नवलपरासी: नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने कालीगण्डकी करिडोर खण्डमा रातिको समयमा गाडी सञ्चालनमा प्रहरीले रोक लगाएको छ । निर्माणका क्रममा रहेकाले करिडोर खण्डमा रातिको समयमा गाडी सञ्चालनमा रोक लगाइएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार करिडोर निर्माणको काम सम्पन्न भइनसकेकाले दुर्घटनाको जोखिम रहेका कारण रातिको समयमा गाडी सञ्चालनमा रोक लगाइएको हो । नवलपुरमा कालीगण्डकी करिडोर झन्डै ८७ किलोमिटर लामो छ । यसमध्ये आधाजस्तो खण्डमा फोन सम्पर्कसमेत हुन नसक्ने भएकाले राति दुर्घटना भए उद्धारमा समेत समस्या हुने र यसले क्षति बढाउन सक्ने भएकाले गाडी सञ्चालनमा रोक लगाइएको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । ुकरिडोर निर्माणका चरणमा छ, पूरा भएको छैन । यसले दुर्घटनाको जोखिम बढाएको छ, राति उद्धारमा पनि कठिनाइ हुने गरेको छु, उहाँले भन्नुभयो । सञ्चारको पहुँच कम भएका क्षेत्रमा आवश्यक मात्रामा टावर जडान गर्ने विषयमा नेपाल टेलिकमसँग समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । सञ्चारको पहुँच र करिडोर निर्माण सम्पन्न भएपछि मात्रै राति गाडी सञ्चालन गरिने उहाँले बताउनुभयो । निर्माणाधीन कालीगण्डकी करिडोरको नवलपुर खण्डमा करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । नवलपुरमा रहेको कालीगण्डकी करिडोरबाट जिल्लाका पहाडी क्षेत्रका लागि साना गाडी सञ्चालन हुने गर्छन् । यसबाहेक तनहुँका विभिन्न क्षेत्र, पाल्पा, स्याङ्जा र पोखराका लागि समेत गाडी सञ्चालन हुने गरेका छन् । नारायणगढ–गैँडाकोट हुँदै यस खण्डबाट विभिन्न क्षेत्रका लागि गाडी सञ्चालन हुने गरेका छन्।
काठमाडौँ: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताउनुभएको छ । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले बालबालिका भविष्यका नेता, नीति निर्माता र आविष्कारकसमेत भएको उल्लेख गर्नुभएको छ । भविष्यमा निर्वाह गर्नुपर्ने जिम्मेवारीका लागि सबल र सक्षम बनाउनका निम्त उनीहरूको पालनपोषण, हेरविचार, स्वास्थ्य एवं शिक्षाका लागि हामीले गर्नुपर्ने लगानीको सर्वोपरि महत्व रहेको कुरामा उहाँले जोड दिनुभएको छ । “मानिसको जीवनका प्रारम्भिक वर्षहरू अर्थात् बाल्यकालमा नै उनीहरूको मल्ूयमान्यता, चरित्र, अनुशासन र सीपहरूले आकार ग्रहण गर्दछन् । बालबालिका आज हामीले रोप्ने बीउ जस्तै हुन् । सही हेरचाह र उचित पालनपोषणसँगै उनीहरू बलियो र जीवन्त रूख बन्नेछन, जसले भविष्यमा समाज र राष्ट्रका लागि विकास तथा समृद्धिको फल फलाउने छन्”, पूर्वराष्ट्रपति भण्डारीद्वारा आज जारी शुभकामना सन्देशमा उल्लेख छ । उहाँले सम्पूर्ण अभिभावक, शिक्षक, नीति निर्माता र नागरिक समाजलगायत सबै सरोकारवालालाई बालबालिकाको सर्वाङ्गीण विकासका लागि समन्वय र सहकार्य गर्न उहाँले आग्रह गर्नुभएको छ । रासस
पाल्पा: सराई एफसी पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट खुल्ला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेकोे छ । हरितालिका तीजको अवसरमा स्थानीय क्लब नव जागृति युवा क्लबद्वारा आयोजित प्रतियोगिताको कोठीचौर खेलमैदानमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा जनकल्याण एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै सराई एफसी फाइनलमा प्रवेश गरेको हो । सराईको जीतमा आशिष रानाले २ गोलको योगदान दिए भने सुरज राना र रामकृष्ण पौडेलले समान १÷१ गोल गरे । सो खेलबाट आशिष राना म्यान अफ द म्याच घोषित हुँदै पुरस्कृत बने । यसैगरी अर्काे सेमिफाइनल खेलमा आयोजक नव जागृती युवा क्लब (कालो) र भगवती एफसी आज दिउँसो ३ बजे प्रतिस्पर्धा गर्ने प्रचारप्रसार संयोजक विरबल रानामगरले जानकारी दिए । उनका अनुसार सो खेलबाट विजेता टोलीले उपाधिका लागि सराई एफसीसँग असोज १ गते (हरितालिका तीजको दिन) भिड्ने छ । सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५० हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्नेछ । प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । आयोजक संस्था विगत २०३८ सालदेखि नै सामाजिक क्रियाकलापसँगै खेलकुदको क्षेत्रमा त्रियाशिल रहदै आएको छ ।
काठमाडौं: बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइँदै छ । बालबालिकाका क्षेत्रमा लगानी बढाउनु पर्नेमा घट्न थालेको छ । यसैलाई मध्यनजर गर्दै यसवर्षको नारा बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी तय गरिएको हो । पालिकाहरुले विनियोजन गर्नुपर्ने बजेट पनि अनिवार्य नगर्दा बालबालिकाको समग्र क्षेत्रमा असर पर्न थालेको छ । बालअधिकारकर्मीहरुले तीनै तहका सरकारले बालबालिकाको क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिएका छन् । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ । २०२२ सालदेखि भदौ ४ गते मनाउन शुरु गरिएको बाल दिवस २०६३ साल पछि भने भदौ २९ गते मनाउन थालिएको हो । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ । दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले केही बालबालिकाहरू अझै पनि आफ्नो बालअधिकारबाट वञ्चित भएको अवस्था रहेकाले उनीहरूको उचित संरक्षण र रेखदेख सबैको कर्तव्य भएको बताउनु भएको छ ।
काठमाडौं: दैलेखमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । गएराति चट्याङ लागेर महाबु गाउँपालिका–१ खरिगैराकी ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपकसिंह विष्टले जानकारी दिए । घरमै भान्साको काम गरिरहेको बेला चट्याङ लागेर घाइते भएकी खत्रीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । आ–आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर खरिगैराका अरु १६ जना घाइते भएका हुन् । उनीहरुको दैलेख अस्पतालमा प्राथमिक उपचारपछि गम्भीर घाइते आठ जनालाई कर्णाली प्रदेश अस्पतालमा पठाइएको र एक जनाको दैलेख अस्पतालमा उपचार चलिरहेको दैलेख अस्पतालका इञ्चार्ज डा. धर्मराज रेग्मीले बताए । पाँच जना उपचारपछि घर फर्किएका छन् । यस्तै, डुङ्गेश्वर गाउँपालिका–६ लटाली गाउँमा चट्याङ लागेर गम्भीर घाइते भएकी २६ वर्षीया रेखा बुढालाई कर्णाली प्रदेश अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: घरेलु टोली श्रीलंकाले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानमाथि दुई विकेटको रोमान्चक जितका साथ फाइनलमा स्थान बनाएको छ । श्रीलंकाले उपाधिको लागि आइतबार भारतसँग खेल्नेछ । जितको लागि २ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ४२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको जितमा कुशल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ९१ रनको योगदान दिए । श्रीलंकालाई अन्तिम बलमा जितको लागि दुई रन चाहिँदा जमान खानलाई चरिथ असंलकाले पूरा गर्दै फाइनलमा पुर्याए । अन्तिम ६ बलमा जितको लागि श्रीलंकालाई ८ रन चाहिँएको थियो । डेब्यू खेल खेलेका जमान खानले सुरुवाती चार बलमा दुई रन मात्रै दिएपछि अन्तिम दुई बलमा जितको लागि ६ रन चाहिँएको थियो । चरिथले पाँचौं बलमा चौका र अन्तिम बलमा दुई रन बटुल्दै जित पक्का गराए । श्रीलंकालाई अन्तिम १२ बलमा जितको लागि १२ रन चाहिँएको थियो । शाहिन शाह अफ्रिदीले ४१ औं ओभरमा ४ रन खर्चेर २ विकेट लिएपछि पाकिस्तानले जितको सम्भावना देखाएको थियो । श्रीलंकाको जितमा हिरो बनेका चरिथ असलंका ४७ बलमा ३ चौका र १ छक्कासहित ४९ रनमा अविजित रहे । ओपनर पाथुम निसांका २९ र कुशल परेरा १७ रनमा आउट भएका थिए । सदिरा समाराविक्रमा ५१ बलमा ४ चौकासहित ४८, दासुन शानका २, धनन्जय डि सिल्भा ५ र दुनिथ वेलालागे डक आउट भए । तेस्रो विकेटका लागि सदिरा र कुशलले १ सय रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । पाकिस्तानका इफ्तिखर अहमदले ८ ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । शाहिन शाह अफ्रिदीले ९ ओभरमा ५२ रन खर्चेर २ विकेट लिए । शादब खानको नाममा १ विकेट रह्यो । त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाउँदै २ सय ५२ रन बनाएको थियो । पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानले ७३ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ८६ रन बनाएका थिए । पाकिस्तानलाई छैटौं विकेटका लागि इफ्तिखर अहमद र मोहम्मद रिजवानले ७८ बलमा १ सय ८ रनको महत्वपूर्ण शतकीय साझेदारी गरेका थिए । इफ्तिखर अहमद ४० बलमा ४ चौका र २ छक्कासहित ४७ रनमा क्याच आउट भए । ओपनर अब्दुल्लाह शफिकले ६९ बलमा ३ चौका र २ छक्कासहित ५२ रनको अर्धशतकीय इनिङ खेलेका थिए । पाकिस्तानका ओपनर फखार जमान ४ रनमै आउट भएका थिए । दोस्रो विकेटका लागि ओपनर अब्दुल्लाह शफिक र बाबर आजमले ६७ रनको साझेदारी गरेका थिए । बाबर ३५ बलमा ३ चौकासहित २९ रनमा आउट भए । स्पिनर दुनिथ वेलालागेको बलमा मिस भएपछि विकेटकिपर कुशल मेन्डिसले बाबरलाई उत्कृष्ट स्टम्पिङ आउट गरेका थिए । तीव्र गतिका बलर मथिसा पाथिरानको शर्ट बलमा पुल खेल्ने धुनमा शफिक प्रमोदबाट क्याच आउट हुन पुगेका थिए । पाथिरानाकै बलमा हरिस ३ रनमा कट एन्ड बाल्ड आउट भए । मोहम्मद नवाज १२ बलमा २ चौकासहित १२ रनमा महेश थिक्सेनाको बलमा बोल्ड आउट भए । श्रीलंकाका युवा तीव्र गतिका बलर मथिसा पाथिरानाले ८ ओभरमा ६५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । दुनिथ वेलालागेले ९ ओभरमा ४० रन खर्चेर १ विकेट लिए । महेश थिक्सेनाले ९ ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । प्रमोद मदुशानले ७ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर २ विकेट लिए । भारत एक खेल अगावै शीर्ष स्थानमा रहँदै फाइनल खेलेको हो । भारतले सुपर फोरको अन्तिम खेल शुक्रबार बंगलादेशसँग खेल्नेछ । फाइनल आइतबार हुनेछ । श्रीलंका साविक विजेता टोली समेत हो ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले सामाजिक सञ्जाल फेसबुकमा भ्रमित लेखेर पोष्ट गर्ने स्याङ्जा घर भएका सुर्यबहादुर रेग्मीलाई प्रकाउ गरेको छ । प्रहरीले सामाजिक सञ्जालमा भ्रमित खवर लेखेर पोष्ट गरेको आरोपमा स्याङ्जाको आधिखोला गाउँपालिका ५ का ३५ वर्षीय रेग्मीलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवण कुमार विकले जानकारी दिए । सामाजिक सञ्जालमा भ्रमित सूचना लेखेर समाजमा अराजकता, आत्मसम्मान माथि आघात पु¥याउने गरी भ्रम फैलाउने र मेरो जीउ ज्यानको सुरक्षामा समेत असर पर्ने खालको झुठ्ठा एवम् अनर्गल प्रचार गरी सुर्य रेग्मी गरेको फेसबुक आईडीबाट पोष्ट भएको भन्दै निवर्तमान डा. श्रेष्ठले प्रहरीमा निवेदन दिएका थिए । भदौ २२गते रेग्मीले मध्यरातमा राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा. ढाका कुमार श्रेष्ठलाई उनकै निवासमा अज्ञात समूहले धारिलो हयिार प्रयोग गरेर घाईते बनाएको र उनलाई उपचारका लागि मणिपाल अस्पताल लगिएको, अवस्था चिन्ताजनक भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका थिए । मध्यरातमा सामाजिक सञ्जालमा धारिलो हतियार प्रयोग गरेर अज्ञात समूहले घाईते बनाएको भ्रमित खवरपछि निवर्तमान सांसद डा. श्रेष्ठले आफुलाई कसैले हतियार प्रयोग नगरेको र सकुशल रहेको बताएका थिए । प्रकाउ परेका रेग्मीमाथि विद्युतिय कारोबार ऐन,२०६३ विपरितको कसूर (साईबर अपराध)मा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
काठमाण्डौ:राष्ट्रियसभाको आज बिहीवारको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधिसभा सदस्य एवम् नेकपा ९एमाले० का केन्द्रीय उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङको ७१ वर्षको उमेरमा गएको मङ्गलवार निधन भएको थियो । नेम्वाङ नेकपा ९एमाले० पार्टीको तर्फबाट २०४८ साल र २०५२ सालमा राष्ट्रियसभा सदस्य, २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रूपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । उहाँ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख तथा २०६५ साल र २०७० सालको संविधान सभाको अध्यक्ष हुनुहुन्थ्यो । यसैगरी २०५६ मा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति सभापति हुनुभएका स्वर्गीय नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत हुनुभएको थियो । संविधानसभामार्फत नेपालको संविधान निर्माणमा उहाँको अग्रणी भूमिका रहेको थियो । राष्ट्रियसभाको अर्को बैठक यही असोज १२ गते शुक्रवार दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।
पोखराः रोटरी क्लब अफ गण्डकीले हरितालिका तीजको अवसरमा चेलीबेटीहरुलाई दर खाने कार्यक्रमसँगै इनरह्वील अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक सेवामा क्रियाशिल रहेको रोटरी क्लब अफ गण्डकीले हरितालिका तीजको अवसरमा चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रमको आयोजना गर्दै इनरह्वील सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । इनरह्वीलले तीनवटा उद्धेश्यलाई आत्मसाथ गर्दे , ‘इनरह्वीलले साँचो मित्रतालाई प्रवद्र्धन गर्ने, व्यक्तिगत सेवा र क्षमता विकासको आदर्शलाई प्रोत्साहन गर्ने र अन्तर्राष्ट्रिय समझदारी र भाइचाराको विकासलाई बढावा दिदैं आएको छ । इनरह्वील आन्दोलनका संस्थापक श्रीमती मार्गरेट गोल्डिङ, एक नर्स व्यवसायी महिला र म्यानचेस्टरकी पत्नी रोटेरियन, इनरह्वीलले आन्दोलन सुरु गरेका थिए । इनरह्वीलको औपचारिक स्थापना इनरह्वील क्लब अफ म्यानचेस्टर १० जनवरी १९२४ मा सम्पन्न भएको थियो । अहिले १० जनवरीलाई विश्वभरका क्लबहरुले विश्व इनरह्वील दिवसका रुपमा मनाउँदै आएका छन् । रोटरी क्लबका सदस्यहरुका स्पाउस र नर्स पेशामा आवद्ध महिलाहरु द्धारा गठन गरिएको यस क्लबमा हाल १८ वर्ष उमेर पुगेका सबै महिलाहरु यस क्लबको सदस्यता लिन सक्ने इनरह्वील क्लब अफ गण्डकीका संयोजक शकुन्तला श्रेष्ठले जानकारी गराइन् । इनरह्वील क्लव गठन संगै रोटरीले स्वार्थ भन्दा माथि उठेर सामाजिक सेवा गर्ने आर्दशलाई थप टेवा पुग्ने रोटरी क्लब अफ गण्डकीका अध्यक्ष किसान सुनारे बताए । हाल संसार भर १०२ मुलुकमा १ लाखभन्दा बढि सदस्यहरु यस क्लबमा आवद्ध रहेका छन । यो संसारकै ठुलो अन्तर्राष्ट्रिय महिलाहरुको संस्था हो यस इनरह्वील क्लबले संयुक्त राष्ट्र संघमा समेत प्रतिनिधित्व गर्ने गर्दछ ।

