सत्तागठबन्धन रहरले हैन बाध्यताले बनेको हो: प्रधानमन्त्री देउवा
काठमाडाैं | कात्तिक ७, २०७९

काठमाण्डौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको स्पष्ट पार्नुभएको छ ।
वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले ठूलो सङ्घर्षपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र समावेशीसहितको संविधानको रक्षा गर्न गठबन्धन बनेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, “नेपालको संविधान सच्चा मानेमा समावेशी छ । तसर्थ संविधानको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो । संविधानले भूगोललगायत सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ । यस्तो व्यवस्था विश्वमा विरलै पाइन्छ ।”
संविधानअनुसार सबैले आफ्नो हकअधिकारका लगि आवाज उठाउने समावेशी जनताको प्रतिनिधि थलो सबै तहका सरकारमा बनेको उहाँले बताउनुभयो । यसलाई भोलिका दिनमा अझ समृद्ध र परिष्कृतरुपमा अघि बढाउनसके सच्चा मानेमा संविधान कार्यान्वयन हुने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले गठबन्धन आवश्यकताले बनेको बताउँदै यो अपरिहार्य थियो, छ र रहनेछ भन्नुभयो । उहाँले स्थायी शान्ति र लोकतन्त्र, कसैले खोस्न नसक्ने तथा लोकतन्त्र कसैले हटाउन नसक्ने संविधानको रक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
निर्वाचनको तयारीका लागि देशभर सम्पन्न भएका गठबन्धनका प्रादेशिकस्तरीय भेलामा अत्यन्त स्वःस्फूर्त जनताको सहभागिता रहेको देखिएको उल्लेख गर्दै उहाँले गठबन्धन दलबीच आपसमा सौहार्दपूर्ण वातावरण बनेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले सबै मिलेर गठबन्धनलाई जिताउन लाग्नुपर्ने बताउनुभयो । निर्वाचनमा सबैले टिकट पाउन कठिन भएको र त्यो समस्या सबै पार्टीमा रहेको बताउँदै उहाँले गठबन्धन सम्बद्ध पार्टीमा आन्तरिक समस्या भए पनि अहिले झगडा गर्ने बेला होइन भन्नुभयो । साथै उहाँले सबै मिलेर अहिले गठबन्धन टिकाउन र प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नुपर्ने बताउनुभयो ।
विगतमा नेपाली कांग्रेस र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्तिसम्झौतामा हस्ताक्षर भई मुलुकमा सदाका लागि शान्ति स्थापना भएको बताउँदै प्रधानन्त्री देउवाले अब देश विकासमा अघि बढ्ने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, “सबै प्रकारका विभेदको अन्त्य गरी हामी अघि बढ्नेछौँ । भोलिका दिनमा प्रजातन्त्र, राष्ट्रियता, समावेशीताको खिलापमा कोही जान नसक्ने गरी संविधान र लोकतन्त्रको रक्षा गर्नेछौँ ।” अहिलेको राजनीतिक व्यवस्थाअनुसार कुनै दलको एक्लै बहुमत आउने सम्भावना कम देखिएकाले अन्य पार्टीसँग मिलेर अघि बढ्नुपर्ने परिस्थिति बनेको उहाँको भनाइ थियो । गठबन्धनको संस्कृति अझ अघि बढाउनुपर्ने र निर्वाचनमा सबै एकढिक्का भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पोखरा: अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नु भएको छ । पर्वत जिल्ला खाल्ट...
म्याग्दी: म्याग्दीमा घरजग्गामा महिलाको स्वामित्व बढ्नथालेको छ । सरकारको अनुकूल नीति, सामाजिक संरचनामा आएको परिवर्तन र शसक्तिकरणसँगै घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको हो । सरकारले महिला, दलित तथा जनजात...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिने भएको छ। कारागार व्यवस्थापन विभागले लामिछानेको निवेदन अ...