नेकपा (एमाले) स्थायी कमिटीको बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेश तहको निर्वाचनको ठोस् योजना बनाउन पार्टीले आजदेखि भदौ १२ गतेसम्म स्थायी, पोलिटब्यूरो, केन्द्रीय कमिटी र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो । आज स्थायी कमिटी, भदौ ९ गते पोलिटब्यूरो, भदौ १० र ११ गते केन्द्रीय कमिटी तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक हुने सो पार्टीले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाइएको छ । कार्यालय सचिव डा अधिकारीका अनुसार बैठक आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश तहको निर्वाचनमा केन्द्रित रहनुका साथै समग्र पार्टी तथा मुलुकको राजनीतिक अवस्थाबारे छलफल हुने छ । यस्तै आगामी पोलिटब्यूरो र केन्द्रीय कमिटिको एजेण्डा पनि बैठकले तय गर्ने छ । पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवद्धय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुभएको निर्वाचन घोषणपत्र मस्यौदा कमिटी गठन गरिएको थियो ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य स्वर्गीय प्रदीप गिरिको विचारलाई सबैले अनुशरण गर्नुपर्ने बताउनुभएको छ । स्वर्गीय गिरिलाई श्रद्धाञ्जली दिन केहीबेर अघि ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल पुग्नुभएका उहाँले नेपाली राजनीतिमा गिरि अध्ययनशील र तर्कशील नेताको रुपमा स्थापित हुनुभएको र उहाँको विचारलाई सबैले अनुशरण गर्नुपर्नेमा जोड दिनुभएको हो । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले स्वर्गीय गिरि नेपाली कांग्रेसका साथै कम्युनिष्ट पार्टीका समेत आदर्श व्यक्ति भएको बताउनुभयो । “प्रजातान्त्रिक शक्ति र बामपन्थीलाई मिलाएर लैजानुपर्छ भन्ने उहाँको भावना आत्मासात् गरिएका कारण अहिले मुलुकमा लोकतन्त्र सुदृढ भएको हो”, उहाँले भन्नुभयो । कांग्रेस नेता डा शेखर कोइरालाले विपी कोइरालाको प्रजातान्त्रिक समाजवादको बारेमा विश्लेषण गर्नसक्ने तर्कशील नेता गिरि भएको बताउनुभयो । “पार्टीभित्र र अन्य कार्यक्रममा समेत स्पष्ट कुरा राख्नसक्ने गिरिको क्षमता थियो”, उहाँले भन्नुभयो । नेता गिरिको शव नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिएको छ । गिरिप्रति श्रद्धाञ्जली दिन पूर्वराष्ट्रपति डा रामवरण यादव, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री बालकृष्ण खाण अहिले अस्पताल परिसरमा पुग्नुभएको छ । यस्तै स्वर्गीय गिरिलाई श्रद्धाञ्जली दिन कांग्रेस पार्टीका नेता तथा कार्यकर्ता, अन्य पार्टीका शुभचिन्तक, बुद्धिजीवी, पत्रकारलगायतको अस्पताल परिसरमा घुइँचो लागेको छ ।भारतको मुम्बईको अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएका नेता गिरिको अस्पतालमै शनिबार राती ९।३० बजे निधन भएको हो । गिरिको पार्थिव शरिरलाई विहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलीका लागि राखिएकामा त्यसपछि दिउँसो २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिने जनाइएकोे छ । पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेपछि उहाँको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने पार्टीले जनाएको छ । नेता गिरि प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा सिरहा १ बाट निर्वाचित हुनुभएको हो ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट आफू मर्माहत भएको बताउनुभएको छ । अध्यक्ष ओलीले आज बिहान ट्वीट गर्दै “चिन्तनशील राजनीतिकर्मी मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु ।” प्रतिनिधिसभा सदस्य एवं समाजवादी चिन्तक गिरीको शनिबार राति ९:३० उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०ः३० बजे बस्ने बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । समाजवादी चिन्तक गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९ः३० बजे निधन भएको हो । गिरीको पार्थिव शरीरलाई आज बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलिका लागि राखिने र बिहान ११।३० बजेदेखि दिउँसो २ः०० बजेसम्म कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यसपछि उहाँको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उहाँलाई गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक नेता गिरी विसं २०२१ पछि राजनीतिमा सक्रिय हुनुभएको हो । हाल प्रतिनिधिसभा सदस्य रहनुभएका उहाँ विसं २०२४ मा वनारसमा नेपाल छात्र सङ्घमा निर्वाचित हुनुभएको थियो । उहाँ विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भई संविधान निर्माणको जिम्मेवारीमा संलग्न हुनुभएको थियो । यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन हुनुभएको थियो । नेता गिरी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिरहा–१ बाट निर्वाचित हुनुभएको हो । विसं २००४ मा सिरहाको वस्तीपुरमा पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्रका रूपमा उहाँको जन्मभएको थियो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । गृहजिल्ला तनहुँको दमौलीमा रहनभुएका पौडेलले शनिबार राति शोक वक्तव्य जारी गर्दै गिरीको निधनले अत्यन्त मर्माहत भएको उल्लेख गर्नुभएको छ । समाजवादी चिन्तक गिरीको दर्शन, विचार सदैव अमर रहने जनाउँदै वरिष्ठ नेता पौडेलले गिरीको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । नेता गिरीको उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको हो । प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका उहाँ लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपश्चात नेपाल फर्किनुभएको थियो । घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका उहाँ गत ९ साउनमा मेडिसिटी अस्पताल भर्ना हुनुभएको थियो ।
नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । सांसद समेत रहेका नेता गिरीको शनिबार राति ९ः ३६ मा निधन भएको अस्पतालका एक अधिकारीले जानकारी दिएका छन् । काँग्रेसका नेता तथा समाजवादी चिन्तक समेत रहेका गिरी लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए। घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । डा.पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न रहेको थियो ।
नेकपा माओवादी केन्द्रले महाधिवेशन भएको आठ महिनापछि पदाधिकारी टुंगो लगाएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले २१ सदस्यीय पदाधिकारी टिम टुंगो लगाएको हो, जसमा महासचिव देव गुरुङ छन् । पार्टी कार्यालय, पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले गुरुङलाई महासचिव प्रस्ताव गरेका थिए । महासचिवमा गुरुङसँगै ७ जनाको दाबी थियो । तर अध्यक्ष प्रचण्डले अरु दावेदारहरुलाई उपमहासचिवमा व्यवस्थापन गरेका छन् । महासचिवमा दावी गर्दै आएका गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव भएका छन् । प्रचण्डको पूर्व घोषणाअनुसार नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष भए । उपाध्यक्षमा ल्याउने भनिएका दिनानाथ शर्मा र गणेश साह सचिव भएका छन् । उनीहरुसँगै चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की पनि सचिव भएका छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल छन् । यो पदाधिकारी टिम विशेष महाधिवेशन नहुँदासम्मका लागि भनिएको छ । ‘अहिलेका लागि यो सन्तुलित र निर्वाचनलाई ध्यान दिएर गरिएको हो,’ उपाध्यक्ष महराले बैंठकपछि पत्रकारहरुसँग भने, ‘विशेष महाधिवेशनमा नयाँ सोच आउँछ ।’
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ-१ बाटै निर्वाचन लड्ने घोषणा गर्नुभएको छ । गृहजिल्ला तनहुँको दमौली आइपुग्नुभएका पौडेलले मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो । नेपाली कांग्रेसमा तनहुँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला सभापति, पार्टीका अन्य नेतासँग यसबारेमा आफूले कुरा गरिसकेको बताउँदै वरिष्ठ नेता पौडेलले भन्नुभयो, “यसबारेमा सबै नेतासँग समझदारी भइसकेको छ, त्यसलाई केही समयपछि औपचारिक रूप दिन्छौँ ।” नेकपा (एकीकृत समाजवादी) पार्टीले तनहुँ–१ दावी गरेको विषयलाई कसरी लिनुभएको छ भन्ने प्रश्नमा वरिष्ठ नेता पौडेलले आफू स्वयं यहाँबाट चुनाव लड्ने भएपछि उहाँहरुको दावी नलाग्ने प्रष्ट पार्नुभयो । “वर्तमान गठबन्धनको सूत्रधार नै म हो । म आफैँ लड्ने भएपछि उहाँहरुको दावी लाग्दैन”, पौडेलले भन्नुभयो, “उक्त पार्टीका उम्मेदवारले नै वरिष्ठ नेता पौडेल चुनाव लड्छु भनिसक्नुभएकाले मेरो केही लाग्दैन, मलाई अर्को व्यवस्था गरिदिनुस् भनेर माधव नेपाल र मसँग भनिसक्नुभएको छ ।” पौडेलले फरक प्रसङ्गमा पृथ्वीराजमार्ग विस्तारका क्रममा व्यास-१२ घाँसीकुवामा रहेको घाँसीकुवा पार्क र कुवालाई संरक्षण गर्नका लागि पहल गरेको बताउनुभयो । राजमार्ग विस्तारका क्रममा घाँसीकुवा पार्क र कुवा मासिने भएपछि स्थानीयवासीले यसको संरक्षणका लागि पहल गरिदिन आफूलाई आग्रह गरेको भन्दै उहाँले सम्बन्धित निकायमा यस विषयमा कुरा भइसकेको बताउनुभयो । “पार्कलाई थप विस्तार गरेर घाँसीको ठूलो मूर्ति बनाउनुपर्छ, पार्क र कुवालाई सुरक्षित राखेर कुनापट्टि भित्ता फोरेर राजमार्ग विस्तार गर्नुपर्छ भनेर भनेको छु”, उहाँले भन्नुभयो ।
काठमाडौं । प्रतिनिधिसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बुहमतले पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा नागरिकता विधेयकमाथि पक्ष र विपक्षमा मत विभाजन हुँदा विधेयक पुनः बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभयो । बैठकमा उपस्थित एक सय ९५ सांसदमध्ये उक्त विधेयक पारित गर्ने पक्षमा एक सय ३५ र यथास्थितिमा विधेयक पारित गर्न नहुने पक्षमा ६० मत परेको थियो भने मत दिन्न भन्ने पक्षमा कुनै पनि मत परेन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतविभाजनको माग गरेपछि मतदान भएको हो । प्रतिनिधिसभाले पहिलोपटक गत साउन १६ गते उक्त विधेयक दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो । राष्ट्रपतिबाट साउन २९ गते उक्त विधेयक प्रतिनिधिसभामा पुनर्विचार गरियोस् भनी फिर्ता भएको थियो । आज उक्त विधेयकमाथि छलफल भई पुन:बहुमतले पारित भएको छ ।

