पर्सा: पर्सामा नियमित कक्षा सञ्चालनको माग गरेपछि विद्यार्थी नै थुनामा परेको घटना बाहिर आएको छ । वीरगञ्ज महानगरपालिका–२४ बहुवरीमा सञ्चालित शारदा माध्यमिक विद्यालयको पशु विज्ञान र कृषि सङ्कायको कक्षा सञ्चालन गर्न माग गरेपछि विद्यार्थीलाई त्यही विद्यालयका शिक्षकहरुले थुनेर राखेको घटना सार्वजनिक भएको हो । पठनपाठन नियमित सञ्चालन गर्न माग गरेपछि विद्यालय प्रशासनले आफूहरुलाई कुटपिट गर्नाका साथै घन्टौँ थुनेर राखेको विद्यार्थीहरुले आरोप लगाएका छन् । दैनिक सात कक्षा पढाइ हुनुपर्नेमा एक कक्षासमेत पढाइ नभएको जानकारी महानगरपालिकाको शिक्षा महाशाखामा गराउँदा समेत कुनै सुनुवाइ नभएको विद्यार्थीहरुले गुनासो गरेका छन् । विद्यालय प्रशासनले आफूहरुबाट सबै शुल्क असुल गरे पनि अहिलेसम्म पूरै किताबसमेत उपलब्ध नगराएका कारण दोस्रो वर्षको पहिलो सेमेस्टर परिक्षामा ११ मध्ये एकजना मात्र उत्तीर्ण भएको विद्यार्थीहरु बताउँछन् । प्राविधिक शिक्षाको कक्षा नियमित सञ्चालन नभएको विषयमा विद्यालय प्रशासनसँग बुझ्दा विद्यालयका प्रअ बिदामा रहेकाले प्रविधिक कक्षाबारे उहाँले नै जानकारी दिने जनाएको छ । महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यालयमा अध्यापन गराउने शिक्षकले तलब नपाएका कारण पढाइ नभएकोे जानकारी दिनुभयो । उहाँले शिक्षकको सबै तलब समयमै पठाएको विद्यलायको प्रतिवेदनबाट देखिएपछि घटनाको छानबिन शुरु गरिएको बताउनुभयो ।
पोखरा: पोखरामा सोमबारदेखि सुरु भएको नेकपा एमाले गण्डकीको प्रथम अधिवेशनको निर्वाचन तालिका आज (मंगलबार) सार्वजनिक भएको छ । अधिवेशनबाट निर्वाचित हुने प्रदेश समिति पदाधिकारी र सदस्यहरुको निर्वाचन प्रयोजनका लागि निर्वाचन समितिले मदताना नामावली प्रकाशन गरिसकेको छ । अन्तिम नामावली प्रकाशन दिउँसो ३ बजे हुने छ । ३ देखि ६ बजेसम्म उम्मेदवारले दरखास्त फारम दर्ता गर्न पाउनेछन् । साँझ ६ देखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुने छ । उम्मेदवारको विरोधमा उजुरी दिने समय ७ देखि ७स्३० सम्म तोकिएको छ । निर्वाचन समितिले उजुरी उपर छानबिन र निर्णय साँझ ७:३० देखि ८:३० सम्म गर्नेछ । राति ८:३० देखि ९ बजेसम्म उम्मेदवारको नामावली पुनः प्रकाशन हुनेछ । बुधबार बिहान १० बजेसम्म उम्मेदवारलाई नाम फिर्ता गर्ने समय दिइएको छ । बुधबार १० बजे नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । बुधबार दिउँसो १ बजेबाट मतदान सुरु हुने प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बताए । सोमबार उद्घाटन भएको अधिवेशनको बन्दसत्र हाल पोखरा सभागृहमा चलिरहेको छ । प्रदेश अध्यक्ष नवराज शर्माद्वारा प्रस्तुत राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन उपर छलफल चलिरहेको छ । गण्डकीका ११ जिल्ला र जनसंगठनबाट ९ सय ७ प्रतिनिधि सहभागी भएकोमा ८ समूह बनाएर प्रतिवेदनमाथि समूह नेताले सुझाव दिइरहेका छन् ।
पोखरा: मध्यपहाडी लोकमार्ग अन्र्तगत पर्वतको कुश्मा नगरपालिका ७/८ स्थित तमादीखोलामा शनिबार साँझ एक्कासी आएको बाढीमा बेपत्ता भएका कास्कीको माधव पौडेललेको शव स्याङ्जामा भेटिएको छ । बागलुङबाट पोखरा आउँदै गरेको ग १ ज ६२१३ नम्बरको टाटा सुमो गाडी तमादीखोलामा एक्कासीआएको बाढीले बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका थिए । बाढीमा बेपत्ता भएका कास्कीको अन्नपूर्ण गाउँपालिका ३ घर भएका विजय भनिने माधव पौडेलको शव आज बिहान स्याङ्जाको मिर्मिस्थित कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधमा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए । ‘कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधमा शव भेटिएको खवरपछि हामीले जिल्ला प्रहरी कार्यालय पर्वतलाई जानकारी गराएका थियौं’, खनालले भने, ‘पर्वत प्रहरीले परिवारलाई खवर गरेको थियो,परिवारले शव भेटिएको स्थानमा नै आएर सनाखत गर्नुभएको छ, शव पोष्टमार्टमपछि परिवारलाई बुझाउँछौं ।’ मृत भेटिएका पौडेल पोखराको पृथ्वीनारायण क्याम्पसमा मानविकी संकाय चौथो वर्षमा अध्ययनरत थिए । बाढीमा गाडीसहित बेपत्ता भएका रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ का ३४ वर्षीय गोपाल बस्यालको शव भने सोही दिन फेला परेको थियो । बाढीमा बेपत्ता भएका बागलुङको ताराखोला गाउँपालिका ३ हिलका डम्मरबहादुर थापा भने अझै अज्ञात छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी केशव केसीले घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीले खोजी कार्य जारी राखेको बताए । घटनाको भोलि पल्ट बाढीले बगाएको गाडीको केही भाग सुरक्षाकर्मीको टोलीले फेला पारेको थियो ।
बाँकेको नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सृजना हुने अवस्था देखिएकोले आज दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्युकाे आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जनाकारी दिनुभयो । नेपालगञ्जमा सद्भाव र्याली पनि निकालिएको थियो । हिन्दुहरुको समूहले नेपालगञ्जमा प्रदर्शन गरेको छ । र्यालीमा ढुङ्गा र इँटा प्रहार हुन थालेपछि कर्फ्यु लगाउनुपरेको हो । नेपालगञ्जको सुरक्षा व्यवस्था कडा पारेको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।
दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित ३ जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सोमबार र मंगलबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए। चिनियाँ नागरिक ग्याङ रू, सनत प्रधान र लालबहादुर तामाङ पक्राउ परेका हुन्। प्रहरीले उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखामा पठाउने तयारी भइरहेको छ। यसअघि प्रहरीले यही घटनामा ७ जनालाई पक्राउ गरेको थियो। यस घटनाबारे जिल्ला प्रहरी कार्यालय दोलखासँग ब्युरोले पनि अनुसन्धान गरिरहेको एसपी अधिकारीले बताए।
काठमाण्डौ: राजस्व अनुसन्धान विभागले अवैध कारोबार गर्ने चार जनाविरुद्ध १५ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरी आज मुद्दा दर्ता गरेको छ । विभागले सिरहाको माडर बस्ने ४७ वर्षीय प्रेमकुमार यादव, त्यही ठाउँ बस्ने सञ्जयकुमार साह, पवनकुमार यादव र ४० वर्षीय अरुण यादवविरुद्ध विदेशी विनिमय अपचलन गरी अवैध कारोबार गरेको आरोपमा मुद्दा दर्ता गरेको हो । उनीहरुमध्ये पवन र अरुण भने फरार रहेका विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिनुभयो । प्रहरीले गएको भदौ १५ गते सिरहा नगरपालिका–१५ कालीचौकमा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ७ सी ४२२४ नम्बरको कारलाई रोकी जाँच गर्ने क्रममा कारको चालक बस्नेतर्फको दुईवटा सिटमुनि एक हजार दरका तीन हजार चार सय थान थान ९ ३४ लाख० र पाँच सय दरका दुई हजार थान ९ १० लाख० फेला पारि राजस्व अनुसन्धान विभागमा बुझाएको थियो । त्यसपछि विभागले गरेको सूक्ष्म अनुसन्धानमा प्रेमकुमार यादव, सञ्जयकुमार साह, पवनकुमार यादव र अरुण यादवसमेतको मिलेमतोमा गैह्रकानुनी रूपमा इजाजत प्राप्त नगरि प्रेमकुमार यादवले भारतीय नागरिक राजकुमार पासवानबाट रकम आएको पाइएको अधिकारीले बताउनुभयो । विभागका अनुसार राजकुमार पासवानबाट प्राप्त गरी अन्यलाई बुझाउन बाँकी रहेको रकम ८३ लाख ३८ हजार रुपैयाँसमेत गरी जम्मा एक करोड २७ लाख ३८ हजार रुपैयाँ बरामद गरिएको थियो । अनुसन्धानका क्रममा अरुण यादवलाई आठ करोड करोड ६५ लाख ६० हजार र पवनकुमार यादवलाई पाँच करोड आठ लाख ८८ हजार रुपैयाँ गरी जम्मा बिगो १५ करोड एक लाख ८६ हजार आठ सय रुपैयाँ बराबरको रकम अवैधरुपमा कारोबार गरेको विभागको दाबी छ । उनीहरुले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ९ ‘ग’ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकाले त्यहीअनुसार आज मुद्दा चलाइएको विभागले जनाएको छ ।
काठमाडौंको गौशालामा धारिलो हतियार प्रहार गरेको घटनामा एक जना पक्राउ परेका छन्। सोमबार बिहान पौने १२ बजे काठमाडौं महानगरपालिका-९ बागमती करिडोरको तिलगंगामा बारा कलैया उपमहानगरपालिका(२१ घर भई कोटेश्वर बस्ने ३८ वर्षीय साविर हुसेनमाथि धारिलो हतियार प्रहार भएको थियो। उनीमाथि हतियार प्रहार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा सिकिल देव सहनी छन्। घटनास्थलबाट प्रहरीले एउटा कटुवा पेस्तोल र चक्कु बरामद गरेको थियो। हुसेनमाथि चक्कु प्रहार गरी सहनी फरार भएका थिए। सहनीसँगै अर्का व्यक्ति पनि घटनामा संलग्न भएको प्रहरीको आशंका छ। तर ती व्यक्ति पक्राउ परिसकेका छैनन्। सुरूमा हुसेनलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको थियो। थप उपचारको लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा राखिएको छ। उनी अहिले खतरामुक्त भएको एसपी ढुंगेलले बताए।
पोखरा: पोखरा फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सुकमाया दुराको शव ८ दिनपछि परिवारले बुझेको छ । लमजुङको सुन्दरबजार नगरपालिकाकी सुकमाया दुराको गत असोज ८ गते उपचारको क्रममा मृत्यु भएको थियो । मृतककी छोरी तिला दुराकी अनुसार अहिले अन्तेष्टिका लागि गृह जिल्ला लगिएको छ । ‘आज बुझेर घर लैजादैं छौ,’ तिलाले सुनगाभा न्यूजँग भनिन् । दुरा परिवार र मणिपालका चिकित्सकबीच केहीदिनअघि ६ बुँदें सहमति भएपछि अस्पताल तोडफोडमा संलग्न ७ जना युवालाई कास्की प्रहरीले पक्राउ गरेपछि शव उठेको थिएन । सुनगाभा न्यूजलाई प्राप्त विशेष सूचनामा शव उठाउन दुरा परिवारलाई कास्की प्रशासनको दबाव आएको बताइएको थियो । सो विषयमा दुरा परिवारका एक सदस्यसँग प्रश्न गर्दा अन्त्येष्टिको केही दिनमा बोल्ने भन्दै थप कुराकानी गर्न चाहेनन् । उनका अनुसार दुरालाई असोज ७ गते उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो । तर उपचारको क्रममा असोज ८ गते दिउँसो १ बजे मृत्यु भएको अस्पताल प्रशासनले घोषणा गरेको थियो । त्यसपछि चिकित्सक पक्ष र मृतक परिवार पक्ष आन्दोलनमा उत्रेको थियो । अहिले दुरा परिवार र चिकित्सक पक्षबीच ६ बुँदें सहमति भएपछि सबै आन्दोलन स्थगित गरिएको छ । यो पनि पढ्नुहोस मणिपाल काण्ड: तोडफोड गर्ने समूहलाई खोज्दै कास्की प्रहरी तर कास्की प्रहरीले अस्पतालमा तोडफोड गरेको भन्दै हालसम्म विनय गुरुङसहित ९ जनालाई नियन्त्रणमा लिएर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्ष ऐन, २०६६ अन्तरगत मुद्धा दर्ता गरि अनुसन्धान गरिरहेको बताइएको छ । अन्य फरार रहेका करिब २० जनाको समूहलाई खोजी गरिरहेको कास्की प्रहरीले जनाएको छ । यो पनि पढ्नुहोस छोरी तिलाको प्रश्न–इन्टर्न डाक्टरले सिपिआर दिन मिल्छ ?
मुस्ताङ: मुस्ताङको मुक्तिनाथ क्षेत्रमा नेपाली सेनाले प्रारम्भिक स्वास्थ्य उपचार केन्द्र तथा दर्शनार्थीमैत्री विश्रामस्थल सञ्चालनमा ल्याएको छ । नेपाली सेनाद्वारा विनियोजित बजेट ८ लाख ६७ हजार, सामाजिक विकास कार्यालय मुस्ताङ्गबाट ८ लाख र नेपाली सेनाको श्रमदान बापत ४७ लाख ६० हजार गरी कुल ६४ लाख २७ हजार लागतमा लागतमा निर्मित भौतिक संरचना मुक्तिनाथ विकास समिति र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो । उक्त भवन मुक्तिनाथ मन्दिर प्रवेशद्वार नजिकै करिब १ रोपनी सार्वजनिक जग्गामा करिब ६ महिना लगाएर सम्पन्न गरेको हो । नेपाली सेनाद्वारा निर्मित दशनार्थीमैत्री पूर्वाधारको उद्घाटन पश्चिम पृतना हेडक्वाटरका पृतनापती उपरथी दिपक कुमार बाँनियाले गरे । सो अवसरमा बोल्दै पश्चिम पृतनापती उपरथी बाँनियाले निर्मित संरचनामा प्रारम्भिक स्वास्थ्य परीक्षण केन्द्र (२ वटा मेडिकल बेड), व्यवस्थित शौचालय र दशनार्थीमैत्री विश्रम कक्ष (२३ वटा फलामे बेञ्च) रहेको बताए । उनले नेपाली सेनाको शीघ्र प्रवाही योजना अन्तरगत नेपाली सेना २३ नं. बाहिनी, पश्चिम पृतना हेडक्वाटर र नारायण दल गणका दक्ष जनशक्तिको श्रमलानबाट सरोकारवाला निकायहरुको सहकार्यमा निर्माण गरिएको बताए । पृतनापती बाँनियाले नागरिक र सैनिकबीचको सम्बन्धलाई सुदृढ गर्दै सामाजिक उत्तरदायित्व वहन गरेको सुनाए । अब उक्त भौतिक संरचनाको रेखदेख, व्यवस्थापन, प्रर्वद्धन र संरक्षणमा मुक्तिनाथ विकास समिति र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले जिम्मा लिएको छ । मुस्ताङको प्रमुख जिल्ला अधिकारी मुक्तिनाथ विकास समितिको अध्यक्ष हुने प्रावधान छ । सोही अनुरुप अहिले मुक्तिनाथ विकास समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी जनकराज पन्त रहेका छन् । उनले समिति र स्थानीय तहको समन्वयमा स्वास्थ्य परिक्षण केन्द्रमा २ जना स्वास्थ्यकर्मी (अनमी) करारमा भर्ना गरी सेवा सञ्चालन गरिने बताए । पूर्वाधार हस्तान्तरण कार्यक्रममा वारागुङ मुक्तिक्षेत्र गाउँपलिकाकी उपाध्यक्ष डिकी गुरुङले उक्त पूर्वाधारले दशनार्थीलाई ठुलो सहयोग पुग्ने बताइन् । सो अवसरमा सेनाको २३ नं. बाहिनी पतिले विशेष सहयोग पू¥याउने अधिकृत तथा सहयोगी गैर सैनिक व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने नेपाली सेनाले दशनार्थीका लागि निशूल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको थियो ।

