कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

काठमाडौँ:   शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ।    विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो।    नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन्। हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो। आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन्।   नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले शिक्षक कर्मचारी आन्दोलनका लागि काठमाडौँ आएकोले सम्पूर्ण विद्यालयको पठनपाठन अवरुद्ध हुने बताए ।   आन्दोलनको पहिलो दिन हिजो  ७० हजारको हाराहारीमा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए । यो संख्या आज झन बढ्ने महासचिव सुवेदीको भनाइ छ।

रसुवा: रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको दुई महिनामै पाँच अर्ब १३ करोड ९९ लाख ३० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।    नेपाली बजारका लागि चीनबाट तयारी पोसाक, जुत्ता, चप्पल, रोल कपडा, बच्चाको खेलौना, विद्युतीय सामग्री, मोटरका स्पेयरपार्ट्स, विद्युतीय मोटर कारसमेतका साना ठूला गाडी, हाइड्रोपावरका सामग्री, मेसिनरी उपकरणका पार्टपुर्जा, थर्मस, स्याउ, ओखर, लसुन, अदुवालगायतका आयात सामग्रीको शुल्कबापत राजस्व वृद्धि भएको हो ।   भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार साउन तथा भदौ महिनामा केरुङ हुँदै रसुवागढी नाकाबाट नेपालमा आयात भएका चिनियाँ सामग्रीको नियमानुसार भन्सार शुल्कबापत राजश्व असुली गरिएको हो।    साउन भदौको असुली लक्ष्य एक अर्ब चार करोड ४१ लाख २१ हजार रुपैयाँ भएकोमा पछिल्लो समय व्यवसायीले आयात परिमाण बढाएको र निर्देशिकाको मर्मअनुसार मालवस्तुको गुणस्तरका आधारमा मूल्याङ्कन भएका कारण भन्सार शुल्कबापतको राजस्व वृद्धि भएको जनाइएको छ।   गएको आव २०७९र८० को साउन तथा भदौ महिनाको तुलना गर्दा यस चालु आवमा उल्लेखनीयरूपले राजस्व वृद्धि भएको हो । चालु आवको साउन र भदौ महिनामा लक्षित गरिएको अनुमानभन्दा दुई सय नौ प्रतिशतले असुलीमा वृद्धि भएको हो ।      व्यवसायीले मालसामग्री भन्सार हातामा भित्र्याए प्राथमिकताका आधारमा छिटोभन्दा छिटोजाँचपास गर्ने व्यवस्था मिलाइएको भन्सार अधिकारीले बताएका छन् । यस्तै, नेपाली व्यवसायीले झिकाएको करिब पाँच सय चिनियाँ विद्युतीय कार भने क्रमिकरूपमा भन्सार छुटाइ काठमाण्डौ लैजाने कार्य धमाधम अगाडि बढिरहेको बताइएको छ ।

सर्लाही:  सर्लाहीको लालबन्दी नगरपालिका–५, शान्ति टोलमा हतियारधारी समूहले एक घरमा लुटपाट गरेको छ ।    लालबन्दी नगरपालिका ५ को वडा कार्यालय नजिक रहेको रामचन्द्र ठाकुरको घरमा बिहीबार बिहान २ बजेतिर लुटपाट भएको हो ।   मुखमा रुमाल बाँधेर आएका ५/६ जनाको समूहमा रहेका अज्ञात व्यक्तिले ठाकुरको घरबाट नगद र केही सर सामग्री लुटेर लगेका प्रहरीले जनाएको छ ।    लुटेरा समूहलाई प्रतिकार गर्दा घरधनी ४५ वर्षीय ठाकुर घाइते हुनुभएको छ । उहाँको टाउकोमा चक्कु प्रहार भएको छ ।    घाइते ठाकुरको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।    सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पन्जियार थारुले लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको जानकारी दिनुभयो ।    थारुका अनुसार घटनास्थलबाट एक थान नल कटुवा पेस्तोल बरामद भएको छ ।   घरको कमाउण्डवालमा लगाइएको ग्रिल नाघेर हतियारधारी समूह घरभित्र प्रवेश गरेका थिए । 

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरोकारवालाहरूसँगको व्यापक छलफलपछि र संविधानसम्मत रूपमा विद्यालय शिक्षा विधेयक अगाडि बढाउनुपर्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा उहाँले विद्यालय शिक्षा विधेयक सरोकारवालासँगको परामर्शपछि मात्र अघि बढाउनुपर्ने बताउनुभयो ।   महरले भन्नुभयो, ‘‘नेपालको संविधानसँग बाझिने गरी विद्यालय शिक्षा विधेयक संसद्मा पेस  भएको छ । सरकारले संविधान बाहिर गएर विधेयक ल्याउनुभएन ।’’   निजी विद्यालयको शुल्क निर्धारण स्थानीय तहलाई दिने प्रावधान संविधान विपरीत भएको उहाँको भनाइ छ । ‘‘हाम्रो संविधानले माध्यमिक तहसम्म शिक्षा निःशुल्क भनेको छ । तर विधेयकमा निजी स्कुलको शुल्क तोक्ने काम पनि स्थानीय सरकारबाटै हुने कुरा विरोधाभासपूर्ण भयो ।’’ उहाँले भन्नुभयो ।   शिक्षाबारे संविधानमा गरिएको प्रतिबद्धता कुन तहको सरकारले पूरा गर्ने भन्नेमा विद्यालय शिक्षा विधेयकमा अन्योल रहेको महरले बताउनुभयो । ‘‘संविधानमा अन्तर्राष्ट्रिय मापनको गुणस्तरीय शिक्षा बनाउने र २० प्रतिशतभन्दा बढी बजेट शिक्षा क्षेत्रमा बजेट छुट्याउने भनिएको छ । नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धी बनाउने भन्ने हाम्रो प्रतिबद्धता छ । यो प्रतिबद्धता कुरा गर्ने कुन तहको सरकारले गर्छ रु’’ उहाँको प्रश्न छ, ‘‘सरोकारवाला पक्षसँग कुनै छलफल नगरी ल्याएको विधेयकको स्वामित्व ग्रहण कसले गर्छ र ?’’   निश्चित केही व्यक्तिको इच्छामा आएको विधेयकलाई सरोकारवालासँग छलफल र विमर्शपछि मात्र अगाडि बढाउनुपर्ने महरको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘शिक्षा विधेयकमाथि पालिका महासङ्घ, शिक्षक, विद्यालय कर्मचारी लगायतको विरोध छ । विद्यार्थीले पढ्न नपाएपछि अभिभावक र विद्यार्थीको पनि विरोध हुने नै भयो । संविधानभित्रै रहेर सबैको माग सम्बोधन हुनुपर्छ ।’’   ‘‘शिक्षक साथीहरूले पनि विद्यार्थीको भविष्यमाथि जिम्मेवार हुनुपर्छ । विद्यालय शिक्षा विधेयकविरुद्धमा विद्यालय नै बन्द गरेर आन्दोलन भइरहेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘यसमा ७० लाख विद्यार्थीको भविष्य जोडिएको छ । विद्यार्थीको पढ्न पाउने अधिकार हनन् हुने कुरामा शिक्षक साथीहरू सहज हुनुपर्छ ।’’ शिक्षकका माग सम्बोधन गर्ने कुरामा पनि सरकार तयार भएर अगाडि आउनुपर्ने उहाँको भनाइ छ ।

पाेखरा:  ०७२ भदौ ७ गते टीकापुर घटनामा मुछिएका श्रवणकुमार चौधरी आज संविधान दिवसको अवसरमा पोखराबाट थुनामुक्त भएका छन् ।    घटनाका दौरान ९ कक्षामा अध्ययनरत चौधरी १५ वर्षमात्र भएकाले उनलाई पोखराको बालसुधार गृह ल्याइएको थियो । उनै चौधरी थुनामुक्त भई आजै काठमाण्डौं हुँदै कैलाली पुगिसकेका छन् ।    हाल २१ वर्षको उमेरमा रिहा भएका उनी स्नातकतह दोस्रो वर्षमा अध्ययन गरिरहेका छन् । रिहापछि कुराकानीकाक्रममा संवाददातासँग उनले प्रश्न र आक्रोश पोखिरहे । ‘राज्य निमुखा र निम्न वर्गकोे होइन रहेछ’ चौधरीले भने ‘सोझा, निमुखा थारुको बच्चालाई फँसाएर ८ वर्ष जेल कोच्यो ।’     चौधरीका अनुसार भदौ ७ का दिन उनी एक साथीसँग टीकापुर पुगेका थिए । त्यसपछिको भागदौडमा दुबै घर फकिए । तर केही दिनपछि ७ प्रहरीलाई लखेटी–लखेटी मारेको आरोपमा उनको खोजी हुन थाल्यो ।    ‘तत्कालीन समयमा १५ वर्षको मैले सात प्रहरीलाई लखेटेर मारेको भन्ने अभियोजन अदालतले पत्यायो’ चौधरी भन्छन् ‘अहिले बुझ्दैछु त्यो समय थारुमाथि हदैसम्म ज्यादती गरिएको रहेछ ।’   उनका अनुसार थरुहट आन्दोलन र रेशम चौधरीबारे केही जानकारी थिएन । ‘मैले रेडियोमा रेशम चौधरी भन्ने नाम सुनेकोमात्रै थिए’ सकल भन्छन् ‘त्यहाँ हो–हल्ला हुन थालेपछि डराउँदै हामी फर्केर आयौं ।’   चाैधरी र साथी त फर्किए तर १५ गते ‘प्रहरी मारेको’ भन्दै सकललाई खोज्न गाउँमा प्रहरी पुगिसकेको थियो । प्रहरीले गाउँ घेरेर धरपकड गर्न थालेपछि सकल भागेर भाउजुको घर लुकेर बसे ।    परिवार र पुरै गाउँलेलाई प्रहरीले सताउन थालेपछि सकलले २५ गते सरेन्डर गरेका रहेछन् । त्यसपछि सुरुभयो उनीमाथि एकोहोरो यातना । ‘मैले प्रहरीको सक्कली अनुहार त्यसपछि थाहा पाए’ चाैधरीले प्रहरी कार्यालयमा   बिताएको विगत सम्झँदै भन्छन् ‘डिएसपीको कमाण्डमा ४ प्रहरीले दिएको यातना झेल्न नसकेपछि उनीहरुले तयार पारेको बयानमा सही गर्न बाध्य भए ।’   प्रहरीले उनलाई पक्राउ गरेपछि यातना दिँदै आफुले तयार पारेको बयानमा सही नगरे बुवा आमालाई पक्रेर ठिक पार्ने चेतावनी बाराम्बार दिएपछि चाैधरी गलेछन् । त्यसपछि प्रहरीले भिडियो खिचेर त्यही बोल्न लगाएछन् जुन प्रहरीले पहिल्यै लेखेका थिए ।   ‘बयानमा के लेखेको थियो, याद छ ?’ चाैधरीकाे जवाफ छ ‘टीकापुर हत्याकाण्डको नाइके रेशम चौधरी हो । र, मैलेपनि ७ प्रहरीलाई लखेटी–लखेटी मारेको हो ।’ पछि सरकारी वकिलको कार्यालय र अदालतमा पनि सोही बयान घोकेर भन्न बाध्य पारिएको उनले सुनाए ।    ‘म ९ कक्षामा पढ्दै गरेको १५ वर्षको ठिटोले ७ जना प्रहरीलाई लखेट्दै मारेको भनेर अदालत, राज्यले पत्यायो, तर वास्तविकता बुझ्नेतिर कोही लागेन’ उनी दुखी देखिए ।    उनले आफुलाई त्यसबेला खास के भइरहेको छ र किन टीकापुरमा मान्छेको सागर ओइरियो भन्ने कुनै जानकारी नभएको सुनाए । ‘मलाई फसाइयो’ सकल भन्छन् ‘रेशमलाई मैले पोलेको हो तर प्रहरीले किन जबर्जस्ती उसको नाम लिन लगायो जवाफ खोजिरहेको छु ।’   अब आगामी दिनको योजना के छ? चौधरी भन्छन्, ‘पढाइको निरन्तरता र समाजसेवा ।’   कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनका दौरान नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र २ वर्षका बालक टेकेन्द्र साउदको पनि मृत्यु भएको थियो ।  

काठमाडाैं:  चीनको हाङझाउमा जारी एसियन गेम्सको पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ ।   बुधबार समूह चरणमा दोस्रो हार व्यहोरेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।    चाइना टेक्सटाइल सिटी स्पोर्टस सेन्टर जिम्रेसियममा बुधबार भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भयो ।   समूह बीचमा रहेको नेपाल यसअघि बहराइनसँग पराजित भएको थियो । 

काठमाण्डौ:  विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउँदै आएको नेपाल शिक्षक महासङ्घले आज काठमाण्डौमा मार्च पास गर्दैछ । आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गर्ने महासंघले जनाएको छ । प्रदर्शनमा सहभागी हुन देशका ७७ वटै जिल्लाबाट शिक्षकहरु काठमाण्डौ आएका छन् ।   नेपाल शिक्षक महासङ्घको आह्वानमा राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाण्डौँ आएका हुन् । उनीहरूले आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने महासंघले जनाएको छ । विद्यालय शिक्षा विधेयकप्रति महासङ्घले विभिन्न १८ बुँदे असहमति राखेको छ । सरुवा बढुवा, दरबन्दी, पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।    महासङ्घको आन्दोलनका कारण देशभरको पठनपाठन प्रभावित हुने भएको छ । अहिले प्रभावित भएको पठनपाठन पछि अतिरिक्त समयमा पढाएर पूरा गर्ने महासंघले जनाएको छ । विद्यालय बन्द गर्नु आफूहरूको रहर नभएर बाध्यता भएको भन्दै अभिभावक तथा विद्यार्थीहरूलाई आफ्नो मर्का बुझिदिन महासंघकी अध्यक्ष कमला तुलाधरको आग्रह छ ।   हिजो शिक्षा मन्त्रालयले आन्दोलनरत महासंघलाई वार्ताका लागि बोलाएको थियो । तर, शिक्षा मन्त्रालयसँग यस अघि पनि पटक पटक वार्तामा बसे पनि निकास नस्किएको भन्दै महासंघले वार्तामा सरकार प्रमुखसहित सरोकारवाला अन्य निकाय पनि हुनु पर्ने माग गरेको छ । 

काठमाण्डौ:  काठमाण्डौमा आजदेखि द्रुत बस चल्न थालेको छ । संविधान दिवसको अवसर पारेर सरकारले बस सेवा सञ्चालन गरेको हो । रत्नपार्कको शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गर्नुभयो ।   अहिलेलाई पिक आवर बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सञ्चालन हुनेछ । आज दुई वटा बस सञ्चालन गरिएको र भोलिदेखि बस थप गरी नियमित सञ्चालन हुने यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिनुभयो ।   द्रुत बस सञ्चालन हुने रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सडकमा रातो रङले डेडिकेटेड लेन नै छुट्याइएको छ । द्रुत बस सञ्चालन हुने समयमा अत्यावश्यकबाहेकका गाडी यो लेनमा प्रवेश गर्न नपाउने विभागका प्रवक्ता पनेरूले बताउनुभयो ।   तर एम्बुलेन्स, शववाहन, दमकल, कर्मचारी बोक्ने बस भने यो लेनमा चलाउन पाइने छ । ट्राफिक व्यवस्थापनका साथै यात्रुको सुविधाका लागि द्रुत बस सञ्चालन गरिएको हो । रत्नपार्क–सूर्यविनायक  सडकमा  नमुनाका  रूपमा सञ्चालन गरिएपनि बिस्तारै द्रुत बस सेवा विस्तार गरिने विभागले जनाएको छ ।   द्रुत बस सेवा सञ्चालनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय  महासङ्घको सहकार्यमा विभागले २५ वटा ठुला बसको व्यवस्थापन गरेको छ । विभागका अनुसार रातो बत्ती बलेका बेलामा पनि द्रुत बस रोकिने छैनन् । त्यस्ता बस एम्बुलेन्स तथा अत्यावश्यक गाडी जस्तै गुड्ने छन् । सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा नै पुग्न सकिनेछ ।   रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर, जडीबुटी, कौशलटार, गट्ठाघर र सूर्यविनायकलगायत यात्रुको चाप हुने स्थानमा बसस्टप तोकिएको छ । यसबाट सार्वजनिक गाडीको प्रयोगमा प्रोत्साहन हुने र निजी गाडी प्रयोगको सङ्ख्या घट्ने विभागको अपेक्षा छ ।