सर्वोच्च अदालतमा पारिवारिक विवाद सम्बन्धी मुद्दामा सुनुवाइ गर्न छुट्टै इजलास गठन भएको छ। सोमबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक विवादका मुद्दाको सुनुवाइ गर्ने इजलासको शुभारम्भ गरेका हुन्। प्रधान न्यायाधीशले आफ्नो संसदीय सुनुवाईको क्रममा अदालतमा पारिवारिक विवादका मुद्दाको सुनुवाइ गर्न छुट्टै इजलासको व्यवस्था गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए। सोही कार्ययोजना अनुसार सर्वोच्च अदालत मुद्दा व्यवस्थापन समितिको निर्णयबाट आजदेखि त्यस्ता मुद्दाहरूको मात्रै सुनुवाइ गर्न २ वटा छुट्टै इजलास सुरू गरिएको हो। परिवारिक इजलासबाट हाललाई महिला वादी भएका लगाउ नभएका अंश, नाता कायम, घरेलु हिंसा र बालवालिकाको संरक्षक भई दायर भएका अंश, विशेष हेरचाह लगायत बालवालिकाको हितसँग सम्बन्धित देवानी प्रकृतिका मुद्दाहरुको सुनुवाई हुने बताइएको छ। इजलासको आरम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले संसदीय सुनुवाइ समितिमा पेश गरेको कार्ययोजना अनुसार पारिवारिक इजलास स्थापना हँदा खुशी मिलेको बताए। उनले महिला वादी भएका मुद्दा, अंशमुद्दा, नाता कायम, घरेलु हिंसा र बालबालिकासम्बन्धी मुद्दालाई चाँडै टुंग्याउन इजलास स्थापना गरिएको बताए। ‘अब महिलाहरूका लागि छिटोछरितो र भरोसा गर्न सक्ने न्याय हुनेछ भन्नेमा विश्वस्त छु,’ उनले भने साथै सो इजलासमा काम गर्ने जोसुकै न्यायाधीशले यसको उद्धेश्य बुझेर काम गर्न आग्रह गरेका छन्। काठमाडौं उपत्यकामा अरु जिल्लामा पनि पारिवारिक इजलास स्थापना गर्ने लक्ष भएको पनि उनले बताए।
पोखरा: पोखरा ९ न्यूरोडस्थित रिडर्स कर्नरमा किताब मेला शुरू भएको छ। नयाँ तथा पुराना किताब खरिदमा विशेष छुटसहित किताब मेला शुरू भएको हो। रिडर्स कर्नरका सञ्चालक विजय भण्डारीले असोज २१ गतेदेखि कात्तिक ४ गतेमसम्म किताब मेला चल्ने जानकारी दिए। हरेक वर्ष जस्तै, रिडर्स कर्नरमा किताब विशेष चाड बनाउनका लागि किताब मेला शुरू गरिएको भण्डारीको भनाइ छ। “रिडर्स कर्नरमा यसअघिका वर्षमा पनि किताब मेला हुँदै आएको छ। यो छैटौँ किताब मेला हो,” उनले भने, “चाडबाडलाई किताब विशेष बनाऔँ भनेर किताबप्रेमीलाई केही सहुलियतसहित किताब मेला शुरू गरेका छौँ।” भण्डारीका अनुसार किताब खरिद गर्दा विभिन्न छुटको व्यवस्था छ। १९ सय ९९ रूपैयाँको किताब खरिद गर्दा १० प्रतिशतसम्म छुट, २ हजारदेखि ३४ सय ९९ रूपैयाँसम्मको किताब खरिद गर्दा १५ प्रतिशत छुट पाइनेछ। ३५ सयदेखि ४९ सय ९९ रूपैयाँसम्मको किताब खरिद गर्दा २० प्रतिशत छुट र लक्की ड्र मार्फत एउटा किताब सित्तैमा पाइनेछ। यस्तै, ५ हजार रूपैयाँभन्दा धेरैको पुस्तक खरिद गर्दा २५ प्रतिशत छुट र २ वटा किताब सित्तैमा पाइनेछ। पुस्तकालयले किताब खरिद गर्दा १० हजारदेखि २५ हजार ९९९ नेपाली साहित्यको किताब खरिदमा २० प्रतिशत र अँग्रेजी किताब खरिद गर्दा १५ प्रतिशतसम्मको छुट पाइनेछ। २६ हजारदेखि ४९ हजार ९९९ रूपैयाँसम्मको नेपाली साहित्यको किताब खरिद गर्दा २५ प्रतिशत र अँग्रेजी साहित्यको किताब खरिद गर्दा २० प्रतिशत छुट पाइनेछ। ५० हजारदेखि माथिको नेपाली साहित्यको किताब खरिदमा ३० प्रतिशत र अँग्रेजी साहित्यको किताब खरिद गर्दा २५ प्रतिशत छुट पाइनेछ।
काठमाडौं: अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन मोरक्कोको माराकेश प्रस्थान गरेका छन् । ९ अक्टोबरदेखि १५ अक्टोबरसम्म हुने बैंकको बैठकको मूल नारा ‘ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्ट’ भन्ने रहेको छ । बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सृजनालगायत विश्वव्यापी चासोका विषयहरूमा छलफल हुने भएको छ । विश्व बैंकको मूल कार्यक्रमसँगै अन्तर्राष्ट्रिय वित्त निगम ९आईएफसी० का एसिया प्यासिफिक हेर्ने उपाध्यक्ष रिकार्डो पुलितीसँग अर्थमन्त्री महतले नेपालमा निजी लगानीको सम्भाव्यता विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ । त्यसैगरी यूएसएआईडीसँग नेपाल र अमेरिकाबीचको विकास साझेदारीका विषयमा छलफल हुने बताइएको छ । सहुलियतपूर्ण वित्तीय व्यवस्थामा पहुँच सम्बन्धी जोखिम तत्वको विषयमा छलफल, बिल एण्ड मेण्डिला गेट्स फाउण्डेसनसँग सार्वजनिक डिजिटल पूर्वाधारका माध्यमबाट समावेशी एवम् चुनौतीसँग जुध्न सक्षम आर्थिक विकासका सम्बन्धमा छलफल, दक्षिण कोरियाका उपप्रधानमन्त्रीसँग साइडलाइन वार्ता गर्ने अर्थमन्त्री महतको कार्यसूची रहेको छ । त्यसैगरी अर्थमन्त्री महतले स्ट्यान्डर्ड एण्ड चार्टर्ड बैंक एवम् क्रेडिट रेटिङ सम्बद्ध संस्था फ्लिच रेटिङका प्रतिनिधीसँग नेपालको रेटिङ सम्बन्धमा साइडलाइन वार्ता गर्ने अर्थमन्त्री महतको सचिवालयले जनाएको छ।अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रतिनिधिसँग संयुक्त रूपमा क्षेत्रीय आर्थिक परिदृष्य सार्वजनिक हुनुका साथै सो संस्थाको दिगो एवम् प्रतिरोधी ट्रष्ट समूहसँग समेत अर्थमन्त्री महतले वार्ता गर्नेछन् । विश्व बैंकको कोष समूहसँग भावी वित्तीय द्वारहरूका विषयमा वार्ता हुने, अन्तर्राष्ट्रिय विकास संघ ९आईडीए० का उपाध्यक्षसँग द्विपक्षीय वार्ता हुने र बहुपक्षीय लगानी सुरक्षण एजेन्सी ९एमआईजीए०का उपाध्यक्षसँग द्विपक्षीय वार्ताको कार्यक्रम तय भएको छ । उक्त बैठकमा अर्थ मन्त्रालयबाट अर्थमन्त्री महत, अर्थसचिव डा। कृष्णहरी पुष्कर, अन्तर्राष्ट्रिय विकास सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल, उपसचिव डा। नारायण ढकाल र अर्थमन्त्रीका निजी सचिव होम पराजुली सहभागी छन् । बैठकमा विश्वभरका १८९ देशका अर्थ तथा विकास मन्त्रीहरू, केन्द्रीय बैंकरहरू, निजी क्षेत्रका अधिकारीहरू, नागरिक समाज, सञ्चारमाध्यम र प्राज्ञिकहरूको सहभागिता रहनेछ ।
सल्यान: घरायसी विवादमा आफ्नै सासु ४९ वर्षीया गणेसी रोकाको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । सल्यानको सिद्धकुमाख गाउँपालिका–४ खार्बन बस्ने शर्मिला बुढाथोकीलाई आफनै सासुको हत्या आरोपमा पक्राउ गरिएको हो । गणेसी गत असोज १५ गते दिउँसोदेखि बेपत्ता थिइन् । बेपत्ता भएपछि सासुको खोजी गर्ने क्रममा आफ्नै घरको भकारीभित्र असोज १८ गते बिहान शव फेला परेको थियो । घटनाका सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले थप अनुसन्धानको क्रममा गणेसीको हत्यामा शर्मिलाको संलग्नता खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । उक्त दिन उनीहरूबीच धान बारीमा विवाद भएको र घर फर्किएपछि पुनः विवाद हुँदा शर्मिलाले दाउराले पटक पटक टाउकोमा प्रहार गरी पुनः सलले घाँटी कसी हत्या गरेको बताइएको छ । घटना लुकाउने उद्देश्यले कोठामा लत्पतिएको रगतसमेत लुकाउन लिपपोत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । शर्मिलामाथि जिल्ला अदालत सल्यानबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाण्डौ: परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले इजरायलमा जारी पछिल्लो द्वन्द्वमा परी ज्यान गुमाएकाको शव यथाशीघ्र ल्याउने निर्णय गरेको छ । त्यसका लागि इजरायली पक्षसँग समन्वय गर्ने निर्णय बैठकले गरेको हो । शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय पनि भएको छ । यस्तै, इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय पनि गरिएको छ । सरकारले हिजो परराष्ट्रमन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो । संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपाली नागरिकको अवस्था पहिचान र उद्धार गर्नुपर्ने अवस्थामा कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कामहरु गर्ने छ । इजरायलको किबुज अलुमिम भन्ने ठाउँमा हमास समूहको आक्रमणबाट १० जना नेपालीको ज्यान गएको छ । चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । साथै, सम्पर्कविहीन रहेका एक जना नेपालीको खोजी कार्य भइरहेको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।
काठमाडौं: इजरायलबाट कास्की अन्नपूर्ण २ घर भएका सुरज भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेख्दै उद्दारको पहल गरिदिन आग्रह गरेका छन् । उनले प्रधानमन्त्रीलाई पत्र लेख्दै उद्धारमा पहल गरिदिन आग्रह गर्दै ‘आकाशमा चरा उडेको देखेको हामी, आज मिसाईल र फाइटर हेर्न बाध्य भएको उल्लेख गरेका छन् । विद्यार्थी सुरज भण्डारीले प्रधानमन्त्रीलाई लेखेको पत्र यस्तो छ– प्रधानमन्त्रीज्यू, हाम्रो आत्मबल घटेको छ, सपनाको संसार भत्किँदै गइरहेको छ, हामीलाई देश आउने वातावरण बनाइदिनुहोस सुरज भण्डारी कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्नातक सकिने लागेका विध्यार्थीहरु (११४) जना अहिले हामी इजरायल र हमासको इन्दको चपेटामा फसेका छौँ । ११ महिनामा यस देशबाट केही सिप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किदै गइराखेको छ । हाम्रो आत्माबल घट्टै गइराखेको छ, हामी मानसिक तनावमा पुग्न आटिसकेका छौं अब धेरै सोच्ने परिस्थिती पनि बाँकी रहेन । आकाशमा चरा उडेको देखेको हामी, आज मिसाईल र फाइटर प्लेन देख्नुपरेको छ । तिहारमा पटका खुशिका साथ रमाउदै हेरेका हामी आज आफू अगाडि बन्दुक पड्किराखेको देखेर त्रसित छौँ । बंकरमा लुक्यो भने बंकर भित्र नै छिरेर आक्रमण भइराखेको छ । हामी हाम्रा सुदुरपश्चिम विश्वविद्यालयका सहपाठी साथीको निधनले छाती चिरिएको छ । हामी स्तब्ध छौ, हमलामा पर्यो भने गोली निल्नेको अर्को विकल्प केही पनि छैन । लुकेर बसेका हामीहरु खाना र पानीको समस्यामा जुध्नुपरेको छ । नखाउँ भने भोक र प्यास लाग्छ, खाउँ भने बाहिर शौचालय जान डर लाग्छ । आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर भइराखेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्ध यत्तिकै रोकिने अवस्था पनि छैन । यो युद्ध लामो छ । हामीलाई भर्खरै हाम्रो देश फर्कन मन छ । आदरणीय प्रधानमन्त्रीज्यू, अबको हाम्रो आशा पनि तपाईँ नै हो, भरोसा पनि तपाईँ नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन, हामीलाई हाम्रो देश आउने वातावरण मिलाईदिनुहोस हामी देशमा नै रमाउनेछौं । हामी नेपालको ‘३’ विश्वविद्यालयबाट यहाँ छौ । १ कृषि तथा वन विज्ञान विश्वविद्यालय २ त्रिभुवन विश्वविद्यालय ३ सुदुरपश्चिम विश्वविद्यालय सँगसँगै यहा अन्य विद्यार्थीहरू र नेपाली नागरिक हुनुहुन्छ, छिटो भन्दा छिटो नेपालको सरकार र प्रधानमन्त्रीको प्रत्याभुति तपाईंले अवश्य गराउनुहनेछ । यो हाम्रो तपाईप्रतिको विश्वास हो, यही विश्वासमा नै हाम्रो सास अडिएको छ । युद्धको चपेटामा परेको नेपाली सुरज भण्डारी कृषि तथा वन विज्ञान विश्वविद्यालय (हाल ठेगाना) – Kadesh Barnea, Israel ±972512825166 (नेपाली ठेगाना) – अन्नपूर्ण गा।पा – २ कास्की
नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले विद्यालय शिक्षा विधेयक २०८० माथि १५ बुँदे धारणा सार्वजनिक गरेको छ। नेविसंघ केन्द्रीय समितिले देशभरबाट विधेयकमाथि सुझाव माग गरी १५ बुँदे धारणा सार्वजनिक गरेको हो। विधेयकमा राखिएका प्रावधानहरू विद्यार्थी केन्द्रित नभएकोले अपूर्ण र अपुष्ट रहेको नेविसंघले निष्कर्ष निकालेको अध्यक्ष दुजाङ शेर्पा बताउँछन्। विधेयकमाथि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल भइसकेको छ। विधेयक विचार गरियोस् भन्ने प्रस्ताव आइतबार सर्वसम्मतिले पारित भएसँगै संशोधन गर्न तीन दिनको समय पनि दिइएको छ।
पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसिबी पुरिँदा चालकको मृत्यु भएको छ । रामपुर नगरपालिका–१० बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा२क १९५७ नम्बरको जेसिबी टोक्से भन्ने स्थानमा सडकमाथिबाट अचानक सुक्खा पहिरो झर्दा जेसिबी चालक दाङ शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनालगत्तै प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले घाइते खड्काको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पा पठाएकामा उपचारकै क्रममा गए राति घाइते खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अधुरा र अलपत्र आयोजनाको समस्या सल्ट्याउन जोड दिएको छ । मन्त्रालयले गण्डकी प्रदेशका ११ वटा जिल्लामा लामो समयदेखि निर्माण रोकिएका र ढिलासुस्ती भएका सडक, पुल, झोलुङ्गे पुल र भवनसम्बन्धी योजनाको समस्या पहिचान गरी गति दिन पहल सुरु गरेको हो । मन्त्रालयका सचिव शङ्करराज पण्डितले समस्याग्रस्त योजनाको स्थलगत निरीक्षणका साथै प्राविधिक, निर्माण व्यवसायी, जनप्रतिनिधि, सुरक्षा अधिकारी र समुदायसँग छलफल गरेर निर्माणलाई गति दिन पहल गरिएको जानकारी दिनुभयो । मन्त्री रेशमबहादुर जुग्जाली, सचिव पण्डित, मन्त्रालयका पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ डिभिजन इन्जिनियर लक्ष्मीप्रसाद भण्डारीसहितको टोलीले लमजुङ र गोरखाका समस्याग्रस्त योजनाको निरीक्षण गर्नुभयो । सचिव पण्डितले भन्नुभयो, “समस्याग्रस्त आयोजना पहिचान गरेर समस्या सल्टाउन मन्त्रालय तहबाटै पहल थालेका छौँ । सहजीकरण गरेर रोकिएका आयोजनाका निर्माण व्यवसायीलाई काममा फर्काउने र पूर्णता दिने मन्त्रालयको नीति छ । सहजीकरण गर्दा पनि काम नगर्ने निर्माण व्यवसायीलाई प्रक्रिया पूरा गरेर कालो सूचीमा राख्ने, ठेक्का तोड्ने र नयाँ प्रक्रियाबाट निर्माणलाई पूर्णता दिन्छौँ।” गोरखाको राधाकृष्ण मन्दिर–कमलटार–पौवाटार–बिरुवाटार–मिलनचोक–मजुवा सडक स्तरोन्नतिको काम २०७८ साल असारमा सम्पन्न हुनुपर्ने थियो । २०७६ साल असारमा २३ करोड ३८ लाख ८७ हजार २४५ रुपियाँमा ठेक्का सम्झौता भएको करिब १० किलोमिटर दूरीको सडक अलपत्र अवस्थामा छ । पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले आक्सपाल्ट प्रविधिको कालोपत्रे गर्न एमएस अमर कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको यो सडकको हालसम्मको भौतिक प्रगति आधा मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ठेक्का ओगटेर बस्ने, सुस्त रूपमा काम गर्ने र योजनालाई वर्षौंसम्म पूरा नगर्ने समस्या छ ।” नारेश्वर–पाणिनी–चौतारा–निबेल–ताकुकोट १० किलोमिटर दुरीको सडक दोस्रो पटक थपिएको म्याद अनुसार पनि २०८० साल असारसम्म निर्माण सक्नुपर्ने थियो । प्रिमिक्स प्रविधिको कालोपत्रे गर्न एमरएस अमररगणेश जेभी काठमाडौँले २३ करोड ७५ लाख ५७ हजार ८०२ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो। बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले सडक निर्माणमा भएको ढिलासुस्तीका कारण यातायात सञ्चालन गर्न समस्याका साथै दुर्घटनाको जोखिम बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण सामग्रीको व्यवस्थापनदेखि स्थानीयस्तरमा सबै सहजीकरण गरिदिँदा समेत निर्माण व्यवसायीले बेवास्ता गरेका छन् ।” धेरैजसो आयोजना निर्माणमा ढिलासुस्ती हुनुको प्रमुख कारण निर्माण व्यवसायी व्यावसायिक बन्न नसक्नु र गैरजिम्मेवार देखिएको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताउनुभयो। नदीजन्य निर्माण सामग्रीको अभाव, निर्माण व्यवसायीले पर्याप्त उपकरण र जनशक्ति परिचालन गर्न नसक्नु, सहजीकरण तथा समन्वयको कमी, विपत्, सामाजिक र भौगोलिक कारणले पनि आयोजना निर्माणमा असर परेको उहाँले बताउनुभयो। मन्त्री जुग्जालीले भन्नुभयो, “गत वैशाखमा गण्डकी प्रदेश सरकारका समस्याग्रस्त आयोजनाको सङ्ख्या ४७ वटा थिए । असारसम्ममा १७ वटामा झारेका छौँ । प्रदेशका योजनामा बजेटको अभाव छैन। काम गरेका निर्माण व्यवसायीलाई भुक्तानीको व्यवस्था मिलाएका छौँ। काम हुन नसक्ने योजनालाई पहिचान गरेर व्यवसायीलाई कारबाही र निर्माणको कामलाई नयाँ प्रक्रियाबाट अघि बढाउने तयारीमा छौँ ।” एमएस बिरुवारवाइबारलामा जेभीका प्रतिनिधि कमल कार्कीले कमजोर भूगोल, मूल्यवृद्धि, ढुङ्गा, गिट्टी र बालुवाको असहजता तथा पर्याप्त बजेटको व्यवस्था नहुँदा योजना निर्माणमा ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दसैँअघि बाँकी संरचनाको काम सक्ने गरी सडक मर्मत गरेर यातायात सञ्चालन सहज बनाउने तयारीमा छौँ । चालु आर्थिक वर्षभित्रमै यो सडक कालोपत्रे गरिसक्ने कार्ययोजना बनाएका छौँ । ठेक्का सम्झौताको म्याद थपमा देखिएको अन्योलले अलमलिएका हौँ ।” नारेश्वर–ताकुकोट सडक आयोजनाको ठेकेदार कम्पनी अमररगणेश जेभीका साइट इन्जिनियर सन्तोष गौतमले बर्खामा भत्किएको सडक मर्मतको तयारी गरेको र बर्खा रोकिएलगत्तै निर्माणलाई तीव्रता दिने प्रतिबद्धता जनाउनुभयो।

