पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

अछाम:   नेकपा (माओवादी केन्द्र)ले थालेको तीनमहिने विशेष रूपान्तरण अभियानका क्रममा अछाम पुगेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डिलाराम आचार्य एक्कासि बिरामी परेका छन्। अछामको बयलपाटा अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज पुर्‍याइएको प्रदेश पार्टी सचिव जनक बुढाले जानकारी दिए ।  प्रदेश पार्टी सचिव बुढाका अनुसार नेता आचार्यको स्वास्थ्यमा अचानक समस्या देखिएपछि मङ्गलबार साँझ अछामको बयलपाटा अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको हो । ‘‘आचार्यलाई प्यारालाइसिस भएको छ, जसले गर्दा आचार्य बोल्न सकेका छैनन् । अरु अवस्था सामान्य रहेको बताइएको छ ।’’ पार्टी सचिव बुढाले भने । तीन महिने विशेष रूपान्तरण अभियानअन्तर्गत जनतासँग माओवादी भन्ने अभियानको नेकपा (माओवादी केन्द्र) अछामको आवधिक जिल्ला समीक्षाको लागि एक दिनअघि मात्रै डडेल्धुरा, बैतडी हुँदै आचार्य अछाम जिल्ला पुगेका थिए । 

नवलपरासी: अविरल वर्षासँगै खसेको पहिरोको कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।   नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा खसेको पहिरोको कारण कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।   बुलिङटार गाउँपालिका–१ रातबीसेमा खसेको पहिरोको कारण गए रातिदेखि कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो । पानी परिरहेकाले तत्काल पहिरो पन्छाएर गाडी सञ्चालन गर्न कठिन रहेको उहाँले बताउनु भयो ।    कालीगण्डकी करिडोर पहिरोको कारण अवरुद्ध भएसँगै यस खण्ड भएर चल्ने गाडी सञ्चालन हुनसकेका छनैन् । यस खण्ड हुँदै गैँडाकोटबाट नवलपुरको बुलिङटार, बौदीकाली, पाल्पाको रामपुर, तनहुँ, पोखरा, स्याङ्जालगायत ठाउँका लागि गाडी सञ्चालन हुने गर्दछन् ।   निरन्तरको झरीले जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडकमा समेत  विभिन्न ठाउँमा क्षति पुर्याएकाले गाडी आवागमन कठिन बनेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । 

काठमाडौं:    सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर मङ्गलबारदेखि आज बिहानसम्म चार रेक्टर स्केलभन्दा माथिका ११ भूकम्प गइसकेको राससलाई जानकारी दिनुभयो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोस्रोपटक ३:०६ बजे बझाङको जिल्ला सदरमुकाम चैनपुर भएर छ दशमलव तीन रेक्टरस्केल, ३:१३ बजे चैनपुर केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरस्केल, ३:४५ बजे सुरमा केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो । यस्तै ४:२८ बजे तालकोट केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केल, ४:३१ बजे सुवेडा केन्द्रविन्दू भएर चार दशमलव तीन रेक्टर स्केल, ५:१९ बजे सेली केन्द्रविन्दु भएर पाँच रेक्टर स्केल र ५:३८ बजे दामेना केन्द्रविन्दु भएर पाँच रेक्टर स्केलको भूकम्प गएको सो केन्द्रले जनाएको छ । यसैगरी गयराति १२:१६ बजे दामेना केन्द्रविन्दू भएर चार दशमलव एक, १२:५० बजे तालकोट केन्द्रविन्दु भएर चार दशमलव तीन र आज बिहान ५:४३ बजे चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो । केन्द्रका भूगर्भविद् डा लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जानसक्ने बताउनुहुन्छ । “विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो ठाउँमा उक्त क्षेत्रमा भूकम्प जान थालेको छ”, उहाँले भन्नुभयो । यसअघि गत कात्तिकमा डोटी केन्द्रविन्दु भएर पाँच दशमलव सात रेक्टरस्केलको भूकम्प गएको थियो । उहाँले सुदूरपश्चिम क्षेत्रमा अझै केही दिन पराकम्पन आउने बताउनुभयो ।

काठमाण्डौ: केही दिनयता लगातार घटेको सुनको भाउ आज भने बढेको छ ।   आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको छ । सुनको भाउ हिजो तोलामा एक लाख ६ हजार ६ सय रुपैयाँ थियो ।आज चाँदीको भाउ भने स्थिर छ ।   चाँदी हिजो जस्तै तोलामा एक हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।   

जनकपुरधाम:   नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल गर्नुभएको छ ।   समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अशान्ति मच्चाउने मनसायले देशका विभिन्न भू–भागमा सामाजिक सद्भाव प्रतिकूलका क्रियाकलाप भइरहेकाप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संविधानविरोधी काममा नलाग्न सबैलाई आग्रह गर्नुभयो ।    “अहिले सामाजिक सद्भाव खल्बल्याउने मनासायले विभिन्न धर्म, सम्प्रदाय र परम्पराका नाममा फाटो ल्याउने काम भइरहेका छन् । धरान, सर्लाहीको मलङ्गवा र नेपालगन्जमा त्यही मनसायका साथ भइरहेका क्रियाकलापले हामीलाई चिन्तित बनाएको छ”, अध्यक्ष नेपालले भन्नुभयो, “यी कदमहरू जुनसुकै नाममा र आवरणमा भए पनि सदियौँदेखि मिलेर बसेको समाज र नेपालको संविधानको मर्मविरुद्धमा छन् । यसले एकता खल्बल्याउने र प्रतिगमनलाई प्रश्रय दिने काम हुन थालेको छ । त्यसैले हामी सबै नेपाली एक हौँ भन्ने भावनाका साथ मिलेर बस्न सबैलाई अपिल गर्दछु ।”   पार्टीले सञ्चालन गरेको ‘समाजवादी जागरण अभियान–२०८०’ का क्रममा जनकपुरधाम पुग्नुभएका अध्यक्ष नेपालले विभिन्न नाममा देखिन थालेका निराशा एवं आक्रोशलाई सम्बोधन गर्न समाजवादी नीति, कार्यक्रम, योजना, बजेट र क्रियाकलापको विकल्प नरहेको बताउनुभयो । राजनीतिक क्रान्ति सफल भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न बाँकी रहेको उल्लेख गर्दै उहाँले समाजवादका मूल्य, मान्यतालाई आत्मसात गर्दै नेपालको संविधानमा सहमतिका साथ लिपिबद्ध गरेको प्रतिबद्धताप्रति सबै इमानदार बन्नुपर्ने धारणा राख्नुभयो ।   “राजनीतिक परिवर्तन त भयो । तर देशको आवश्यकता र जनचाहना सम्बोधन गर्न आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका समाजवादी नीति, कार्यक्रम दिनसकिएको छैन । पर्याप्त रोजगारी र सुशासनमार्फत समृद्धि हासिल गर्ने कुरामा हामी चुकिरहेका छौँ । सबैका लागि राज्य भन्ने मान्यतालाई स्थापित गर्न धेरै काम गर्नुपर्ने छ । सही राजनीतिक दृष्टिकोण र विचारले मात्रै समकालीन समस्याबाट निकास दिनसक्छ । त्यसैले म सबै राजनीतिक दल र परिवर्तन पक्षधरहरूलाई वर्तमान निराशालाई चिर्ने गरी काम गर्न आग्रह गर्दछु ।”   फरक प्रसङ्गमा अध्यक्ष नेपालले नेपाली कांग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने भन्दै वर्तमान गठबन्धनले सहमतिका आधारमा आफ्नो कार्यभार पूरा गर्नेसमेत स्पष्ट पार्नुभयो । “वर्तमान सरकारले राम्रा काम गर्न खोजे पनि पर्याप्त भएन । त्यसैकारण सरकारलाई दबाब, सुझाव र सहयोग गरी अगाडि बढ्न सबैले इमान्दार प्रयत्न गर्न जरुरी छ । त्यसमा हाम्रो पार्टी प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।     एकीकृत समाजवादीले यही असोज १४ गतेदेखि झापाको मेचीनगरबाट ‘समाजवादी जागरण अभियान–२०८०’ सुरु गरेको छ । यो अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने छ । ‘रोजगारी, समृद्धि र सुशासन’को नाराका साथ सुरु भएको अभियानका क्रममा पूर्वमेचीबाट पश्चिम महाकालीसम्म पुगेर समृद्धि र समाजवादका बारेमा जागरण ल्याउने अभिप्राय रहेको अध्यक्ष नेपालको भनाइ छ ।   समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशका अध्यक्ष प्रवीण साहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पार्टीका महासचिव घनश्याम भुसाललगायत नेताको समेत उपस्थिति थियो । रासस

स्याङ्जा:   बडा दशैंको अवसरमा स्याङ्जाको पुतलीबजार नगरपालिका ६ टक्सारमा ‘प्रथम खुल्ला भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ ।   ‘समाजका लागि युवा, युवाका लागि खेलकुद’ भन्ने मुल नारासहित माछापुच्छ्रे युवा क्लबले खुल्ला भलिबल र छेलो प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।   उनका अनुसार प्रतियोगिता आगामी कार्तिक १ गतेदेखि ३ गतेसम्म संञ्चालन हुने छ । भलिबल प्रतियोगितातर्फ प्रथम हुने टोलीलाई रु ५० हजार नगदसहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरिनेछ ।   त्यसैगरी, दोस्रो हुने टोलीले रु ३० हजार नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।   प्रतियोगिताबाट उत्कृष्ट हुने खेलाडीलाई रु ३ हजारले पुरस्कृत गरिने उनले बताए ।   यस्तै छेलोतर्फ प्रथम हुनेलाई ५ हजार सहित मेडल तथा प्रमाणपत्र र द्वितियलाई ३ हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।   खेलकुदको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन गर्न र खेलकुद विकासको लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।  

काठमाण्डाै:  आज विश्व पशु दिवस, ‘ठूलो वा सानो, हामी सबैलाई माया गर्छौँ’ भन्ने मुख्य नाराका साथ विश्वभर मनाइँदैछ ।   नेपालमा पनि जनावर संरक्षणका लागि चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । दिवस मनाउनुको मुख्य उद्देश्य संसारभर रहेका सबै जनावरको अवस्था सुधार र सुधारका लागि प्रयास गर्नु हो ।   विश्व पशु दिवसमार्फत् पशु कल्याणका लागि मानिसलाई सचेत गराउनु हो । सन् १९२५ मा बर्लिनमा हेनरिक जिम्मरम्यानले उत्सव नै आयोजना गरेका थिए । त्यसपछि वर्षमा एक दिन विश्वव्यापी कार्यक्रमको रूपमा पशुलाई सम्मान गर्ने गरिन्छ ।   नेपालमा विभिन्न जनावरलाई देवीदेवताको रुपमा पुज्ने चलन छ । तिहारका पाँच दिन काग, कुकुर, गाई/गोरुलाई पूजा गरिन्छ । पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई सन्तुलित बनाउन पनि जनावरको योगदान महत्त्वपूर्ण मानिन्छ ।

धादिङ:  धादिङमा ट्रकको ठक्करबाट ट्युसन पढ्न हिँडेका २ बालकको मृत्यु भएको छ।   काठमाडौंबाट चितवन जाँदै गरेको प्रदेश २-००१ ख  ६४१३ नम्बरको ट्रकले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ मजुवामा दुई बालकलाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो।   मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका-६ परेवाटारका १४ वर्षीय निर्मल श्रेष्ठ र १५ वर्षीय सञ्जिव श्रेष्ठ छन्।   धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार उनीहरु बिहान ट्युसन पढ्न जाँदै थिए। बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।   ट्रकका चालक रौतहटका अशोक बम्जन प्रहरीको नियन्त्रणमा रहेको एसपी मिश्रले जानकारी दिए।   घटनापछि मृतक बालकका आफन्तहरूले ‍सडक अवरूद्ध गरेका छन्। 

सिक्किम:  पूर्वोत्तर भारतकाे टिस्टा नदीमा अचानक ठूलो बाढी २३ जना भारतीय सैनिक बेपत्ता भएका छन् ।   टाइम्स अफ इन्डियाका अनुसार लाचेन उपत्यका क्षेत्रमा बुधबार अचानक नदीको सतह ह्वात्तै बढेको हो ।   चुंगथाङ ड्यामबाट ठूलो मात्रामा पानी निकास भएपछि नदीमा बाढी आएको हो। ड्याम रहेको क्षेत्रमा क्लाउड ब्रस्ट भएको बताइएको छ।   ड्यामको पानी नदीमा आएपछि नदीको सतह २० फिटसम्म बढेको छ। बाढीले सडक बगाएको छ भने अरू भौतिक संरचनामा पनि क्षति पुर्‍याएको छ।   टिस्टामा पानीको सतह बढेका भारतका तल्लो तटीय राज्यहरू र बंगलादेशमा पनि बाढी अलर्ट जारी गरिएको छ।