लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्छ: अध्यक्ष ओली
पाेखरा | कात्तिक २१, २०७९
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटी कास्कीद्वारा आज पोखरामा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक मूल्यमान्यताका लागि पनि एमालेले बहुमत प्राप्त गर्नु आवश्यक भएको बताउनुभयो ।
विचार नभएका, नीति नभएका गठबन्धनले फरक–फरक घोषणापत्र सार्वजनिक गरेको उहाँको आरोप थियो । गन्तव्य नभएकाले फरक–फरक घोषणापत्र बोकेर हिँडेको बताउँदै उहाँले उनीहरू जनतासँग झुटो आवश्वासन बाँढिरहेका छन् भन्नुभयो ।
लिपुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउन सकिने र नेकपा एमालेले बहुमतको सरकार बनाएर वार्तामार्फत फिर्ता ल्याउने बताउनुभयो । उहाँले आफूहरूले देशलाई प्रगतिको बाटोमा लगेको बताउनुभयो । अध्यक्ष ओलीले देशमा सुदृढ राष्ट्रियशक्ति आवश्यक भएको र त्यो एमाले भएको जिकिर गर्नुभयो ।
एमालेले घोषणापत्रमा २० वटा ग्यारेन्टी क्षेत्र तोकेको बताउँदै उहाँले त्यसमा राष्ट्रिय समृद्धिका सबै कुरा समेटिएको बताउनुभयो । सामाजिक सुरक्षाका क्षेत्रमा धेरै विषयलाई नेकपा एमालेले उठाउनुका साथै त्यसको व्यवस्थापन गर्दै आएको उहाँले बताउनुभयो । नेकपा एमालेका सङ्गठन विभाग प्रमुख एवं कास्की निर्वाचन क्षेत्र नं १ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार खगराज अधिकारीले गण्डकीलाई पर्यटन, कला संस्कृतिको विकास गरी नमूना प्रदेशका रुपमा विकास गर्न सकिने बताउनुभयो । पोखरालाई पर्यटनको राजधानी बनाउने बताउँदै उहाँले पोखरासहित समग्र गण्डकीको समृद्धि र विकासका लागि नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभयो । नेकपा एमाले कास्कीका कार्यावाहक अध्यक्ष तेजनारायण अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सचिव बैनबहादुर अधिकारी क्षेत्री, उपसचिव दर्शन लामा लगायतले बोल्नुभएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

