काठमाडौँ । काठमाडौँको उत्तर–पश्चिम क्षेत्रमा अवस्थित क्षेत्र नं ७ को प्रतिनिधिसभा निर्वाचनका लागि १६ स्वतन्त्रसहित २९ जनाले उम्मेदवारी दिनुभएको छ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रतिनिधिसभामा १६ स्वतन्त्र र १३ राजनीतिक दलको सहभागिता रहेको छ । यस्तै सोही क्षेत्रको प्रदेशसभा (क)मा चार स्वतन्त्रसहित १२ र प्रदेशसभा (ख)मा तीन स्वतन्त्रसहित नौ जनाले उम्मेदवारी दिएको काठमाडौँ क्षेत्र नं ७ का प्रमुख निर्वाचन अधिकृत उषा श्रेष्ठले राससलाई जानकारी दिनुभयो । कुल ६१ हजार दुई सय ९१ मतदाता रहेको उक्त क्षेत्रमा प्रमुख राजनीतिक दलका नेताबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । काठमाडौँ महानगरपालिकाको १६, १७, १८ र २५, नागार्जुन नगरपालिकाको १, २ र ३ वडाका साथै तारकेश्वर नगरपालिकाको ३, ४ र ५ वडा उक्त क्षेत्रमा रहेको छ । को को छन् उम्मेदवार रु तेह्र राजनीतिक दल र १६ स्वतन्त्रसहित २९ उम्मेदवारले भाग लिएको उक्त क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट मानुषी यमी भट्टराई र नेकपा (एमाले)को तर्फबाट श्यामकुमार घिमिरे उम्मेदवार हुनुहुन्छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट धुव्रविक्रम मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली, हाम्रो नेपाल पार्टीका प्रवेन्द्र पोखरेल, नेपालका लागि नेपाली पार्टीका राम नेपाली, नेपाल मजदुर किसान पार्टीका किरण महर्जन, नेपाली कांग्रेस (विपी)का कमलाकुमारी शर्मा भुसाल, नेपाल आमा पार्टीका कृष्णप्रसाद दबाडी, राप्रपा नेपालका कुमार श्रेष्ठ, जनसमाजवादी पार्टी नेपालका राजेन्द्रप्रसाद श्रेष्ठ, जनसमाजवादी पार्टीका शैलेशराज श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवारका रूपमा रामवीर मानन्धर, यादवलाल कायस्थ, प्रशन्नकुमार अवाले, किरण केसी, रवीन्द्रकुमार श्रेष्ठ, ईश्वर अर्याल, प्रकाश कुँवर, भरत तामाङ, लक्ष्मणप्रसाद गजुरेल, लोकप्रसाद सिंखडा, रोजिना अवाले, राजकुमार कोइराला, मन्जुमाया तामाङ, सुजनरत्न बज्राचार्य, हेमबहादुर ढुङ्गेल र जानुका पौडेलले उम्मेदवारी दिनुभएको छ । प्रदेशसभा (क)मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट वसन्तप्रसाद मानन्धर र एमालेको तर्फबाट जीवन मानन्धरले उम्मेदवारी दिनुभएको छ । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट जगदीशमान राजभण्डारी, नेपाल मजदुर किसान पार्टीबाट धर्मसेन महर्जन, राप्रपाबाट रोजिन गुरुङ, हाम्रो नेपाल पार्टीबाट रवीन्द्र मोइन श्रेष्ठ, राप्रपा नेपालबाट रत्नाकुमारी श्रेष्ठ प्रधान र जनसमाजवादी पार्टी नेपालबाट बाबुराजा प्रजापतिले उम्मेदवारी दिनुभएको छ । यस्तै प्रदेशसभा ९क०मा स्वतन्त्र उम्मेदवार प्रधुमान महर्जन, सर्वज्ञ बज्राचार्य, गोपालप्रसाद माली र रवीन्द्र महर्जनले उम्मेदवारी दिनुभएको प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो । काठमाडौँ क्षेत्र नं ७ को प्रदेशसभा (ख)मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट सविन तामाङ र एमालेको तर्फबाट प्रकाश श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । यस्तै राप्रपाबाट लालकुमार लामा, नेपाल मजदुर किसान पार्टीबाट इन्द्रकुमार बज्राचार्य, राप्रपा नेपालबाट राजन महर्जन, जनसमाजवादी पार्टी नेपालबाट शङ्करदेव लामाले उम्मेदवारी दिनुभएको छ । यस्तै प्रदेशसभा (ख)मा शिवकुमार तामाङ, दिनेश लामा र साजन केसीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । के भन्छन् उम्मेदवारहरू ? अब पालो नयाँ पुस्ताको भन्ने मूल अभियानका साथ वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बन्नुभएकी भट्टराई काठमाडौँभित्रको संस्कृति तथा सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमार्फत क्षेत्रको विकास गर्ने आफ्नो प्रमुख योजना रहेको बताउनुहुन्छ । “सहरी क्षेत्रमा संस्कृति तथा सम्पदाको संरक्षण, बस्ती क्षेत्रमा खानेपानी, ढल र विद्युत्को समस्या समाधान र काठ क्षेत्रमा कृषि र घरेलु उद्योगको विकास गर्नु मेरो प्रमुख योजना हो”, उहाँ भन्नुहुन्छ । एमालेका उम्मेदवार घिमिरे काठमाडौँभित्रको संस्कृति, सम्पदा, संस्कार र परम्परा जगेर्ना आफ्नो मुख्य प्राथमिकता भएको बताउनुहुन्छ । “नेवारी संस्कृतिको संरक्षण गर्दै नैतिक शिक्षामा आधारित प्राविधिक शिक्षालाई जोड दिने मेरो प्रमुख एजेन्डा हो”, उहाँ भन्नुहुन्छ । नगर क्षेत्रमा कौशीखेतीलाई प्राथमिकता दिने उहाँको भनाइ छ । सोही क्षेत्रका निवर्तमान सांसद एवं स्वतन्त्र उम्मेदवार रामवीर मानन्धर काठमाडौँ क्षेत्र नं ७ को विकासलाई पूरा गर्नका लागि आफू पुनः उम्मेदवार बनेको बताउनुहुन्छ । “म विसं २०४९ देखि यस क्षेत्रको स्थानीय जनप्रतिनिधि हुँ, यस क्षेत्रको सबै समस्या मैले बुझेको छु, विकासका अधुरा कामलाई पूरा गर्न मैले उम्मेदवारी दिएको हुँ”, उहाँ भन्नुहुन्छ । उक्त क्षेत्रमा क्षेत्रपाटी, ठमेल, बालाजु, नयाँबजार, सोह्रखुट्टे, म्हैपी, टौडोल, माछापोखरी, वनस्थली, ढल्को, धोबीचौर, ठैँटी, नरदेवी, भुरुञ्खेल, ढोकाटोल, मच्छिन्द्रटोल, न्ह्यौखा, तीनपिप्ले, पुरानो गुह्येश्वरी, भैरवथान, गोलढुङ्गा, रानीवन, ठूलो भ¥याङ, इचङ्गु, गैरीगाउँलगायतका क्षेत्र पर्दछन् ।
पोखरा : आगामी मंसिर ४ गते हुने निर्वाचनमा कास्की क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभाका लागि एमाले उम्मेदवार मनबहादुर गुरूङले एमाले दुःखी, किसान तथा मजदुरको पाटी भएको बताएका छन् । उनले एमालेले बहुमत ल्याएमा विकासको लहर आउने स्पष्ट पारे । पोखरा २८ का मतदातासँग उम्मेदवार परिचयात्मक कार्यक्रममा गुरुङले यसअघि प्रदेश सांसद हुदा आफुले आम नागरिकको पक्षमा काम गरेको बताउँदै यस पटकको निर्वाचनमा पनि एमालेलाई बहुमतले जिताउन मतदातासँग आग्रह गरेका छन् । कार्यक्रममा क्षेत्र नम्वर १ (ख) का प्रदेश तर्फका एमाले उम्मेदवार वेदबहादुर गुरूङ (श्याम) ले एमालेले जितेमा सन्तुलित ढगंले विकास हुने विश्वास दिलाए । यदि गठबन्धनको विजय भएमा फेरि मंहगी बढ्दै जाने उनको भनाई छ । गण्डकी प्रदेशका लागि समानुपातिक उम्मेदवार नन्दकली परियारले आफ्नो उम्मेदवारी सम्पूर्ण महिलाको नेतृत्वको उम्मेदवारी भएको बताउँदै एमाले उम्मेदवारलाई अत्याधिक बहुमतले जिताउन आग्रह गरिन् । कार्यक्रम नेपाल कम्युनिष्ट पाटी एमाले पोखरा महागरपालिका वडा नम्बर २८ को अध्यक्ष रामकृष्ण तिवारीको अध्यक्षतामा भएको थियो ।
पोखरा : गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर–२(ख) अन्तर्गत पोखरा महानगरपालिका वडा नं ४ र ८ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना भएको छ । विहिबार एक कार्यक्रमका बीच पोखरा ४ रामकृष्ण टोल र पोखरा ८ को सिर्जनाचोकमा उम्मेदवारसहित गठबन्धन दलका नेताहरुले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै कास्की क्षेत्र नम्बर–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले कास्कीका जनताको आवश्यकता र भावना अनुरुपको काम गर्न गठबन्धन प्रतिबद्ध रहेको बताए । कास्की २ का जनताको मनोभावनालाई आफुले बुझेको र त्यसलाई पुरा गर्ने जिम्मेबारीका साथ चुनावी मैदानमा उत्रिएको अभिव्यक्ति उनको थियो । ‘तपाईका हरेक समस्याका विषयमा म जानकार छु । जसलाई समाधान गर्ने दायित्वका साथ निर्वाचनमा होमिएको छु । आशा छ कास्की २ का जनताले विश्वास गर्नुहुनेछ ।’,उनले भने । गठबन्धनको तर्फबाट कांग्रेसबाट कास्की २ (ख) मा प्रदेश सभासदस्य पदमा उम्मेदवारी दिएका गण्डकीका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले २०७४ सालको निर्वाचनमा जस्तै मतदाताको माया यसपाली पनि मिल्ने बताए । उनले पहिलो कार्यकालमा पुरा गर्न नसकेका योजनाहरुलाई पुरा गर्ने ध्येयका साथ निर्वाचनमा होमिएको उल्लेख गरे । ‘प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेशको नामकरण, राजधानी तोक्ने लगायतका काम भएका छन् । अब विकास र समृद्धिसँग सम्बन्धित कार्य गर्न बाँकी छ । शिक्षा,स्वास्थ्य, रोजगारीका क्षेत्रमा अथाह सम्भावना छन् । यहाँका उद्यमी व्यवसायीहरुले भोगेका समस्यालाई निर्मुल पार्न सकिन्छ । जनताका सबै खाले समस्यालाई समाधान गर्ने गरी यसपटक फेरि कास्की २(ख) बाट प्रदेश सभा सदस्यका रुपमा आफ्नो उम्मेदवारी दिएको छु । आशा छ यसपटक पनि सबैको माया पाउनेछु ।’, उनले भने । कार्यक्रम पोखरा ४ मा नेपाली काँगे्रसका इकाई सभापति गोविन्द पराजुलीको सभापतित्वमा भएको थियो भने पोखरा ८ मा इकाई सभापति रमेश बरालको सभापतित्वमा भएको थियो । पोखरा ४ को कार्यक्रमलाई सचिव बिग्नेश थापाले संचालन गरेका थिए । पोखरा ४ मा कार्यालय स्थापना पश्चात उम्मेदवारहरुले मतदाताहरुसँग भेटघाट समेत गरेका छन् । पोखरा ८ मा नेपाली कांग्रेसका नेता महासमिति सदस्य सोभियत बहादुर अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का सभापति एवम् निर्वाचन परिचालन समिति सभापति केशर निर्दोशी,नेकपा एकीकृत समाजवादीका नेता पूर्ण लामा, नेकपा माओवादी पोखरा कमिटीका हरिनारायण विज्ञान, नेकपा एकीकृत समाजवादीकी रत्न कुमारी गुरुङ सहित गठबन्धन सम्बद्ध दलका नेताहरुले बोलेका थिए ।
पोखरा । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नम्वर ३ मा एमालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटिको सम्पर्क कार्यालयको बुधवार उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन गर्दै नेकपा एमालेका पोलिव्युरो सदस्य एवं पुर्व खेलकुदमन्त्री जगत विश्वकर्माले नेपालको सिङ्गो राष्ट्र निर्माण र विकासको अभियानमा लाग्ने पाटी एमाले भएकोले मङसिर ४ गते हुने निर्वाचनमा सुर्य ध्वजावाहाक उम्मेदवारहरूलाई जिताउनुपर्ने जोड दिएका छन् । उनले सडकमा बाजा गाजासहित नारा जुलुस लगाएर मात्र हैन मतदाताका घरआँगनमा पुगि पाटीले गरेका विकास निर्माणका कामको बारेमा जानकारी गराउँदै पाटीका भावी एजेन्डा बोकेर मत माग्नु पर्ने बताएका छन् । कार्यक्रममा नेकपा एमाले पालिटब्यूरो सदस्य सीता गिरी ओलीले जनताका घरघरमा पुगेर समस्या समाधानतर्पm लाग्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिईन् । कायृक्रममा पार्टीको केन्द्रिय सदस्य समेत रहेका कास्की इन्चार्ज कृष्ण थापा, कास्की ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दामोदर पौडेल बैरागी, कास्की निर्वाचन क्षेत्र न ३ (क) प्रत्यासी उम्मेदवार गणेशमान गुरूङ, त्यसै गरी ३ (ख) का प्रत्यासी उम्मेदवार राजिव पहारी लगायतले बोलेका थिए ।
पोखरा । नेकपा एमालेका तर्फबाट कास्की १ का प्रतिनिधि सभा उम्मेदवार मनबहादुर गुरूङले देशमा विकास निर्माण गर्ने एक मात्र पाटी एमाले भएको बताएका छन् । अग्रगामी राष्ट्र निर्माणको लागि एमाले पाटीको विकल्प नभएको बताउँदै उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई बहुमत दिएर पहिलो पाटी बनाउन सबै मतदातामा अनुरोध गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले वडा कमिटी पोखरा २६ ले आयोजना गरेको उम्मेदवार भेटघाट कार्यक्रममा उनले व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्थामा परिवर्तन नभएकोले अवस्था परिवर्तनका लागि एमालेलाई मत दिनुपर्नेमा जोड दिए । यस्तै कास्की क्षेत्र नम्बर १ (क) का प्रदेश सभाका एमाले उम्मेदवार खगराज अधिकारीले सुकुम्वासीको समस्या समाधानमा एमाले पाटी कटिवद्ध भएर लाग्ने बताए । उनले अहिले सरकार छ कि छैन जस्तो भान भएको भन्दै अब एमालेको एकल बहुमत आए विकासको लर्काे लाग्ने बताउँदै एमाले उम्मेदवारहरुलाई विजयी बनाउन सबै मतदातालाई आग्रह गरेका छन् ।
पोखरा । सिपी गजुरेल नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, सन्त बहादुर नेपाली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मसाल, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र रामनारायण पाल नेतृत्वको माओवादी कम्युनिष्ट पार्टीले सँयुक्त रुपमा चुनाव वहिष्कार गर्ने बताएका छन् । पोखरामा आज (बुधबार) र्यालीसहित आमसभाको आयोजना गर्दै ४ पार्टीले सँयुक्त रुपमा प्रतिनिधि सभाको चुनाव वहिष्कार गर्ने बताएको हो । र्यालीपछि आम सभालाई सम्बोधन गर्दै माओवादी कम्युनिष्ट पार्टीका महासचिव रामनारायण पालले संसदीय व्यवस्था राष्ट्रघात र जनघातको साधन भएकाले प्रतिनिधि सभाको निर्वाचन वहिष्कार गरेको स्पष्ट पारे । यसअघि ४ दलीय समुहले मानवअधिकार चोकदेखि र्याली सुरु गरि न्यूरोड, सभागृह हुदैं पृथ्वीचोकमा आएर आमसभा गरेको थियो । र्यालीको क्रममा उनीहरुले प्रतिक्रियावादी संसदीय व्यवस्था खारेज गरौं, नयाँ जनवाद वैज्ञानिक समाजवाद स्थापना गरौं लगायतका नाराबाजी गरेका थिए । ४ कम्युनिष्ट पार्टीद्वारा चुनाव वहिष्कार किन?
पोखरा । गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर–२ को निर्वाचन सम्पर्क कार्यालय स्थापना भएको छ । कार्यालयको नयाँबजारमा उम्मेदवारसहित गठबन्धन दलका गण्डकी प्रदेशका नेताहरुले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै कास्की क्षेत्र नम्बर–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले विकास र संबृद्धिका लागि गठबन्धन निर्माण भएको बताए । कास्कीका जनताको आवश्यकता र भावना अनुरुपको काम गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताए । जनताको पक्षमा कानुन निर्माण गर्न र विकास निर्माणका कुरालाई संगसंगै अगाडि बढाउने कुरामा आफू दृढसंकल्पित भएर काम गर्ने उनले प्रतिपद्धता जनाएका छन् । आफूले कास्कीका जनताको भावना जनतासंग सुखदुखमा संगै रहेर गहिरोगरी बुझेको भन्दै उनले कास्कीका जनताको केन्द्रीय प्रतिनिधि भएर निरन्तर काम गर्ने धारणा राखे । ‘यहाँका हरेक नागरिकको साथमा रहेर यहाँहरुका दुखसुखमासंगै काम गरेको छु । कास्कीका जनताको भावना बुझेको छु । त्यो भावना अनुरुप केन्द्रमा सशक्त आवाज उठाउने कुरा, जनताको पक्षमा कानुन निर्माण गर्ने कुरा र विकृत राजनीतिलाई सहि ट्रयाकमा ल्याउने कुरामा मेरो सधैं ध्यान केन्द्रित हुनेछ । यहीढंगले म यहाँको प्रतिनिधि भएर संसदमा भूमिका खेल्नेछु’ उनले भने । गठबन्धनको तर्फबाट कांग्रेसबाट कास्की २ (ख) मा प्रदेश सभासदस्य पदमा उम्मेदवारी दिएका गण्डकीका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेशको नामकरण, राजधानी तोक्ने लगायतका काम भएको बताए । उनले अव विकास र समृद्धिका लागि आफूहरुले काम गर्ने धारणा राखे । उनले स्पष्ट एजेण्डाका साथ गठबन्धन आएको भन्दै सबैले एकतावद्ध भएर गठबन्धनलाई जिताउनु पर्ने बताए । गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कास्की २ (क) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्थामा परिवर्तन नआएकाले आवस्था परिवर्तनका लागि गठबन्धन बनेको बताए । गठबन्धन सरकार निर्माण र निर्वाचन जित्नका लागि मात्र नभएको भन्दै उनले यसले स्थिर सरकार समेत दिने धारणा राखे । उनले जनताले लडेर ल्याएको व्यवस्था नै असुरक्षित हुने अवस्था आएपछि गठबन्धन गरेर अगाडि बढ्नु परेको बताए । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस क्षेत्र नम्बर २ क्षेत्रीय समिति सभापति एवं निर्वाचन परिचालन समिति सभापति केशर निर्दोशीको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य चुडामणि जंगली, कांग्रेस नेता देवराज चालिसे, माओवादी केन्द्रका जिल्ला समन्वय कमिटी अध्यक्ष बखानसिंह गुरुङ र एकीकृत समाजवादीका समानुपातिक तर्फका उम्मेदवार रत्ना गुरुङ र नेपाल समाजावादीका नेता भिमबहादुर थापा सहित गठबन्धन सम्बद्ध दलका नेताहरुले बोलेका थिए ।
पोखरा : आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रदेश सभा सदस्य निर्बाचनमा गण्डकी प्रदेशका लागि कास्की निर्वाचन क्षेत्र न २ (क) को ने क पा (एमाले ) निर्वाचन परिचालन कमिटिको कार्यालय मंगलबार उद्घाटन गरिएको छ । सो कार्यालयको नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सीता गिरि ओलिले उद्घाटन गरेकी हुन।ओलिले राष्ट्रले गौरव गर्ने बिकास एमालेले गरेको भन्दै अब पनि सो को पूर्णताको लागि एमालेलाइ जिताउनु पर्ने बताइन । सो पार्टीको केन्द्रिय सदस्य समेत रहेका कास्की इन्चार्ज कृष्ण थापाले कास्किका सबै क्षेत्रमा एमालेलाई बिजयी गराउन आम जनतालाई आग्रह गरे । कास्की २ बाट प्रतिनिधि सदस्य पदका उम्मेदवार बिद्या भट्टराईले बिकासको खाका एमाले सङ्ग मात्रै भएको भन्दै बीचमा सरकार परिवर्तन हुदा सो योजना पूरा गर्न नपाएको उल्लेख्य गरिन।उनले बिकासको छलाङ्ग मार्ने योजना सहित उम्मेदवारी दिएको बताइन । उनले एमालेले कहिल्यै जनताका माझ झुट नबोल्ने र बोलेका कुरा पूरा गरेरै छाड्ने बताइन । कास्की निर्वाचन क्षेत्र न २ (क )प्रत्यासी उम्मेदवार भिम बहादुर कार्किले एमाले सधै जनतालाइ अधिकार सम्पन्न र समृद्ध बनाउने योजनाबद्ध कार्यक्रम सहित लागेको भन्दै राष्ट्र लाई समुन्नत बनाउन लागि पर्ने उल्लेख गर्दै उत्कृष्ट बिकसित कास्की आफ्नो सपना भएको भन्दै कार्कीले सो को लागि सुर्यमा मतदान गर्न आग्रह गरे । ने क पा (एमाले ) गण्डकी प्रदेश कमिटिका उप सचिब रश्मि आचार्यले देश भरिका क्षेत्रमा उत्कृष्ट कास्की २ भएको र देश बिकासको लागि एक मात्रै पार्टी एमाले भएको जिकिर गरे। कास्की २ को जन साथ नै आफुहरूको लागि सधै महत्त्वपूर्ण भएको भन्दै निरन्तर सो साथ प्राप्त हुने बिश्वास व्यक्त गरे । कार्यक्रममा एमाले कास्किका कार्यबाहक अध्यक्ष तेज नारायण अधिकारी,जिल्ला कमिटी सदस्यद्वय सुष्मा पौडेल र शिव प्रसाद आचार्य लगायतले बोलेका थिए । पोखरा ३३ मा एमालेको ५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा कास्की निर्वाचन क्षेत्र न २ (क) अन्तर्गत नेकपा (एमाले ) पोखरा महानगर कमिटि वडा न ३३ को निर्वाचन परिचालन कमिटिको घोषणा गरिएको छ । वडा कमिटी अध्यक्ष दिपकराज लामिछानेको संयोजकत्वमा ५५५ सदस्यीय कमिटीको घोषणा गरिएको हो । कार्यक्रममा सो क्षेत्रका प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम कार्की , एमाले प्रदेश कमिटी सदस्य रश्मि आचार्य ,जिल्ला कमिटी सदस्यद्वय किशान सुनार , शिव प्रसाद आचार्य, सो वडाका उप – सचिब रमेशराज आचार्य लगायतले एमालेको बिजयको लागि गर्नु पर्ने कार्यभारको सम्बन्धमा बोलेका थिए ।
पोखरा : आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)को तर्फबाट कास्की निर्वाचन क्षेत्र न २ (ख) का उम्मेदवार मिना गुरूङले महिला सशक्तिकरण, समावेशी विकास र समृद्धिका लागि आफुले उम्मेदवारी दिएको बताएकी छन् । पोखरा ८ सिजर्नाचोकस्थित कास्की निर्वाचन क्षेत्र नं. २ (ख) को निर्वाचन परिचालन कमिटिको कार्यालयको उद्घाटन समारोहमा बोल्दै उनले महिला हकहितका पक्षमा काम गर्ने उल्लेख गरेकी छन् । उम्मेदवार गुरूङले विगतमा एमाले नेतृत्वको प्रदेश सरकारले शुरु गरेका तर सरकारको फेरबदलका कारण पूरा हुन नसकेका विकास निर्माणका अधुरा योजना पूरा गर्दै नयाँ भिजनका साथ अघि बढ्ने प्रतिवद्धता जनाईन् । उनले आफ्नो निर्वाचन क्षेत्र सबै हिसावले महत्वपूर्ण रहेकोले सो क्षेत्रको विकासको योजना सहित छिट्टै आफ्नो पार्टीको प्रतिवद्धता सार्वजनिक गर्दै सोही अनुरुप स्थानियकै आवश्यकता र सुझावका आधारमा काम गर्ने बताएकी छन् । गुरूङले आफू जहिले पनि जनताकै सेवामा लागेको उल्लेख गर्दै दोसो पटक पनि जनसेवाकै लागि उम्मेदवारी दिएको बताईन् । आफ्नो एक मात्र सपना विकास भएकोले त्यसका लागि कास्की २(ख)का जनताले आफूलाई विजयी गराउने उनको विश्वास छ ।

