उपभोक्ता समितिमार्फत बाटो खनेका महिलालाई ऋणको भार

कैलाली | भदौ ८, २०७९

उपभोक्ता समितिमार्फत बाटो खनेका महिलालाई ऋणको भार

कैलालीको भजनीमा उपभोक्ता समितिमार्फत काम गरेका महिला यतिखेर घरबाट रकम तिर्नुपर्ने भएपछि समस्यामा छन् । भजनी नगरपालिका–२ पल्टुपुरका सडक निर्माण उपभोक्ता समितिका महिला काम गर्दा खर्च भएको भन्दा कम रकम पालिकाबाट पाएपछि समस्यामा परेका हुन् ।

 

सिमलको रुखदेखि खडक बुढाको घरसम्म बाटो ग्राभेलका लागि नगरपालिकाले रु पाँच लाख ५० हजार विनियोजन गरेको थियो । महिलाले त्यहाँ बाटो ग्राभेल गर्दा पालिकाबाट रु तीन लाख एक हजारमात्रै भुक्तानी पाएका छन् । बाटो बनाउँदा खर्च भएको रु एक लाख १५ हजार तिर्न बाँकी रहेपछि उनीहरु यतिखेर समस्यामा छन् ।

 

उपभोक्ता समितिमा स्थानीय ११ महिला छन् । महिलाले बाटो बनाउँदा टिपरलाई मात्र रु तीन लाख ९० हजार र जेसिबीलाई रु १२ हजार तिर्न बाँकी छ । अन्य काम गर्दाको खर्चको हिसाब छैन । सुरुआतमा नगरपालिकाका प्राविधिकले सडक नापेर गर्नु भने जति नै आफूहरूले काम गरेको उनीहरुले बताएका छन् । प्राविधिकले बनाएको स्टिमेटअनुसार काम गरे पनि रकम कम भुक्तानी दिँदा समस्या भएको उपभोक्ता समितिकी अध्यक्ष इन्द्रा धामी बताउनुहुन्छ । “हामीले भनेअनुसार काम गर्‍यौँ”, उहाँले भन्नुभयो, “पहिला त्यही नापेको थियो, ठीक छ यति ग्राभेल गर्नु भनियो, पछि रकम भुक्तानी दिँदा कम काम भयोे, रकम घट्छ भनेर थोरै दिए । प्राविधिकले नापेर बनाउन भने जति बाटो बनाएका हौँ ।”

 

पालिकाका प्राविधिकले दुःख दिएको अध्यक्ष धामीको आरोप छ । पालिकाले भुक्तानी कम दिएपछि ग्राभेल हालेको रकम तिर्न नसक्दा विपन्न बस्तीका महिला तनावमा छन् । महिलालाई रकम तिर्न ताकेता गर्दै टिपर मालिकले कागज गराएर गाई भैँसी उठाउने भनेपछि उनीहरु अब रकम कसरी तिर्ने भन्ने पीरमा रहेको धामी बताउनुहुन्छ । “टिपरलाई रु ९० हजार तिर्न बाँकी छ । हामीसँग ४५ दिनको कागज गरिएको छ । आज ४५ दिन पुग्दैछ”, उहाँले पीडा सुनाउनुभयो, “अब कहाँबाट ल्याएर तिर्नेरु, बाटो बनाउँदा ऋणमा डुब्यौँ ।”

 

महिलाले टिपर मालिकलगायतलाई गरी अझै रु एक लाख १५ हजार तिर्न बाँकी छ । उपभोक्ता समितिका सचिव तारा बोहरा बुढा अब बाख्रा बेचेर भए पनि ऋण तिनुपर्ने वाध्यता आइलागेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “निकै समस्यामा छौँ । बाख्रा पाल्नेले त्यही बेचेर तिर्ने सोच बनाएका छौँ ।” महिलाले छ सय २० मिटर ग्राभेल गरेको स्थानीय बताउँछन् । पालिकाले हिसाब गरेर चार सय ८५ मिटर बाटोको कामको मात्र भुक्तानी दिएको स्थानीय मनबहादुर बुढाले बताउनुभयो । सो क्रममा उनीहरुले श्रमदानसमेत गरेका थिए । “माग सम्बोधन नगरे महिला अब विकासका काममा हात हाल्न डराउने छन्”, उहाँले भन्नुभयो । 

 

टिपर मालिकले ग्राभेल खसालेको रकम उपभोक्ता समितिबाट असुल गर्न ४५ दिनअघि कागज गरेको थियो । उक्त म्याद आज सकिँदैछ । रु ९० हजार तिर्नुपर्ने भनी बनाइएको कागजमा ऋणीमा उपभोक्ता समितिका अध्यक्ष र सचिवलाई राखिएको छ भने स्थानीय भल्मन्सा बलबहादुर बुढालाई साक्षी राखिएको बुढा बताउनुहुन्छ । “मेरै घरमा कागज गरियो, कागजमा के लेखिएको छ हामीले हेर्न पाएनौँ”, उहाँले भन्नुभयो, “उपभोक्ता समितिलाई ऋणी बनाइएको छ । मलाई साक्षी राखिएको छ ।”

 

स्टिमेटअनुसार छ सय २० मिटर सडक ग्राभेल गर्नुपर्ने छ तर चार सय ८५ मिटरमा ग्राभेल गरिएको भजनी नगरपालिकाले जनाएको छ । नगरपालिकाका सबइञ्जीनियर भावना विष्टले कामअनुसारको पालिकाबाट भुक्तानी भएको तर नभएको कामको भुक्तानी दिन नसकिने बताउनुभयो । “उहाँहरुले काम गरेअनुसार भुक्तानी दिइएको छ । रकम नपुगेको बारे मलाई थाहा छैन”, उहाँले भन्नुभयो, “हामीले नापेर भुक्तानी दिने हो । त्यहीअनुसार दिएका छौँ ।” 

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्