पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

काठमाडौं:    श्रीलंकाले एसिया कप २०२३ को फाइनलमा भारतविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकोछ । कोलोम्बोमा घरेलु टोली श्रीलंकाका कप्तान दाशुन शानकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । श्रीलंकाले टोलीमा आज एक परिवर्तन गरेकोछ । घाइते स्पिनर महेश थिक्सेना यसअघि नै बाहिरिएका थिए । उनको स्थानमा स्पिनर दुशान हेमान्थालाई आज मौका दिएको छ । उता भारतले आज टोलीमा प्रमुख खेलाडी फर्काएको छ । घाइते अक्षर पटेलको स्थानमा वासिन्टन सुन्दरलाई मौका दिएको छ । भारत आठौं र श्रीलंका सातौं एसिया कप जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । श्रीलंका र भारतको सुपर फोरमा ४९४ अंक थियो । नेटरनरेटको कारण भारत शीर्ष र श्रीलंका दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन् । श्रीलंका सुपर फोरमा भारतसँग ४१ रनले पराजित भएपनि पाकिस्तानलाई दुई विकेट र बंगलादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । उता भारतले श्रीलंकालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बंगलादेशसँग भने ६ रनले पराजित भएको थियो । श्रीलंकाले सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेको थियो । भारतले सन् १९८४, १९८८, १९९०/९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो । भारतको प्लेइङ–११: रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, हार्दिक पान्ड्या, लोकेश राहुल, ईशान किशन, रविन्द्र जडेजा, कुलदीप यादव, वासिन्टन सुन्दर, जस्प्रित बुमराह र मोहम्मद शिराज । श्रीलंकाको प्लेइङ–११: पाथुम निसांका, कुशल परेरा, कुशल मेन्डिस(विकेटकिपर), सदिरा समाराविक्रमा, चरिथ असलंका, धनन्जय डि सिल्भा, दासुन शानका(कप्तान), दुनिथ वेलालागे, दुशान हेमान्था प्रमोद मदुशान र मथिशा पाथिराना ।

पोखरा:  पोखरामा राजन एण्ड द ब्रदर्शले नेपालकै सर्वाधिक राशीको ‘दोस्रो राष्ट्रिय खुला फुटसल प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।   ‘परिवर्तनका लागि खेलकुद’ नारासहित पोखरा रंगशालास्थित कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   आयोजक संस्थाका अध्यक्ष राजन गुरुङले सो प्रतियोगिता आगामी असोज २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने बताए ।    उनले राष्ट्रिय फुटसल लिग च्याम्पियन पोखराको स्पोर्टस् क्यासल प्रालिसँग सहकार्य गरेर प्रतियोगिता सञ्चालन गर्ने बताए ।    यसअघि सम्पन्न पहिलो संस्करणको प्रतियोगितामा आयोजक र स्पोर्टस् क्यासलबाट खेलेका ४ जना खेलाडी राष्ट्रिय फुटसल टिममा परेकाले आफूहरुलाई थप हौसला मिलेको सुनाए ।    ‘पहिलो संस्करण कोभिडको समय भएकाले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गरेका थियौं, उनले भने त्यो प्रतियोगितामा आयोजकबाट खेलेका भाइहरु राष्ट्रिय टिममा परेपछि दोस्रो संस्करणमा पुरस्कार राशी वृद्धि गरेका हौं ।’     उनका अनुसार यो वर्ष मंगोलियामा हुने प्रतियोगिता लागि घोषणा भएको नेपाली टोलीमा स्पोर्टस् क्यासलको तर्फबाट सुमित श्रेष्ठ (मेस्सी), राम शाही, र दिपेश घले छनोट भएका छन् भने राजन एण्ड द ब्रदर्शबाट खेलेका आरुष सिंह ठकुरी पनि नेपाली टोलीमा स्थान बनाएका छन् ।   अध्यक्ष गुरुङले यसपटक ‘परिवर्तनका लागि खेलकुद’ भन्ने नारासहित प्रतियोगिता सञ्चालन गर्ने बताउदै भने, ‘पहिलो संस्करणमा खेलेका ४ जना भाइहरु यसपटक राष्ट्रिय टिममा परेका छन् । त्यसैले यो प्रतियोगिताबाट पनि उदीयमान र नयाँ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाउँनेछन् भन्नेमा विश्वस्त छौं ।’   प्रतियोगिता संयोजक आशिष क्षेत्रीले पुरस्कार राशी वृद्धि गरेर ५ लाख पुर्याइएको जानकारी दिए । उनका अनुसार पहिलो संस्करणमा उपाधि राशी ३ लाख रुपैयाँ थियो ।    यस पटक दोस्रो संस्करणको विजेतालाई ५ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपात्र प्रदान गर्ने बताए । यस्तै  उपविजेताले ३ लाख रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।   विधागततर्फ प्रतियोगिताबाट सर्वाेत्कृष्ट हुने खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५/२५ हजार रुपैयाँबाट पुरस्कृत हुनेछन् ।    देशभरबाट कुल ३० बढी टिमको सहभागिता रहेको आयोजकको अपेक्षा छ भने प्रतियोगितामा सहभागिता हुनका लागि २५ हजार दर्ता शुल्क निर्धारण गरिएको छ ।

पोखरा:   पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र एसियाली विकास बैकका कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ ।    भेटवार्ताका क्रममा एडिबीको सहयोगमा सञ्चालित शहरी पूर्वाधार र जीवन सुधार परियोजनासहित पोखराको दिगो पर्यटन विकासका सम्भावना लगायत विषयमा छलफल भएको छ ।    हाल एडिबीको सहयोगमा पोखराको ढल निकास, सडक, फुटपाथ र सडक सुधार परियोजना अन्तरगत सडक सुरक्षा उपायहरूको योजना सहित विद्यमान सडक र ढलको स्तरोन्नति, शहीद चोक–तीनकुने–राधाकृष्ण मार्ग–एसओएस–घले चोक–हरियो खर्क–पीआईए ८.८ किलोमिटर सडक सुधार योजनालाई अन्तिम रूप दिइएको छ । यसका लागि ५.३४ मिलियन अमेरिकी डलर खर्च हुनेछ ।   पञ्चासे पारिस्थितिक विकास र पहुँच परियोजना अन्तरगत दमदमेदेखि भन्ज्याङसम्मको १३ किलोमिटर सडक कालोपत्रे, भन्ज्याङदेखि पञ्चासेसम्म बाटोको स्तरोन्नति, सुविधा सहितका सर्भिस प्वाइन्टहरू स्थापना, विद्यमान होमस्टेको एकीकृत प्रवद्र्धन योजना र गुरुङ सङ्ग्रहालयको संरक्षणका लागि ३.०५ मिलियन अमेरिकी डलर खर्च हुनेछ । पञ्चासे १०० भन्दा बढी प्रजातिका अर्किड र पोखरीहरू रहेको एक प्रसिद्ध तीर्थस्थल र संरक्षित वन क्षेत्र हो ।   एडिबी कै सहयोगमा लेक टु लेक साइकल ट्र्याक र फेवाताल सुधार परियोजना समेत सञ्चालनको क्रममा रहेको छ । परियोजना अनुसार ९ वटा ताल र १८ वटा वडाहरूलाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्र्याक निर्माण हुनेछ ।   फेवाताल सुधार परियोजना अन्तरगत बसाइ व्यवस्थापन, शौचालय, वाटर फाउन्टेन, वाटर स्प्रिङ प्रोटेक्सन, इन्फरमेसन बोर्ड, डाइरेक्शन बोर्ड, साइकल पार्किङ, सर्भिस पोइन्टसहित साइकल स्ट्यान्डहरूको निर्माण गरिनेछ । यसमा ३.०५ मिलियन अमेरिकी डलर खर्च हुनेछ ।    रानीवन इको ट्रेल र फेवाताल सुधार परियोजना अन्तरगत ड्यामसाइडबाट रानीवनलाई सिसाको पुलले जोड्ने, शान्ति स्तूप र फेवातालको परिधिलाई एकीकृत रूपमा जोड्दै रानीवनबाट इको ट्रेल विकास गर्ने योजना रहेको छ । इको रुटमा विश्राम स्थल, शौचालय, धारा, मन्दिर जीर्णोद्धार, सूचना बोर्ड लगायत सार्वजनिक सुविधाहरू समावेश हुनेछन् । यसमा ५.६३ मिलियन अमेरिकी डलर खर्च हुनेछन् ।   शान्ति बन बाटिका बोटानिकल गार्डेन निर्माण हुनेछ । परियोजना अन्तरगत विद्यमान वन क्षेत्रलाई हरियाली केन्द्रको रूपमा विकास र स्तरोन्नति गरी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेछ । जहाँ जडीबुटी बगैँचा, पैदल मार्ग, टिकट काउन्टर, विश्राम स्थल, पिकनिक सेड, ध्यान केन्द्र, कम्पाउन्ड वाल, फेन्सिङ, एप्रोच रोड लगायत निर्माण हुनेछ ।    अर्को परियोजनामा पोखराको पुरानो सम्पदा संरक्षणसँग जोडिएको छ । महानगरपालिका वडा नम्बर २, ३, ४ मा रहेका पुराना शैलीका कलात्मक भवन तथा मन्दिरहरूको संरक्षणका लागि यो परियोजना लागु गरिनेछ । रामकृष्ण टोललाई पोखरा हेरिटेज साइटका रूपमा विकास गर्दै एक प्रमुख पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गरिने छ । यसले पुरानो पोखराको सहरी पुनरुत्थान सहित सिद्दार्थचोकदेखि विन्ध्यवासिनी सम्म १.५ कि.मि सडकको स्तरोन्नति र फुटपाथ निर्माण गर्नेछ । यसका लागि एडिबीले १.९८ मिलियन अमेरिकी डलर खर्च गर्नेछ ।    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाईडसम्मको सडक स्तरोन्नतिका लागि प्राविधिक, वातावरणीय र आर्थिक सम्भाव्यता प्रतिवेदन तयार भैसकेको छ । यस परियोजनाको लागि डीएससीएस खरिदको लागि टीओआरको तयारी भइरहेको छ । यसमा २ मिलियन अमेरिकी डलर खर्च हुनेछ ।    यस्तै साबिक लेखनाथ नगरपालिकाको कार्यालय रहेको स्थानमा महनगरस्तरिय विपद् व्यवस्थापन केन्द्र स्थापना गरिनेछ । विपद् व्यवस्थापन परियोजना अन्तरगत एडिबीको सहयोगमा विपद्का बेला राहत तथा उद्धारमा क्रियाशील हुनेगरि महानगर स्तरीय विपद् व्यवस्थापन केन्द्र स्थापना हुनेछ । यसका लागि १ मिलियन अमेरिकी डलर खर्च हुनेछ ।    पोखरा प्रवेश पार्क समेत पोखरा ३२ मा निर्माण गरिनेछ । यसका लागि एडिबीले ५ मिलियन अमेरिकी डलर खर्च गर्नेछ । पोखरा प्रवेश गर्ने बित्तिकै हुने पर्यटकीय गतिविधिहरू चलायमान बनाउनका लागि यो पार्क उपयोगी हुनेछ । पोखराको चिनारीका रूपमा यसको विकास गरिनेछ । पोखरा प्रवेश गर्नासाथ पार्क परिसरमा अवलोकनका लागि पर्यटन पूर्वाधारहरू समेत निर्माण गरिनेछ ।   यी लगायतका परियोजनाहरूका विषयमा एडिबीको टोलीले प्रमुख आचार्यसँग छलफल गरेको हो । सो क्रममा प्रमुख आचार्यले परियोजनाहरू तोकिए कै समयमा सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।    टोलीमा एडिबीका कार्यकारी निर्देशक सुलेमान सहित निर्देशक सल्लाहकार म्याथ्यु सुलिभान, निर्देशन सल्लाहकार भीमकान्त न्यौपाने र सहरी विकास विज्ञ शिव पौडेल रहनुभएको थियो । भेतवातार्मामा पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख आचार्य सहित प्रमुख कार्यकारी अधिकृत श्यामकृष्ण थापा, वित्त महाशाखा प्रमुख जयराम पौडेल र परियोजना व्यवस्थापक इ.अल्का प्रजापति, महानगरको अन्तराष्ट्रिय सम्बन्ध हेर्ने सूचना प्रविधि अधिकृत सुवास ढुंगाना लगायतको सहभागिता थियो ।   परियोजनामा एडिबीले ७५ प्रतिशत र २५ प्रतिशत भने नगर विकास कोष (टिडिएफ) र पोखरा महानगरपालिकाले सयुँक्त रूपमा लगानी गर्नेछन् ।  

 काठमाडौं:     काठमाडौँको तिनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको घटनामा संलग्न रहेको आशंका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सीसीटीभी फुटेजमा देखिएका संदिग्धलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । शुक्रबार राति अन्दाजी ११ः५५ बजेको समयमा काठमाडौँ महानगरपालिका–३२ गैह्रीगाउँमा चार जनाको हत्या भएको थियो । गैह्रीगाउँस्थित दिव्य सःमिलभित्र काठले बनेको एकतले जस्ताको टहरोमा धारिलो हतियार प्रहार गरी दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष ५६ वर्षीय कुमार भुजेल, उनी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङको बेलबारी स्थायी घर भएका १९ वर्षीय नवीन राईको शव फेला परेको थियो । उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

पोखरा:  पोखराको प्रतिष्ठित क्लब सहारा क्लको अध्यक्षमा केशवराज बराल चयन भएका छन् ।   शनिबार भएको १३ औं अधिवेशनबाट २ वर्षे कार्याकालका लागि अधिवक्तासमेत रहेका बराल अध्यक्षमा सर्वसम्मत चुनएिका हुन् ।   सो सामितिको वरिष्ठ उपाध्यक्षमा पूर्ण बहादुर गुरुङ, उपाध्यक्षमा चित्र बहादुर पुन चयन भए ।    यस्तै महासचिवमा रामजी प्रसाद अधिकारी दोहोरिए । सचिवमा टंकराज पौडेल, कोषाध्यक्षमा बिनु रानामगर सहकोषाध्यक्षमा अशोक लालचल चुनिए।   कार्यसमिति सदस्यमा ज्योती केसी, चन्द्रावती गुरुङ, अम्बर राजभण्डारी, विष्णु गुरुङ, शुशिल रिमाल र केशव पौडेल रहेका छन् ।   

तनहुँ:     तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ । वनमन्त्रालयसँग देखिएको समस्या कारण यो आयोजनाको प्याकेज–३ अन्तर्गतको काममा ढिलाइ भएको हो । प्रसारण लाइन निर्माणका लागि विसं २०७७ सालको असोजदेखि काम शुरु भएको थियो । यो प्याकेजको ठेक्का भारतीय कम्पनी केईसीले पाएको छ । यो प्याकेजको अहिलेसम्म ६९ प्रतिशत काम सम्पन्न भएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, ‘वन मन्त्रालयसँग सम्बन्धित केही समस्या अझै समाधान भएका छैनन्, ऊर्जा मन्त्रालयमार्फत् वन मन्त्रालयमा समस्या समाधानका लागि पठाएका छौँ ।’ विनाअवरोध काम गर्न पाएको भए यो खण्डमा अहिलेसम्म ८५ प्रतिशत काम भइसक्ने उहाँको भनाइ छ ।  उहाँका अनुसार प्रसारण लाइन निर्माणका लागि ६९ टावरको जग हाल्ने कार्य सकिएको छ । त्यस्तै ३३ टावर जडान सकिएको छ भने १२ टावरको जग संरक्षण सम्पन्न भएको छ । त्यस्तै अहिलेसम्म शून्य दशमलव ९८८३ किलोमिटर तार तान्ने काम सकिएको छ । उहाँका अनुसार एक ठाउँमा जग हाल्ने काम भइरहेको छ । उहाँले भन्नुभयो, ‘प्याकेज–१ र २ सँगै प्याकेज–३ को प्रसारण लाइन निर्माणले तीव्रता पाएको छ ।’ प्याकेज–३ अन्तर्गत केईसी इन्टरनेसनल भारतले दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको ३६ किलोमिटर ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण गरिरहेको छ । प्रसारण लाइन निर्माण सन् २०२२ मे सम्म सम्पन्न गर्ने लक्ष्य राखिएकामा कोभिड–१९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ । प्रसारण लाइन निर्माणका लागि कुल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ । तनहुँतर्फ व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिनेछ । निर्माण शुरु भएको चार वर्षको अवधिमा आयोजनाले तीनवटा प्याकेजमा ४३ प्रतिशत प्रगति हासिल गरेको छ । तनहुँ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठका अनुसार प्याकेज–१ अन्तर्गत बाँध निर्माणमा २५ प्रतिशत, प्याकेज–२ अन्तर्गत विद्युतगृह निर्माणमा ४५ प्रतिशत र प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ६९ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको पहिलो प्याकेजअन्तर्गत  एक ४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक डाइभर्सन सुरुङहरू, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नतिलगायतका काम भइरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो ।  आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रो, चीनले गरिरहेको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको प्याकेज–१ अन्तर्गत हेडवर्क्स निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाम कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीसँग विसं २०७७ चैत ९ गते २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ रुपैयाँमा खरिद सम्झौता भएको थियो ।  यो प्याकेजअन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक पर्ने डाइभर्सन सुरुङ–१ र २ को निर्माणकार्य जारी रहेको आयोजनाले जनाएको छ । दुवै डाइभर्सन सुरुङको इनलेट र आउटलेटबाट खन्ने काम भइरहेको आयोजनाले जनाएको छ । बाँधको माथिल्लो भागको स्लोप खन्ने कामअन्तर्गत अहिलेसम्म इलिभेसन तह पाँच सय ४४ मिटरबाट चार सय ८० मिटरसम्म खन्ने काम सम्पन्न भइसकेको छ । यसैगरी बाँधको दायाँ किनारातर्फबाट माथिल्लो भागको स्लोप खन्नका लागि पहुँच सडक निर्माणकार्य शुरु गरिएकामा वर्षाका कारण प्रभावित भएको थियो । अहिलेसम्म इलिभेसन तह चार सय ७० मिटरसम्म खन्ने काम सकिएको आयोजनाले जनाएको छ ।  आयोजनाको प्याकेज–२ को निर्माणकार्यका लागि सिनो हाइड्रो कर्पोरेसनसँग विसं २०७५ साल असोज १५ गते यूएस डलर एक अर्ब १४ करोड एक लाख ८८ हजार नौ सय ५८ र नेपाली तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा खरिद सम्झौता भएको थियो । खरिद सम्झौताबमोजिम निर्माण शुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनोले विसं २०७५ माघ ६ गतेबाट आयोजनास्थलमा परिचालित भइ निर्माण जारी राखेको छ।  यो प्याकेजअन्तर्गत ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युतगृह खन्ने काम विसं २०७९ साल असार १० गते सम्पन्न भएको आयोजनाले जनाएको छ । यसका अतिरिक्त मुख्य पहुँच सुरुङ, केबल सुरुङ र सेती नदीको दायाँतर्फबाट बाँधस्थलतिर जाने तथा सर्ज ट्याङ्कतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न भएको आयोजना प्रमुख शिल्पकारको भनाइ छ ।  आयोजनाको एक हजार चार सय ५६ दशमलव नौ मिटर लामो मुख्य सुरुङ विसं २०७८ कात्तिकबाट खन्न शुरु गरिएकामा मङ्सिर मसान्तसम्म छ सय ८० मिटर खन्ने काम सकिएको छ । आयोजनाको दुई सय १० दशमलव नौ मिटर टेलरेस सुरुङ विसं २०७७ फागुन २९ गतेदेखि खन्न शुरु गरिएकामा यो काम सम्पन्न भइसकेको छ । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिल कार्यअन्तर्गत पेनस्टक जडानका लागि खन्ने काम ६४ मिटर रहेकामा सम्पूर्ण पेनस्टक खन्ने काम सकिएको छ ।  कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत० ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकाररनेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख अमेरिकी डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

काठमाडौं:    दक्षिण अमेरिकी मुलुक ब्राजिलको अमेजन क्षेत्रमा एउटा प्रोपेलर विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । विमानमा रहेका १२ यात्री र चालक दलका दुई जना सदस्यको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । घटनाको अनुसन्धान सुरु गरिएको जनाउँदै उनीहरूले प्रतिकूल मौसमका कारण दुर्घटना भएको बताएका छन् । अमेजनस राज्यका सुरक्षा सचिव भिनिसियस अल्मेडाले अतिकम ‘भिजिबिलिटी’ मा अवतरण गर्दा दुर्घटना भएको बताएका छन् । ब्राजिलको विमान निर्माता कम्पनी एम्ब्रेरद्वारा निर्मित ट्वीन इन्जिन टर्बोप्रप विमानमा सुरक्षाका सबै पूर्वशर्त एवं उड्डयन नियमको पूर्णपालना गरिएको जनाइएको छ । विमान कम्पनीले एक विज्ञप्ति निकालेर यान्त्रिक खराबीका कारण दुर्घटना भएको मान्न सकिने आधार नभएको बताएको छ । धेरै राष्ट्रिय निकुञ्ज नजिक रहेको लोकप्रिय पर्यटकीय गन्तव्य बार्सिलोसमा माछामार्ने मनोरञ्जनात्मक खेलमा सहभागी हुन एक जना व्यापारीले उक्त विमान चार्टर गरेका थिए । विभिन्न प्रजातिका माछाका लागि परिचित उक्त स्थानमा हरेक वर्ष यो महिना माछा मार्नेको भीड लाग्ने गर्दछ ।

काठमाडौं:     चिकित्सकमाथि कुटपिटको विषयमा सातबुँदे माग राखेर आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ र सरकारबीच वार्ता भइरहेको छ ।  सरकारका तर्फबाट अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटासहित पाँच सदस्यीय टोली र संघका प्रतिनिधिबीच स्वास्थ्य मन्त्रालयमा वार्ता भइरहेको संघका महासचिव डा। सञ्जीव तिवारीले जानकारी दिए । संघले मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा भएको चिकित्सकमाथिको आक्रमणविरुद्ध दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गराएको छ । यही भदौ २७ गते सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वार्ता समिति गठन गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न आजै निर्देशन दिएका थिए।

काठमाडौं:     पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार ६ सय ७९ जनाको उद्धार गरिएको छ ।  नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्ममा बेचबिखनमा परेका उनीहरूको उद्धार गरिएको हो । ब्युरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार एक हजार एक सय ३४ जनाको विभिन्न जिल्लास्थित प्रहरी कार्यालयबाट उद्धार गरिएको हो ।  ब्युरोकै पहलमा पाँच सय ४४ जनाको उद्धार गरिएको छ । यसरी उद्धार गरिएकामध्ये एक हजार ७८ महिला तथा ६ सय पाँच पुरुष रहेका छन् । आर्थिक वर्ष २०७८/७९ मा बेचबिखनमा परेकामध्ये दुई सय १४ जनाको उद्धार गरिएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए ।  यस्तै, आर्थिक वर्ष २०७९/८० मा तीन सय ३६ जनाको उद्धार गरिएको थियो । वैदेशिक रोजगारीका नाममा बेचबिखन बढ्दो रहेको उनको भनाइ छ ।