दाङमा ९ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरूष पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका-१४ भेटनरी बस्ने ४० वर्षीय टेकबहादुर विक पक्राउ परेका हुन्। उनलाई अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो। बालिकाका परिवारले सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएका थिए। सोही उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
पाेखरा: २०३१ सालपछि फेवातालको जग्गा १६ सय रोपनी बढी अवैध दर्ता भएको विभिन्न अध्ययन र प्रतिवेदनले देखाएको छ । यसरी भएका सबै दर्ता खारेज गर्न अदालतले आदेश दिएको हो । ३१ सालमा फेवातालमा लगाइएको बाँध फुटेपछि सतह घट्दा धेरैले अतिक्रमण गरेको र विविध तरिकाले लालपुर्जासमेत लिएको कारण हालको तालमुनि पनि व्यक्तिको वैध जग्गा छ । जसको लालपुर्जा लिएर उनीहरु बेलाबखत आन्दोलन गर्दै आएका छन् । तर पछिल्लो फैसालाले भने व्यक्तिको नाममा रहेको जग्गालाई अवैध भनिएको छ । जसअनुसार उनीहरुले मुआब्जा पाउने छैनन् । ‘विक्रम संवत २०१८ देखि २०३१ सम्म कायम रहेको ताल र तालको डिल भन्दा बाहिरको जग्गाको हकमा मात्र कानुन बमोजिम मुआब्जा दिनुपर्ने देखिँदा सो पहिचान गरी उचित मुआब्जा दिने व्यवस्था मिलाउनू,’ आदेशमा भनिएको छ । आदेश अनुसार ३१ सालपछि फेवाताल घटेको अवस्थामा जग्गा दर्ता गरी भोगचलन गरेको हकमा अब उनीहरुको स्वामित्व नरहने भएको छ ।
बनेपामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मंगलबार राति ९ बजे बनेपा नगरपालिका-७ धनेश्वर गेट नजिकै टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। बनेपाबाट पनौती जाँदै गरेको बा-८४ प ६९५९ न को मोटरसाइकललाई विपरीत दिशाबाट आएको बा-४ ख-९९७५ न को टिपरले ठक्कर दिएको थियो। ठक्करबाट काभ्रे रोशी गाउँपालका-८ खार्पाचोकका ३९ वर्षीय सिद्धिकुमार लामा घाइते भएका थिए। घाइतेपछि उनलाई उपचारका लागि शिर मेमोरियल अस्पतालमा लगिएको थियो। उनको टाउकोमा गम्भीर चोट लागेको थियो।थप उपचारका लागि उनलाई अन्नपूर्ण न्युरो अस्पतालमा लगिएको थियो। त्यहाँ बुधबार बिहान सवा ५ बजे मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दियो।
रुकुमपश्चिम: रुकुमपश्चिममा वनको रुख फँडानी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक वडाध्यक्ष छन् । अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओलीसहित चार जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वडाध्यक्ष ओलीसहित ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी र ५१ वर्षीय दिलबहादुर शाह रहेका छन् । डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारका अनुसार वडाध्यक्ष ओलीलाई मङ्गलबार, नेपाली र केसीलाई यही असोज ८ गते र शाहलाई भदौ २९ गते नै पक्राउ गरिएको हो । उहाँहरूविरुद्ध चौरजहारी–११ स्थित जनकल्याण सामुदायिक वन र सोही स्थानमा अवस्थित सर्केना सामुदायिक वन क्षेत्रका रुख अवैध ढङ्गले फँडानी गरेको आरोप छ । आरोपी चारै जनालाई अदालतबाट पक्राउ पूर्जी जारी भएपछि डिभिजन वन कार्यालयले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ । पक्राउ परेका वडाध्यक्ष ओली २०७९ वैशाखमा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित हुनुभएको हो । रासस
चितवन: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दिन प्रतिदिन दुःखद घटना भएका छन् । यो खेदजनक छ । यसका बारेमा पटक–पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबीच छलफल भइरहेको छ ।” गृहमन्त्रालयले शान्ति सुरक्षाको प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको भन्दै उहाँले चिकित्सकहरूलाई काममा फर्कन अनुरोध गर्नुभयो । उहाँले थप्नुभयो, “हाम्रो ऐनमा उल्लेख भएका स्वास्थ्यसम्बन्धी सुरक्षाका विषयलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्ने र आगामी दिनमा यस्ता घटना नहुन् भनेर सबै सक्रिय रहने विषयमा छलफल भयो ।” शान्ति सुरक्षा गृह मन्त्रालयले दिने गरी छलफल भएको उहाँको भनाइ थियो । मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन लागू भएसँगै बन्द भएका शैक्षिक संस्थाहरू छ महिनाभित्र सञ्चालनमा ल्याइने बताउनुभयो । यस ऐनले गर्दा दुर्गममा अस्पताल खोल्ने, चिकित्सक पुर्याउने राम्रो देखिएको भए पनि दक्ष जनशक्ति उत्पादनमा भने समस्या देखिएको उहाँले बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, “यही अवस्था रहे पाँच वर्षमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मी नभेटिने अवस्था आउन सक्छ ।” यसका लागि चिकित्सा शिक्षा ऐन संशोधन गरेर बन्द भएका संस्था सञ्चालनको तयारीमा सरकार रहेको उहाँको भनाइ थियो । शिक्षामा गुणस्तरीयता कायम गर्दै शुल्क निर्धारण पनि सरकारले गर्ने मापदण्ड बनाएर बन्द भएका संस्था सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो । फरक प्रसङ्गमा मन्त्री बस्नेतले स्वास्थ्य बीमा बोर्डका कारण केही अस्पतालमा बिरामीको चाप बढ्ने र केही बन्द हुने अवस्थामा पुगेको धारणा राख्नुभयो । यसलाई नियमन गर्नका लागि मन्त्रालय लागिपरेको उहाँको भनाइ छ । पक्षपातपूर्ण तरिकाले काम भएको भन्ने गुनासो बढेपछि आफैंले यसलाई हेरिरहेको उहाँको भनाइ थियो । यसलाई चाँडै नै सहज बनाएर अघि बढ्ने उहाँले बताउनुभयो । ‘आँखा उपचारमा सामुदायिक क्षेत्रको योगदान महत्वपूर्ण’ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सामुदायिक क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल नेत्रज्योति सङ्घ चितवनले आज भरतपुर आँखा अस्पतालमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सरकारले आँखा उपचारमा पर्याप्त काम गर्न नसकेको बताउनुभएको हो । मन्त्री बस्नेतले राजधानी बाहिर आँखाको उपचारमा देशले हेर्नलायक र बिरामीले सुविधा पाउने खालको अस्पताल भरतपुरमा स्थापना गरेको भन्दै यसलाई अझै विस्तार गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “७७ जिल्लामा आँखाको क्षेत्रमा राजधानी बाहिरको देशले हेर्नलायक, बिरामीले सुविधा पाउने खालको अस्पतालका रूपमा यो अस्पताल स्थापित गर्नुभएको छ ।” उहाँले थप्नुभयो “आफ्नै मेहनत र परिश्रमले भएको यो प्रगतिमा सरकारको ध्यान जान्छ ।” आँखा उपचार सेवालाई विस्तार गर्न आग्रह गर्दै उहाँले सरकारको तर्फबाट प्रक्रियागतरूपमा सहयोग गर्न आफू तयार रहेको बताउनुभयो । अस्पतालको आफ्नै नाममा जग्गा नहुँदा समस्या भएको भन्ने गुनासोप्रति सम्बोधन गर्दै उहाँले मन्त्रिपरिषदबाट निर्णय भइसकेको र लालपुर्जा धनीका तर्फबाट कुनै अवरोध नभएकाले यो समस्याको समाधान हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “लालपुर्जाको विषय मन्त्रालयमा छलफल चलाउँछु, प्रधानमन्त्रीसमक्ष पनि राख्छु ।” सो अवसरमा सङ्घका केन्द्रीय सदस्य चिजकुमार मास्के, जिल्ला सभापति जयराम श्रेष्ठ, सचिव केशव अधिकारी र अस्पताल प्रशासक दयाशङ्कर चौधरीले अस्पतालका गतिविधि र समस्याका बारेमा जानकारी गराउनुभएको थियो । रासस
काठमाण्डौ: काठमाण्डौको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा आजदेखि थुनछेक बहस शुरु हुनेछ । यो प्रकरणमा संलग्न प्रतिवादीको बयान सकिएसँगै आजदेखि थुनछेक बहस शुरु हुन लागेको जिल्ला अदालत काठमाण्डौका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले ३ जना फरारसहित २९ जनालाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरेको छ । प्रतिवादी बनाइएका २९ मध्ये २६ जना प्रहरी हिरासतमा छन् भने तीन जना फरार छन् । यसअघि ३२ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये छ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो। गएको साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको स्कुटरको ‘ब्रेक शु’ राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यही ’ब्रेक शु’ भित्र ६० किलो सात सय १६ ग्राम बरामद भएको हो । प्रहरीले आरोपीमाथि बरामद भएको बाहेक अरू सुन पनि तस्करी गरेको आरोप लगाएको छ । आरोप पत्रअनुसार उनीहरूले तीन सय ६२ किलो सात सय ७८ ग्राम सुन तस्करी गरेका छन् । सबै आरोपीमाथि सुन तस्करी गरेकोमा तीन अर्ब ५० करोड दुई लाख रुपैयाँ, ’ब्रेक प्याड’ को भन्सारसमेत जोडेर थप २८ लाख ७५ हजार रुपैयाँ गरी कुल बिगो तीन अर्ब ५० करोड ३० लाख रुपैयाँ रहेको जिल्ला अदालतमा पेस भएको अभियोग पत्रमा उल्लेख छ ।
बैतडी: गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको ज्यान गएको छ । ज्यान जानेमा पाटन नगरपालिका–८ हरिचन घर भइ सशस्त्र प्रहरी बाजुराको आश्रित गुल्ममा कार्यरत हवल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् । बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा गाडीले बिहान ठक्कर दिएको र उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । बाजुराबाट बझाङ जाने गाडीमा घर आएका महरा खोड्पे बजारमा झरेका र खोड्पेबाट हिँडेर घर आइरहेका बेला उनलाई गाडीले ठक्कर दिएको बताइएको छ । महरालाई ठक्कर दिने गाडीको पहिचान हुनसकेको छैन । यसैबीच महरालाई ठक्कर दिने गाडीको पहिचान गर्न माग गर्दै मृतकका आफन्तले दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्ग अवरुद्ध हुँदा अहिले तराईबाट बैतडी तथा दार्चुलाका लागि छुटेका गाडीहरु बीचबाटोमै रोकिएका छन् । घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । महरालाई ठक्करदिने गाडीको पहिचान गर्ने कार्य र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
ल्हासा: चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ल्हासा आइपुग्नुभएको छ । चीनको दक्षिण पश्चिममा रहेको छोङ्छिङ सहरबाट सिचवन एयरलाइन्स मार्फत प्रधानमन्त्री प्रचण्ड तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासा आइपुग्नुभएको हो । प्रधानमन्त्री प्रचण्डलाई सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका सरकारी अधिकारीले ल्हासाको गोङ्गार विमानस्थलमा स्वागत गर्नुभयो । कार्यक्रमको सुची अनुसार आज साँझ प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ ९तिब्बत० स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ चङ्छङ्ले भेटवार्ता गर्नुहुनेछ । चीनसङ सीमा जोडिएका नेपालका उत्तरी क्षेत्रका दुर्गम ग्रामीण क्षेत्रमा तिब्बतबाट विद्युत् वितरण गर्ने समझदारी बनेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड ल्हासा आइपुग्नुभएको हो । तिब्बतमा रहँदा प्रधानमन्त्री प्रचण्डले कैलाश मानसरोवर ९ताल० एवं कैलाश पर्वतको भ्रमण गर्ने कार्यक्रम छ ।
काठमाडौं: चाडबाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन गरिनेभएको छ । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर उक्त पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले जानकारी दिनुभयो । यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा सामग्री उपलब्ध गराउने उद्देश्य लिइएको उहाँको भनाइ छ । चाडबाडका समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । सहुलियत मूल्य पसलमा सबै किसिमका चामल, दालहरू, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भटमासको तेल र चिउरामा बजार मूल्यभन्दा प्रतिकिलो रु सातले सस्तोमा बिक्री वितरण हुनेछ । त्यस्तै, कर्णालीको सिमी तथा गेडागुडीहरू, फापरको दाना, चिनो, कागुनु र उवा र जिउँदो खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो रु १० छुट दिइएको छ । यसवर्ष सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई रु दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ । त्यस्तै, साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले रु एक करोड छुट्याएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो रु ९७ मा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो रु दुई र तेल तथा चिउरामा प्रतिकिलो रु सात छुट दिनेछ । त्यस्तै, दुग्ध विकास संस्थानले घ्यूमा प्रतिकिलो रु २०, पनिर प्रति दुई सय ग्राममा रु २० र प्रति पाँच सय ग्राममा रु ५० छुट दिनेछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको काठमाडौँ उपत्यकामा रहेका आठ वटा बिक्री केन्द्र र तीन वटा घुम्ती पसल समेत गरी जम्मा ३५ स्थानमा बिक्री स्थल रहनेछ । त्यसबाहेक मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिरहा, जनकपुर, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व र रुकुम पश्चिममा खाद्य व्यवस्था कम्पनीले सहुलियत पसल सञ्चालन गर्नेछ । त्यस्तै, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण स्टक रहनेछन् । यस्ता पसलहरू आवश्यकताअनुसार थप जिल्ला र स्थानहरूमा पनि सञ्चालन गर्न सकिने मन्त्रालयले जनाएको छ । निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलहरुकोको माध्यमबाट तोकिए बमोजिमको छुट पाउन सकिनेछ । सञ्चालनमा ल्याइएका सहुलियत मूल्य पसलहरू प्रभावकारी भएको नभएको विषयमा अनुगमन समिति पनि बनाइएको छ । चाडबाडको अवधिभर बजार अनुगमनको काम थप तीव्र पारिने मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकाको हकमा उद्योग मन्त्रालयले सहुलियत पसल सञ्चालनको आयोजना अवधिभर अनुगमन टोली बनाई अनुगमन गर्नेछ भने सम्बन्धित संस्थानहरूले पनि आ–आफ्नो अनुगमन टोली बनाई अनुगमन गर्नेछन् । वाणिज्य, आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभागबाट पनि नियमित अनुगमनको अतिरिक्त थप अनुगमन टोली बनाई सघन रूपमा अनुगमन गर्नेछ । जिल्लाहरूको हकमा प्रमुख जिल्ला अधिकारी वा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन टोली गठन गरी सघन रूपमा अनुगमन गरिने मन्त्रालयले जनाएको छ ।

