कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ र एक जना घाइते भएका छन् ।   रोल्पाबाट तरकारी बोकेर ल्याएको रा १ च १०२५ नम्बरको जीप राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा बिहान सवा ६ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुल्न बाँकी छ ।   घाइतेलाई उपचारका लागि दाङ पठाइएको प्रहरीले जनाएको छ । 

काठमाडौं:   चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  र उहाँका चिनियाँ समकक्षी लि छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ ।  यहाँको स्थानीय समयअनुसार बिहान ११ बजे ग्रेट हल अफ दि पिपलमा सो भेटवार्ता सुरु भएको हो । यसअघि प्रधानमन्त्री दाहाललाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपलमा स्वागत गर्नुभएको थियो । उहाँहरूबीच नेपाल–चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचारविमर्श भएको छ । सो भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता रहेको छ । भेटवार्तापछि द्विपक्षीय सहयोग एवं सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

काठमाडौं:     छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । त्यसअघि प्रधानमन्त्री दाहाललाई उहाँका चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गर्नुभएको थियो । केही समयमै नेपाल–चीनबीच प्रधानमन्त्रीस्तरीय भेटवार्ता सुरु हुँदैछ ।

काठमाडौं:  विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिमबाट कुल २ हजार ४ सय ११ जना प्रहरी जवान दीदक्षित भएका छन् ।   ती मध्ये ४ सय ६७ जना महिला र १ हजार ९ सय ४४ जना पुरूष रहेका छन् ।   कुन केन्द्रबाट कति ?   नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालबाट १ सय १ जना, काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंजबाट १ सय ३ जना, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीबाट १ सय ८९ जना, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरबाट २ सय ९५ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।    यस्तै मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजविराजबाट २ सय ८३ जना, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीबाट २ सय ८० जना, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रबाट २ सय ७७ जना, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलबाट २ सय ८७ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।    यस्तै कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज)बाट ३ सय जना, सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलबाट १ सय ९६ जना, सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र (प्रहरी प्रशिक्षण स्थल बुडर, डोटी) बाट १ सय जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।   दीक्षान्त समारोहका प्रमुख अतिथिहरूले आ–आफ्नो दीक्षान्त समारोहमा प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई बधाई तथा सफलताको कामना व्यक्त गर्दै आवश्यक निर्देशनसमेत दिएका थिए ।

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध कारोबारीको अड्डामा छापा मारेको छ ।   पोखरा १४ का  वडाध्यक्ष बोधबहादुर कार्कीका अनुसार पोखरा महानगरपालिका १४ चाउथेको प्रतिभा टोलस्थित एक घरमा आइतबार बेलुकी छापा हानेको हो ।   उक्त घरबाट कास्की प्रहरीले ६ लाख २३ हजार नगद र ३ हजार ६ सय बढी एम्पुल लागुऔषध बरामद गरेको वडाध्यक्ष कार्कीले पुष्टि गरे ।   उनका अनुसार गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारको समन्वयमा जिल्ला प्रहरी कार्यालय कास्कीले छापा मारेको थियो । छापापश्चात लागुऔषधको कारोबारमा संलग्न केही युवालाई पक्राउ गरिएको छ ।   छापा हानेपछि वडाध्यक्षको रोहबरमा मुचुल्का गरिएको कास्की प्रहरीका सूचना अधिकारी तथा डिएसपी श्रवणकुमार विकले लागूऔषध र नगदसहित केही युवा प्रकाउ परेको सुनगाभा न्यूजलाई बताए ।   उनले विस्तृत जानकारी केही दिनमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जानकारी दिए ।

पोखरा:  पोखरामा मिनी सडक महोत्सवसहित ४४ औं विश्व पर्यटन दिवस मनाइने भएको छ ।   रेष्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान)को आयोजनामा मिनी सडक महोत्सव आयोजना गरिने पत्रकारसम्मेलनमार्फत आज (आइतबार) जानकारी दिइएको हो ।   महोत्सव ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नारासहित पर्यटन दिवसको दिन (असोज १० गते) मनाइने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।   उनका अनुसार सडक महोत्सवको आयोजना लेकसाइडको बाराहीचोकदेखि खहरेचोकसम्म हुने छ ।    सो सडकक्षेत्रमा यातायात आवागमन रोकिने बताउदै नेपाल र भारतका सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने श्रेष्ठले बताए । साथै विभिन्न जातजातिको संस्कृति झल्किने खालका भाँकीसमेत प्रर्दशन हुनेछ ।     रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पर्यटन दिवसमा आयोजना हुने मिनी महोत्सवले अंग्रेजी नयाँ वर्षको सडक महोत्सवको झल्को दिने विश्वास व्यक्त गरे ।    सो महोत्सवले पर्यटकीय गतिविधि वृद्धि गर्ने रेवानको अपेक्षा छ । 

काठमाण्डौ:  उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीलगायत मधेस प्रदेशका जिल्लामा भइरहेका घटनाबारे आवश्यकता परेको खण्डमा नयाँ ढङ्गले निर्णय लिनसक्ने सङ्केत गर्नुभएको छ ।   प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज आइतवारको बैठकमा उहाँले कोशी र मधेस प्रदेशको शान्ति सुरक्षासहितको वस्तुस्थितिबारे प्रशासन र सुरक्षा संयन्त्रमार्फत निरन्तर जानकारी लिने काम भइरहेको बताउनुभयो ।   बैठकमा नेकपा (एमाले) का रघुजी पन्त र लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाले सर्लाहीलगायतका जिल्लामा धार्मिक साम्प्रदायिक घटना गराउने प्रयासले तनाव बढिरहेकाबारे समितिमार्फत सरकारलाई जानकारी गराउँदै त्यसबारे आवश्यक जानकारी माग गर्नुभएको थियो ।    नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र विविधताबीचको एकता रहेको देश भएकाले यसमा आँच पुर्‍याउने र खलल पार्ने काम भइरहेको भन्ने सूचनाप्रति सरकार गम्भीर रहेको बताउँदै गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘जानरअञ्जानमा हो वा कुनै निश्चित उद्देश्य लिएर भइरहेको छ भन्ने प्रश्न उठेको छ, यसलाई गम्भीरतापूर्वक लिएका छौँ ।’   उहाँले सकेसम्म प्रशासनिक निर्णय लिन नपरोस् भनेर सरकार लागिरहेको भन्दै पछिल्लो समय अवस्था बिग्रिँदै गएकाले प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘मूलभूतरूपमा प्रशासनिक विधिबाट समाधान गर्दा आउन सक्ने चुनौतीको पाटोलाई ध्यान दिँदै वैचारिक, राजनीतिक ढङ्गले वातावरण बनाएर समाधान खोज्ने प्रयत्न भइरहेको छ । प्रशासनिक पक्षबाट पनि गम्भीर छौँ, सम्पूर्ण प्रशासन र प्रहरी समयन्त्रलाई कुनै कमजोरी हुन नदिन संयमपूर्वक अघि बढ्नेछौँ ।’   विमानबाट सुन बाहिरिएको प्रकरणका सम्बन्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआई बी) लाई सम्पूर्ण स्वतन्त्रतासहित आफ्नो सम्पूर्ण कार्यक्षमता प्रदर्शन गर्न र गहिर्‍याइमा पुग्न बारम्बार निर्देशन दिइरहेको बताउँदै उहाँले अनुसन्धान गर्ने क्रममा तथ्य र प्रमाणले जहाँसम्म देखाउँछ त्यहाँसम्म पुगेर अनुसन्धान गर्न जोड दिइएको जनाउनुभयो ।   सङ्खुवासभामा रहेको अरुण तेस्रो जलविद्युत् आयोजनको निर्माणमा संलग्न कम्पनी सतलज जलविद्युत् निगमले केही दिनदेखि आयोजनाको काम ठप्प पारेर क्षतिपूर्ति नदिए आयोजना अघि बढ्न सक्दैन भन्ने आशयको पत्रचार गरेको विषयमा सांसदले उठाएका जिज्ञासामा उहाँले मुआब्जा नदिएका कारणले काम गर्न पाएनौँ भन्ने स्थिति आउन नदिने स्पष्ट पार्नुभयो ।  

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेतामाथि गहिरो अनुसन्धान नभएको बताउनुभएको छ। आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरूमाथि गहिरो अनुसन्धान नभएको बताउनुभएको हो।    उहाँले अनुसन्धान हेर्दा भद्दा मजाक जस्तो देखिएको बताउनुभयो। उहाँले सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने अपेक्षा आफूहरूले गरेको भएपनि सलाईको काँटीजति पनि नपड्किएको भन्दै टिप्पणी गर्नुभयो। उहाँले शङ्काको घेरामा रहेका व्यक्ति मोबाइल फम्र्याट गरेर प्रहरीकोमा पुगेको भन्दै उहाँले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको आशङ्का व्यक्त गर्नुभयो।   उहाँले भन्नुभयो , ‘‘जुन आशा र अपेक्षाका साथ अनुसन्धान सुरु भयो। त्यो अनुसन्धानका कुराहरू हेर्दाखेरी भद्दा मजाक जस्तो भएर गयो।  सत्तारुढ दलका नेताको नाम आउने बित्तिकै जुन ढङ्गले त्यो अनुसन्धान त बम होला भन्ने सोचेको थिएँ, त्यो पटका पनि भएन। सलाईको काँटी जति पनि पड्किएन। किनभने जतिपनि नामहरू आए उनीहरूले आफूले प्रयोग गर्ने फोन दिएनन् अर्को फोन दिए भन्नेकुरा सार्वजनिक भएको छ। प्रहरी केही गर्न चाहान्छ, राजनीतिक हस्तक्षेप भयो।’’    सभापति लामिछानेले सुन तस्करी प्रकरणका केही शङ्कास्पद व्यक्तिलाई अनुसन्धानले सुनपानी छर्किने काम गरेको बताउनुभयो। उहाँले अनुसन्धान अपुरो भएको भन्दै अपुरो अनुसन्धान हुँदा अदालतले गर्ने न्याय निरूपण पनि आलोचित हुनसक्ने बताउनुभयो।  

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा महासमिति बैठकको मिति तोक्ने विषयमा छलफल भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार मङ्सिर ११, १२ र १३ गते बस्ने महासमितिको बैठकको एजेण्डाबारे छलफल भएको हो।    मुख्य सचिव पौडेलले पार्टी सभापति शेरबहादुर देउवा अर्को कार्यक्रममा व्यस्त हुनुभएका कारण आजको बैठक दिउँसो १ बजे स्थगित भएको जानकारी दिनुभयो।    उहाँले बैठकका सन्दर्भमा भन्नुभयो, “प्रमुख विषय भनेको महासमितिको बैठक मङ्सिर ११, १२ र १३ गते बस्दैछ। यसैको सन्दर्भमा मात्र कुरा उठेको छ।”  खासगरी, जनजीविकाका सवाल आम नागरिकले भोग्नुपरेको महँगी लगायतका विषयमा बैठकमा छलफल भएको उहाँको भनाइ छ। असोज ४ गते बिहीबारदेखि सुरु भएको बैठकमा आइतबार ३१ जना केन्द्रीय सदस्यले धारणा राख्नुभएको जानकारी दिनुभयो।    उहाँका अनुसार अर्जुनप्रसाद जोशी, आनन्दप्रसाद ढुङ्गाना, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, सुजाता परियार, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, शिवप्रसाद हुमागाईँ, कर्णबहादुर बुढा, रामजनम चौधरी, रमा कोइराला, राजीव ढुङ्गाना, राजेन्द्रकुमार केसी, विनोदकुमार चौधरी, रंगमती शाही, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, कान्तिका सैजुवाल, गङ्गालक्ष्मी अवाल, सीताकुमारी राना, सुशीला ढकाल, विद्यादेवी तिमल्सिना, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई र आमन्त्रित सदस्य नारायणी रायमाझीले धारणा राख्नुभयो।   कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सोमबार बिहान ११ बजे पुनः बस्नेछ।