पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

सल्यानको कालीमाटी गाउँपालिका-७ बाट बाघ नियन्त्रणमा लिइएको छ।   प्रहरी, नेपाली सेना र डिभिजन वन कार्यालयको टोलीले बुधबार बिहान पाटेबाघ नियन्त्रणमा लिएको हो।   कालीमाटी-७ बाटुले गाउँका तुल्सी कुमारी घर्तीको गोठमा बाँधेको गोरु बाघले मारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बिहान ६ बजेतिर उक्त बाघले गोठमा बाँधेको दुइटा गोरु मारेको प्रहरीले जनाएको छ। घुइँबारी प्रहरी चौकीका अनुसार बाघको आक्रमणबाट एउटा गोरु घाइते भएको छ।   बाघ नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ देवीदत्त गणको नेपाली सेना र प्राविधिकको टोली पनि सल्यान पुगेको थियो। गोठदेखि दुई सय मिटर पश्चिममा रहेको बाँसघारीमा बसिरहेको बेला बाघ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएको बाघलाई बुधबार नै बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको छ।

बागलुङको  जैमिनी नगरपालिका-९ पैयुँथन्थापका वडा अध्यक्ष सन्दिप थापा ‘ईन्द्र’को कार्यकक्षमा स्थानीयले ताल्चा लगाईदिएका छन् ।   गत बिहिबार थापाको कार्यकक्षमा स्थानीयले ताल्चा लगाईदिएका हुन् । वडा अध्यक्ष थापा कार्यालयमा नगएको र गएको समयमा पनि जनतासँग कुरा राख्न चासो नदिई फर्किएकोले स्थानीयले ताला लगाईदिएको भगिन्द्र थापाले बताए । कार्यालयमा ताल्चा लगाईदा वडाको काम समेत प्रभावित बनेको छ ।   यसबारेमा बुझ्न वडा अध्यक्ष सन्दिप थापा ‘ईन्द्र्’लाई पटक-पटक फोन सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन । थापा विगत केही दिनदेखि वडा सदस्य मिना परियारलाई कार्यबाहक वडा अध्यक्षको जिम्मा दिएर कार्यालयमा आएका छैनन् । विभिन्न सञ्चार माध्यममा उनले घरमा श्रीमति छोराछोरी हुँदाहुँदै ताराखोलाकी एक युवतिलाई गर्भवति बनाएको भन्ने समाचार बाहिरिएसँगै थापाले मिना परियारलाई कार्यबाहक दिएर बिदामा बसेका छन् ।

आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ ।  खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो । सिंहदरबारको गेटमा खटिएका एकजना सुरक्षाकर्मीहरुले ग्यास सिलिण्डर भित्रै लैजान नदिन आफूहरुलाई आदेश आएको बताए ।   आर्थिक वर्ष २०७९र८० को बजेटमार्फत् सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्रबाट गर्ने जनाएको थियो ।   सिंहदरबारमा मन्त्रालय तथा निकायहरुका क्यान्टिनमा ग्यास सिलिण्डरको प्रयोग हुँदै आएको छ । अब त्यहाँ विद्युतीय चुलो प्रयोग हुने छ ।   यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा निकायलाई पत्राचार गर्दै आर्थिक वर्ष २०७९र८० को बजेटको बुँदा नं। २५३ प्रभावकारी कार्यान्वयन गर्न र साउन महिनाभित्रै ग्यास सिलिन्डर विस्थापित गरीसक्न निर्देशन दिएको थियो ।

बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । दशरथचन्द नगरपालिका-४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा  थापेको पासोमा चितुवा फसेको हो ।     डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार आज बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन् । उहाँले भन्नुभयो, “चितुवाको ढाडमा पासो परेको छ । उद्धारका लागि महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली बैतडी आउँदैछ ।”    उद्धार टोली आज बेलुकासम्म आइपुग्ने बताइएको छ । “त्यतिबेलासम्म नेपाली सेनाको टोलीले चितुवालाई खोरमा हाल्ने प्रयास गर्नेछ”, कँडेलले भन्नुभयो ।   

देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १ र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।   मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ । प्रदेश नं १ का पहाडी भू-भागमा पूर्ण बदली रही देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा आंशिक बदली रहेको छ । प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।   रातको समयमा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली तथा देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएकोे छ ।   मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव छ डिग्री र अधिकतम तापक्रम ३० दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघट्ने बताएको छ ।    मंगलबार मात्र भारतबाट मूल्य घटेर पेट्रोलियम पदार्थ प्राप्त भए पनि अझै ऋणको दायित्व रहेकाले हाललाई मूल्य यथावत् नै राख्ने निर्णय भएको निगमले जनाएको छ ।   मंगलबार पत्रकार सम्मेलन गर्दै नयाँ मूल्य पछि पनि निगमलाई मासिक ६२ करोड रुपैयाँ हाराहारी नोक्सानी रहेको निगमका कार्यकारी निर्देशक उमेश थानीले बताउनुभयो । उहाँका अनुसार भारतीय आयल कर्पोरेसन ९आईओसी०लाई तिर्नुपर्ने बक्यौता अझै २३ अर्ब रुपैयाँ बाँकी छ ।   सरकार र वाणिज्य बौंकबाट लिइएको १० अर्ब ऋण र २३ अर्ब वक्यौता गरी ३३ अर्बको भारका कारण स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न नसकिएको निगमको दाबी छ ।   मंगलबार निगमलाई भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्य पछि पेट्रोलमा ४ रुपैयाँ ७४ पैसा नाफा, डिजेलमा ४ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्याँसमा ४९९ रुपैयाँ ५७ पैसा घाटा रहेको कार्यकारी निर्देशक थानीले बताउनुभयो ।

हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाममा रहेको जनहित माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोभिड-१९ को संक्रमण पुष्टि भएपछि आइतबार सम्मका लागि विद्यालय बन्द गरिएको छ ।    घरपझोङ गाउँपालिका-४ जोमसोममा रहेको उक्त विद्यालयका विद्यार्थीमा कोभिड-१९ पुष्टि भएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेका ५१ जना विद्यार्थीको मंगलबार एन्टिजेन परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विद्यार्थीमा कोरोना संक्रमण देखिएकोले विद्यालय बन्द गरिएको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिनुभयो ।    विद्यालयको छात्राबासमा बस्ने विद्यार्थीमा रुघाखोकी तथा ज्वरो आएर विरामी हुन थालेपछि गाउँपालिकाको स्वास्थ्य शाखाले परीक्षण गर्दा संक्रमण पुष्ति भएपछि बुधबारदेखि प्रारम्भिक चरणमा तीन दिन विद्यालय बन्द गरिएको आचार्यले बताउनुभयो ।   मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले कोभिड-१९ विरुद्ध उच्च सतर्कता अपनाइएको बताउनुभयो । भौतिक दुरी व्यवस्थापन एवं स्वास्थ्य मापदण्डमा कडाइ गरिएको शर्माको भनाई छ । कोभिड–१९ बाट जोगिनका लागि सर्वसाधारणलाई सचेत गराइनुका साथै परीक्षणलाई पनि स्वास्थ्य कार्यालय मुस्ताङ तथा स्थानीय तहले तिब्रता दिएको प्रजिअ शर्माको भनाई छ ।   स्वास्थ्य कार्यालय मुस्ताङका बरिष्ठ जनस्वास्थ्य अधिकृत रामबहादुर नेपालीका अनुसार अहिले मुस्ताङ जिल्लामा ४३ जना सक्रिय संक्रमित रहेका छन् । थासाङ गाउँपालिकामा ६ जना, घरपझोङ गाउँपालिकामा २७, र मुस्ताङ अस्पतालमा १० गरी कूल ४३ जना सक्रिय संक्रमित रहेको नेपालीले बताउनुभयो ।

बेनी नगरपालिका-९ स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब रु १९ लाख ७० हजार दुई सय ५३ भेटी सङ्कलन भएको छ । साउनका पाँच सोमबारका दिन पूजाआजाका लागि आएका भक्तजनले चढाएका रकमबाट सो भेटी जम्मा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।   कोषका कोषाध्यक्ष कुमारी रोकाले पहिलो सोमबार रु। तीन लाख ३९ हजार पाँच सय ५६, दोस्रो सोमबार रु तीन लाख १८ हजार तीन सय ३२, तेस्रो सोमबार रु तीन लाख सात हजार १३, चौथो सोमबार रु चार लाख ६१ हजार चार सय २३ र पाँचौँ तथा अन्तिम सोमबार रु चार लाख ६८ हजार नौ सय २९ भेटी सङ्कलन भएको जानकारी दिनुभयो । “साउन महिनाको सोमबार, वालाचर्तुदर्शी र शिवरात्रिको भोलिपल्टै र अन्य समयमा मासिकरूपमा भेटी गन्ने गरिएको छ”, उहाँले भन्नुभयो, “भेटी सार्वजनिक गर्न थालिएसँगै मन्दिरको आम्दानी पनि बढेको छ ।” साउनमा एक लाख २५ हजार भक्तजनले दर्शन र पूजाआजा गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार संस्थाको विभिन्न बैंक तथा वित्तीय संस्थामा हाल रु तीन करोड नौ लाख ४९ हजार पाँच सय ८८ मौज्जदात छ ।   जिल्ला प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी, विभिन्न विद्यालय, क्लब र आमा समूहका स्वयंसेवकको सहभागितामा पूजालाई व्यवस्थित गरिएको थियो । म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवनलगायत जिल्ला र भारतबाट समेत गलेश्वर शिवालयको दर्शन तथा पूजाआजा गर्न भक्तजन आएका सदस्यसचिव बलबहादुर खत्रीले बताउनुभयो ।   साउन महिनाको सोमबार ब्रत बसेर, कालीगण्डकी स्नान र शिवालयमा चल चढाएमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वर मन्दिर परिसरमा कहिल्यै नसुक्ने पोखरी छ । द्धापरयुगमा महादेवले सतिदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी किनारैकिनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा सतिदेवीको गलापतन हुँदा ज्योतिर्लिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहनुभएकाले यसको धार्मिक इतिहास छ ।   भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु १० करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मीनारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका कोषका अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

  तनहुँको भानु नगरपालिका क्षेत्रमा खादाको प्रयोगमा पूर्णरूपमा रोक लगाइएको छ । भानु नगरकार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रभित्र खादाको प्रयोग नगर्ने निर्णयअनुरूप रोक लगाइएको हो ।    विभिन्न कार्यक्रम, सभा, बैठक, समारोह तथा अन्य सम्मानलगायतका कार्यमा समेत खादा प्रयोग नगर्न निर्देशन गरिएको भानु नगर शिक्षा अधिकारी धु्रवराज पौडेलले जानकारी दिनुभयो । खादा प्रयोगले अनावश्यक खर्च मात्रै बढाउने भएकाले यसको प्रयोग नगर्न सम्बन्धित निकायमा सोमबार नै परिपत्र गरिसकेको उहाँले बताउनुभयो ।    अब उप्रान्त कुनै पनि कार्यक्रममा प्रयोग नगर्न र नगराउन नगरपालिकाका सबै निकायमा जानकारी गराइएको उहाँले बताउनुभयो । भानु नगरपालिकाभित्र सञ्चालित विद्यालय, कलेज, शिक्षालय, सामुदायिक सिकाइ केन्द्र, सार्वजनिक पुस्तकालय, वाचनालय तथा अन्य सम्पूर्ण सार्वजनिक कार्यक्रममा खादा प्रयोगमा नल्याइने नगरपालिका कार्यालयले जनाएको छ ।    त्यसैगरी सामुदायिक शैक्षिक संस्थामा आयोजना गरिने वार्षिकोत्सव, सभा, बैठक समारोह, स्वागत तथा बिदाइ कार्यक्रम जस्ता सार्वजनिक कार्यक्रममा खादा प्रयोगमा पूर्णरूपमा बन्देज लगाइएको उहाँले जानकारी दिनुभयो ।