काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने उल्लेख गर्नुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले संविधान प्रदत्त मौलिक हकको प्रभावकारी कार्यान्वयन, आयातमुखी अर्थतन्त्रलाई विस्थापन गरी राष्ट्रिय अर्थतन्त्रलाई दह्रो र सबल बनाउनु नै आजको मुख्य चुनौती र जिम्मेवारी भएको बताउनुभएको छ । राष्ट्रपति पौडेलले श्रमलाई सम्मान गर्ने संस्कृति, विपन्नलाई आय र निमुखालाई न्याय दिने प्रणालीलाई सबल र प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतान्त्रिक प्रणाली स्थापनार्थ पथ प्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजप्रति सम्मान एवं श्रद्धा प्रकट गर्नुभएको छ । “वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ”, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने लक्ष्य राखेको बताउनुभएको छ । उहाँले सुदृढ तहगत अन्तरसम्बन्धको स्थापना र सबल सङ्घीय शासन प्रणालीमार्फत समावेशी, समन्यायिक एवं सन्तुलित प्रादेशिक विकासको सुनिश्चितता हुन सकेन भने जनताले चाहेको लोकतन्त्रको परिणाम प्राप्त नहुने उल्लेख गर्नुभएको छ । उक्त लक्ष्य हासिल गर्न प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्दै कृषिको आधुनिकीकरणसहित उद्यमशीलताको विकासमार्फत उत्पादन वृद्धि गर्नुपर्ने उहाँको भनाइ छ । राष्ट्रपति पौडेलले राज्यको चरित्रलाई अझ लोकतान्त्रिक, पारदर्शी, जवाफदेही, सुशासित, न्यायपूर्ण र जनमुखी बनाउनुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिहरू, सार्वजनिक निकायका पदाधिकारी तथा राजनीतिक दलका नेता कार्यकर्ताले जनताले अपेक्षा गरेको आचरण र चरित्र देखाउनसके मात्र सामाजिक न्याय र स्वाभिमानसहित समृद्धिको सपना साकार हुने उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा भनिएको छ, “राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन् । अतः आजका दिनले हामी, हाम्रा राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउनेछ भन्ने विश्वास लिएको छु ।” राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नोतर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आह्वान गर्दै दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।
काठमाडौं: संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुनेछ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नुभएको थियो । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ हुनुहुन्थ्यो । सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गर्नुभएको थियो । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।
पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका घोरबन्दामा तीजको अवसरमा सम्पन्न घोरन्दा कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सराई एफसीले जितेको छ । सोमबार भएको फाइनल खेलमा आयोजक नव जागृती युवा क्लब (कालो) लाई ३–० गोल अन्तरतले पराजित गर्दै सराईले उपाधि जितेको हो । सराइलाई उपाधि दिलाउनका लागि फाइनल खेलमा आशिष रानाले २ र राम किशान पौडेलले १ गोलको योगदान दिएका थिए । उपाधिसँगै सराइले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५० हजार प्राप्त गर्याे । यस्तै उपविजेता बनेको आयोजक टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्याे । उक्त प्रतियोगिताबाट सर्वाेत्कृष्ट र सर्वाधिक गोलकर्ताका रुपमा सराई एफसीका आशिष राना पुरस्कृत भए । यस्तै उत्कृष्ट गोलरक्षक सोही क्लबकै गोबिन रानामगर घोषित भए भने उत्कृष्ट डिफेण्डरका रुपमा आयोजकका सन्दिप मगर र मिडफिल्डरका रुपमा सफल आचार्य पुरस्कृत भए । कुल ११ टिमको सहभागिताबाट विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरी प्रसाद पाठक, माथागढी गाउँपालिका ३ का वडाध्यक्ष तेज घर्तीमगर, पुरस्कारदाताहरु तथा आयोजक संस्थाका अग्रजहरुले पुरस्कार वितरण गरेका थिए । आयोजक संस्था विगत २०३८ सालदेखि नै सामाजिक क्रियाकलापसँगै खेलकुदको क्षेत्रमा त्रियाशिल रहदै आएको छ ।
पोखरा: गण्डकी प्रदेशलाई लामाचौर भलिबल कपको उपाधि दिलाउन प्रतियोगिता भर सानदार प्रदर्शन गरेका गण्डकीका ओपन स्पाइकर रवि केसी पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । इन्द्र राज्य लक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको फाइनलमा खेलामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै गण्डकी गण्डकी प्रदेशले उपाधि जितेको थियो । घरेलु टोली गण्डकीलाई लामाचौर कप भलिबलमा च्याम्पियन बनाउन रविले प्रतियोगिता भर नै सानदार प्रदर्शन गरेका थिए । सर्वोत्कृष्ट बनेका रविले ट्रफी र प्रमाण पत्र प्राप्त गरे । व्यत्तिगत विधातर्फ स्पाइकरमा गण्डकीका किरण गुरौं, ब्लकरमा गण्डकीकै कप्तान हरि पाण्डे तथा गण्डकीकै रमेश केसी उत्कृष्ट प्रशिक्षक चुनिए । पुलिसका कुल बहादुर थापा सर्भर, अभिषेक थापा सेटर र भीम गाहा उत्कृष्ट लिवेरो चुनिए । व्यत्तिगत विधाका सबै उत्कृष्टले ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
पोखरा: नेकपा एमाले गण्डकी प्रदेश कमिटीले यहि असोज १५ र १६गते पोखरामा आयोजना हुने प्रथम अधिवेशनको लोगो सार्वजनिक गरेको छ । प्रदेश कमिटी अधिबेशन प्रचार प्रसार समितिले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर लोगो सार्बजनिक गरेको हो। लोगो सार्बजनिक गर्दै एमाले सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले अधिबेसनलाइ ऎतिहासिक बनाउन भएका तयारीहरूको बारेमा जानकारी दिनुभयो । बैठकले अधिबेशनलाई सभ्य र भब्यरूपले सम्पन्न गर्न विभिन्न विभिन्न वटा उप समिति मार्फत ससक्त ढंगले तयारी अगाडि बढाइएको प्रचार तथा प्रसार उप समिति सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिनुभयो। अधिबेशनमा करिब ९०० जना प्रतिनिधि सहभागी हुने र असोज ९ गते प्रतिनिधि चयन हुने अध्यक्ष नबराज शर्माले जानकारी दिनुभयो । ने क पा (एमाले) गण्डकीको प्रथम अधिबेशनमको पार्टी अध्यक्ष के पि शर्मा ओलिले असोज १५ गते अमरसिंह चौरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
म्याग्दी: म्याग्दी सदरमुकाम बेनीमा दुई सय वर्ष पुरानो बर्खेनाच देखाइएको छ । दुई सय वर्षअघि बेनीमा बस्ती बसेदेखि नै घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तीजको दिनसम्म एक महिनाको अवधिमा विभिन्न मौलिक नाच देखाइएको हो । बेनीको सङ्गमचोकमा सोमबार साँझ बर्खेनाचको समापन गरिएको हो । बर्खेनाचअन्तर्गत तीजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित बर्खेनाच समापन गरिएको नेपाल भाषा मंकाखलः म्याग्दीका पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । “लाखे र श्रीकृष्णको लडाइँ झल्काउने नाच अवलोकन गर्न सङ्गमचोकमा बजारवासीको भीड लागेको थियो”, उहाँले भन्नुभयो, “यस वर्ष बर्खेनाचअन्तर्गत लाखे, हनुमान, घोडा, गोरु, रोपाइँ, नागानागिनी, धानको बाला र जोगीनाच देखाइएको थियो ।” बर्खेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ । जनैपूर्णिमा र त्यसको भोलिपल्ट दुई दिन वर्षभरि दिवङ्गत भएका व्यक्तिहरूको सम्झनामा नागानागिनी नाच देखाइएको थियो । मंका खलः अन्तर्गतको ल्याम्ह पुचःको अगुवाइ र मैजु खलःको व्यवस्थापनमा बर्खेनाच देखाइएको हो । परम्परागतरूपमा देखाइँदै आइएको बर्खेनाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचलाई समेत बर्खेनाचमा निरन्तरता दिइएको छ । यस वर्षको बर्खेनाचमा करिब दश वर्षपछि धानको बाला नाच देखाइएको हो । मंका खलःले दुई सय वर्ष पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई तालिम दिएको छ । विभिन्न नाचमा ४० जनासम्म कलाकार सहभागी हुने गर्छन् । आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा बेनीको बर्खेनाचलाई जीवन्त राखिएको नेपाल भाषा मंका खलः म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । बेनी नगरपालिकाको आर्थिक सहयोगमा युवा–युवतीलाई बर्खेनाचसम्बन्धी तालिम दिइएको छ । गत भदौ १८ गतेदेखि सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो । बर्खेनाच यहाँका नेवार समुदायको सांस्कृतिक पहिचानका रूपमा रहे पनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणका लागि अन्य समुदायको समेत सहभागिता हुन थालेको छ । बर्खेनाचमा मृढृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ । रासस
काठमाडौं: नापी कार्यालय लाहानमा कार्यरत अमिन (करार) दीपरन्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग १० हजार घुस लिइसकेको अवस्थामा यादवलाई गत भदौ ६ गते नियन्त्रणमा लिएको थियो । सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवम् उजुरी निवेलनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिइ गएको टोलीले यादवलाई नियन्त्रणमा लिएको हो । अख्तियारका प्रवक्ता भोला दाहालले यादवले सेवाग्राहीसँग घुस लिई भ्रष्टाचार निवारण एने अन्तर्गत कसुर गरेको पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार बिगो १० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ को देहाय (क) बमोजिम कैद सजाय गरी सोही एनेको दफा ३ को उपदफा १ अनुसार बिगो बमोजिम जरिवानाको सजाय हुन मागदाबी लिइ आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
गण्डकी: तीज आयो कि नाच्नेडाँडाको रौनक फेरिइहाल्छ । तीज पर्वसँग यसको पुरानो साइनो छ । तीजमा नाचगान हुन थालेपछि ठाउँको नामै नाच्नेडाँडा रहन गएको हो । बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित नाच्नेडाँडामा बर्सेनि तीज मेला लाग्छ । स्वतःस्र्फूत ढङ्गले चल्दै आएको मेला अहिले संस्थागत भइसकेको छ । यसपालिको तीजमा पनि नाच्नेडाँडामा दुई दिन मेला चल्यो । आइतबार गाउँका छोरीचेली भेला भएर सामूहिक दर खाए । तीजका गीतमा छमछमी नाचे । घैँटोफोडलगायत खेलमा रमाए । सोमबार तीज गीत तथा नृत्य प्रतियोगितासहित सांस्कृतिक कार्यक्रम भए । कलाकारले प्रस्तुति दिए । प्रतियोगितामा सात समूहले भाग लिएको नाच्नेडाँडा संरक्षण समाजका अध्यक्ष सविता मरासिनीले जानकारी दिनुभयो । मेलाका अवसरमा ज्येष्ठ, समाजसेवी महिला र आगन्तुक चेलीलाई अभिनन्दन गरिएको उहाँले बताउनुभयो । “सँधैझैँ यो वर्ष पनि नाच्नेडाँडामा भेला भई दिदीबहिनीहरुले उल्लासपूर्वक तीज पर्व मनाउनुभयो”, अध्यक्ष मरासिनीले भन्नुभयो । मेलामा गण्डकी प्रदेशसभाका उपसभामुख बीना थापा मगर, नेत्र चिकित्सक प्राडा सल्मा केसी राईलगायत विशिष्ट व्यक्तिले सहभागिता जनाएका थिए । सोही ठाउँमा अवस्थित दुई सय ७० वर्ष पुरानो सिद्देश्वर शिवालय मन्दिरले पनि तीज पर्व र नाच्नेडाँडाको महिमा बढाएको छ । तीजमा महादेवको ब्रत बस्ने र पूजाआजा गर्ने महिलाको त्यहाँ उत्तिकै भीड लाग्छ । तीज लगत्तै पर्ने ऋषिपञ्चमीमा पनि शिवालयमा चहलपहल हुन्छ । स्थानीयवासी तिलकुमारी थापाले आफू सानै हुँदादेखि नाच्नेडाँडामा तीज मेला लाग्ने गरेको सुनाउनुभयो । “टाढा–टाढाबाट माइतीघर आएका चेलीबेटी भेट हुने, दुःख–सुख साट्ने, रमाउने ठाउँ नै यहीँ नाच्नेडाँडा हुन्थ्यो”, ८० वर्षीया उहाँले भन्नुभयो, “गलकोट क्षेत्रकै पुरानो शिवालय पनि यहीँ भएकाले यो ठाउँको विशेष महत्व छ ।” अहिलेको पुस्ताले नयाँ स्वरुपमा भएपनि तीज मेलालाई निरन्तरता दिएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । गलकोट–७ का वडाध्यक्ष राजबहादुर थापाले विसं २०५० देखि तीज गीत तथा नृत्यलाई प्रतियोगितात्मक रुपमा सञ्चालन गर्न थालिएको बताउनुभयो । “त्योभन्दा पहिले स्वतःस्र्फूत रुपमा तीज मेला लाग्थ्यो, परम्परागत रुपमा त्यो चलेको थियो, विसं २०५० पछि मेला व्यवस्थित र संस्थागत गरिएको हो”, उहाँले भन्नुभयो, “नाच्नेडाँडा गलकोट क्षेत्रकै ऐतिहासिक थलो हो, यसको संरक्षण र विकासमा स्थानीय समुदायको ठूलो योगदान छ ।” दशकौँ पुरानो नाच्नेडाँडाको तीज मेला हेर्न गलकोट र बाहिरबाटसमेत आगन्तुक आउने गरेको समाजका अध्यक्ष मरासिनीले बताउनुभयो । “परापूर्वकालदेखि नै नाच्ने डाँडामा तीजको कार्यक्रम हुँदै आएको हो, पछिल्लो समय मेलाको रुपमा निरन्तरता दिएका छौँ”, अध्यक्ष मरासिनीले भन्नुभयो । बर्सेनि मेलामा खुला तीज गीत तथा नृत्य प्रतियोगिता, सामूहिक दर खाने कार्यक्रम, महिला घैँटोफोडलगायतका कार्यक्रम आयोजना गर्ने गरिएको छ । मेलाले तीजको पुरानो परम्परालाई जोगाउन मद्दत पुगेको समाजले जनाएको छ । मौलिक तीज गीत, नृत्य, दर खाने कार्यक्रम आदिले नयाँ संस्कृतिको पुस्तान्तरणमा पनि सघाउने विश्वास लिइएको छ । तीजमा आउने ब्रतालु महिला र अरु भक्तजनका लागि सिद्धेश्वर शिवालयमा पूजाआजाका लागि पनि विशेष प्रबन्ध मिलाउने गरिएको छ । शिवालय सेवा समितिका अध्यक्ष ज्ञानबहादुर थापाले श्रद्धालुलाई लक्ष्य गरी मन्दिर परिसरमा १०८ शिवलिङ्ग मण्डप निर्माण गरिएको बताउनुभयो । भक्तजन र दाताको सहयोगमा झण्डै रु. ४० लाख खर्चेर सो मण्डप तयार गरिएको हो । त्यस क्षेत्रमै पहिलोपटक शिवलिङ्ग मण्डप बनेपछि पछिल्लो समय शिवालय मन्दिरमा भक्तजनको आकर्षण बढेको हो । विसं १८१० मा मन्दिर निर्माण भएको अध्यक्ष थापाले जानकारी दिनुभयो । पाण्डवखानी भन्ने ठाउँबाट एक साधु आई त्यहाँ बस्न थालेपछि शिवालय स्थापना गरिएको गाउँका अगुवा बताउँछन् । उक्त मन्दिर अहिले जीर्ण अवस्थामा छ । समितिले मन्दिरको पुनःनिर्माणसहित वृहत्तर विकास योजना अघि बढाएको छ । पुरातात्विक कलाकौशल झल्कने गरी मन्दिर पुनःनिर्माण गरिने जनाइएको छ । मन्दिरसहित धर्मशाला, सभाकक्षलगायतका संरचना त्यहाँ बन्नेछन् । झण्डै चार रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा शिवरात्रि र बालाचर्तुदर्शी पर्वमा विशेष मेला लाग्ने गर्छ । शिवालयमा नित्य पूजाआजासमेत हुने गरेको छ ।
पोखरा: गण्डकी प्रदेश भलिबल संघले पोखरा लामाचौरमा सम्पन्न भएको भलिबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार सम्पन्न भएको फाइनल खेलमा गण्डकी प्रदेशले विभागीय क्लब नेपाल पुलिसलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । गण्डकी प्रदेशले पहिलो र तेस्रो सेट गुमाएपनि दोस्रो, चौथो र पाचौ सेटमा जित निकाल्दै उपाधि जितेको हो । गण्डकीले पहिलो सेट २३–२५ ले गुमाएको थियो । एकसमय नेपाल पुलिस क्लब (२२–१८)को अवस्थामा भएपनि गण्डकीले उत्कृष्ट खेल खेल्दै २२–२३ बनाएपनि पुलिसले पुनः तीन अङ्क जोड्दै पहिलो सेट जितेको थियो । दोस्रो सेटमा सुरुवाती अग्रता बनाउँदै गण्डकीले (९–९)को अवस्थाबाट लगातार पाँच अङ्क जोडेपछि दोस्रो सेटमा हावी हुँदै २५–१९ ले जितेको थियो । यस्तै फाइनल खेलमा तेस्रो सेटमा गण्डकीको २० र नेपाल पुलिस क्लबको २१ अङ्क हुँदा रेफ्रीको निर्णयमा पुलिसले असहमति जनाउँदा खेल केही समय रोकिएको थियो । उक्त सेट गण्डकीले २१–२५ ले गुमाएको थियो । चौथो सेटमा गण्डकी प्रदेश पुलिस भन्दा (२४–२१)को अवस्थामा भएपनि पुलिसले उत्कृष्ट खेल खेल्दै लगातार चार अङ्क जोड्दै २४–२४ को बराबरी गरेको थियो । प्रतिस्पर्धात्मक भएको चौथो सेट गण्डकीले २८–२६ ले जितेको थियो । पाँचौ तथा निर्णायक सेटमा गण्डकीले सुरुवाती अग्रता बनाउँदै १५–११ ले नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो । ‘लामाचौर कप’ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको विजेता गण्डकीले नगद १ लाख ५० हजार १ सय ११ र उपविजेता भएको नेपाल पुलिस क्लबले १ लाख १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा तेस्रो भएको नेपाल एपिएफ क्लबले ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् । यस्तै महिलातर्फ भने नेपाल पुलिस क्लबले न्यू डायमण्ड स्पोर्टस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको थियो । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)को आयोजनामा सम्पन्न भएको २७ औं वार्षिकोत्सव एवम् २५ औं संस्करणको लामाचौर तीज महोत्सवमा १० औं संस्करणको लामाचौर कपमा राष्ट्रिय महिला भलिबल एवम् दोस्रो संस्करणको पुरुष भलिबलको आज सम्पन्न भएको हो । असोज २९ देखि असोज १ गतेसम्म सञ्चालन लामाचौर तीज महोत्सवमा आयोजित लामाचौर कपको पुरुष तर्फको फाइनल खेल घरेलु टिम गण्डकी प्रदेश र नेपाल पुलिस क्लब बिचको फाइनल खेल संचालनकै क्रममा लाइट प्रोटेस्ट (प्रकाशको कमी) भएको कारण स्थगीत भएको थियो ।

