काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन अमेरिकामा रहनुभएका उहाँले त्यहाँ नेपाली सञ्चारकर्मीसँग आइतवार भएको भेटमा नेपाली नागरिकलाई मतादानको अधिकारबाट बञ्चित हुन नदिइने बताउनुभयो । उहाँले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि सरकार तयार रहेको बताउनुभयो । सरकारले गरेका राम्रा र सकारात्मक कुरालाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको उहाँको भनाइ थियो ।
काठमाडौं: प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी मङ्गलबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउनुहुन्छ । प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउनुहुन्छ । यही सम्झनामा नेपालका कालीगढहरुले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ । वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्तप्राय रु भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पनि अहिले वास्तु विद्याको महत्व बढेको छ ।
काठमाडौं: आज हरितालिका तीज पर्व मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । हिजो दर खाएपछि औपचारिक रुपमा शुरु भएको तीज पर्व भोलि ऋषि पञ्चमीसम्म मनाइन्छ । यसपालि तिथि घटबढ भएका कारण ऋषिपञ्चमी भोलि नै परेको छ । तीजको अवसरमा काठमाण्डौको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवमन्दिरमा बिहानैदेखि भक्तजनको घुईंचो लागेको छ । हिजो दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ । तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरले सुझाव दिएका छन् । शरीरले थेग्ने भएमात्रै निराहार व्रत बस्न नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र फलफूलका जुस खान उनीहरुको सुझाव छ । निराहार व्रत बस्दा शरीरमा पानीको कमी भइ बेहोशसमेत हुन सक्ने भएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरले आग्रह गरेका छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिन्छ ।
काठमाडौं: काठमाडौंको तीनकुनेस्थित काठ मिलमा शुक्रबार राति भएको हत्याकाण्ड मोटरसाइकलको ठक्करपछि भएको विवादको बदला लिँदा भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ का २३ वर्षीय सञ्जय भण्डारीले शुक्रबार राति ४ जनाको हत्या स्वीकार गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको जानकारी दिए । उनका अनुसार बोल्न नसक्ने भण्डारीले लेखेर हत्या स्वीकार गरेका थिए । घटनाक्रम... केही समयअघि नवीन भनिने विशाल राईले भण्डारीलाई चाबहिलमा मोटरसाइकलले ठक्कर दिएका थिए । ठक्कर दिएपछि राईले उनलाई कुटपिट पनि गरेका थिए । जन्मजात बोल्न नसक्ने भण्डारीले त्यसपछि राईसँग पटक–पटक मोटरसाइकलले ठक्कर दिएको घटनाका विषयमा कुरा गर्न खोजेका थिए । कुरा हुन नसकेपछि शुक्रबार उनी काँडाघारीबाट खुकुरी बोकेर राईले काम गर्ने मिलमा गएका थिए । मिलमा उनले सुरूमा राईको टाउकोमा खुकुरी हानेर हत्या गरे । त्यसपछि मिलमा अरू मान्छे पनि देखेपछि उनीहरूले प्रहरीलाई भनिदिन्छन् भन्ने ठानेर अरू तीन जनाको पनि त्यही खुकुरीले हानेर हत्या गरेको देखिन्छ । भण्डारीले सोही मिलमा काम गर्ने दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा सुभद्रा भुजेलको पनि हत्या गरेका थिए । चार जनाको हत्या गरेर भण्डारी काँडाघारीस्थित दिदी–भिनाजुको घरमा गएर बसेका थिए । आइतबार बिहान उनी काठमाडौंमा प्रहरीले आफूलाई पक्रन सक्ने ठानेर सिन्धुपाल्चोक जान लागेका थिए । सोही समयमा सिसिटिभी फुटेजको आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्दा उनले हत्या भएको दिन लगाएका लुगा नै लगाएका थिए भने झोलामा खुकुरी राखेका थिए । भण्डारीले सिन्धुपाल्चोकमा ८ सम्म र काठमाडौंमा १२ कक्षासम्म सांकेतिक भाषामा पढेका थिए । उनको बयान लिन प्रहरीले सांकेतिक भाषा विज्ञलाई बोलाएको थियो । भण्डारीले सुरूमा आफूले चार जनाको हत्या गरेको भन्दै कापीमा अंग्रेजीमा लेखेका थिए, ‘आइकिल्ड फोर पिपल ।’ भण्डारीले हत्या गरेको स्वीकारेपछि प्रहरीले शनिबार पक्राउ गरेका दीपेन्द्र राईलाई रिहा गरिदिएको छ ।
काठमाडौं: एसिया कपमा भारतले आठौं पटक उपाधि जितेको छ । आज भएको एसिया कपको फाइनलमा भारतले घरेलु टोलि श्रीलंकालाई १० विकेटले हराउँदै आठौं पटक उपाधि जितेको हो । जितको लागि ५१ रनको सामान्य लक्ष्य भारतले ६.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतका शुभमन गिल १९ बलमा ६ चौकासहित २७ रनमा नटआउट रहे । ईशान किशन १८ बलमा ३ चौकासहित २२ रनमा नटआउट रहे । त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमा अल आउट भएको थियो । श्रीलंकाको यो ओडिआईको दोस्रो कम योगफल हो । श्रीलंका यसअघि २०१२ मा दक्षिण अफ्रिकासँग ४३ रनमा अल आउट भएको थियो । ओडिआईमा सर्वाधिक कम योगफलमा जिम्बावे र अमेरिका समान ३५ रनमा अल आउट भएका छन् । जिम्बावे २००४ मा श्रीलंका र अमेरिका २०२० मा नेपालसँग समान ३५ रनमा अल आउट भएका थिए । श्रीलंकाका कुशल मेन्डिसले ३४ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाए । दुनिथ वेलालागे २१ बलमा ८ रनमा आउट भए । श्रीलंकाका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमा ५ खेलाडीले खाता खोल्न सकेनन् । एक समय ५.४ ओभरमा १२–६ को दयनीय अवस्थामा पुगेको श्रीलंकालाई सातौं विकेटका लागि दुनिथ वेलालागे र कुशल मेन्डिसले २३ रनो साझेदारी गरेका थिए । कुशल मोहम्मद शिराजकै १२ औं ओभरको दोस्रो बलमा बोल्ड आउट हुन पुगेका थिए । शिराजले ब्यक्तिगत छैटौं विकेट पूरा गरेका थिए । कुशल आउट भएसँगै श्रीलंको झिनो आशा समाप्त भएको थियो । श्रीलंकाले पहिलो ओभरको तेस्रो बलमै ओपनर कुशल परेरालाई शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर जस्प्रित बुमराहको बलमा एज लागेर कुशल विकेटकिपर लोकेश राहुलबाट समातिन पुगेका थिए । तीव्र गतिका बलर मोहम्मद शिराजको चौथो ओभरको चार विकेट लिएपछि भारत पुरै खेलमा हाबी बनेको थियो । चौथो ओभरको पहिलो बलमा शिराजले अर्का ओपनर पाथुम निसंका रविन्द्र जडेजाबाट २ रनमा क्याच आउट भए । एक बलपछि सदिरा समराविक्रमालाई शून्यमा एलबीडब्लू आउट भएका थिए । पहिलो बलमै चरिथ असलंका ईशान किशनबाट क्याच आउट भएका थिए । ह्याट्रिक बलमा धनन्जय डि सिल्भाले चौका प्रहार गरेका थिए । तर अन्तिम बलमा सिल्भा पनि एज लागेर राहुलबाट क्याच आउट भएपछि संकटमा पुर्याए । शिराजले छैटौं ओभरको चौथो बलमा कप्तान दासुन शानकालाई योर्करमा बोल्ड आउट गर्दै आफ्नो पाँच विकेट पूरा गरेका थिए । भारतका मोहम्मद शिराजले ७ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ६ विकेट लिए । हार्दिक पान्ड्याले २।२ ओभरमा ३ रन खर्चेर ३ विकेट लिए । जस्प्रित बुमराहले १ विकेट लिए । यसअघि भारतले सन् १९८४, १९८८, १९९०र९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो । भारतले समूह चरणमा नेपाललाई १० विकेटले हराएको थियो । पाकिस्तानसँग वर्षाको कारण अंक बाँडेको थियो । भारतले सुपर फोरमा श्रीलंकालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बंगलादेशसँग ६ रनले हार्न पुगेको थियो ।
काठमाडौं: संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी आयातमा कर तथा भन्सार छुटको सहमति प्रदान गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । आज आइतवार बसेको समितिको बैठकले चाडपर्वमा चिनीको अभाव हुन नदिन वाणिज्य मन्त्रालयबाट माग भएको ५० हजार मेट्रिक टन चिनीमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट तथा एक प्रतिशत भन्सार महसुल लिने गरी आयातको सहमति उपलब्ध गराउन निर्देशन दिएको हो । यसअघि वाणिज्य मन्त्रालयले ५० हजार मेट्रिक टन चिनी आयातका लागि भन्सार महसुल छुटको सहमति प्रदान गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो । तर अर्थ मन्त्रालयले २० हजार मेट्रिक टन चिनी आयातका लागि ५० प्रतिशत मात्र भन्सार महसुल छुट दिने गरी आयातको सहमति प्रदान गरेको वाणिज्य मन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी दिनुभयो । सरकारले चिनीको आयातमा ३० प्रतिशत भन्सार महसुल लगाउँदै आएको छ । केही दिनदेखि बजारमा चिनीको भाउ किलोमै ३० रुपैयाँभन्दा धेरैले बढ्नुका साथै अभाव पनि देखिएको छ । समितिले चाडपर्वका समयमा चिनी, चामल र गहुँलगायतका अत्यावश्यक वस्तुको अभाव हुन नदिन र कालोबजारी रोक्न पनि सरकारलाई निर्देशन दिएको छ । बैठकमा समितिका सदस्यहरूले चाडपर्वका बेला आमउपभोक्तालाई सहज र सुलभ ढङ्गले अति आवश्यक वस्तुको व्यवस्था मिलाउन सरकारलाई सचेत गराएका थिए । समितिकी सदस्य रमा कोइराला (पौड्याल)ले सरोकारवाला सबै निकायले चाडपर्वका बेला सुलभ र सहज ढङ्गले आवश्यक वस्तुको व्यवस्था मिलाउने काममा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । चाडबाडका बेला नागरिकलाई सुभल मूल्यमा अत्यावश्यक वस्तुको व्यवस्था मिलाउन भन्सार छुट गर्नुपर्ने कोइरालाको भनाइ छ ।
पोखरा: गण्डकी प्रदेश सरकारले चालु वर्ष दोस्रो पञ्चवर्षीय योजना (२०८०-८१/२०८५-८६) निर्माण गर्दैछ । उक्त योजना निर्माणकालागि आईतवार अवधारणा पत्र पारित भएको छ । प्रदेश नीति तथा योजना आयोगले तयार गरेको अवधारण पत्र मुख्यमन्त्री तथा आयोगका अध्यक्ष सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले पारित गरेको हो । मुख्यमन्त्री पाण्डेले बसाईसराई रोक्ने, उत्पादन र उत्पादकत्व वृद्धी गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने गरी दोस्रो पञ्चवर्षीय योजना बनाउन सुझाब दिए । ‘कार्यन्वयन हुने खालका योजना मात्रै दोस्रो पञ्चवर्षीय योजनामा समेट्नुपर्छ’ उनले भने ‘गर्नै नसकिने महत्वकांक्षी योजना राख्नका लागि मात्रै उल्लेख नगर्नुहोस् ।’ ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी’ भन्ने सोच र उत्पादकत्व वृद्धी, सामाजिक न्याय र सम्मुन्ति हासिल गर्ने लक्ष्यका साथ दोस्रो पञ्चवर्षीय योजनाको कार्यदिशा तय भएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले बताए । उत्पादन र उत्पादकत्व अभिवृद्धि तथा कृषि क्षेत्रमा रुपान्तरण गर्नु, विकासका पूर्वाधारको सुदृढीकरण, पर्यटन प्रवद्र्धन, औद्योगिक विकास र रोजगारी सिर्जना गर्नु लगायत उद्देश्य अवधारणा पत्रमा उल्लेख छ । विकासका लाभको समन्यायिक वितरण सुनिश्चित गरी सामाजिक न्याय स्थापित गर्नु, गुणस्तरीय सार्वजनिक सेवा र सुशासन अभिवृद्धि गर्नु, मानव पुँजी, उत्थानशील विकास र आर्थिक क्रियाशीलता मार्फत समृद्धि हासिल गर्नु दोस्रो पञ्चवर्षीय योजनाको मुख्य उद्देश्य रहेको छ । प्रदेशको अर्थतन्त्रको सुदृढिकरण, वित्तीय स्रोत पहिचान र व्यवस्थापन, सामाजिक सुरक्षा, संरक्षण, समावेशीकरण र सशक्तिकरण, श्रम रोजगारी, उत्पादन तथा गरिबी न्यूनीकरण, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य क्षेत्रको सबलीकरण रणनीतिक क्षेत्र समेटिएको प्रदेश योजना आयोगका उपाध्यक्ष देवकोटाले बताए । दिगो पूर्वाधार विकास, पर्यटन र शहरीकरण, वन वातावरण, जैविक विविधता तथा विपद् जोखिम व्यवस्थापन, पुँजी निर्माण र लगानी, विनियोजन कुशलता, पुँजीगत खर्च र संस्थागत क्षमता, सुशासन तथा सार्वजनिक सेवा प्रवाह लगायत क्षेत्रमा केन्द्रित रहेर रणनीति बनेको उनले बताए । दोस्रो पञ्चवर्षीय योजना निर्माण प्रक्रिया सहभागितामूलक हुनेछ । ‘प्रदेशका सामाजिक, आर्थिक र भौतिक पूर्वाधारको क्षेत्रगत तथ्याङ्क, अवस्था, समस्या, चुनौती र अवसरहरु समेटिनेछ’ उपाध्यक्ष देवकोटाले भने । प्रदेश सरकारका विभिन्न पदाधिकारी तथा निकायका प्रतिनिधि, राजनीतिक दल, निजी क्षेत्र, गैर सरकारी क्षेत्र, विकास साझेदार र युवा वर्ग लगायतसँग छलफल तथा अन्तरक्रिया गरिने उनले बताए । जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा र प्रदेश सभाका सांसद, जिल्ला समन्वय समितिका पदाधिकारी, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, नागरिक समाजका प्रतिनिधि, गैह्रसरकारी संस्था, प्राज्ञ, निजी क्षेत्र, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार तथा अन्य सरोकारवालासँग पनि छलफल हुने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष देवकोटाले बताए । छलफल तथा अन्तरक्रियाबाट प्राप्त सुझावका आधारमा योजनाको मस्यौदा दस्ताबेजलाई परिमार्जन गरिँदै लगिने नीति योजना आयोगले जनाएको छ । ‘अन्तिम मस्यौदालाई प्रदेश विकास परिषद्को बैठकमा प्रस्तुत गरी अनुमोदन गराइनेछ’ उपाध्यक्ष देवकोटाले भने । आईतवारको बैठकमा प्रमुख सचिव, प्रदेश नीति योजना आयोगका सदस्यहरु लगायतको उपस्थिती थियो ।
काठमाडौं: अमेरिकाबाट हुलाकमार्फत पठाइएको गाँजासहित प्रहरीले विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरेको छ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै पठाइएका पार्सलमा गाँजा फेला परेको नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ । भदौ २४ गते अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै जिल्ला हुलाक कार्यालय कास्कीमा पठाइएको एउटा कार्टुन बक्समा १ किलो ४०० ग्राम गाँजा भेटिएको छ । उक्त कार्टुन लिन आउने भारतीय नागरिक २४ वर्षका एजिन भार्गेसलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनको कोठाबाट ७२० ग्राम गाँजा बरामद भएको ब्यूरोका प्रहरी उपरीक्षक जोशीले जानकारी दिए । यस्तै भदौ १९ गते अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमार्फत जिल्ला हुलाक कार्यालय वीरगञ्जमा प्राप्त हुने गरी पठाइएको एउटा कार्टुन बक्समा ९०० ग्राम गाँजा भेटिएको ब्यूरोका प्रहरी उपरीक्षक जोशीले जानकारी दिए । प्रहरीले वीरगञ्जमा उक्त कार्टुन बक्स लिन आउने वीरगञ्ज महानगरपालिका–१६ का ३२ वर्षका डल्लु राम र ४३ वर्षका हबिब मियालाई पक्राउ गरेको छ । त्यस्तै गोश्वारा हुलाक कार्यालय काठमाडौंबाट डडेल्धुरा पठाइएको एउटा कार्टुनमा पनि प्रहरीले गाँजा भेटेको छ । कार्टुनमा ७२० ग्राम गाँजा भेटेको थियो । उक्त गाँजा लिन आउने डडेल्धुराको गन्यापधुरा गाउँपालकिा–१ की ३९ वर्षकी रेनुका तामाङलाई पक्राउ गरेको छ । त्यस्तै गोश्वारा हुलाकबाटै रेनुका तामाङले पाउने गरी भदौ २४ गते ९३९ ग्राम गाँजा पठाएको भेटिएको थियो । रेनुकाले उक्त कार्टुन भारतीय नागरिक अरुण कुमार र मोहम्मद नइमले लिन पठाएको भनी खुलाएकाले उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: श्रीलंकाले एसिया कप २०२३ को फाइनलमा भारतविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकोछ । कोलोम्बोमा घरेलु टोली श्रीलंकाका कप्तान दाशुन शानकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । श्रीलंकाले टोलीमा आज एक परिवर्तन गरेकोछ । घाइते स्पिनर महेश थिक्सेना यसअघि नै बाहिरिएका थिए । उनको स्थानमा स्पिनर दुशान हेमान्थालाई आज मौका दिएको छ । उता भारतले आज टोलीमा प्रमुख खेलाडी फर्काएको छ । घाइते अक्षर पटेलको स्थानमा वासिन्टन सुन्दरलाई मौका दिएको छ । भारत आठौं र श्रीलंका सातौं एसिया कप जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । श्रीलंका र भारतको सुपर फोरमा ४९४ अंक थियो । नेटरनरेटको कारण भारत शीर्ष र श्रीलंका दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन् । श्रीलंका सुपर फोरमा भारतसँग ४१ रनले पराजित भएपनि पाकिस्तानलाई दुई विकेट र बंगलादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । उता भारतले श्रीलंकालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बंगलादेशसँग भने ६ रनले पराजित भएको थियो । श्रीलंकाले सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेको थियो । भारतले सन् १९८४, १९८८, १९९०/९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो । भारतको प्लेइङ–११: रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, हार्दिक पान्ड्या, लोकेश राहुल, ईशान किशन, रविन्द्र जडेजा, कुलदीप यादव, वासिन्टन सुन्दर, जस्प्रित बुमराह र मोहम्मद शिराज । श्रीलंकाको प्लेइङ–११: पाथुम निसांका, कुशल परेरा, कुशल मेन्डिस(विकेटकिपर), सदिरा समाराविक्रमा, चरिथ असलंका, धनन्जय डि सिल्भा, दासुन शानका(कप्तान), दुनिथ वेलालागे, दुशान हेमान्था प्रमोद मदुशान र मथिशा पाथिराना ।

