पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसलाई मारवाडी भोजनालयकातर्फबाट सञ्चालक प्रेमचन्द उपाध्यायले १५ लाख रुपैयाँ सहयोग गरेका छन् । क्याम्पसले हाल शान्तिवनमा भवन निर्माण गरिरहेको छ । सोही भवन निर्माणमा थप टेवा पुगोस् भन्ने हेतुले बुवा सूर्यदेव उपाध्यायको स्मृतिमा उक्त रकम हस्तान्तरण गरेका हुन् । हस्तान्तरित रकम ग्रहण गर्दै क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले सामुदायिक क्याम्पसको भवन निर्माण प्राप्त सहयोग अमूल्य रहेको बताए । लालचनले भने ‘उपाध्यायज्यूले प्रदान गरेको रकम आगामी दिनमा हाम्रा विद्यार्थीकालागि मारवाडी भोजनालयको मिठाईजस्तै स्वादिलो र पोषिलो हुनेछ ।’ उक्त अवसरमा सहयोगी उपाध्यायले सहयोग रकमबाट क्याम्पसले गूणस्तरीय र सबैकालागि शिक्षा प्रदान गर्न सकोस् भन्दै आफ्ना धारणा राखे । ‘शिक्षाभन्दा उत्तम र उपयोगी अन्य कुनै विधा छैन’ उपाध्यायले भने ‘पढे आफुमात्र हैन, देश बन्छ भन्ने बुवाको सोंच पुरा गर्न आफुले सानो सहयोग गरेको हुँ ।’ त्यस्तै, क्याम्पस प्रमुख शिशुकला पराजुलीले स्थापनाकालदेखि आफ्नै भवनमा पठनपाठन गर्ने सपना विपनातर्फ परिणत हुँदै गरेको धारणा राखिन् । प्रमुख पराजुलीले भनिन्, ‘आगामी शैक्षिकसत्रदेखि क्याम्पसको आफ्नै भवनबाट कक्षा सञ्चालन हुनेछ, हामी यसैको पूर्णतामा जुटेका छौं ।’ क्याम्पसमा बिहानी सत्रमा मानविकी र व्यवस्थापन संकायमा स्नातकतहको अध्यापन हुँदै आएको छ । क्याम्पस भवन सञ्चालनमा आउनेबित्तकै अन्य संकाय थपिने क्याम्पसले जनाएको छ । ‘क्यूएए’ प्रमाणपत्र लिने तयारीमा रहेको क्याम्पसमा हाल ४ सय हाराहारीमा विद्यार्थी छन् ।
काठमाण्डौं: मोडिफाई गरी चर्काे आवाज निकाल्ने ३७ वटा रोयल इन्फिल्डको बुलेटचालकलाई काठमाण्डौंमा कारवाही गरिएको छ । उपत्यका ट्राफिक प्रहरीले आफुखुशी मोडिफाई गरेका मोटरसाइकललाई नियन्त्रणमा लिई चालकलाई कारवाही गरेको जनाएको छ । नियन्त्रणमा लिइएको मोटरसाइकलले ध्वनी प्रदुषण बढाउनुकासाथै अन्य प्रदुषणसमेत बढाएको ट्राफिक प्रहरीले जनाएको हो । नियन्त्रणपछि उक्त मोटरसाइकलबाट साइलेन्सर पाइप झिकिएको छ भने चालकलाई जरिवाना गरिएको छ । साथै, आइन्दा मोडिफाइ नगर्न चेतावनीसमेत दिइएको छ ।
काठमाडौं: लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या अभियोगमा उनका प्रेमी खिलबहादुर श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । आइतबार न्यायाधीश कृष्णजंग शाहको इजलासमा भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । गत असार ११ गते काठमाडौंको नेपालटारस्थित डेरामा गायिका दिलमाया सुनार मृत अवस्थामा भेटिएकी थिइन् । त्यसपछि प्रहरीले उनका प्रेमी श्रेष्ठलाई पक्राउ गरेको थियो ।
पोखरा: ३९ वर्षपछि पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलस्थल व्यवस्थापनको जिम्मेवारी पाएको उपसमितिको टोली स्थलगत अवलोकनका लागि गोष्टेघाट पुगेको छ । खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक समेत रहेका राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङ नेतृत्वको टोलीले पोखरा १९ स्थित गोष्टेघाट खेलमैदानको स्थलगत अवलोकन गरेको हो । पोखरा महानगरपालिका १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, गोष्टेघाट खेलमैदान व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भण्डारी, स्थानीय क्लबका पदाधिकारीहरुको उपस्थितिमा मैदानको निरिक्षण गरे । सो अवसरमा बोल्दै खेलस्थल व्यवस्थापन समितिका संयोजक गुरुङले उक्त मैदान हक्की र महिला फुटबलको लागि उपयुक्त हुने प्रतिक्रिया दिए । संयोजक गुरुङले आगामी १५ गते राष्ट्रिय खेलकुद परिषद बैठक बस्ने बताउदै त्यसपछि थप टुङ्गो लाग्ने बताए । ‘यही १५ गते बोर्डको मिटिङ छ । त्यसमा धेरै कुराहरु प्रष्ट हुन्छ । अहिले हामीले प्रारम्भिक रुपमा खेलमैदानहरु हेरिरहेका छौं । त्यसपछि कहाँ के खेलाउने भन्ने निर्णय हुन्छ । यो मैदानमा हक्की वा महिना फुटबलको सम्भावना छ ।’ गुरुङले भने । उनले ३७ खेल मध्ये २ खेल काठमाडौं हुने बताउदै ३५ खेल गण्डकी प्रदेशमै आयोजना गरिने जानकारी दिए । उनका अनुसार पूर्वाधारका कारणले सुटिङ र स्विमिङ काठमाडौंमा सञ्चालन गरिनेछ । गुरुङले सम्भवभएसम्म गण्डकी प्रदेशको ११ वटै जिल्लामा प्रतियोगिता आयोजना गरिने बताए । ‘पूर्वाधारहरु के कस्तो छ । त्यो हेरेर हामीले खेल खेलाउने हो । भन्न त सम्भव भएसम्म सबै जिल्लामा खेलाउने भनेका छौं तर यातायात र अन्य कारणले गर्दा केही चुनौती छ, उनले भने, ‘त्यसैले प्राय खेलहरु पोखरा र आसपासमै हुन्छ । हामीले यो भन्दा पहिले सहारा एकेडेमी र हेम्जाको गौरीशंकर खेलमैदान हेरिसकेका छौं । कहाँ के उचित हुन्छ । त्यही गर्ने हो ।’ फुटबल प्रतियोगिता गराउने स्थानीयको चाहना गोष्टेघाट खेलमैदान व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले सो मैदान फुटबल प्रतियोगिताको लागि उपयुक्त हुने बताए । उनले सरकारी तथा नीजिस्तरबाट करिब ६ करोड लागतमा सो मैदान निर्माण गरिएको बताउदै ७ हजार दर्शक क्षमतासहितको भिआइपी प्यारापिट रहेको बताए । ‘हाम्रो यो ग्राउण्डमा फुटबल प्रतियोगिता गर्न एकदमै उचित छ, उनले भने, ‘त्यसको लागि हामी तपाइहरुसँग समन्वय गर्न तयार छौं ।’ यसैगरि एन्फा कास्कीका सचिवसमेत रहेका गोष्टेघाट खेल मैदान व्यवस्थापन समितिका सचिव बुद्धि खत्रीले उक्त मैदान निर्माणको काम अन्तिम चरणमा रहेको बताए । उनका अुनसार भिआइपी प्यारापिट तथा चेन्जिङ भवनको संरचना खडा गरिएको छ । ‘संरचनाहरु सबै बनिसकेको छ । मैदान पनि अन्र्तराष्ट्रिय मापडण्ड अनुसार नै बनाएका छौ र यसमा ७ हजार दर्शकको क्ष्मता रहेको छ, उनले भने, ‘अब फिनिसिङको काम मात्रै बाँकी छ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको फुटबल यहाँ खेलाउने हो भने हामी समन्वय गर्न तयार नै छौं ।’ उनले फुटबल खेल आयोजना गर्ने उद्देश्यसहित निर्माण गरिएको मैदानमा फुटबल नै आयोजना गर्ने स्थानीको इच्छा रहेको बताए । ‘यो मैदान फुटबल खेलाउनकै लागि भनेर बनाइएको हो, उनले भने, ‘त्यसैले स्थानीयको पनि यहाँ नवौं राष्ट्रिय प्रतियोगिताको फुटबल नै होस् भन्ने चाहना छ ।’ खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेश कुमार गुरुङ नेतृत्वको टोलीले यसअघि पोखरा महानगरपालिका १७ दोविल्लास्थित सहारा एकेडेमीको खेलमैदान, पोखरा २५ हेम्जास्थित गौरीशंकर खेलमैदान तथा माछापुच्छे्र गाउँपालिका ४ स्थित महेन्द्र माविको खेलमैदानको स्थलगत अवलोकन गरिसकेको छ । यद्यपी सम्भाव्यता अध्ययन गरेपनि कुन मैदानमा कुन खेल आयोजना गर्ने भन्ने आधिकारिक निर्णय भने आगामी १५ गते हुने बैठकपश्चात हुने बताइएको छ । आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३७ खेल मध्ये २ काठमाडौं र बाँकी ३५ खेल पोखरामा सञ्चालन गर्ने लक्ष्यसहित विभिन्न उपसमिति तयारीमा लागिरहेको छ ।
काठमाडौं: नेपाल र माल्दिभ्सबीचको खेल आज हुदै छ । नेपाली युवा टोलीले आज साफ यू–२० च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको हो । नेपाल र माल्दिभ्सबीचको खेल भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ । नेपालले पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो । पछिल्लो संस्करणको उपाधि भारतले जितेको थियो । प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । राउन्ड रोबिन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुने बताइएको छ । टोलीमा को को छन् ? गोलकिपर – ईश्वर गुरुङ्ग, उनेश चौधरी, जियारथ शेख । डिफेन्डर – अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा । मिडफिल्डर – दिपेश गुरुङ्ग, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ्ग, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान । फरवार्ड – दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी ।
पोखरा: कान्तिपुर टेलिभिजनकर्मी ऋषिकान्त पौडेल नेपाल प्रेस युनियनको उपाध्यक्ष निर्वाचित भएका छन् । हेटौंडामा सम्पन्न युनियनको नवौं महाधिवेशनबाट गण्डकी प्रदेशको तर्फबाट पौडेल निर्वाचित भएका हुन् । उनले प्रतिद्वन्द्धि तनहुँका ओमकार आचार्यलाई पराजित गरेका हुन् । युनियनको विधान अनुसार ७ प्रदेशबाट ७ जना उपाध्यक्ष निर्वाचित हुनुपर्ने प्रावधान छ । उनले गण्डकी प्रदेशको कोटाबाट निर्वाचित भएपनि मत भने देशभरका प्रतिनिधिहरुले हालेका थिए । सो निर्वाचनबाट प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका थिए । उपाध्यक्षमा निर्वाचित पौडेल कान्तिपुर टेलिभिजनका पोखरा संवाददाता हुन् ।
पोखरा: पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच आइतबार भेटघाट भएको छ । प्रमुख आचार्य र राजदुत श्रीवास्तव बीच पोखरामा भेटघाट भएको हो । भेटघाटका क्रममा पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय राजधानी घोषणा हुन लागेको पोखरामा पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान लगायतका विविध विषयमा छलफल भएको छ । पेखरा महानगरका प्रमुख आचार्यले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर अब सञ्चालनको तयारीमा रहेको भन्दै भारतको बनारस लगायत विभिन्न सहरमा नियमित उडान मार्फत पोखरालाई भारतसंग जोड्न चाहेको बताए । त्यसका लागि नेपाल सरकार मार्फत आफूले पहल गर्ने र भारतमा वातावरण मिलाउन उनको राजदूत श्रीवास्तवलाई आग्रह गरे । साथै प्रमुख आचार्यले पोखरा र यस आसपासको विकास निर्माणमा भारतको तर्फबाट भएको सहयोग प्रति आभार प्रकट गरे । उनले पोखरालाई पर्यटकीय राजधानी घोषणाको तयारी भइरहेकोले त्यसका लागि चाहिने ठूला पूर्वाधारका योजनामा भारतीय सहयोगको अपेक्षा समेत प्रकट गरे । भारतीय राजदुत श्रीवास्तवले पोखराको मनोरम प्रकृतिको प्रसंसा गर्दै नेपाल सरकारसंग सहकार्य गर्दै पोखराको पूर्वाधार विकासमा सहयोग रहने बताए । भारतले नेपालको राजधानी काठमाडौं पछि पोखरालाई धेरै महत्व दिएको चर्चा गरे । काठमाडौं पछि पोखरालाई महत्व दिएर नै यहाँ पेन्सन क्याम्प नै राख्ने देखि विभिन्न परियोजनामा सहकार्य भएको राजदुत श्रीवास्तवले बताए । उनले पोखरामा कुनै राम्रो परियोजनामा सहयोग गर्न आफूहरुले चाहेको र नेपाल सरकारसंग यस विषयमा आवश्यक सहकार्य गरेर अगाडि बढ्ने आस्वासन समेत दिए ।
पाल्पा : पाल्पाको रिब्दीकोट–२, लघुवामा यात्रुबहाक बस दुर्घटना हुँदा छ जना यात्रुको मृत्यु भएको छ । तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा आइतबार बेलुकी ५ बजेतिर यात्रु बाहक बस दुर्घटना भएको हो ।दुर्घटनामा परी १७ जना यात्रु घाइते भएको रिब्दीकोट गाउँपालिका–२, का वडा अध्यक्ष ओमप्रसाद पोखरेलले जानकारी दिनुभयो । मृतक तथा घाइतेको उद्दार कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित ढिकबाट तल खसेको स्थानीय बासिन्दाले बताएका छन् ।
काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकमा ‘कारागार व्यवस्थापन विधेयक, २०७६’ पारित भएको छ । राज्यव्यवस्था तथा सुशासन समितिबाट प्राप्त प्रतिवेदनसहित आएको उक्त विधेयक पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाणले सदनमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । त्यसपछि विधेयकका बारेमा सदनमा छलफल भएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको दोस्रो बैठकमा ध्वनिमतका आधारमा विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो । सभाको पहिलो बैठकमा गणपुरक सङ्ख्या नपुगेपछि १५ मिनेट स्थगित भई सञ्चालन भएको दोस्रो बैठकले विधेयक पारित गरेको हो । यसअघि विधेयकमाथिको छलफलमा सांसदहरुले भाग लिनुभएको थियो । उहाँहरुले उठाएका प्रश्नको गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिनुभएको थियो । कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको उक्त विधेयक सरकारले विसं २०७६ मङ्सिर २९ मा दर्ता गराएको थियो । यसअघि पहिलो बैठकमा संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन सदनमा पेस गर्नुभएको थियो ।

