चाडपर्वमा यस वर्ष पनि हवाई टिकट पाउन सकस

काठमाडाैं | असोज १९, २०८०

चाडपर्वमा यस वर्ष पनि हवाई टिकट पाउन सकस फाइल तस्बिर

काठमाण्डौ:  बझाङका वसन्तराज जोशी दशैँको टिकटका लागि चिन्तित हुनुहुन्छ । अनलाइन र प्रत्यक्ष रूपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उहाँ निराश हुनुहुन्छ । नजिकिएको दशैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कसलाई पो नहोला र रु तर दशैँको मुखमा एअरलाइन्सको टिकट पाउन मुस्किल छ ।

 

केही गन्तव्यको टिकट त महिनादिनअघि नै बुकिङ सकिएको छ । अहिले कतिपय सुगम गन्तव्यको हवाई टिकट पाउन पनि ग्राहकलाई मुस्किल छ । चाडपर्वमा यात्रुले महँगो भाडा तिरेर पनि हवाई टिकट पाउन सास्ती छ । गएको वर्षको दशैँमा १७ हजार छ सय रुपैयाँ हवाई भाडा तिरेर काठमाण्डौदेखि धनगढी हुँदै बझाङ पुगेका जोशीलाई यो वर्ष महँगोमै भए पनि टिकट लिएर घर पुग्ने सकस छ ।

 

‘अघिल्लो वर्ष महँगो टिकट खरिद गरेर दशैँमा घर गइएको थियो, यो पटक त टिकट नै पाउन मुस्किल भइरहेको छ, दशैँको सङ्घारमा अब झन् टिकट पाउन सास्ती हुन्छ’, जोशीले भन्नुभयो । महँगो टिकट भए पनि जहाज पाउनै कठिनाइ हुन्छ । दुर्गम रुटमा चल्ने थोरै सङ्ख्याका जहाजको कम उडान हुने हुनाले ‘हब’ विमानस्थलबाट दुर्गम भेगमा जानेलाई थप सास्ती बेहोर्नुपर्ने हुन्छ ।

 

धनगढीकी निशा पाण्डे यतिखेर दशैँको टिकट जोहोका लागि एअरलाइन्स धाइरहनुभएको छ । अनलाइन बुकिङ सकिएको र सम्बन्धित एअरलाइन्सको टिकट काउन्टरमा पनि सिट नपाएर हैरानी खेप्नु परेको पाण्डेले सुनाउनुभयो । खोटाङकी दीपा राई दशैँमा घर जानका लागि हवाई टिकटको खोजीमा हुनुहुन्छ । ‘जहाजको टिकट खोजिरहेको छु, अहिलेसम्म पाएको छैन, दशैँमा कसरी घर पुग्ने हो चिन्तित छु’, उहाँले भन्नुभयो ।

 

दशैँमा आवतजावत गर्ने महत्त्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो । अझ प्रभावकारी यातायातका रूपमा हवाई सेवालाई लिइन्छ । दशैँ आउन दुई हप्ता बाँकी रहँदा अहिले धेरैजसो गन्तव्यको टिकट बुकिङ भइसकेको छ । वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले दशैँका लागि धमाधम बुकिङ भइरहेको जानकारी दिनुभयो । अहिले धेरैजसो गन्तव्यको अनलाइन बुकिङ सकिएको उहाँले बताउनुभयो ।

 

सामान्यतया दशैँ आउन एक महिना अघिदेखि नै हवाई टिकट खुलाइन्छ । अहिले अनलाइनबाट सहज रूपमा टिकट पाइने भएकाले धेरैजसो हवाई गन्तव्यको टिकट बुकिङ भइसकेको एअरलाइन्सले जनाएका छन् । उनीहरूका अनुसार दशैँलाई लक्षित गरेर अहिले ८० प्रतिशत हाराहारी टिकट बुकिङ भइसकेको छ ।

 

बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दशैँका लागि अहिले ८० प्रतिशतसम्म बुकिङ भइसकेको जानकारी दिनुभयो । ‘दशैँलाई लक्षित गरेर केही ‘सेक्टर’ मा ८० प्रतिशत र कतिपय सेक्टरमा ७० प्रतिशत बुकिङ भइसकेको छ’, उहाँले भन्नुभयो, ‘अब सहुलियत भाडादरको टिकट पाउन मुस्किल छ, त्यसैले यात्रुले भटाभट टिकट लिनुपर्ने हुन्छ ।’


 
तुम्लिङटारको महिनादिनअघि नै बुकिङ पूरा

सङ्खुवासभाका सविन कार्कीले तुम्लिङटारको टिकट पाउन सक्नुभएको छैन । उहाँ दशैँ नजिकिएकाले अब वैकल्पिक साधनको प्रयोगबाट गन्तव्यमा जाने निष्कर्षमा पुग्नुभएको छ ।

 

आन्तरिक उडानको महत्त्वपूर्ण ‘स्टल रुट’ मानिने तुम्लिङटार र सुर्खेत गन्तव्यको अग्रिम बुकिङ सकिएको एअरलाइन्सले जनाएका छन् । बुद्ध एअरका सूचना अधिकारी कर्णका अनुसार बुद्ध एअरको तुम्लिङटार गन्तव्यको टिकट सबै बुकिङ भइसकेको छ । सुर्खेतका लागि पनि अब टिकट पाउन मुस्किल छ ।

 

बुद्ध एअरले अहिले १६ थान एटीआर जहाजमार्फत दैनिक दुईतर्फी एक सय ५० हाराहारी उडान गरिरहेको छ । ‘तुम्लिङटार ‘प्याक’ भइसक्यो, अब कसैले ‘सिट क्यान्सिल’ गरेमा मात्रै पाइएला, सहुलियत भाडाको दर पनि बढ्नेछ, यात्रुले तत्कालै टिकट काटे सहुलियत भाडा दरमा पाउनसक्ने र ढिला गरेमा त्यो पाउने सम्भावना कम हुन्छ’, सूचना अधिकारी कर्णले भन्नुभयो ।

 

धनगढीका लागि १७ हजार रुपैयाँभन्दा धेरै भाडा

बुद्ध एअरका अनुसार दशैँको घटस्थापनासम्मका लागि काठमाण्डौदेखि धनगढीसम्म दशैँका लागि अधिकतम भाडादर १७ हजार एक सय ८६ रुपैयाँ रहेको छ । यो गन्तव्यमा अहिले सहुलियत भाडादर ११ हजार एक रुपैयाँ छ ।

 

त्यस्तै सुर्खेतको महँगो भाडा दर १४ हजार एक सय ६८, नेपालगञ्जको महँगो भाडा दर १३ हजार तीन सय ९४ रुपैयाँ रहेको छ । काठमाण्डौदेखि भ्रद्रपुरको भाडा दर अधिकतम १२ हजार तीन सय ८३ रुपैयाँ तोकिएको छ । यो गन्तव्यको सहुलियत भाडा दर आठ हजार एक रुपैयाँ छ ।

 

दशैँ, तिहार, छठलगायत चाडपर्व नेपालीको महत्त्वपूर्ण उत्सव हुन् । दशैँमा गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र नयाँ लुगा लगाउने परम्परा छ । वर्ष दिनको महत्त्वपूर्ण चाड भएकाले देश तथा विदेशबाट सहर, सदरमुकामदेखि गाउँबेसी पुग्नेको लर्को लाग्छ । उनीहरू आफन्त र मान्यजनबाट टीका तथा आशीर्वाद थाप्न लामो यात्रा तय गरेर गन्तव्यमा पुग्छन् ।


     
‘दशैँका लागि धेरैजसो बुकिङ भइसकेको छ, यात्रुको मागका आधारमा उडान सङ्ख्या थप्ने योजनामा छौँ, ‘ट्रङ्क रुट’ मा त्यति समस्या छैन ‘स्टल रुट’ मा जहाज सीमित भएकाले अत्यधिक चाप हुन्छ’, उहाँले भन्नुभयो । वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता शर्माले दशैँ लक्षित अनलाइन बुकिङ सकिए पनि जहाज पर्याप्त रहेकाले थप उडान सञ्चालन गरिने जानकारी दिनुभयो ।  

 

आन्तरिक उडानमा बुद्ध एअर, यती एअरलाइन्स, श्री एअरलाइन्स, सौर्य, सिम्रिक, सीता र समिट एअरको अग्रिम बुकिङ धमाधम भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अहिले आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० र अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायु सेवा प्रदायकले उडान भर्दै आएका छन् ।

 

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक उडानतर्फ अहिले दैनिक तीन सय हाराहारी दुईतर्फी उडानमार्फत झन्डै १५ हजार यात्रु आवतजावत गरिरहेका छन् । महाप्रबन्धक तिवारीले दशैँमा यो सङ्ख्या थप बढ्नसक्ने भएकाले उडान सङ्ख्या पनि बढ्ने बताउनुभयो ।

 

यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अहिलेसम्म ५० प्रतिशतभन्दा माथि बढी टिकट बिक्री भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिला जस्तो दशैँलाई मात्र भनेर बुकिङ खुलाउने गरिएको छैन, टिकट अनलाइनमा सहजै पाइने भएकाले बुकिङ धमाधम भइरहेको छ, घटस्थापनापछि बढी चाप हुन्छ ।’

 

प्रवक्ता बर्तौलाका अनुसार अहिले अनलाइन बुकिङ हुने र एअरलाइन्सले ठूला जहाज सञ्चालन गरेकाले विगतमा जस्तो टिकट अभाव नहुने विश्वास व्यक्त गर्नुभयो । यती एअरलाइन्सले पाँच थान एटीआर जहाजमार्फत सेवा दिइरहेको छ ।

 

तुलनात्मक रूपमा हवाई यात्रा महँगो भए पनि सहज, सुलभ र छिटोछरितो यातायात भएकाले यसप्रति यात्रुको आकर्षण बढ्दो छ । कमाइका हिसाबले पनि यो मौसम उपयुक्त मानिन्छ । त्यसैले केही महँगो भए पनि हवाई यात्राका लागि धेरैजसो यात्रु लालायित हुन्छन् ।

 

दशैँमा सङ्घीय राजधानी काठमाण्डौ छाडेर गाउँघर पुग्ने यात्रुको चहलपहल बढी हुन्छ । टीकाको भोलिपल्टदेखि राजधानी फर्किने यात्रुको चाप बढ्छ । वायु सेवा कम्पनीका अनुसार अहिले दशैँको अन्तिम दिनलाई लक्षित गरी उच्च दरमा टिकट लिने क्रम बढेको छ ।

 

विशेषगरी फूलपातीदेखि विजयादशमी टीकासम्म चाप बढी हुन्छ । अग्रिम बुकिङ त्यहीअनुसार हुने गरेको एअरलाइन्स कम्पनीले जनाएका छन् । नेपाली पात्रोअनुसार यस वर्ष असोज २८ गते घटस्थापना र कात्तिक ७ गते  विजयादशमी टीका रहेको छ ।

पोखरा:   वीपी स्मृति भवन गण्डकी प्रदेश निर्माण समितिद्वारा वी पी स्मृति भवन गण्डकी प्रदेशको निर्माण कार्य सुरु भएको छ । पोखरा १९ लामाचौरमा रहेको आफ्नै जमिनमा अक्षय तृतीयाको पावन अवसरमा संकल्पित भवन आज...

थप पढ्नुहोस्

पोखरा:    पोखरामा नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा आजदेखि प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।    नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्की स्थापना दिवसको...

थप पढ्नुहोस्

काठमाडौं:    क्रिकेटर सन्दीप लामिछानेले बलात्कार सम्बन्धी मुद्दामा सफाइ पाएका छन् ।   यसअघि जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई पुस २५ गते ...

थप पढ्नुहोस्