पोखरा: एमाले गण्डकी प्रदेश कमिटी चयनका लागि मध्यान्ह १२ बजेबाट मतदान सुरु भएको छ । निर्वाचन समितिका अनुसार पोखरा सभागृहमा साँझ ५ बजेसम्म मतदान हुनेछ । अधिवेशनमा नवराज शर्मा र मायानाथ अधिकारी अध्यक्षका उम्मेदवार छन् । मीनप्रसाद गुरुङ र बाबुरामराम विकले उपाध्यक्षमा र धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा उम्मेदवारी दिएसँगै मैदानमा छन् । उचसचिवमा दामबहादुर विक र सन्तोष रावल, उपसचिव महिलातर्फ मञ्जु अधिकारी र मिना गुरुङबीच प्रतिस्पर्धा हुनेछ । उनीहरुका लागि गण्डकी प्रदेशका ११ जिल्लाबाट चुनिएका ९ सय ७ प्रतिनिधिले मतदान गर्नेछन् ।
गण्डकी: नेकपा (एमाले) गण्डकी प्रदेश कमिटिको पहिलो अधिवेशन पोखरामा जारी छ । नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास असफल भएपछि मतदानद्वारा नेतृत्वको टुङ्गो लाग्ने भएको छ । पदाधिकारीसहित विभिन्न पदमा आज मतदान हुने निर्वाचन समितिले जनाएको छ । मतदान अवधि बिहान ११ः५५ बजेदेखि साँझ ५ः३० बजेसम्मलाई तोकिएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिनुभयो । प्रदेश किमिटी अध्यक्षमा म्याग्दीका नवराज शर्मा र लमजुङका मायानाथ अधिकारी चुनावी मैदानमा हुनुहुन्छ । शर्मा प्रदेश एमाले गण्डकीका हालका अध्यक्षसमेत हुनुहुन्छ । यस्तै उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ र नवलपुरका बाबुराम विक, सचिवमा लमजुङका धनञ्जय दवाडी र कास्कीका रश्मी आचार्य तथा उपसचिवमा पर्वतका मञ्जु अधिकारी, कास्कीका दामबहादुर विक, म्याग्दीका सन्तोष रावल र कास्कीका मीना गुरुङले उम्मेदवारी दिनुभएको छ । प्रदेश कमिटी सदस्यमा २७ जना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनबाट पाँच पदाधिकारीसहित एक सय ६२ सदस्यीय नयाँ कमिटी चयन हुनेछ । अधिवेशनमा प्रदेशका ११ जिल्लाबाट नौ सय सात प्रतिनिधिले भाग लिएका छन् । रासस
पोखरा: पोखरामा आयोजना हुने साँस्कृतिक कार्यक्रम तथा र्यालीमा चिलको भेषमा देखिने क्याप्टेन सोलाल गुरुङ बेपत्ता भएका छन् । पोखरामा ‘चिल बाजे’ भनेर चिनिने क्याप्टेन सोलाल गुरुङ पोखरा महानगरपालिका १३ को पत्रपछि परिवार र आफन्तको सम्पर्क बाहिर पुगेका हुन् । वडाध्यक्ष किरण बरालद्वारा हस्ताक्षरित पत्र अनुसार पोखरा महानगरपालिका १९ निवासी अन्जना भण्डारीको नाममा उक्त जग्गा श्रेष्ता पुर्जा देखिएपछि घर खाली गराउन मागसहित अन्जना भण्डारीले वडा कार्यालयमा निवेदन दिएकी थिइन् । सोही निवेदनका आधारमा त्यसपछि वडा कार्यालयले सोलाल र उनको श्रीमती मनिषा घर्तीलाई पत्र पठाउदै ७ दिनभित्र घर खाली गराउन उर्दी जारी गरेको थियो । त्यसपछि चिल बाजे एकाएक परिवार र आफन्तको सम्पर्क बाहिर पुगेको तमु प्हे ल्हु संघ युवा केन्द्रीय समितिका अध्यक्ष शुक्रराज तमुले बताए । चिल बाजे निकटस्थ आफन्तका अनुसार सोलालको नाममा रहेको उक्त घर कान्छी श्रीमतीसमेत रहेकी मनिषा घर्तीले ललाई फकाई आफ्नो नाममा नामसारी गराएकी थिइन् । त्यसपछि उक्त घर अन्जनालाई बेचेको हुनसक्ने आफन्तको बुझाई छ । त्यसपछि मनिषा र सोलाल सम्पर्क बिहीन भएका हुन् । यद्यपी सोलाल मनिषाको पनि सम्पर्कमा नभएको आफन्तको बुझाई छ । सोलाले प्रयो गर्ने मोटरसाइकल र समाग्रीहरु घरै छाडिएका छन् । सोलाल एक महिनादेखि बेपत्ता भएपछि उनका आफन्तले चिल बाजेलाई खोजी गर्न प्रहरीलाईसमेत गुहारेका छन् । यस्तो छ वडाको पत्र
काठमाडौँ: नेकपा (एमाले)का लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा ९माओवादी केन्द्र०मा प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उहाँहरु एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्नुभएको हो । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले एमाले लुम्बिनी सचिवालय सदस्य हरिजन, लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दिप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभयो । हरिजन २०७० सालको संविधासभा सदस्य र यादव एमाले निकट किसान महासङ्घका केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँहरुलाई पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री दाहालले मुलुकमा अस्थिरता निम्त्याउने शक्ति सल्बलाइरहेकाले उत्पीडित समुदाय एक हुनुपर्ने बताउनुभयो । पिछडिएका तथा उत्पीडित वर्गको उत्थान, उचित सम्मान र राज्यका निकायमा सम्मानजनक प्रतिनिधित्व हुनुपर्छ भन्ने चाहेको बताउनुभयो । पार्टीमा प्रवेश गर्नेलाई उचित जिम्मेवारी र भूमिका दिइने अध्यक्ष दाहालको भनाइ छ । रासस
गोरखा: उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका स्थानीयलाई चीनको सीमा प्रवेश अनुमती पत्र (बोर्डर पास) वितरण शुरु भएको छ । वडा नम्वर ३ फिलिमको सिर्दिवासस्थित इलाका प्रशासन कार्यालयबाट पास वितरण कार्य थालिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो । पास वितरणका लागी सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानासहितको टोली सोमबार नै सिर्दिवास पुगेको थियो । पहिलो दिन २० जनालाई पास वितरण गरिएको सहायक प्रजिअ रानाले बताउनुभयो । उहाँका अनुसार वडा नम्वर ३ बाहेकका अन्य नागरिकलाई पास वितरण गरिने छ । उक्त पासको म्याद एक बर्षको हुने उहाँको भनाइ छ । ‘हामीले बितरण गर्ने पासको म्याद एक बर्षको हुन्छ, त्यसपछि फेरी रिन्यू गर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो । यसअघि पास लिएकाहरुले पनि नयाँ पास लिनुपर्ने उहाँको भनाइ छ । नेपालभरका सबै बोर्डर पासमा एकरुपता ल्याउने उदेश्यले नयाँ डिजाइनमा पास छपाइ भएकाले पुराना पास भएकाहरुले पनि त्यो बुझाएर नयाँ लिनुपर्ने उहाँले जानकारी दिनुभयो । गृहमन्त्रालयले पठाएको डिजाइन अनुसार जिल्लामै पास छपाइ गरिएको हो । बिगत चार बर्षदेखि बन्द अवस्थामा रहेको तिब्बत नाका चीन सरकारले खुल्ला गरिसकेको छ । तर पास नभएकै कारण उत्तरी गोरखाका स्थानीयहरु नाका प्रवेश गर्न पाएका थिएनन् । पास उपलब्ध गराइदिन आग्रह गर्दै उनीहरु पटक पटक गृहमन्त्रालय समेत धाएका थिए । गृहमन्त्रालयले निर्देशनपछि पास वितरण कार्य थालिएको प्रशासनले जनाएको छ । सीमाबाट ३० किलोमिटर आसपासका बासिन्दाले मात्र पास पाउने पालिकाले जनाएको छ । नागरिकता भएको व्यक्तिलाई मात्र पास उपलब्ध गराइने बताइएको छ । पास पाएपछि स्थानीय खुशी छन् । उत्तरी गोरखाका स्थानीयको मुख्य व्यापारिक केन्द्र तिब्बत मानिन्छ । खाद्यान्न देखि आवश्यक सबै उपभोग्य वस्तु उनीहरु तिव्वतबाट ल्याउने गर्छन् ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावितलाई तत्काल राहत दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आर्थिक सहयोगको प्रक्रिया तत्काल अघि बढाउन पनि उहाँले आग्रह गर्नुभयो । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको १२ औ बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारका तर्फबाट राहत, उद्धार, उपचार , पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने स्पष्ट पार्नुभयो । बझाङ भूकम्पबाट पीडित र प्रभावित जनतालाई राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका बारेमा आवश्यक निर्णय तथा कार्यान्वयनका लागि विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा गम्भीर छलफल भएको छ । प्राकृतिक विपदले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको पनि उहाँले बताउनुभयो । बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्रधानमन्त्रीले आज बैठक बोलाउनुभएको थियो ।
काठमाडौँ: समाजवादी जागरण अभियान चलाउन सहरबाट गाउँ छिरेको नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० को शीर्ष नेतृत्व यति बेला स्थानीय पालिकामा पुगेको छ। स्थानीय पालिकामा पार्टीको वास्तविक अवस्था बुझ्दै पार्टीप्रति आकर्षण बढाउन अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतका पदाधिकारी स्थानीय पालिकामा पुग्नुभएको हो। पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले असोज १४ गतेबाट सुरु भएको अभियान असोज २९ गते सम्पन्न हुने जानकारी दिनुभयो। उहाँका अनुसार १५ दिने जागरण अभियानमा एकीकृत समाजवादीले नौ सय किलोमिटर जागरण जनअभियान यात्रा पूरा गर्ने छ। उहाँले पूर्वको काँकडभिट्टाबाट सुरु भएको पार्टीको अभियान स्थानीय तहमा पुगेर आम सभा र पार्टी प्रवेशको कार्यक्रम आयोजना गर्ने गरिएको बताउनुभयो। उहाँले हालसम्म १२३ स्थानमा सभा सम्पन्न भएको जानकारी दिनुभयो।
कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको ज्यान गएको छ । अस्ति मङ्गलवार राति सर्पले डसेर बिरामी भएका वाणगङ्गा नगरपालिका–९ जिनुवाका मोतीलाल क्षेत्रीका ३ वर्षीया छोरी रीतिका र ८ वर्षीया छोरी इशिकाको ज्यान गएको वडाअध्यक्ष कमल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आमासँग सुतिरहेका उनीहरुलाई राति सर्पले डसेको थियो । उनीहरुको उपचारको क्रममा हिजो लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको हो । सर्पले डसेको थाहा पाएपछि दुवैलाई उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।
पोखरा: बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन तथा नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति प्राप्त आइएसएमटी कलेज पोखराले यस वर्षदेखि ब्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रम सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपालिका १५ अन्नपूर्णमार्गस्थित सञ्चालनमा रहेको आइएसएमटी कलेजले हस्पिटालिटीको क्षेत्रमा दक्षा जनशक्तिको माग बढिरहेको अवस्थालाई मध्यजजर गर्दै बिएचएमको कार्यक्रम थपेको हो । सन् २०१८ सालदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको आइएसएमटी ग्रुप अन्तरगतको आइएसएमटी कलेजले यसअघि बिएससी आइटी र बिबिए अध्यापन गर्दै आएको छ । परिवर्तित समय र पोखरामा हस्पिटालिटीको क्षेत्रमा कामदारको मागलाई मध्यनजर गर्दै दक्ष जनशत्ति उत्पादन गर्ने उद्देश्यले बिएचएम कार्यक्रम थपेको कलेजका एशोसियट अप्रेसन म्यानेजर शिव पौडेलले जानकारी दिए । कलेजका अनुसार आइएसएमटीमा अध्ययन गरेपछि विद्यार्थीहरु होटल, पर्यटन क्षेत्र, एयरलाइन्स लगायतका विभिन्न हस्पिटालिटी र कर्पोरेट क्षेत्रमा काम गर्नसक्ने गरी दक्ष भएर निस्कने छन् । आइएसएमटी ग्रुप अन्तरगत नेपालका प्रमुख शहरहरु चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि शिक्षा मन्त्रालयको अनुमतिमा आइएसएमटी कलेजहरु सञ्चालनमा रहेका छन् । हालसम्म यस ग्रुपको कलेजबाट सयौंको सँख्यामा बिएससी आइटी र बिबिएमा दक्ष विद्यार्थीहरु उत्तीर्ण भइसकेका छन् ।

