कास्कीः पौडेल थरका दामोदर वैरागीलाई नेकपा एमालेले गठबन्धनको चुनौती चिर्न सक्षम ठानेर पार्टीले कास्की क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको टिकट दिएको छ । एमालेको हिसाबकिताबमा वैरागीसँग गठबन्धनको जोड घटाउ बिगार्न सक्ने ताकत छ । सोही ताकतले उनलाई नेकपा माओवादी केन्द्रको भागमा परेको गठबन्धनको साझा उम्मेदवार रामजीप्रसाद बराललाई हराउनु पर्ने जिम्मेवारी छ । बराल प्रदेशका अर्थमन्त्री हुन् । उनले माओवादीबाट धेरै पटक अवसर पाइसकेका छन् । यता बराल भने नोटिस हुने गरेर केन्द्रीय सिनारियोमा आउँन बल्ल मौका पाउँदै छन् । बराल ‘टेस्टेड’ हुन् । अझ एमालेकै भोटबाट सत्ताको चास्नी चाखिसकेका बराल ‘भाग्यमानी’ सावित भएका छन् । यसअघि बराल एमालेकै भोटबाट प्रदेसभा (क)बाट निर्वाचित भएका हुन् । पछि पार्टी फुटेपछि उनले प्रदेश मन्त्रीमण्डलमा अर्थमन्त्रीको भूमिकामा रहे । मन्त्री हुँदा अंश र यातायात करमा अत्यधिक वृद्धि गरेपछि उनी अलोकप्रिय भए । बरालको साथमा हिजो एमालेको भोट थियो त आज नेपाली कांग्रेससहितका पार्टीको छ । जनाधार कम भएपनि घुमिघुमी सत्तामा पुग्न बराललाई दाउ लागिरहेको छ तर उनको दाउलाई माथ दिने ‘तुरुप’ लिएर वैरागी चुनावी खालमा छन् । कास्की प्रतिनिधिसभामा सबैभन्दा ‘टफ’ क्षेत्र हो ३ नम्बर । दुबैलाई जित्नुपर्ने दबाब छ । यही मेसोमा विश्लेषण गर्दै स्थानीय राजु क्षेत्री भन्छन् ‘एमालेलाई जसरी पनि जित्नु छ, केपी ओलीको प्रतिष्ठा जोडिएको क्षेत्र हो ३ नम्बर ।’ माओवादी द्वन्द्वका दौरान पक्राउ परी धादिङको गजुरी ब्यारेकमा राखिएका क्षेत्री त्यहाँबाट फरार हुन सफल भएपछि ‘जेल ब्रेकर’का नामले पनि चिनिन्छन् । उनै क्षेत्रीका अनुसार पहिलेको चुनावमा कम्युनिष्टहरु जसरी चुनाव प्रचारमा लागेका थिए, त्यस्तो अहिले यस क्षेत्रमा देखिएको छैन । ‘गठबन्धनका कार्यकर्ताहरुमा सामुहिक भावना देखिएन’ क्षेत्री भन्छन् ‘कांग्रेस केही निष्क्रिय देखिएको छ भने समाजवादीको पुरा ध्यान कास्की – २ मा देखिएको छ ।’ स्वयं माओवादीमा पनि उर्जा नरहेको उनको ठम्याई छ । पुराना कार्यकर्ताहरु निराश रहेको र नयाँहरुको चुरिफुरी बढेकाले पनि हाल माओवादीको उर्जा नरहेको उनले टिप्पणी गरे । यद्यपि, एमालेका वैरागीको तुलनामा बराल जनताको नेता रहेको उनले प्रष्ट्याए । ‘वैरागी पार्टीका नेता हुन् भने बराल द्वन्द्वको समयमा पनि जिल्दा नछाडी सक्रिय भए’ क्षेत्री भन्छन् ‘वैरागी जनस्तरमा भिज्न सकेका छैनन्, तैपनि दुइबीच ५०–५० को अवस्था छ ।’ यता, एमालेको निर्वाचन प्रचार सम्हालेका स्थानीय नेताका अनुसार ५ हजारले जित्ने अनुमान छ । उनले भने, ‘अन्नपूर्णमा कांग्रेसहरु बराललाई भोट दिने पक्षमा छैनन् भने माओवादीको मतदाता पहिलेभन्दा अहिले कम छन् ।’ त्यस्तै, नेकपा एकीकृत समाजवादीका कास्की सचिव होम बहादुर नेपाली एमालेमै फर्किएपछि ३ नम्बरमा समाजवादीको अवस्था नाजुक भएको छ । ‘एसको गाउँ कमिटी छ तर नाममात्रको’ उनले बताए । उक्त निष्क्रिय कमिटी पनि एमालेमै आउने उनको आंकलन छ । गठबन्धनका साझा उम्मेदवारका विरुद्ध यतिबेला एमाले र अन्य शक्तिहरु बरालको यौन काण्ड र अलोकप्रिय करबारे गोप्यरुपमा प्रचार गरिरहेको पाइएको छ । यसअघि उनै जेल ब्रेकर क्षेत्रीले पनि सामाजिक सञ्जालमा बरालको यौन काण्डबारे छताछुल्ल पारेका थिए । त्यसपछि सोही काण्डलाई एमाले वृत्तबाट फैलाउने कामसमेत भइरहेको छ । ०७४ सालको निर्वाचनमा नेकपा एमालेका जगतबहादुर विश्वकर्माले नेपाली कांग्रेसका शुक्रराज शर्मालाई पराजित गरेका थिए । त्यसबेला ३२ हजार ६९० मतले विश्वकर्माले जित्दा शर्माले २४ हजार ३०४ मत ल्याएका थिए । करिब ८ हजार ३ सय मतान्तर रहेको आंकडालाई विश्लेषण गर्दै एमालेका वैरागी अहिले ५ हजारको मतान्तरले चुनाव जित्ने योजनामा छन् । चुनावी रणनीति र प्रचार खर्चमा पार्टीको एकद्वार प्रणाली सक्रिय रहेकाले वैरागी हौसिएका छन् । यसको विपरित बराल र गठबन्धनले चुनावी खर्च कसले, कसरी गर्ने भन्नेमा अझै अन्यौल छ । ०७४ मा कांग्रेसका शर्माले जसरी चुनावी प्रचार गरेका थिए अहिले त्यस्तो छैन । यसको विपरित एमालेले प्रचार र खर्चमा कुनै कसर बाँकी नराख्ने क्षेत्रीको ठम्याइँ छ । यसैगरी, सहिद परिवारबाट ‘बागी’ उठेकी अनिता भुर्तेलले पनि बराललाई अप्ठेरो पारेकी छिन् । भुर्तेललाई नातागोता र सहानुभुतिको मत आउने छ । भुर्तेलप्रति उदार रहेका क्षेत्रीका अनुसार उनले करिब १२ सयको हाराहारीमा मत ल्याउने छिन् । हालैको स्थानीय तह निर्वाचनमा एमालेका अध्यक्षहरुले कूल २८ हजार ४३७ मत पाएका थिए । गठबन्धनले ३१ हजार ७०५ मत प्राप्त गरे । जसमध्ये माओवादीको २ हजार १६५ मत थियो भने समाजवादीको ७ सय ६ मत रहेको छ । यस आधारमा गठबन्धनका बरालको जित्ने सम्भावना देखिन्छ । तर प्रचारप्रसार र कार्यकर्ता खटाइलाई मध्यनजर गर्दा भने एमालेको भन्दा गठबन्धनको सक्रियता कम छ । तैपनि, युद्धस्तरमा खटेको एमाले भने कुनैपनि हिसाबले चुनाव जितेरै छाड्ने रणनीतिमा लागेको छ । कास्की ३ मा महानगरका ११ वडा र अन्नपूर्ण एवं माछापुच्छ्रे गाउँपालिका रहेका छन् ।
झापा : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै एक सय सिट जित्ने दाबी गर्नुभएको छ । उहाँले समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पु¥याउने दाबी गर्नुभयो । शुक्रबार गृहजिल्ला झापा आउनुभएका अध्यक्ष ओलीले आज दमकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै भन्नुभयो, “प्रत्यक्षमा कमसेकम एक सय पाँच सिट र समानुपातिकतर्फ ५० सिट एमालेले जित्छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओली आज दिनभर झापा क्षेत्र नं ५ मा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुँदै अगुवा कार्यकर्तालाई चुनावी गतिविधि बढाउन निर्देशनसमेत दिनुभयो । अघिल्लो निर्वाचनको स्मरण गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “अघिल्लो निर्वाचनमा हामीले प्रत्यक्षमा ८० सिट र समानुपातिकमा ४१ सिट जितेका थियौँ तर, दुईतिहाइ बहुमत ल्याउन एक सय ३८ सिट चाहिन्थ्यो । अहिले हामी एक्लै एक सय ५० सिट जित्ने योजनाका साथ अघि बढेका छौँ र जित्छौँ पनि ।” झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ । झापा क्षेत्र नं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा हुनुहुन्छ भने झापा–५ मा ओली उम्मेदवारका रूपमा उभिनुभएको छ । उहाँले आम मतदातालाई झापा–३ मा हलोमा मतदान गर्न र झापा–५ मा सूर्य चिह्नमा मतदान गर्न आग्रहसमेत गर्नुभयो । ‘रेलको मुआब्जा समस्या समाधान हुन्छ’ यसैबीच एमाले अध्यक्ष ओलीले रेलको मुआब्जा समस्या समाधान हुने बताउनुभएको छ । झापाको दमकमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले पूर्व–पश्चिम रेल आयोजनाका लागि रोक्का गरिएको जग्गाको मुआब्जा समस्या समाधान गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “मुुआब्जा दिएर काम सुरु गर्ने बेलामा सरकार परिवर्तनले असर ग¥यो, समस्या समाधान गरिने छ ।” एमालेसहितको गठबन्धनले देश विकासको मुहार फेर्ने अध्यक्ष ओलीले बताउनुभयो । “आवश्यक पूर्वाधार निर्माणमा विशेष ध्यान दिन्छौँ”, उहाँले भन्नुभयो ।
काठमाडौं । नेपाली कांग्रेसले आगामी पाँच वर्षमा खाद्यान्न उत्पादकत्वमा वृद्धि गरी तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर हुने लक्ष्यसहित पार्टीको चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ । नेपालको कूल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय योगदान गर्ने कृषि क्षेत्रको प्रवद्र्धन गर्ने नीतिअनुरुप कांग्रेसले नगदेबाली र जडीबुटीको निर्यात दोब्बर बनाई खाद्य असुरक्षा सूचकाङ्कमा प्रगति गर्ने योजना अघि बढाएको छ । कांग्रेसले आगामी पाँच वर्षमा कृषिको थप आधुनिकीकरण तथा व्यवसायीकरण गर्दै प्रत्येक स्थानीय तहमा कृषि भूमिको क्लस्टर बनाइ खाद्य तत्वको परीक्षण र माटोको गुणस्तरको चित्र बनाएर उत्पादन योजना तयार गर्ने लक्ष्य लिएको छ । त्यस्तै नगदेबाली र जडीबुटीको निर्यात दोब्बर बनाई खाद्यान्न असुरक्षाका सूचकाङ्कमा प्रगति हासिल गर्ने नीति लिइएको छ । बढी उत्पादन दिने बाली तथा पशुपक्षीको विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानलाई प्राथमिकता दिइनेछ । उन्नत जातका बीउबिजनको उपलब्धतालाई सहज र सुलभ बनाउने व्यवस्था मिलाइनेछ । ठूला सिँचाइ प्रणालीको वैज्ञानिक व्यवस्थापन र साना तथा सौर्य सिँचाइको प्रयोग बढाइने सङ्कल्पपत्रमा भनिएको छ ।
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभाको पाँच वर्षको कार्यकाल पूरा गरी राजनीतिक स्थायित्व कायम गर्न पूर्ण प्रतिबद्ध रहेको जनाएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी सङ्कल्प पत्रमा दुई–दुई पटकसम्म विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापित भई पाँच वर्षको कार्यकाल पूरा गरेको घटनाको स्मरण गरिएको छ । कांग्रेसले आफ्नो ऐतिहासिक भूमिका र सङ्घर्षको कारणले नै प्रतिनिधिसभा पुनःस्थापना भएको दाबी गरेको छ । संविधानको रक्षाका लागि नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन बनाएको स्पष्ट पार्दै सर्वोच्च अदालतको फैसलाले संविधान, संवैधानिक सर्वोच्चता र संविधानवादको रक्षा गरेको घोषणापत्रमा उल्लेख छ । कांग्रेसले लोकतन्त्र र संविधानको रक्षार्थ तथा राजनीतिक स्थिरताका लागि निर्वाचनमा गठबन्धन गर्नुपरेको जनाएको छ । विगत पाँच वर्षदेखिको निरन्तर बहसका कारण नेपाली समाज नै तीव्ररुपमा ध्रुवीकृत भएको तथा तत्कालीन नेकपा सरकारले संसद्मा पेश गरेको तर निकास पाउन नसकेको अमेरिकी विकास परियोजना ९एमसिसी० सरकार र प्रतिपक्षमा रहेका अधिकांश राजनीतिक दलको सहमतिमा संसद्बाट पारित गरिएको घोषणापत्रमा उल्लेख छ । कांग्रेसले चीन सरकारसँग हस्ताक्षर भएको बीआरआइअन्तर्गतका परियोजना राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा लागू गर्न प्रतिबद्ध रहेको जनाएको छ । नागरिकता कसैले कसैलाई दिने वा लिनेभन्दा पनि नागरिकको शाश्वत अधिकार रहेको उल्लेख गर्दै कांग्रेसले पछिल्लो समय राजनीतिक आग्रह–पूर्वाग्रहका कारण जटिल बन्न पुगेको यो विषयलाई आगामी संसद्मा संविधानको प्रावधानअनुसार अधिकतम सहमति कायम गरी निरुपण गर्न दृढ र प्रस्ट रहेको जनाएको छ ।
काठमाडौं । नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र वार्षिक २० लाख विदेशी पर्यटक पुर्याउने महत्वकाङ्क्षी लक्ष्यसहित पार्टीको चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ । दिगो र समावेशी विकासका लागि पर्यटन भन्ने सोचसहित कांग्रेसले पाँच वर्षमा वार्षिक विदेशी पर्यटक आगमन सङ्ख्या १२ लाखबाट २० लाख पु¥याउने लक्ष्य लिएको हो । नेपालमा सन् २०१८ र २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिएको सरकारी तथ्याङ्क छ । कोभिड–१९ महामारीका कारण विदेशी पर्यटक आगमनदर खुम्चियो । महामारीले सबैभन्दा बढी प्रभावित बनाएको यस क्षेत्रलाई पुरानै लयमा फर्काउने लक्ष्यसहित कांग्रेसले सङ्कल्पपत्र ल्याएको छ । नेपाल पर्यटन बोर्डको पछिल्लो विवरणमा आठ महिनामा हवाई मार्ग भएर कूल तीन लाख २६ हजार ६७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । कांग्रेसले महामारीका कारण मुलुकको पर्यटन क्षेत्रको खस्किएको मनोबल उकास्न पाँच वर्षे रणनीति बनाइने रणनीति अघि सारेको छ । कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान पाँच प्रतिशत पु¥याउने भनिएको छ । मुलुकको पर्यटन क्षेत्रको पुनरोत्थानका लागि सरकारले सन् २०२३ देखि २०३२ सम्मको अवधिलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने घोषणा गरिसकेको छ । नेपालमा हाल पर्यटकको औसत बसाई १३ दिन छ । पर्यटकको बसाई लम्ब्याएर खर्च बढाउने कांग्रेसले नीति लिएको छ । पर्यटकको बसाई अवधि १५ दिन पुर्याउने र प्रतिपर्यटक खर्च दैनिक ४८ डलरबाट १०० डलर पुर्याउने लक्ष्य लिइएको छ । कांग्रेसले प्राकृतिक विशिष्टता, सांस्कृतिक वैभवता, रुपान्तरणयोग्य आध्यात्मिकता, भू–बनोटीय सुन्दरता र रणनीतिक भौगोलिक अवस्थितिले गर्दा पर्यटनमा प्रचुर सम्भावना रहेकाले यसलाई दिगो आर्थिक विकासको एउटा आधार हो भनेको छ । नेपाललाई प्रकृतिमा आधारित पर्यटन र साहसिक पर्यटनको लागि अन्तर्राष्ट्रिय गन्तव्य वनाउन आवश्यक कार्य गरिनुका साथै निजी क्षेत्रसँगको सहकार्यमा होटल पूर्वाधार र जनशक्तिको विकास एवं गन्तव्यको प्रवद्र्धन गरिने सङ्कल्पपत्रमा भनिएको छ । पश्चिमी राष्ट्रहरू र मध्यम वर्गीय जनघनत्व भएका उदीयमान एशियाली राष्ट्रबाट पर्यटक भित्र्याउन व्यापक बजारीकरण गरिने छ भने हवाई यातायातको एकाधिकारलाई कम गर्दै प्रतिस्पर्धालाई प्रोत्साहित गर्ने नीति कांग्रेसले सङ्कल्पपत्रमा उल्लेख गरेको छ । स्थापित तथा उदीयमान गन्तव्यसम्मको सहज र सुलभ पहुँचका लागि पूर्वाधार विस्तार र स्तरोन्नति गरिने छ भने पर्यटकको धेरै चहलपहल हुने स्थान सुरक्षित र डिजिटल नक्सामा देखिने बनाइने छ । त्यसैगरी सरकारी र सार्वजनिक नयाँ पूर्वाधारको निर्माण गर्दा स्थानीय पहिचान झल्किने र पर्यटकका लागि आकर्षण बन्न सक्ने परम्परागत संस्कृतिलाई कलात्मकरुपमा सौन्र्दयकरण गरिने छ । वातावरणमैत्री व्यवसायका रुपमा पर्यटन प्रवद्र्धन गर्दै दिगो विकासको पदमार्गमा अघि बढ्न सामुदायिक वनको विस्तार र पुरातात्विक सम्पदास्थलको संरक्षण गरिने जनाइएको छ । पर्वतारोहण, पदयात्रा, जलयात्रा, जङ्गल सफारीजस्ता साहसिक गतिविधिमा पथ प्रदर्शक तथा भरियाका रुपमा काम गर्ने जनशक्तिका लागि दुर्घटना बिमा गरिने छ । विभिन्न स्थानमा रहेका तर प्रयोगमा नआएका विमानस्थल तथा अन्य खाली रहेका सार्वजनिक जग्गा पर्यटकीय गतिविधि विकासका लागि निजी क्षेत्रसँगको सहकार्यमा उपयोग गरिने नीति लिएको छ । नेपालको हवाई सेवालाई थप सुरक्षित र विश्वसनीय बनाउन अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्दै नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षासम्बन्धी सेफ्टी लिस्टबाट हटाउन पहल गर्ने प्रतिबद्धता जनाइएको छ ।
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि एक करोड १८ लाख प्रतिनिधिसभातर्फ ९८ हजार र प्रदेशसभातर्फ एक करोड १७ लाख ८२ हजार ५०० मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार छपाइ भएका मतपत्रमध्ये कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुनेछ । प्रतिनिधिसभाका लागि एक सय ६५ र प्रदेशसभाका लागि तीन सय ३० निर्वाचन क्षेत्र छन् । उक्त निर्वाचन आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा हुँदैछ । आगामी निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता कायम छन् । आगामी निर्वाचनबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ एक सय १० र प्रदेशसभाको समानुपातिकतर्फ दुई सय २० सदस्य निर्वाचित हुनेछन् ।
काठमाडौं । नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र तीन वर्षमुनिका बालबालिका र ७३ वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने जनाएको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आज सार्वजनिक गरेको पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र)मा पार्टीले विगतमा लिएको स्वास्थ्य नीतिका कारण नेपालको जनस्वास्थ्यमा उल्लेख्य उपलब्धी हासिल गरेको बताउँदै आगामी पाँच वर्षभित्र तीन वर्षमुनिका बालबालिका र ७३ वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने जनाएको हो । कांग्रेसले जनशक्ति उत्पादन पूर्वाधार निर्माणमा व्यापक वृद्धि भए पनि सहज पहुँच र गुणस्तरको क्षेत्रमा धेरै काम गर्नुपर्ने बाँकी रहेको बताएको छ । गाउँगाउँमा स्वास्थ्य सेवा र जनशक्ति पुर्याउने साथै स्वास्थ्य सेवामा आम नागरिकको पहुँच स्थापित गर्न पाँच वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमामार्फत गम्भीर प्रकृतिका रोगको उपचारमा सुनिश्चिता गरिने भएको छ । बिमा रकमको दायरा बढाई रु १० लाख पुर्याउने , पाँच वर्ष माथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयं सेविकालाई नि:शुल्क बिमा गरिने, सबै महिलालाई नि:शुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गरिने, हरेक स्थानीय तहमा सुविधा सम्पन्न एम्बुलेन्स सेवा व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ । एकीकृत स्वास्थ्य पूर्वाधार मापदण्डअनुरुप पाँच वर्षभित्र स्वास्थ्य संस्था नभएका दुई हजार ६०० वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने, पाँच वर्षभित्र हरेक प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने, नसर्ने रोगको बढ्दो चापलाई मध्यनजर गरी स्थानीय तहको साझेदारीमा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरिने भएको छ । नयाँ प्रविधिबाट गुणस्तरीय सेवामा द्रुत पहुँचका लागि टेलिमेडिसिन सेवा विस्तार गरिने, दक्ष र सुरक्षित स्वास्थ्यकर्मी भन्ने मान्यताका साथ स्वास्थ्य जनशक्तिलाई उत्प्रेरित र टिकाइराख्न चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको विद्यमान सेवा सुविधामा १०० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरी पाँच वर्षभित्र क्रमशः ‘एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’को अवधारणा कार्यान्वयन गर्ने घोषणापत्रमा उल्लेख छ । अपाङ्गता भएका व्यक्तिलाई ह्वील चेयर, सेतो छडी तथा वैशाखीलगायत आवश्यक भौतिक सामग्री स्थानीय सरकारमार्फत उपलब्ध गराइने, नेपालमा पाइने जडीबुटी तथा औषधिजन्य पदार्थको संरक्षण र सदुपयोग गर्दै आयुर्वेद चिकित्सा पद्धतिको प्रवद्र्धनका लागि राष्ट्रिय आयुर्वेद अध्ययन प्रतिष्ठान स्थापना गर्ने जनाएको छ । नागरिकलाई सस्तोमा औषधि उपलब्ध गराउन सरकारले सिधै उत्पादक कम्पनी र देशसँग खरिद गर्ने, एक वर्षभित्र स्वास्थ्य सेवा ऐन, गुणस्तर प्राधिकरण तथा स्वास्थ्य संस्था नियमन ऐन चिकित्सा शिक्षासँग सम्बन्धीत छाता ऐनलगायत परिमार्जन गरेर समयसापेक्ष बनाइने, मदिरा र सुर्तीजन्य पदार्थको उपभोग बिक्रीवितरणलाई नियन्त्रण र नियमन गर्न करको दरमा वृद्धि गर्ने कांग्रेसको घोषणापत्रमा उल्लेख छ । जलवायु परिवर्तन र महामारीबाट सिर्जना हुने स्वास्थ्य चुनौतीलाई सामना गर्न अनुसन्धानमा आधारित आपतकालिन स्वास्थ्य संरचनाको विकास गर्ने, रोजगार तथा श्रम क्षेत्रमा हुने जोखिमलाई न्यूनीकरण गर्न जनस्वास्थ्य मापदण्डको तर्जुमा र पूर्ण कार्यान्वयनको व्यवस्था गरिने भएको छ । सुनौला हजार दिनलगायतका कार्यक्रमलाई प्रभावकारी बनाई बालबालिकामा रहेको हालको ३२ प्रतिशत पुड्कोपनको दरलाई २० प्रतिशतभन्दा कममा झार्ने रणनीति कांग्रेसले लिएको छ । सरकारका सबै तहका बजेटमा स्वास्थ्य क्षेत्रमा १० प्रतिशत पुर्याउने कांग्रेसले जनाएको छ ।
पोखराः ‘फुट्न नजान्ने कम्युनिष्ट हुँदैन’, नेपालका कम्युनिष्टहरुमाथि गरिएको कटाक्ष सही सावित हुँदै आएको छ । एउटै झण्डा र उस्तै मेनिफिस्टोमा रहेर साम्यवादको यात्रामा लागेका कम्युनिष्टहरु बाराम्बार फुट्नु कुनै नौलो होइन । द्वन्द्वकालमा नेकपा एकीकृत माओवादीलाई पृथकरुपमा हेरिएपनि अन्ततः संसदीय राजनीतिमा फर्किएपछि पनि टुट्ने र फुट्ने क्रम रोकिएको छैन । पछिल्लो समय घनिभूत एकताको उदाहरण बनेको एमाओवादी र नेकपा एमालेबीच ०७८ को जेठबाट बाटो अलग भएपछि कान्छो कम्युनिष्ट पार्टीकारुपमा नेकपा एकीकृत समाजवादी जन्मिएपछि एक हिसाबले मुलुकमा कम्युनिष्ट शक्ति छिन्नभिन्न भयो । अझ भनौ, नेपाली राजनीतिमा एकमना सरकार चलाउन नसक्ने हविगतमा पुग्यो । यसैको परिणामस्वरुप आगामी चुनावमा माधव नेपाल नेतृत्वको नेकपा एस चुनावी मैदानमा छ । सत्ता गठबन्धनको नाम पाएको समीकरणबाट कास्की–२ मा एसका उम्मेदवार श्रीनाथ बराल मैदानमा छन् । उनै टुक्रिएका बरालसँग प्रतिष्पर्धामा छिन् एमालेकी विद्या भट्टराई । लोकप्रिय नेता रवीन्द्र अधिकारीको लिगेसीबाट कास्की भित्रिएर उपचुनाव जितेकी भट्टराइलाई हिजो सँगै हिँडेका बरालको चुनौति झेल्न परेको छ । एउटै घरबाट छिन्नभिन्न भएका दुई कम्युनिष्ट यतिबेला कास्कीको २ मा आमने–सामने भएका छन् । ‘चुनाव जित्नुहुन्छ ?’ भनेर सोध्दा दुबैको जवाफ ‘जित्ने’ छ । तर दुबैलाई ‘जित्न’ भने सहज छैन । पछिल्लो समय कार्यकर्ताभित्रको गुटबन्दी, मतदातामा देखिएको नैराश्यता र राजनीतिक चेतनाले दुबैलाई यसपटकको चुनाव जित्न फलामको च्युरा चपाउनु सरह छ । चुनावी नतीजा आंकलन गर्न पछिल्लो परिणामलाई विश्लेषण गर्नुपर्ने हुन्छ । त्यसपछि उम्मेदवारको लोकप्रियता, उसको अध्ययन, कार्यक्षमता र उमेर पनि अहिले मापन गर्नुपर्ने विषयमा पर्छन् । यसभित्र उम्मेदवारले पार्टीभित्र गरेको योगदानलाई समेट्नु मात्र भुल हुनेछ । सर्सति हेर्दा उपचुनाव जितेकी, रविन्द्र अधिकारीको लिगेसी र पार्टीको गाउँ तहसम्म रहेको जनवर्गीय संगठनको आधार र स्थानीय निर्वाचनको आंकडाले भट्टराईलाई केही सजिलो बनाएको भान हुनसक्छ । त्यस्तै, स्थानीय निर्वाचनमा गठबन्धनले पाएको मत संघीय र प्रदेश निर्वाचनमा पनि निरन्तर नहुने विश्वास गर्न सकिन्छ । यता, पहिलो पटक वा भनौं एकैपटक संघमा पुग्ने बाटो भेट्टाएका बरालको छवि पनि सादगी र इमान्दार पात्रको रहेको छ । बरालले हालसम्म पाएको अवसर भने जिल्ला विकास समितिको उपसभापतिमात्रै हो । एमालेमा रहँदा माधव नेपालको पक्ष लिएकैले पार्टीबाट सँधै ‘आउटसाइडर’जस्तो हुनुपरेको उनले बाराम्बार सुनाउँदै आएका छन् । स्थानीय चुनावमा कास्की अध्यक्ष धनराज आचार्यले मेयरमा जितेर महानगरमा धाक जमाएपछि त्यतिबेलैदेखि एसले गठबन्धनसँग कास्की २ माग्ने योजना बनाएको थियो । महानगरका धेरै वडा यही क्षेत्रमा पर्ने र स्थानीय निर्वाचनको मत परिणाम अनुसार ‘जित्न सक्ने’ आंकलन एसको रहेको छ । महानगरका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, र ३३ नम्बर वडा यस क्षेत्रमा रहेका छन् । जहाँ कांग्रेसले ६ वटा वडामा वडाध्यक्ष जितेको छ । यसैलाई आधार मानेर एसका उम्मेदवार बराल जित्ने दाबी गर्छन् । यद्यपि, उल्लेखित वडाबाट एसले पाएको मत भने २ हजार ५३ मात्र हो । जुन संख्या राप्रपाका वडाध्यक्षले पाएको भन्दा कम छ । एमालेले सबै वडाबाट २१ हजार बढी मत प्राप्त गरेको छ । यहाँ कांग्रेसले १९ हजार ८ र माओवादी केन्द्रले १ हजार १ सय ९८ मत पाएको थियो । यस तथ्यांकलाई हेर्दा गठबन्धनका बराल भन्दा एमालेकी भट्टराई करिब १२ सय मतले पछि छिन् । ०७६ को मंसिरमा भएको उपनिर्वाचन जितेकी भट्टराईले कांग्रेसका खेमराज पौडेललाई ८ हजार ४ सय मतले पराजित गरेकी थिइन् । तर त्यसबेला माओवादी पनि सँगै थियो । त्यस्तै, रविन्द्रको लोकप्रियताले पनि मतातन्तर बढाउन सघाएको मानिन्छ । खैर, यसपटक कसले जित्ला ? भन्ने प्रश्नको उत्तर खोज्न सजिलो छैन । कम्युनिष्ट पार्टीमा सँधै एउटैको समय र साथ नरहने बाराम्बारको घटनाक्रमले उजागर गरेको छ । स्थानीय चुनावमा मेयर आचार्यलाई ज–जसले मतदान गरे, त्यही आसमा एस रहेको छ । एसलाई उक्त मत जोगाउन चुनौती नै यस चुनावको चुनौती हो । यदि, मेयर आचार्यले आफ्नो चुनावमा जस्तै ‘वार रुम’ तयार पारे, र सोही अनुसारको व्यवस्थापन गर्न सके भने बरालको जीत लगभग पक्का छ । स्थानीय निर्वाचनलाई हेर्दा कांग्रेस र माओवादी केन्द्रका समर्थकहरु इमान्दार देखिएका छन् । हाल सत्ताको स्वाद चाखिरहेको गठबन्धन त्यहाँबाट बाहिरिन चाहँदैन । फलतः कास्की–२ बरालकै पोल्टामा जान सक्छ । तर, स्थानीय निर्वाचनकै मत परिणामलाई अहिले पनि आधार मान्न सकिँदैन । अहिले पनि एमालेलाई स्थानीय चुनावताका देखिएको गुटबन्दीले तर्साइरहेको छ । एमालेमा गुटबन्दी भित्र्याउने मेयर आचार्यको रणनीति थियो । जुन रणनीतिअनुरुप आचार्य सफल पनि भए । सोही रणनीति प्रतिनिधि सभाको चुनावमा पनि अपनाउन सकिन्छ भन्नेमा नत आचार्य विश्वस्त छन् न बराल यस्ता रणनीतिमा माहिर छन् । यसर्थ, यसपटक एमालेमा झाँगिदै गएको आत्मविश्वास, एकता र समर्पण गठबन्धनलाई तगारो बन्न सक्छ । चारैतिरबाट गरिएको प्रहारविरुद्ध कार्यकर्ता पंक्ति यस क्षेत्रमा एक ढिक्का भएको छ । उम्मेदवार सिफारिश र टिकट वितरणमा कुनै पनि विमति नहुनु, आचार्यको झैं कूटनीति बरालमा नहुनु, कांग्रेस र माओवादी केन्द्रबाटै धेरथोर भोट आउने सम्भावना हुनुलगायतलाई एमाले एवं भट्टराइलाई जीताउने आधार हुन् । यद्यपि, यस क्षेत्रमा स्थानीय निर्वाचनमा देखिएको सोही १२ सय मतमा जसले ‘खेल्न’ सक्छ, जीत उसैको हुने निश्चित छ । गठबन्धनले यही ‘१२ सय मत’लाई आफ्नो पक्षमा राखिराख्न र यही मतलाई बढी भन्दा बढी चोर्नमा एमालेले सकेको शक्ति खर्च गर्नमा यसपटकको ‘टक्कर’ केन्द्रित हुनेछ । महादेवको ‘वरदान’ ५ दशक लामो नेपाली कांग्रेसको राजनीति, तरुण दलको अध्यक्ष, जिल्ला विकास समितिको सभापति र पर्यटन राज्यमन्त्रीको बायोडाटा भएका महादेव गुरुङ् यसपटक प्रतिनिधिसभा सदस्यतर्फ बागी उम्मेदवारको परिचयमा छन् । त्यसो त ०७० सालमा पनि टिकट पाएका महादेवले हार व्यहोरेका थिए । कास्की ३ का महादेव यसपटक क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा होमिएका छन् । मैदानमा रहेका महादेवबाट सिधा खतरा सत्ता गठबन्धनलाई नै छ । पुराना र लडाकु नेताको छवि बनाएका महादेव २ नम्बरमा आएर चुनावमा उठेदेखि नै गठबन्धनका साझा उम्मेदवार श्रीनाथ बराललाई टाउको दुखाई बनेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नै अटेर गरेका महादेवलाई फकाउन नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि नलागेका होइनन्, तर उनको पनि केही जोर नचलेपछि यसको फाइदा एमालेलाई नै हुने निश्चित छ । त्यस्तै, यस क्षेत्रमा एसले भाग पाएपछि नेपाली कांग्रेसले पनि बराललाई जिताउन खासै चासो नलिएको अनुमान गर्न सकिन्छ । पुतली चिन्ह लिएर चुनावमा होमिएका महादेव जित्ने तयारीसाथ घरदैंलोमा व्यस्त छन् । उनलाई कांग्रेसकै कार्यकर्ताहरुको भित्री साथ छ । साथै, ५० वर्ष कटेका कांग्रेसीहरुले महादेवलाई नै भोट हाल्ने निश्चितप्रायः छ । यसरी कांग्रेसको भोट महादेवलाई गयो भने यसको ‘वरदान’ एमालेकी विद्या भट्टराईलाई नै लाग्नेछ । महादेवले पुराना कांग्रेसको भोटसँगै त्यही १२ सय भोट नै काट्ने सम्भावना रहेकाले यही मतले नै कसैलाई हराउन वा जिताउन ल्याकत राख्दछ ।
पोखराः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कास्कीका सचिव होमबहादुर नेपाली नेकपा एमालेमा फर्किएका छन् । एमालेको मुक्ति समाज कास्की क्षेत्र नम्बर २ को विस्तारित बैठकमा एसका सचिव नेपालीले आफु पुनः एमालेमै फर्किएको बताएका छन् । ‘कम्युनिष्ट पार्टीको मुलधार नै एमाले हो’ बैठकमा धारणा राख्दै नेपालीले ‘हामी केही भ्रमित पनि भयौं तर चुनावमा देखिएको गठबन्धनको घृणित खेल कम्युनिष्ट आन्दोलन विरुद्ध भएको पाए र एमालेमै फर्किए ।’ चुनावको मुखैमा एमाले फर्किएका नेपालीले एसबाट जिल्लाका धेरै साथीहरु उताबाट एतै आउने तयारी रहेको जानकारी दिए । एमाले कास्कीका एक नेताले बताए अनुसार आगामी २० गते पार्टी प्रवेश गराउने कार्यक्रम रहेपनि चुनाव प्रचारमा जुट्न भन्दै नेपाली आजै प्रवेश गरेका हुन् । ‘एस जिल्लामा लगभत रित्तने क्रममा रहेको छ’ जिल्ला नेताले भने ‘हामी सशक्त हुँदै छौं, साथीहरुमा रहेको भ्रमको पर्दा खुलेको छ ।’ २० गते एमाले अध्यक्ष केपी शर्मा ओली पोखरा आउने कार्यक्रम रहेको र त्यसदिन धेरैजना एमालेमा भित्रने एमाले कास्की सचिव बैनबहादुर क्षेत्रीले जानकारी दिएका छन् । क्षेत्रीका अनुसार नेपाली निशर्त एमालेमा फर्किएका हुन् ।

