काठमाडौं: जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेल विभिन्न विश्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपालि मनसुन केही दिन लम्बिएको बताउनुभयो । उहाँले अझै मनसुन बाहिरिन झण्डै हप्ता दिन लाग्नसक्ने अनुमान रहेको बताउनुभयो । यो बेलामा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ । त्यसैले बदली छ । अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षासमेत हुने भएकाले यो बेलामा किसानले विशेष ख्याल गर्नुपर्ने उहाँले बताउनुभयो । “अहिले धानबाली भित्र्याउने बेला हो, काटेको धान छ भने भित्राइहालौँ र काट्ने बेलाको धान छ भने नकाटौँ । दुईरतीन दिन रहने यो प्रणालीले धान बिगार्छ, खुलेपछि मात्रै काटौँ”, उहाँले रासससँग भन्नुभयो । उहाँका अनुसार नेपालमा पश्चिमबाट मनसुन बाहिरिन्छ भने पूर्वबाट भित्रिन्छ । अहिले नेपालको कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ । भारतको उडिसा, छत्तिसगढ, विहारलगायत क्षेत्रमा पनि मौसम बदली छ । आज देशभर जसो नै बादल लाग्ने र धुम्म हुन्छ । घाम लाग्ने सम्भावना कम छ । साँझपख कतिपय ठाउँमा वर्षा पनि हुने उहाँले बताउनुभयो । जल तथा मौसम विज्ञान विभागले दुई वर्ष अघि मनसुन भित्रिने समय जुन १३ र बाहिरिने समय आज अक्टोबर २ लाई अनुमान गरेको थियो । त्यसअघि भित्रिने समय जुन १० र बाहिरिने समय सेप्टेम्बर २३ थियो । हरेक १० वर्षको विश्लेषण गरेर यसरी मिति अनुमान गर्ने गरिन्छ । पछिल्लो समयमा तोकेको मितिभन्दा ढिला गरी मनसुन बाहिरिइरहेको छ । मनसुन भित्रिन पनि ढिला गरिरहेको छ । यही साल पनि मनसुन एक दिन ढिला गरी भित्रिएको थियो भने बाहिरिन पनि समय लाग्ने देखिएको छ । यो वर्ष नेपालमा जुन १४ अर्थात् जेठ ३१ मा मनसुन भित्रिएको थियो । तर त्यसको नौ दिनपछि मात्रै असार ८ गते मनसुन देशैभरि फैलिएको थियो । सुरुमा कोसी प्रदेश, मधेश र गण्डकी प्रदेशको पूर्वी भूभाग र बागमती प्रदेशका अधिकांश भू–भागमा मनसुन आगमन भएको थियो । यसपालि मनसुनको शुरुआती समयमै पूर्वी नेपालमा भारी भारी वर्षापछिको बाढी र पहिरोले वितण्डा मच्चाउँदा ठुलो धनजनको क्षति भएको छ । यसपालि १२ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान थियो । मनसुनका समयमा औषतभन्दा कम पानी पर्ने आकलनसमेत गरिएको थियो । औषतभन्दा कम पानी पर्ने अनुमानका बिच केही स्थान केन्द्रित भएर मनसुनी वर्षा हुँदा भने पूर्वी र पश्चिम नेपाललगायत केही स्थानमा भने ठुलो जनधनको क्षति गराएको छ । जल तथा मौसम विज्ञान विभागले विगत १० वर्षको मनसुनी प्रणाली विश्लेषण गरेर केही वर्षअघि निकालेको निष्कर्षका आधारमा सामान्यतः मौसम बाहिरिने दिन आजलाई अनुमान गरेको थियो ।
म्याग्दी: गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन् । शरदयामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका खर्कमा झार्न थालेका हुन् । पशुका लागि पोसिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । धौलागिरि गाउँपालिका–३ मुनाका बालकृष्ण मगरले ढोरपाटनको जलजला र धनमाने खर्कमा तीन महिना बुकीको घाँस खुवाएका गाइगोरुको गोठ ल्याएर गत हप्ता गाउँमा झरेको बताउनुभयो । “वैशाखमा उभौलीको पूजा गरेर लेकतिर लागेको गोठ पालुवा पलाउँदै गरेको घाँस खुवाउँदै जेठको अन्तिममा जलजलाको धनमाने खर्कमा पुगेका थियो”, उहाँले भन्नुभयो, “तीन महिना बुकीमा चराएर अहिले गाउँको मकै बारीमा उम्रिएको ल्योस (घाँस) खुवाउन ल्याएको हो ।” दसैँमा गाउँ नजिकैको बारीमा रहने गोठ तिहारमा धान भित्र्याएपछि बेँसीको सोलवाङ फाँटमा झार्ने चलन रहेको मगरले बताउनुभयो । गोठ बेँसी झर्न थालेपछि गाउँघरमा चाडपर्व भित्रिएको महसुस गर्छन् । पोसिलो घाँस खाएर मोटाएका गाईभैँसी, गोरु र भेडाबाख्राको बथानलाई अघि लगाउँदै गोठाला बन्दोबस्तीका सामान बोकेर लेकबेँसी गर्छन् । गाउँ झरेका गोठाला र गाईबस्तुको चहलपहलले रौनक छाएको छ । पशुचौपायाले गाउँ नजिकैको पाखाबारी भरिएका छन् । ती पाखामा असङ्ख्य गाईगोरु, बाच्छाबाच्छी, भैँसी र भेडाबाख्रा चरनमा रमाइरहेका देखिन्छन् । महिनौँ पुग्ने खर्चबर्च बोकेर गएका गोठाला गाउँ झरेपछि मात्रै परिवारसँग भेट हुने गर्छ । करिब तीन÷चार महिना लेकमा बिताउँदा उनीहरूले चोयाका विभिन्न सामग्री बुन्ने, घ्यू उत्पादन गर्ने र बेच्ने धौलागिरि गाउँपालिका–३ मुनाका ७६ वर्षीय गङ्गबहादुर पहरे पुनले बताउनुभयो । “पहिले हामी गोठमा जाँदा घरमा किनेर तेल खानुपर्दैनथ्यो । घ्यूले पुग्दथ्यो । मोही धेरै भएर खोलामा फाल्नुपर्दथ्यो”, उहाँले भन्नुभयो, “अहिले गोठ राख्ने ठाउँसम्म नै गाडी पुगेकाले खाने, बस्ने सामान बोक्नुपरेन । घ्यू र मोहीबाट छुर्पी बनाएर बिक्री गरेर आम्दानी हुन्छ ।” एउटै परिवारले दर्जनौँ पशुचौपाया पाल्ने गर्छन् । बस्तुभाउलाई घाँस खुवाउनकै लागि उनीहरू लेकमा गोठ लैजाने गर्छन् । ढोरपाटन नजिकैको जलजला र गुर्जाघाट क्षेत्र म्याग्दीको धौलागिरि गाउँपालिकाको कृषकको लागि छुट्टाइएको छ । पहिले हरेक घरको एउटा गोठ लैजाने गरेकोमा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरिको गाईबस्तु लिएर एक जना गोठ जाने गरेका छन् । यसपालि बुकीमा लम्पी स्किन रोग फैलिएपछि धेरै गाईगोरु बिरामी भए र केही मरेका कृषकले बताएका छन् । धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बुकीको गोठमै पुगेर लम्पी स्किनबाट बिरामी परेका गाईगोरुको उपचार र खोप लगाइएको बताउनुभयो ।
पोखरा: नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन समारोह प्रतिकुल मौसमका कारण केही समय रोकिएको छ । गण्डकी प्रदेशको प्रथम अधिवेशन पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने तय भएपनि प्रतिकुल मौसम कारण उडान प्रभावित हुँदा उद्घाटन समारोह रोकिएको हो । नेकपा एमाले गण्डकी प्रदेशका उपसचिव एवम्, प्रचारप्रचार उपसमिति संयोजक रश्मि आचार्यले प्रतिकुल मौसमका कारण उडान प्रभावित हुँदा उद्घाटन समारोह रोकिएको बताए । उनले पार्टी अध्यक्ष ओली जहाजमा आउने भएकाले प्रतिकुल मौसमका कारण उडान रोकिदा केही समय ढिलाई भएको बताएका छन् । नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा आएका पार्टीका नेता कार्यकतालाई भुलाउन सांस्कृतिक कार्यक्रमलाई अगाडि बढाएको छ । अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ७ जना प्रतिनिधि छनोट भएर पोखरा आएको छन् । यस्तै पोखरामा अधिवेशनका लागि आएका प्रतिनिधि राख्न एमालेले २१ वटा होटल बुक गरेको छ । यस्तै नेकपा एमाले गण्डकीको प्रदेशको प्रथम अधिवेशनमा पोखराको हस्पीटल चोक, औद्योगिक क्षेत्र (शिव चोक), बुद्ध चोक र बसपार्कबाट ¥यालीसहित अमरसिंह चौरमा उद्घाटन सत्र सञ्चालन हुने प्रदेशका उपसचिव एवम् प्रचारप्रचार उपसमिति संयोजक आचार्यले बताए ।
काठमाडौंको गौशालामा गोली प्रहारबाट एक जना घाइते भएका छन्। सोमबार गौशालामा एक जनामाथि गोली प्रहार भएको प्रहरी स्रोतले बतायो। गोली प्रहारबाट घाइते भएका व्यक्तिलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ। घाइतेको खुट्टामा चोट लागेको छ। घाइतेको परिचय खुल्न बाँकी छ। गोली प्रहार गर्ने व्यक्तिले चुप्पी र कटुवा पेस्तोल छाडेर फरार भएका छन्। प्रहरीले फरार भएका व्यक्ति खोजी गर्न थालेको छ।
काठमाडौं: चीनमा भइरहेको एसियाली खेलकुदअन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ । आज भएको ‘ड्र’ अनुसार नेपालले भारतसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । यो खेल भोलि हुनेछ । क्वाटरफाइनलमा नेपालले भारतसँग, पाकिस्तानले हङकङसँग, बङ्लादेशले मलेसियासँग, श्रीलङ्काले अफगानिस्तानसँग खेल्नेछ । नेपालले अन्तिम ८ मा भारतलाई हराए पाकिस्तानसँग सेमिफाइनलमा भेट हुनेछ । नेपालले समूह चरणमा मङ्गोलियालाई कीर्तिमानी २ सय ७३ रनले र माल्दिभ्सलाई १ सय ३८ रनले हराएको थियो ।
पर्सा: वीरगञ्जमा रहेको बालसुधार गृहबाट फरार भएका दुई बाल कैदीलाई प्रहरीले पक्राउ गरेको छ। बालसुधार गृहको छतबाट गएको शुक्रवार बिहान हामफालेर फरार भएका सप्तरीका पाण्डव यादव र सर्लाहीका अमरकान्त ठाकुरलाई ४८ घण्टापछि हिजो छुट्टाछुटै ठाउँबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई सर्लाहीमा रहेको सीमा नाकाबाट र यादवलाई सिरहामा रहेको सीमा नाकाबाट पक्राउ गरेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दामा ठाकुरलाई र जबरजस्ती करणी मुद्दामा यादवलाई अदालतले दोषी ठहर गर्दै आचरण सुधारका लागि बाल सुधारमा पठाएको थियो । फरार भएपछि दुवै बाल कैदी वीरगञ्जको मुख्य भन्सार नाका शङ्कराचार्य गेट अगाडिबाट भारतको रक्सौलतर्फ गएको दृश्य नाकामा जडान गरिएको सीसीटीभीमा रेकर्ड भएको थियो। बालसुधार गृहमा ६० जनाको क्षमता भएकामा अहिले दोब्बरभन्दा बढी एक सय २६ जना बालक तथा किशोरहरूलाई कोचेर राखिएको छ । जसका कारण गृहमा रहेका बालक तथा किशोरहरूमा स्वास्थ्य समस्यासँगै गृहलाई व्यवस्थापनमा समेत कठिनाइ भइरहेको बाल सुधार गृहका प्रमुख टीकाकृष्ण काफ्लेले बताउनुभयो ।
पोखरा: पोखरामा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गर्ने दुईजनालाई प्रहरीले प्रकाउ गरेको छ । पोखरा महानगरपालिका १७ हिमाली टोल स्थित अनुराधा बरालको घरको कपाण्ड अगाडि पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको हो । पार्किङ गरेर राखेको ग ११ प २०४२ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा पोखरा १७ बस्ने २१ वर्षीय कृष्ण सुनार र १९ वर्षीय सुजल तामाङलाई प्रहरीले प्रकाउ गरेको हो । मोटरसाइकल चोरी गरेको आरोपमा प्रकाउ परेका दुवै जनालाई चोरी तथा डाँका मुद्धामा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: नेकपा एमाले गण्डकीको प्रथम अधिवेशनको तयारी पूरा भएको छ । पोखरामा सोमबार हुने प्रथम अधिवेशनको तयारी पूरा भएको प्रदेश अध्यक्ष नवराज शर्माले बताए । उनले पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको समेत बताए ।‘अहिले सातै प्रदेशको प्रथम अधिवेशनमा पार्टी लागिरहेको छ, केही प्रदेशमा सम्पन्न भएको छ, केहि प्रदेशमा बाँकी छ, शर्माले भने, ‘गण्डकीको प्रदेशको प्रथम अधिवेशन पोखरामा भोलि सञ्चालन हुँदै छ, पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।’ यस्तै प्रचारप्रसार उपसिमितिका संयोजक तथा गण्डकी उपसचिव रश्मि आचार्यले अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ७ जना प्रतिनिधि छनोट भएर पोखरा आएको बताए । उनका अनुसार अधिवेशनका लागि आएका प्रतिनिधि राख्न पोखरामा २१ वटा होटल बुकिङ गरेको छ । नेकपा एमाले गण्डकीको प्रदेशको प्रथम अधिवेशनमा पोखराको हस्पीटल चोक, औद्योगिक क्षेत्र (शिव चोक), बुद्ध चोक र बसपार्कबाट ¥यालीसहित अमरसिंह चौरमा उद्घाटन सत्र सञ्चालन हुने उनले जानकारी दिए । आचार्यले इलेक्ट्रिक मेसिनको प्रयोगमा मतदान गर्ने तयारी गरिएको बताउदै अधिवेशन सम्पन्न गर्न करिब ८० लाख खर्च हुने अनुमान गरिएको बताए । नेकपा एमाले गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अधिवेशनबाट सर्वसहमतिबाटै नेतृत्व चयन गर्ने प्रयन्त्र गरिरहेको बताए । ‘पार्टी भित्र हामीले लोकतन्त्रको अभ्यासपनि चलाइरहेका छौं, सके सम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयत्न गरेका छौं’, विष्टले भने, ‘प्यानल बनाएर उम्मेदवारी दर्ता गर्न दिदैंनौ, यसले पार्टीलाई कमजोर बनाउँछ, सकेसम्म सहमतिमै नेतृत्व चयन गछौं ।’

