काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गर्नुभएको छ। आज यहाँ पत्रकार सम्मेलनको आयोजना...

पोखरा । जनता समाजवादी पार्टीनिकट तमुवान राष्ट्रिय समितिको बैठक पोखरामा सम्पन्न भएको छ ।    तमुवान राष्ट्रिय समितिको प्रथम बैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार ङोए तमु धिँ भवन लेखनाथ पोखरामा सम्पन्न भएको हो ।    सो कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका प्रदेश इन्चार्ज एवम पूर्वमन्त्री शिवलाल थापामगरले पार्टीको ऐतिहासिक छलाङले मधेश प्रदेश प्राप्ती गरेको बताउदै आन्दोलन र सत्तासङ्गै राष्ट्रिय राजनीतिमा उदाएको जनता समाजवादी पार्टीको विकल्प नभएको बताए ।    उनले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमन सम्पूर्ण नेता कार्यकर्तालाई पार्टीको एजेण्डाप्रति केन्द्रीत भएर निर्वाचनमा लाग्नुपर्ने धारणा राखे ।   यसैगरि केन्द्रीय राजनीति समिति सदस्य एवम् मगरात समन्वय इन्चार्ज निर्मल जिसीले आसन्न निर्वाचनबारे जनता समाजवादी पार्टी नेपालको चुनावी अभियानबारे रणनीति सुनाएका थिए । उनले समुन्नत समाजवादसहितको पार्टीको पहिचान प्राप्तिको अवधारणाबारे आफ्नो मतको सुनिश्चितता जनता समाजवादी पार्टी मै किन ? भन्ने विषयमासमेत आफ्नो धारणा राखेका थिए ।   त्यस्तै जनता समाजवादी पार्टी नेपालको भातृसंगठन समाजवादी विद्यार्थी युनियन केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष विशम भुजेलले विद्यार्थी राजनीति र समाजवादी पार्टी नेपालको एजेण्डाबारे आफ्नो धारणा राखे । जसपाका केन्द्रीय सदस्य श्याममाया पुनमगरले राजनीतिमा महिला सहभागिता र समानुपातिक समावेशी प्रणालीबारे आफ्नो धारणा राखे ।   केन्द्रीय सदस्य एव गण्डकी प्रदेश सह–इन्चार्ज धनप्रसाद तामाङले आदिवासी सभ्यता आदिबासी जनजातिको नेपाली राष्ट्रिय राजनीति को ईतिहास बारे समिक्षा गर्न आवश्यक रहेको बताए ।      जसपाका नेता एवम् तमुवान इन्चार्ज रुद्र गुरुङले तमुवान प्राप्ती को पार्टीको अवधारणा , संघ प्रदेश र स्थानिय संरचनामा तमुवानको महत्वबारे आफ्नो मत राखेको थिए ।    तमुवान राष्ट्रिय समितिका अध्यक्ष मानबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा नेपाल केन्द्रीय सदस्य उमा गुरुङको स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने तमुवान राष्ट्रिय समितिका मुुख्य सचिव चन्द्र तामाङ मुस्कानले कार्यक्रम सञ्चालन गरेका थिए ।

तनहुँ  :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन नसक्ने बताउनुभएको छ ।    तनहुँको म्याग्दे-१ गुणादीका स्थानीयवासीले दमौली आउने पानी बन्द गरिदिएपछि पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी आफ्नो भनाइलाई विभिन्न माध्यमबाट तर्कसहितका व्याख्यासहित प्रेसित हुँदा गुणादीवासीको भावनामा ठेस पुगेकामा क्षमायाचना गर्नुभएको छ ।    वरिष्ठ नेता पौडेलले एकआपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ । शुक्रबार दमौलीमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले गुणादीको पानीका विषयमा बोलेपछि स्थानीयवासीले त्यसबारेमा आपत्ति जनाउँदै दमौली आउने पानीको मुहान बन्द गरी दिएका छन् ।   पौडेलले जनताको स्वास्थ्य र जनताको हित विपरीत कुनै काम गर्नु राम्रो नभएको बताउँदै त्यसतर्फ ध्यान पुर्‍याउन आग्रह गर्नुभएको छ । गुणादीका स्थानीयवासीले पानीको मुहान बन्द गरिदिएपछि दमौलीमा पानीको अभाव सुरु भएको छ । 

पोखरा:   पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई अवैध सन्तानको संज्ञा दिएका छन् ।   पोखरामा जारी नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले गठबन्धन सरकारलाई जनताले नपठाएको भन्दै अवैध सम्बन्धबाट बनेको बताएका हुन् ।   उनले जनादेशबाट नभइ परमादेशबाट वर्तमान सरकार अवैध रुपमा बनेको उल्लेख गरे । ‘यो सरकार अवैध सन्तान जस्तै हो कसरी आयो भन्ने जनता अनविज्ञ छन्, उनले भने ‘जनताले पठाएको सरकार होइन यो परमादेशले बनाएको सरकार हो ।’    उनले परमादेश सरकारले देशलाई दुर्घटना तर्फ घकेलेको बताउदै अध्यक्ष ओलीले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि चुनावमा एमालेले जित्नै पर्ने दबाब रहेको धारणा राखे ।  ‘मंसिर ४ गतेको चुनाव एमालेले जित्नै पर्छ, उनले भने,‘ सामाजिक न्याय प्राप्तका लागि, समाजिक सद्भाव कायम गर्न, विकासको पूर्वाधारमा तिव्रता दिन, समानता कायम गर्न एमालेले चुनाव जित्नै पर्छ ।’   राष्ट्रिय सद्भाव कायम गर्न र समृद्ध नेपाल निर्माण गर्न एमालेले मंसिर ४ गतेको चुनाव जित्न आवश्यक रहेको उल्लेख गर्दै श्याम टमोटले लेखेका गीत नै गुनगुनाए । ‘हातमा कलम हुनेहरु कलम लिएर उठ, हातमा औजार हुनेहरु औजार लिएर उठ, उनले थपे, ‘केही नहुनेहरु आवाज लिएर उठ । यो देशको मुहार फेर्नलाई उठ ।’   उनले माधब कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीले थ्रेसहोल्ड क्रस गर्न नसक्ने दाबी गरे ।  ‘अहिले ति मान्छेहरु चोक्टा खान गएका झोलमा डुबेर फट्या फट्याक भइरहेका छन् । यो चुनावमा प्रचण्डको पार्टीले थ्रेसहोल्ड कटाएर यसपल्ट राष्ट्रिय पार्टीको इज्जत जोगाउँछ । माधव नेपालको पार्टीले थ्रेसहोल्ड पार गरेर तीन प्रतिशत ल्याएर संसदमा पुग्दैन, उनले भने, ‘तपाइहरुलाई यो भविष्यवाणी मिल्दैन कि भन्ने लाग्यो होला । नोट गरेर राख्नुस । चुनावसम्ममा माधब नेपालसँग आफुबाहेक कार्यकर्ता नै रहदैनन् ।’   उनले फरक प्रसंगमा लोकतन्त्रको आन्दोलन सफल भएपनि कार्यान्वयन हुन नसकेको बताउदै चिन्ता व्यक्त गरेका थिए । 

  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ ।           सङघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको एमाले पार्टी कार्यालयले जनाएको छ । भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ । भेटमा एमालेका तर्फबाट अध्यक्ष ओलीसँगै नेताहरु अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, डा राजन भट्टराई, अन्जान शाक्यलगायत हुनुहन्थ्यो ।          सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष चान्शु सोमबार काठमाडौँ आइपुग्नुभएको हो । सोही दिन सभामुख सापकोटा र अध्यक्ष लीले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।          अध्यक्ष लीले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज अपराह्न शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । नेता लीले आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्नुहुने कार्यक्रम छ । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि अध्यक्ष लीको आजै भेटवार्ता हुनेछ ।       अध्यक्ष लीले यही भदौ २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।          चिनियाँ प्रतिनिधिमण्डलले नेपालको औपचारिक भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुन:निर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

पोखरा :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि (मंगलबार)पोखरा आउने भएका छन् ।    नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न अध्यक्ष ओली पोखरा सभागृह आउने भएका हुन् ।    पोखरामा भदौ २८ र २९ गते हुने लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आउने निश्चित भएको संघका महासचिव हुमबहादुर गुरुङले जानकारी दिए ।    नेकपा एमालेका अध्यक्ष अध्यक्ष ओलीसंगै उप–महासचिव पृथ्वीसुब्बा गुरुङको समेत उपस्थिति हुने संघका महासचिव गुरुङले बताए ।    

पोखराः अखिल छैठौं कास्कीले आज पृथ्वी नारायण क्याम्पसको मूलगेटमा ब्यानर टाँगेको छ ।    संघीयता खारेज गर्ने मूख्य मागसहित कालो पृष्ठभूमिको ब्यानरमा एमसीसी र एसपीपी सम्झौतालाई राष्ट्रघाती भन्दै खारेज गर्नुपर्ने उल्लेख छ । त्यस्तै, राष्ट्रघाती नागरिक विधेयकसमेत खारेज गर्नुपर्ने अखिलको माग रहेको छ ।    संघीयता र अन्य पक्षबारे विरोध जनाउँदै छैठौंका केन्द्रिय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज इन्द्रमणि पाण्डेले विरोधस्वरुप देशव्यापी अभियान सुरु गरेको जनाएका छन् ।    त्यस्तै, शैक्षिक माफियाकरणको अन्त्य र मूल्यवृद्धि एवं कालोबजारीको विरोध गरेको बताउँदै सचिव पाण्डेले शिक्षा क्षेत्रमा निजिकरण र दलीय भागबण्डाको विरोध गरेको उल्लेख गरेका छन् ।      छैठौंले बुटवलमा राष्ट्रिय परिषद्को बैठकको समेत तयारी गरेको छ । तयारीस्वरुप हाल डायरी अभियान सुरु गर्ने बताउँदै उनले देशभरका विद्यार्थीबाट शैक्षिक एवं राजनीतिक सुझाव लिने उनले जनाएको छन् ।    सोहीक्रममा आगामी निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय जनमोर्चालाई ‘गिलास’मा मतदान गरिदिन पनि पाण्डेले आग्रह गरेका छन् ।   

  काठमाडौं । नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेको स्मरण गर्दै अबको बाँकी जीवन राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका लागि लगाउने बताउनुभएको छ ।    बागमती प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा आज काठमाडौँमा भएको ‘युवा उद्यमशीलता सम्मेलन’को उद्घाटन गर्दै अध्यक्ष दाहालले मुलुकको स्थायित्व, विकास र समृद्धिको वातावरण तयार पारे विदेशिएका युवा आफैँ फर्किएर आउने विश्वास व्यक्त गर्नुभयो ।       अध्यक्ष दाहालले लामो सङ्घर्षका साथ राजनीतिक परिवर्तनमा होमिँदै जीवनको उत्तरार्धतिर आइसकेकाले स्मरण गर्दै भन्नुभयो, “अब बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पण गर्ने मेरो अठोट हो, उद्योगमैत्री ऐन कानुन, बनाउने, विदेशमा रहेका युवाका आर्जित सीप र पुँजीलाई नेपालमा लगानी गर्नसक्ने बनाउने सोच छ ।”   अध्यक्ष दाहालले आजको स्थिति हेर्दा १० वर्षमा मुलुकलाई विकासको गतिमा अघि बढाउन सम्भव छ भन्नुभयो । त्यसकाल लागि युवाको जागरुकता आवश्यक भएको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले थप्नुभयो, “हाम्रो भरोसा तपाईं युवा नै हो, तपाईहरू भविष्य   होइन वर्तमान हो, अठोट गर्नुभयो भने देशलाई नयाँ र आर्थिकरूपले गतिशिल बनाउन सक्नुहुन्छ ।”    नेपाललाई आत्मनिर्भर अर्थतन्त्रका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना भएको पनि उहाँले बताउनुभयो । उहाँले प्राकृतिक स्रोतसाधनको प्रचुर सम्भावना रहेको तर राजनीतिक वातावरण र उनीहरूको दृढ इच्छाशक्ति, सही भिजन, योजना र कार्यक्रमको अभाव रहेको बताउनुभयो ।    भौगोलिक अवस्थाका आधारमा नेपालमा डिजिटल पूर्वाधार विकासको सम्भावना अधिक रहेकाले उक्त अवसर र सम्भावना नगुमाउन युवालाई आह्वान गर्नुभयो । उहाँले अहिले पनि सबैभन्दा विकास गर्न सकिने महत्वपूर्ण क्षेत्र भनेको कृषि नै भएको बताउँदै कृषिमा आत्मनिर्भर र कृषिमा आधारित उद्योग स्थापनाको आवश्यकता औँल्याउनुभयो ।    अध्यक्ष दाहालले विगतमा खाद्यान्नमा निर्यात गर्ने हाम्रो मुलुक आर्थिक स्थितिमा पछाडि जानु चुनौतीपूर्ण अवस्था हो भन्नुभयो । उहाँले जलविद्युत्, पर्यटन तथा जडीबुटी र खनिजको विकास गर्ने कुरा हुँदाहुँदै पनि कृषिमा आधारित उद्योग दीगो र दीर्घकालीन हुने बताउनुभयो ।   दुई नम्बरी धन्दाबाट सम्पत्ति कमाउने प्रवृत्ति समाजमा रहने र त्यो प्रवृत्ति हावी हुने खतरा रहेको जिकिर गर्दै अध्यक्ष दाहालले सम्पत्ति कसरी कमाउने र कसरी खर्च गर्ने कुरा महत्वको नभएको तर समाजलाई कसरी अघि बढाउने भन्ने कुरा महत्वपूर्ण रहेको बताउनुभयो ।     उहाँले युवालाई कुनै उद्योग स्थापना गरेर छिट्टै पैसा कमाउने सपना नदेख्न आग्रह गर्नुभयो । पैसा कमाउनका लागि धैर्यता लिन सुझाव दिनुभयो । “काम ढिलो होस्, तर दीर्घ होस्, रातारात धनी हुनुपर्छ भनेर सुरु गरेको व्यवसाय तत्काल त्याग्नु हुन्न”, उहाँले युवालाई सुझावात्मक रुपमा भन्नुभयो । अध्यक्ष दाहालले आफ्नो बाल्यकाल स्मरण गर्दै खान नपुगेर कास्कीबाट चितवन झरेको मान्छे दुईपटक प्रधानमन्त्री नै भइसकेको भनी युवालाई उत्प्रेरणा जगाउनुभयो ।    उहाँले आफूले युद्धको नेतृत्व लिँदै द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न तथा समावेश संविधान निर्माणका लागिसमेत नेतृत्वदायी भूमिका लिन पाएको सुनाउनुभयो । राम्रो योजनाका साथ काम गर्नसके सफल हुने पनि बताउनुभयो ।     

काठमाडौं :  नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा नेविसंघले  प्रदर्शन गरेको छ ।    नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पस अगाडी नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा विरोध प्रदर्शनमा गरेका थियो ।    नेविसंघले गरेको प्रदर्शनमा नेपाल प्रहरीले हस्तक्षेप गरेको थियो ।  ‘नागरिकता विधेयक प्रमाणीकरण नगरेकाले राष्ट्रपतिको पुत्ला जलाउन लाग्दा प्रहरीले हस्तक्षेप गर्‍यो’, त्रिचन्द्रमा अध्यययनरत दिनेश कार्कीले भने, ‘प्रहरीसँगको हानहानमा एउटा साथीको हातमा चोट लागेको छ ।’   नेविसंघले राष्ट्रपति विद्या भण्डारीको पुत्ला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षप गरेपछि नेविसंघ कार्यकर्ताले पनि ढुंगा हानेका थिए । त्यसपछि दुवै पक्षबीच ढुंगा हानाहान भएको थियो ।   नेविसंघले बाटो अवरुद्ध गरेर प्रदर्शन गर्दा केही समय घन्टाघर आसपासको सवारी आवागमन अवरुद्ध भएको थियो ।

पोखरा:  गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारणमन्त्री मन्त्री चन्द्र बुढामगर ( सागर ) ले आजका विद्यार्थीहरु भोलिको देशको नेतृत्वकर्ता भएको बताएका छन् ।    नेपाल मगर विद्यार्थी संघ कास्कीको १९ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री बुढाले आजको विद्यार्थीहरु भोलिको देशको नेतृत्वकर्ता भएको बताएका हुन् ।    ‘आजको विद्यार्थीहरु विभिन्न तहमा क्रियाशिल छन्’ उनले भने ‘अब देशको नेतृत्व गर्न राजनीतिक, प्रशासन क्षेत्रबाट विद्यार्थीहरु देशको नेतृत्व गर्न आउनेछन् ।’    मगर लगायत अन्य आदिवासी जनजाति समुदायहरु एक जुट नभएको बताउदै पहिचानको मुद्धा सेलाएको मन्त्री बुढाको टिप्पणी छ ।    ‘विभिन्न तहमा मगर तथा आदिवासीहरुको मुद्धाले स्थान पाएको छैन, तमुवानको मुद्धामा मगरहरुले अग्रसता देखाउन नसक्दा सिङ्गो आदिवासीको मुल मुद्धाले स्थान पाउन सकेन ।’ उनले भने ।    उनले आन्दोलनका स्वरुप परिवर्तन गर्दै अब शिक्षामा अग्रसता देखाउँदै राज्य सञ्चालन क्षेत्रमा प्रवेश गर्न मगर तथा आदिवासीहरु आवश्यक रहेको बताए ।  ‘हामीले भन्दै आएको निशुल्क शिक्षा अहिले महङ्गी शिक्षा भइरहेको छ । हामीले विभिन्न आन्दोलन गर्योै तर कार्यान्वयन हुन सकेन, मन्त्री बुढामगरले भने, ‘त्यसैले अबका विद्यार्थीहरुले राज्य संचालनको विभिन्न भुमिका गर्दै यस शिक्षा नीति बदल्न विद्यार्थीहरुको भुमिका रहुनपर्छ ।’   कार्यक्रममा नेपाल विद्यार्थी संघका गण्डकी प्रदेश अध्यक्ष विष्णु आलेले मगर पहिचानको संरक्षण गर्न विद्यार्थीहरु अग्रसर बन्न आग्रह गरे ।  ‘पछिल्लो समय मगरका भाषा संस्कृति लगायत पहिचान लोपउन्मुख छ’ उनले भने ‘अब विद्यार्थीहरुले आफ्नो भाषा सस्कृति र पहिचानको संरक्षण गर्न भावी पुस्तातरण गर्न सजिलो हुनेछ ।’   नेपाल मगर विद्यार्थी संघ कास्कीको १९ औं जिल्ला अधिवेशनले नयाँ समिति समेत चयन गरेको छ ।