निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

  गण्डकी । कास्कीको सङ्घीय निर्वाचन क्षेत्र नं १ परिणाम बदलिइरहने क्षेत्रका रुपमा चासो र चर्चा कमाएको छ ।     लेखनाथका सात तालसँगै सिक्लेस, याङ्जाकोट, रुपाकोटलगायतका गन्तव्यले यहाँको पर्यटकीय पहिचान र ख्याति बढाएको छ । विगतका निर्वाचन हेर्दा परिणाम बदलिइरहेको यस क्षेत्रमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा नतीजा आफ्नो पक्षमा पार्ने लक्ष्यसाथ उम्मेदवार चुनावी अभियानमा जुटेका छन् ।      यसअघिको आमनिर्वाचनमा नेपाली कांग्रेस र वाम गठबन्धनबीच मुख्य प्रतिस्पर्धा भएकोमा बाम गठबन्धनले विजय हासिल गरेको थियो । अहिले भने उक्त समीकरण फेरिएर कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहितका पाँच राजनीतिक दलको गठबन्धन एकातर्फ छ भने नेकपा एमाले, अन्य दल तथा स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । चुनावी परिणामलाई आफ्ना पक्षमा पार्न यतिखेर उम्मेदवार गाउँ पसिसकेका छन् । गाउँ बस्तीमा यतिखेर धान भित्र्याउन सर्वसाधारण लागिरहेका अवस्थामा घरदेखि खेतका खलासम्म उम्मेदवारको सक्रियता बढेको छ । पोखराको खुलेको मौसमका कारण तालतलैयाका छेउछाउ र पदमार्गमा पर्यटक देखिएका छन् भने उम्मेदवारलाई भने भोट तान्ने गरी मतदाता रिझाउन भ्याइनभ्याइ छ ।     वर्षभरि दुःख गरेर फलाएको धान थन्क्याउने हतारोमा रहेका सर्वसाधारणसँग हात जोड्दै पुगेका उम्मेदवारले स्थानीय समस्या र आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।      यस पटकको निर्वाचनमा कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका  जिल्ला सभापति किशोरदत्त बराल उम्मेदवार हुनुहुन्छ भने नेकपा एमालेका तर्फबाट जिल्ला अध्यक्ष मनबहादुर गुरुङ उम्मेदवार हुनुहुन्छ । प्रदेशसभा सदस्यतर्फ प्रदेशसभा (क) र (ख) मा गठबन्धनका तर्फबाट क्रमशः नेकपा माओवादी केन्द्रका दीपक कोइराला र नेपाली कांग्रेसका दीपक गुरुङ (माइला) उम्मेदवार हुनुहुन्छ भने नेकपा एमालेका खगराज अधिकारी र बेदबहादुर गुरुङ उम्मेदवार हुनुहुन्छ ।     प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि यस क्षेत्रमा कूल एक लाख १० हजार सात सय १५ मतदाता छन् । जसमध्ये प्रदेशसभा (क) मा ५८ हजार चार सय ४५ र (ख) मा ५२ हजार दुई सय ७० मतदाता छन् । सो क्षेत्रमा १३४ मतदान केन्द्र रहेको निर्वाचन क्षेत्र नम्वर एकका निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यले बताउनुभयो । यस क्षेत्रमा प्रनिधिसभामा कूल १४ जना र प्रदेशसभा क र खमा आठ आठजना उम्मेदवार रहेका छन् । विकासको पर्याप्त सम्भावना बोकेको यस क्षेत्रमा रुपा र मादी गाउँपालिका, पोखरा लेखनाथ महानगरपालिकाका १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ नं वडा पर्दछन् । यस क्षेत्रको प्रदेश (क) मा रुपा गाउँपालिका र पोखरा महानगरका २६, २७, २९, ३०, ३१ र ३२ नं वडा पर्दछन् भने प्रदेश (ख) मा मादी गाउँपालिका र महानगरपालिकाका १०, १२, १३, १४ र २८ नं वडा छन् । यहाँका मादी र रुपा गाउँपालिका जलविद्युत्, कृषि तथा पर्यटनमा धेरै सम्भावना बोकेर पनि अपेक्षित विकास नभएका क्षेत्र हुन् भने महानगरका वडा पनि विकास दृष्टिले अझै ओझेलमा छन् । पर्यटकीयरुपमा आकर्षक गन्तव्य सिक्लेस, ताङ्तिङ, याङ्जाकोट, नागिधार, वारचोक, भाचोक, तप्राङलगायतका पर्यटकीय गन्तव्य यही क्षेत्रमा पर्दछन् । त्यस्तै कास्की र लमजुङको सिमानास्थित तमुहरूको उद्गमस्थल क्होलासोंथर, दूधपोखरी यहाँका आकर्षण हुन् । पदयात्रा पर्यटनमा पनि उत्तिकै महत्वपूर्ण यस क्षेत्रमा मादीको सिक्लेसदेखि मनाङ र लमजुङसम्म, त्यस्तै नागिधार, भाचोक, वारचोक, याङ्जाकोट, ताङ्तिङदेखि सिक्लेससम्मका पदमार्ग पर्यटकलाई आकर्षित गर्न सकिन्छ । विश्वकै सबैभन्दा होचो स्थानमा रहेको दाबी गरिने कफुचे हिमताल पनि यही क्षेत्रमा पर्दछ ।     निर्माणाधीन सिक्लेस–सिसाघाट, कसेरी–भैँसे–थुमाकोडाँडा, राखी–मिजुरे–पोसी, सैमराङ–भाचोक–नागिधार–पोसी, काहुँखोला–दूधपोखरी सडक, काहुँखोलादेखि ताङ्तिङलगायतका सडकको स्तरोन्नतिलाई यस क्षेत्रका स्थानीयले उम्मेदवारसँग विकासको प्रतिबद्धता खोजेका छन् ।     दुर्लभ पाँचऔँले, नीरमसी, सतुवा, वन लसुनजस्ता जडीबुटी पाइने यहाँ लेकाली भेगमा पाइने टुसालाई आम्दानीको महत्वपूर्ण स्रोत बनाउन सकिन्छ । रुपातालको पर्यटकीय सम्भावनासँगै यहाँबाट जलविद्युत् निकाल्ने गरी सम्भाव्यता अध्ययनको पहल अघि बढिसकेको छ भने व्यावसायिक माछापालन पनि आयआर्जनका लागि महत्वपूर्ण विकल्प बन्ने देखिन्छ ।     यहाँका हंसपुरको स्याक्लुङ्कोट, इन्द्रगुफा, रूपाकोटको चिसापानी, भिरचोक कोट, बराहाथोकको कालभैरव, तल्लो गगनगौंडाका राधाकृष्ण, कालिका मन्दिरलगायतलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेको रोयल ट्रेक र तनहुँ, लमजुङ हुँदै कास्की जोडिने मिर्लुङकोट पदयात्रा मार्ग पनि यसै क्षेत्रको पर्यटकीय गन्तव्य हो । तालबेँसी, खाल्टे खोला, बृदिम, आपुखोला, थुम्सीकोट बेँसीलगायत फाँटमा व्यावसायिक कृषिको विकासका पर्याप्त सम्भावना छन् ।     त्यस्तै शिशुवा देउराली हुँदै सिसाघाट, रूपाकोट थुम्की, सात ताल जोड्ने लिंकरोड र बेगनास भोर्लेटारलगायतका सडक यहाँका चुनावी मुद्दा बन्दै आएका छन् । महानगरका वडा अधिकांश ग्रामीण भेगमा नै रहेकाले तिनको विकास गर्न उम्मेदवारसँग प्रतिबद्धता खोजिने विजयपुरका मतदाता राजेश घिमिरेले बताउनुभयो ।     “सम्भावना रहेर पनि ओझेलमा परेका कास्की क्षेत्र नं १ का बस्तीको विकासका लागि उम्मेदवारसँग प्रतिबद्धता खोज्ने बेला आएको छ”, उहाँले भन्नुभयो, “यहीँका पूर्वाधारको संरक्षण र विकास गर्दै रोजगारीका अवसर सिर्जना गर्न सक्ने किसिमको नेतृत्व चुन्नु अपरिहार्य छ ।”     कृषि पर्यटनमा क्रान्तिका माध्यमबाट देशको समृद्धि र शान्तिको बाटो अँगाल्न सकिने बताउने गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरदत्त बराल ज्ञान, उद्यमशील र सीपको शिक्षासहित विद्यालय सुधार गर्ने योजनाका साथ चुनावमा होमिएको बताउनुहुन्छ ।      समृद्धिको निकासका लागि गुणस्तरीय र योजनाबद्ध विकास आवश्यक रहेको बताउँदै उहाँले राजनीतिक शुद्धतासँगै संसद्को गरिमा र सांसदको मर्यादा कायम गराउने कुरा पनि आफ्नो प्रतिबद्धतामा रहेको बताउनुभयो । कास्की क्षेत्र नं १ का हरेक सम्भावनालाई उजागर गर्दै समृद्धि र विकासका लागि लाग्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । जनताका हरेक समस्या र आवश्यकतालाई सम्बोधन गर्ने कुरालाई प्राथमिकताका साथ अघि बढाउने उहाँले बताउनुभयो ।     नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनबहादुर गुरुङले हाम्रो मुख्य शत्रु गरिबी रहेको बताउँदै त्यसको अन्त्यका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभयो । कास्की क्षेत्र नं १ प्राकृतिकरुपमा सम्पन्न रहेको बताउँदै उहाँले यसको संरक्षण र उपयोगमा जोड दिने बताउनुभयो । गाउँ र सहरबीचको दूरी कम गर्नुका साथै शिक्षा, स्वास्थ्यलगायतका क्षेत्र आफ्नो प्राथमिकतामा रहने उहाँको भनाइ छ ।     गठबन्धन तथा नेकपा एमालेका उम्मेदवार सहित अन्य राजनीतिक दलका उम्मेदवारहरू पनि मतदातालाई आफ्ना पक्षमा पार्न चुनावी अभियानलाई तीव्रता दिएका छन् । हाम्रो नेपाली पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रमोद आचार्य भ्रष्टाचाररहित समाजको निर्माण आफ्नो प्राथमिकतामा रहेको बताउनुहुन्छ । राजनीतिक नीतिगत भ्रष्टाचार उन्मूलनलाई जोड दिइने बताउँदै उहाँले यस क्षेत्रको समग्र विकाससँगै शिक्षा, स्वास्थ्य एवं रोजगारीको प्रत्याभूति गराउने गरी अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।     अघिल्लो पटक नेकपा एमाले र माओवादीको गठबन्धन विजयी भएको यस क्षेत्रमा अहिले भने नेपाली कांग्रेस र माओवादीसहितका दलको गठबन्धन छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस क्षेत्रअन्तर्गत पर्ने पालिकामा वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतलाई आधार मान्दा गठबन्धनका उम्मेदवार बलिया देखिन्छन् ।     पोखरा महानगरपालिकासहित रुपा र मादी गाउँपालिकाका कूल २९ वटा वडा रहेको यस क्षेत्रमा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवारले ३१ हजार ७२ मत प्राप्त गर्दा एमालेका वडाध्यक्षका उम्मेदवारले कूल २८ हजार तीन सय ४६ मत प्राप्त गरेका थिए ।  त्यस्तै माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवारले तीन हजार एक सय ७० मत प्राप्त गरेका थिए । स्थानीय तहको निर्वाचनमा पनि कांग्रेस र माओवादी केन्द्रसहित गठबन्धनका दलको तालमेल थियो । यस क्षेत्रमा राप्रपाका वडाध्यक्षका उम्मेदवारले एक हजार सात सय ३७, स्वतन्त्रले चारसय ३५, जनता समाजवादीले ४४ र अन्य पार्टीका उम्मेदवारले ३९ मत प्राप्त गरेका थिए । वडाध्यक्षले प्राप्त गरेको मतलाई हेर्दा यस क्षेत्रमा कांग्रेस सबैभन्दा ठूलो दल देखिएको छ । कांग्रेससहितका गठबन्धनमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको समेत मत जोड्दा मतान्तर फराकिलो देखिन्छ ।      पछिल्ला निर्वाचन हेर्दा यो क्षेत्र परिणाम बदलिरहने क्षेत्र हो । राजनीतिक नेतृत्वका हिसाबले यहाँबाट निर्वाचित उम्मेदवारले देशको राष्ट्रिय राजनीतिमा राम्रै प्रभाव पार्ने देखिन्छ । यसै क्षेत्रबाट निर्वाचित भएर तारानाथ रानाभाटले देशको सभामुखको जिम्मेवारी सम्हालिसक्नुभएको छ भने यज्ञबहादुर थापा, खगराज अधिकारीले मन्त्री पदको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।     विसं २०६४ यताका निर्वाचनलाई हेर्दा पनि एकपछि अर्को निर्वाचनमा यहाँको परिणाम कुनै दलका पक्षमा स्थायी देखिएको छैन । विसं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा यस क्षेत्रबाट नेकपा माओवादी केन्द्र (तत्कालीन नेकपा माओवादी)का देव गुरुङ विजयी बन्नुभएको थियो । दुई ठाउँबाट विजयी गुरुङले पछि मनाङ रोज्दा २०६५ सालमा उपनिर्वाचन भएको यस क्षेत्रमा उपनिर्वाचनमा पनि माओवादीकै कृष्णबहादुर गुरुङ निर्वाचित बन्नुभएको थियो । विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा यस क्षेत्रमा कांग्रेसका यज्ञबहादुर थापा विजयी बन्नुभयो । विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा एमाले र माओवादी गठबन्धनका खगराज अधिकारी विजयी बन्नुभएको थियो । निर्वाचनको सम्भाव्य परिणाम यतिखेर यहाँका चोक, चौतारी र चिया पसलमा चर्चाको विषय बनेको छ । 

  काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र्र)सार्वजनिक गरेको छ ।       कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमार्फत सो सङ्कल्पपत्र (घोषणापत्र) सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिसहितको आधार: नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने मूल नारा रहेको छ ।       साथै समसामयिक राजनीति, निरन्तरतामा नवीनता, सम्मुन्नत नेपालको मार्गचित्रलगायतका विषयवस्तु समेटिएको छ । सङ्कल्पपत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले बिपीकालीन दस्तावेजदेखि स्थानीय तहसम्म पार्टीका तर्फबाट घोषणा गरिएको विषयवस्तुका आधारमा घोषणापत्र तयार गरिएको बताउनुभयो ।

  जोमसोम । हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ । धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्वको मानिएको हो । पछिल्लो समय मुस्ताङ आन्तरिक पर्यटकको समेत प्रमुख गन्तव्य बनिरहेको छ । यहाँ सबैभन्दा बढी सार्क र तेस्रो मुलुकबाट पर्यटक आउने गर्दछन् । पछिल्लो समय आन्तरिक पर्यटकले मुस्ताङमा भीड लाग्ने गरेको छ । खासगरी मुस्ताङ मुक्तिनाथ मन्दिर हिन्दू, बौद्ध दुवै धर्ममा आस्था राख्नेहरूको साझा गन्तव्य बनेको जोमसोमस्थित होटल मुस्ताङ ताजका सञ्चालक योगेश शेरचनले बताउनुभयो । सदरमुकाम जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमान्थाङलगायतका दृश्यले पनि धेरैलाई लोभ्याउने गर्छ । पर्यटकको उल्लेख्य उपस्थितिले स्थानीय अर्थतन्त्रमा फाइदा पुगेको छ । मुस्ताङ नेपालका लागि मात्र नभएर विश्वकै लागि चर्चित बन्न पुगेको छ । विदेशी पर्यटक विशेषतः भिरैभिर पहाडैपहाडको बीचमा साइक्लिङ गर्न रुचाउँछन् ।  पोखरा–बागलुङ राजमार्गलाई मालढुङ्गामा छाडेर बेनी, तातोपानी, रुप्से हुँदै जोमसोम पुगिन्छ । कालीगण्डकी तर्दै पहाड चढ्दै बगर झर्दै जाँदा बाटोमा देखिने हरिया डाँडाका त्यसमाथिबाट बग्ने झरनाको प्रकृतिको मनमोहक सुन्दरताले सहजै मन भुलाउँछ । मुस्ताङ सदरमुकाम जोमसोम हो । यसको पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछ । अन्नपूर्ण हिमशृङ्खलाको उत्तरमा पर्ने भएकले यहाँ एकदमै कम पानी पर्दछ । यसको करिब–करिब बीच भाग भएर कालीगण्डकी नदी बग्दछ । प्रायः बस्ती यही नदीको किनारमा अवस्थित छन् । हरेक वैशाख र साउनमा जिल्लामा चौँरीको आलो रगत खाने पर्व पनि लाग्छ, नजिकका जिल्लाका बासिन्दाको यहाँ भीड लाग्छ । पोखरादेखि २० मिनेटको हवाई यात्रामा मुस्ताङ सदरमुकाम जोमसोम पुगिन्छ । त्यहाँबाट यातायातका साधनमार्फत करिब एक घण्टामा मुक्तिनाथ पुग्न सकिन्छ । पोखराबाट बसबाटै मुक्तिनाथ जाने हो भने १० घण्टाको यात्रा तय गर्नुपर्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मुस्ताङमा पछिल्लो समय भौतिक पूर्वाधार निर्माणले गति लिन थालेपछि मुस्ताङको मुहार थप उज्यालिँदै गएको होटल मुस्ताङ मोनालिसाका सञ्चालक विजय हिराचनले जानकारी दिनुभयो । धवलागिरि, नीलगिरिलगायतका हिमालको काखैमा रहेको मुस्ताङमा सडक कालोपत्र गरिएपछि यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । पक्की सडकले यात्रुलाई सुविधा हुनुका साथै मुस्ताङको सौन्दर्यलाई समेत थप टेवा पु¥याएको स्थानीयले बताएका छन् । जोमसोमबाट कागबेनीसम्मको सडकको रौनक फेरिएको छ । नयाँ–नयाँ डिजाइनका घर बन्ने क्रम बढेको छ भने नदी तथा खोलामा पुल बनिरहेका स्थानीय छेप्तेन गुरुङले बताउनुभयो । कागबेनीमा होटल चलाउँदै आएका गुरुङका अनुसार मुस्ताङमा याक गुम्बा, निलगिरि, धौलागिरिलगायत हिमाल, ताल, कागबेनी, मुक्तिनाथ मन्दिर, गुम्बा, उपल्लो मुस्ताङमा रहेका धुले पहाड, नेपाल र चीनबीचको सिमाना, स्याउबारीलगायत हेर्न पर्यटक आउने गरेका छन् । पछिल्लो समय होटल तथा लजको सङ्ख्या वृद्धि हुने क्रम बढेको छ । स्थानीय तहहरूले आ–आफ्नो पालिकामा विकास गर्ने प्रतिस्पर्धाका कारण मुस्ताङको मुहार फेरिँदै  गएको छ ।  

  कुश्मा । आगामी मङ्सिर ४ गते  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । उम्मेदवार गाउँ छिरिसकेका छन् । घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन् । उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन् ।  उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमा भन्दा ज्यादा खेतबारीमा भेटिन्छन् । कोदो काट्ने र धान थन्क्याउने चटारोले किसानलाई भ्याइनभ्याइ भएको छ । त्यसैले  उम्मेदवारचाहिँ खेतमै पुगेर मत मागिरहेका हुन्छन् । “नेता आउँछन् भनेर घरमा उनीहरूलाई कुरेर बस्न सकिन्न”, धाइरिङकी नवीना आचार्यले भन्नुभयो, “हाम्रो काममा नेताले सघाउने होइनन् क्यारे, हामीलाई खेतीकिसानीमा भ्याइनभ्याइ छ ।” धान, कोदोलगायतका फसल स्याहार्ने बेला छ । “अहिले गाउँमा पुग्दा धेरै मतदाता खेतबारीमा व्यस्त भएको पायौँ”, नेपाली कांगे्रसका युवानेता याम परियारले भन्नुभयो, “अहिले केही गाउँमा घरदैलो सकिएको छ, कात्तिक १७ गतेपछि फेरि गाउँमा आमसभा, भेटघाट र प्रचार–प्रसारको कार्यक्रमलाई तीव्र पार्छौँ ।”  कालीगण्डकी छेउमा रहेको मालढुङ्गास्थित सुकुम्बासी बस्तीमा माझीलगायत अन्य जातजातिको बसोबास छ । दलका उम्मेदवार प्रत्येक निर्वाचनमा आवश्वासनको भारी बोकेर एक सय ५० घरधुरी रहेको यस बस्तीमा भोट माग्न पुग्छन् । यहाँका स्थानीयमा दलका उम्मेदवारप्रति खासै धेरै आशा र अपेक्षाचाहिँ केही छैन । कालीगण्डकी किनारमा तीन दशकदेखि बस्दै आएका उनीहरूको सामान्य माग भनेको नदीबाट बिना अवरोध बालुवा झिकेर बेच्न पाइयोस् भन्ने छ । उनीहरूको जिन्दगी त्यही कालीगण्डकीको बालुवामा नै अडिएको छ ।    “हामीले बालुवा झिक्दा प्रहरी प्रशासनले अवरोध गर्ने, दुःख दिने काम गर्छ”, स्थानीय प्रमिला जिसीले भन्नुभयो, “हाम्रो बाँच्ने आधार भनेकै बालुवा हो, अरुले जस्तो मेसिन लाउँदैनौँ, हातले बालुवा झिक्दा पनि गरी खान दिँदैनन् । हाम्रो समस्या समाधान गर्नेलाई भोट हाल्छौँ ।” महिना दिनअघि दसैँ मनाउन विदेशबाट नेपाल फर्कनुभएका कार्कीनेटाका दिपेश परियार भने चुनावलाई लिएर उत्साहित देखिनुहुन्छ । उहाँ देशको बिगँ्रदो अवस्था र राजनीतिक दलको मनोमानी देखेर आक्रोशित हुनुहुन्छ । “पाँच वर्षअघिको चुनावमा भोट खसालेको केही महिनामै परिवार पाल्न विदेशिएको थिएँ, अहिले पनि चुनावकै समयमा घर फर्किएको छु”, उहाँले  भन्नुभयो, “गाउँमा विकास चाहिएको छ, आश गरौँ अब विकास होला, विकासप्रेमी नेता छान्नुपर्ने छ ।” कुल एक लाख २२ हजार छ सय ४९ मतदाता रहेको पर्वतमा एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । प्रदेशसभामा क र ख गरी दुई निर्वाचन क्षेत्र छन् । यी सबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार र नेकपा (एमाले)बीच प्रतिस्पर्धा हुने देखिन्छ । गठबन्धनका साझा उम्मेदावारका रूपमा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशी तथा एमालेका पदम गिरी प्रतिनिधिसभा सदस्यका लागि फेरि एकपटक भिड्न लाग्नुभएको छ । गिरीले तीन पटकसम्म लगातार निर्वाचन जित्नु भएको छ । उहाँले जोशीलाई पराजित गर्नुभएको थियो ।   प्रदेशसभा–१ (क)मा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुदीप कुँवर र एमालेबाट भक्त कुँवर उम्मेदवार बन्नुभएको छ । त्यस्तै प्रदेशसभा–१ (ख)मा गठबन्धनबाट कांग्रेसका ऋषिकेश तिवारी र एमालेका मित्रलाल बस्याल उम्मेदवार हुनुहुन्छ ।   जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिता पालनाका विषयमा निगरानी गरिरहेको निर्वाचन अधिकारी लक्षु शर्माले बताउनुभयो । “हामीले दलहरूको गतिविधिलाई नजिकबाट हेरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अनावश्यक तडकभडक, आमसभा, बाजागाजा, ¥यालीलगायतका कार्यक्रम गर्न रोकेका छौँ ।” कात्तिक १७ गतेपछि दलहरूले आमसभालगायत कार्यक्रम गर्न पाउने छन् । 

  काठमाडौं । चारवटा मतपत्रमा गर्नुपर्छ मतदानआसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा रहेका आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचनमा मतपत्र सानो आकारको रहेको र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्रमा उम्मेदवारी दिएकाको मात्रै निर्वाचन चिह्नको व्यवस्था गरिएको छ ।  निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न भएको मतपत्र र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालोरङ्को निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरेको छ । यस्तै प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न र प्रदेशसभाकै समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरिएको छ । आफ्नो परिचयपत्रसहित मतदान केन्द्रमा पुग्ने मतदातालाई सुरुमा प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो मतपत्रमा आफूलाई मनपर्ने उम्मेदवारको निर्वाचन चिह्नमा मतदाताले मत सङ्केत गरिसकेपछि त्यसलाई पट्याएर नजिकैको ‘१’ लेखिएको मतपेटिकामा मतपत्र खसाल्नुपर्नेछ । यो मतपत्र खसालिसकेपछि दोस्रो चरणमा निजले पाउने प्रतिनिधिसभाकै समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रमा इच्छाएको राजनीतिक दलको निर्वाचन चिह्नमा मतदान गरिसकेपछि पट्याएर ‘२’ लेखिएको मतपेटिकामा मतपत्र खसाल्नुपर्छ । तेस्रो चरणमा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ ।  यो मतपत्रमा इच्छाएको उम्मेदवारको निर्वाचन चिह्नमा मतदान गरिसकेपछि पट्याएर ‘३’ लेखिएको नजिकैको मतपेटिकमा मतपत्र खसाल्नुपर्छ । चौथो तथा अन्तिम चरणमा प्रदेशसभाको समानुपातिकतर्फको मतपत्र मतदातालाई उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो मतपत्रमा मतदाताले आफूले इच्छाएको राजनीतिक दलको निर्वाचन चिह्नमा मत सङ्केत गरिसकेपछि त्यसलाई पट्याएर ‘४’ लेखिएको नजिकैको मतपेटिकामा मत खसाल्नुपर्नेछ । हरेक मतदान केन्द्रमा व्यवस्था गरिने गोप्य कक्षमा राखिएको स्वस्तिक छापले मतदाताले मतपत्रमा मत सङ्केत गर्नुपर्ने व्यवस्था छ । मतदाताले मतदान केन्द्रमा आ–आफ्नो परिचयपत्र साथमा लिएर जानुपर्ने व्यवस्था आयोगले गरेको छ । महिलाले तोकिएको महिलाको लाइनमा र पुरुषले तोकिएको पुरुषको लाइनमा लामबद्ध भई मतदान गर्न पाउने गरी मतदान केन्द्रको व्यवस्थापन गर्न लागिएको छ ।  गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी, आफ्नो काखे बालबालिका साथमा भएकी महिला, अपाङ्गगता भएका व्यक्ति तथा अन्य ९लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक० मतदातालाई लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न पाइने व्यवस्था गरिएको छ । दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणले आफैँ मत सङ्केत गर्न नसक्ने भएको मतदाताको हकमा निजको एकाघर परिवारको सदस्यलाई आफूसँगै मत सङ्केत गर्ने गोप्य कक्षमा मतदान अधिकृतको अनुमतिमा लैजान सकिने र सो नभएमा मतदान अधिकृतको सहयोग लिन सकिने व्यवस्था छ ।

  पोखरा । नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्य कास्की निर्वाचन क्षेत्र न २ (१)  का प्रत्यासी उम्मेदवार भिमबहादुर कार्कीले पोखरा महानगरपालिका वडा न ३३ भरतपोखरीको एकीकृत विकासको योजना रहेको बताएका छन् ।    भरतपोखरीका जनताले महानगरबासी भएको  अनुभुति हुने गरी काम गर्ने भन्दै कार्कीले सोही योजना अनुसार एमाले नेतृत्वको प्रदेश सरकारले अघि सारेको क्रिकेट रंगशाला र औद्योगिक ग्राम निर्माणको अवधारणा अघि सारेको र वर्तमान गठबन्धन सरकारका कारण अलपत्र पारिए पनि अब सो काम पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाए । भरतपोखरी विकास मञ्चले आयोजना गरेको तिहार विशेष नृत्य प्रतियोगितामा साथै सो क्षेत्रका बासिन्दाहरुसँग भेटघाट गर्दै ती योजनासँगै सो वडाका आधा दर्जन बढि बाटोहरूका बजेट वर्तमान सरकारले कटौती गरेको बताउँदै तिनीहरु पनि अवको एमाले नेतृत्वको सरकारले पुरा गर्ने प्रतिवद्धता जनाए । सो वडाका महत्वपुर्ण स्थानमा सेति नदि माथि थप  मोटरेबल पुलहरू निर्माण गरी अन्तर्राष्ट्रिय विमानस्थलको  दुरि छोट्याउने काम गर्ने  र उक्त कार्य पर्यटकीय विकासमा महत्वपूर्ण कोषेढुङ्गा सावित हुने उनको भनाई छ । उम्मेदवार कार्कीले उक्त वडामा एक सुविधा सम्पन्न अस्पताल निर्माण गरी जनताले  स्वास्थ्य सेवा प्राप्त गर्ने गरी काम गर्ने बताए ।

  पोखरा । कास्की निर्वाचन क्षेत्र नम्वर ३ (क) मा नेकपा एमालेको तर्फबाट प्रदेश सभा उम्मेदवार गणेशमान गुरूङले २०६२/६३ को जनआन्दोलनबाट जनताले ल्याएको संस्थागत क्रान्तिलाई रक्षा गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । गुरूङले जनताले रगत बगाएर ल्याएको अधिकारसँगै संघीयतालाई मजबुत र बलियो बनाउनका लागि एमालेको सरकार हुनुको विकल्प नभएको बताए । सम्वन्धित क्षेत्र माछापुच्छ्रे गाउँपालिकाका ९ वटा वडा र पोखरा महानगरका ६ वटा वडामा मंसिर ४ गते हुने निर्वाचन केन्द्रित एमाले वडा कमिटिको विस्तारित बैठकमा उनले आफ्नो राष्ट्र र राष्ट्रियता बचाउन  तथा समग्र देशको विकासका लागि यो पटकको निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई सुर्य ध्वजाबाहक चिन्हमा मतदान गर्न स्थानियलाई जागरुक बनाउनका लागि एमाले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।  उनले गणतन्त्र आएपछि काठमाण्डौं केन्द्रित सिंहदरवार गाउँ आएपनि जनताले त्यो सुविधा र सहजता आभाष गर्न नपाएको भन्दै स्थानिय स्तरमा सिंहदरवार आएको महसुस गराउनका लागि प्रदेश सरकारले पाउनुपर्नै अधिकारका लागि आफु र आफ्नो पाटी लागिपर्ने बताए । वडाका विस्तारित वैठकमा कास्की क्षेत्र नम्वर ३ बाट एमालेका प्रतिनिधिसभा उम्मेदवार दामोदर पौडेल वैरागी, ३ (क) का प्रदेश सभा उम्मेदवार गणेशमान गुरूङ, पार्टीका केन्द्रदेखि जिल्ला र वडा तहका नेताहरूको उपस्थिति रहेको थियो । वडाका विस्तारित वैठकमा प्रत्येक वडामा एमाले वडा कमिटिका वडा अध्यक्षको संयोजकत्वमा  युवा परिचालन, महिला परिचालन, आर्थिक सङकलन, वृद्धवृद्धा परिचालन, अनुगमन लगायतका उपसमितिहरू गठन गरिएका छन् ।  यसैविच एमालेको चुनाव प्रचार कार्यक्रम अन्तर्गत दलित मुक्ति मोर्चाको क्षेत्रिय स्तरको भेला पोखरा २५ हेमजामा सम्पन्न भएको छ ।  

   काठमाण्डौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको स्पष्ट पार्नुभएको छ ।     वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले ठूलो सङ्घर्षपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र समावेशीसहितको संविधानको रक्षा गर्न गठबन्धन बनेको बताउनुभयो ।     प्रधानमन्त्री देउवाले भन्नुभयो, “नेपालको संविधान सच्चा मानेमा समावेशी छ । तसर्थ संविधानको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो । संविधानले भूगोललगायत सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ । यस्तो व्यवस्था विश्वमा विरलै पाइन्छ ।”     संविधानअनुसार सबैले आफ्नो हकअधिकारका लगि आवाज उठाउने समावेशी जनताको प्रतिनिधि थलो सबै तहका सरकारमा बनेको उहाँले बताउनुभयो । यसलाई भोलिका दिनमा अझ समृद्ध र परिष्कृतरुपमा अघि बढाउनसके सच्चा मानेमा संविधान कार्यान्वयन हुने उहाँको भनाइ थियो ।     प्रधानमन्त्री देउवाले गठबन्धन आवश्यकताले बनेको बताउँदै यो अपरिहार्य थियो, छ र रहनेछ भन्नुभयो । उहाँले स्थायी शान्ति र लोकतन्त्र, कसैले खोस्न नसक्ने तथा लोकतन्त्र कसैले हटाउन नसक्ने संविधानको रक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।       निर्वाचनको तयारीका लागि देशभर सम्पन्न भएका गठबन्धनका प्रादेशिकस्तरीय भेलामा अत्यन्त स्वःस्फूर्त जनताको सहभागिता रहेको देखिएको उल्लेख गर्दै उहाँले गठबन्धन दलबीच आपसमा सौहार्दपूर्ण वातावरण बनेको बताउनुभयो ।      प्रधानमन्त्री देउवाले सबै मिलेर गठबन्धनलाई जिताउन लाग्नुपर्ने बताउनुभयो । निर्वाचनमा सबैले टिकट पाउन कठिन भएको र त्यो समस्या सबै पार्टीमा रहेको बताउँदै उहाँले गठबन्धन सम्बद्ध पार्टीमा आन्तरिक समस्या भए पनि अहिले झगडा गर्ने बेला होइन भन्नुभयो । साथै उहाँले सबै मिलेर अहिले गठबन्धन टिकाउन र प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नुपर्ने बताउनुभयो ।     विगतमा नेपाली कांग्रेस र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्तिसम्झौतामा हस्ताक्षर भई मुलुकमा सदाका लागि शान्ति स्थापना भएको बताउँदै प्रधानन्त्री देउवाले अब देश विकासमा अघि बढ्ने बताउनुभयो ।     प्रधानमन्त्री देउवाले भन्नुभयो, “सबै प्रकारका विभेदको अन्त्य गरी हामी अघि बढ्नेछौँ । भोलिका दिनमा प्रजातन्त्र, राष्ट्रियता, समावेशीताको खिलापमा कोही जान नसक्ने गरी संविधान र लोकतन्त्रको रक्षा गर्नेछौँ ।” अहिलेको राजनीतिक व्यवस्थाअनुसार कुनै दलको एक्लै बहुमत आउने सम्भावना कम देखिएकाले अन्य पार्टीसँग मिलेर अघि बढ्नुपर्ने परिस्थिति बनेको उहाँको भनाइ थियो । गठबन्धनको संस्कृति अझ अघि बढाउनुपर्ने र निर्वाचनमा सबै एकढिक्का भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पोखरा : नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुकमा समृद्धिको खाका कोर्न आप्mनो उम्मेदवारी भएको बताएकी छन् ।   पोलिटिकल साईन्स सोसाइटी नेपालद्धारा आइतवार पोखरामा आयोजित कास्की जिल्लाबाट संघीय र प्रदेश सभाका उम्मेदवारहरुसँगको मंसीर ४ को निर्वाचनमा ‘तपाई किन उम्मेदवार ? भन्ने बहस कार्यक्रममा उनले पठाएको सन्देशमा अवको समृद्धिको आन्दोलन आवश्यक रहेको उल्लेख गरेकी छन् ।   डेंगु संंक्रमणका कारण पोखरास्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचाररत भट्टराईले पठाएकोे सन्देशमा घोषणा पत्रमार्पmत गरिएका समृद्धिका आधारलाई पुरा गर्नु आफु प्रतिवद्ध रहने विश्वास व्यक्त गरेकी छन् ।   कात्तिक १ गते शरीरमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएकी भट्टराईको स्वास्थ्यमा क्रमिक सुधार हुदै सामान्य अवस्थामा आएको हुँदा भोली ७ गते डिस्चार्ज हुने तयारी गरिएको अस्पताल श्रोतले जनाएको छ ।     सोसाईटीका अध्यक्ष सुभाष ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका तीनै वटा निर्वाचन क्षेत्रका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवार, पार्टी प्रमुहरु, एवम् बौद्धिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।