कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

पोखरा:    पोखरामा सिट्रोन कारको शोरुम सञ्चालनमा आएको छ । पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता एस।एस।एल। मोटर्सको शोरुम पोखराको नयाँबजारमा औपचारिक रुपमा सञ्चालनमा आएको हो ।    यातायात व्यवस्था कार्यालय सवारी गण्डकीका कार्यालय प्रमुख डिल्लीराज रिजाल र सिट्रोनको लागि नेपालको आधिकारिक बिक्रेता साँग्रिला मोटर्स प्रालिका एसिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले बिहीबार एक कार्यक्रमबीच शोरुमको उद्घाटन गरेका हुन् । शोरुमको उद्घाटनसँगै नेपाली बजारमा उपलब्ध सिट्रोनका विद्युतीय गाडीको बिक्री शुभारम्भसमेत गरिएको छ ।   पोखरामा सिट्रोन ई–सी ३ र सी ३ को बिक्री शुभारम्भ गरिएको हो । पछिल्लो समय विद्युतीय गाडीप्रति ग्राहकको आकर्षण बढिरेको सन्दर्भमा सिट्रोनको उपस्थितिले धेरैलाई आकर्षित गर्ने कम्पनीले विश्वास लिएको छ । पोखरामा सार्वजनिक भएका सिट्रोन गाडीको टेष्ट्र ड्राइभसमेत सुरु भएको एस.एस.एल. मोटर्सका प्रवन्ध निर्देशक शिव बरालले जानकारी दिए । सिट्रोन ई–सी ३ को लाइभ भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । फिल भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।   विद्युतीय गाडीमा २९.२ किलोवाट आवरको ब्याट्री र ४२.५ किलोवाटको मोटर जडान गरिएको छ । यसको टर्क १४३ एनएम छ । यसलाई एकपटक फुल चार्ज गरेपछि ३२० किलोमिटर गुडाउन सकिन्छ । ३.३ किलोवाटको एसी चार्जरले १० घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिने ई–सी३ लाई डीसी फास्ट चार्जरको साहयतामा ५७ मिनेट भित्रै ८० प्रतिशत चार्ज गर्न सकिन्छ । ‘राम्रो फिचरसहितको गाडी पोखरामा उपलब्ध गराउन हामी सफल भएका छौं,’ उनले भने, ‘टेष्ट ड्राइभ गरेर गाडीबारे जानकारी लिन सक्नुहुन्छ ।’ पोखरा क्षेत्रमा सिट्रोन ई–सी३ लोकप्रिय हुुने उनले विश्वास व्यक्त गरे । बिक्री पछिको सेवालाई प्राथकिता दिदै पोखरा १० औद्योगिक क्षेत्रमा सर्भिस सेन्टरसमेत विस्तार गरिसकिएको बरालले जानकारी दिए । ‘हामी हाम्रा ग्राहकको सुविधालाई पहिलो प्राथमिकतामा राख्छौं,’ उनले भने । अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको ई–सी३ मा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टमहरू छ । सो कारलाई १०७ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिन्छ । यसमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुई ड्राइभिङ मोड पाउन सकिन्छ । अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको ई–सी३ मा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टमहरू रहेको छ जसले सुविधा, मनोरञ्जन र सुरक्षा प्रदान गर्दै समग्र ड्राइभिङ अनुभव निखार्दछ । कम मूल्यमा धेरै फिचरहरु सहितको विद्युतीय गाडी खोज्ने पर्यावरण–सचेत उपभोक्ताहरूका लागि सिट्रोन ई–सी३ एक आकर्षक रोजाई हो । यसको दमदार पर्फमेन्स, स्टाइलिश डिजाइन, दिगोपन, अत्याधुनिक प्रविधि र आकर्षक मूल्यले विद्युतीय गतिशीलता र लक्जरीलाई आम मानिसको सहज पहुँचमा ल्याएको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालि हो । विशेष छुट उपलब्ध सिट्रोनको गाडी खरिदमा विशेष छुट पाउन सकिने भएको छ । कम्पनीले फेस्टिभ स्किम २०८० अन्तर्गत विशेष छुट प्रदान गरेको हो । सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकको आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा पाउने छन् ।

पर्साको वीरगञ्ज महानगरपालिकामा रहेको बाल सुधार गृहबाट दुई जना कैदीबन्दी भागेका छन् ।   आज शुक्रवार बिहान सुधार गृहको छतबाट हाम फालेर दुई जना भागेका र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० कुमार विक्रम थापाले जानकारी दिनुभयो । फरार भएकाहरू कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा बाल सुधार गृहमा ल्याइएका बाल कैदीबन्दी रहेका उहाँले बताउनुभयो ।   यसअघि भक्तपुरमा रहेको बाल सुधार गृहमा झडप भएपछि केहीलाई पर्सा लगिएको थियो । भक्तपुरका कैदीबन्दीलाई लगेपछि वीरगञ्जको सुधार गृहमा पनि झडप भएको थियो । वीरगञ्जको सुधार गृहमा झडप हुँदा दुई जना प्रहरीसहित १४ जना घाइते भएका थिए । वीरगञ्जको सुधार गृहमा एक सय २६ जना राखिएका छन् ।   बाल गृहमा कारागार चलान गर्नुपर्ने फैसला भएका १८ वर्षमुनिका व्यक्तिलाई राख्ने व्यवस्था छ । तर बाल सुधार गृहमा लगिसकेपछि १८ वर्ष पूरा हुँदा पनि अन्यत्र लैजाने कानुन नहुँदा २५–२६ वर्षका व्यक्तिसमेत बाल सुधार गृहमा भेटिएका छन् ।   मानव अधिकारकर्मीहरूको टोलीले बाल सुधार गृहमा अनुगमन गर्दा बाल सुधार गृह यातना गृहजस्तो हुनु, सुधार गृहमा हुनुपर्ने आधारभूत सुविधा नहुनु, क्षमताभन्दा बढी कैदीबन्दी राख्नु, १८ वर्ष पूरा भइसकेका पनि सुधार गृहमै रहने लगायतका कारणले समस्या सिर्जना भएको निष्कर्ष निकालेको छ । गएको भदौदेखि देशका विभिन्न बाल सुधार गृहमा समस्या आइरहेको छ ।

काठमाडौं:     जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले पाउनुभएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गर्नुभएपछि श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । यादवले आफू फर्किएर नआउञ्जेलसम्मका लागि कावा अध्यक्षको रुपमा अध्यक्षले गर्ने सम्पूर्ण काम गर्ने गरी जिम्मेवारी तोकेको सो दलले जनाएको छ । यादव असोज २३ गते नेपाल फर्किने कार्यक्रम छ । 

पोखरा:  मीना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय बिना कुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ सम्मानित भएकी छिन् ।    गण्डकी प्रदेशका पूर्व सांसद, उद्यमी तथा समाजसेवी मिना गुरुङले स्थापना गरी नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको पुरस्कारबाट पत्रकार बिनु र तारा सम्मानित भएका हुन् ।    पुरस्कार छनोट समितिका संयोजक पुण्य पौडेलले मीना सिर्जनाशील समावेशी पुरस्कार २०७९ बाट बिनु र २०८० बाट तारा सम्मानित भइन् ।    पत्रकार द्वयलाई सम्मानपत्र, दोसल्लासहित जनही नगद रु २० हजार १ सय ११ रुपैयाँ गण्डकी प्रदेशकी उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती तिवारी अर्यालले हस्तान्तरण गरिन् ।    सम्मानित पत्रकार बिनु हाल पोखरा टेलिभिजनमा कार्यरत छिन् । २०६८ सालमा गण्डकी टिभीमा मगर भाषाको समाचार बाचिकाबाट पत्रकारिता सुरु गरेकी बिनुले कान्तिपुर दैनिक, फेवा टेलिभिजन र गोर्खाली रेडियोमा पनि काम गरिसकेकी छिन् ।   हाल उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कास्की शाखाकी उपाध्यक्ष र नेपाल मगर पत्रकार संघ कास्कीकी अध्यक्ष छिन् ।    यस्तै अर्की पत्रकार तारा पौडेलले २०६८ सालमा यूनाइटेड राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेकी हुन् ।   उनी हाल सिटीपोखरा डटकमको सञ्चालक/सम्पादक भएर काम गरिरहेकी छिन् । यसभन्दा अघि उनले रेडियो नेपाल, रेडियो सफलता, रेडियो जननी, विग एफ एम, रेडियो आकाशवाणी, ईसांग्रिला डटकम, टप नेपाल न्यूज डटकममा काम गरिसकेकी छिन् । उनले नेपाल वातावरण पत्रकार समूहद्धारा सञ्चालित टेलिभिजनमार्फत प्रसारित भएको कार्यक्रम नयाँ पुस्तामा पनि काम गरेकी थिइन् ।    नेपाल पत्रकार महासंघको गण्डकी प्रदेश परिषद सदस्य, खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सदस्य, अनलाइन पत्रकार संघ गण्डकीको संस्थापक सचिव, सञ्चारिका समुह गण्डकीमा सदस्य भएर काम गरेकी तारा प्रेस चौतारी नेपाल कास्कीकी उपाध्यक्ष हुन् ।    यसअघि उक्त पुरस्कारबाट दुर्गा भण्डारी, दीपक परियार, शान्ति गुरुङ, सरिता तिम्सिना पगेनी, खेम सारु मगर, स्मिता अधिकारी, रोशनी गुरुङ र रविना आले सम्मानित भइसकेका छन् ।   

ढोरपाटन:    बागलुङको तमानखोला गाउँपालिकाले बालगृह सञ्चालनमा ल्याएर अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गरेको छ । गाउँपालिकाले वडा नं ३ को तमान गाउँमा ‘तमानखोला बालगृह’ सञ्चालनमा ल्याएर पालनपोषण र कक्षा १२ सम्म पढाउने व्यवस्था मिलाएको छ ।  सुरुमा ३४ बालबालिका रहेकामा अहिले २७ जना रहेका बालगृह सञ्चालक समितिका संयोजक एवं वडा नं ३ का अध्यक्ष झकबहादुर बुढामगरले बताउनुभयो । गाउँ–गाउँमा पुगेर अनाथ बालबालिका खोजेर ल्याई यहाँ राखेर उनीहरुको पालनपोषण र पढाइको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । अहिले बालबालिको पढाइ राम्रो बन्दै गएको उहाँको भनाइ थियो । तमानखोला गाउँपालिका–६ नर्जाखानीका १५ वर्षीय दीपेन्द्र विक हिजोआज तमानखोला बालगृहमा बस्दै आउनुभएको छ । सानै उमेरमा आमा बितेपछि उहाँलाई हजुरबुबाहजुरआमाको जिम्मा लगाइएको थियो । कक्षा ९ मा पढ्ने उहाँ बुढा हजुरबुबाहजुरआमासँग कष्टकर जीवन बिताइरहनुभएको थियो । दीपेन्द्रलाई गत वर्ष गाउँपालिकाले बालगृहमा ल्याएर निःशुल्क पालनपोषण र पढाइ लेखाइको प्रबन्ध मिलाएको छ । घरमा हुँदा राम्रोसँग पढ्न र पेटभरि खाना नपाएको बताउँदै दीपेन्द्रले अहिले दैनिक विद्यालय जाने र पेटभरि खान पाएको बताउनुभयो । सानैमा आमा गुमाउनुभएका दीपेन्द्रले आमाको माया नपाए पनि हजुरबुबा र हजुरआमाको माया भने प्रशस्त पाउनुभयो । अहिले बालगृहमा साथीभाइबाट पनि उत्तिकै माया पाउनुभएको छ । घरमा हुँदा भोगेका दुःख, कष्टलाई दीपेन्द्रले भुल्न सक्नुभएको छैन । घरपरिवारमा हुँदा दुःख पाएको भए पनि अहिले धेरै सहजरूपमा दैनिकी चलेको उहाँको भनाइ थियो ।  बालगृहमा आफूजस्ता थुप्रै अभिभावकविहीन बालबालिका रहेका भन्दै सबैसँग मिलेर बस्ने गरेको दीपेन्द्रले बताउनुभयो । बेलाबेला गाउँपालिका अध्यक्ष, उपाध्यक्षलगायतका जनप्रतिनिधि आएर नयाँ र सिर्जनशील काम गर्न प्रेरित गर्ने र आफूहरूको समस्या बुझ्ने गरेको उहाँको भनाइ थियो । अहिले बालगृहमा रहेका बालबालिकासँग एउटै परिवारको सदस्यजस्तै मिलेर बस्ने तथा आवश्यक  सामान समयमै पाउने गरेको विकले बताउनुभयो । “म सानै हुँदा आमा बित्नुभएछ, बाजे र बजैले निकै दुःख गरेर मलाई हुर्काउनुभयो, अहिले त अलि ठूलो भएँ, पोहोर सालदेखि गाउँपालिकाका सरहरूले यहाँ लिएर राख्नुभएको छ, बाबाले बिहे गरेर मलाई छाडेर जानुभयो, कहाँ हुनुहुन्छ थाहा छैन । घरमा हुँदा पढ्न मन भए पनि राम्रोसँग पढ्ने वातावरण थिएन”, उहाँले भन्नुभयो, “अहिले धेरै सुविधा पाएको छु । पढाइ पनि राम्रो भएको छ, दिनदिनै स्कुल जान पाएको छु, खुसी लागेको छ ।” तमानखोला गाउँपालिका–२ भयर भोङ्गाकी १४ वर्षीया निता सिर्पाली पनि यही बालगृहमा बस्दै आउनुभएको छ । निताको बुबाको मृत्युपछि आमाले अर्को बिहे गरेर जानुभयो । बुबाआमा नभएपछि हजुरबुबा र हजुरआमासँग बस्दै आउनुभएकी निताले सानोमा निकै दुःखदायी जीवन बिताउनुभयो । अहिले बालगृहमा बस्न थालेपछि उहाँको दैनिकी फेरिएको छ । परिवारको आर्थिक अवस्था निकै कमजोर हुँदा पढ्न लेख्न नपाएको भन्दै अहिले दैनिक विद्यालय जाने र पढाइ सुधार हुँदै गएको उहाँले बताउनुभयो ।  “घरमा हुँदा कापी कलम किन्ने पैसा पनि हुँदैनथ्यो, घरको सबै काम गर्नुपथ्र्यो, बाजे÷बज्यै बुढाबुढी हुँदा काम गर्न सक्नु हुँदैनथ्यो, कहिले स्कुल गइन्थ्यो, कहिले गइन्नथ्यो”, निताले भन्नुभयो, “अहिले त सधैँ स्कुल गइन्छ, पहिला खाना लगाउन राम्रोसँग पाइन्नथ्यो, अहिले राम्रो भएको छ, साथी पनि धेरै छन्, खेल्ने, पढ्ने समय हुन्छ । स्कुल पनि नजिकै छ, पहिलेको जस्तो टाढा जानु पर्दैन ।” बालगृह सञ्चालक समितिका संयोजक बुढामगरले भन्नुभयो, “बालगृह सञ्चालन ताका ३४ जना बालबालिकालाई ल्याएर यहाँ राखेका थियौँ, पछि उनीहरूको आमाबुबा कोही विदेश रहेछन्, आएर लगे । अहिले २७ जनालाई राम्रो व्यवस्थापनका साथ लालनपालन र पढाउने काम भइरहेको छ । समय–समयमा विभिन्न सङ्घसंस्थाले पनि सहयोग गर्ने गरेका छन् ।”  उहाँले बालगृह गाउँपालिकाको लगानीमा सञ्चालन गरिएको जानकारी दिनुभयो । बुढामगरका अनुसार गाउँपालिकाले तमान गाउँमा घरभाडामा लिएर बालगृह सञ्चालन गरेको छ । बालगृहमा कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने बालबालिका छन् ।  गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले कुनै पनि बेसहारा बालबालिकाले दुःख नपाउन् भन्ने उद्देश्यले बालगृह सञ्चालन गरेको बताउनुभयो । बालबालिकालाई पालनपोषण गर्ने, १२ सम्म पढाउने र विभिन्न किसिमका सीपमूलक तालिम दिने, रोजगारीको व्यवस्था मिलाउनेलगायत काम गरिने उहाँको भनाइ थियो । पालिकाले ‘तमानखोला विकास कोष’ निर्माण गरेर बालगृह सञ्चालन गरेको अध्यक्ष बुढामगरले बताउनुभयो ।  “हाम्रो पालिका अलि पिछडिएको ठाउँमा पर्छ, यसले गर्दा यहाँ थुप्रै चुनौती छन्, त्यसलाई चिर्दै विकास गर्ने हाम्रो लक्ष्य हो, पूर्वाधार विकासका काम त हामीहरूले निरन्तर गर्दै आइरहेका छौँ, पोहोर सालदेखि आमाबाबु गुमाएर बेसहारा बनेका बालबालिकालाई पालिकाले अभिभावकत्व गरी उनीहरूको पालनपोषण र शिक्षादीक्षा दिने कामको थालनी गरेका छौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “अहिले बालबालिकामा छुट्टै खालको खुसी देखिन्छ, उनीहरूको खुसीले हामीलाई पनि खुसी बनाउँछ, पढ्न नपाएका बालबालिका अहिले खुसीका साथ पढ्न पाएका छन् । अब उनीहरूलाई सीपसँग जोडेर स्वरोजगार बनाउने योजनामा छौँ ।” बालगृहमा बस्ने बालबालिकाले स्थानीय धन गौ ज्योति माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन् । बालबालिकाको पढाइमा निरन्तर सुधार हुँदै गइरहेको विद्यालयले जनाएको छ ।

नवलपरासी: नवलपरासी पश्चिममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । विद्युतको खम्बामा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेर आज बिहान रामग्राम नगरपालिका–७ बस्ने जयप्रकाश यादवको ज्यान गएको हो ।    उहाँलाई उजैनीमा रहेको खम्बाको बत्ती निभाउने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनुभयो ।   करेन्ट लागेका यादवलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो । उहाँको उपचारका क्रममा ज्यानगएको हो । यादवलाई करेन्ट लागेको ठाउँमा वाइफाइ तथा अन्य तार भूइँसम्म लत्रिएको अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । 

पोखरा:   पोखरामा मंसिर पहिलो साता प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो । पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष धुव्र आचार्यले पोखरा रंङ्गशालाको क्रिकेट मैदानमा ७ गतेदेखि १६गतेसम्म प्रतियोगिता आयोजना हुन लागेको बताए ।  उनले एकेडेमीका संरक्षकसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीको सम्मानमा उनको नाममा प्रतियोगिता गर्न लागिएको बताए ।  प्रतियोगितामा सात प्रदेश, विभागीय नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको एक गरी ११ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा च्याम्पियन टोलीलाई पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । यसैगरी उपविजेता टोलीलाई दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने अध्यक्ष आचार्यले बताए ।   अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद ३० हजार, ‘बेस्ट बलर’ २० हजार, र ‘म्यान अफ द म्याच’ले नगद पाँच हजार पुरस्कार पाउने छन् । एकेडेमीले खेल पर्यटनलाई आधार बनाई उत्पादन रोजगार र समृद्धिको यात्रामा समाजका हरेक क्षेत्रमा प्रतिस्पर्धाको आधारमा श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने मदनको विचारलाई आत्मसात् गर्दै आएको अध्यक्ष आचार्यको भनाइ छ । सङ्घीय राजधानीदेखि सात प्रदेशसम्मलाई समेटेर हुने प्रतियोगिताबाट धेरै खेलाडी र खेलप्रेमी लाभान्वित हुने एकेडेमीको भनाइ छ । पोखरामा हुने क्रिकेटको राष्ट्रियस्तरको प्रतियोगिताले नयाँ खेलाडी उत्पादन तथा खेल कौसल प्रदर्शनका लागि सहयोग पुग्ने पूर्वराष्ट्रिय खेलाडी एवं एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले बताए । एकेडेमीमा खेलकुदको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, निर्णायक, गुरु वर्ग र खेललाई माया गर्ने खेलप्रेमी आबद्ध रहेको बताइन्छ । सबैका लागि खेलकुद’ को नारासहित विसं २०६६ पुस १७ गते एकेडेमीको स्थापना भएको हो ।

ताप्लेजुङ:  ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई  खुराक ९घाँस० को जोहो गर्ने चटारो छ । हिउँदमा हिमपात हुने हुँदा उनीहरु चौँरी र याकको लागि हिउँदे खुराकको जोहो गर्न व्यस्त भएका हुन् ।   ओलाङचुङ्गोलावासीले प्रत्येक वर्ष असोज ३ गतेको दिन घाँस काट्ने पर्वकै रुपमा लिने गरेको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ । चौँरी याक पालक परिवार सबै मिलेर एक ठाउँमा घाँस संरक्षण गरेका हुन्छन् । त्यस क्षेत्रमा कसैले पनि  चरन गर्न पाउँदैन । संरक्षण गरेपछि हुर्किएको घाँसलाई यस दिन सबै परिवार मिलेर घाँस काट्ने गर्दछन् ।   पशुपालक सबै परिवार जुटेर घाँस काट्ने गरिएको र घाँसलाई चार–पाँच दिनसम्म सुकाएर आ–आफ्नो घर गोठमा भण्डारण गरेर राख्ने गर्दछन् । राम्ररी सुकाएर घर–गोठमा भण्डारण गरेर राखेको घाँस हिमपातको अवधिभर याक र चौँरीलाई खुवाउने पर्ने स्थानीय बताउँछन् ।   हिमाली बस्तीका बासिन्दाको मुख्य पेसा नै याक र चौँरी पालन हो । कात्तिक अन्तिमदेखि चैतसम्म नै करिब पाँच महिना बढी हिमपात हुने भएकोले अहिले हिउँदे घाँसको जोहो गर्न थालेको स्थानीयले बताएका छन् । हिमाली क्षेत्रमा हिमपात हुन थालेपछि चरन क्षेत्रमा हिउँले ढाक्ने र त्यसबेला याक र चौँरीका लागि घाँसको अभाव हुने फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङ्गोलाका स्थानीय तेन्जिङ शेर्पाले बताउनुभयो ।    उहाँका अनुसार हिउँले चरन क्षेत्र ढाक्ने हुँदा हिमपातको मौसममा चौँरी र याकलाई खुवाउने घाँस यही बेला जोहो गर्नुपर्ने बाध्यता छ । हिमपातले गर्दा चरन क्षेत्रको अभाव हुने भएकै कारण हिउँदको मौसममा याक र चौँरी बचाउनलाई अहिले अनिवार्य हिउँदे घाँसको जोहो गर्नुपर्ने अवस्था रहेको ओलाङचुङ्गोलाकै अर्का स्थानीय छेतेन फिन्जो शेर्पाले बताउनुभयो ।   स्थानीयले सामूहिकरुपमा घाँस सङ्कलन गर्ने गरी घाँसे क्षेत्रको संरक्षण गर्दै आएको र अहिले त्यही क्षेत्रमा स्थानीय सबै जुटेर घाँस सङ्कलन गरिरहेको फुपुफुटी शेर्पाले बताउनुभयो । विगतदेखि नै ओलाङचुङ्गोलाका याक र चौँरी पालक किसानले संरक्षण गर्दै आएको घाँसे क्षेत्रमा घाँस सङ्कलन गर्ने गरिएको उहाँले बताउनुभयो ।    कुनै वर्ष हिमपातको मौसम लम्बिने हुँदा यतिबेला भण्डारण गरेर राखेको घाँस नै थोर–थोरै खुवाएर भए पनि याक र चौँरीको प्राण बचाउने गरिएको ओलाङचुङ्गोलाका स्थानीय छिरिङ दोर्जे शेर्पाले बताउनुभयो । मुख्य पेसा र आम्दानीको प्रमुख स्रोत नै याक तथा चौँरी पालन भएकाले ओलाङचुङ्गोलासहित याङ्मा, तोक्पेगोला, फले र घुन्सा क्षेत्रका बासिन्दा हिउँद र बर्खा नै याक र चौँरीको गोठ सम्हाल्ने गर्दछन् । घाँस ९खुराक० नपाएर वा अन्य कारणले एउटा मात्र याक वा चौँरी मरेमा डेढ लाख रुपैयाँसम्म घाटा हुने स्थानीय बताउँछन् ।   साढे दुई वर्षदेखि कोरोना महामारीका कारण तिब्बततर्फ याक र चौँरी बिक्री नभएकाले सङ्ख्या पनि बढेको र हिमपातको मौसममा खुराक पुर्याउनलाई समेत हैरानी हुने उनीहरूको भनाइ छ । अहिले ओलाङचुङ्गोला क्षेत्रमा मात्र सातवटा जति याक र चौँरीको गोठ रहेका छन् । यो गोठमा करिब साढे चार सय याकको सङ्ख्या रहेको स्थानीयले बताएका छन् ।   मिक्वाखोला गाउँपालिकाको तोक्पेगोला क्षेत्रमा करिब ३५ वटा याक र चौँरीका गोठ रहेको मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामाले बताउनुभयो । उहाँका अनुसार तोक्पेखोला क्षेत्रमा दुई हजार बढी याक र चौँरी रहेका छन् । त्यस्तै याङ्मा, फले र घुन्सा, सिदिङवा गाउँपालिकाको कालीखोला, सिरिजङ्गा गाउँपालिकाको याम्फुदी क्षेत्रका समुदाय याक पालनमै आत्मनिर्भर हुँदै आएका छन् ।