पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

पोखरा:  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले घोषणा गरेको २२ गतेदेखिको आन्दोलन स्थगित भएको छ ।   पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीका अनुसार गण्डकी प्रदेश सरकारले यातायात व्यवसायीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता दिएको बताए । ‘अहिले प्रदेश सरकारसँग व्यवसायीको छलफल भइरहेको छ, सुनगाभा न्यूजसँग भने, ‘यथाशिघ्र यातायात व्यवसायीको माग सम्बोधन गर्ने सहमति भएपछि घोषित आन्दोलन फिर्ता गरेका हौ । मुख्यमन्त्री सहित विभागीय मन्त्रीहरु सम्मिलित बैठक छिटै बस्ने र माग सम्बोधन गर्ने सहमति भएको छ ।’   गत १८ गते नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै (भोलि) आइतबारदेखि गण्डकी प्रदेशभर चल्ने करिब २० हजार बढी मालबहाक तथा यात्रुबहाक सवारी साधन घर तथा ग्यारेजमा राखेर गण्डकी प्रदेश सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको थियो ।   

  तनहुँको देवघाट गाउँपालिकास्थित शालिग्राम करिडोर चार दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । शालिग्राम करिडोरअन्तर्गत विभिन्न ठाउँमा पहिरो खसेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो ।   सोमबारदेखि परेको वर्षाका कारण उक्त खण्डको देवपुर साउने, साँढेबर, बेलस्वाँरा, कालिकाटार, कोटा, खाल्टे लगायतका ठाउँमा पहिरो खसेको छ । पहिराले सडक अवरुद्ध भएसँगै यातायात पूर्ण रुपमा बन्द भएको स्थानीय अमृता गुरुङले जानकारी दिनुभयो । “सडक अवरुद्ध भएसँगै कामका लागि देवघाट जानुपर्दा घण्टौँ हिँड्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “सडक खुलाउनेतर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।”   देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङले चारदिनदेखि सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएकोबारे आफूहरु जानकार रहेको भन्दै बाटो सफाई सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार देउतीखोलाबाट बाटो सफाईको काम थालिएको छ भने प्राविधिक टोलीसँगै पहिरो गएका ठाउँको निरीक्षण गर्दै भोलिदेखि सफाइको कामलाई तीव्रता दिइनेछ । 

काठमाडौं:  गायिका मेलिना राईले प्रेमी म्युजिसियन सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोडेकी छिन् ।   सामाजिक सञ्जालमार्फत इन्गेजमेन्टको घोषणा गरेकी उनले आज (शुक्रबार) आधिकारिक फेसबुक पेजमा सुचना जारी गर्दै आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेज तोड्ने निर्णय गरेको स्पष्ट पारेकी हुन् ।   संगीतकर्मी समेत रहेका प्रेमी बराइलीसँग गत बैशाखमा इन्गेजमेन्ट गरेको सार्वजनिक गरेकी थिइन् ।   फेसबुकमा स्टाटस लेख्दै उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी नहुने बताउदै लेखेकी छिन्, ‘केही समय अगाडी मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा यसै सामाजिक संजालमार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो ।    एउटा  परिस्थितिमा हामी दुईबिच भबिष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि  जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो विचारमा मेल खान सकेन ।    धेरै समिक्षा आत्मसमिक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।   फेरि सबै इङ्गेजमेन्टहरु विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको इन्गेजमेन्ट तोडिएको कुरा म  फेरि यहि सामाजिक संजालमार्फत सार्वजानिक गर्दछु ।’   उनले उक्त घटनाको विषयमा आफ्ना आफन्त तथा शुभचिन्तकहरुलाई क्षमायाचना समेत गर्दै भनेकी छिन्, ‘यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’     इन्गेजमेन्ट’ गरेका प्रेमि म्युजिसियन सञ्जीव बराइलीसँग

पाेखरा:  गण्डकी प्रदेश सरकार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित बजेट ल्याएदेखि आलोचित बनेको छ ।    प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले आफ्नो आफन्तको नाममा स्थापित कोष तथा पार्कनिर्माण गर्न बजेट विनियोजन गरेपछि खैलाबैला मच्चिएको थियो । त्यसपछि सवारी कर तथा जरिवानामा २ सय प्रतिशतले राजस्व असुलेपछि फेरि प्रदेश सरकारको विरुद्धमा नाराबाजी तथा ध्यानाकर्षण गराइएको थियो ।      चोतर्फी दबाबपछि आकस्मिक मन्त्रिपरिषदको बैठक बस्दै भाषागत त्रुटी भएको भन्दै ऐनलाई नै संशोधन गर्ने निर्णय गरेको थियो । तर सवारी करमा भने वृद्धि कायमै छ । त्यसैगगरि ट्राफिक प्रहरीलाई ५ हजारसम्मको जरिवानाको अधिकार प्रदान गरेकोप्रति पनि यातायात व्यवसायीहरु असन्तुष्ट हुदै आएका छन् ।   सोही कारण यातायात व्यवसायीले आगामी २२ गतेदेखि सार्वजनिक सवारी साधननै घर ग्यारेजमा थन्काउने घोषणा गरिसकेका छन् । उनीहरुको माग सम्बोधन नभए केन्द्रीय कार्यक्रम नै आयोजना गरि देशव्यापीरुपमा हड्ताल गर्ने तयारीमा छन् ।   गण्डकी प्रदेश सरकारको कृष्णचन्द्र पोखरेल नेपाली नेतृत्वको सरकार तीन महिनापछि विदा हुदैछन् । बिहिबार मात्रै सरकारले आगामी मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति घोषणा गरिसेको छ । त्यसैले यही आर्थिक वर्षमा जनतामाथि करको भारी थपेर विदा हुदैछन् ।   यद्यपी बजेटमाथि दफावार छलफलको क्रममा राष्ट्रिय जनमोर्चाकी संसदीय दलकी प्रमुख नेतृ पियारी थापाले करको दर नभई दायरा फराकिलो पार्नुपर्ने भन्दै आपत्ती जनाउँदै आएकी थिइन् । तर पनि सुनुवाई नै भएन ।    ४० करोड राजस्व बढाउने लक्ष्य   सरकारले सम्पत्ति कर शीर्षकमा घरजग्गाबाट चालु आर्थिक वर्ष २०७९÷०८० मा १ अर्ब राजस्व उठाउने लक्ष्य लिएको छ । जबकी अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा ६० करोडको लक्ष्य लिएको थियो । थप ४० करोड राजस्व बढाउनकै लागि सरकारले जनतामाथि ४२८ प्रतिशतसम्मले करको दरमा वृद्धि गरेको छ ।   आर्थिक ऐन, २०७९ अनुसार तीनपुस्ता भन्दा बाहिरको घरजग्गा नामसारी गर्दा महानगरपालिकामा १५ हजार, नगरपालिकामा १० र गाउँपालिकामा ५ हजार रुपैयाँ सेवा शुल्क तिर्नुपर्छ । अघिल्लो वर्ष यो शुल्क महानगरमा तीन हजार ५००, नगरपालिकामा तीन हजार र गाउँपालिकामा एक हजार ५०० रुपैयाँ मात्र थियो ।     तीनपुस्ता भित्रको नामसारी गर्दा अघिल्लो वर्ष महानगरमा एक हजार ५०० तिरे पुग्नेमा अहिले पाँच हजार रुपैयाँ तिर्नुपर्छ । नगरपालिकामा एक हजारको सट्टा तीन हजार, गाउँपालिकामा पाँच सय तिर्नुपर्ने ठाउँमा यो वर्षदेखि एक हजार पाँच सय तिर्नुपर्ने हुन्छ ।   हाल साबिक दस्तुर पनि महानगरमा चार सयबाट एक हजार पुगेको छ भने नगरपालिकामा दुई सयबाट पाँच सय र गाउँपालिमा एक सयबाट दुई सय पुगेको छ । संशोधन शुल्क पनि दोब्बर बढाइएको छ ।   बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट कर्जा प्रवाह गर्दा लिएको धितो लिलाम गर्दा व्यक्तिले सकार नगरी ऋणीकै नामबाट बैंक वित्तीय संस्थाले आफ्ना नाममा दाखिल खारेज गर्दा प्रति मिसिल पहिले महानगर र उपमहानगरमा ७ हजार लिने गरिएकोमा यो वर्षदेखि १५ हजार पुगेको छ । यस्तै नगरपालिकामा पाँच हजारबाट १० हजार पुगेको छ भने गाउँपालिकामा दुई हजारबाट ५ हजार पुगेको छ ।      अंशबण्डामा पनि सरकारले ५० प्रतिशतसम्म कर बढाएको छ । अंशबण्डा आर्थिक कारोबार नभइ हकभोगको हस्तान्तरण मात्रै भएकोले कर घटाउनुपर्ने माग संसदमा पनि उठेको थियो । तर, त्यसको सुनुवाइ भएन । चालु आर्थिक वर्षमा अंशबण्डा गर्दा पाँच लाख रुपैयाँ तिर्नुपर्नेले आगामी वर्षदेखि दुई लाख ५० हजार रुपैयाँ थपेर सात लाख ५० हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ । अंशबण्डा तथा अंश भर्पाइको लिखतमा शीर्षकसहित सरकारले कर पनि बढाएको हो ।   चालु आर्थिक वर्षमा अंशबण्डा तथा अंश भर्पाइको लिखत गर्दा ३० लाख, ३० देखि दुई करोड र २ करोड रुपैयाँ माथिको क्लस्टर बनाएर शुल्क तोकिएको रजिस्ट्रेसन शुल्क बुझाउनुपर्ने प्रावधान राखिएको थियो ।

पोखरा:  ​पोखरा महानगरपालिकाले महेन्द्रपुलका सटर प्रयोगकर्ता व्यवसायीलाई ३५ दिनभित्र सटर खाली गर्न सूचना जारी गरेको छ ।   महेन्द्रपुल नजिकै आर्ट ग्यालरी र पुस्तकालय भवनमा रहेका सटर कवलमा व्यवसाय सञ्चालन गर्न विगतमा सम्झौता गरेका व्यवसायीहरुले कानुन बमोजिम म्याद थप नगरेको, सम्पर्कमा समेत नआएको र पटकपटक ताकेता गर्दासमेत बहाल बक्यौता भुक्तानी नगरेकाले ३५ दिनभित्र हटाउन महानगरले आग्रह गरेको छ । आफैं नहटाए कानुन बमोजिम हुने उसको चेतावनी छ ।   ‘महेन्द्रपुल नजिकै आर्ट ग्यालरी र पुस्तकालय भवनमा रहेका सटररकवलमा व्यवसाय सञ्चालन गर्न विगतमा सम्झौता गरेका व्यवसायीहरुले कानुन बमोजिम म्याद थप नगरेको, सम्पर्कमा समेत नआएको र पटकपटक ताकेता गर्दासमेत बहाल बक्यौता भुक्तानी नगरेकाले मुलुकी देवानी संहिता, २०७४ को दफा ४०१ बमोजिम ३५ दिने सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख छ ।   यसअघि महानगरले साउन ७ गते भाडा सम्झौता प्रतिलिपि, तेस्रो पक्षसँग सम्झौता गरेको भए सोको प्रतिलिपि र हालसम्म भाडा नबुझाउनुको उचित कारण खुलाएर एक हप्ताभित्र सम्पर्कमा आउन सूचना जारी गरेको थियो ।   महानगरको असार ७ गते बसेको कार्यपालिका बैठकले नै महानगरको स्वामित्वमा रहेका सटर भाडा नबुझाउने व्यवसायीलाई कारबाही गर्ने निर्णय गरेको थियो । उक्त बैठकले महेन्द्रपुलको ३ महिनाभित्र सटर खाली गरेर योजनामुताबिक भवन भत्काउने र पार्क वा पार्किङमध्ये एउटा बनाउने निर्णय गरेको थियो ।

पोखरा घुम्न आएका भारतीय पर्यटकको होटलको छतबाट खसेर मृत्यु भएको छ ।    भारतको मेङलोर घर भएका ४५ वर्षिय भारतीय नागरिक भानु प्रकाशको  होटलको छतबाट खसेर मृत्यु भएको हो ।   पोखरा महानगरपालिका-६ लेकसाइड, गौरीघाटस्थित पोखरा इन्टरनेसनल होटलमा आफन्तसँग पोखरा घुम्न आएका भारतीय नागरिक भानु प्रकाशको छतबाट खसेर शुक्रबार बिहान मृत्युु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रकाशको शव पोष्टमार्टम लागि गण्डकी हस्पिटल लगेको र उनको मृत्यु के कसरि भयो भनेर थप अनुसन्धान भैइरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

  माग बढेपछि म्याग्दीमा व्यावसायिक रूपमा सुँगुर पाल्न थालिएको छ । घरायसी र धार्मिक प्रयोजनका लागि सुँगुर पाल्ने कृषकले आम्दानी गर्न थालेका हुन् ।   म्याग्दीको  बेनी नगरपालिका-१ सिमका एकेन्द्र थापाको खोरमा अहिले २८ सुँगुरका माउ छन् । उहाँले वर्षको तीन सयभन्दा बढी सुँगुरका पाठापाठी बेच्दै आउनुभएको छ । पाठापाठी किन्न जिल्लाबाहेक बागलुङ र पर्वतबाट समेत ग्राहक आउँछन् ।  एउटा पाठो पाँच हजारसम्ममा बिक्री हुने गरेको छ । “पुर्खादेखि नै सुँगुर पाले पनि व्यावसायिक रुप दिइएको  थिएन तर  अहिले बङ्गुरसँगै सुँगुर पनि व्यावसायिक रुपले पाल्न थालेको हुँ । परिवारबाहेक चार–पाँच जनालाई रोजगारी पनि दिएको छु”, उहाँले भन्नुभयो, “व्यवस्थित खोर बनाएर व्यावसायिक रूपमा पाल्न थालेपछि हिजोआज सुँगुरले पनि ‘मान’ पाएको छ, कृषकहरुलाई पनि हौसला मिलेको छ ।”      सुँगुरका पाठापाठीलाई स्थानीयवासीले ‘भुनी’ र ‘वीरे’ भनी सम्बोधन गर्छन् । भुनी तीन महिनामा गर्भवती हुन्छे र छ महिनामा ब्याउँछे । भुनीले एक बेतमा १५ वटासम्म पाठापाठी पाउँछे । अर्जमे कालो सुँगुरको एक बर्षमा ६० केजी तौल पुग्छ । पैँतालिस दिनमा पाठापाठी र माउ छुट्याउनुपर्छ, नत्र आमाले पाठापाठी मार्छे । सुँगुरको मासु प्रतिकेजी रु आठ सयमा बिक्री हुन्छ ।   सुँगुर पाल्न नगरपालिकाको पशु शाखा र वडा कार्यालयले खोर निर्माण तथा पाठापाठी खरिद गर्न अनुदान दिएको छ । मासुको मुख्य बजार बागलुङ र बेनी हो । जिल्लामा सुँगुर पाल्ने बेनी–१ को रत्नेचौर र अर्जममा मात्र गरिएको छ । होटल, रेष्टुरेटमा सुँगुरको मासुको माग बढेसँगै पछिल्लो समय जिल्लाभर व्यावसायिक रूपमा बङ्गुरसँग जोडेर कालो सुँगुर पाल्न थालिएको अर्जमका कृषक नरबहादुर थापाले बताउनुभयो । रत्नेचौर र अर्जममा पाँच सयभन्दा बढी मगर घरमा दुई–चार वटा लोकल कालो सुँगुर अनिवार्य पाल्ने गरिन्छ । केही दलित र नेवारले पनि सुँगुर पालेका छन् ।   थापामगरको घरमा मान्छे मर्दा पिण्डदान गर्ने बेला सुँगुर नभई हुँदैन । पितृलाई पिण्ड चढाउँदा जाँड, रोटी, सुँगुरको मासु चढाउने चलन छ । कुलपूजा, पितृपूजा, दशैँमा देवी मन्दिरमा पञ्चबलि दिँदा होस् वा विवाह, व्रतबन्धलगायत सामाजिक कार्यक्रममा  सुँगुर काट्ने गरिन्छ । परम्परागत शैलीमा पालिँदै आएको कालो सुँगुरपालनलाई व्यावसायिक बनाउन बेनी-१ वडा कार्यालयले खोर निर्माण, व्यावसायिक फर्म स्थापना गर्नेलाई प्रोत्साहन गरेको वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो । 

  कास्की:   कास्की जिल्लामा करिब आठ हजार मतदाता थपिएका छन् । नयाँ मतदाताका लागि कास्की जिल्लामा १२ हजारले आवेदन दिएकामा चार हजार अन्य जिल्लाको रहेको पोखरास्थित प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।      निर्वाचन आयोगले मतदाता नामावली थप्नका लागि देशका जुनसुकै निर्वाचन कार्यालयमा आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । बाहिर अन्य जिल्लाबाट पनि कास्कीका लागि मतदाता थपिएको हुनसक्ने उहाँले बताउनुभयो । जिल्लामा यस अघिको कूल मतदाता सङ्ख्या दुई लाख ८१ हजार ९४० थियो । जिल्लामा करिब एक हजार ८००ले मतदाता केन्द्र स्थानान्तरणका लागि आवेदन दिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो । 

२८ औँ विश्व आदिवासी दिवसको अवसरमा पोखरामा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले भव्यताका साथ मनाउने भएको छ ।    संघले श्रावण २४ गते आ-आफ्नो जातिय मौलिक झाँकी  सहित विशाल र्‍याली  गर्ने समेत आयोजना गरेको छ । संघले पोखरामा पत्रकार सम्मेलन गरेर कोभिडका कारणले रोकिएको  विगतको कार्यक्रमलाई निरन्तर दिँदै कार्यक्रम गर्न लागिएको जनाएको हो  । कारोना महामारीका कारणले संघले दुई वर्षदेखि कार्यक्रम गरेको थिएन् l   पहिचान, पहुँच, प्रतिनिधीत्वर समावेशीकरणको लागि आदिबासी जनजाति आन्दोलन जाति, भाषा अमर संस्कृति संरक्षणको लागि देश व्यापी राष्ट्रिय जागरण नाराका साथ महासंघले देश व्यापी रूपमा कार्यक्रम गर्न लागेको कास्की जिल्ला अध्यक्ष मानेन्द्र कुमार मलिले बताए । चिप्लेढुंगाबाट सुरूभएको र्‍याली नेपाल मगर संघ कास्कीको भवनमा पुगि औपचारिक कार्यक्रम गरिने  पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।    संयुक्त राष्ट्र संघको आदिवासी जनजाती हेर्ने कार्यदलको सन १९८२ डिसेम्वरमा स्वीट्जरल्याण्डमा बसेको पहिलो बैठकबाट हरेक ९ अगष्ट लाई विश्व आदिबासी  दिवसका रुपमा मनाउने निर्णय भएको थियो ।