चीन: १९औं एसियाली खेलकुद (एसियाड) मा नेपालले महिला कबड्डीमा कम्तीमा कांस्य पदक पक्का गरेको छ । समूह ‘बी’ अन्तर्गत हाङझाउस्थित साओशन गुआली स्पोर्ट्स सेन्टरमा बुधबार इरानले बङ्गलादेशलाई ५४–१६ ले हराएपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा प्रवेश गर्ने टोलीले कम्तीमा कांस्य पदक सुनिश्चित गर्नेछ । महिला कबड्डीको समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा बङ्गलादेशलाई ३७–२४ ले हराएको थियो । दोस्रो खेलमा भने मङ्गलबार नेपाल साविक विजेता इरानसँग ४३–१९ ले पराजित भएको थियो । लगातार दुई जितसँगै इरान समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बङ्गलादेश बाहिरिएको छ । नेपालले महिला कबड्डीलाई पहिलो पटक एसियाडमा सहभागी गराएको हो । जारी एसियाडमा अन्य खेलमा पदकको सम्भावना क्षिण बन्दै जाँदा महिला कबड्डीले नेपालको पदक खडेरीलाई टारेको छ । सेमिफाइन र फाइनलमा समेत राम्रो गर्न सके नेपालले महिला कबड्डीबाट कांस्यभन्दा माथिको पदक समेत हात पार्नेछ । सात टोली सहभागी एसियाड महिला कबड्डीमा समूह ‘ए’ मा दक्षिण कोरिया, भारत, चाइनेज ताइपेइ र थाइल्यान्डले प्रतिस्पर्धा गरेका थिए । एसियाडमा नेपालबाट सहभागी २९ खेलमध्ये पदकको आशा गरिएको मार्सल आर्ट्स खेलहरु तेक्वान्दो, कराते, उशु, जुडो लगायतका खेलाडी पदकविहीन बनेको छ । नेपालले पदक आशा गरेको पुरुष क्रिकेटको सम्भवना पनि भारतसँग क्वार्टरफाइनलमा पराजित भएसँगै सकिएको छ । नेपालले अब कराते, डान्सिङ र कुस्तीका खेल खेल्न बाँकी छ । यि हुन् नेपाली महिला कबड्डी टोली मेनुका राजवंशी (कप्तान), अनुजा राई, जयन्ती बडु, गङ्गा घिमिरे, रविना चौधरी, अर्पना चौधरी, सिर्जनाकुमारी थारु, कलावती पन्त, इशा राई, सुनीता थापा, नितु गुरुङ र मनमती विष्ट ।
काठमाण्डौ: हिजोदेखि कर्फ्यु लागेको नेपालगञ्जको अवस्था सामान्य बन्दै गएको छ । प्रदर्शन रोकिएपछि अवस्था सामान्य बन्दै गएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । अहिले सडक सुनसान छ भने बजार तथा विद्यालय खुलेका छैनन् । दुई समुदायबीच तनाव सिर्जना हुने अवस्था देखिएपछि हिजो दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र कर्फ्यु लगाइएको हो । सरकार र विभिन्न सङ्घसंस्थाले जातीय र धार्मिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न सबैसँग आग्रह गरेका छन् । सरकारले सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन सूचना नराख्न पनि सचेत गराएको छ । आज दिउँसो सुरक्षा निकायको बैठक बसेर सुरक्षा अवस्थाबारे थप विश्लेषण गरी आवश्यक निर्णय हुने पनि सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो ।
काठमाडौं: प्रहरीले गौशाला घटनाका अभियुक्तलाई सार्वजनिक गरेको छ। सोमबार बिहान गौशालामा धारिलो हतियार प्रहार गरी साविर हुसेनलाई घाइते बनाएर फरार भएका अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गरेको हो। सोमबार बिहान ११ बजेर ४० मिनेटमा बारा कलैया नगरपालिका-२१ का ३८ वर्षीय साविर हुसेनलाई तिलगंगास्थित पिके डायगोनोस्टिक सेन्टर प्रालिमा धारिलो हतियार प्रहार गरी घाइते बनाइएको थियो। घटनापछि फरार रहेका रौतहटको वानियापुर गाउँपालिकाका ३७ वर्षीय सिकिलदेव सहनीलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा उनको संलग्नता पाइएपछि मंगलबार सार्वजनिक गरेको थियो। घटनास्थलमा कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली र चक्कु फेला परेको थियो। सहनीले घटनापछि कोटेश्वरबाट गौर जानका लागि टिकटसमेत काटिसकेको पाइएको छ।
पोखरा: बेगनास तालमा प्युठानका अनिल श्रेष्ठ मृत भेटिएका छन् । पोखरा महानगरपालिका ३१ अलैची कुना स्थित बेगनास तालमा एक पुरुषको शव तैरिरहेको सूचनापछि पुगेको प्रहरीले प्युठान घर भएका अनिल श्रेष्ठको भएको पुष्टि गरेको हो । श्रेष्ठले बोकेको झोला भित्र नागरिकता अनुसार प्युठान मलरानी गाउँपालिका ४ ठेगाना रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । श्रेष्ठको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्री अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
विराटनगर: धर्मगुरु भनिएका आचार्य श्रीनिवास पक्राउ परेका छन् । विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको हो । उनले केही दिन अगाडि गौहत्या गर्नेहरुलाई हत्या गर्न आव्हान गर्दै चर्को भाषण गरेका थिए । गौ हत्या गर्ने जो कोहीलाई हत्या गरेर आए त्यसको आफूले जिम्मा लिने उनको अभिव्यक्ति थियो । उनले हातमा खुकुरी बोकेर भनेका थिए, ‘गौहत्या गर्नेलाई हत्या गरेर कोही आउँछ भने उसको म सम्पूर्ण सुरक्षा गर्नेछु । राज्यले अपराधी करार गरेर समातेको खण्डमा म उसको सबै परिवारको पालन पोषण गर्छु ।’ आचार्यको उक्त अभिव्यक्ति सामाजिक संजालमा भाइरल भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले श्रीनिवासलाई नियन्त्रणमा लिएको बताए । श्री निवास यसअघि २०७६ सालमा आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका थिए ।
पोखरा: व्यवसाय र राजनीतिमा छलाङ मारेका ‘महेन्द्र भोटे’लाई कास्की प्रहरीले खोजी गरिरहेको छ । वास्तविक नाम शिव गुरुङ रहेको भोटे यसअघि प्रहरीको रेकर्डअनुसार आपराधिक पृष्ठभूमिबाट उदाएका हुन् । पोखरामा कुनैबेला ‘ग्याङस्टर’ रहेका भोटे पछिल्लो समय सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था धराशायी भई निक्षेपकर्ता ठगिएपछि सोही प्रकरणमा मुछिएका छन् । ग्याङस्टरबाट पर्यटन व्यवसायी भएका भोटे त्यसपछि नेकपा एमालेमा प्रवेश गरेपछि हाल राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपमहासचिव हुन् । त्यस्तै, गत स्थानीय निर्वाचनमा उनी कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा समेत चुनाव लडेका थिए । यद्यपि, भोटे नेपाली कांग्रेसका देवीजंग गुरुङसँग पराजित भए । उनको स्थायी ठेगाना सोही गापाको वडा १० हो । यस विषयमा कास्की प्रहरीका उच्च अधिकारीसँग बुझ्दा ‘मिलाएर बुझ्नुहोस्’ भन्दै थप खुलाउन चाहँदैनन् । तर भोटेलाई पक्राउ गर्न वारन्ट जारी भइसकेको र सूर्यदर्शन सहकारीसँग सम्बन्धित अन्य जिल्लाको प्रहरीसँग समन्वय गरिएको सूचना प्राप्त भएको छ । आइतबार भोटेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । त्यसको सुइँको पाएपछि भोटे सम्पर्कवीहिन छन् । पोखरामा जारी एमालेको प्रथम गण्डकी अधिवेशनमा उनी देखिएका छैनन् । एमालेका एक जिल्ला नेताका अनुसार उनी गुरुङ वा अधिकारी कुनै गुटका पनि होइनन् । ‘कतैपनि खुलेको थाहा छैन, धेरथोर गुरुङ पक्षमा लागिएको देखिन्छ तर उनलाई जता फाइदा हुन्छन् उनै नेताको पछि लाग्छन्’ उनले भनेका छन् । प्रहरी स्रोतका अनुसार सूर्यदर्शन सहकारी प्रकरणमा १९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राइ हुन् । सन् २००५ मा उनका जेठा दाजु अनन्तबाबु राई हर्बाे इन्टरनेशनलमा कार्यरत रहँदा जिबीका ३ भाइ पाटनको लगनखेल एरियामा भाडामा बस्ने गर्दथे । उनै जिबी हाल काठमाण्डौंबाट सञ्चालित ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक रहेका छन् । सहकारीबाट करिब १६ अर्ब रुपैयाँ हिनामिना भएको ठहरपछि भोटे पनि यस प्रकरणमा जोडिएका छन् । भोटेले ७ करोड बढी रकम चलाएको तर प्रक्रिया पुरा नगरेको पाइएको छ । यससँगै कास्की प्रहरीले भोटे जिबीको कनेक्सनबारे हाल अनुसन्धान गरिरहेको प्रवक्ता एवं डिएसपी श्रवणकुमार बिक बताउँछन् । पक्राउ पुर्जीबारे खुल्न नचाहेका डिएसपी बिकले ‘सबै विषयमा हाल अनुसन्धान चलिरहेको’मात्र बताएका छन् । यसैबीच, भोटेले उच्च अदालत पोखराबाट स्टे अर्डर ल्याएको एक पत्रकारले बताएका छन् । उनका अनुसार भोटेलाई फसाउन खोजिएको हुनसक्छ । सुनगाभा न्यूजले यस विषयमा स्वतन्त्र पुष्टी गर्न बाँकी छ ।
पोखरा: पोखरा महानगरपालिका १७ पार्दीपुलचोकस्थित फेवा सिंचाई नहरको पूरानो पुल भासिदा आवागमन बन्द भएको छ । फेवा सिंचाई नहरको ६०/६५ वर्ष पूरानो पुलचोक पुल आज दिउँसो लोडसहित टिप्परसहित भासिएको थियो । पुलचोकको पुल भासिएपछि सोही स्थानबाट सवारी आगमन बन्द गरिएको पोखरा महानगरपालिका १७ का कर्मचारी प्रजापति बरालबताए । पुल निर्माण गर्न बजेट बिनियोजित भएकाले सडक डिभिजनसँग पुल निर्माण गर्न वडा कार्यालयलले समन्वय अगाडि बढाएको बरालले जानकारी दिए ।
पोखराः के तपाइले सातु खानुभएको/पिउनुभएको छ ? वा, सातु भनेको थाहा छ ? यस्तो प्रश्न जो कोहीलाई सोधेपनि उत्तर ‘छ’ भन्ने आउँछ । नआओस् पनि कसरी नेपालको कुनैपनि भूगोलमा बस्ने वा कुनैपनि उमेर समूहकाले सातुको उपभोग पक्कै गरेका छन् । सामान्यतयः आफ्नै परिवेशमा फलाइएको वा उपलब्ध भएको अन्नको सम्मीश्रणबाट सातु बनाइन्छ । ठ्याक्कै भन्नुपर्दा भूगोल अनुसार मकै–भटमास, गहुँ, जौ, उवालाई भुटेर जाँतोमा पिसेपछि त्यसको पिठोलाई पानीमा सर्वतजस्तो बनाएर पिउने पुरानो चलन हो । त्यस्तै, कतै लामो पैदलयात्रा गर्दा ‘सातु, सामल कस्ने’ चलनै छ । सातु केवल पेट भर्ने वा भोक टार्ने बहानामात्र होइन, यो पोषिलो र अडिलो पनि हुन्छ । अझ भनौं, सातु ‘गुनिलो’ छ । यही पोषिलो, अडिलो र गुनिलो सातुको खाजा घरमा आमाले खुवाएको सम्झनाले पोखराका २५ वर्षे ठिटोलाई बेचैन बनायो । विदेशमा व्यवस्थापन अध्ययन गरेका उनै ठिटो पृथ्वीकल्याण पराजुली अहिले होमटाउन पोखराबाट सातुलाई ब्राण्डिङ् गर्न दिनरात कस्सिएका छन् । पराजुलीसँगको सातु–संवादमा उनले सुरुमै सुनाए ‘सातुको महिमा अपरम्पार छ ।’ विद्यालयबाट घर फर्केपछि घरमा खाइने खाजा सातुले कहिलेकाही बेलुका भातै खान नपर्ने उनको अनुभव छ । त्यसमाथि विदेशमा रैथाने खानालाई दिइएको प्राथमिकता र बजारीकरणबाट उनी परिचित नै थिए । विदेशमा रैथाने खाना प्रवद्र्धन गरेको देखेर चकित भइरहेका पराजुली पोखरा फर्किएपछि जंकफुडले साम्राज्य जमाइरहेको देखेर पिरोलिए । उनको चिन्ता थियो, अब गाउँ, टोल, समाज रोगी बन्दैछ । देशमै केही गर्ने हुटहुटी बोकेका पराजुली ‘के गर्ने !’ भन्ने सोंच बनाइरहेकाबेला विश्वलाई कोरोनाले गाँज्यो । एकाएक उनीपनि घरको चारघेरामा थन्किए । कोरोना कहरसँग जुझ्न पोसिलो खानाको आवश्यकताबारे प्रचार हुन थाल्यो । रोगसँग लड्नसक्ने बलियो खाना त्यही सातु थियो । र, त्यहीबेला उनको दिमागमा बस्यो ब्राण्ड ‘पोषिलो’, उत्पादन ‘सातु ।’ उनको योजनाले आजभन्दा डेढ वर्षअघि जरा हाल्यो । उक्त जरामा उनको १ करोड रुपैयाँ बढी लगानी भएको छ । यही जरामार्फत उनी उद्यममा जोडिए । ‘सातुले मलाई देशभरका किसान, बजार र उपभोक्तासँग जोडेको छ’ पराजुली भन्छन् ‘अझ मलाई यहाँको जीवनशैली र स्वस्थ समाजसँग जोडेको छ ।’ उनका अनुसार देशका विभिन्न क्षेत्रबाट सातुका सामग्री ल्याइन्छ । ‘मैले नटेकेको देशको भूगोल सातुकै कारण टेकेको छु, आवश्यक अन्नको गूणस्तर छनौट गर्न र मूल्य निर्धारण गर्न सम्भव भएसम्म म आफै पुग्ने गरेको छु’ पराजुलीले सुनाए । बजारमा उत्पादन बेच्ने र नाफा आर्जन गर्ने व्यापारिक पाटो भएपनि उत्पादनको गुणस्तर र सुनिश्चितता उपलब्ध गराउने आफ्नो ‘प्रोफेस्नलिज्म’बारे उनी स्पष्ट पार्छन् । अघिल्लो आर्थिक वर्षको मध्यदेखि उनले बजारमा सातु पठाए । सोही आर्थिक वर्ष सातुले गण्डकीको सिमाना नाघेर पूर्वका प्रमुख सहरमा प्रवेश ग¥यो । यथेष्ठ बजार अध्ययन गरी तयार पारिएको मौलिक र रैथाने सातु जसै बजारमा आयो, प्रायःले मन पराए । यसअघि बजारमा उपलब्ध सातु केवल प्लाष्टिकमा पोका पारिएर बेच्ने गरिएको हुन्थो । तर पोषिलो ब्राण्डले पोषणवीद्को राय अनुसार सातुमा आवश्यक सम्पूर्ण पदार्थ समेटेको थियो । जसको समयावधि नै १ वर्ष राखिएको छ । ‘हामीसँग सातुमा प्रयोग हुने अन्नको ग्रेडिङ् हेर्ने, गुणस्तर र मात्रा हेर्ने, प्याकेजिङ र स्टोरेज हेर्ने छुट्टै टिम छ’ पराजुलीले भने ‘बजारमा पाइने विदेशका म्युस्ली, सिरियलजस्तै सातुले पनि स्टान्डर्ड मेन्टेन गरेको छ ।’ उनका अनुसार हाल बजारमा ‘मल्टीग्रेन’, प्रोटिन प्लस’ र ‘नट्टी डिलाइट’ गरी ३ प्रकार उपलब्ध छ । जसमध्ये मल्टीग्रेन जुनसुकै उमेर समूहलाई उपभोग गर्न मिल्ने बनाइएको छ भने प्रोटीन प्लस स्पोर्ट र फिटनेशमा लाग्ने समूहप्रति लक्षित छ । त्यस्तै, बालबालिकालाई नट्टी डिलाइट उपयुक्त हुन्छ । सातुको नामसँगै दाम पनि फरक छ । मल्टिग्रेनको ३ सय, प्र्रोटिनप्लसका ४ सय ८० र नट्टी डिलाइटको ४ सय ४० रुपैयाँ रहेको छ । जसको तौल ८ सय ग्राम रहेको पराजुलीले बताए । त्यस्तै २ किलोको मूल्य उल्लेखित रकमको दुगुना रहेको छ । सातु हाल नेपालका चलनचल्तीमा रहेका डिपार्टमेन्ट स्टोरमा उपलब्ध भएपनि भाटभटेनीमा भने नपाइने उनले जनाए । ‘भाटभटेनीमा राख्ने प्रयास भइरहेको छ, सम्भवतः त्यहाँपनि छिट्टै उपलब्ध हुनेछ । पोखराको पूर्वमा राम्रै बजार लिएको सातु अब पश्चिममा बिस्तार गर्ने उनले बताए । अब बिहान होस् वा बेलुका सातु उपभोग गर्ने चलन बढ्दै गएको बताउँदै उनले यसलाई नेपालको पपुलर ब्राण्ड बनाइछाड्ने उल्लेख गरे । साथै, सातुको ब्राण्ड एम्बेसडरमा नेपालका नामुद फिटनेश कोच सुकदेव कार्की रहेका छन् । उनै कार्कीको प्रेरणास्वरुप स्पोर्टसका विभिन्न विधामा रहेका खेलाडीहरुको डाइटमा सातु पनि समेटिएको छ । ‘बिरामी होस् वा खेलाडी, बच्चा होस् वा वृद्ध, सातु सबैकालागि हो’ पराजुली भन्छन् ‘न सातुमा कुनै केमिकल हुन्छ नत यसको कुनैै साइड इफेक्ट ।’
बझाङ: बझाङको भट्टेखोला नजिकै केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज (मंगलबार) दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार बझाङको भट्टेखोला नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्पपछि स्थानीयहरू घर बाहिर निस्किएका थिए। भूकम्पबाट भएको क्षतिबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन ।

