बागलुङ : पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि बागलुङमा ३१ उम्मेदवार कायम भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बागलुङ–१ बाट एक जना र २ बाट चार जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि बागलुङ–१ मा उम्मेदवारी दिनुभएका कृष्णशङ्कर श्रेष्ठले बुधबार उम्मेदवारी फिर्ता लिनुभएको हो । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएका गणेशकुमार थापा, प्रदेशसभा सदस्यका लागि बागलुङ–२ (क) का उम्मेदवार भीमलाल पोखरेल, (ख)का दीपक थापा र करमती पुनले उम्मेदवारी फिर्ता लिनुभएको हो । स्वतन्त्र उम्मेदवार श्रेष्ठको उम्मेदवारी फिर्तासँगै बागलुङ–१ मा प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (एमाले)बाट सूर्यप्रसाद पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीप्रसाद सापकोटा, नेपाली कांग्रेस (बिपी)बाट शिवलाल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खिमानन्द कँडेल र स्वतन्त्रबाट चन्द्रबहादुर क्षेत्रीको उम्मेदवारी कायम रहेको छ । बागलुङ–१ (क)मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा, नेकपा (एमाले)का हीराबहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर विक र स्वतन्त्ररूपमा दीपेन्द्र हमालको उम्मेदवारी कायम छ । बागलुङ–१ (ख)मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराम सुवेदी, एमालेबाट नवराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द सापकोटा र मङ्गोल नेशनल अर्गनाइजेशनका सहवीर थापाको उम्मेदवारी कायम छ । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेल, एमालेबाट मञ्जु शर्मा चालिसे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तिला खत्री, नेकपा जनमुक्ति पार्टीका चित्रप्रसाद गुरुङ, सामाजिक एकता पार्टीका टेकप्रसाद कामी, स्वतन्त्रबाट तुलसीराम अर्याल र डिलबहादुर कार्कीको उम्मेदवारी कायम छ । बागलुङ–२ (क)मा सत्ता गठबन्धनका जीत शेरचन र स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीको उम्मेदवारी कायम छ । बागलुङ–२ (ख) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दोर्ण कुँवर, एमालेका लक्ष्मण पुन, जनता समाजवादी पार्टीका गङ्गाबहादुर घर्ती, नेशनल अर्गनाइजेशन पार्टीका ताराबहादुर घर्ती, सामाजिक एकता पार्टीका टेकप्रसाद विक, स्वतन्त्रबाट नरबहादुर गुरुङ र दुर्गादेवी घर्तीको उम्मेदवारी कायम छ । मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै बुधबार नै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको जानकारी दिनुभयो ।
कास्कीः जनयुद्धका दौरान कास्कीबाट सहिद भएका राजविक्रम भुर्तेल र सीता भुर्तेलकी छोरी अनिता भुर्तेलले आफ्नो प्रतिनिधि सभा कास्की ३ मा उम्मेदवारी कायम राखेकी छिन् । उम्मेदवारी फिर्ता गर्ने निर्धारित समयमा पछि नहटेपछि उनको उम्मेदवारी कायम भएको हो । निर्वाचन आयोगको तालिका अनुसार उनले हिजै चुनाव चिन्ह ‘ग्याँस सिलिण्डर’ पाएकी छिन् । चुनाव चिन्ह पाएसँगै अनिताले आफ्नो उम्मेदवारी भ्रष्टाचार र परिवारवादविरुद्ध भएको भन्दै प्रचारमा जुटेकी छिन् । बुवा–आमा सहिद भएको समय मात्र १५ वर्षकी अनिता पार्टीमा निरन्तर थिइन् । तर यसपटक समानुपातिकमा नाम सिफारिश भएपनि अन्त्यमा नाम नपरेपछि उनले स्वतन्त्ररुपमा उम्मेदवारी दिएकी छिन् । अभिभावकाको मृत्युपछि तीन बहिनी र एक भाइको लालनपालनमा जुटेकी अनितालाई पार्टीले स्थान नदिएपछि उनी चुनावी मैदानमा उत्रेकी हुन् । अनिताको चुनावी क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट रामजी बरालले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेबाट दामोदर वैरागी प्रतिष्पर्धामा छन् । बुवा राजविक्रम र आमा सीताको तत्कालिन शाही नेपाली सेनाले ०६१ वैसाख ३१ गते पामेमा घर घेरा हालेर हत्या गरेको थियो । अनिता माओवादी केन्द्र निकट अखिल जनस्वास्थ्यकर्मी महासङ्घमा समेत आबद्ध छिन् ।
काठमाडौं : स्थानीय तहमा निर्वाचित कार्यपालिकाका पदाधिकारीले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने भएका छन् । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ मा ती पदाधिकारीले आफू निर्वाचित भएको स्थानीय तहबाहेकको स्थानमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न चाहेमा सरकारी साधन स्रोत (सवारी साधन, सुरक्षाकर्मी आदि)को प्रयोग नगरी मात्रै गर्न पाइने व्यवस्था छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज जारी गर्नुभएको विज्ञप्तिमा आचारसंहिताविपरीत आफू बहाल रहेको स्थानीय तहमा कुनै उम्मेदवारका पक्षमा प्रचारप्रसार कार्यमा संलग्न भएको भन्ने उजुरी आएको तथा आयोगको अनुगमनबाट समेत देखिएकाले स्पष्टीकरण सोधी कारबाही गर्न जिल्ला अनुगमन समितिलाई निर्देशन दिइएको जनाउनुभएको छ । आयोगले स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम निजलाई कारवाही गर्न स्पष्टीकरण सोधी तत्काल कारवाहीको प्रक्रिया अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृत ९कोष तथा लेखा नियन्त्रक कार्यलयका प्रमुख०लाई निर्देशन दिएको हो । साथै सोको सम्पूर्ण विवरण तत्काल जिल्ला आचारसंहिता अनुगमम समिति र आयोगमा पठाउने र कारवाही प्रक्रिया अघि बढाउन आवश्यकताअनुसार जिल्ला आचारसंहिता अनुगमन समिति तथा निर्वाचन कार्यलयले आवश्यक सहजीकरण र सहयोग गर्न भनिएको छ । स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा ७ बमोजिम आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउन सम्बन्धित स्थानीय तहको कार्यालय तथा प्रमुख प्रशासकीय अधिकृतलाई पनि आयोगले निर्देशन दिएको हो ।
पोखरा ः नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नंं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराईले अग्रजले देखेका सपना पुरा गर्न सके मात्र उहाँहरुप्रति सच्चा सम्मान हुने बताउनु भएको छ । नेकपा एमाले पोखरा १७ द्धारा मुस्ताङचोकमा आज आयोजित प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय चित्र बहादुर गुरुङको ३२ औं स्मृति सभामा बोल्दै उहाँले मुलुकको प्रत्येक परिवर्तनमा अग्रजको अतुलनिय योगदान रहेको स्पष्ट पार्नुभयो । मुलुकको प्रजातान्त्रिक आन्दोलनसंगै नेपालमा कम्युनिष्ट पार्टीको , स्थापनामा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने गुरुङले राष्ट्र निर्माण देखाएको सपना पुरा गर्न सवै एकतावद्ध भएर लाग्नुको विकल्प नभएकोमा उहाँको जोड थियो ।नेकपा एमाले केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र २ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार भिम कार्कीले पार्टी नीति, विचार र सिद्धान्तका आधारमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । अधिवक्ता तिलक पराजुलीले स्व. चित्रबहादुर गुरुङ मुलुकमा परिवर्तनका लागि रोजगारी सिर्जना गर्दै विकास निर्माणमा जुट्न प्रेरित गर्ने अभियान्ता भएको स्मरण गर्नुभयो । त्यस अघि पार्टीका नेता तथा कार्यकर्ता, जनप्रतिनिधि, नेकपा एमालको तर्पmबाट प्रदेश सभा निर्वाचन क्षेत्र २ (ख) का उम्मेदवार मिना गुरुङ, गठवन्धनका निर्वाचन क्षेत्र नं. २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछाने, स्व.गुरुङका परिवारजन, लगायत उपस्थित सर्वसाधारणले गुरुङको अर्धकदको शालिकमा माल्यार्पण गर्दै श्रद्धासुमन अर्पण गर्नुभएको थियो । पार्टी वडा कमिटि १७ अध्यक्ष ऋषव तिमिलाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव विक्रम गुरुङ लगायतले स्व. गुरुङले राजनैतिक एवम् विकास निर्माण पु¥याउनु भएको योगदानका वारेमा चर्चा गर्नुभएको थियो ।
पोखरा : कास्की क्षेत्र नम्बर ३ प्रनिनिधिसभामा दामोदर पौडेल बैरागीविरुद्ध बागी उम्मेदवारी दिएका जगनान्नथ बास्तोलाले उम्मेदवारी फिर्ता लिएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ को प्रतिनिधिसभामा एमालेले दामोदरलाई उम्मेदवार बनाएको छ। त्यसमा असन्तुष्ट जनाउँदै उम्मेदवारी दिएका एमाले प्रदेश कमिटी सदस्य जगन्नाथले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन् ।
पोखरा : निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा एनजीओसम्बद्ध कर्मचारीलाई चुनावी प्रचारप्रसारमा रोक लगाएको छ । गैरसरकारी संस्था, विकास साझेदार संस्था सम्बद्ध पदाधिकारी तथा कर्मचारीहरुले राजनीतिक दल वा उम्मेदवारहरुको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न आयोगले एक सूचना जारी गर्दै रोक लगाएको हो । आयोगले निर्वाचन अवधिभर कुनै योजनाको शिलन्यास, उट्घाटन, सर्वेक्षण, सम्भाव्यता अध्ययन गर्ने वा सोको लागि अनुदान दिने जस्ता कार्यक्रमसमेत रोक्न निर्र्देशन गरेको छ । निर्वाचन आचारसंहिता विपरित सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा समाजिक सञ्जालमार्फत मत माग्न समेत रोक लगाएको छ ।
पोखराः आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनार्थ निर्वाचन आयोग जुटिरहेको छ । आयोगले निर्वाचनको तालिका अनुसार आज दुबै सभाका उम्मेदवारहरुको नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । आयोगका अनुसार अपरान्ह १ बजेदेखि ३ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक हुनेछ । त्यस्तै, बेलुकी ४ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरुलाई चुनाव चिन्ह दिइने आयोजले जनाएको छ ।
पोखरा : मनाङ प्रदेश ‘२’ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध हुने भएका छन् । अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रीसमेत रहेका राजीव गुरुङ निर्विरोध हुने भएका हुन् । दोर्जेले बुधबार १० बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए । उनका अनुसार दोर्जेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि राजीव गुरुङको एकल उम्मेदवारी रहने र उनीविरुद्ध दाबीविरोध नपरेपछि एकल उम्मेदवारी रहने भएकाले निर्विरोध हुने बताए । ‘उहाँ निर्विरोध हुने पक्कापक्की जस्तै भयो । तर, हामी १ बजेपछि मात्रै औपचारिक रूपमा जानकारी गराउँछौँ,’ उनले भने । दोर्जे लामा गुरुङले मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश ‘२’ का लागि स्वतन्त्र उम्मेदवारी दिएकोमा उक्त पदमा उम्मेदवारी रहेका गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई पूर्ण रूपमा समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएर मनाङेलाई सहयोग गर्ने घोषणा बुधबार बिहान फेसबुकमार्फत गरेका थिए । राजीवले मनाङ प्रदेश ‘२’ मा एमालेका समर्थनमा स्वतन्त्र उम्मेदवार बनेको बताए । उनले २०७४ को निर्वाचनमा एमालेकै समर्थनमा जितेको र अहिले पनि एमाले समर्थनमै उम्मेदवारी दिएको बताउँदै आएका छन् । उनले गण्डकी प्रदेशमा मन्त्री रहे पनि सत्ता गठबन्धन छोडिसकेको बताउँदै आएका छन् । एमालेकै पहलमा स्वतन्त्र उम्मेदवार दोर्जेलाई उम्मेदवारी फिर्ता गर्न लगाएको एमाले मनाङका सचिव एवं मनाङ प्रदेश ‘१’ का उम्मेदवार राजनबहादुर गुरुङले बताए । ‘हाम्रो पहलमा राजीव गुरुङ र दोर्जे लामा गुरुङबीच छलफल भयो । हामीले फिर्ता लिएर राजीवलाई निर्विरोध गर्न अनुरोध गर्यौं । दोर्जेले स्वीकार गर्नुभयो,’ उनले भने, ‘दोर्जेले फिर्ता लिनेबित्तिकै राजीव निर्विरोध हुनेभयो ।’ डेंगु संक्रमित मनाङे भने उपचारका लागि मंगलबार हेलिकप्टरमार्फत काठमाडौं गएका छन् । मनाङ प्रदेश ‘२’ मा एमाले र कांग्रेस दुवैले उम्मेदवारी दिएका छैनन् । कांग्रेस मनाङ सचिव सुरेन्द्र गुरुङले राजीव गुरुङ (दीपक मनाङे) लाई समर्थन गर्दै कांग्रेसले उम्मेदवारी नदिएको बताए । ‘सत्ता गठबन्धनले मनाङेलाई सघाएको हो । अरु थाहा भएन,’ उनले भने । राजीवले एमालेले टिकट नदिएपछि स्वतन्त्र उठेका उनले एमाले समर्थनमा २०७४ को निर्वाचनमा कांग्रेसका कर्म गुरुङलाई हराएर मनाङ प्रदेश ‘२’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । मनाङेलाई एमालेले टिकट दिने विषयमा विरोध भएपछि पार्टीले टिकट नदिने र समर्थन गर्ने भएपछि राजीव गुरुङ स्वतन्त्र उम्मेदवार बनेका थिए ।
काठमाडौं : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा परिचालित हुने पर्यवेक्षकले कुनै दल र उम्मेदवारको पक्ष वा विपक्षमा प्रस्तुत भएको पाइएमा मान्य नहुने बताउनुभएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का लागि पर्यवेक्षण संस्थाहरूका लागि आज आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले विगतका निर्वाचनहरूमा केही उदाहरणले केही पर्यवेक्षकहरू दल र उम्मेदवारका रूपमा प्रस्तुत भएको पाइएकाले त्यस्तो नगर्न आग्रह गर्नुभएको हो । उहाँले निर्वाचन प्रक्रियाका लागि एक अभिन्न अङ्ग र एक प्रकारले नागरिक समाजको हैसियतमा पनि पर्यवेक्षक रहेकाले निर्वाचन आचारसंहिता, २०७९ को पालना गरेर पर्यवेक्षकले आफ्नो दायित्व निर्वाह गरी आयोगलाई निर्वाचन व्यवस्थानमा सघाउन आग्रह गर्नुभयो । आवधिक निर्वाचनले नागरिकको अधिकार पुनःजागरण हुने र लोकतन्त्र बलियो भएको सन्देश जाने भएकाले यसका लागि उचित वातावरण बनाउन दलहरू, नागरिक समाज, आमसञ्चार र सबै पक्षको भूमिका हुने बताउनुभयो । प्रमुख आयुक्त थपलियाले संविधान र कानुनबमोजिम निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको दायित्व आयोगको भएकाले सरकारले निर्वाचन गराउने अर्थमा बुझिनु गलत हुने स्पष्ट गर्दै बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा खराब दलको विकल्प असल दल हुने र स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवार हुन पाउने उल्लेख गर्दै निर्वाचन सफल तुल्याउन सबैमा आग्रह गर्नुभयो । कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम पौडेलले पर्यवेक्षक संस्थाले निर्वाचन आचारसंहितामा ध्यान दिएर आफ्ना पर्यवेक्षकलाई प्रशिक्षित गर्न आग्रह गर्नुभयो । कार्यक्रमको प्राविधिक सत्रमा आयोगका सहसचिव पौडेलले निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन प्रणाली, समावेशीकरणसम्बन्धी कानुनी व्यवस्था, निर्वाचन तयारी र निर्वाचन कार्यक्रम, आयोगका पूर्वसचिव बेगेन्द्रराज पौडेलले पर्यवेक्षण संस्था र पर्यवेक्षकको आचारसंहिता तथा दायित्व, आयोगका उपसचिव कमल भट्टराईले निर्वाचन पर्यवेक्षणको अवधारणा र सम्बन्धमा नीतिगत व्यवस्था र आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले कार्ययोजना र प्रतिवेदनसम्बन्धी व्यवस्था तथा मतदान, मतगणना र निर्वाचन विवाद निरुपण विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रशिक्षणमा निर्वाचनका लागि पर्यवेक्षण गर्न आवेदन दिइ अनुमति पाउने ४३ संस्थाका प्रतिनिधि सहभागी छन् ।

