पोखराः आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनार्थ निर्वाचन आयोग जुटिरहेको छ । आयोगले निर्वाचनको तालिका अनुसार आज दुबै सभाका उम्मेदवारहरुको नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । आयोगका अनुसार अपरान्ह १ बजेदेखि ३ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक हुनेछ । त्यस्तै, बेलुकी ४ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरुलाई चुनाव चिन्ह दिइने आयोजले जनाएको छ ।
पोखरा : मनाङ प्रदेश ‘२’ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध हुने भएका छन् । अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रीसमेत रहेका राजीव गुरुङ निर्विरोध हुने भएका हुन् । दोर्जेले बुधबार १० बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए । उनका अनुसार दोर्जेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि राजीव गुरुङको एकल उम्मेदवारी रहने र उनीविरुद्ध दाबीविरोध नपरेपछि एकल उम्मेदवारी रहने भएकाले निर्विरोध हुने बताए । ‘उहाँ निर्विरोध हुने पक्कापक्की जस्तै भयो । तर, हामी १ बजेपछि मात्रै औपचारिक रूपमा जानकारी गराउँछौँ,’ उनले भने । दोर्जे लामा गुरुङले मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश ‘२’ का लागि स्वतन्त्र उम्मेदवारी दिएकोमा उक्त पदमा उम्मेदवारी रहेका गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई पूर्ण रूपमा समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएर मनाङेलाई सहयोग गर्ने घोषणा बुधबार बिहान फेसबुकमार्फत गरेका थिए । राजीवले मनाङ प्रदेश ‘२’ मा एमालेका समर्थनमा स्वतन्त्र उम्मेदवार बनेको बताए । उनले २०७४ को निर्वाचनमा एमालेकै समर्थनमा जितेको र अहिले पनि एमाले समर्थनमै उम्मेदवारी दिएको बताउँदै आएका छन् । उनले गण्डकी प्रदेशमा मन्त्री रहे पनि सत्ता गठबन्धन छोडिसकेको बताउँदै आएका छन् । एमालेकै पहलमा स्वतन्त्र उम्मेदवार दोर्जेलाई उम्मेदवारी फिर्ता गर्न लगाएको एमाले मनाङका सचिव एवं मनाङ प्रदेश ‘१’ का उम्मेदवार राजनबहादुर गुरुङले बताए । ‘हाम्रो पहलमा राजीव गुरुङ र दोर्जे लामा गुरुङबीच छलफल भयो । हामीले फिर्ता लिएर राजीवलाई निर्विरोध गर्न अनुरोध गर्यौं । दोर्जेले स्वीकार गर्नुभयो,’ उनले भने, ‘दोर्जेले फिर्ता लिनेबित्तिकै राजीव निर्विरोध हुनेभयो ।’ डेंगु संक्रमित मनाङे भने उपचारका लागि मंगलबार हेलिकप्टरमार्फत काठमाडौं गएका छन् । मनाङ प्रदेश ‘२’ मा एमाले र कांग्रेस दुवैले उम्मेदवारी दिएका छैनन् । कांग्रेस मनाङ सचिव सुरेन्द्र गुरुङले राजीव गुरुङ (दीपक मनाङे) लाई समर्थन गर्दै कांग्रेसले उम्मेदवारी नदिएको बताए । ‘सत्ता गठबन्धनले मनाङेलाई सघाएको हो । अरु थाहा भएन,’ उनले भने । राजीवले एमालेले टिकट नदिएपछि स्वतन्त्र उठेका उनले एमाले समर्थनमा २०७४ को निर्वाचनमा कांग्रेसका कर्म गुरुङलाई हराएर मनाङ प्रदेश ‘२’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । मनाङेलाई एमालेले टिकट दिने विषयमा विरोध भएपछि पार्टीले टिकट नदिने र समर्थन गर्ने भएपछि राजीव गुरुङ स्वतन्त्र उम्मेदवार बनेका थिए ।
काठमाडौं : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा परिचालित हुने पर्यवेक्षकले कुनै दल र उम्मेदवारको पक्ष वा विपक्षमा प्रस्तुत भएको पाइएमा मान्य नहुने बताउनुभएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का लागि पर्यवेक्षण संस्थाहरूका लागि आज आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले विगतका निर्वाचनहरूमा केही उदाहरणले केही पर्यवेक्षकहरू दल र उम्मेदवारका रूपमा प्रस्तुत भएको पाइएकाले त्यस्तो नगर्न आग्रह गर्नुभएको हो । उहाँले निर्वाचन प्रक्रियाका लागि एक अभिन्न अङ्ग र एक प्रकारले नागरिक समाजको हैसियतमा पनि पर्यवेक्षक रहेकाले निर्वाचन आचारसंहिता, २०७९ को पालना गरेर पर्यवेक्षकले आफ्नो दायित्व निर्वाह गरी आयोगलाई निर्वाचन व्यवस्थानमा सघाउन आग्रह गर्नुभयो । आवधिक निर्वाचनले नागरिकको अधिकार पुनःजागरण हुने र लोकतन्त्र बलियो भएको सन्देश जाने भएकाले यसका लागि उचित वातावरण बनाउन दलहरू, नागरिक समाज, आमसञ्चार र सबै पक्षको भूमिका हुने बताउनुभयो । प्रमुख आयुक्त थपलियाले संविधान र कानुनबमोजिम निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको दायित्व आयोगको भएकाले सरकारले निर्वाचन गराउने अर्थमा बुझिनु गलत हुने स्पष्ट गर्दै बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा खराब दलको विकल्प असल दल हुने र स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवार हुन पाउने उल्लेख गर्दै निर्वाचन सफल तुल्याउन सबैमा आग्रह गर्नुभयो । कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम पौडेलले पर्यवेक्षक संस्थाले निर्वाचन आचारसंहितामा ध्यान दिएर आफ्ना पर्यवेक्षकलाई प्रशिक्षित गर्न आग्रह गर्नुभयो । कार्यक्रमको प्राविधिक सत्रमा आयोगका सहसचिव पौडेलले निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन प्रणाली, समावेशीकरणसम्बन्धी कानुनी व्यवस्था, निर्वाचन तयारी र निर्वाचन कार्यक्रम, आयोगका पूर्वसचिव बेगेन्द्रराज पौडेलले पर्यवेक्षण संस्था र पर्यवेक्षकको आचारसंहिता तथा दायित्व, आयोगका उपसचिव कमल भट्टराईले निर्वाचन पर्यवेक्षणको अवधारणा र सम्बन्धमा नीतिगत व्यवस्था र आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले कार्ययोजना र प्रतिवेदनसम्बन्धी व्यवस्था तथा मतदान, मतगणना र निर्वाचन विवाद निरुपण विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रशिक्षणमा निर्वाचनका लागि पर्यवेक्षण गर्न आवेदन दिइ अनुमति पाउने ४३ संस्थाका प्रतिनिधि सहभागी छन् ।
पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टीले कास्कीको तीनवटै क्षेत्रमा उम्मेदवार दर्ता गरेको छ । मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेशको निर्वाचनमा पार्टीले कास्कीको तिनवटा क्षेत्रबाट उम्मेदवार दर्ता गरेको हो । पार्टीले प्रदेशमा भने कुनै पनि क्षेत्रमा उम्मेदवारी दिएको छैन् । कास्की क्षेत्र नम्बर १ मा राईको उम्मेदवारी कास्की क्षेत्र नम्बर १ मा उदयपुरमा घर भएका २०५८ सालदेखि पोखरामा व्यवसाय गर्दै आएका राजु राईले प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका हुन् । ४३ वर्षीय राईले २०५८ सालदेखि पोखरामा खाद्यान्न व्यवसाय गर्दै आएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा महानगरपालिकाका महानगर सदस्य हुन् । कास्की क्षेत्र नम्बर २ मा कँडेल कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीबाट माधवप्रसाद कँडेलले उम्मेदवारी दर्ता गरेका छन् । १६ वर्ष शिक्षक पेशामा आवद्ध रहेका कँडेलले मंसिर ४ गते हुने निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका हुन् । एमबीएस उत्तीर्ण कँडेलले पोखरा महानगरपालिका ३३ स्थित सरस्वती टिका माध्यमिक विद्यालयमा कार्यरत भएपनि अवकाश पछि राजनीतिमा होमिएका हुन् । उनी लायन्स क्लब, सहकारी लगायत अन्य क्षेत्रमा आबद्ध रहेका छन् । कँडेल राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका महामन्त्रीसमेत हुन् । कास्की क्षेत्र नम्बर ३ मा योगराज कास्की क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ ४२ वर्षीय योगराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । पर्यटन र यातायात व्यवसायमा संग्लन पौडेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका हुन् । पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेशका उपसभापति हुन् ।
काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । दलले एक हजार चार सय ३३ पुरुष र एक सय ५० महिला उम्मेदवार उठाएको तथ्याङ्क निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आठ सय ५८ पुरुष र ८५ महिला गरी नौ सय ४३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली ९प्रत्यक्ष० तर्फ दुई हजार दुई सय ९१ पुरुष र दुई सय ३५ महिला गरी दुई हजार पाँच सय २६ को उम्मेदवारी परेको हो । प्रत्यक्षतर्फ प्रदेश नं एकमा पाँच सय ४८ जनाले उम्मेदवारी दिएका छन् । जसमा चार सय ९३ पुरुष र ५५ महिलाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश एकमा ३० दल र स्वतन्त्रले उम्मेदवारी दिएको जनाइएको छ । मधेश प्रदेशमा प्रत्यक्षतर्फ एक हजार ५५को उम्मेदवारी परेको छ । नौ सय ७८ पुरुष, ७६ महिला र अन्यमा एक जनाले उम्मेदवारी दिएका छन् । ३७ दल र स्वतन्त्रले उम्मेद्वारी दिएका छन् । वाग्मती प्रदेशमा ३२ दल र स्वतन्त्रले गरी प्रत्यक्षतर्फ सात सय एक जनाको उम्मेदवारी परेको छ । जसमा पुरुष ६ सय १९ र महिला ८२ छन् । गण्डकी प्रदेशमा २३ दल र स्वतन्त्र गरी प्रत्यक्षतर्फ दुई सय ७१ जनाको उम्मेदवारी परेको छ । जसमा पुरुष दुई सय ३७ र महिला ३४ जना छन् । लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ २५ राजनीतिक दल र स्वतन्त्र गरी पाँच सय ३२ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा पाँच सय पुरुष र ३२ महिला छन् । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ १६ राजनीतिक दल र स्वतन्त्र गरी एक सय ४३ जनाको उम्मेदवारी परेको छ । जसमा एक सय ३९ पुरुष र चार महिलाको उम्मेदवारी रहेको आयोगले जनाएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ २० राजनीतिक दल र स्वतन्त्र गरी दुई सय २६ जनाको उम्मेदवारी परेको छ । जसमा दुई सय १२ पुरुष र १४ महिलाको उम्मेदवारी परेको जनाइएको छ । यो तथ्याङ्क सोमबार साँझसम्म आयोगको प्रणालीमा प्रविष्ट भएका आधारमा सार्वजनिक गरिएको आयोगले जनाएको छ । –––
काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यही असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी कार्यक्रम तोकिएको छ । निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार यही असोज २३ गते दर्ता भएको मनोनयनपत्रको सूची सोही दिन प्रकाशन भइसकेको छ । असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने र असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका रहेको थियो । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रकाशित भएको बन्दसूचीको सूचनामा असोज २३ गतेदेखि २९ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन दिने, असोज ३० गते दाबी विरोधको निवेदनमाथि जाँचबुझ र निर्णय लिने, कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौं : निर्वाचन आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको मनोनयनपत्र दर्ता कार्यक्रम सम्पन्न भएसँगै विभिन्न राजनीतिक दल र उम्मेदवारहरूबाट सामाजिक सञ्जालको समेत प्रयोग गरी प्रचारप्रसार र विज्ञापन हुन थालेको छ । आयोगले जारी गरेको ‘निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ बमोजिम निर्वाचनका सबै चरण र प्रक्रियामा सामाजिक सञ्जालको समुचित उपयोग गरिने जनाइएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी सामाजिक सञ्जालमा सम्प्रेषित सूचना सामग्रीको प्रभावकारी नियमन, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी आयोगको सचिवालय र अन्तर्गतका कार्यालयसमेतको संयन्त्र बनाई नीतिको कार्ययोजनाबमोजिम भए गरेका काम कारबाहीको निरन्तर अनुगमन र मूल्याङ्कन गर्ने कार्य भइरहेको जनाउनुभएको हो । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि आयोगले राजनीतिक दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद निर्धारण गरिसकेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ मा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्चसम्बन्धी पालना गर्नुपर्ने आचरणहरूको व्यवस्था गरिएको छ । सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गरे नगरेको बारे आयोगको अनुगमन संयन्त्रमा रहेको अभिलेखसँग भिडाई परीक्षण गरिने भएकाले सामाजिक सञ्जालमार्फत हुने विज्ञापनका सबै खर्च विवरणसमेत चुस्तदुरुस्त राख्न सम्बन्धित सबै राजनीतिक दल र उम्मेदवारलाई आयोगले आग्रह गरेको हो ।
बलेवा : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार दलले उम्मेदवारी दर्ता गरेका छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर दलका नेताहरुले उम्मेदवारी दर्ता गराए । बागलुङको क्षेत्र नं १ बाट सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उम्मेदवारी दर्ता गर्नुभएको छ । मनोनयनपछि केसीले संविधानको रक्षा र राष्ट्रियताको संरक्षणका लागि उम्मेदवारी दर्ता गर्नुपरेको बताउनुभयो । यसअघि पटकपटक एमालेसँगको तालमेलमा निर्वाचन लडेको राजमोले यो पटक कांग्रेस रोजेको हो । केसीले पनि पहिलो पटक कांग्रेसको समर्थनमा निर्वाचन लड्दै हुनुहुन्छ । सोही क्षेत्रमा एमालेका निवर्तमान सांसद डा सूर्य पाठक उम्मेदवार बन्नुभएको छ । क्षेत्र नंं १ का लागि राप्रपाका लक्ष्मीप्रसाद सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीका लागि खिमानन्द कँडेलले पनि उम्मेदवारी दिनुभएको छ । कांग्रेसका नेता कृष्ण शङ्कर श्रेष्ठ र चन्द्रबहादुर क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं १ को ‘क’ प्रदेशमा कांग्रेसका दीपेन्द्रबहादुर थापा र एमालेका अध्यक्ष हिराबहादुर केसी उम्मेदवार बन्नुभएको छ । थापा कांग्रेसका निर्वतमान सभापति हुनु्हुन्छ । त्यस्तै राप्रपाका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर विक र दीपेन्द्र हमालको स्वतन्त्र उम्मेदवारी परेको छ । क्षेत्र नंं १ कै ‘ख’ प्रदेशमा कांग्रेसका डिल्लीराम सुवेदी, एमालेका नवराज पौडेलको उम्मेदवारी परेको छ । यो क्षेत्रमा राप्रपाका गोविन्द सापकोटा र मङ्गोल नेशनल अर्गनाइजेसनका सहवीर थापाले उम्मेदवारी दिनुभएको छ । क्षेत्र नंं २ मा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दर्ता गराउनुभयो । यो क्षेत्रमा एमालेकी मञ्जु शर्मा चालिसेले उम्मेदवारी दर्ता गराउनुभएको छ । पौडेल अघिल्लो पटक यो क्षेत्रबाटै निर्वाचित हुनुहुन्थ्यो । राप्रपाका अञ्चल शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्री, मङ्गोल नेशनल अर्गनाइजेसनका गोवर्धन घर्तीमगरले उम्मेदवारी दिनुभएको छ । क्षेत्र नं २ को क प्रदेशमा कांग्रेस सभापति जीतबहादुर शेरचन र स्वतन्त्र प्रकाश घर्तीले उम्मेदवारी दर्ता गराउनुभयो । घर्ती एमालेको समर्थनमा लड्ने तयारीमा हुनुहुन्छ । यहाँ राप्रपाका शङ्कर खरेल, स्वतन्त्रबाट भीमलाल पोखरेलको उम्मेदवारी परेको छ । पोखरेल राजमो सचिव हुनुहुन्छ । क्षेत्र नंं २ कै ‘ख’ प्रदेशमा कांग्रेसका द्रोण कुँवर र एमालेका लक्ष्मण पुनले उम्मेदवारी दिनुभएको छ । राप्रपाबाट शान्ताकुमारी चन्द, जनता समाजवादी पार्टीबाट गङ्गाबहादुर घर्ती, मंगोल नेशनल अर्गनाइजेसनका ताराबहादुर घर्तीले उमेदवारी दिनुभयो । स्वतन्त्रतर्फ दीपक थापा, नरबहादुर गुरुङ, दुर्गादेवी घर्ती, कर्मती पुन र टेकप्रसाद कामीले उम्मेदवारी दिनुभएको हो ।
काठमाडौं ः आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुको विरोधमा आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । कुनै उम्मेदवार कानुनी रुपमा अयोग्य छ भन्ने लागेमा त्यस्ता उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ । त्यस्तै मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपरान्ह ३ बजेदेखि २५ गते साँझ ५ बजेसम्म तोकिएको आयोगको निर्वाचन कार्यतालिका उल्लेख छ । उम्मेदवारहरुको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ बजेदेखि ७ बजेसम्म छ । आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिने भए असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । त्यसपछि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको अन्तिम नामावली २६ प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ । अन्तिम नामावलीमा रहेका उम्मेदवारहरुलाई २६ गते अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म चुनाव चिह्न वितरण गरिने आयोगको कार्यतालिका छ ।

