निर्वाचन आयोगले आज र भोलीसम्म समानुपातिक सूचि बुझाउने म्याद तोकेपछि यतिबेला राजधानीमा दुबै पार्टीका केन्द्रीय नेताहरु बैठकमार्फत उम्मेदवारको नाम टुंग्याउन जुटेका छन् । टिकट हात पार्न शक्तिकेन्द्र धाउनेमा अधिकांश कांग्रेसबाट समानुपातिकमा सिफारिशमा परेकाहरु रहेका छन् । त्यसो त कास्की कांग्रेसका सभापति किशोरदक्त बरालले यहाँबाट सिफारिश गरिएका नामबाटै उम्मेदवारको अन्तीम सूची तयार हुने दाबी गरेका छन् । अध्यक्ष बरालको दाबीलाई पत्याइहाल्ने सम्भावना भने छैन । यसअघिको उदाहरण हेर्दा जिल्लाबाट पठाइएको नाममा केन्द्रले आफुखुशी परिमार्जन गरेपछि अहिले ८० प्रतिशतभन्दा बढी समानुपातिकमा नाम परेकाहरु राजधानी हान्निएका छन् । कास्कीबाट पठाइएका नाममा उनीहरुको योगदान र कामको मूल्यांकनको आधारमा सिफारिश गरिएको बरालले बताएपनि सिफारिशमा परेकाहरुले विश्वास नगर्दा अधिकांश आकांक्षी राजधानी पुगेका हुन् । यसविषयमा कास्की कांग्रेसका एक नेताले यतिउति भन्ने नसकिने भन्दै करिब–करिब सबै राजधानी पुगेको उल्लेख गरे । ‘८० प्रतिशत सिफारिश भएकाहरु पुगिसके’ उनले भने, ‘बचेखुचेका पनि अहिले जाने तयारीमा छन्, रातिसम्म सबै पुग्लान् ।’ सोहीक्रममा उनले कुनैपनि एंगलबाट टिकट नपाउनेहरु पनि राजधानी हान्निएको जनाए । ‘कतिपय साथीहरु जो वडामै हारेका छन्, उनीहरु पनि एक्सपोजरकालागि पुगेका छन्’ उनले भने ‘केही साथीहरु आफुले पाउने निश्चित भएकाले राजधानी नगए अरुको हातमा पर्ला भनेर पनि गएका छन् ।’ ‘यद्यपि, अधिकांश साथीहरु चर्चा कमाउने लोभमा पुगेका छन्’ उनले ठोकुवा गरे । टिकट पाउन लालयितहरु सभापतिको नजिक पर्ने प्रयास गरिरहेका बेला विद्यार्थी राजनीति, प्रेस युनियन हुँदै जिल्लामा पुगेका नवीन सिग्देलले राजधानी जानैपर्ने ट्रेन्ड चलेकोमा दुखी भएको प्रतिक्रिया दिएका छन् । उनले पनि अधिकांश साथीहरु राजधानी पुगेको खबर पाएको सुनाउँदै आफु भने टिकटकै लागि केन्द्र नधाउने उल्लेख गरे । यसअघि ‘टिकट माग्न म काठमाण्डौं आउँदिन’ भन्दै राष्ट्रिय मिडियामा लेख प्रकाशित गरेको भन्दै सिग्देलले पार्टीबाट आफ्नो मूल्यांकन हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिए । सिग्देल कास्की १ ‘ख’बाट प्रदेशसभामा प्रत्यक्षतर्फ सिफारिश छन् । कास्की कांग्रेसले दिएको जानकारी अनुसार यहाँबाट सिफारिश नामहरु सोही ढाँचा अनुसार सूचीमा नपर्न पनि सक्ने सम्भावना छ । गठबन्धनसँगै निर्वाचनमा जाने भएकाले कंग्रेसले कहाँबाट कति उम्मेदवार पाउँछ भन्न नसकिने अवस्था रहेको बताइएको छ । त्यस्तै, संघमा सिफारिश भएका जीवन परियार स्वयं समानुपातिकमा बस्न इच्छुक भएकाले यहाँबाट सिफारिश नामहरु तलमाथि पर्ने सम्भावन उच्च छ । स्रोत भन्छ ‘जोसुकैको नाम सरुवा–बढुवा’ हुने सम्भावना प्रबल छ ।’ यता, एमाले कास्कीले प्रदेश र प्रतिनिधिसभामा १ सय ३० जनाको नाम सिफारिश गरेको छ । जसमध्ये प्रतिनिधिसभामामात्रै २८ जना सिफारिश गरिएको एमाले कास्की सचिव बैनबहादुर क्षेत्री बताउँछन् । क्षेत्रीका अनुसार एमाले पनि अहिले बैठकमै व्यस्त रहेको र आज साँझसम्म सूची तयार हुनेछ । ‘यहाँबाट सिफारिश नाममध्येबाटै छनोट होला वा केन्द्रीय तजबीजमा होला ? भन्ने प्रश्नमा सचिव क्षेत्री भन्छन् ‘यहीबाटै सिफारिश नाम नै प्राथमिकतामा पर्छ तर स्थानीय निर्वाचनलाई हेर्ने हो भने त्यसो नभएको पाइयो ।’ उनका अनुसार स्थानीय निर्वाचनमा भूतपूर्व उपमेयर मञ्जु गुरुङ्को नाम कतै सिफारिश नगरिएपनि केन्द्रले पुनः उनलाई नै उठाएको थियो । यहाँबाट नाम सिफारिश गरिएपनि ‘अपानी’मा यही सिफारिश नाममात्रै हो भनेर नबुझ्न भनिएकाले एमालेबाट पनि ठ्याक्कै को पर्ला भनेर यकिन गर्न सक्ने अवस्था छैन । त्यस्तै, केन्द्रले नै आफै कुनै नयाँ नाम सूचीमा समावेश गरी बुझाउन सक्ने सम्भावना पनि रहेको छ । कास्कीबाट पनि टिकटका आकांक्षी राजधानी पुगेका छन् । तर सबै टिकटकालागि नै पुगेका हुन् भन्न चाहँदैनन् सचिव क्षेत्री । ‘एउटा संयोग पनि हुनसक्छ, तर टिकटै हात पार्न साथीहरु राजधानी जानु भएको होइन’ क्षेत्रीले बचाउ गरेका छन् । उनका अनुसार अन्य पार्टीमा जस्तो एमालेको कुनै ग्रुप छैन । उनले भने, ‘यति ठूलो माहौलमा साथीहरु पार्टी कार्यालयमा पुग्न, नेतागण भेट्नु सामान्य हो ।’ हालसम्म एमाले र कांग्रेस कास्कीबाट कसले टिकटमा बाजी मार्ला, यसै भन्न सकिन्न । यसको नतीजा पाउने भोलीसम्म कुर्नैपर्छ । यद्यपि, यहाँबाट सिफारिशमा परेका नामहरुमात्रै पछर््न भन्नेमा आशंका छ ।
पोखरा : लौरो अभियानले गण्डकी प्रदेशबाट १० जनाले उम्मेदवारी घोषणा गरेको छन् । प्रतिनिधि सभा र प्रदेश सभा गरि १० जनाले अभियानको तर्फबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा गर्दै अभियानका अभियन्ताहरुले अबको नेतृत्व पूरानो नेतृत्वको विकल्पमा आफूहरु रहेको बताएका छन् । गण्डकीबाट प्रतिनिधि सभा सदस्यका लागि मुस्ताङबाट राप्के गुरुङ, स्याङ्जा १ बाट अधिवक्ता सोम बहादुर नेपाली, नवलपुर १ बाट तुल्सी भुसाल, तनहुँ २ बाट विष्णु पराजुलीले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । यस्तै, प्रदेश सभा सदस्य पदका लागि कास्की १ (क) बाट सुचेन्द्र परियार, ३ (क)बाट खेम तिमिल्सिना, स्याङ्जा १ (ख)बाट नरेन्द्र बहादुर थापा क्षेत्री, स्याङ्जा १ (क) बाट मकुल मियाँ, कास्की १ (ख) बाट महेश श्रेष्ठ, नवलपुर १ (क) बाट बद्री काफ्लेले उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा कार्यक्रममा लौरो अभियानका संयोजक सुमन सायमी, रोहन कार्की, प्रवक्ता हरि कार्कीलगायत अभियानका अभियन्ताहरुको उपस्थिति रहेको थियो । अभियानका प्रवक्ता हरि कार्कीले देशको परिवर्तनका लागि वैकल्पिक शक्ति एकजुट भएर लौरो अभियान बनेको बताए । ‘परिवर्तनप्रेमी वैकल्पिक तथा स्वतन्त्र शक्तिहरु एक ठाउँमा उभिएका छौं,’ उनले भने, ‘पूराना राजनीतिक पार्टीहरुलाई हेरि सक्नु भएको छ । अब हामीलाई हेर्नुस् ।’ अभियानका संयोजक सुमन सायमीले अभियानले देशका पूराना शक्तिलाई विस्थापित गर्ने बताए । ‘वैकल्पिक शक्तिलाई साझा चुनाव चिन्ह र साझा घोषणापत्र दिएर गोलबद्ध गराएर हिडेका छौं हामी । देश भरको माहोल हेर्दा हामी पूराना शक्तिलाई विस्थापित गर्न सक्छौं नै, अब अभियान्ता साथीहरुले चाहेको खण्डमा हामी संगठनको रुप दिन पनि सक्छौं,’ उनले भने ।
काठमाडौं । सरकारले भोलि (शनिबार) राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको पर्यटनमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउन असोज २ गते र ३ गतेको समय तोकेको छ । समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने अघिल्लो दिनसम्म चालु संसद्को कार्यकाल रहने व्यवस्था छ ।
काठमाडौं । सरकारले राष्ट्रियसभामा विचाराधीन विद्युत् विधेयक, २०७७ फिर्ता लिएको छ । संविधानको धारा ११२ र राष्ट्रियसभा नियमावली, २०७५ को नियम ११६ बमोजिम विचाराधीन विधेयक सरकारले फिर्ता लिएको हो । राष्ट्रियसभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रस्तुत गर्नुभएको उक्त विधेयक फिर्ता गर्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयक राष्ट्रियसभाबाट फिर्ता भएको घोषणा गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक आगामी असोज २ गते आइतबार बिहान १०ः५९ मा बस्नेछ ।
कास्की: पछिल्लो समय नेपाली राजनीतिमा युवाहरुको सक्रियता मात्रै होइन क्रेज पनि चुलिएको छ । युवाहरुको राजनीतिमा आक्रर्षण बढ्दै जादाँ पुराना पुस्ताहरु बिस्तारै उनीहरुलाई सल्लाह र सुझाव दिने मार्गमा छन् । त्यसोत उनीहरुमा अनुभवको ज्यादै खाँचो हुन्छ । त्यसैले अग्रजहरुले उनीहरुलाई सकरात्मक मार्गमा निर्देश गर्छन् । यतिबेला मनसुन सकिन लागेपनि चुनावी सरगर्मी तातिदै छ । आगामी मसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा प्रस्तुत गरिरहेका छन् । विभिन्न क्षेत्रबाट नाम सिफारिस भइरहेको छ । विशेषगरि यो पटकको चुनावमा नेकपा एमाले र गठबन्धनको प्रतिस्पर्धा रोचक हुने देखिन्छ । विभिन्न पार्टीबाट विभिन्न क्षेत्रका लागि धमाधम नाम सिफारिस भइरहदा युवाहरुको ओइरो लागेको देखिएको छ । राजनीतिमा सक्रिय रहदैं आएका युवाहरु यतिबेला जनताको आवाज बोकेर प्रदेश वा संघीय सदनमा पुग्ने दाउमा छन् । र विभिन्न पार्टीबाट नाम सिफारिस भइरहेको छ । गठबन्धनसँगै नेकपा एमालेले पनि युवाहरुलाई प्राथमिकतामा राखेरै सिफारिस गरिरहेको छ । नेकपा एमालेबाट कास्की निर्वाचन क्षेत्र नम्बर १ ‘क’ का लागि आफुपनि सिफारिस भएको युवा नेता विष्णु पुनले जनाए । युवाहरुको सारथी बनिरहेका उनी लोकप्रिय र आस लाग्दो नेताका रुपमा परिचय बनाउँदैछन् । प्रखर वक्तासमेत रहेका युवा नेता पुनले अबका युवाहरुको सारथी बन्ने बताउदै देशको विकास भएको खण्डमा युवाहरु विदेश पलायन हुन नपर्ने बताए । ‘अहिले वर्षेनी ४०-५० लाख युवाहरु वैदेशिक रोजगारीका लागि अमेरिका र कोरिया पुगेका छन्, उनले सुनगाभा न्यूजसँग भने, ‘अग्रजलाई सम्मान गर्दै युवाहरु हरेक क्षेत्रमा अगाडी बढ्न खाँचो छ त्यसैले अब यहीकै खोरियालाई कोरिया बनाउनुपर्छ ।’ उनले राजनीति आफैमा गलत नभएको बताउदै भने, ‘राजनीति आफैमा गलत छैन तर गलत व्यक्तिले गर्दा आज राजनीति गलत ढंगबाट अघि बढिरहेको छ । यसको फिल्टर हुनु जरुरी छ ।’ अब्बल नेता पुनको राजनैतिक यात्रा नेपाल कम्युनिष्ट पार्टी एमाले र त्यसका भातृसंगठन अनेरास्ववियु, राष्ट्रिय युवा संघ, युवा संघ नेपाल, नेपाल खेलकुद महासंघ र एमालेको वडा कमिटीदेखि नगर र जिल्ला कमिटीसम्म आवद्ध भएर पुनले काम गरिसकेका छन् । पोखरास्थित पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातकोत्तर तहसम्म अध्ययन गरेका युवा नेता कलिलै उमेरदेखि नै राजनीतिमा समय लगानी गरिसकेका छन् । सानै उमेरदेखि नै राजनीतिमा होमिएका उनी अनेरास्ववियु प्राक अध्यक्ष, क्षेत्रीय सदस्य हुदैं जिल्ला कमिटी सदस्यसम्म बन्न भ्याएका छन् । उनले राजनीति मात्र नभई सामाजिक अभियन्ताका रुपमासमेत आफुलाई चिनाइसकेका छन् । युथ फोर्स लेखनाथ नगर कमिटीको सचिव र संयोजक हुदैं युवा राजनीतिको अनुभव बटुलेका उनी २०६९ सालमा युवा संघ नेपाल काकीको नवौं जिल्ला अधिबेशनबाट सचिवमा निर्वाचित भए । युवा संघ नेपाल कास्कीको २०७० सालमा कास्की जिल्ला संयोजक सम्हालेका पुनले २०७१ सालमा जिल्ला अध्यक्ष भएर काम गरि सकेका छन् । युवा संघ नेपालको २०७१ सालमा केन्द्रिय सदस्य समेत भएका थिए । पार्टीको विभिन्न भातृसंगठनमा रहेर काम गरेका पुन २०७८ सालमा नेकपा एमालेको दशौ कास्की जिल्ला अधिबेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित भएर अहिले राजनीतिमा सक्रिय छन् । खेलाडीहरुलाई एकताबद्ध गराउन उनलाई नेपाल खेलकुद महासंघ केन्द्रिय कमिटी सदस्य र गण्डकी प्रदेश अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ ।
काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले देशभरबाट पार्टीले सिफारिस गरेका युनियनका पत्रकारलाई उम्मेदवार बनाउन पहल गर्ने भएको छ । प्रेस युनियनले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवार सिफारिस भएका प्रेस युनियनमा आबद्ध पत्रकारसँग आज काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गरी युनियनकर्मीलाई संसद्मा पठाउन पहल गर्ने बताएको हो । कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले संसद्मा नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारले प्रतिनिधित्व गरे प्रेस युनियनको साख बढ्ने बताउनुभयो । “युनियनमा आबद्ध पत्रकारलाई संसद्मा प्रतिनिधित्व गराउन हामी पार्टीका शीर्ष नेतृत्व र संसदीय बोर्डका सदस्यको ध्यानाकर्षण गराउँछौँ”, उहाँले भन्नुभयो । युनियनका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले पत्रकारले संसद्मा प्रतिनिधित्व गर्न सके पत्रकारको आवाज देशव्यापी लैजान सकिने बताउनुभयो । उहाँ तनहुँ क्षेत्र नं १ प्रदेश (क) बाट समानुपातिकतर्फ सिफारिस हुनुभएको छ । युनियनका पूर्वअध्यक्ष किरण पोखरेलले सम्भावना बोकेका पत्रकारलाई संसद्मा प्रतिनिधित्व गर्न प्रेस युनियनले पार्टीको केन्द्रीय नेतृत्वलाई दबाब दिनुपर्ने बताउनुभयो । उहाँ सुनसरी क्षेत्र नं २ बाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा सिफारिस हुनुभएको छ । युनियनका सल्लाहकार एवम् वरिष्ठ पत्रकार कविर राणा भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेवार सिफारिस हुनुभएको छ । युनियनका निवर्तमान वरिष्ठ उपाध्यक्ष दिपक आचार्य चितवन क्षेत्र नं २ प्रदेश (ख) बाट प्रत्यक्षतर्फ, युनियनका निवर्तमान कोषाध्यक्ष सरोज अधिकारी धादिङबाट प्रदेशसभाको समानुपातिक, युनियनका पूर्व उपाध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारी ओखलढुङ्गाबाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवार सिफारिस हुनुभएको छ । यस्तै युनियनका पूर्व सचिव सन्तोष न्यौपाने काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क) बाट समानुपातिक उम्मेदवारमा सिफारिस हुनुभएको छ भने युनियनका नेता एवम् नेपाल पत्रकार महासङ्घ उपत्यका प्रतिष्ठान शाखाका सचिव रोशन पाण्डे काभ्रेबाट प्रदेशसभा समानुपातिक उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । यस्तै युनियनका नेता झपेन्द्रप्रसाद गैरे पाल्पाबाट प्रदेशसभा समानुपातिक उम्मेदवार, परमेश्वर साह सिरहाबाट, चित्रकुमार मिजार सिन्धुपाल्चोकबाट उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । देशभरबाट ५० भन्दा बढी युनियनकर्मीलाई पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका रुपमा सिफारिस गरेको युनियनका महासचिव दिलिप पौडेलले जानकारी दिनुभयो । महासचिव पौडेलले उम्मेदवार सिफारिसमा परेका देशभरका पत्रकारको तथ्याङ्क सङ्कलन गरी उम्मेदवार बनाउन पहल गर्ने बताउनुभयो । युनियनका उपाध्यक्ष भीष्मराज ओझाले पार्टीले देशभरबाट उम्मेदवारका लागि सिफारिस गरेका युनियनमा आवद्ध पत्रकारलाई उम्मेदवार बनाउन शीर्ष नेतृत्वको ध्यानाकर्षण गराउने बताउनुभयो । “युनियनमा आबद्ध सबै पत्रकारलाई उम्मेदवार बनाउन नसके पनि दबाबस्वरुप केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराउँछौँ”, उहाँले भन्नुभयो ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टी र आन्दोलन कमजोर भए देशमा प्राप्त भएका परिवर्तन तथा उपलब्धि गुम्न सक्ने भएकाले इमान्दार भएर जनतामा जान पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । माओवादीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको आठौँ स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनयुद्ध र जनआन्दोलनका बलमा स्थापित संविधान, समावेशी समानुपातिक प्रतिनिधित्वलगायतका उपलब्धिमाथि निरन्तर प्रहार भएको भन्दै त्यसलाई जोगाउन पनि माओवादी बलियो हुनैपर्ने बताउनुभयो । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आन्तरिकरूपमा केही प्राविधिक विषय मिलाउन नसक्दा वामपन्थी शक्तिहरूमा पहिलो हुने अवसर गुमेको भन्दै उहाँले त्यसबाट र गठबन्धनका दलबीचको सहकार्यबाट समेत शिक्षा लिएर आगामी निर्वाचनमा झनै प्रतिबद्ध भएर लाग्न सबैलाई आग्रह गर्नुभयो । उहाँले पार्टीको नीति र विधिविपरीत गएर व्यक्ति केन्द्रित गतिविधि नगर्नसमेत पार्टीका नेता तथा कार्यकर्तालाई सचेत गराउनुभयो । उहाँले भन्नुभयो, “पार्टीले निर्णय गरिसकेपछि त्यो व्यक्ति हुँदैन, पार्टी हुन्छ, त्यहाँ व्यक्ति हार्दैन, पार्टीले हार्छ । त्यो विषयलाई गम्भीरताका साथ लिन म सबैलाई आग्रह गर्दछु ।” माओवादी आन्दोलन वा कम्युनिष्टको सार्थक प्रयास नभएको भए सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक लोकतन्त्र पनि स्थापित हुन नसक्ने तथ्यलाई सबैले आत्मसात् गरेको खण्डमा खासरूपमा पोष्टबहादुर बोगटीप्रति सच्चा सम्मान हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “माओवादी कमजोर भयो वा जनतासँगको सम्बन्ध सुदृढ हुन सकेन भने जनयुद्धबाट प्राप्त भएको परिवर्तन उल्टन सक्छ । गत साल त्यस्तै खालको तितो र नमिठो अवस्थाको अनुभव गर्न पायौँ ।” वामपन्थी र कम्युनिष्ट पार्टीको एकताबाट समृद्धिको सपना पूरा हुन्छ भन्ने देखेर प्रक्रिया अगाडि बढाइएको भए पनि चरम व्यक्तिवाद र अहङ्कारका कारण त्यो सफल नभएको बरु प्राप्त उपलब्धि विघटनमा पर्ने अवस्था देखिएको अध्यक्ष दाहालको भनाइ छ । माओवादीकै जोडबलमा प्रतिनिधिसभाको विघटन तथा प्रतिगमनलाई सफल हुन नदिइएको र परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा गर्न सम्भव भएको उहाँको भनाइ छ । “माओवादी कमजोर भयो भनेको दिन परिवर्तनको रक्षा गर्न सकिँदैन । यो पार्टी बलियो हुनुपर्छ र समाजवादको आधार तयार पार्नुपर्छ”, उहाँले भन्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले माओवादी आन्दोलन पुनः एकपटक पुनजागृत भएर आउने सम्भावना रहेको जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनपछि नेपाली जनताले माओवादीकै हातमा देशको चाबी दिन लागेको अनुभूत भएको उहाँको भनाइ छ । कार्यक्रममा दिवङ्गतत नेता बोगटीको व्यक्तित्वका बारेमा नेताहरुले चर्चा गर्दै उहाँबाट सिक्नुपर्ने सादगी व्यवहार र चरित्र अनुकरणीय रहेको बताउनुभएको थियो ।
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्रतिनिधिसभाको कार्यकाल सकिन लागेको र सम्भवतः यो आफ्नो अन्तिम बैठक भएको बताएका छन् । प्रतिनिधिसभाको शून्य समयमा सांसद रङ्गमती शाहीले कर्णालीका पीडा पोख्ने क्रममा मन्त्री र नेता कसैको व्यक्तिगत चित्त दुखाएको भए क्षमा माग्दै आफ्नो अन्तिम बैठक भएको बताउनुभयो । सांसद राजेन्द्रकुमार केसीले वर्तमान संसद् बैठकमा आफ्नो अन्तिम दिन रहेको र संसद्को कार्यकाल समाप्त हुने विषय विवाद नै रहेकाले उक्त विषयमा निष्कर्ष निकाल्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । यस्तै सांसद यज्ञबहादुर बोगटीले यो संसद्को कार्यकाल सकिन लागे पनि अछामको शिक्षा, स्वास्थ्य, यातायातलगायत विकासमा सरकारले विशेष ध्यान दिुनपर्नेमा जोड दिनुभयो । सांसद महेन्द्रकुमारी लिम्बूले संसद्मा आजको बैठक आफ्नो अन्तिम भएको उल्लेख गर्दै आगामी मङ्सिर ४ गते गठबन्धन सरकारले शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो । सांसद यशोदा गुरुङ सुवेदीले आगामी असोज १ गते राति १२ बजेदेखि हालको प्रतिनिधिसभाको कार्यकाल समाप्त हुने भनी निर्वाचन आयोगले पठाएको पत्रका सम्बन्धमा सभामुखको ध्यानाकर्षण गराउनुभयो । साथै, उहाँले राष्ट्रिय सहमति नबनेको अवस्थामा नागरिकताविहीनलाई नागरिता दिलाउनका लागि भए पनि राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नुपर्ने बताउनुभयो । सांसद रामबहादुर विष्टले डेङ्गुका कारण धेरै व्यक्ति प्रभावित भए पनि सरकारले नियन्त्रण गर्न उचित ध्यान दिन नसकेको आरोप लगाउनुभयो । सांसद महेश बस्नेतले डेङ्गुबाट धेरै व्यक्ति प्रभावित भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद बिमला विकले बर्दियामा यही भदौ २६ गते ६१ वर्षीय झठारु चौधरीको भैँसी चराउने क्रममा निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट मृत्यु भएकामा मृतकका परिवारलाई अविलम्ब राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । सांसद भीमसेनदास प्रधानले संसद्को यो कार्यकालमा संसद्मा बस्ने र नबस्नेको सही मूल्याङ्कन नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो । सांसद मनकुमारी जिसीले आज राष्ट्रिय बाल दिवस मनाइरहँदा महिनौँदेखि शिक्षक आन्दोलनमा रहेका र स्थायी पदपूर्तिलगायत मागको सम्बोधन नभएसम्म बाल विकासदेखि उच्च माविसम्म गुणस्तरी शिक्षा सम्भव नभएको बताउनुभयो । सांसद यज्ञराज सुनुवारले महाअभियोग सिफारिस समितिको बैठकमा निलम्बित प्रधानन्यायाधीशले उठाएको विषयमा गम्भीर भए पनि त्यस विषयमा सरकार र समितिका सदस्यसमेत मौन बस्दा आम जनतामाझ अझ प्रश्न उठेको बताउनुभयो । सांसद राजबहादुर बुढाले चाडपर्व नजिकिँदै जाँदा धेरैले यात्रा गर्नुपर्ने समयमा राजमार्गलगायत गाउँका सडक सुधार गर्न जरुरी भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै चीनसँग सिमाना खोल्ने विषयमा ठोस पहल गर्न सरकारसँग आग्रह गर्नुभयो । सांसद रेखा शर्माले सङ्क्रमणकालीन न्याय अहिलेसम्म टुङ्गिन नसकेको उल्लेख गर्दै मेलमिलाप दिशामा देशलाई अगाडि बढाउने राज्यको काम भएको हुँदा समाजमा मेलमिलाप स्थापना गर्ने गरी विधेयक अगाडि बढाउनुपर्ने बताउनुभयो ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता र सत्य निरुपणसम्बन्धी विधेयक विस्तृत शान्ति सम्झौताको भावनाअनुरुप आजै टुङ्ग्याउन अपिल गर्नुभएको छ । उहाँले राजनीतिक दलहरु र सरोकारवालासँगको गहन छलफलपछि मस्यौदा तयार गरिए पनि बाहिर उठेका हत्या, बलात्कार र मानवअधिकारसँग सम्बन्धित आवाजमा पनि सहमतिका आधारमा सम्बोधन गर्न प्रयास हुनुपर्नेमा जोड दिनुभयो । कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भइरहेको छ । बैठकमा अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौता कानुनी र संवैधानिक नभई राजनीतिक सम्झौता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सम्झौताको मूल स्प्रिड पोलिटिकल अर्थात् द्वन्द्व समाधान गरी देशलाई शान्ति, समृद्धि र विकासतर्फ लैजाने भन्ने उद्देश्यबाट प्रेरित छ । सत्यअन्वे होस्, मेलमिलाप पनि कायम होस् भन्ने मुख्य भाव हो ।” सत्य पत्ता लगाउने र मेलमिलापको वातावरण बनाउने विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न कोणबाट छलफल भएर हामी आजको विन्दुमा आएको बताउँदै अध्यक्ष प्रचण्डले विषयमा कोही पक्ष वा विपक्ष नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “विधेयकमा अरू पोलिटिकल प्रवेश गर्न दिनहुन्न । त्यो भयो भने देश र लोकतन्त्रका लागि राम्रो हुन्न । यो युगान्तकारी विषय हो । यद्यपि यो राजनीतिक शक्ति सन्तुलनका आधारमा जाला जस्तो लाग्छ । अल्पमत र बहुमतका आधारमा नभई सहमतिमा टुङ्ग्याउनुपर्छ ।” नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्यनिरुपण र बेपत्ता विधेयकलाई टुङ्ग्याउने हामी सबैको साझा विषय भएकाले यसलाई टुङ्ग्याउने सवालमा पूरै साथ र सहयोग रहने बताउनुभयो । उहाँले भन्नुभयो, “यो विषयलाई हामी यही पटक टुङ्ग्याउनेतर्फ लागौँ । त्यसमा साथ सहयोग हुन्छ । पुनरावेदनमा जाँदा सङ्क्रमणकालीन न्याय नै आकर्षण हुन्छ ।” बैठकमा सभापति कृष्णभक्त पोखरेलले मुलुकमा सशस्त्र द्वन्द्व अन्त्य गर्ने कार्यमा नेपालले विश्वलाई नै उदाहरण प्रस्तुत गरेको स्मरण गर्दै सत्यनिरुपण र बेपत्ता छानबिनसम्बन्धी बाँकी काम पनि सहमतिकै आधारमा सक्नुपर्नेमा जोड दिनुभयो । माओवादीद्वारा विगतमा सञ्चालन गरिएको सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्ष र विद्रोही पक्षबाट करिब १७ हजार व्यक्ति मारिएका थिए । उक्त द्वन्द्व अन्त्य गरी समाजमा मेलमिलापको वातावरण तयार गरी जघन्य अपराधका घटनाका पीडितलाई परिपूरण र पीडकलाई कारबाहीको दायरामा ल्याउने सन्दर्भमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी आयोग गठन भई कामसमेत भएको थियो । आयोगले झन्डै १५ वर्ष काम ग¥यो तर उठेको विषय निक्र्यौल गर्ने विषय विलम्ब भयो । विगतको सशस्त्र द्वन्द्वसँग सम्बन्धित विषयमा आयोगसमक्ष करिब ६३ हजार उजुरी परेको छ । ती उजुरीको छानबिनका लागि गठन हुने उच्च अदालत समाबेसी हुनुपर्ने, फैसलामाथि पुनरावेदन जान पाउनुपर्ने तथा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट उठेको चासोलाई गर्ने विषयमा साझा धारणा बनाउने प्रयास गरिरहेका छन् । समितिको अर्को बैठक आजै अपराह्न बस्ने गरी बैठक स्थगित भएको छ ।

