पर्वत । पर्वत जलजला गाउँपालिका ७ धाइरिङ धारापानी गाउँमा हाइभोल्टेज लाइन प्रशारण हुँदा एकजनाको मृत्यु भएको छ । प्रशारण लाइनमा विद्युत सर्ट भएर गाउँका सबै घरमा हाइभोल्टेज लाइन प्रशारण हुदाँ करेन्ट लागेर धारापानीकी ५० वर्षीया सीता क्षेत्रीको मृत्यु भएको हो । घरमा रहेको मिटरबक्स अफ गर्न जाँदा करेन्ट लागेर क्षेत्रीको मृत्यु भएको स्थानीय मिलनचोकी प्रहरी चौकीका इन्चार्ज मुक्ति खड्काले जानकारी दिए । खड्काका अनुसार थप १२ जना करेन्ट लागेर घाइते भएका छन् । हाइभोल्टेज लाइनका कारण गाउँका करिब दुईसय घरधुरीका मिटरबक्स जलेका छन् । वितरण लाइन चुँडिएर स्थानीय प्रताप आचार्यको बाख्रा फार्ममा रहेका १६ वटा बाख्रा मरेका छन् । विद्युत कार्यालयको लापरवाहीका कारण दुःखद घटना घटेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए । घटनाको जिम्मेवारी विद्युत कार्यालयले लिनुपर्ने उनको भनाइ छ । घटनास्थलमा अहिले पालिका अध्यक्ष आचार्य, वडाका जनप्रतिनिधि र प्रहरी टोली पुगेको छ । टान्सफर्मरबाट वितरण लाइनमा हाइभोल्टेज विद्युत प्रसारण भएकाले घटना घटेको हुनसक्ने अनुमान गरिएको छ । उता, नेपाल विद्युत प्राधिकरण कुश्मा वितरण केन्द्रका प्रमुख शिवनारायण गोशेलीका अनुसार प्रारम्भिक रुपमा २२० भोल्टेज प्रसारण हुनुपर्ने विद्युतको तारमा त्योभन्दा धेरै भोल्टेज प्रसारण भएको बताए । आज बिहानै विद्युत समस्या समाधानका लागि केहि स्थानमा रुख हटाउने काम भएको उनले बताए । कार्यालय प्रमुख गोशेलीले कति भोल्टेज प्रवाह भयो यकिन नभएको बताए । गाउँपालिकाका अध्यक्ष आचार्यले भने ११ हजार भोल्टेज नै प्रवाह भएका कारण ठूलो क्षति पुगेको बताए।
बागलुङ नगरपालिका-१ माझी बस्तीमा खानेपानीको अभाव भएको छ । माझी बस्तीका स्थानीयले अहिले कालीगण्डकी किनारबाट पानी बोकेर खाँदै आएका छन् । माझीबस्तीमा खानेपानीको चरम अभाव टार्नका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले तीन वर्षअघि सुरु गरेको माझी बस्ती लिफ्ट खानेपानी योजनाको पूर्वाधार निर्माण सम्पन्न भएको थियो । ती समुदाय अहिले पानी घरमा रित्तो धारो एक वर्षदेखि हेर्दै छन् । विसं २०४८ मा बागलुङ पोखरा सडकखण्ड विस्तारको क्रममा विस्थापित माझी समुदायलाई २० वर्ष बाङ्गेचौर खेल मैदानमा राखियो । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१ रामरेखा स्थित कालीगण्डकी किनारामा तीन वर्षअघि मात्रै जग्गा खरिद गरेर नयाँ घर व्यवस्थापन गरिएको थियो । माझी बस्तीमा १४ नमूना घर निर्माणसँगै उनीहरुले आफ्नै घर पाए पनि अन्य सेवा सुविधा पाउन सकेका छैनन् । नमूना बस्तीमा एक घर एक धारा वितरणका लागि तीन वर्षअघिदेखि सुरु भएको खानेपानी आयोजना एक वर्ष अघिनै सक्कियो, ट्याङ्की, धारो लगायतको पूर्वाधार निर्माण सम्पन्न भइसक्यो तर एक वर्षदेखि पानी भने खस्न सकेको छैन । उपभोक्ता समिति, वडा कार्यालय र खानेपानी तथा सरसफाइ कार्यालयको समन्वय अभावमा योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । ‘एक घर एक धारा’ पु¥याउने माझी बस्ती खानेपानी आयोजना निर्माण गर्दै झण्डै रु ३० लाख खर्च भइसकेको छ तर माझी बस्तीको घरमा पानी बिनाकै धारो बनेको एक वर्ष पुगिसकेको छ । माझी समुदायले दैलोमा खानेपानीको धारो बनेको एक वर्ष वित्दा समेत खानेपानी नआएको दुखेसो गरेका छन् । कालीगण्डकी किनाराको खानेपानीलाई लिफ्टमार्फत करिब ५०० मिटर माथी तानेपछि नमूनामा बस्तीमा खानेपानी वितरण गर्ने योजना अधुरै बनेको बागलुङ नगरपालिका–१ का वडाध्यक्ष जयबहादुर केसीले बताउनुभयो । उहाँले नयाँ जनप्रतिनिधि आएपछि तत्कालै आयोजनामा पनि सुचारु गर्नका लागि काम थालिरहेको बताउनुभयो । “खानेपानी समस्या समाधानका लागि अघिल्लो जनप्रतिनिधिले के गरे त्यो बुझ्नै पर्दछ, म निर्वाचित भएर आएपछि यसको समस्याका विषयमा जानकारी पाए, अहिले खानेपानी तथा सरसफाइ कार्यालय र नगरपालिका सँग समन्वय भइरहेको छ”, वडाध्यक्ष केसीले भन्नुभयो, “विद्युत् जोडेर पम्प चलाए मात्रै पानी आउछ, त्यसमा समन्वयको मात्रै अभाव भएको देखियो ।” कोरोना महामारीका कारण खानेपानी योजना समयमै नसकिएको र अहिले विद्युत् जडानको काम नहुँदा पानी आउन नसकेको माझी बस्ती खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कृष्ण माझीले बताउनुभयो । माझीले कोरोनामा आफैँ बिरामी भएर महिनौँ बस्दा आयोजनामा समय दिन नसकेको भन्दै खानेपानी कार्यालयसँग समन्वय गरेर विद्युत् जडान गरी पानी तान्नका लागि पहल गर्ने बताउनुभयो । उहाँले १४ घरमा धारा निर्माण, ट्याङ्की तथा वितरण पाइपलगायत भौतिक पूर्वाधारमा खानेपानी कार्यालयको रु ३० लाख खर्च भइसकेको बताउनुभयो । अध्यक्ष माझीले माझी बस्तीमा हिउँदमा खानेपानीको चरम अभाव भएको भन्दै हिउँदसम्म खानेपानी धारोमा ल्याउने गरी आफूले सरोकारवाला निकायलाई जवाफदेही बनाउने बताउनुभयो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी तथा इन्जिनियर ईश्वरीप्रसाद शर्माले हिउँदभित्रै माझी बस्तीमा खानेपानी ल्याउने गरी कार्यालयले काम गर्ने बताउनुभयो । “हामीले आयोजना सम्पन्न भयो भन्ने हिसाबले अघिल्लो दुई आर्थिक वर्षअघिको योजनालाई हेर्यौ , पानी खसाल्ने काम उपभोक्ता समितिको समन्वयममा हुन पर्दथ्यो, अब हामी स्थलगत अनगुमन पछि आवश्यक बजेट खर्चेर पानी तान्ने उपकरण जोड्नेछौं” शर्माले भन्नुभयो “हिउँदभित्रै माझी बस्तीमा लिफ्टमार्फत खानेपानी पुर्याउँछौँ ।”
तनहुँ जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी दर्ता हुने गरेको छ । आर्थिक वर्ष ०७८/७८ मा अदालतमा सम्बन्धविच्छेदका नौ सय ३७ मुद्दा दर्ता भएको हो । उक्त आर्थिक वर्षमा कूल दर्ता भएकामध्ये ३७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदको मात्रै रहेको अदाललते जनाएको छ । अदालतले सो वर्ष छ सय ८६ सम्बन्धविच्छेदका मुद्दा फछ्र्योट गरेको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनुभयो । सम्बन्धविच्छेदका दुई सय ५१ मुद्दा फछ्र्योट हुन बाँकी भई चालु आर्थिक वर्ष ०७९/८० मा जिम्मेवारी सरिआएको छ । कम उमेरमा विवाह गर्ने र उमेर पुगेपछि श्रीमान् श्रीमतीको सम्बन्ध राम्रो नभएपछि अदालतमा सम्बन्धविच्छदेका मुद्दा बढी आउने गरेको बताइएको छ । बालविवाह, विपन्नता, मोबाइलको दुरुपयोग, वैदेशिक रोजगारी, अशिक्षा ।जस्ता कारणले सम्बन्धविच्छेदको मुद्दा बढेको बताइएको छ । यसैगरी लेनदेनतर्फ एक सय १९ मुद्दा रहेकामा ७३ मुद्दा फछ्र्योट भएको छ । अंशतर्फ चार सय आठ मुद्दा रहेकामा एक सय ५९ थान मुद्दा फछ्र्योट भएको छ । लिखत बदरतर्फ एक सय २० मुद्दा रहेकामा ३५ मुद्दा फछ्र्योट भएको छ । जबर्जस्ती करणीतर्फ ८० मुद्दा रहेकामा २५ मुद्दा फछ्र्योट भएको छ । कर्तव्य ज्यानतर्फ २२ मुद्दा रहेकामा आठ, सवारी ज्यानतर्फ ८१ मुद्दा रहेकामा ५१, ज्यान मार्ने उद्योगतर्फ २१ मुद्दा रहेकामा १०, चोरीतर्फ ३३ मुद्दा रहेकामा १४ मुद्दा फछ्र्योट भएको छ । डाँकाचोरीतर्फ दुई मुद्दा रहेकामा दुई, लागुऔषधतर्फ ६८ मुद्दा रहेकामा ३३, आत्महत्या दुरुत्साहनतर्फ आठ मुद्दा रहेकामा दुई, मानव बेचबिखनतर्फ एक मुद्दा रहेकामा एक, कुटपिटतर्फ एक मुद्दा रहेकामा एक, जालसाजीतर्फ एक सय २८ मुद्दा रहेकामा ४८, बहुविवाहतर्फ १५ मुद्दा रहेकामा छ, बालविवाहतर्फ चार मुद्दा रहेकामा तीन, बालयौन दुरुपयोगतर्फ सात मुद्दा रहेकामा पाँच, चेक अनादरतर्फ एक सय मुद्दा रहेकामा २४ र अन्यतर्फ तीन सय ४० मुद्दा रहेकामा एक सय ७८ थान मुद्दा फछ्र्योट भएको छ । अदालतले चार सय ७६ मुद्दा मेलमिलापका लागि पठाएकामा ३६ मुद्दा मात्रै मेलमिलापबाट समाधान भएको छ । अदालतमा सूचीकृत मेलमिलापकर्ता १४ जना छन् । अदालतले सो अवधिमा ५४।५६ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । अदालतले उक्त अवधिमा लक्ष्यभन्दा कम मुद्दा फछ्र्योट गरेको हो । अघिल्लो वर्षको जिम्मेवारी सरिआएका नौ सय ५९ र नयाँ दर्ता एक हजार पाँच सय ४१ गरी कूल दुई हजार पाँच सय मुद्दामध्ये एक हजार तीन सय ६४ मुद्दा फछ्र्योट भएको अदालतका श्रेस्तेदार कुँवरले जानकारी दिनुभयो । त्यस अवधिमा न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले छ सय २४ थान र न्यायाधीश वासुदेव पौडेलले सात सय ४० थान मुद्दा फछ्र्योट गर्नुभएको छ । “गत वर्ष कोरोना कहरका कारण भएको निषेधाका कारण मुद्दा फछ्र्योटमा कमी देखिएको थियो, यस वर्ष पनि करिब डेढ महिनामा एक जना न्यायाधीश स्थानीय तह निर्वाचनमा खटिनुपर्दा मुद्दा फछ्र्यौटमा कमी आएको छ”, श्रेस्तेदार कुँवरले भन्नुभयो । अदालतले उक्त वर्षमा एक हजार दुई सय ३४ नयाँ मुद्दा दर्ता हुँदा वार्षिक लगत दुई हजार एक सय ९३ हुने र एक हजार पाँच सय ७६ मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखेको थियो तर लक्ष्यभन्दा बढी मुद्दा दर्ता भएका कारण फछ्र्योट सङ्ख्या कम भएको श्रेस्तेदार कुँवरले बताउनुभयो । अदालतमा अब एक हजार एक सय ३६ मुद्दा फछ्र्योट हुन बाँकी छ । फछ्र्योट हुन बाँकी मुद्दा चालु आर्थिक वर्ष ०७९/८० मा जिम्मेवारी सरेर आउँछ ।
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार-२०७९’ उदयबहादुर अमात्य (कास्की) र आश गुरुङ (लमजुङ) लाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार महासंघको आईतबारको बैठकले नाम अनुमोदन गरेको अध्यक्ष रुद्र श्रीस मगरले जानकारी दिए । पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र छ । अधिवक्ता सुरेन्द्र थापामगर संयोजक रहेको प्रतिभा छनोट समितिको सदस्यमा पत्रकार एमबी आस्था मगर, शान्ति गुरुङ तथा रुद्र श्रीस मगर र धनबहादुर गुरुङ थिए । पुरस्कृत हुने आमात्य गण्डकी प्रदेशको एकमात्र नेपाल भाषा मासिक पत्रिका पोखरायाः भिन्तुनाका प्रकाशक तथा प्रधानसम्पादक हुन् । गुरुङ कान्तिपुर दैनिकका लागि लमजुङबाट काम गर्छन् । उनीहरुलाई साउन २७ मा पोखरामा समारोह आयोजना गरी पुरस्कृत गरिनेछ । पोखराका प्रतिष्ठित व्यवसायी बिमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा सो पुरस्कार स्थापना गरेका हुन् । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष सो पुरस्कार प्रदान गरिँदै आएको छ । यसअघि बागलुङका राजेशचन्द्र राजभण्डारी र कास्कीका रुद्रबहादुर थापा, कास्कीका शान्ति गुरुङ र नवलपुरका केबी रानालाई सो पुरस्कार अर्पण गरिसकिएको छ ।
पोखरा: एनआईसी एशिया बैंकको एटिएम मेसिन फोर्न खोजेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत घर भएका कृष्ण बहादुर बि.कलाई एनआईसी एशिया बैँकको एटिएम मेसिन फोरेर नगद चोरी गर्न लागेको सूचनाका आधारमा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा महानगरपालिका–१७ बिरौटा स्थित एनआईसी एशिया बैंकको एटिएम मेसिन फोरेर नगद चोरी गर्न खोजेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले बि.कलाई पक्राउ गरेको हो । बि.क उपर चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । उनी यस अगाडी पनि माछापूछ्रे बैँकको एटिएम मेसिन फोर्दै गरेको अवस्थामा प्रकाउ परी चोरी उद्योग मुद्धामा जिल्ला अदालत कास्कीबाट माग भए बमोजिम १ लाख धरौटी जम्मा गर्न नसकी पुर्पक्षको लागि थुनामा गएको र अदालतबाट मुद्धा फैसला हुुदा तोकिएको कैद भुक्तानी गरी छुटेको अभिलेखबाट देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले जिल्लामा भर्खर आएको नयाँ प्रहरी प्रमुख प्रहरी उपरिक्षक अजय केसीलाई स्वागत गरेको छ । समुदायमा भइरहेका अहिलेको अवस्थाको बारेमा जानकारी दिने उद्देश्यका साथ सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिले कास्की प्रहरी प्रमुखलाई स्वागत तथा जानकारी गराएको हो । कार्यक्रममा बोल्दै कास्की प्रमुख अजय केसीले मुख्य गरि ड्रग्स र साइबर ब्युरोलाई महत्व दिएर काम गर्ने बताए । ‘यस जिल्लामा भर्खरै आएकाले अध्ययन गर्दैछु । एक अर्कालाई हातेमालो गर्दै अगाडी बढियो भने समाजमा रहेका विकृति, विसंगतिहरुलाई हटाएर सभ्य र शान्त समाजको निर्माण गर्न सक्छौं । हामी तपाईहरुको सुरक्षाका लागि २४ सै घण्टा खटिन प्रतिवद्ध छौं ।’ –उनले भने । त्यस्तै सामुदायि प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका कार्यबाहक अध्यक्ष भिम पराजुलीले सेवा केन्द्रले लागुऔषध नियन्त्रणमा महत्वपूर्ण भुमिका खेलिरहेको बताए । सचेतनाका विभिन्न कार्यक्रम गरिरहेको र यसले समाजमा सकारात्मक असर परेको दावी समेत पराजुलीले गरे । उक्त स्वागत कार्यक्रममा वक्ताहरुले सामुदायिक प्रहरी सेवा केन्द्रमा थप १ जना प्रहरी आवश्यक रहेको बताएका थिए ।
पोखरा । पोखरा महानगरपालिका वडा नं.५ मा रहेको सुर्यचन्द्र विकास समाजले भदौ १२ देखि १४ गतेसम्म आठौं सस्करणको खुला तिजगीत तथा महिला खेलकुद प्रतियोगिता गर्ने भएको छ । कोभिडका कारण दुई वर्ष स्थगित रहेको प्रतियोगिता यस वर्ष सञ्चालन गरिने सुर्य चन्द्र विकास समाजले जनाएको छ । तिज गित प्रतियोगितासँगै महिलाहरुको छेलो प्रतियोगिता र दौड प्रतियोगितासमेत राखिने आयोजकले बताएको छ । तिज गित प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार र सान्त्वनाले ५ हजार प्राप्त गर्ने छन् । साथै उत्कृष्ट भेषभुषा, उत्कृष्ट नृत्य र दर्शक उत्कृष्ट नृत्यमा पनि पुरस्कार राखिएको आयोजकले जनाएको छ । प्रतियोगितामा ५ लाख ३८ हजार खर्च हुने बताइएको छ । प्रतियोगिता मालेपाटन खेल मैदानमा हुनेछ । प्रतियोगितालाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरिएको छ । जसमा आर्थिक व्यवस्थापनको संयोजकमा दिपकप्रसाद बराल, प्रचारप्रसारमा सावित्री कोइराला, प्राथमिक उपचारमा कमला गौतम, मञ्च साउण्ड सिस्टम खाजा तथा खेलकुद व्यवस्थापनमा विमल श्रेष्ठ, निर्णयक मण्डल व्यवस्थापन तथा चिठीपत्रमा हेमराज भण्डारी, श्रण्टा सम्मान व्यवस्थापनमा वसन्तराज भण्डारी, अतिथि सत्कारमा कमला सुनार, स्वयंसेवक परिचालनमा मुन्द्रमान श्रेष्ठ, तिजगित प्रतियोगि व्यवस्थापनमा महेश्वर बराल, महोत्सव अनुगमत तथा मुल्यांकनमा लक्ष्मण कोइराला र महोत्सव सल्लाहकार उपसमितिको संयोजकमा उज्वल खत्रीलाई चयन गरिएको छ । साथै खेलकुदका लागि अफिसियल रेफ्रि शुसिल केसीलाई चयन गरिएको आयोजकले जानकारी दिएको छ ।
पोखरा: चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीले आफु सिमित समयका लागि आएको र काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । क्याराभान नेपाल प्रालीले पोखरामा आयोजना गरेको ‘आफ्नो कथा आफ्नो सिनेमा’ कार्यक्रममा बोल्दै केसीले समग्र चलचित्र क्षेत्रको संरक्षणका लागि आफुले काम गर्ने बताए । ‘चलचित्र विकास बोर्डको अध्यक्षमा भर्खरै मात्र नियुक्ति भएको छ । थुप्रै समस्या छन् । जसको समाधानको बाटो खोज्दै अगाडि बढ्नेछु । समग्र चलचित्र क्षेत्रको उत्थानका लागि सम्पूर्ण चलचित्रकर्मी, पत्रकार लगायत सबैको साथको अपेक्षा छ । काम गर्न आएको हुँ । छोटो समय नै सही काम गरेर देखाउने छु ।’ नेपालको मौलिक कथाका विषयमा आफ्नो चिन्तन पहिलेदेखि नै भएको अभिव्यक्ति उनको थियो । नेपाली सिनेमालाई विश्वबजारीकरण गर्न प्राविधिक पक्षलाई बलियो बनाउनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । जसका लागि विकास बोर्डले दक्ष प्राविधिक उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने भनाई उनको छ । जीवनको ४० वर्ष आफुले सिनेमा क्षेत्रमा बिताएकाले चलचित्र निर्देशक, निर्माता, लेखक, कलाकार, प्राविधिकका समस्यालाई नजिकबाट नियालेको उनले बताए । ‘जीवनको लामो समय मैले चलचित्र क्षेत्रमा नै बिताएको छु । यसमा भएका विविध समस्या सँग म जानकार नै छु । हिजो प्रश्न गर्ने ठाउँमा म थिए । आज उत्तर दिने ठाउँमा छु । प्रशासनलाई बुझ्दै छु । सबैलाई समेटेर चलचित्र क्षेत्रको सुधारमा लाग्ने प्रण गर्दछु ।’, उनले भने । केसीले निर्माता तथा निर्देशक एवम् कलाकार बिमल पौडेलले चालेको कदमको प्रशंसा गरे । समाजको कथा खोज्ने कार्यमा बिकास बोर्डले सक्दो सहयोग गर्ने भनाई उनको छ । क्याराभान नेपाल प्रालीका निर्देशक एवम् कार्यक्रम ‘आफ्नो कथा आफ्नो सिनेमा’ का परिकल्पनाकार विमल पौडेलले नेपाली चलचित्र र दर्शकबीचको दुरी बढ्दै गएको अभिव्यक्ति प्रस्तुत गरे । हामीले आफ्नो कथालाई चलचित्रमा प्रस्तुत गर्न नसक्दा यस्तो समस्या आएको भनाई उनको छ । उनले आफुले एक अभियानको थालनी गरेको बताए । ‘कार्यक्रम आफ्नो कथा आफ्नो सिनेमा एक अभियान हो । जून अभियान मार्फत हामी समाजमा भएका कथा खोज्छौं । हरेक व्यक्तिका व्यथालाई प्रस्तुत गर्छौं ।’, उनले भने । पौडेलले यो अभियान गण्डकी प्रदेशका ११ वटै जिल्लामा गरिने बताए । हरेक जिल्लाको स्थानीय तहसँग समन्वय गरी समाजका कथालाई बुझ्ने प्रयासमा आफु रहेको भनाई उनको छ । उनले प्रदेशमा चलचित्र विकास बोर्ड गठन गर्नुपर्ने आवश्यकतालाई समेत औंल्याएका छन् । चलचित्र निर्माता तथा निर्देशक शिवजी लामिछानेले चलचित्र विकास बोर्ड सेन्सरमा मात्रै सिमित नरही कथाको खोजी गर्ने र सिनेमाको संरक्षणमा लाग्नुपर्ने बताए । उनले यसका लागि सहज नीति नियमको अवधारणामा जानुपर्ने आवश्यकतालाई सुझाएका छन् । कलाकार प्रकाश घिमिरेले नेपाली कथावस्तुअनुसार कलाकारले अभिनय गर्ने हुँदा मौलिकतामा विशेष ध्यान दिनुपर्ने बताए । सिनेमा बुझेको निर्माता चलचित्र क्षेत्रमा आउनुपर्ने भनाई उनको छ । चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले किताबी विषयलाई घोेकेको आधारमा मात्रै चलचित्रको कथावस्तु उत्कृष्ट बन्न नसक्ने बताए । यसका लागि समाजमा नै गएर बुझ्नुपर्ने धारणा उनको छ । गुरुङ फिल्म एशोसियसन (जिफान) का अध्यक्ष गुञ्ज बहादुर गुरुङले पूर्वदेखि पश्चिमका कथालाई खोज्नुपर्ने धारणा राखे । जिफानका निवर्तमान अध्यक्ष भोज बहादुर गुरुङले भाषागत चलचित्र अब च्यारेटीमा मात्रै सिमित हुन नहुने बताए । भाषागत चलचित्रलाई सेन्सरमा समस्या भएकोले यसको निवारण तर्फ विकास बोर्डले ध्यान दिनुपर्ने तर्क उनको छ । मगर चलचित्र संघ कास्कीका अध्यक्ष राहुल थापाले मगर चलचित्रको व्यवस्थापन र संरक्षणमा सरकारी निकायले साथ दिनुपर्ने बताए ।
पाेखरा: नेकपा एमालेको सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्यमा अर्यालले पाँच दलीय गठबन्धन एमालेलाई धुलो चटाउन बनेको बताएकी छिन् । आइतबार नेकपा एमाले गण्डकी प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्यालले अहिलेको गठबन्धन देश विकासका निम्ति नभई एमालेलाई हराउने उद्देश्यसहित बनेको बताएकी हुन् । ‘यो गठबन्धनको उद्देश्य मुलुक बनाउने होइन । जनतालाई सुविधा दिने होइन, उनले भनिन, ‘गठबन्धनको उद्देश्य एमालेलाई कमजोर बनाउने र धुलो चटाउने हो ।’ उनले पाँचदलीय गठबन्धन इतिहासको नै असफल र नालायक सरकार भएको आरोप लगाइन् । ‘ यो सरकार सरकार नै हो जस्तो लाग्नदैन । इतिहासको सबभन्दा नालायक र असफल सरकार यो गठबन्धनको सरकार हो, अर्यालले भनिन्, ‘आर्थिक हिसाबले पुरै असफल छ । आर्थिक सुचांकहरु पुरै धारासायी बन्दै छ । राष्ट्रियताको हिसाबले एससिसी हेर्नुस् । एसपिपी हेर्नुस् । दीर्घकालिन रुपमा राष्ट्रलाई नोक्सान हुन्छ । नेपाललाई रणभूमी बनाउने उद्देश्यकासाथ आजा एसपिपी अगाडी बनाउन खोजिएको छ ।’ पाँचदलिय गठबन्धन देशका लागि अपवित्र रहेको भन्दै सिमित स्वार्थका लागि गठबन्धन गरिएको दाबी गरे । ‘पढ्नका लागि पुस्तक छैन्, खेतीका लागि मल दिन सरकार तयार छैन् सिमित स्वार्थका गठबन्धन गरिएको छ, उनले भनिन्, यसकै कारण नागरिकले दुःख पाइरहेको अवस्था छ ।’ एमालेलाई पराजित गर्न अहिलेका सरकारले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरि मतदान स्थल स्थानान्तरण गर्न लागेको समेत अर्यालले आरोप लगाइन् । ‘एमालेलाई कसरी गर्ने, कसरी मत लुट्ने भनेर मतदान स्थानान्तरण गर्न लागिरहेको छ ।’ उनले भने । इन्चार्ज अर्यालले सरकारले पेट्रोलियम पदार्थमा अरबौँ रुपैया घोटाला गरेको आरोप लगाउदै गत जेठमा महिनामा तिनपटकसम्म पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको टिप्पणी गरेकी थिइन् । प्रदेश सरकारले जनविरोधी काम गरेको एमाले गण्डकीको आरोप नेकपा एमाले गण्डकी प्रदेश कमिटीले गण्डकी प्रदेश सरकारमा पाँचदलिय गठबन्धन नेतृत्वको गण्डकी प्रदेश सरकारले मनोमानी गरेको भन्दै सरकारले जनविरोधी काम गरेको आरोप लगाएको छ । नेकपा सरकारले अगाडी सारेको बहुवर्षिय योजनहरुमा राजनीतिक पूर्वाग्रह साँधेर बजेट कटौटी गरेर आयोजना प्रभावित पारेको एमाले गण्डकीका अध्यक्ष नवराज शर्माले बताए । एक निर्वाचन क्षेत्र एक सडकको दीर्घकालिन नीतिलाई निस्तेज पार्ने मनसायले कृषि सडककको आवरण दिएर दिर्घकालिन महत्वको नीतिलाई लत्याएको उनको आरोप छ । बजेट निर्माणमा सिद्धान्त विपरित विना योजना ल्याउने, आफूखुसी बजेट बनाउने, सत्तापक्षका सांसदहरुलाई प्रति सांसद पाँच करोड बजेट विनियोजन गर्ने तर विपक्षी सांसदलाई दोस्रो दर्जाको सांसदको रुपमा व्यवहार गरेको उल्लेख गरे । उनले मन्त्री परिषद सदस्यका मृतक आफन्तको नाममा ट्रष्टको आवरणमा बजेट छुट्टाएर नीजि सम्पत्ति बनाउन खोजको उनले टिप्पणी गरे । चालु आर्थिक वर्षमा सवारी करदेखि घरजग्गा नामसारी गर्दा लाग्ने करमा चरम वृद्धि गरिएको प्रति समेत प्रदेश सरकारको ध्यानाकर्षण भएको बताएका थिए ।

