पोखरा : खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ अन्र्तगत उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठले प्राप्त गरे । शनिबार पोखरा सभागृहमा आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’मा उदीयमान खेलाडीको अवार्ड टेनिसका दर्शिल श्रेष्ठले प्राप्त गरेको हुन् । उनले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरे । उत्कृष्ट तीन मनोनयनमा परेका क्रिकेटका श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बुले ट्रफी प्राप्त गरे ।
पोखरा : पोखरा महानगरपालिका वडा नं १६ अर्मला फेदिका बाढी पहिरो पीडित पाँच परिवारलाई पुर्वेली एकता समाजले सहयोग गरेको छ । स्थानीय राम बहादुर मगर तथा अति बिपन्न पुरे बिकको परिवारलाई खाद्यान्न तथा आधारभूत बन्दोबस्तीका सामान हरु वितरण गरिएको समाजका अध्यक्ष गुणराज बाँस्तोलाले जानकारी दिए । वितरण गरिएका सामानमा सिरक, डसना, पाँच जनाको परिवारलाई चाहिने भाँडाकुँडा लगायत छन् । वडा नं १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना तथा अन्य जनप्रतिनिधिको उपस्थितिमा राहत वितरण गरिएको हो । असार ११ गते बिहानपख परेको अविरल बर्षाको कारण आएको बाढीले मगरको घर पुर्ण रूपमा क्षती भएको हो भने अरु १२ घर आंशिक रूपमा क्षति भएको थियो । राहत हस्तान्तरण कार्यक्रमको संचालन समाजका सचिव मंगल लिम्बुले गरेका थिए। कार्यक्रममा समाजका सदस्य धनबहादुर तामाङले नगद रु एक हजार पाँच सय पाँच रुपैयाँ पीडित मगरलाई हस्तान्तरण गरेका थिए ।
पोखरा: पोखरा महानगरपालिका ३३ को टिमुरफाँटामा ल्याण्डफिल्ड साइट सार्ने महानगरको प्रस्तावलाई सर्वदलीय नेता तथा स्थानीय अगुवाहरुले अस्वीकार गरेका छन् । क्रियाशिल विभिन्न राजनीतिक दल र स्थानीयबीच आज (शनिबार) वडामा भएको सर्वदलीय भेलाले पोखरा ३३ को टिमुरफाँटामा ल्याण्डफिल्ड साइट सार्ने महानगराको प्रस्तावको विरुद्धमा निर्णय गरेको हो । साथै सो भेलाले स्थानीय नागरिकसँग समन्यव नगरी गरेको प्रस्तावलाई सञ्चाउन माग गर्दै उक्त वडामा ल्याण्डफिल्ड साइट लान नदिने निर्णय गरेको छ । स्थानीय अगुवा तथा नेता किरण थापाले ३३ नम्बर वडामा क्रियाशिल विभिन्न राजनैतिक दलका अगुवाहरु ल्याण्डफिल्ड साइटलाई आफ्नो वडामा ल्याउँन नदिने पक्षमा रहेको बताए । उनका अनुसार सर्वदलीय बैठकपछि भएको निर्णयमा भनिएको छ, ‘पोखरा महानरपालिकाद्वारा समग्र महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने हाम्रो वडा नम्बर ३३ को टिमुरफाँटा भन्ने ठाउँमा महानगरले प्रस्ताव गरेकोले हामी पोखरा ३३ का क्रियाशिल राजनैतिक दलको गम्भीर ध्यानाकर्षण भएको छ । आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेटमा नगरसभामार्फत जग्गा प्राप्ती र निर्माण प्रक्रिया सुरुवात गर्न रु १० करोड बजेट प्रस्ताव गरिएकोले आज (शनिबार) बसेको यस बैठकबाट हामी सम्पूर्ण राजनैतिक दलबाट उक्त कार्य रोक्न र निर्णय सच्याउन महानगरपालिका पोखरा ३३ वडा कार्यालयमार्फत पोखरा महानगरपालिका र प्रमुख धनराज आचार्यसँग जोडदार माग गर्ने सर्वसम्मत निर्णय गरियो । साथै वडास्तरमा कुनै सल्लाह र छलफल पनि नभई महानगरबाट हाम्रो जायज मागलाई सम्बोधन नहुने देखिएमा क्रमबद्ध तरिकाले जनस्तरबाट नै सँघर्षको सुरुवात गरि उक्त कार्य रोक्ने समेत निर्णय गरिन्छ । साथै उक्त कार्य रोक्न र अविलम्भ नगरसभाबाटै निर्णय सच्याउन सबै दलको तर्फबाट सँयुक्त ज्ञापन पत्र महानगर प्रमुखसमक्ष बुझाउने निर्णय गरियो ।’ उक्त बैठकमा नेपाली कांग्रैस ३३ का सभापति तिलक प्रसाद अधिकारी, सोही पार्टीकै टेक बहादुर महत, गोविन्द प्रसाद गौतम, नेकपा एमाले ३३ का अध्यक्ष दिपकराज लामिछाने, यसैगरि प्रतिनिधी चन्द्रप्रसाद पौडेल, ऋषिराम आचार्य, नेकपा माओवादी केन्द्रका यज्ञप्रसाद अधिकारी, बाबुराम अधिकारी, नेकपा समाजवादीका मनोहर शर्मा आचार्य, केशव आले यसैगरि जनता समाजवादी पार्टीका किरण थापा, शम्भु खाती परियार लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
पोखरा : पोखरा महानगरका मेयर धनराज आचार्यले पोखराको पर्यटन क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् । शुक्रबार पोखरामा देशभरका वाणिज्य बैंकका सिइओसंगको भेटमा उनले यस्तो आग्रह गरेका हुन् । महानगरले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिँदै उनले यसका लागि पूर्वाधारमा लगानी अनिवार्य रहेको बताए । विमानस्थल सञ्चालनका लागि फोहोर व्यवस्थापनको चुनौति भएपनि त्यसलाई छिट्टै सल्टाउने उनले बताए । आउने १ जनवरीमा विमानस्थल जसरीपनि सञ्चालनमा ल्याउनका लागि पहल भइरहेको भन्दै उनले विमानस्थल सञ्चालसंग जोडिएका पर्यटकीय पूर्वाधारमा लगानी चाहिएको बताए । ‘हामीले पहिलो प्राथमिकतामा पर्यटनलाई राखेका छौं । एयरपोर्ट छिट्टै सञ्चालनमा आउनेवाला छ । त्यसका लागि हामीले आफ्नो तर्फबाट गर्नुपर्ने काम छिट्टो गर्नेक्रम अगाडि बढाएका छौं । एयरपोर्ट सञ्चालनमा आएपछि त्यससंग जोडिएका पर्यटकीय पूर्वाधारको खाँचो छ । त्यसका लागि निजी क्षेत्र अगाडि बढ्नुपर्छ । अझ बैंकहरुको ठूलो लगानी त्यसका लागि चाहिन्छ । त्यसैले यहाँहरुले पर्यटनको क्षेत्रमा सहजढंगले लगानी बढाउनु हुनेछ भन्ने अपेक्षा राखेको छु’ उनले भने । मेयर आचार्यले लगानीमैत्री वातावरण बनाउन पोखरा महानगर तत्पर रहेको जानकारी दिए । बैंकका सिइओहरुले पोखरा त्यसमा पनि खास गरेर लेकसाइडका घरहरुलाई महानगरले सम्पन्नता नदिँदा लगानी गर्न समस्या रहेको बताएपछि मेयर आचार्यले फेवा मापदण्ड बाहेकका बाँकी समस्या छिट्टै हल गरिने प्रतिवद्धता जनाएका छन् । ‘फेवा तालको मापदण्डको विषय अहिले सर्वोच्च अदलतमा पुगेको छ । यस विषयमा फैसला आएपछि नै केही गर्न सकिन्छ । बाँकी विषय छिट्टै एउटा विधिले हल गर्छौं । यसका लागि केही समय हेर्नुहोला’ उनले भने । मेयर आचार्यले पोखरामा केही गर्नकै लागि आफू आएको भन्दै पाँच वर्षमा केही परिवर्तन भएको अनुभुति गराएरै छाड्ने अठोट व्यक्त गर्दै त्यसका लागि सहजढंगले बैंक वित्तिय क्षेत्रले सहयोग गर्नुपर्ने उनले धारणा राखे । मेयर आचार्यले बैंकको तर्फबाट सामाजिक उत्तरदायित्व बहन गर्नका लागि खर्चिने रकमलाई पनि पोखरामा उपयोग गर्न आग्रह गरे । सामाजिक उत्तरदायित्व अन्तर्गत खर्चगर्ने रकमले सुधारका केही काममा जिम्मा लिन नै उनले आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै बैंकर एसोसिएसनका अध्यक्ष अनिल कुमार उपाध्यायले बैंक वित्तिय संस्था पोखरामा लगानीका लागि तयर रहेपनि केही झन्झट रहेको औल्याए । उनले सम्पन्नता नलिएका पूर्वाधारमा लगानी गर्दा जोखिम हुने र विभिन्न खालका मापदण्डका कारण लगानी डुब्ने जोखिम रहेको उनले बताए । तर, अबका दिनमा भने लगानीमैत्री वातावरण बन्नेमा आफूहरु आसावादी रहेको उनको भनाई छ ।
पोखरा : पोखरा विश्वविद्यालयको रजत जयन्तीको अवसर पारेर ‘दिगो सहरहरूमा आजीवन शिक्षा’ विषयक एकहप्ते प्रशिक्षण सम्पन्न भएको छ । पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायको आयोजनामा सञ्चालित प्रशिक्षणमा पोखरा महानगरपालिका, जिल्ला प्राविधिक कार्यालय कास्की, भिमाद नगरपालिका, शुक्ला गण्डकी नगरपालिका, व्यास नगरपालिका, पोखरा विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङ, मध्यनेपाल नगरपालिका एवं विभिन्न अनुसन्धान एवं प्राविधिक परामर्शदाता इञ्जिनियर एवं आर्किटेक्ट गरी २३ को उपस्थिति थियो । प्रशिक्षण अवधिमा प्रशिक्षार्थीलाई सहरी परिभाषा, सहरी योजनाको परिचय, क्षेत्रीय योजना, दिगो विकासको अवधारणा, लक्ष्य तथा उद्देश्यका बारेमा प्रस्तुति दिइएको थियो । साथै सहरीकरण, सहरी वृद्धि प्रवृत्ति र चुनौती, सहरीकरणको विश्वव्यापी र क्षेत्रीय सन्दर्भ, दिगो सहर र प्रकार, कम कार्बन सिटी/हरित सहर/स्मार्ट सिटी, दिगो भूमि प्रयोग, पानी, यातायात, फोहोर, हरियो भवन/आवासको सन्दर्भमा समेत प्रशिक्षार्थीलाई प्रस्तुतीकरण गरिएको थियो । नेपालमा दिगो सहर योजना, दृष्टिकोण, दिगो भूमि प्रयोग, ल्याण्ड पुलिङ, दिगो पानी आपूर्ति, फोहोर व्यवस्थापन र आवासका आधारभूत तथ्यको विषय समेत प्रशिक्षणमा प्रस्तुति गरिएको थियो । कार्यक्रमका प्रमुख प्रशिक्षकमा योजनाकार एवं त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसका सह–प्रा डा सञ्जय उप्रेती, पोखरा विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङका उप–प्रा एवं विज्ञान तथा प्रविधि सङ्काय पोखरा विश्वविद्यालयका पूर्व डीन बुद्धिराज जोशी र योजनाकार वर्षा श्रेष्ठ हुनुहुन्थ्यो । प्रशिक्षण दुईदिन भौतिक उपस्थिति र पाँच दिन अनलाइन विधिबाट सञ्चालन भएको थियो । कार्यक्रमको समापन समारोहमा विश्वविद्यालयका रजिष्ट्रार सह–प्रा डा दीपकबहादुर भण्डारी, विज्ञान तथा प्रविधि सङ्कायका डीन सह–प्रा राजेशकुमार ठगुराठी, स्कुल अफ इञ्जिनियरिङका स्कुल निर्देशक उप–प्रा ओम प्रकाश गिरी, योजनाकार एवं त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसका सह–प्रा डा सञ्जय उप्रेती, नेपाल इञ्जिनियरिङ एशोसिएशनका गण्डकी प्रदेश सदस्य इञ्जिनीयर रवीन्द्रलाल मुल र प्रशिक्षार्थी कृष्ण घिमिरेले कार्यक्रमको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।
पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले धारिलो हतियार र ड्रग्ससहित ३ युवाहरुलाई प्रकाउ गरेको छ । पोखरा महानगरपालिका ७ नुहारथोकमा बस्ने कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ७ स्थायी घर भएका पोखरा बस्दै आएका ३४ बर्षिय सुजित मुल्मी, ३१ बर्षिय रविन मगर र मकवानपुर बकिया गाउँपालिका वडा नं।५ का ३१ बर्षिय बाबुराम मोक्तानलाई लागू औषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले प्रकाउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले लागू औषध डाईजापाम ६५ एम्पुल, फेनेरागन ६५ एम्पुल,नुर्फिन ६५ एम्पुल गरी १ सय ९५ एम्पुल लागूपदार्थ र कालो छालाको दाप धारिलो हतियार १ थान र मोबाइल ४ थान सहित प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको कास्की प्रहरील जनाएको छ ।
पोखरा : निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्री पदमुक्त भएपछि फुर्सदमा देखिन थालेकी छिन् । नेकपा एकिकृत समाजवादीका सांसद तथा नेता रामकुमारी झाँक्रीले मन्त्री पदबाट मुक्त भएपछि गत बुधबार टिकटक लाइभमा आइन् । उनले आफु ९ महिनापछि टिकटकको लाइभमा आएको बताउदै समर्थकमाझ गिफ्ट पनि मागिन् । अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ । टिकटक लाइभमा समर्थकले सांसद झाँक्रीलाई अबको प्रदेश तथा संसदीय निर्वाचनमा कहाँ देखि चुनाब लड्ने भनेर जिज्ञासा राखेको देखिन्छ । उनले सो प्रश्नको उत्तरमा सर्मथकहरुले नै सल्लाह सुझाव दिन आग्रह गरेकी छिन् । टिकटक लाइभमा १ हजार भ्यूअर पुगेपछि उनले भनिन्, अरु सामाजिक सञ्जाल भन्दा टिकटक लाइभमा आम–सर्वसाधारणसँग जोडिन सजिलो हुने भएकाले ९ महिना पछि टिकटक लाइभमा जोडिएकी छु । उनको लाइभमा एक समर्थकले माकुनेको खबर के छ? भनि कमेन्ट गर्दा प्रतिउत्तरमा उनले त्यसो त नभन्नुस्न साथी हो । भन्दै जवाफिएकी छिन् । उनलाई केही समर्थकहरुले एमालेमा फक्रिन आग्रह गरेका छन् भने केहीले समाजवादको नारा नछोड्न आग्रह गरेका छन् । सांसद झाँक्री नेकपा विभाजनपछि नेकपा एकिकृत समाजवादीबाट शहरी विकासमन्त्री भएकी थिइन् ।
पोखरा : कास्कीको पर्यटकीय स्थल घान्द्रुक जाने सडकखण्डको जोखिमयुक्त घुम्तीमा लामा फाउण्डेशन घान्द्रुकले कन्भेक्स मिरर राखेको छ । कास्कीको अन्नपुर्ण गाउँपालिका १० र ११ घान्द्रुकस्थितका विभिन्न १० घुम्तीमा १ लाख बराबरको कन्भेक्स मिरर जडान गरेको हो ।सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य सहित कन्भेक्स मिरर राखेको फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले बताए । उनका अनुसार अन्नपूर्ण ८ को बिरेठाँटी, लामखेत, सार्दीखोला, सिर्दीडाँडा, भिचुकचोकमा २ वटा, छैछरीचोकको स्कुल घुम्ती, सिँवै र हुँदुँ लगायतका घुम्तीहरुमा कन्भेक्स मिरर (ऐना) जडान गरिएको हो । घान्द्रुकमा दिनहुँ पर्यटकको आवागमन वृद्धि भएको बताउदै यात्रालाई सुरक्षित गराउने उद्देश्य सहित ऐना जडान गरिएकोे बताए । ‘अहिले सडक पिच भएको छ गाडीको गति बढी हुने र दुर्घटना हुने सम्भावना बढी भएकाले यसलाई न्यूनीकरण गर्ने उद्देश्यसहित जडान गरेको हो, उनले भने, ‘यो अभियानमा देश तथा विदेशमा रहनुभएका आफन्तजन साथीभाईहरुको आर्थिक सहयोग गर्नुभएको छ ।’ कन्भेक्स मिररले विपरित दिशाको बाटोको अवस्थालाई देख्न सघाउ पुर्याउछ । कन्भेक्स मिरर जडान गरेपछि चालकहरु पनि हर्षिद छन् । स्थानीय चालक विजय घमालले जोखिमयुक्त सडकको घुम्तीहरुमा ऐना जडान गरेपछि दुर्घटना न्यूनीकरण हुने धारणा राखे । उनले ऐना जडान हुनुभन्दा पहिले घुम्तीहरुमा सवारी हर्नको प्रयोग अत्यधिक हुने गरेको बताउदै अब कन्भेक्स मिररले हर्नको प्रयोग गर्न नपर्ने सुनाए । ‘कसैले त हर्न पनि बजाउँदैनन्, उनले भने, ‘ऐना राखेपछि उताबाट के आएको छ प्रष्ट देखिन्छ । त्यसैले दुर्घटना हुने सम्भावना कम छ । र हामीलाई गाडी चलाउन पनि सजिलो भएको छ ।’उनले फाउण्डेशनका संस्थापक लामालाई धन्यवाद समेत व्यक्त गर्दै विगतमा कलाभीरमा समेत रेलिङ निर्माण गरिदिएको स्मरण गरे । विभिन्न सामाजिक कार्यमा सक्रिय रहदैं आएको फाउण्डेशनले यस अघि घान्द्रुकस्थित कलाभीरमा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्यसहित १ लाख ४५ हजारको लागतमा रेलिङ निर्माण गरेको थियो । उक्त भीरमा गत वर्षको असोज २५ गते जिप दुर्घटना हुँदा चालकसहित ८ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए ।
कास्की: पोखरा महानगरपालिका ३३ स्थित भरतपोखरीबासीले आफ्नो वडामा ल्याण्डफिल्ड साइट व्यवस्थापन गर्न नदिने बताएका छन् । भरतपोखरीबासी सचेत नागरिकद्वारा आज (शुक्रबार) आयोजित ल्याण्डफिल्ड साइट ठिक कि बेठिक विषयक छलफल कार्यक्रम पश्चात कुनैपनि सर्तमा ल्याण्डफिल्ड साइट पोखरा ३३ मा सार्न नदिने निष्कर्षमा पुगेका हुन् । स्थानीय अगुवा तथा छलफल कार्यक्रमका संयोजक किरण थापाले आफ्नो वडामा ल्याण्डफिल्ड साइटका लागि जग्गा नदिने बताउदै सुनगाभा न्यूजसँग भने ‘कुनैपनि हालतमा र कुनैपनि सर्तमा पोखरा ३३ मा ल्याण्डफिल्ड साइट लैजान नदिने निर्णय गरेका छौं ।’ स्थानीयबासीको छलफलपछि ४ वटा विषयमा निर्णय भएको कार्यक्रम संयोजक थापाले बताए । उनका अनुसार भरतपोखरीमा ल्याण्डफिल्ड जान नदिने, भोलि (शनिबार) वडा कार्यालयको आयोजनामा सर्वदलीय भेला आयोजना गर्ने, आइतबार महानगरपालिकामा विरोध पत्र बुझाउने, र सँघर्ष समिति बनाएर चरणबद्ध रुपमा आन्दोलन अघि बढाउने निर्णय गरेको हो । यसअघि पोखरा महानगरपालिकाको पहिलो कार्यपालिकाको बैठकले पोखरा ३३ स्थित भरतपोखरीमा ल्याण्डफिल्ड साइट सार्न आवश्यक बजेट व्यवस्थापन गर्दै आवश्यक पूर्वाधार निर्माण गर्ने निर्णय गरेको थियो । यता पोखरामा निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि ल्याण्डफिल्ड सार्नै पर्ने नागरिक उड्डयन प्राधिकरणले बताउँदै आएको छ । विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा रहेकोले सञ्चालनको पूर्वसर्त पोखरा १४ मा रहेको ल्याण्डफिल्ड साइट सार्नपर्ने र रिठेपानीको डाँडा कटान गर्नुपर्ने आयोजनाले जनाएको छ । त्यसपछि पोखरा महानगरले पोखरा ३३ भरतपोखरीस्थित दुई स्थानमा ल्याण्डफिल्ड साइट सार्नको लागि स्थलगत अवलोकन गरेको थियो । अहिले स्थानीयहरु सो स्थानमा फोहोर व्यवस्थापन गर्न नदिने निष्कर्षमा पुगेको वडाध्यक्ष रामचन्द्र अधिकारीले बताए । ‘आजको व्यापक छलफलपछि चाँह राख्न नदिने नै भन्ने भाछ, वडाध्यक्ष अधिकारीले भने, ‘९९ प्रतिशत नै वडा नम्बर ३३ मा राख्न दिन हुदैंन भन्ने राय आएको छ ।’ उनले भोलि (शनिबार) पोखरा महानरपालिकाका प्रमुख तथा उपप्रमुख, पोखरा ३३ का दलीय नेताहरु र स्थानीयहरुबीच अन्तरक्रिया कार्यक्रम राख्नको लागि पहल गरिरहेको बताए । ‘ल्याण्डफिल्ड साइट’ नसारे विमानस्थलमा जहाज उड्दैनन् राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि महानगरले व्यवस्थापन गर्दै आएको ल्याण्डफिल्ड साईट स्थानान्तरण गर्नुपर्छ । विज्ञहरुका अनुसार विमानस्थल सञ्चालनका लागि पोखरा महानगरपालिका वडा नम्बर १४ बाट ल्याण्डफिल्ड साइट अन्यत्र लानुपर्छ । यदि सो ठाउँबाट ल्याण्डफिल्ड साईट सारिएन भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँन सक्दैन । किनभने धावनमार्ग र ल्याण्डफिल्ड साईट नजिकै छ । एउटै क्षेत्रमा विमानस्थल र ल्याण्डफिल्ड साइड रहेकाले गिद्ध र चराहरु विमानस्थलमा नाँच्छन् । यस आसपासमा व्यापक गतिविधि बढाउँछन् र उडानमा अवरोध सिर्जना गर्छन् । त्यसैले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले भन्छन् , ‘ल्याण्डफिल्ड साइट विमानस्थल सञ्चालनको पूर्वसर्त हो । यो ल्याण्डफिल्ड साइट सरेन भने पोखरा विमानस्थल सञ्चालन हुने विषय अनिश्चित छ ।’

