पत्रमा भनिएको छ, ‘उक्त सहमतिको बुदाँ नम्बर ३ मा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र सम्पूर्ण मुद्धाहरु खारेज गर्न सहमत भएको छ भन्ने कुरा उल्लेखीत भएको थियो । तर हालसम्मपनि जेलमा रहेका नेता, कार्यकर्ताहरुलाई रिहाई गरिएको छैन । झुठ्ठा मुद्धा खारेज गरिएको छैन ।’ पत्रमा उल्लेख गरिएको छ, ‘उल्टै नेपाल कम्युनिष्ट पार्टीका महासचिव कमरेड विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषम लगायतका नेता कार्यकर्ताहरुलाई गत साउन १६ गते ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरिएको छ । उक्त कार्य नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको ३ बुदेँ सहमतिको विरुद्धमा भएको कुरा निकै खेदजनक, षडयन्त्रमुलक र मुलुकलाई जबरजस्त द्वन्दमा धकेल्ने नियोजित मनसायमा आधारित छ । त्यसैले उक्त ३ बुदेँ सहमति अविलम्ब कार्यान्वयन र पक्राउ पुर्जी तत्काल खारेज हुन आवश्यक छ ।’ एमसिसी, एसपिपी विरुद्धको आन्दोलनमा पक्राउ पुर्जी खारेजी, झुठा मुद्दाको खारेजी, आकासिदो महंगी नियन्त्रण लगायतको माग गर्दै नेपाल बन्दको घोषणा गरिएको पत्रमा उल्लेख छ ।
पोखरा । गजल प्रतिभा पुरस्कार–२०७९ युवा गजलकार जय गौडेललाई प्रदान गरिने भएको छ । समाजसेवी लालबहादुर गुरुङद्वारा स्थापित तथा गजल सन्ध्या, पोखराद्वारा सञ्चालित पुरस्कार नगद रु. १५ हजार ५५५, दोसल्ला र सम्मानपत्र रहेको छ । सन्ध्याले मोती जयन्तीका अवसरमा एक वर्ष गजल प्रतिभा पुरस्कार तथा अर्को वर्ष गजल प्रतिभा सम्मान अर्पण गर्दै आएको छ । यस वर्षको पुरस्कार गजलकार गौडेललाई आगामी भदौ ११ गते शनिबार १५७ औँ मोती जयन्तीका अवसरमा पोखराको न्युरोडस्थित रिडर्स कर्नरमा हुने एक विशेष कार्यक्रममा प्रदान गरिने सन्ध्याका उपाध्यक्ष सुरज उपाध्यायले जानकारी दिए । सन्ध्याका पूर्व अध्यक्ष दीपक समीपको संयोजकत्वमा पूर्व अध्यक्षद्वय रुपिन्द्र प्रभावी र कपिल शर्मा सदस्य तथा अध्यक्ष वसन्त विनोद र सचिव त्रुपक पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा गजलकार गौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको सन्ध्याले जनाएको छ । स्याङ्जाको अर्जुनचौपारीमा वि. सं. २०४१ मा जन्मेका गजलकार गौडेलको ‘आशाका बयलीहरू’ नामक गजलसङ्ग्रह २०६४ मा प्रकाशित छ । अनाममण्डलीका पूर्व महासचिव गौडेल रचना वाचन युट्युब च्यानलका संयोजक पनि हुन् । शिक्षणसँगै साहित्यिक क्षेत्रमा क्रियाशील उनी गजलकार, गीतकार र कविका रूपमा चर्चित छन् । उनको तरन्नुम शैलीको गजल प्रस्तुतिले पाठक÷स्रोता मन्त्रमुग्ध हुने गरेका छन् । यसअघि सो पुरस्कारबाट रुपक वनबासी, इन्द्रकुमार विकल्प, गोविन्दराज विनोदी, कमल पौडेल ‘अथक’, दीपक समीप, आर. के. अदिप्त गिरी, कपिल शर्मा, जनार्दन दाहाल, जीवनपानी, बाबु त्रिपाठी र निरज भट्टराई पुरस्कृत भइसकेका छन् । पुरस्कार अर्पण कार्यक्रमसँगै नेपाली गजलमा मोतीरामको योगदानको चर्चासमेत गरिने अध्यक्ष वसन्त विनोदले जानकारी दिए ।
पोखरा । नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन भदौ २४ र २५ गते पोखरामा हुने भएको छ। नेकपा एमालेको भातृसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको महत्वपुर्ण घटक लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलन आयोजक समितिको कास्की नौडाडास्थित हिमालयन देउराली रिसोर्टमा सम्पन्न बैठकले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो। बैठकको उद्घाटन गर्नुहुदै नेपाल लोकतान्त्रिक तमु संघका संस्थापक अध्यक्ष एवम् नेकपा एमालेका स्थायी समिति सदस्य किरण गुरुङले राजनीतिक चेतना र नेतृत्व विना तमु लगायत समुदायहरुले अगाडि लम्कन नसक्ने बताउनुभयो। मुलुकलाई जिम्मेवार ढंगले अग्रगति एवम समृद्धिका लागि एमालेलाई सशक्त बनाउन लोकतान्त्रिक तमु संघ सशक्त हुनुपर्ने उहाँको भनाई थियो। नेता गुरुङले संघको स्थापनाको उद्धेश्य प्रष्ट पार्नुहुदै आगामी कार्यदिशाका बारेमा मार्गनिर्देशन गर्नुभएको थियो। बैठकले राष्ट्रिय सम्मेलन भव्यताका साथ सफल बनाउन प्रदेश, जिल्लागत सांगठनिक एवम प्रतिनिधि चयनका साथै आर्थिक दायित्वका बारेमा जिम्मेवारीहरु तोकेको छ। सम्मेलनमा करिब ७ सय प्रतिनीधिहरु सहभागी हुने निर्णय भएको बताइएको छ। त्यसरी नै सम्मेलनमा राजनीतिक एवम सांगठनिक प्रतिवेदन तयारीका लागि संयोजक बेदबहादुर गुरुङ र संशोधित बिधान तयारीका लागि महासचिव हुमबहादुर गुरुङलाई जिम्मेवारी तोकिएको छ। बैठक संचालन अघि आयोजक समिति गठन कार्यक्रममा अनुपस्थित रहेका एवम्. छुटेका आयोजक समितिका सदस्यहरुलाई संयोजक बेदबहादुर गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो।
पोखरा । तमु आदिवासी जनजातिको साँस्कृतिक पुनरुत्थानको अभियान अन्र्तगत तमु समुदायमा जडिबुटिको महत्व र अन्तरपुस्ता ज्ञान हस्तास्तरण सम्बन्धी पोखरामा आयोजित दुईदिने तालिम सम्पन्न भएको छ। राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चद्धारा अन्तराष्ट्रिय आदिवासी महिला मञ्चको सहयोगमा पोखरा नँयाबजारस्थित चारभञ्ज्याङ तमु समाज आयोजित तालिमको समापन कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवि गुरुङले नेतृत्व तहमा नपुग्दासम्म अधिकार नपाईने बताउनुभयो। उहाले राजनीतिक चेतनाका साथै नेतृत्व विकास जरुरी छ भन्नुहुदै तमु समुदायले अहिलेसम्म पनि राज्यबाट पाउने सेवा सुविधाका बारेमा समेत अज्ञानताका कारण पछि पर्नुपरेको बताउनुभयो। आफ्नो अधिकारका बारेमा सचेत, प्राप्त अधिकारको उपयोग, समुदायको मौलिकता एवम पहिचानलाई संरक्षणका लागि तमुहरु जागरुक रहन आग्रह गर्नुहुदै उपप्रमुख गुरुङले पोखरामा तमु भेषभुषाको संरक्षण भए पनि तमु भाषा लोप हुदै गएकाले तमु संघ संस्था समाजहरुको ध्यान जानुपर्ने बताउनुभयो। आदिवासी जनजाति तमुहरुको छुट्टै पहिचान, मौलिकता संरक्षण गर्न तमु समाजहरु गठन भई क्रियाशिल रहनु अति नै सह्रानिय भएको बताउनुभयो। तमु जातिको परापुर्वको ज्ञान सिप पुस्ता हस्तान्तरणको आवाश्यकतालाई दुईदिने कार्यक्रमले झकझकाएको र सहभागीहरुले प्राप्त ज्ञानको विस्तारमा जोड दिनुपर्ने उहाँको भनाई थियो। आगामी दिनमा यस्ता महत्वका कार्यक्रमहरुका लागि पोखरा महानगरपालिकाले सहयोग गर्ने बताउनुहुदै उहाँले पोखरा महानगरपालिकाले शैक्षिक सहजता कार्यक्रम, कानुनी सचेतना कार्यक्रम, महिलाका अधिकार संरक्षणका कार्यक्रमहरु समेत रहेको जानकारी दिनुभयो। कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमु जातिको परम्परागत मौलिक ज्ञान सिप पुस्तालाई हस्तान्तरण कार्यक्रमले नयाँ सन्देश दिएको बताउनुभयो। उहाँले समुदायका मौलिक पहिचानलाई संरक्षण गर्न युवा पुस्ताले सोंच बताउनुपर्ने भन्नुहुदै तालिममा प्राप्त ज्ञानलाई घर परिवार, साथीहरु बिचमा सन्देसको रुपमा पुर्याउन आग्रह गर्नुभयो। कार्यक्रमको संचालन कार्यक्रमको संयोजक बिन्ती गुरुङले गर्नुभएको थियो भने राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका गण्डकी प्रदेश संयोजक माया गुरुङले व्यवस्थापन गर्नुभएको थियो। समापन कार्यक्रम अघि तालिममा सहभागीहरुले तमु धिं नेपाल र तमु धिं नेपालमा हालै शुरु गरिएको गुरुङ संग्रहालयको अवलोकन गरेका थिए भने तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमु धिं नेपालको स्थापना, उद्धेश्य, गरिरहेको गतिविधी, गुरुङ संग्रहालयका बारेमा जानकारी गराउनुभएको थियो। तमु समुदायमा जडिबुटिको महत्व र अन्तरपुस्ता ज्ञान हस्तास्तरण सम्बन्धी कार्यक्रम आयोजना गरिएकोमा कास्की, स्याङ्जा, तनहु, लमजुङ, गोर्खा, पर्वत लगायतको जिल्लाबाट तमु किशोरीहरुको तालिममा सहभागिता रहेको थियो।

