बागलुङ : दुई-दुई पटक जसले हराए उनै दलसँग मिलेर कांग्रेस नेता जीत शेरचन प्रदेशसभा सदस्य चुनावमा होमिनुभएको छ । वाम गठबन्धनको एक्लै सामना गर्नुभएका शेरचनले वि.स. २०७४ र वि.स. २०७६ को उपचुनावमा बागलुङ-२ (२) बाट हार्नुभएको थियो । ती दुई चुनावमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा एउटै मोर्चाबाट कांग्रेसविरुद्ध चुनाव लडेका थिए । अहिले वाम दल एक ठाउँ छैनन् । माके र राजमो कांग्रेससँगको गठबन्धनमा छन् । एमाले एक्लै चुनावी मैदानमा छ । बदलिएको चुनावी समीकरणबीच शेरचनलाई नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीको समेत साथ छ । पाँच दलीय गठबन्धनका आडमा बागलुङ–२ (१) बाट प्रदेशसभा छिर्ने दाउमा हुनुहुन्छ, शेरचन । अघिल्ला चुनावमा बागलुङ–२ (२) बाट चुनाव लड्नुभएका उहाँले यसपालि क्षेत्र (१) राज्नुभएको छ । विसं २०७४ को चुनावमा शेरचन वाम गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका दिवङ्गत नेता टेकबहादुर घर्तीसँग तीन हजार दुई सय ६० मतान्तरले पराजित हुनुभएको थियो । घर्तीले ११ हजार आठ सय ८४ र शेरचनले आठ हजार ६ सय २४ मत ल्याउनुभएको थियो । निर्वाचित उम्मेदवार घर्तीको निधन भएपछि विसं २०७६ मङ्सिरमा भएको उपचुनावमा राष्ट्रिय जनमोर्चाकै खिमविक्रम शाहीले शेरचनलाई हराउनुभएको थियो । एमाले र माओवादी केन्द्रको एकतापछि बनेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थनमा राजमोले शाहीलाई उम्मेदवार बनाएको थियो । उपचुनावमा भने शेरचनले पहिलेभन्दा मतान्तर केही घटाउनुभएको थियो । शाहीले ११ हजार दुई सय २५ मत ल्याएर विजयी बन्दा शेरचनले नौ हजार एक सय ३८ मत पाउनुभएको थियो । आसन्न मङ्सिर ४ को चुनावमा भने शेरचनको प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीसँग हुँदैछ । उक्त क्षेत्रमा एमालेले आफ्नै उम्मेदवार उठाउन सकेन । एमालेको समर्थनमा लालटिन चिह्न लिएर उम्मेदवार बन्नुभएका घर्ती र शेरचन मात्र सो क्षेत्रमा उम्मेदवार छन् । गत स्थानीय चुनावमा ताराखोला गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित बन्नुभएका घर्ती र तेस्रोपटकमा चुनाव जित्ने दाउमा रहनुभएका शेरचनबीचको प्रतिस्पर्धा रोचक हुने ठानिएको छ । विसं २०७४ को स्थानीय तह चुनावमा माओवादी केन्द्रबाट ताराखोला गाउँपालिकाको अध्यक्ष बन्नुभएका घर्ती गत चुनावमा पार्टीले उम्मेदवार नबनाएपछि असन्तुष्ट हुनुहुन्थ्यो । प्रदेशसभा चुनावमा एमालेको साथ पाएपछि उहाँ फेरि स्वतन्त्र उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रनुभएको छ । दुईपटकसम्मको हारलाई जीतमा बदल्ने शेरचनको सपना यसपालि पूरा हुन्छ या हुँदैन त्यो त हेर्न बाँकी छ । कांग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका शेरचन विद्यार्थी राजनीतिबाट उदाएका नेता हुनुहुन्छ । शेरचन नेपाल विद्यार्थी सङ्घका तर्फबाट विसं २०६२ मा काठमाडौँस्थित ताहचल क्याम्पसको स्ववियु सभापति हुनुभएको थियो । शेरचनले चुनाव लड्ने क्षेत्र बागलुङ–२ (१)मा ५४ हजार दुई ३४ मतदाता छन् । गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकालाई सो क्षेत्रले समेटेको छ । विसं २०७४ को चुनावमा सो क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका चन्द्रबहादुर बुढा विजयी बन्नुभएको थियो । गत स्थानीय चुनावमा भने यस क्षेत्रका तीनै स्थानीय तहमा सत्ता गठबन्धनले जितेको थियो । गलकोटको प्रमुख र बडिगाडको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका थिए भने ताराखोलाको अध्यक्षमा माओवादी केन्द्रले जितेको थियो ।
दार्चुला। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने बताउनुभएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेको राष्ट्रव्यापी चुनावी अभियानको आज दार्चुलामा उद्घाटन गर्दै उहाँले सो धारणा राख्नुभएको हो । चुच्चे नक्सामा समेटिएको भूमि दार्चुलामा पुगेर ओलीले भन्नुभयो, “हामीले नक्सामात्र होइन लिपुलेक, लिम्पियाधुरासहितको भूमि पनि फिर्ता ल्याउछौँ । राष्ट्रियताको रक्षाका लागि एमाले प्रतिबद्ध छ, हामीले हाम्रो भूमि एक इञ्च पनि छोड्दैनौँ ।” भारतले विभिन्न बहानामा काली नदीको उद्गम स्थानसमेत नक्कली बनाएको भन्दै उहाँले सन् १९६६ मै स्वर्गीय प्रेमसिंह धामीले यो क्षेत्रको आवाज उठाएको स्मरण पनि गर्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले चुच्चे नक्सा जारी गरेकै कारण अहिले दार्चुलाको व्यासको कालापानी विश्वले चिन्ने भएको प्रसङ्ग उल्लेख गर्नुभयो ।
पोखरा । पोखरा–५ मालेपाटन लालगढका रुपमा चिनिन्छ । गत स्थानिय निर्वाचनमा यस वडामा एमालेले प्यानल नै जितेर गठबन्धनलाई निल खुवाएको थियो । सोही वडामा मत माग्न पुगेका नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ ख प्रदेश सभा उम्मेदवार राजिव पहारीलाई मालेपाटनवासीले फेरी पनि विजयी गराएरै छाड्ने बताएका छन् । विहीवारको घरदैलोमा उनलाई स्थानिय जेष्ठ नागरिकदेखि युवाहरुले साथ दिएका थिए । जेष्ठ नागरिकहरुको आर्शिवाद ग्रहण गर्दै घरदैलोमा निस्किएका पहारीले अघिल्लो पटक देखाएको क्रियाशिलतालाई मुल्याङकन गर्दै फेरी पनि विजयी गराउने मालेपाटनवासीहरुले बताए । मालेपाटनका जनताहरुले दिएको आर्शिवादले आफुलाई हौसला मिलेको पहारी बताउँछन । ‘यहाँका बुवाआमाको आर्शिवाद तथा युवाहरुको साथले ठूलो प्रेरणा मिलेको छ’ उम्मेदवार पहारीले भने । गण्डकी प्रदेशका निवर्तमान सांसद समेत रहेका पहारीले आफुले अघिल्लो कार्यकालमा विभिन्न स्थानमा थालनी गरेको कामहरु अलपत्र परेको जनाउँदै वडा ५ मा पनि थुप्रै काम बाँकी रहेको जनाए । पहारीले घरदैलोको क्रममा भने ‘केहि काम सम्पन्न भए, केहि गर्दागर्दैका बाँकी छन्, ति काम सम्पन्न गर्न पनि उम्मेदवारी दिएको हुँ’ ।
पोखरा । नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर २ (१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्की आफ्नो निर्वाचन क्षेत्रमा एमाले नेतृत्वको प्रदेश र केन्द्र सरकारले गरेका विकास बुझाउँदै तथा आफू र आफ्नो पार्टीले अघि सारेका विकासका योजना सुनाउँदै मत माग्न व्यस्त छन् । निर्र्वाचन क्षेत्रअन्र्तगत कास्कीको दक्षिणी भेगमा पर्ने पोखरामहानगरका दुई वडा २१ र ३३ का मतदातासँग निरन्तर भेटघाटमा रहेका कार्कीले जनतालाई उक्त पर्यटकीय क्षेत्र घोषणा भएको र विस्तारै अब पूर्वाधारका काम पूर्ण हुँदै जादा आकर्षक गन्तव्य उन्मुख हुँदै गरेको बताए । उनले उक्त ठाउँमा बनेका पूल, बाटो निर्माण तथा पानीको समस्या समाधानसँगै सबै काम एमाले नेतृत्वका स्थानीय, प्रदेश र केन्द्र सरकारको पहलमा भएको जानकारी गराए । कृषिमा व्यवसायिकता रहेको सो क्षेत्रको अर्को सम्ंभावनालाई आधुनिक ढंगले विकाससँगै युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने नीति रहेको उनको भनाई छ । कार्कीले युवा, महिला सशक्तीकरण सहित स्थानियलाई अब पाँच वर्ष भित्र महानगरवासीको अनुभुति हुने गरि काम गर्ने योजना सुनाए । केपी ओली नेतृत्वको एमाले सरकारद्वारा गठित भुमीसम्बन्धी समस्या समाधान आयोगमा केन्द्रीय सदस्य तथा प्रवक्ताका रूपमा काम गरेका कार्कीले भुमिहिन जनताका समस्या सधैंका लागि समाधान गर्ने योजना रेहको स्पष्ट पारे । उनले अबको ‘पाँच वर्ष एमालेले गर्छ’ भन्ने अवधारणा आफ्नो पार्टीको प्रतिवद्धता भएको भन्दै बहुमत सहित सरकार निर्माणको जनादेश दिन जनतालाई आग्रह गरेका छन् ।
पोखरा: कास्की क्षेत्र नम्बर २ बाट जसै महादेव गुरुङले प्रतिनिधिसभामा उम्मेदवारी दिए, नेपाली कांग्रेस र गठबन्धनमा भुइँचालो गयो । तरपनि महादेवले उम्मेदवारी फिर्ता लिनेमा गठबन्धन विश्वस्त थियो । उनलाई उम्मेदवारी फिर्ता लिन स्वयं पार्टी सभापति शेरबहादुर देउवाले फोनमार्फत आग्रह गरे । तर त्यो आग्रहले पनि काम नगरेपछि अहिले गठबन्धनका साझा उम्मेदवार श्रीनाथ बराल तनावमा छन् । ‘सभापतिज्यूले नै फोन गरेपछि उहाँले फिर्ता लिनुहुन्छ भन्नेमा हामी ढुक्क थियौं’ नेकपा (एकीकृत समाजवादी) कास्कीका एक नेताले भने ‘तर उहाँले फिर्ता लिनुभएन, यसले हामीलाई समस्यामा पा¥यो ।’ यद्यपि, उनले बरालले नै जित्ने दाबी भने गरेका छन् । त्यसपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पोखरा आएकाबेला महादेवलाई भेटेर आग्रह गरे । उक्त आग्रह पनि काम लागेन, नेपाल निराश भएर फर्किए । कांग्रेस र एसका प्रमुखले गरेको अनुरोध, आग्रहमा थोरै आश्वासन र लोभ देखाइएको महादेवले बताए । उनले भने, ‘मैले बार्गेनिङ् गर्न उम्मेदवारी दिएकै हैन, म सत्य र निष्ठाको राजनीतिमा लागेको मान्छे हुँ ।’ उम्मेदवारी दिएपछि फिर्ता गर्न अनुरोध गर्ने क्रममा कांग्रेसले ‘जे पनि दिन तयार’ रहेको जानकारी दिँदै महादेवले त्यसपश्चात् आफुलाई झनै साहस मिलेको बताए । ‘मलाई जे मागेपनि दिन तयार रहेको बताइयो’ महादेवले भने ‘तर मैले पद र पैसा लागि राजनीति गरेकै होइन भनिदिए ।’ त्यसपछि झनै चुनावमा होमिन बल मिलेको उनको भनाई छ । आजदेखि उम्मेदवारहरुले प्रचारप्रसारमा तीब्रता दिन थालेकोबेला महादेव भने सिद्धार्थचोक भन्दा केही उत्तरमा रहेको सय वर्ष पुरानो घरमा एउटा ब्यानर झुण्डाएर बसेका छन् । पुरानो घरको साँघुरो बरण्डामा २–४ थान कुर्सीसाथ महादेवसँगै अर्का उम्मेदवार दुर्गाप्रसाद कोइरालाले चुनावी मोर्चा सम्हालिरहेका छन् । कोइराला क्षेत्र नम्बर ३ बाट पुतली चिन्हमै स्वतन्त्र उम्मेदवार हुन् । ‘कति छ चुनावमा खर्च गर्ने पैसा ?’ भन्ने प्रश्नमा केही गम्भीर देखिएका महादेवले भने ‘तीन छोरीले २ लाख पठाए, साथीभाईले सम्पर्क कार्यालय खोलिदिए, ब्यानर बनाइदिए, मेरो खल्ती रित्तो छ ।’ तुरुन्तै सोधियो, ‘रित्तो खल्तीले चुनाव लडेर जितिन्छ र ?’ महादेवको जवाफ छ, ‘चुनाव जित्न पैसा हैन, शक्ति चाहिन्छ । र, इमानदारिता मेरो शक्ति हो ।’
पोखरा । कास्की क्षेत्र नं. ३ (क) बाट नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार गणेशमान गुरुङले आफूले जनताको आधारभूत आवश्यकतालाई पूरा गर्ने उद्घोष गरेका छन् । जनताको सुख, दुःखमा सधैं साथ रहेको भन्दै उनले आफूले स्थानीय आवश्यकतालाई नजिकबाट बुझेको बताए । कास्की ३ क अन्तर्गत माछापुच्छ्रे गाउँपालिकाका वडा नम्वर २,३,४ लगायतका विभिन्न वडाहरुमा भएको घरदैलो कार्यक्रममा उनले उत्पादन र रोजगारी वृद्धिलाई आफूले प्राथमिकतामा राखेको उल्लेख गरे । उम्मेदवार गुरुङले पार्टीकोे प्रतिवद्धतापत्रमा पूरा गर्न सकिने कुराहरु मात्र आएको बताउँदै आफनो पार्टीले कहिल्यै ठुला र झुटा आश्वसन नदिने बताए । घरदैलो कार्यक्रममा नेकपा (एमाले), गण्डकी प्रदेश सचिवालय सदस्य दीपक पौडेल, केन्द्रीय संस्कृति विभाग सदस्य, विम्ब कवि रमेश श्रेष्ठ, क्षेत्र नं. ३ (क) निर्वाचन परिचालन कमिटीका संयोजक विष्णु केसी, वडा कमिटी इञ्चार्ज दामोदर शर्मा रिमाल, वडा कमिटीका अध्यक्ष रामविक्रम राणा, उपाध्यक्ष सहारा प्रधान, सचिव राधा बराल अधिकारी लगायत सहभागी छन् ।
पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विद्या भट्टराई अधिकारीले कास्की क्षेत्र नं. २ को पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माणमा जुट्ने प्रतिवद्धता व्यक्त व्यक्त गरेकी छन् । पोखरा महानगरपालिका वडा नं. १६ स्थित पर्यटकीय स्थल अर्मलाकोटमा आयोजित मतदाता घरदैलो कार्यक्रममा उनले पर्यटन प्रवद्र्धन आफ्नो मुख्य प्राथमिकता भएको बताईन् । उनले दुःखको अवस्थामा उपनिर्वाचनमा यस क्षेत्रका मतदाताले विजयी गराएको स्मरण गर्दै सडक, शिक्षा, स्वास्थ्य, पर्यटन पूर्वाधार निर्माणका अधुरा काम पुरा गर्नका लागि पुनः उम्मेदवार बनेको स्पष्ट पारिन् । जेष्ठ नागरिकलाई मासिक पाँच हजार सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेपनि विचमै सरकार परिवर्तनले अवरोध भएको बताउँदै मंसीर ४ गतेपछिको बन्ने एमालेको सरकारले सवै खाले भत्तामा बृद्धि गर्ने उनको विश्वास छ । कार्यक्रममा कास्की निर्वाचन क्षेत्र नं. २ (ख)का उम्मेदवार मिना गुरुङले ऐतिहासिक एवम् पर्यटकीय क्षेत्र अर्मलाकोटमा सांस्कृतिक ग्राम निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरिन । गण्डकी प्रदेश सभामा समानुपातिक सांसदको भूमिका निर्वाह गरिसकेकी उनले अधुरा विकास निर्माणका काम पुरा गर्न प्रत्यक्ष उम्मेदवारका रुपमा उपस्थित भएको बताए । एमाले नेता तथा स्थानिय समाजसेवी कर्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले कास्कीका कार्यवाहक अध्यक्ष तेजनारायण अधिकारी, खेलप्रेमी तेजबहादुर गुरुङ, एमाले १६ का अध्यक्ष राजेन्द्र गुरुङ,निवर्तमान वडाअध्यक्ष जिवन आचार्य, यमनकाजी गुरुङ लगायतले निर्वाचनको महत्व एवम् यस क्षेत्रका समस्या र समाधानका बारेमा चर्चा गरेका थिए । प्रतिनिधि सभा सदस्यका उम्मेदवार भट्टराईले आजै पोखरा १५ स्थित ढुङ्गेसाँघुमा पनि घरदैलो कार्यक्रममा सहभागि भएकी थिईन् । सो अवसरमा मतदाताले स्थानिय आवश्यकता अनुसार विकास निर्माणमा लाग्न अनुरोध गरेका थिए ।
ढोरपाटन : आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले गाउँ सहरमा राजनीतिक सरमर्गी बढाएको छ । राजनीतिक दलका नेता र उम्मेदवार यतिबेला मतदाता रिझाउँदै गाउँ–गाउँ, बस्तीबस्ती र कृषकका बारीबारीमा पुगिरहेका छन् । बागलुङका किसानलाई भने धान बाली भित्र्याउने चटारो छ । वर्षा भयो भने धान नोक्सान हुने दिने डरले उनीहरु आकाश हेर्दै धमाधम धान भित्र्याउन थालेका छन् । उम्मेदवार तथा नेता कार्यकर्ता प्रचार सामग्री बोकेर खेतबारीमै पुगेर भोट मागी रहेका छन् । उनीहरु आफ्नो दुःख पीडा बुझिदिने नेताले मात्र चुनाव जितोस् भन्ने पक्षमा छन् । बागलुङका अधिकांश किसान यतिबेला धान काट्ने, गहुँ, जौँ छर्ने चटारोमा छन् । कामको मुख्य याममा चुनाव आए पनि हरसम्भव सहभागी भएर असल नेता छान्ने उनीहरुको धोको छ । प्रतिनिधि तथा प्रदेशसभामा उम्मेदवार बनेका नेतालाई भोट माग्न मतदाताको घरदैलोमा पुग्न हतारो छ भने किसानलाई धानबाली भित्र्याउने चटारो । किसानका लागि मानो रोपेर मुरी उत्पादन गरेको अन्नबाली भित्र्याउने अहिले मुख्य समय हो । त्यसैले धेरै मतदाता धान खेतमै व्यस्त छन् । खेतबारीमा व्यस्त किसानले अहिलेसम्म यहाँबाट जितेर गएका नेताले कृषि क्षेत्रमा काम नगरेको गुनासो गरे । किसानले गाउँमा सिँचाइ, उन्नत जातका बिउ र मलको अभाव बर्सेनि हुने गरेको गुनासो गरेका छन् । खेतबारीमै पुग्ने उम्मेदवारलाई आफूहरुले सिँचाइको व्यवस्था गरी दिनुपर्ने माग गरेको गलकोटका कृषक प्रेमबहादुर खत्रीले बताउनुभयो । उहाँले तिहार सकिएपछि धान स्याहार्न भ्याइनभ्याइ भएको भन्दै यही समयमा उम्मेदवार भोट माग्न बारीमा आइरहेको बताउनुभयो । खत्री भन्नुहुन्छ, “हामीलाई कति बेला धान स्याहार गर्ने भन्ने चिन्ता छ, नेतालाई भोटको, आकाश गाडाङगुडुङ गर्दा धान सबै सखाप हुन्छ की भन्ने पिर लाग्छ, नेताहरु बारीमै आएर नाटक गर्छन्, चुनाव जितेर गए भने नाक मुख देखाउँदैनन्, अहिले बारीमै आएर नानाथारी आश्वासन दिन्छन्, यसपालि जसले किसानको समस्या बुझ्छ, मर्म बुझ्छ, काम गर्न सक्छ उसैलाई भोट दिने हो ।” उहाँले गाउँमा पर्याप्त सिँचाइ सुविधा नहुँदा धान, गहुँ सोचेअनुसारको उत्पादन गर्न नसकेको भन्दै सरकारबाट पाउनु अनुदानसमेत आफूहरुले पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले दिनदिनै फरक–फकर उम्मेदवार आएर आफूहरुलाई आश्वासन दिने बाहेक अरु काम नगरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “कामको चटारो निकै छ, एकछिन पनि कुरा गर्ने समय छैन, नेताहरु आएर हैरान बनाउँछन्, सिँचाइको राम्रो व्यवस्था नहुँदा धान, गहुँ राम्रोसँग उत्पादन गर्न सकिएको छैन, अबरु सिँचाइको व्यवस्था गरी दिए कति राम्रो हुँदो हो रु” ढोरपाटनका स्थानीय चूडामणि कार्कीले पछिल्लो केही दिययता उम्मेदवार तथा नेता भोट माग्न घरदेखि बारीसम्म आएको बताउनुभयो । उहाँले उम्मेदवारलाई कृषकको समस्या राखेको र पूरा गर्ने आश्वासन दिएको बताउनुभयो । कार्कीले यस क्षेत्रबाट धेरै पटक धेरै नेतालाई जिताएर पठाए पनि जनताका लागि काम गर्न नसकेको बताउनुभयो । “हाम्रो यो क्षेत्रबाट अहिलेसम्म धेरै नेतालाई जिताएर पठायौँ, तर कसैले पनि जनताका लागि काम गर्नु भएन, अहिले पनि भोट माग्न दिनदिनै आउनुभएको छ, उहाँहरुलाई मैले किसानको समस्या समाधान गर्ने भए मात्रै भोट दिन्छौँ नत्र दिँदैनौँ भनेको, तपाईहरुको काम गर्छौं भनेका छन्”, उहाँले भन्नुभयो । स्थानीय प्रेमनाथ पौडेलले नेताले बारीमै आएर भोट माग्न किसानलाई फकाइराखेको बताउनुभयो । उहाँले जनतालाई नेताहरुले पटक–पटक आश्वासन मात्रै दिएको हुँदा धेरै निराश बनेको बताउनुभयो । पौडेल समाज र जनताका लागि काम गर्ने नेताको खाँचो भएको बताउनुहुन्छ । पौडेलले भन्नुभयो, “अब नागरिक सचेत छन्, जसले काम गर्न सक्छ, जसको भिजन छ, उसैलाई मत दिने हो, अब भाषण सुनेर भोट हालिन्न ।” दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको बागलुङमा ३१ उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेशतर्फ १८ र प्रतिनिधिसभातर्फ १३ उम्मेदवार छन् । बागलुङ क्षेत्र नम्बर १ मा छ जना र क्षेत्र नम्बर २ मा सात जना छन् भने क्षेत्र नम्बर १ (क) मा पाँच, (ख) मा चार जना, क्षेत्र नम्बर २ (क) मा दुई जना र (ख) मा सात उम्मेदवार छन् ।
बागलुङ : जित हारका शृङ्खलाहरूबाट गुज्रिरहेका दलहरू अर्को चुनावी परीक्षामा सामेल हुन अब केही दिन मात्र बाँकी छ । चुनाव सम्मुखमा आइपुग्दा अनेक चर्चा र अड्कलबाजी हुन थालेका छन् । चुनावी परिणाममा कहिले नेपाली कांग्रेस त कहिले वाम दल हाबी हुने बागलुङमा यसपालि के होला भन्ने सर्वत्र चासो छ । बदलिएको चुनावी समीकरणबीच हिजो एकै मोर्चामा रहेका दलहरू अहिले एकार्काविरुद्ध प्रतिस्पर्धामा छन् । हिजो दुई ध्रुवमा बाँडिएका आज एकैठाउँ उभिएका छन् । यो स्थितिमा चुनावी गणितमा पनि फेरबदल आएको छ । वाम शक्ति अलग्गिएका छन् । कांग्रेसलगायतका दललाई गठबन्धनको आड छ । विसं २०७४ को चुनावमा बेहोरेको नमिठो हारलाई गत वैशाखको स्थानीय चुनावबाट पूर्ति गरेको कांग्रेस गठबन्धनका बलमा अहिले पनि जित निकाल्न चाहन्छ । यसअघिको सङ्घ र प्रदेश चुनावमा एक्लै वाम गठबन्धनको सामना गरेको कांग्रेसले यहाँका सबै ‘सिट’ गुमाएको थियो । यसपालिको चुनावमा सङ्घ गठबन्धनका अरु दललाई छाडेर कांग्रेस प्रदेशका चारै ‘सिट’ मा प्रतिस्पर्धा गर्दैछ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा मिलेर चुनाव लड्दा विसं २०७४ मा कांग्रेस किनारामा परेको थियो । अहिले कांग्रेससहित माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टी गठबन्धनमा छन् । विसं २०७४ मा कांग्रेसझैँ अहिले नेकपा (एमाले) एक्लै चुनावी मैदानमा छ । छ वटा स्थानीय तह भएको बागलुङ–२ मा गत वैशाखमा भएको स्थानीय चुनावमा सत्ता गठबन्धनले एउटा पालिका प्रमुखबाहेक सबैमा जित हासिल गरेको थियो । राष्ट्रिय जनमोर्चाको विद्रोही समूहलाई साथ लिएर चुनाव लड्नुभएका एमालेका देवकुमार नेपाली ढोरपाटन नगरपालिकाको प्रमुखमा विजयी बन्नुभएको थियो । त्यस क्षेत्रका कूल ४८ वडामध्ये ढोरपाटनका पाँच, बडिगाड गाउँपालिकाका चार र गलकोट नगरपालिकाको एउटा वडामा मात्र एमालेले वडाध्यक्ष जितेको थियो । त्यसबाहेक ढोरपाटन–४ मा जनमोर्चाको विद्रोही समूहका तिलक पुन र अरु सबै वडामा कांग्रेस, माओवादी र जनमोर्चाका उम्मेदवार विजयी बनेका थिए । निसीखोला, तमानखोला र ताराखोला गाउँपालिकामा एमालेले एउटै वडा पनि जित्न सकेको थिएन । वडाध्यक्षका उम्मेदवारको कूल मतभार जोड्दा सत्ता गठबन्धनका उम्मेदवारले एमालेकाले भन्दा १५ हजार पाँच सय १९ मत बढी ल्याएका थिए । सत्ता गठबन्धन दलले वडाध्यक्षमा ३४ हजार पाँच सय ६८ मत पाउँदा एमालेले जम्मा १९ हजार ४९ मत पाएको थियो । गत स्थानीय तह चुनावको मत परिणाम हेर्दा बागलुङ–२ मा सत्ता गठबन्धन एमालेका लागि चुनौती बन्ने देखिन्छ । एमाले पनि गठबन्धनलाई पछि पारेर चुनाव जित्ने दाउमा छ । गठबन्धनका साझा उम्मेवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका विरुद्ध एमालेका मञ्जु शर्मा चालिसे चुनावी मैदानमा हुनुहुन्छ । गत स्थानीय तह चुनावमा नेपाली कांग्रेसले उम्मेदवार नबनाएपछि स्वतन्त्ररूपमा गलकोट नगरपालिकाको प्रमुखमा चुनाव लड्नुभएकी चालिसेपछि एमाले प्रवेश गर्नुभएको थियो । स्थानीय तह चुनावमा उहाँले तीन हजार दुई सय ६३ मत ल्याउनुभएको थियो । कांग्रेस त्यागेर आउनासाथ एमालेबाट उम्मेदवार बन्नुभएकी उहाँ अन्य दलभित्रका असन्तुष्ट मत बटुलेर जित्ने आशमा हुनुहुन्छ । गठबन्धन दल भने आफ्नो भएको जनमत जोगाउन सके चुनाव जितिने ठान्छन् । माओवादी केन्द्रका सचिवसमेत रहनुभएका शिक्षामन्त्री पौडेलका लागि पनि पुनः सोही क्षेत्रका मतदाताबाट अनुमोदन हुनुपर्ने चुनौती छ । विसं २०७४ को चुनावमा वाम गठबन्धनका तर्फबाट उहाँ विजयी हुनुभएको थियो । पौडेलले २८ हजार आठ सय २७ मत ल्याउँदा उहाँसँग पराजित कांग्रेसका नीरज पुनले १९ हजार नौ सय पाँच मत पाउनुभएको थियो । उक्त चुनावमा एमाले बागलुङ–१ र १ को(१), माओवादी केन्द्र बागलुङ–२ र २ को (२), राष्ट्रिय जनमोर्चा १ को (२) र २ को (१) मा विजयी बनेको थियो । कूल ९५ हजार पाँच सय ६१ मतदाता रहेको बागलुङ–२ (१) र (२) मा अहिले भने सत्ता गठबन्धन र एमालेका उम्मेदवार मुख्य प्रतिस्पर्धी छन् । गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा समेटिएको प्रदेश (१)मा गठबन्धनबाट कांग्रेसका जीत शेरचन चुनावी मैदानमा हुनुहुन्छ । एमालेले आफ्नै उम्मेदवार नउठाए पनि स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई सघाउने भएको छ । घर्ती पनि गत स्थानीय चुनावमा ताराखोला गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्ररूपमा लड्नुभएको थियो । माओवादी केन्द्रले टिकट नदिएपछि बिच्किनुभएका घर्ती अहिले एमालेको समर्थन लिएर चुनावमा होमिनुभएको छ । विसं २०७४ को स्थानीय तह चुनावमा उहाँ माओवादी केन्द्रबाटै ताराखोला गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । घर्तीका प्रतिस्पर्धी कांग्रेसका जिल्ला सभापति शेरचन यसअघि दुई पटकसम्म प्रदेशसभा सदस्यमा पराजित हुनुभएको थियो । विसं २०७४ र विसं २०७६ मा भएको उपचुनावमा बागलुङ–२ (२) बाट उम्मेदवार बनेर हार्नुभएका शेरचनले यो चुनावमा ९१० क्षेत्रलाई रोज्नुभएको हो । कांग्रेस र माओवादीको जनमत बढी रहेको यस क्षेत्रमा ५४ हजार तीन सय ३४ मतदाता छन् । विसं २०७४ को चुनावमा यस क्षेत्रबाट माओवादी केन्द्रका चन्द्रबहादुर बुढा विजयी बन्नुभएको थियो । वाम गठबन्धनबाट चुनाव लड्नुभएका बुढाले १७ हजार चार सय १५ मत ल्याई कांग्रेसका मञ्जेशबम मल्ललाई पराजित गर्नुभएको थियो । मल्लले जम्मा ११ हजार पाँच सय ४६ मत ल्याउनुभएको थियो । त्यतिबेला वाम दल एकठाउँ भएर कांग्रेस विरुद्ध चुनावमा होमिएका थिए । बागलुङ–२ (२) मा गठबन्धनबाट कांग्रेसका द्रोर्ण कुँवर चुनावी प्रतिस्पर्धामा हुनहुन्छ । त्यस क्षेत्रमा एमालेबाट लक्ष्मण पुन उम्मेदवार हुनुहुन्छ । ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिका समेटेको सो क्षेत्रमा ४१ हजार दुई सय २७ मतदाता छन् । यसअघिको प्रदेशसभा उपचुनावमा सो क्षेत्रमा जनमोर्चाका खिमविक्रम शाहीले ११ हजार दुई सय ३५ मत ल्याएर चुनाव जित्नुभएको थियो । कांग्रेसका शेरचनले नौ हजार एक सय ३८ मत ल्याउनुभएको थियो । अहिले भने कांग्रेसका उम्मेदवारलाई केही सहज हुने देखिन्छ । त्यहाँका २२ वडामध्ये गत स्थानीय चुनावमा एमालेले पाँच मात्रै जितेको थियो । सत्ता गठबन्धन दलका वडाध्यक्षका उम्मेदवारले पाएको मतभार एमालेका उम्मेदवारको भन्दा बढी छ । विगतको समीकरण र मतभार जेजस्तो भए पनि आउँदो चुनावको परिणामबारे कोही पनि ढुक्क हुने स्थिति छैन । जितको दाबीसहित दल र उम्मेदवार मतदाता रिझाउन तल्लिन छन् । मन्त्रीदेखि र पार्टीका शीर्ष नेतासम्म चुनावी मैदानमा भएकाले यहाँको चुनावलाई पनि चासोपूर्वक हेरिएको छ । बागलुङ–१ मा सत्ता गठबन्धनका तर्फबाट जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र एमालेका सूर्यप्रसाद पाठकबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । बागलुङ–१ (१) मा गठबन्धनबाट कांग्रेसका दीपेन्द्रबहादुर थापा र एमालेबाट हिराबहादुर केसी र (२) मा कांग्रेसका डिल्लीराम सुुवेदी र एमालेका नवराज पौडेल चुनावी मैदानमा हुनुहुन्छ ।

