तनहुँ ।नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङले मङ्सिर ४ गते हुने निर्वाचनबाट एमालेको बहुमत आउने दाबी गर्नुभएको छ । तनहुँको दुलेगौँडामा आज आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री गुरुङले जनताको आकर्षण एमालेप्रति बढेकाले एमालेले बहुमत ल्याउने र त्यसपछि जनतालाई विकास दिने बताउनुभयो । निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने गुरुङको भनाइ थियो । “एमालेको बहुमत आएपछि हामी जनतालाई विकास दिन्छौँ,” गुरुङले भन्नुभयो । तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुङले यो क्षेत्रमा विगतमा एमाले नेतृत्वमा भएका विकासका कामलाई निरन्तरता दिन जनताले मूल्याङ्कन गर्ने समय भएको बताउनुभयो । सोही कार्यक्रममा नेकपा एकीकृत समाजवादी तनहुँका सचिव दुर्गाकुमार श्रेष्ठको नेतृत्वमा क्षेत्र नम्बर २ का चार सय ६१ जना एमालेमा समाहित भएका छन् ।
पोखरा : कास्की क्षेत्र नम्बर २ (२) मा पोखरा महानगरका वडा नं. ४, ८, ९, ११, १६ र २० पर्छन् । यो क्षेत्रबाट २०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार राजकाजी गुरुङ (करण) लाई पराजित गर्दै विन्दुकुमार थापा निर्वाचित भएका थिए । गण्डकी प्रदेशका कानुन मन्त्री रहेका थापा फेरि जित्ने दाउमा छन् । थापाको प्रतिस्पर्धा एमाले उम्मेदवार मिना गुरुङसँग हुने देखिन्छ । गुरुङ गण्डकी प्रदेशकी निवर्तमान सांसद हुन् । उम्मेदवारीका कारण, एजेन्डा र भावी योजनाबारे एमाले उम्मेदवार गुरुङसँग गरिएको कुराकानीको अंशः -कास्की २ (२) बाट उम्मेदवार हुनुहुन्छ, जितको शुभकामना छ । यस्ता शुभकामनालाई सार्थक बनाउने तपाईका कस्ता योजना छन् ? गएको कार्यकालमा समानुपातिकबाट सांसद हुँदा जनताको रोजीरोटीसँग जोडिने केही काम मैले गरेँ । विकास, योजनाका लागि पहल गरेँ । अझै केही काम अपूर्ण छन्, केही कामलाई अझ प्रभावकारी रुपमा गर्नुपर्ने मैले महसुस गरेँ । यसपालि प्रत्यक्षमा जनताबाट अनुमोदित भएर ती काम पूरा गर्छु भन्ने मेरो संकल्प छ । अर्को कुरा महिला सधै समानुपातिकमा मात्रै रहनुहुँदैन । महिलाले योग्यता, क्षमता बढाउँदै समानताका लागि अघि बढ्नुपर्छ । हामी पनि पुरुषसरह जिम्मेवारी बहन गर्न सक्छौं, समाजका लागि, देशका लागि समाजका लागि । यो कुरा प्रमाणित गर्न पनि मैले प्रत्यक्षमा उम्मेदवारी दिन चाहे, पार्टीले मलाई अघि सा¥यो । अहिले म जनताका माग सुन्दै छु, शुभेच्छा लिँदै छु । चुनावको तयारी गर्दै छु । -एमालेभित्रै गण्डकी प्रदेशमा देखिएका दुई गुट छन् । तपाईको उम्मेदवारीचाहिँ कसरी सम्भव भयो ? हाम्रो पार्टीमा गुट, उपगुट छन् भनेर धेरै हल्ला मच्याइएको छ । मेरो नजरमा एमालेमा गुट छैनन्, वैचारिक सम्बन्धका केही समूह होलान् । एउटा जीवन्त र विशाल पार्टीमा दशौं लाख कार्यकर्ता हुन्छन् । हजारौं नेता हुन्छन् । उनीहरुका आकांक्षा, सपना, कार्यशैली फरक हुन्छन् । हाम्रो पार्टीमा विभिन्न अरु स्कुलिङबाट आएका नेता, कार्यकर्ता छन्, विभिन्न क्षेत्र, जाति, समूहका मानिस छ । तर पार्टीको उद्देश्य, घोषणापत्र, भावी योजना र कार्यान्वयनमा हामी एक छौं । कतै समस्या छैन । हाम्रो एकताको सामना गर्न अरु सबैजसो दल गठबन्धन बनाएर आउनुपरेको छ । हो, टिकट वितरणअघि हामीबीच प्रतिश्पर्धा थियो, तर पार्टीले निर्णय गरिसकेपछि हामी सबै एक छौं । मसँगसँगै टिकटको आकांक्षा राख्नुभएका साथीहरु, मेरो क्षेत्रका नेता, कार्यकर्तालाई तपाईहरुले चुनावी अभियानमा मसँगसँगै देख्न पाउनुहुन्छ । यहाँहरु आफ्नो पार्टीलाई जिताउन लाग्नुहुन्छ । एमालेको शक्ति भनेकै यही हो, आन्तरिक प्रतिश्पर्धा पनि हुन्छ, एकमत भएर पार्टीलाई, आफ्ना उम्मेदवारलाई जिताउन पनि हामी परिचालित हुन्छौं । -बहालवाला मन्त्री, स्थापित व्यवसायी, अघिल्लो पटक वाम गठबन्धन हुँदा पनि विजयी बनेका व्यक्तित्वसँग तपाईको मुख्य प्रतिश्पर्धा देखिन्छ । तपाईका जित्ने आधार के छन् ? गएको कार्यकालमा म समानुपातिकबाट उहाँ प्रत्यक्षबाट सांसद बनेका हौं । दुवैको पद समान हो, जिम्मेवारी समान हो । सरकार बनाउने कुरामा उहाँ कार्यकारी भूमिकामा पुग्नु भयो । हामीले प्रतिपक्षको रुपमा खबरदारी ग¥यौ । जनपक्षीय कामका लागि आवाज उठायौं । एउटा महिलाले सधै इमान्दारितापूर्वक, नमुना बनेर काम गर्न सक्छिन् भन्ने देखिने गरी मैले भूमिका निर्वाह गरे । एक्काइसौं शताब्दी, संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि महिलालाई समान अवसर दिइएन भने न सुशासन कायम हुन्छ, न हामीले खोजेजस्तो इन्द्रेणी समाज र समृद्धि सम्भव हुन्छ । मेरो जितका केही कारण छन् । पहिलो मेरो पार्टीले लिएको एजेन्डा हो । एमालेको स्वाभिमानको एजेन्डा, हाम्रो सरकार हुँदा भएका विकास, निर्माणका कामले पनि जनताले हामीलाई मत दिनुहुन्छ । म रत्ति घमण्ड गर्दिनँ, घमन्डले मान्छेलाई खुम्च्याउँछ । मैले प्रदेशसभा सदस्य हुँदा पाएका सेवा, सुविधा समाजकै लागि खर्च गरेँ । अझ त्यसमा थप व्यक्तिगत तर्फबाट पनि योगदान गरेकी छु । भलै मैले मेरा अहिलेका प्रतिश्पर्धी माननीयको जस्तो यसको विज्ञापन र प्रचार गरिनँ । समाजमा गरिएको सहयोग मानिसको कल्याण, विकासका लाग हो, त्यसको जस लिएर मेरो व्यक्तित्व निर्माणका लागि होइन । प्रदेशसभा सदस्य बन्नुअघि पनि मैले समाजिक क्षेत्रका काम गरेको थिएँ । मजदूर क्षेत्रमा काम गरेँ । श्रमजीवीको उत्थानका क्षेत्रमा सक्रिय बने । मानिसलाई सीप सिकाएर आत्मनिर्भर बनाउन भूमिका खेलेँ । अहिले दलहरुले देशैभर करिब ९ प्रतिशतमात्र महिलालाई प्रत्यक्षमा टिकट दिएका छन् । म घरपरिवार चलाएर, व्यवसाय सञ्चालन गरेर, सामाजिक काम गर्दै यहाँसम्म आएकी एउटी क्रियाशील महिलालाई मेरो क्षेत्रका समझदार, विवेकशील मतदाताले पक्कै न्याय गर्नुहुनेछ । ९ प्रतिशतलाई उम्मेदवारलाई घटाएर ८, ७ मा झार्नुहुने छैन भन्ने अपेक्षा छ । कास्कीका मतदाता विशिष्ट प्रकारका हुनुहुन्छ । गएको चुनावमा जिल्लामा एमालेको वर्चश्व थियो । पहिलो संविधानसभामा ३ क्षेत्र माओवादी केन्द्रले जितेको थियो । कुनै बेला सबै क्षेत्र कांग्रेसले पनि जितेको थियो । कास्की सधै कसैको पकड एरिया बनेको छैन । एजेन्डा, उम्मेदवार, पार्टी र भविष्यको कार्यभार हेरेर जनतालाई उचित निर्णय हुनुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु । हाम्रो विचारकै कारण यत्रो गठबन्धन बन्दा पनि देशैभर हाम्रो माहोल छ । चाहे हामी सरकारमा हौ, चाहे प्रतिपक्षमा, हामीले उठाएको एजेन्डा नै देशको एजेन्डा बनेको छ । एमालेमा प्रवेश गर्नेहरुको भीड छ । नेपाल हाम्रो एजेन्डामा अघि बढ्ने अनि एमालेले हार्ने त्यस्तो होला र ? पक्कै हुने छैन । बेला बेलामा बरु हामी नेताहरु बहकिएको देखिन्छ तर जनताले उचित निर्णय गरेको देखिन्छ । -एमाले देशकै ठूलो पार्टीमध्येमा पर्छ, तपाई निवर्तमान सांसद पनि हो । दोहोरिनुको साटो नयाँलाई मौका दिएको भए अझ उचित हुन्थ्यो कि ? हेर्नुस्, मैले गएको कार्यकालमा सत्ता पक्ष र प्रतिपक्ष दुवैको अनुभव गरेँ । प्रदेशका लागि आवश्यक कानुन बनाउन, संरचना, संयन्त्र बनाउन भूमिका खेलेँ । प्रदेशको जग बनाउने कुरा, त्यही जगमा समृद्धिको खाका कोर्ने कुरा प्रयोग गर्ने कुरामात्र होइन । यसमा नयाँ र समावेशी नेतृत्व पनि आवश्य चाहिन्छ तर अनुभवी, प्रौढ, धैर्यवान् नेता पनि जरुरी हुन्छ । मैले गएको कार्यकालमा लिएको अनुभव, ममा रहेको ऊर्जा, ज्ञान देशका लागि खर्चिन चाहेकी हुँ । म सधै आफैं हुनुपर्छ भन्ने पक्षमा छैन । नयाँले पनि मौका पाउनुपर्छ । अर्को कार्यकालमा म फेरि उम्मेदवार बन्दिनँ । पार्टीले बनाएका उम्मेदवारलाई जिताउन, पार्टीलाई जिताउन अग्रमोर्चामा परिचालित हुन्छु । मेरा नेता, कार्यकर्ता, शुभेच्छुकलाई थाहा छ, मिना गुरुङले कहिल्यै पनि मलाई यो पद नभई हुँदैन भनेर दाबी गरेकी छैन । म त भन्छु, देशका सबैभन्दा दिग्गज मानिसहरु राजनीतिमा आउनुपर्छ । राज्य, राज्यकै नीति बनाउने ठाउँ नसुध्रिई, व्यवस्था बलियो हुँदैन, हाम्रा सपना सार्थक हुँदैनन् । -तपाई निवर्तमान सांसद हो । सांसदको भूमिकामा गर्न बाँकी कुनै काम केही छन् र, तपाईलाई दोहोरिनुपर्ने आवश्यकता आइपुप¥यो ? पाँच वर्षमा हामीले प्रदेशको राजधानी तोक्यौं, ऐनहरु बनायौं । प्रदेशका संरचना, कार्यालयहरु खोल्न भूमिका निर्वाह ग¥यौं । अप्रत्यासित रुपमा कोभिड महामारी आयो । महामारीको सामनाका लागि हामीले प्रदेशले ल्याब खोल्यौं, कोभिड अस्पताल बनायौं । गण्डकी विश्वविद्यालय स्थापना भयो । गएको कार्यकालमा हामीले ऐन बनायौं, पूर्वाधारहरु बनायौं, अब कार्यान्वयन गर्ने, प्रदेशको समृद्धि गर्ने, परिणाम देखिने बेला हो । जसले पूर्वाधार बनाएको हो, उसैलाई थप काम गर्न सजिलो होला । हामीले योगदान गरेर बनाएको नयाँ सरकार प्रदेश सरकारलाई दरिलो, नमुना र प्रभावकारी बनाउन जरुरी छ । अब प्रहरी ऐन बनाउनु छ, कर्मचारी ऐन बनाउनु छ । आम्दानीका नयाँ स्रोत खोज्नु छ । स्थानीय सरकार र संघ सरकारबीच समन्वय गर्न पनि हामीले भूमिका निर्वाह गर्नैपर्छ । प्रदेश सरकार रहेको र त्यो सरकार प्रदेशबासीको हित, उत्थान, विकास र समृद्धिका लागि क्रियाशील रहेको आभास दिलाउन म मेरो अनुभव, ऊर्जा, सीप, भूमिका, समय लगाउनु भन्ने अठोट गरी म जनतामाझ आएकी हुँ । -तपाईको निर्वाचन क्षेत्र कास्की २ (२)मा कस्ता समस्या छन्, यहाँका सम्भावनाका चाहिँ के के हुन् भनी पर्गेल्नुभएको छ ? मेरो निर्वाचन क्षेत्रमा पोखरा महानगरका ६ वटा वडा पर्छन् । ३ वटा वडा महानगरका पुराना क्षेत्र हुन् । भने बाँकी ३ वडा महानगरमा पछि थपिएका हुन् । यहाँ केही साझा समस्या छन् भने केही ठाउँपिच्छे फरक फरक समस्या छन् । महानगरका पुराना वडा ४, ८, ९ मा पूर्वाधार धेरै काम भएका छन् । आधुनिक महानगरका लागि आवश्यक संरचना बनाउनु जरुरी छ । बिजुलीका तार अन्डरग्राउन्ड गर्ने, ढलको राम्रो व्यवस्थापन गर्ने, पार्किङको उचित प्रबन्ध मिलाउन जरुरी छ । सेती नदीलाई संरक्षण र सौन्दर्यकरण गर्दै यसलाई पर्यटनकीय आकर्षणको रुपमा विकास गर्न जरुरी छ । ग्रामीण खालका ३ वडाका बासिन्दालाई साच्चिकै महानगरबासी भएको आभास दिलाउनुपर्ने चुनौती छ । ती क्षेत्रमा राम्रो सडक निर्माण गर्न, चक्ल्याउन जरुरी छ । काहुँ लगायतका क्षेत्रमा खानेपानीकै समस्या छ । उपत्यकाबाट नजिकै रहेर पनि छायाँमा परेका काहूँ, भलाम, लामाचौर, बाटुलेचौरलाई प्रवद्र्धन गर्न जरुरी छ । पोखराका ग्रामीण क्षेत्रमा पनि पर्यटकीय सम्भावनाको खोजी, पूर्वाधार निर्माण र प्रवद्र्धन नगरी यो क्षेत्रको समृद्धि सम्भव छैन । कतिपय समस्या हेर्दा सानातिना लाग्छन् तर ती समस्या नसुल्झाई जनजीविका सहज बन्दैन । साँझ पर्न लागेपछि ग्रामीण क्षेत्रतिर जाने सार्वजनिक सवारी पाइँदैन । सडकमा बत्तिको व्यवस्था छैन । पुरानो पोखरा उपत्यकाभित्र चल्ने गाडीले मात्र विद्यार्थीलाई सहुलियत दिएका छन् । पोखराकै ग्रामीण क्षेत्रमा चल्ने सवारीमा विद्यार्थी सहुलियत दिइदैन । त्यसका लागि प्रभावकारी कदम चाल्नुछ । कास्कीका उज्ज्वल नक्षत्र रवीन्द्र अधिकारीको सार्वजनिक यातायातमा सहुलियतका लागि ठूलो योगदान थियो । अहिले विद्या भट्टराई, उहाँकी जीवनसाथी कास्की २ मा हाम्रै पार्टीबाट उम्मेदवार हुनुहुन्छ । मानवीय विकासका लागि गर्नुपर्ने काम पनि छन् । दिनहुँ विदेश हिड्ने युवाको लस्करलाई कम गर्दै जानु हाम्रो चुनौती हो। सीप सिकाएर स्वरोजगार बनाउन हामी भूमिका निर्वाह गर्छौं । बाध्यताबस विदेशै जानुपरे पनि सीप सिकेर गए सहज काम पाउने अवस्था बन्छ । अदक्ष कामदारको रुपमा विदेश गएर कष्टकर काम गर्नुपरेको देखिन्छ । हाम्रा गाउँघर रित्तै हुने, बारी बाँझै हुने, हाम्रा युवा मरुभूमिका बगैचा बनाउने, सिसामहल बनाउने यो बिडम्बना अन्त्य नगरी देशको कायाकल्प हुँदैन, समृद्धि सम्भव छैन । -सांसदको मुख्य काम कानुन निर्माण हो । गण्डकी सरकारलाई कस्तो बनाउने तपाईको योजना छ ? गण्डकीको भूगोल, आवश्यकता र हाम्रो भावी पुस्ताको अपेक्षा अनुरुपका योजना र कार्यान्वयन अब जरुरी छ । प्रदेश सरकारको तीखो आलोचना पनि सुनिन्छ । तर तपाई प्रदेशहरुलाई हटाइदिनुस्, संघीयता पूर्ण हुँदैन । दशौं हजारको बलिदानी र लाखौं नेपालको पसिना, त्यागबाट आएको हो संघीयता । शिशु अवस्थामै यसको घाँटी अँचेटी हाल्ने, यो त मानवता भएन नि ? न्यायोचित देखिएन नि ? स्थानीय सरकार पहिले नै थिए, संघ सरकार पनि थियो । बनाउने, स्थापित नहुँदै उखेलेर फाल्ने दृष्टता गर्नुहुँदैन । होला, हाम्रो प्रदेशका केही कमजोरी छन्, ती कमजोरी हटाउने जिम्मेवारी पनि हाम्रै हो । संसारमा कुनै व्यवस्था पनि निरपेक्ष रुपमा कामयावी छैनन् । अहिले पाँच दलीय गठबन्धनसँग हामी एक्लै लड्दै छौं अनि हामी जित्दै पनि छौं । चुनावपछि उहाँहरु पाँचतिर फर्कनुहुन्छ । हाम्रो विचार, संगठन, कार्यदीशा र कार्यान्वयनको प्रणालीसँग प्रतिश्पर्धा गर्न नसकेर उहाँहरुले मोर्चाबन्दी गर्नु परेको हो । यो जनताको भलाईका लागि होइन कि आफूले पद पाउन गरिएको गठबन्धन हो । त्यो बलियो घेरा तोडेर नेकपा एमालेले प्रदेश र संघ सरकार बनाउँछ र समृद्ध नेपाल र सुखी नेपालीको हाम्रो सपना पूरा गर्छ । -तपाई आफ्ना मतदातालाई कुनै के भन्न चाहनुहुन्छ ? मेरो क्षेत्रका मतदाता मेरो काम, पार्टीको एजेन्डा, मेरो भूमिकासँग परिचित हुनुहुन्छ । लामो समयदेखि समाजसेवा, मजदूर, महिलाको क्षेत्रमा सक्रिय भएँ । गएको कार्यकालमा सांसद बनेर भूमिका निर्वाह गरे । अब प्रदेशको समृद्धिको खाका तयार गर्न तपाईहरुको प्रतिनिधि हुन चाहेकी छु । मंसिर ४ गते यहाँहरुबाट विवेकसम्मत निर्णयको अपेक्षा गर्दछु ।
बागलुङ : युवा पुस्ताका डा. सूर्यप्रसाद पाठकसंग ८० वर्षीय चित्रबहादुर केसी चुनावी मैदानमा हुनुहुन्छ । व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला गर्दैन भन्ने मान्यता राख्ने केसीलाई मतदाताले कत्तिको रुचाउने हुन् त्यो त हेर्न बाँकी छ । बागलुङ–१ बाट प्रतिनिधिसभामा छिर्ने दाउसहित राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी र नेकपा (एमाले)का केन्द्रीय सदस्य पाठक मङ्सिर ४ को चुनावमा आमनेसामने हुँदैछन् । जीवनभर निष्ठाको राजनीति गर्दै आउनुभएका केसी र युवा जोशले ओतप्रोत पाठकबीचको प्रतिस्पर्धा रोचक हुने कतिपयको ठम्याइँ छ । संसदीय यात्रामा यी दुवै नेता नयाँ भने होइनन् । यो चुनाव जितेमा केसी चौँथोपटक सांसद बन्नुहुनेछ भने पाठक दोस्रोपटक । विसं २०५६ र २०६४ को चुनावमा बागलुङ–२ बाट प्रत्यक्ष निर्वाचित केसी विसं २०७० को दोस्रो संविधानसभा चुनावमा समानुपातिकतर्फबाट संसद् छिर्नुभएको थियो । विसं २०७० को चुनावमा बागलुङ–२ मा पराजित पाठक विसं २०७४ को चुनावमा भने जीत निकाल्न सफल हुनुभएको थियो । वाम गठबन्धनको साझा उम्मेदवार बनेर बागलुङ–१ मा चुनाव लड्नुभएका पाठकले नेपाली कांग्रेसका चम्पादेवी खड्कालाई १३ हजार २९ मतले पछि पार्नुभएको थियो । पाठकको ३३ हजार छ सय ४५ र खड्काको २० हजार छ सय १६ मत आएको थियो । यो पाँच वर्षमा चुनावी समीकरण फेरिएको छ । हिजो एकै मोर्चामा रहेका दल अहिले एकार्काविरुद्ध प्रतिस्पर्धामा छन् । हिजो दुई धु्रवमा बाँडिएका आज एकैठाउँ उभिएका छन् । दलमा विभाजन आएको छ । यो स्थितिले चुनावी गणितमा पनि फेरबदल ल्याएको छ । विसं २०७४ को चुनावमा वाम गठबन्धनमा रहेका दुई मुख्य शक्ति नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा अहिले कांग्रेसलगायतको पाँच दलीय मोर्चामा छन् । यहीबीचमा एमालेबाट अलग्गिएर बनेको नेकपा (एकीकृत समाजवादी) पनि गठबन्धनमा सामेल छ । अहिले सत्ता गठबन्धनका विरुद्ध एमाले एक्लै चुनावमा होमिएको छ । अघिल्लो चुनाव (२०७४) मा माओवादी र जनमोर्चासहितको मत लिएर जित्नुभएका पाठकलाई यसपाली पाँच दलीय गठबन्धनको चुनौती छ । गत वैशाखमा भएको स्थानीय तह चुनावमा पनि जिल्लामा सत्ता गठबन्धनसामु एमाले कमजोर देखिएको थियो । दसमध्ये एमालेले एउटा मात्र स्थानीय तहको प्रमुख जितेको थियो । बागलुङ–१ मा रहेका चारवटै स्थानीय तहमा पनि प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षलगायत अधिकांश वडामा गठबन्धन दलका उम्मेदवारले चुनाव जितेका थिए । चौध वडा भएको बागलुङ नगरपालिकामा तीन, १० वडाको जैमिनी नगरपालिकामा एक र आठ वडा भएको काठेखोला गाउँपालिकाका तीन वटा वडामा मात्र एमालेले वडाध्यक्ष जितेको थियो । पाँच वडा रहेको वरेङ गाउँपालिकामा भने एमालेले एउटा पनि वडा जित्न सकेको थिएन । यस क्षेत्रका कूल ३७ वडामध्ये एमालेका उम्मेदवार जम्मा सात वटा वडामा मात्र विजयी बनेका थिए । गत स्थानीय चुनावका उम्मेदवारले पाएको मतभारलाई आधार मान्दा गठबन्धनको जनमत बढी छ । तर गठबन्धनमा आबद्ध दललाई पनि आफ्ना मतदाता जोगाउने र चुनावी तालमेलको कागजी सम्झौतालाई मतमा परिणत गर्नुपर्ने चुनौती उत्तिकै छ । आआफ्नै दाबी राष्ट्रिय जनमोर्चाका जिल्लास्तरीय नेता एवं सत्ता गठबन्धनको चुनाव परिचालन समितिका सदस्य थानेश्वर सुवेदीले स्थानीय चुनावमा झैँ यसपालि पनि गठबन्धनका पक्षमा परिणाम आउने दाबी गर्नुभयो । “गठबन्धनमा रहेका दलको जनाधार, विगत चुनावको मत आदिलाई हेर्दा चुनावी अङ्कगणितमा गठबन्धन धेरै अघि छ, ठूलो मतान्तरले हामी चुनाव जित्छौँ”, उहाँले भन्नुभयो, “अभियानमा मसिनो गरी लाग्ने, गठबन्धनको मर्मलाई शिरोधार्य गर्ने र हाम्रा मुद्दामा मतदातालाई सहमत गराउने कुरामा मेहनत चाहिँ गर्नुपर्छ ।” चुनावमा हुनसक्ने गलत अभ्यास र चलखेललाई रोक्दै गठबन्धनमा आबद्ध पाँचै दलले आफ्नो मत सुरक्षित गर्नसके सजिलै चुनाव जितिने उहाँको भनाइ छ । नेपाली कांग्रेसका जिल्ला सचिव हरिहर शर्माले गठबन्धन दलबीचको हार्दिकता र चुस्त समन्वयका कारण मत ‘ट्रान्सफर’मा कुनै समस्या नहुने बताउनुभयो । “यत्तिकै गठबन्धन बनेको होइन, राजनीतिक मुद्दामा हामी सही ठाउँमा छौँ, यो विषयमा मतदाता पनि स्पष्ट हुनुहुन्छ”, उहाँले भन्नुभयो, “गत स्थानीय तहको मत हेर्दा पनि पालिका र वडास्तरमा गठबन्धन अघि छ, गठबन्धनले चुनाव जित्नेमा कुनै शङ्का छैन ।” अनुभवी, विवादरहित छवि, सङ्घर्षपूर्ण विगत र सरल जीवनशैली भएका अग्रज नेता केसीलाई मतदाताले सहजै जिताउने सचिव शर्माको भनाइ छ । “उमेरले पाको भए पनि विचार र जनजीविकाका मुद्दामा चित्रबहादुर केसी तन्नेरी हुनुहुन्छ, सधैं लोकतन्त्र र अग्रगमनका पक्षमा आफूलाई उभ्याउनुभएको छ”, उहाँले भन्नुभयो । राष्ट्रिय राजनीतिमा प्रभाव राख्नसक्ने र ओजनदार व्यक्तित्व भएका कारण मतदाताले केसीलाई अनुमोदन गर्ने सचिव शर्माले बताउनुभयो । जसरी गठबन्धन दल आफ्नो मत सुरक्षित गरे मात्रै पनि चुनाव जितिने ठानिरहेका छन् उसैगरी अरु दलका र स्वतन्त्र मत तानेर चुनाव जित्ने रणनीतिमा एमाले छ । एमालेका जिल्ला सचिव विष्णु भुसालले राष्ट्रिय राजनीतिमा एमालेले खेलेको भूमिकाका कारण पनि मतदाताले यो चुनावमा एमाले रोज्ने बताउनुभयो । “विकास अभियानको थालनी, राष्ट्रियताका पक्षमा लिएको अडान आदि कारणले एमालेका उम्मेदवारलाई मतदाताले जिताउँछन्”, उहाँले भन्नुभयो, “बागलुङ–१ का हकमा पनि गठबन्धनकोभन्दा एमालेको उम्मेदवार नै अब्बल हुनुहुन्छ, संसद्मा अर्थपूर्ण उपस्थिति देखाउनसक्ने उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छौँ ।” पाठकले विगत पाँच वर्षमा संसद्मा खेलेको सक्रिय भूमिकालाई मतदाताले स्मरणमा राखेको सचिव भुसालले बताउनुभयो । “नवीन सोच भएको, जोश र हिम्मतले भरिएको युवा पुस्ताको नेता एमालेबाट उम्मेदवार हुनुहुन्छ”, उहाँले भन्नुभयो, “जिल्लाको विकास निर्माणमा अगुवाइ गर्नेदेखि संसदीय राजनीति र अभ्यासमा पाठक छोटो समयमै लोकप्रिय हुनुभएको छ ।” यस क्षेत्रमा ९६ हजार छ सय ६५ मतदाता छन् । तीमध्ये प्रदेशतर्फ (१) मा ५० हजार पाँच सय ८० र (२) मा ४६ हजार ८६ मतदाता छन् । विसं २०७४ को चुनावमा (१) बाट प्रदेशसभा सदस्यमा एमालेका इन्द्रलाल सापकोटा र (२) बाट जनमोर्चाका कृष्ण थापा विजयी बन्नुभएको थियो । अहिले प्रदेशसभा सदस्यका लागि सत्ता गठबन्धनबाट (१) मा दीपेन्द्रबहादुर थापा र एमालेबाट हिराबहादुर खत्री चुनावी मैदानमा हुनुहुन्छ । (२) मा गठबन्धनले डिल्लीराम सुवेदी र एमालेले नवराज पौडेललाई उम्मेदवार बनाएको छ । थापा गत चुनावमा एमालेका सापकोटासँग पराजित हुनुभएको थियो । खत्री, सुवेदी र पौडेल भने प्रदेशसभा सदस्य उम्मेदवारमा नयाँ अनुहार हुन् । विसं २०७० को दोस्रो संविधानसभा चुनावमा बागलुङ–१ मा पराजित खत्रीलाई एमालेले प्रदेशको उम्मेदवार बनाएको छ । विद्यार्थी राजनीतिबाट उदाउनुभएका सुवेदी ३९ वर्षको उमेरमा प्रदेशसभामा छिर्ने दाउमा हुनुहुन्छ । कांग्रेस त्यागेर केही महिनाअघि एमाले प्रवेश गर्नुभएका पौडेल पहिलोपटक संसदीय प्रतिस्पर्धामा उत्रनुभएको छ ।
मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङमा यतिखेर चुनावी सरगर्मी बढेको छ । मङ्सिर ४ को निर्वाचनलाई आफ्नो पक्षमा पार्न यतिखेर राजनीतिक दल र उम्मेद्वारको सक्रियता बढेको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेशसभा (क) र (ख) समेतमा गरी आसन्न निर्वाचनमा नौ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट कांगे्रसका योगेश गौचन थकाली, नेकपा (एमाले) तर्फबाट प्रेमप्रसाद तुलाचन, स्वतन्त्र पार्टी नेपालका सुरेश गुरुङ र राप्रपाका प्रविण शेरचन प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहनु भएको छ । मुस्ताङमा दुई स्वतन्त्र उम्मेदवारसहित १३ जनाले मनोनयपत्र दर्ता गराएकामा चार जनाले उम्मेदवारी फिर्ता गरेका थिए । प्रदेशतर्फ एमालेबाट क्षेत्र इन्द्रधारा विष्ट र चन्द्रमोहन गौचन, सत्ता गठबन्धनबाट विकल शेरचन र नाम्डु गुरुङ, राप्रपाबाट जेम्स हिराचन र राप्रपा नेपालबाट कर्मा डोल्कर गुरुङ उम्मेदवार हुनुहुन्छ । त्यस्तै प्रतिनिधिसभामा स्वतन्त्रबाट डा सुरेन्द्र शेरचन र सुरज लालचन र मानबहादुर विकको उम्मेदवारी परेकोमा सबैले फिर्ता लिनुभएको छ । प्रदेश सभातर्फ उम्मेदवारी दिएका जेमी हिराचनको पनि उम्मेदवारी फिर्ता भएको छ । प्रदेशतर्फ भने कुनै पनि स्वतन्त्र उम्मेदवारी परेको छैन । चुनावी गतिविधि बढ्दै गर्दा पर्यटकीयस्थल मुस्ताङमा यतिखेर उम्मेदवार यहाँको पर्यटकीय विकाससँगै सडक, खानेपानीलगायतका पूर्वाधारको व्यवस्थापन गर्ने प्रतिबद्धतासहित घरदैलोमा पुगेका छन् । पर्यटकीय मौसम भएका कारण यता उम्मेदवारलाई मतदाता भेट्न भ्याइनभ्याइ छ भने आन्तरिक तथा बाह्य पर्यटकको आगमनले यहाँको चहलपहल बढाएको छ । लामो समय कोरोना कहरका कारण थलिएको यहाँको पर्यटन विस्तारै फस्टाउँदैछ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० जोमसोम चेकपोष्टको तथ्याङ्ले चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा मुस्ताङमा सडकमार्ग र हवाईमार्ग हुँदै नौ हजार बढी विदेशी पर्यटक भित्रिएको देखाउँछ । जसमध्ये लगभग ७५ प्रतिशत पर्यटक सार्क मुलुकका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा १० हजार चार सय ८५ मतदाता रहेको यस जिल्लामा सात हजार पाँच सय ५७ मत खसेको थियो । अध्यक्ष पदमा एमालेले चार हजार एक सय २६ मत पाएको थियो भने कांग्रेससहितको गठबन्धनले तीन हजार ९१ मत पाएको थियो । अध्यक्ष पदमा कांग्रेससहितको गठबन्धनभन्दा एमालेले पाएको मत एक हजार ३५ ले बढी छ भने उपाध्यक्ष पदमा कांग्रेससहितको गठबन्धनले तीन हजार दुई सय ३६ मत पाएको थियो भने एमालेले तीन हजार सात सय २० मत पाएको थियो । जिल्लाको पाँचै तहको उपाध्यक्षको मतभार तुलना गर्दा कांग्रेसभन्दा एमालेको मत चार सय ८४ ले बढी छ । पाँचवटै तहमा एमालेले दुई हजार दुई सय ५४ मत ल्यायो भने कांग्रेसले दुई हजार ७० मत पायो । वडाध्यक्षमा एमाले एक सय ८४ मतले बढी पाएको छ । जिल्लामा पछिल्लो तथ्याङ्क अनुसार करिब पाँच सय बढी मतदाता नयाँ थपिएका छन् । प्रादेशिक निर्वाचनअन्तर्गत प्रदेश ९ख० को तल्लो मुस्ताङमा थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका छन् । यहाँ गएको स्थानीय तह निर्वाचनमा एमालले अध्यक्ष दुई र उपाध्यक्ष एक पद जितेको थियो भने कांग्रेसले एक अध्यक्ष र दुई उपाध्यक्ष जितेको थियो । यी तीन पालिकामा एमालेले अध्यक्ष पदमा दुई हजार सात सय ६९ मत र कांग्रेसले दुई हजार तीन सय ९२ मत पाएको थियो । त्यस्तै उपाध्यक्षमा एमालेले दुई हजार चार सय ४७ मत र कांग्रेसले दुई हजार चार सय ८२ मत पाएको थियो । प्रदेश ९ख०मा एमालेले अध्यक्ष पदमा कांग्रेसभन्दा तीन सय ७७ मत बढी पाएको थियो । मुस्ताङको प्रदेश ९क० मा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका पर्दछन् । यस प्रदेशमा एमालेले अध्यक्ष पदमा एक हजार तीन सय ५७ मत पाउँदा कांग्रेससहितको गठबन्धनले छ सय ९९ मत पाएको थियो । उपाध्यक्षमा एमालेले एक हजार दुई सय ७३ मत र गठबन्धनले सात सय ५४ मत पाएको थियो । यस्तै वडाध्यक्ष मतभारमा एमालेले नौ सय पाँच मत र कांग्रेस गठबन्धनले छ सय ७१ मत पाएको थियो । स्थानीय तहको मतपरिणामअनुसार प्रदेश ९क०मा एमालेले गठबन्धनभन्दा ६५८ मत बढी पाएको थियो । उपाध्यक्ष पदमा एमालेले गठबन्धनभन्दा पाँच सय १९ मत बढी पाएको थियो भने वडाध्यक्षतर्फ एमालेले दुई स ३४ मत बढी पाएको छ । गण्डकी प्रदेशको लाइफ लाइन बेनी, जोमसोम, कोरोला खण्डलाई कालोपत्रसँगै कोरोला नाकामा नेपालतर्फ भन्सारलगायतका पूर्वाधार तयार गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको नेकपा एमाले प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेमप्रसाद तुलाचनले बताउनुभयो । मुस्ताङदेखि डोल्पा जाने बाटोको पूर्णताका साथै यथासम्भव दामोदरकुण्ड जाने मोटरेवल बाटो, कालीगण्डकी र यसका शाखा मोटरेवल पुल निर्माण प्राथमिकतामा रहने तुलाचनले बताउनुभयो । मुस्ताङको पर्यटकीय विकाससँगै सडक पूर्वाधार, कृषिको आधुनिकीकरणको मुद्दासहित आफू चुनावी अभियानमा जुटेको गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार योगेश गौचन थकालीले बताउनुभयो । जनतालाई शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताको प्रत्याभूति गराउँदै पिछडिएका वर्ग र समुदायको उत्थान पनि आफ्नो प्राथमिकतामा रहेको थकालीको भनाइ छ ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन् । बुधबार काठमाडौं–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै ओलीले एमालेलाई राष्ट्रिय शक्ति नबनाए देशले दुर्भाग्य खेप्नुपर्ने बताएका हुन् । ‘यसपल्ट नेकपा एमालेबाहेक अर्को त्यस्तो राष्ट्रिय शक्ति छैन । देशका लागि राष्ट्रिय शक्ति निर्माण गर्न एकदमै जरुरी छ । अहिले राष्ट्रिय शक्ति बनाइएन भने, एकल बहुमत आएन भने देश दुर्भाग्यमा जानेछ । दुर्भाग्य भोग्नुपर्छ’ उनले भने । ओलीले देश बिगार्न नदिन एमालेले जित्नुपर्ने भन्दै एमालेले जितेमात्र स्थायीत्व आउने जिकिर गरे ।
कास्कीको क्षेत्र नम्बर १ मा दुबै उम्मेदवार दोहोरो भूमिकामा छन् । जसमध्ये मनबहादुर गुरुङ नेकपा एमाले र किशोरदत्त बराल नेपाली कांग्रेसका जिल्ला अध्यक्ष हुन् । यस चुनावमा दुबैले पहिलोपटक सांसद हुने दौडमा होमिएका छन् । जिल्लामा कत्तिको पकड छ । र, संगठन निर्माणमा को अगाडी छ भन्ने परीक्षा पनि हो प्रतिनिधिसभाको चुनाव । यसअघि वाम गठबन्धनको ताकतमा यस क्षेत्रबाट नेकपा एमालेका खगराज अधिकारीले जितेका हुन् । अहिले अधिकारीको सट्टा मनबहादुर छन् । जसको विरुद्ध छ सत्ता गठबन्धन । अधिकारीले ३९ हजार दुई सय ४२ मत ल्याएर कांग्रेसका यज्ञबहादुर थापालाई पराजित गरेका थिए । थापाले २५ हजार आठ सय २६ मत ल्याउँदा १३ हजार चार सय १६ मतले हार व्यहोरेका हुन्। एमालेले जितेको यस क्षेत्र खोसेर बराल आफ्नो धाक जमाउन दिनरात खटिरहेका छन् । हरेक चुनावी कार्यक्रमलाई सकेसम्म प्रत्यक्ष प्रशारण गरेर आम जनतासमक्ष पु¥याइरहेका छन् बराल । जसरी पनि एमालेबाट कास्की – १ खोस्न लागिरहँदा एमालेका मनबहादुर पनि विरासत जोगाउन उस्तै स्तरमा लागिरहेका छन् । असली अर्थमा यसपटकको चुनाव खोस्ने र जोगाउनेबीचको भीडन्त हो । अधिकारी प्रदेशसभा सदस्यमा उम्मेदवार हुने भएपछि प्रदेश सदस्य गुरुङलाई प्रतिनिधिसभामा उम्मेदवार बन्ने बाटो खुलेको हो । अघिल्लो निर्वाचनमा जितेकाले एमाले आफ्नो विरासत जोगाउन लागिपरेको छ । तर अघिल्लो चुनावको साझेदारी अहिले कायम छैन । अघिल्लो निर्वाचनको समीकरण बदलिएर बनेको कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धन उक्त विरासत भत्काउने लक्ष्यका साथ चुनावी गतिविधिलाई सक्रिय बनाएको छ । यसपटक जित्ने गरी तयारीमा जुटेको गठबन्धनबाट कांग्रेसका उम्मेदवार बरालले बताए। स्थानीय तहको परिणाम र गठबन्धनमा रहेका दलको साथका कारण कास्की–१ मा आफूले जित्नेमा उनी ढुक्क छन्। “मूल प्रसार–प्रसारको काम भइरहेको छ । प्रत्येक वडामा सम्पर्क कार्यालय खोलिरहेका छौँ”, उनले भने, “जित्ने भन्ने त पक्का नै छ तर कति मतान्तरले जितिन्छ भन्ने कुरामा जोड दिएका छौँ ।” एमाले पनि अघिल्लो निर्वाचनको शाख जोगाउन लागिपरिरहेको छ । कास्की क्षेत्र नं १ का जनताको सुख, दुःखमा साथमा रहेकाले आफ्नो विजयी सुनिश्चित रहेको एमालेका उम्मेदवार गुरुङले बताए। “कास्कीमा मेरो सङ्गठन बलियो पनि छ । मेरो क्षेत्रको जनताले मलाई चिनिसकेको छ”, उनले भने, “मेरो काम र क्रियाशीलताले मैले जित्छु भन्नेमा ढुक्क छु ।” यस निर्वाचन क्षेत्रमा मादी र रुपा गाउँपालिकासहित पोखरा महानगरपालिकाका १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ गरी ११ वटा वडा पर्दछन् । यीमध्ये वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मादी गाउँपालिका कांग्रेस र रुपा गाउँपालिका एमालेले जितेको हो भने पोखरा महानगरको ११ वटा वडामध्ये एउटा वडा एमालेले १० वटा वडा कांग्रेसले वडाध्यक्ष जितेको थियो । क्षेत्र नं १ मा स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारको दलगत मतले कांग्रेस ठूलो दल देखिन्छ । गठबन्धनमा रहेका कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्रसमेतको मत जोड्दा कांग्रेसलाई सहज देखिन्छ । स्थानीय निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले कुल ३३ हजार आठ सय ३७ मत प्राप्त गर्दा यस क्षेत्रमा एमालेका वडाध्यक्षले ३० हजार एक सय ९६ मत ल्याएको हो । यसबाहेक माओवादी केन्द्रका वडाध्यक्षले तीन हजार दुई सय ७८ पाएका थिए । सो क्षेत्रमा कुल एक लाख १० हजार सात सय १५ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। यस क्षेत्रमा प्रदेशसभा (क)मा ५८ हजार चार सय ४५ र प्रदेशसभा (ख) मा ५२ हजार दुई सय ७० मतदाता छन् । सूचना अधिकारी न्यौपानेअनुसार यस क्षेत्रको प्रदेशसभा सदस्यका लागि प्रदेशसभा (क)मा आठ र (ख) मा सात जना चुनावी प्रतिस्पर्धामा छन् । - राससको सहयोगमा
पोखरा । नेपाली कांग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउने दाबी गर्नुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतले भन्नुभयो,“राजनीतिक दल मात्र होइन, नेपाली जनतालेसमेत कांग्रेस नेतृत्वकै सरकारको चाहना राखेका छन् । कांग्रेस सरकारमा भएकै समयमा विद्यालय, कलेज, सडक, विद्युत्, अस्पताल र एयरलायन्स व्यापक मात्रामा विस्तार भए, अब कांग्रेस गाउँका सडक बाह्रैमहिना सञ्चालन गर्ने योजनाका साथ अगाडि बढ्छ”, नेता महतले भन्नुभयो । अघिल्लो सरकारले फुस्रा आश्वासन मात्र दिएर काम केही नगरेको र कोभिडको समयमा समेत भ्याक्सिन छिटो ल्याउनुपर्नेमा कमिसनको चक्करमा लाग्दा जनताले समयमा भ्याक्सिन नपाएको नेता महतको आरोप थियो । पछिल्ला दिनमा अन्य पार्टीभन्दा कांग्रेस नै ठिक भनेर जनता कांग्रेसप्रति आकर्षित भएको उहाँको भनाइ थियो । संविधानको रक्षा, मानव अधिकार, व्यक्ति स्वतन्त्रता र लोकतन्त्रको संरक्षण कांग्रेसले मात्र गर्न सक्ने भनाइ उहाँको छ । देशैभरि पाँच दलीय गठबन्धनका उम्मेदवार उठेका र यो वा त्यो पार्टी नभनी ती उम्मेदवारलाई जिताउन सक्रिय रुपमा लाग्न कांग्रेसका नेता तथा कार्यकर्तालाई उहाँले आग्रहसमेत गर्नुभयो । “सबै पार्टीलाई सिट बाँड्दा कांग्रेसले सबै सिटमा उम्मेदवार उठाउने कुरा आएन, कांग्रेसभित्र एक से एक नेता उम्मेदवार हुन लायक छन्, अहिले टिकट पाइन भनेर असन्तुष्ट बन्न भएन”, नेता महतले भन्नुभयो,“म आफैको प्रत्यक्ष निर्वाचन लड्ने चाहाना हुँदाहुँदै लड्न पाइन् ।” पाँच दलीय गठबन्धन राजनीतिक आवश्यकता भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “एक्लै चुनाव लडेर भन्दा गठबन्धनबाट लड्दा धेरै सिट जित्न सकिने भएकै कारण निर्वाचनमा पाँच दलीय गठबन्धन रोज्नु परेको हो ।” संविधानको रक्षा र राजनीतिक स्थायित्वका लागि पाँच दलीय गठबन्धन अगाडि बढेको उहाँको भनाइ थियो । प्राप्त उपलब्धिको रक्षा गर्दै यही संविधानलाई टेकेर समयको माग अनुसार संविधान संशोधन गर्ने कांग्रेसको लक्ष्य रहेको जानकारी पनि डा महतले दिनुभयो । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डीला सङ्ग्रौलाले निर्वाचनमा एक भोटले पनि ठूलो महत्व राख्ने हुँदा आगामी मङ्सिर ४ गते सम्पन्न हुने निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो । “काम गर्ने पार्टी कांग्रेस हो, तर जनतामाझ प्रचारप्रसार गर्न नसक्दा पछि परेका छौँ”, डा सङ्ग्रौलाले भन्नुभयो ।
पोखरा : कास्की २ (१) मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले देशको समृद्धि र समतामूलक समाजका लागि कोही नेपाली भूमिहीन हुन नहुने बताएका छन् । भूमिको उचित योजना र उपयोगबिना विकास असम्भव हुने उनले बताए । माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले भूमिहीन र अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि काम जारी रहेको बताए । उनले अहिले सेतो पूर्जा दिइएको जनाउँदै चाडै लालपुर्जा वितरण हुने बताए । उनले भने, ‘गरिब, सिमान्तकृतका बस्तीमा विकासका पूर्वाधार निर्माण र मानव विकास लागि हामी योजनावद्ध प्रयास गर्छौं ।’ पोखरा १७ को प्रगति टोलमा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्दै लामिछानेले गरिब, उत्पीडित, भूमिहीनको हितका लागि माओवादीले निरन्तर आवाज उठाउँदै आएको स्मरण गरे । निर्वाचनमा विजयपछि जनताका मौलिक हक र अधिकारको ग्यारेन्टी हुने उनको आश्वासन छ । ‘संविधानमा सबै जनताको अधिकार राज्यले ग्यारेन्टी गर्ने लेखिए पनि व्यवहारमा आएको छैन, ‘लामिछानेले भने, ‘यस्ता अधिकार जनताले पाउनुपर्छ भनेर नै म चुनावमा होमिएको छु ।’सबैलाई समान शिक्षा, स्वास्थ्यको अधिकार दिलाउन, रोजगारीको ग्यारेन्टी गर्न लाग्ने उनले प्रतिवद्धता गरे । मौका पाउँदा आफूले जिम्मेवार ढंगले उत्तरदायित्व निर्वाह गरेको उदाहरण दिदै उनले गरिबी, अशिक्षा, आर्थिक असमानता रहेसम्म नयाँ नेपाल नबन्ने उल्लेख गरे । व्यवस्था परिवर्तनको नेतृत्व गर्ने माओवादीले मात्र अब समृद्धिको नेतृत्व गर्न सक्ने उनको भनाइ छ । नेपाली काँग्रेसका गण्डकी प्रदेश सदस्य श्यामप्रसाद भण्डारीले देशको विकास, स्थिरता र लोकतन्त्रका लागि गठबन्धनको जित जरुरी रहेको औंल्याए । प्रगति टोल विकास संस्थाका अध्यक्ष राकेश शर्माले आफ्नो टोलमा रहेका समस्या प्रस्तुत गर्दै विकासको खाका र इच्छाशक्ति भएका उम्मेदवारले चुनाव जित्नुपर्ने बताए ।
पोखरा : नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अधिकार सहितको समृद्धिका लागि आप्mनो उम्मेदवारी भएको बताएकी छन् । अखिल नेपाल महिला संघ क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीद्धारा मंगलवार पोखरामा आयोजित महिला भेलामा बोल्दै उनले सभ्य र समृद्ध समाज निर्माण पहिलो प्राथमिकता भएको बताईन् । अनेमसंघको अगुवाईमा मुलुकमा महिला अधिकार स्थापित भएको बताउँदै थप अधिकार प्राप्तिका लागि आगामी मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेलाई विजय गराउँनु पर्नेमा उनको जोड छ । उनले मुलुकमा दिनप्रतिदिन बढ्दै गएको साइवर अपराध रोक्नका लागि आप्mनो तर्पmबाट सक्दो भूभिका निर्वाह गर्ने बताईन् । डेंगु संक्रमणलाई जित्न सफल उम्मेदवार भट्टाईले घर व्यस्थित तवरले सञ्चालन गर्ने महिलाहरु अवसर पाएमा मुलुक चलाउन पनि सक्षम रहेको चर्चा गर्दै मतदाताको अपेक्षा अनुसार आप्mनो जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गरिन् । दुःखको परिस्थितिमा उपनिर्वाचनमा उम्मेदवार बनेर यस क्षेत्रका मतदाताको अपार माया विश्वासले विजयी बन्न सफल भएको स्मण गर्दै उनले भनिन्–‘स्वर्गीय रविन्द्र अधिकारीले देखेका सपना पुरा गर्ने दायित्वबोध भएको छ ।’ निर्वाचन क्षेत्र नं. २ (ख) का उम्मेदवार मिना गुरुङले युवालाई उत्पादनसँग जोडन र महिला सशक्तिकरणका लागि आप्mनो उम्मेदवारी भएको स्पष्ट पारिन् । निर्वाचनमा नारिशक्ति प्रस्तुत गर्न संगठित भएर निर्वाचनमा लाग्नु पर्नेमा उनको जोड छ । प्रदेश सभामा समानुपातिक उम्मेदवार वरिष्ठ प्रसुतिरोग विशेषज्ञ डा. छममाया पुनले विकास र समृद्धिको अभियानलाई अघि बढाउन सूर्यध्वजावाहक उम्मेदवारलाई विजयी गराउनु पर्नेमा जोड दिईन् । उनले पार्टीले मेडिकल क्षेत्रलाई सम्वोधन गरेकोमा आवार व्यक्त गर्दै आप्mनो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की इन्चार्ज कृष्णबहादुर थापाले अपवित्र गठबन्धनले मुलुकलाई निकास नदिने ठोकुवा गर्दै आगामी निर्वाचनमा कास्की जिल्लाका सवै सिटमा एमालेलाई विजय गराउन एकमनाका साथ लाग्न कार्यकर्तालाई अनुरोध गरे । अनेमसंग निर्वाचन क्षेत्र नं. २ का संयोजक हिरा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा कास्की जिल्ला सहईञ्चार्ज मिनाकुमारी गुरुङ लगायतले गठबन्धनका विरुद्धमा संगठित भएर आ—आप्mनो ठाउँबाट जुट्नु पर्ने आवश्यकता औल्याए । उम्मेदवार विद्या भट्टराईले अनेमसंग पोखरा १६ बाटुलेचौरमा मंगलवार नै आयोजित बृहत महिला भेलालाई समेत सम्बोधन गरिन् । भेलामा गण्डकी प्रदेशका निवर्तमान उपसभामुख सिर्जना शर्मा, निर्वाचन क्षेत्र २ (ख) का उम्मेदवार मिना गुरुङ, एमाले १६ अध्यक्ष राजेश गुरुङ, प्रचार प्रसार संयोजक विष्णुदेवी नेपाली लगायतले महिलाहरु निर्वाचन केन्द्रीत हुन आग्रह गरेका थिए ।

