काठमाडौं: चीनमा जारी १९ औं एसियाली खेलकुद ९एसियाड०अन्तर्गत महिला कबड्डीमा नेपाल कास्य पदकमै सीमित भएको छ। हाङ्गचौंको जिआओसान गुआली स्पोर्ट्स सेन्टरकोमा भएको सेमिफाइनलमा भारतसँग ६१/१७ ले पराजित भएपछि नेपाल कास्य पदकमै सीमित बनेको हो। समूह ‘बी’ मा इरानसँग पराजित हुनुअघिको खेलमा बंगालदेशलाई हराउँदै नेपालले अघिल्लो चरणको सम्भावना बनाएको थियो। समूह उपविजेता बनेसँगै नेपालको कास्य पदक पक्का भएको थियो। एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनल पुग्ने दुई टिमलाई कास्य पदक दिने प्रावधान छ। पहिलो सहभागितामा नै महिला कबड्डी टोली पदक जित्न सफल भएको छ ।
काठमाण्डौ: काठमाण्डौको महाराजगञ्जमा गोली लागेर घाइते अवथामा भेटिएकी शर्मीला चौधरीको उपचारका क्रममा ज्यान गएको छ । उहाँको त्रिवि शिक्षण अस्पतालमा बिहीवार हिजो ज्यान गएको हो । यही असोज १० गते काठमाण्डौ महानगरपालिका–४ पञ्चकन्यामा रहेको आफ्नै डेरामा गोली लागेको अवस्थामा भेटिएकी चौधरीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचारका क्रममा ज्यान भएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो । मृतक चौधरी नौ दिन अघि उहाँका श्रीमान् नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक लक्ष्मण चौधरीले बोक्ने पेस्तोलबाट गोली लागेर घाइते भएको अवस्थामा निवासमा भेटिनुभएको थियो । उहाँको कोखामा एक राउन्ड गोली लागेको अनुसन्धानबाट खुलेको छ । लक्ष्मण चौधरी पूर्वआईजीपी ध्रुवबहादुर प्रधानको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) समेत रहनुभएको छ ।
काठमाडौँ: मङ्गलवार बझाङमा गएको भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै पीडितलाई तत्काल राहत दिन माग गरिएको छ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरलगायत नेताहरूको सर्वदलीय प्रतिनिधि मण्डलले बुधवार बेलुकी प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेको हो। भूकम्पले बझाङका तलकोट, मस्टा, खप्तडछान्ना, जय पृथ्वी नगरपालिका, सुर्मा, छविसपाथिभेरा, दुर्गा थली, थलारा, केदारस्यु, वित्थड, बुङगललगात पालिका तथा सुदूरपश्चिमका जिल्लामा धनजनको ठुलो क्षति भएको भन्दै समितिले सरकारको ध्यानाकर्षण गराएको हो। एक जनाको ज्यान गएको, २१ वटा सामुदायिक भवन, अधिकांश सामुदायिक विद्यालय र हजारौँको सङ्ख्यामा निजी व्यक्तिका घर भत्किएकाले जनता सकसपूर्ण जीवन बिताउन बाध्य रहेको अवस्थामा सरकारले राहत प्रदान गर्नुपर्ने काँग्रेस नेता महरले बताउनुभयो । महरसँगै प्रतिनिधि सभा सदस्य एवम् बझाङ, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी, अछामबाट प्रतिनिधि सभा सदस्य शेरबहादुर कुवर, अछामबाटै प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाह, संविधान सभा सदस्य धर्मराज विश्वकर्मा, दुर्गा थली गाउँपालिका बझाङका अध्यक्ष दिलबहादुर थापा, नेपाली काँग्रेस बझाङका नेता सत्यराज भण्डारी, बझाङकै काँग्रेस नेता नन्दकृष्ण जोशी उपस्थित रहेका थिए । त्यस्तै काँग्रेस बझाङकै नेता रमेशबहादुर भण्डारी, सुदूरपश्चिम काठमाडौँ माओवादी केन्द्र इन्चार्ज पदम जोशी, काँग्रेस नेता पुष्कल बहादुर बोहरा, नेकपा एसका नेता दीपक बहादुर बोहरा, काँग्रेस बझाङका नेता शेरबहादुर खड्का, बझाङका वीर बहादुर गर्धामी, धर्मबहादुर महर, नविक कुमार बम्म, वकिल कुमार गर्धामी, अनिल गुर्धामीको सहभागिता थियो। नेपाल तरुण दलका केन्द्रीय सदस्य जनक चटौत, इन्जिनियर गोरखराज जोशी, ज्ञानबहादुर बोहरा, इन्जिनियर विजय खाती, नविन गिरी, प्रेमराज जोशी, कमल थापा, रोषन रावल, सन्देश थापा, धनप्रसाद जोशी, केसव पुरी, केदार कार्की, सुप्रभात भण्डारी, बन्द्रीप्रसाद सञ्जेल, रामचन्द्र सुवेदी र शुष्मा सिटौलाको सहभागिता रहेको थियो।
मनाङ: हिमाली जिल्ला मनाङ आउने क्रममा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन् । डेभिज बुधबार श्रीमती वेथ एन फोड्रियत, पथप्रदर्शक, चालक र पोटरसहित बा६च ७५६ नम्बरको गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे आउँदै गरेका थिए । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुङ्गा पन्छाउने क्रममा बुधबार राति उनी सडकबाट करिब सय मिटर तल मस्र्याङ्दी नदी किनारमा खसेका मनाङका प्रहरी नायब उपरीक्षक फणिन्द्र रानाभाटले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले उहाँको राति नै उद्धार गरी उपचारका लागि मनाङ जिल्ला अस्पताल चामे ल्याएको थियो । उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक रानाभाटले बताउनुभयो । डेभिजको शव परीक्षणका लागि हेलिकोप्टरमा बिहीबार त्रवि शिक्षण अस्पताल काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ: नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन आज ९शुक्रवार०देखि सुरु हुने भएको छ । अधिवेशनको एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा उद्घाटन गर्ने भएको छ । आयोजक कमिटीका अध्यक्ष प्रेम पराजुलीका अनुसार एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा पूर्वनिर्धारित तालिका अनुसार गैह्र भौगोलिक र बुद्धिजीवी–कर्मचारी क्षेत्रका सदस्यको प्रतिनिधित्वमा अधिवेशन गर्न लागिएको बताउनुभयो ।
काठमाडौं: बझाङमा गत मंगलबारको भूकम्पपछि परकम्प जाने क्रम जारी छ । गएराति पनि दुई पटक परकम्प गएको रेकर्ड छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको रेकर्ड अनुसार गएराति चैनपुर आसपास केन्द्रविन्दु भएर १० बजेर ५२ मिनेटमा ४.५ र १२ बजेर २३ मिनेटमा ३.९ म्याग्निच्युडको परकम्प गएको छ । केन्द्रका अनुसार मंगलबारयता तीन सयभन्दा धेरै साना–ठूला परकम्प गएका छन् । गत मंगलबार बझाङको तालकोट केन्द्रविन्दु भएर ५.३ र चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले अहिले पनि परकम्प जाने र धक्का महसुस भइरहेको जानकारी दिए ।
पोखरा: चाडपर्व नजिकिएपछि उपभोक्ता ठगिन सक्ने भन्दै पर्यटन, उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको अगुवाईमा बजार अनुगमन समितिले पोखरामा अनुगमनलाई तीव्रता दिएको छ । पोखराको सृजना चोक नजिक रहेको दाङ भ्याली फ्रेस हाउस र रत्नचोक नजिक रहेको निकी ट्रेडर्समा अनुगमन गरिएको होे । अनुगमन टोलीले अनगुमनको क्रममा केही म्याद गुज्रेका सामान पाइएपछि निकी ट्रेडर्सलाईसचेत गराएर छोडेको । म्याद नागेको मिति भेटिएको सगरमाथा चिल्ली सस १ बोत्तल नष्ट गरेको छ । दाङ भ्याली फ्रेस हाउसलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त फ्रेस हाउसमा खशी र कुखुराको मासु एकै स्थलमा राखेर व्यापार गरिएका पाइएको थियो । यसका साथै डि फ्रिजको तापक्रम नमिलाई राख्ने गरेको पाइनुका साथै सरसफाइमा दिन भनिएको छ । उक्त प्रेस हाउसलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३७ को घ अनुसार कसुरमा दफा ३९ को (क) अनुसार कारवाही गरिएको हो । पर्यटन, उद्योग, वाणिज्य तथा उपभोत्ता हित संरक्षण निर्देशनालयका निर्देशक नारायण ढकालका अनुसार कागेजात सहित ३ दिन भित्र उपस्थित हुन फ्रेस हाउस सञ्चालकलाई निर्देशन दिइएको छ । मुल्य बढि तिर्नुपर्ने, बिल कमको लिनुपर्ने खाद्य उत्पादन कम्पनी र ठूला डिलरहरुले साना डिलर तथा खुद्रा विक्रेतालाई धेरै मूल्य लिएर कम रकमको बिल दिने गरेको पाइएको छ । व्यवसायीका अनुसार चिनी प्रति बोराको मुल्य ६ हजार देखि ६१०० रुपैयाँ सम्म लिएर ५२०० रुपैयाँको बिल दिने गरेको पाइएको हो । जसका कारण उपभोक्तालाई आफूहरुले महंगोमा चिनी बेच्नु परेको साना व्यवसायीले गुनासो गरेका छन् । निकी टेर्डसका सञ्चालक किरण कुमार जिसीले आफूहरुले किने अनुसारको बिल नपाउँदा धेरै मार्जिन राखेजस्तो देखिएको गुनासो गरे । ‘उत्पादक कम्पनी र ठूला होलसेल पसलेले लिनेभए यतिमा लिनुस बिल यतिको आउँछ भन्छन् ।’ उनले भने, ‘सबै व्यवसायी यसैको मारमा छौं । कसलाई के भन्नु, यहाँ धेरैजसो सामानको बिल थोरै लिएर पैसा धेरै तिर्नु परिरहेको छ ।’ किनेको मूल्यलाई समेत मध्येनजर गरेर २० प्रतिशत मात्र नाफा देखिनेगरी कारोबार गर्नुपरेको उनले सुनाए । उनले आफूले १२० रुपैयाँ प्रति किलो चिनी बेच्ने गरेको जानकारी दिए । तर, व्यवसायीलाई १२५ रुपैयाँ प्रतिकिलो चिनीको मूल्य लिनु पर्ने बाध्यता सुनाए । पर्यटन, उद्योग, बाणिज्य तथा उपभोक्ता हित निर्देशनालय पोखराका निर्देशक नारायण ढकालले जति मूल्य तिरेको हो त्यति नै बराबरको बिल लिनुपर्ने बताए । त्यसो नगरेको प्रमाणित भए कानून अनुसार कारबाही हुने समेत उनले जानकारी दिए । पर्यटन उद्योग बाणिज्य तथा उपभोक्ता हित निर्देशनालय पोखराका निर्देशक ढकालको संयोजकत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि, खाद्य कार्यालय कास्कीका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधि, गुणस्तर तथा नाप तौल कार्यालयका प्रतिनिधि र संञ्चारकर्मीको सहभागिता थियो ।
पोखरा: लामो समय देखी अव्यवस्थित पोखरा बसपार्कको व्यवस्थापन कार्य पोखरा महानगरपालिकाले सुरुवात गरेको छ । हिलाम्य हुने बसपार्कको प्रवेशद्वार ढलान गरिएको छ भने छेउछाउमा रेलिङ निर्माण गरिएको छ । बसपार्क भित्र रहेका यातायात व्यवसायीहरूका काउन्टर तथा ग्यारेज र अटो पार्टसका पसलहरू हटाइएका छन् । बसपार्कको पश्चिमतिरको भागमा ग्राभेल गरी सम्म्याउने काम भइरहेको छ । बसपार्कमा लामो समयसम्म पर्खाइमा बस्ने गाडीहरूको पार्किङका लागि वैकल्पिक स्थानको व्यवस्थापन गरिएको छ । बसपार्कलाई तत्काल अल्पकालीन र बिस्तारै दिगो रूपमा व्यवस्थापन गर्ने गरी योजना अघि बढाइएको महानगरको यातायात व्यवस्थापन समितिका संयोजक अमृत शर्मा तिमिल्सीनाले बताउनुभयो । उहाँका अनुसार पोखरा बसपार्क तत्काल व्यवस्थापनको विकल्प छैन । यसलाई बिस्तारै व्यवस्थापन गर्दै अतिक्रमित बसपार्कको पुरै जमिनमा बसपार्क बनाउनु पर्दछ । बसपार्कको समस्या निकै लामो समयदेखिको समस्या भएको उहाँले बताउनुभयो । यसको व्यवस्थापनमा कयौँ चुनौतीहरू रहेका भए पनि महानगरपालिका यस कार्यका निरन्तर लागिरहेको उहाँले बताउनुभयो । नगरप्रमुख धनराज आचार्यका अनुसार पर्यटन राजधानीका रूपमा घोषणा हुने अन्तिम तयारीमा रहेको पोखरामा व्यवस्थित सिटी बसपार्क निर्माण गरिनेछ । बसपार्कको जमिनमा बसिरहेका वास्तविक भूमिहीनहरूको उचित व्यवस्थापन गरी बसपार्कका लागि छुटाइएको अधिकतम जमिनमा व्यवस्थित बसपार्क निर्माण गर्ने योजनामा आफूहरू रहेको उहाँले बताउनुभयो । मुलुक कै दोस्रो ठुलो सहर पोखरा सातै प्रदेशको यातायात सञ्जालसँग जोडिएको छ । पोखराबाट साना तथा ठुला गरी दैनिक हजारौँ सवारीसाधानहरु देशभरिका लागि छुट्ने गर्दछन् ।
पोखरा: नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् । एमाले गण्डकी प्रदेश अध्यक्षका प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई १ सय ६६ मतले पराजित गर्दै नवराज अध्यक्ष निर्वाचित भएका हुन् । नवराजले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भएका छन् । गुरुङले ५ सय ३४ र उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे । सचिवमा लमजुङका धनजन्य दवाडीले ५ सय २० मत लिएर विजयी भए । सचिवका अर्का उम्मेदवार कास्कीका रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरे । उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उनका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याए । उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारीले ५ सय ३१ मत लिएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत ल्याइन् । ३३ वटा विद्युतिय मेसिन मार्फत भएको मतदानमा ८ सय ९६ मत खसेको थियो १० जना अनुपस्थित भएका थिए ।

